सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण मिति २०७५।३।२०
संवत २०७५ सालको ऐन नं. २ सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधाका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) "महासचिव" भन्नाले सङ्घीय संसदको महासचिव सम्झनु पर्छ । (ख) "सचिव" भन्नाले नेपालको संविधान बमोजिम नियुक्त प्रतिनिधिसभाको सचिव वा राष्ट्रियसभाको सचिव सम्झनु पर्छ ।
परिच्छेद–२ योग्यता, पदावधि, पारिश्रमिक र अन्य सुविधा ३. योग्यता: महासचिव तथा सचिव हुनुका लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ:– (क) नेपालको नागरिक,
(ख) नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कानून, प्रशासन, व्यवस्थापन, राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरेको, (ग) नियुक्त हुनुभन्दा तत्काल अगाडि कुनै राजनीतिक दलको सदस्य नरहेको, र (घ) महासचिवको हकमा पैँतालीस वर्ष र सचिवको हकमा पैँतीस वर्ष उमेर पूरा भएको ।
४. महासचिव तथा सचिव पदमा नियुक्त हुन नसक्ने: देहायको व्यक्ति महासचिव तथा सचिवको पदमा नियुक्त हुन सक्दैन :– (क) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको, (ख) संविधानको धारा २९१ बमोजिम अयोग्य भएको, (ग) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको, (घ) दामासाहीमा परेको, वा (ङ) मानसिक सन्तुलन ठीक नभएको ।
५. पदावधि: महासचिव र सचिवको पदावधि पाँच वर्षको हुनेछ र तिनीहरू पुनः नियुक्त हुन सक्नेछन् । तर सो पदावधि पूरा हुनु अगावै महासचिव र सचिवको उमेर सन्ठाउन्न वर्ष पूरा भएमा तिनीहरू आफ्नो पदमा बहाल रहने छैनन् ।
६. महासचिव वा सचिवको पद रिक्त हुने अवस्था: देहायका अवस्थामा महासचिव वा सचिवको पद रिक्त भएको मानिनेछ :– (क) राष्ट्रपति समक्ष राजीनामा दिएमा, (ख) दफा ४ बमोजिमको अयोग्यता सृजना भएमा, (ग) दफा ५ बमोजिम तिनीको पदावधि पूरा भएमा वा तिनी आफ्नो पदमा नरहेमा, (घ) विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र लिएमा,
(ङ) कार्य क्षमताको अभाव, खराब आचरण वा आफ्नो पदीय कर्तव्यको पालना इमान्दारीपूर्वक नगरेको भनी महासचिवको हकमा सभामुख र अध्यक्षको सिफारिसमा र सचिवको हकमा सम्बन्धित सभाको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट महासचिव वा सचिवलाई निजको पदबाट हटाएमा, वा तर यसरी महासचिव वा सचिवलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ। (च) निजको मृत्यु भएमा।
७. पारिश्रमिक: (१) महासचिव र सचिवले क्रमशः नेपाल सरकारको मुख्य सचिव र सचिवले पाए सरहको पारिश्रमिक पाउने छन्। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कोषबाट निवृत्तभरण पाईरहेको व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्ति भएमा निजले निवृत्तभरण वा यस ऐन बमोजिमको पारिश्रमिक मध्ये एउटा मात्र लिन पाउनेछ।
८. सवारी तथा इन्धन सुविधा: महासचिव र सचिवलाई क्रमशः नेपाल सरकारले मुख्य सचिव र सचिव सरह सवारी तथा इन्धन सुविधा उपलब्ध गराउनेछ।
९. चाडपर्व खर्च: महासचिव र सचिवले प्रत्येक वर्ष चाडपर्व खर्च बापत आफूले खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम पाउनेछन्।
परिच्छेद –३ दैनिक तथा भ्रमण भत्ता
१०. दैनिक तथा भ्रमण भत्ता: सङ्घीय संसद सचिवालयको कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा महासचिव वा सचिवलाई भ्रमण खर्च सम्बन्धी प्रचलित कानून बमोजिम विशिष्ट तहले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइनेछ।
११. पोशाक भत्ता: महासचिव र सचिवलाई प्रत्येक वर्षको वैशाख मसान्िमा दशहजार रुपैयाँ पोशाक भत्ता बापत दिइनेछ।
परिच्छेद–४
बिदा
१२. बिदा: (१) महासचिव र सचिवले पूरा पारिश्रमिक सहितको देहाय बमोजिमका बिदाहरू पाउन सक्नेछन् :- (क) पर्व बिदा र भैपरी आउने बिदा, (ख) घर बिदा, (ग) बिरामी बिदा, (घ) किरिया बिदा, (ङ) प्रसूति बिदा, र (च) प्रसूति स्याहार बिदा (२) महासचिव र सचिवले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन लिन पाउनेछन्। (३) महासचिव र सचिवले काम गरेको अवधिीको बाह्र दिनको निमित्त एक दिनको दरले घर बिदा पाउनेछन्। घर बिदा बढीमा एक सय असी दिनसम्म संचित गरी राख्न सकिनेछ। घर बिदाको प्रयोजनको निमित्त काम गरेको अवधि कायम गर्दा भैपरी आउने बिदा र पर्व बिदा बसेको दिन र सार्वजनिक बिदाको दिन समेत काम गरेको दिनमा जोडिनेछ। (४) महासचिव र सचिवले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछन्। त्यस्तो बिरामी बिदा जति पनि संचित गरी राख्न सकिनेछ। (५) महासचिव र सचिवले आफै किरिया बस्नु परेमा कुल धर्म हेरी बढीमा पन्ध्र दिनसम्मको किरिया बिदा लिन पाउनेछन्। (६) महासचिव वा सचिव गर्भवती भएमा निजहरूले सुत्केरीको अघि वा पछि गरी अन्तिमसम्म पन्ध्र दिन प्रसूति बिदा पाउनेछन्। (७) महासचिव वा सचिवको पत्नी सुत्केरी हुने भएमा महासचिव वा सचिवले सेवा अवधिभरमा बढीमा दुईपटक सुत्केरीको अघि वा पछि पन्ध्रदिन प्रसूति स्याहार बिदा पाउनेछन्। (८) महासचिव वा सचिवले आफ्नो पदबाट अवकाश पाएमा उपदफा (३) र (४) बमोजिम संचित रहेको बिदा बापत निजले खाइपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट रुपमा सङ्घीय संसद् सचिवालयबाट लिन पाउनेछन्।
(९) उपदफा (८) बमोजिम पाउने रकम लिन नपाउँदै महासचिव वा सचिवको मृत्यु भएमा दफा १६ बमोजिम पारिवारिक निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले सो रकम लिन पाउनेछ।
१३. बिदा दिने अधिकारी: (१) महासचिवले पर्व बिदा र भैपरी आउने बिदा आफै लिन सक्नेछ र अन्य बिदा प्रतिनिधिसभाको सभामुखबाट स्वीकृत गराउनु पर्नेछ। (२) प्रतिनिधिसभाको सचिवले पर्व बिदा र भैपरी आउने बिदा महासचिवबाट र अन्य बिदा प्रतिनिधिसभाको सभामुखबाट स्वीकृत गराउनु पर्नेछ। (३) राष्ट्रियसभाको सचिवले पर्व बिदा र भैपरी आउने बिदा महासचिवबाट र अन्य बिदा राष्ट्रिय सभाको अध्यक्षबाट स्वीकृत गराउनु पर्नेछ। (४) महासचिव र सचिवको बिदाको अभिलेख संघीय संसद सचिवालयले राख्नेछ।
परिच्छेद–५ उपचार खर्च, निवृत्तभरण र उपदान
१४. उपचार खर्च: (१) महासचिव वा सचिवले आफू बिरामी भई उपचार गराउँदा देहाय बमोजिमको उपचार खर्च पाउनेछ :– (क) सरकारी वा सामुदायिक अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रिस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च। तर चिकित्सकको प्रिस्क्रिप्सनमा रोगको निदान (डाइग्नोसिस) उल्लेख भएको हुनु पर्नेछ । (ख) प्लास्टिक सर्जरी बाहेक सबै प्रकारको चिरफार (सर्जिकल अपरेसन) गर्दा लागेको बिल बमोजिमको खर्च। (ग) चश्मा, दाँत, एयरफोन आदि उपकरणको लागि नेपाल सरकारले तोकिदिएको रकममध्ये लागेको बिल बमोजिमको खर्च। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महासचिव र सचिवले आफ्नो कार्यकालभर पाउने उपचार खर्चको रकम निजले पाउने बाह्र महिनाको पारिश्रमिक बराबरको रकमभन्दा बढी हुने छैन ।
(३) नेपाल सरकारद्वारा नियुक्त चिकित्सकहरूको समितिले नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी सिफारिस गरेमा विदेशमा गई उपचार गराउन चाहने महासचिव र सचिवलाई उपदफा (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त नेपाल सरकारले उचित ठहर्याएको थप आर्थिक सहायता दिन सक्नेछ।
(४) महासचिव र सचिवले सेवाबाट अलग हुँदा उपदफा (२) बमोजिम पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च बाँकी रहेको भए त्यस्तो बाँकी भएतति रकमको दुई तिहाइको हिसाबले हुने एकमुष्ट रकम लिन पाउनेछ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अवकाश पाएको महासचिव वा सचिवले त्यस्तो बाँकी भएतति पूरै रकम एकमुष्ट लिन पाउनेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि महासचिव वा सचिवको पदमा पाँच वर्ष सेवा नगरी सेवाबाट अलग हुने महासचिव र सचिवलाई उपचार खर्च दिँदा यस ऐन बमोजिम पाउने सम्पूर्ण उपचार खर्चको रकमलाई पाँच वर्ष सेवा गरे बापत पाउने रकम माथि दामासाहीले हुने आउने रकम मात्र दिइनेछ।
(६) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै महासचिव वा सचिवको मृत्यु भएमा दफा १६ बमोजिम पारिवारिक निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले सो उपचार खर्च लिन पाउनेछ।
१५. निवृत्तभरण वा उपदान: (१) महासचिव वा सचिवको पदमा बीस वर्ष सेवा अवधि पूरा गरेमा वा सरकारी सेवामा बहाल रहेको वा बहाल गरिसकेको व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्त भई सेवाबाट अवकाश पाएमा निजले त्यसरी अवधि गरेको सेवा अवधि र महासचिव वा सचिवको पदमा काम गरेको सेवा अवधि जोड्दा बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा हुने रहेछ भने निजले देहायको हिसाबले हुने मासिक निवृत्तभरण पाउनेछ:–
$\frac{\text{जम्मा सेवा वर्ष} \times \text{मासिक पारिश्रमिक}}{५०}$
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “सरकारी सेवामा काम गरेको अवधि” भन्नाले नेपाल सरकारबाट निवृत्तभरण पाउन सक्ने कुनै पदमा नियुक्त भई काम गरेको अवधिलाई जनाउनेछ।
(२) महासचिव वा सचिवको सेवा अवधि बीस वर्ष नपुग्ने भएमा महासचिव वा सचिवले पदबाट अलग हुँदा देहायको दरले उपदान पाउनेछ:– (क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको भएमा आफूले काम गरेको प्रत्येक वर्षको निम्ति आखिरी आधा महिनाको तलब, (ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको भएमा आफूले काम गरेको प्रत्येक वर्षको निम्ति आखिरी एक महिनाको तलब, (ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्ष भन्दा कम सेवा गरेको भएमा आफूले काम गरेको प्रत्येक वर्षको निम्ति आखिरी डेढ महिनाको तलब। (३) नेपाल सरकारको सेवा गरे बापत उपदान पाइसकेको कुनै व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्त भएमा निजले त्यसरी नियुक्त भएको एक वर्षभित्र आफूले पहिले पाएको उपदानको पूरा रकम फिर्ता गरेमा मात्र निजले पहिले गरेको सेवा अवधि निवृत्तभरणको प्रयोजनको लागि गणना गरिनेछ। (४) महासचिव वा सचिवको पारिश्रमिक वृद्धि हुँदा खाइपाई आएको पारिश्रमिकमा जति रकम वृद्धि भएको छ, त्यसको दुई तिहाइ रकम निवृत्तभरण पाइरहेको महासचिव र सचिवको निवृत्तभरणको रकममा थप गरिनेछ। (५) नेपाल सरकारको सेवा गरे बापत निवृत्तभरण पाइरहेको व्यक्ति महासचिव वा सचिवको पदमा नियुक्त भई यस ऐन बमोजिम थप निवृत्तभरण पाउन सक्ने भएमा निजले पहिले पाइरहेको निवृत्तभरण र यस ऐन बमोजिम पाउने निवृत्तभरणमध्ये कुनै एक रोज्न दिइनेछ। (६) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको दफा ६ को खण्ड (घ) र (ङ) को आधारमा पदबाट मुक्त भएको महासचिव वा सचिवले यस ऐन बमोजिमको निवृत्तभरण वा उपदानको सुविधा पाउने छैन।
१६. पारिवारिक निवृत्तभरण वा उपदान: (१) महासचिव वा सचिवले आफ्नो परिवारका सदस्यहरूमध्ये कसैलाई इच्छाएको भए त्यस्तो व्यक्तिलाई र त्यस्तो इच्छाएको व्यक्तिको पति मृत्यु भएमा वा कसैलाई पति इच्छाएकोमा निजको परिवारका सदस्यहरूमध्ये निजको हकवालालाई देहायका आधारमा दफा १५ बमोजिमको निवृत्तभरण दिइनेछ :- (क) पदमा बहाल छँदै महासचिव वा सचिवको मृत्यु भएमा मृत्यु भएको मिति देखि सात वर्षसम्म,
(ख) दफा १५ बमोजिम निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सो सात वर्ष पुग्न बाँकी अवधिसम्म।
(२) पदमा बहाल छँदै महासचिव वा सचिवको मृत्यु भएमा र दफा १५ बमोजिम निवृत्तभरण पाउने नभई उपदान मात्र पाउने रहेछ भने सो उपदान रकम निजको परिवारका सदस्यहरूमध्ये उपदफा (१) बमोजिमको निवृत्तभरण पाउने व्यक्तिले पाउनेछ।
(३) उपदफा (१) बमोजिमको पारिवारिक निवृत्तभरण पाउने अवधि भुक्तानि भइसकेपछि मृत महासचिव वा सचिवको वैध विधवा पत्नी वा वैध विदुर पतिले जीवनभर त्यस्तो निवृत्तभरणको आधा रकम लिन पाउनेछ। तर त्यस्तो व्यक्तिले आफूले गरेको सरकारी सेवा बापत निवृत्तभरण पाइरहेको भएमा यस उपदफा बमोजिमको निवृत्तभरण पाउने छैन।
(४) बहालवाला महासचिव वा सचिवको पारिश्रमिक वृद्धि हुँदा खाइपाई आएको पारिश्रमिकमा جتति वृद्धि भएको छ, त्यसको दुई तिहाइ रकम उपदफा (१) र (३) बमोजिम पारिवारिक निवृत्तभरण पाइरहेको व्यक्तिले खाइपाई आएको पारिवारिक निवृत्तभरणमा पति थप गरिनेछ।
परिच्छेद–६ विविध
१७. सञ्चय कोष: नेपाल सरकारले महासचिव र सचिवको मासिक पारिश्रमिकबाट सयका दशका दरले सञ्चय कोष कट्टा गरी सो कट्टी रकममा शतप्रतिशत रकम थप गरी सञ्चय कोषमा जम्मा गरिदिनेछ।
१८. शपथ ग्रहण: (१) महासचिवले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रतिनिधिसभाको सभामुख समक्ष अनुसूची बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्ने छ। (२) सचिवले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि सम्बन्धित सभाको सभामुख वा अध्यक्ष समक्ष अनुसूची बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ।
१९. बचाउ: यस ऐनमा अन्यथा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका–संसद्का महासचिव तथा सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५५ बमोजिम नियुक्ति भएका महासचिव वा सचिवको पारिश्रमिक तथा सेवा शर्त सुविधा सोही ऐन बमोजिम हुनेछ।
२०. सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ निष्क्रिय भएपछि त्यसको परिणाम: सङ्घीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ निष्क्रिय भएपछि अर्कोको अभिप्राय लेखिएमा सो निष्क्रियताले,– (क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत চলতি नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन, (ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पर्ने छैन, (ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पर्ने छैन, (घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जब्तीलाई असर पर्ने छैन, (ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पर्ने छैन र सो अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ।
अनुसूची (दफा १८ सँग सम्बन्धित)
शपथ
म ............................मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै ..................... पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिठाइ, कसै को डर नमाली, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।
.............................. मिति : हस्ताक्षर