आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५
लालमोहर र प्रकाशन मिति २०५५।१०।०१
२०५५ सालको ऐन नं. १६
$\times$..................
आयोडिनयुक्त नूनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः आयोडिनको कमीबाट जनस्वास्थ्यमा पर्न जाने व्यापक र गम्भीर असरलाई कम खर्चिलो र सरल तरिकाले निवारण र निर्मूल गर्न आयोडिनयुक्त नूनको समुचित मात्रामा उत्पादन, पैठारी, आपूर्ति, बिक्री वितरण तथा नूनमा आयोडिन मिश्रण गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५” रहेको छ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, –
$\bullet$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा मन्जुरिएको।
(क) “आयोडिनयुक्त नुन” भन्नाले न्यूनतम छयान्नब्बे प्रतिशत सोडियम क्लोराईड भएको धुलो वा दानादार ठोस अवस्थामा रहेको सेतो, फिक्का गुलाबी वा कालो रङ्गको भई देखिने गरी माटो, गिट्ठा, ढुङ्गा र उद्धरण गर्न सकिने बाह्य पदार्थ वा फोहरमैला नमिसिएको र दफा १५ बमोजिम निर्धारित गुणस्तर भएको आयोडिनयुक्त नुन सम्झनु पर्छ।
(ख) “अनुमतिपत्र” भन्नाले आयोडिनयुक्त नुनको उत्पादन, पैठारी, आपूर्ति वा बिक्री वितरण गर्न दफा ७ बमोजिम दिइने अनुमतिपत्र सम्झनु पर्छ।
(ग) “समिति” भन्नाले दफा १२ बमोजिम गठित आयोडिन अभावजन्य विकार निवारण समिति सम्झनु पर्छ।
(घ) “उत्पादन” भन्नाले आयोडिन नभएको नुनमा आयोडिन मिश्रण गरी आयोडिनयुक्त नुनको उत्पादन गर्ने कार्य सम्झनु पर्छ।
(ङ) “उत्पादक” भन्नाले प्रत्यक्ष रुपमा वा एजेण्ट मार्फत वा सम्झौताद्वारा वा सम्झौता अन्तर्गत नियन्त्रित व्यक्ति मार्फत उत्पादनमा संलग्न भएको अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ।
(च) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको फर्म, कम्पनी वा संगठित संस्था सम्झनु पर्छ।
(छ) “पैठारी” भन्नाले आयोडिनयुक्त नुन वा आयोडिन नभएको नुन नेपाल $\times \dots \dots \dots \dots$ मा आयात गर्ने कार्य सम्झनु पर्छ।
(ज) “पैठारीकर्ता” भन्नाले आयोडिनयुक्त नुन पैठारी गर्न अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ।
(झ) “आपूर्ति” भन्नाले आयोडिनयुक्त नुनलाई वितरक वा उपभोक्तासम्म पुर्याउने कार्य सम्झनु पर्छ।
(ञ) “आपूर्तिकर्ता” भन्नाले आयोडिनयुक्त नुन आपूर्ति गर्ने अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ।
(ट) “बिक्री वितरण” भन्नाले उत्पादकको तर्फबाट आयोडिनयुक्त नुनको सूचना सेवा उपलब्ध गराउने, प्रवर्द्धन गर्ने, विज्ञापन गर्ने, नमूना वितरण
गर्ने तथा त्यस्तो आयोडिनयुक्त नून बजारमा ल्याउने सम्बन्धी अन्य कुनै कार्य सम्झनु पर्छ।
(ठ) “वितरक” भन्नाले आयोडिनयुक्त नूनको थोक वा खुरा रुपमा बिक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति सम्झनु पर्छ।
(ड) “निरीक्षक” भन्नाले दफा १८ को उपदफा (१) बमोजिम नियुक्त भएको वा तोकिएको निरीक्षक सम्झनु पर्छ।
(ढ) “लेवल” भन्नाले आयोडिनयुक्त नून प्याक गर्ने प्याकेजमा लेखिएको, छापिएको, लिथो गरिएको, चिन्ह लगाइएको, इम्बोस गरिएको, समावेश गरिएको वा अन्य किसिमले देखाइएको ट्याग, चिन्ह, तस्बिर वा अन्य विवरणात्मक वस्तु सम्झनु पर्छ।
(ण) “नमूना” भन्नाले परीक्षणको लागि वा व्यापार प्रवर्द्धनको लागि तयार गरिएको आयोडिनयुक्त नूनको सानो परिमाण सम्झनु पर्छ।
(त) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बन्ने नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
परिच्छेद–२ अनुमतिपत्र सम्बन्धी व्यवस्था
३. आयोडिन निएको नून पैठारी, खरिद तथा बिक्री गर्न नहुनेः समितिबाट तोकिए बमोजिम स्वीकृति नलिई कसैले पनि नन आयोडिन निएको नून नेपाल $\times$.......... भित्र पैठारी, खरिद तथा बिक्री गर्न हुँदैन।
४. आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र प्राप्त गर्नु पर्नेः आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न चाहने व्यक्ति वा संस्थाले यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त गर्नु पर्ने छ।
५. अनुमतिपत्रको लागि दरखास्त दिनेः दफा ४ बमोजिमको अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्नेछ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको।
६. अनुमतिपत्रको लागि जाँचबुझः दफा ५ बमोजिम दरखास्त परेमा समितिले देहाय बमोजिमका कुराहरुमा आवश्यक जाँचबुझ गर्नेछः–
(क) आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक पर्ने प्राविधिक पक्ष तथा क्षमता,
(ख) दरखास्तिवालाको आर्थिक हैसियत,
(ग) उत्पादनको प्रयोजनको लागि आयोडिन नभएको नून पैठारी गर्ने भए तत्सम्बन्धी सम्भाव्यताको अध्ययन प्रतिवेदन,
(घ) पैठारी गरिएको आयोडिनयुक्त नूनको आपूर्ति तथा बिक्री वितरण गर्ने भए त्यसको सम्भाव्यता अध्ययन प्रतिवेदन र सोसँग सम्बन्धित आवश्यक कागजात,
(ङ) आयोडिनयुक्त नून, आपूर्ति तथा बिक्री वितरण गर्ने क्षेत्र,
(च) तोकिए बमोजिमका अन्य आवश्यक कुराहरु।
७. अनुमतिपत्र दिनेः दफा ६ बमोजिम जाँचबुझ गदान दरखास्तिवाला आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न सक्षम देखेमा समितिले तोकिए बमोजिमको ढाँचामा दरखास्तिवालालाई अनुमतिपत्र दिनेछ।
८. अनुमतिपत्रको अवधि र नवीकरणः (१) दफा ११ बमोजिम अनुमतिपत्र अगावै खारेज भएकोमा बाहेक उत्पादन अनुमतिपत्रको अवधि बढीमा पञ्च वर्षको र पैठारी, आपूर्ति तथा बिक्री वितरण अनुमतिपत्रको अवधि बढीमा तीन वर्षको हुनेछ।
(२) उपदफा (१) बमोजिमको अवधि समाप्त हुनु भन्दा कम्तीमा छ महिना अगावै अनुमतिपत्र नवीकरणको लागि तोकिएको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्ने छ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरणको लागि दरखास्त नदिएमा अनुमतिपत्र नवीकरण गरिने छैन र अवधि समाप्त भएका अनुमतिपत्र स्वतः रद्द भएको मानिनेछ।
९. अनुमतिपत्र नदिइनेः आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरणको लागि कुनै व्यक्ति वा संस्थालाई क्षेत्र तोकी अनुमतिपत्र दिएकोमा त्यस्तो अनुमतिपत्रमा उल्लिखित अवधिरको लागि सोही क्षेत्रमा आयोडिनयुक्त नूनको
उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरणको लागि अन्य कुनै व्यक्ति वा संस्थालाई अनुमतिपत्र दिइने छैन।
तर अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले अनुमतिपत्रमा उल्लिखित क्षेत्रमा माग बमोजिमको आयोडिनयुक्त नून उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न नसकेको हुने कुरा समितिलाई जानकारी हुन आएमा समितिले तोकिए बमोजिम जाँचबुझ गर्दा सो कुरा मनासिब देखिन आएमा अन्य कुनै व्यक्ति वा संस्थालाई सो क्षेत्रमा आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र दिन सक्नेछ।
१०. अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नुपर्ने कुराहरूः अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्दा अपनाउनु पर्ने प्राविधिक तथा व्यवस्थापन सम्बन्धी कुराहरू तोकिए बमोजिम हुनेछन्।
११. अनुमतिपत्र खारेज गर्न सकिनेः (१) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्दा दफा १० बमोजिम अपनाउनु पर्ने कुराहरूको पालना नगरेमा समितिले त्यस्तो व्यक्ति वा संस्थालाई निश्चित अवधि तोकी त्यस्ता कुराहरूको पालना गर्नको लागि आवश्यक आदेश दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले आदेशको पालना नगरेमा समितिले त्यस्तो व्यक्ति वा संस्थाको अनुमतिपत्र खारेज गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि समितिले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थालाई आफ्नो सफाइ पेश गर्न मनासिब मौका दिनु पर्नेछ।
(४) उपदफा (२) बमोजिम समितिले अनुमतिपत्र खारेज गर्ने गरी गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्ति वा संस्थाले पैंतीस दिनभित्र मन्त्रालयमा पुनरावेदन दिन सक्नेछ।
परिच्छेद–३ आयोडिन अभावजन्य विकार निवारण समिति
१२. आयोडिन अभावजन्य विकार निवारण समिति: (१) नेपाल सरकारको नीति र निर्देशन बमोजिम कार्यान्वयन गर्न देहाय बमोजिमको अध्यक्ष तथा सदस्य भएको आयोडिन अभावजन्य विकार निवारण समिति गठन हुनेछ:-
(क) सचिव, स्वास्थ्य मन्त्रालय – अध्यक्ष $\Sigma$(ख) प्रतिनिधि (रा.प. प्रथम श्रेणी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य $\Gamma$(ग) .................................................................................................... $\Gamma$(घ) .................................................................................................... (ङ) प्रतिनिधि (रा.प. प्रथम श्रेणी), स्वास्थ्य मन्त्रालय – सदस्य (च) केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख – सदस्य (छ) प्रतिनिधि, उद्योग वाणिज्य संघ – सदस्य (ज) आयोडिनयुक्त नून उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण कार्यमा संलग्न व्यक्ति वा संस्थाहरु मध्येबाट नेपाल सरकारबाट मनोनीत दुईजना – सदस्य (झ) नेपाल सरकारबाट मनोनीत पोषण विज्ञ दुईजना – सदस्य (ञ) उपभोक्ताको तर्फबाट एकजना – सदस्य (ट) नेपाल सरकारले तोकेको स्वास्थ्य मन्त्रालयको अधिकृत – सदस्य-सचिव
(२) खण्ड (ज), (झ), (ञ) र (ट) बमोजिमका सदस्य तथा सदस्य-सचिवको पदावधि दुई वर्षको हुनेछ र निजहरु पुनः मनोनीत हुन सक्नेछन्।
$\Sigma$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित। $\Gamma$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा झिकिएको।
(३) समितिले बैठकमा विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सक्नेछ।
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको सदस्यहरुमा थपघट वा हेरफेर गर्न सक्नेछ।
(५) समितिको सचिवालय स्वास्थ्य मन्त्रालयमा रहनेछ।
(६) समितिको लागि आवश्यक पर्ने बजेट नेपाल सरकारले उपलब्ध गराउने छ।
१३. समितिको बैठकः (१) समितिको बैठक कम्तीमा वर्षको चार पटक बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिका पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(४) समितिको बैठकको निर्णय उपस्थित सदस्यहरुको बहुमतको आधारमा गरिनेछ। मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ।
(५) समितिको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ।
(६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
१४. समितिको काम, कर्तव्य र अधिकारः यस ऐनमा लेखिएका अन्य काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले पेश गरेको आयोडिनयुक्त नूनको लेबल तथा प्याकेजलाई तोकिए बमोजिम स्वीकृति प्रदान गर्ने।
(ख) आयोडिनयुक्त नून सम्बन्धी सूचना तथा शैक्षिक सामग्रीहरुको प्रचार प्रसार सम्बन्धी काममा समन्वय गर्ने।
(ग) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरु पालन भए नभएको सम्बन्धमा तोकिए बमोजिम सुपरिवेक्षण तथा अनुगमन गर्ने।
(घ) यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियममा उल्लिखित व्यवस्था विपरीत आयोडिनयुक्त वा आयोडिन नभएको नुनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्ने व्यक्ति उपर अनुसन्धान तहककात् गरी मुद्दा चलाउने सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने।
परिच्छेद–४ गुणस्तर प्रमाणीकरण तथा लेबल स्वीकृत गर्ने सम्बन्धी व्यवस्था
१५. गुणस्तर: (१) आयोडिनयुक्त नुन उत्पादन, पैठारी, आपूर्ति र बिक्री वितरण गर्दाको अवस्थामा आयोडिनयुक्त नुनमा हुनुपर्ने गुणस्तर समितिबाट निर्धारण गरिएको वा सिफारिस गरे बमोजिमको हुनुपर्नेछ।
(२) उपदफा (१) बमोजिम समितिबाट निर्धारित वा सिफारिस गरिएको आयोडिनयुक्त नुनको गुणस्तर नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।
(३) नेपाल $\times$.......... मा उत्पादन भएको वा पैठारी गरिएको आयोडिनयुक्त नुनको गुणस्तर उपदफा (१) मा उल्लेख भए बमोजिमको गुणस्तर अनुरूप भए नभएको सम्बन्धमा परीक्षण गर्ने अधिकार केन्द्रीय खाद्य अनुसन्धानशालालाई हुनेछ।
(४) उपदफा (१) बमोजिम निर्धारित गुणस्तर कायम रहने अन्तिम मिति पुगेको आयोडिनयुक्त नुन बजारमा आपूर्ति गर्न वा बिक्री वितरण गराउनु हुँदैन।
(५) आयोडिनयुक्त नुनको गुणमा ह्रास, मिसावट र दूषित हुन नदिन उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले प्याकेजिङ्ग तथा ढुवानी गर्दा अपनाउनु पर्ने तरिका तोकिए बमोजिम हुनेछ।
१६. गुणस्तर प्रमाणीकरण: (१) उत्पादक, पैठारीकर्ता वा वितरकले नेपाल $\times$.......... मा डिलर मार्फत आयोडिनयुक्त नुन बिक्री वितरण गर्नु अघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण गराउनु पर्नेछ।
(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि उत्पादन वा पैठारी गरी बिक्रीमा ल्याइसकेको आयोडिनयुक्त नुन यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र उत्पादक वा आपूर्तिकर्ता वा वितरकले केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण लिनु पर्नेछ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको।
(३) उपदफा (१) र (२) को प्रयोजनको लागि उत्पादक, पैठारीकर्ता वा वितरकले तोकिएको ढाँचामा तोकिए बमोजिमको दस्तुर र आयोडिनयुक्त नूनको नमूना सहित केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम दरखास्त साथ नमूना प्राप्त भएपछि केन्द्रीय खाद्य अनुसन्धानशालाले दफा १५ बमोजिम निर्धारित गुणस्तर अनुरूप भए नभएको परीक्षण गरी निर्धारित गुणस्तर अनुरूप भएको पाइएमा त्यस्तो उत्पादनको गुणस्तर प्रमाणीकरण गरिदिनु पर्नेछ।
१७. लेबल स्वीकृत गर्नेः (१) नेपाल $\times$................ मा उत्पादन वा पैठारी गरिएको आयोडिनयुक्त नून बिक्री वितरण गर्नु अघि उत्पादक वा पैठारीकर्ता वा वितरकले त्यस्तो नूनको लेबल स्वीकृतिको लागि तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्नेछ।
(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि नेपाल $\times$................ भित्र उत्पादन वा पैठारी भइसकेको आयोडिनयुक्त नूनको उत्पादक वा पैठारीकर्ता वा वितरकले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र समितिबाट लेबल स्वीकृत गराउनु पर्नेछ।
(३) उत्पादक, पैठारीकर्ता वा वितरकले लेबल तयार गर्दा आयोडिनयुक्त नूनको उपयोगी प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने र प्रोत्साहन दिने किसिमले तयार गर्नु पर्नेछ।
(४) लेबलमा स्पष्ट तथा सजिलै सँग बुझ्न सकिने देहाय बमोजिमको जानकारी तथा सन्देश नमेटिने गरी नेपाली तथा आवश्यकता अनुसार अंग्रेजी भाषामा छापिएको हुनु पर्नेछः–
(क) समितिबाट स्वीकृत भए बमोजिमको लोगो,
(ख) उत्पादक र प्याकिङ्ग गर्ने व्यक्ति वा संस्थाको पूरा नाम र ठेगाना,
(ग) प्याकेज गरेको आयोडिनयुक्त नूनको खास तौल,
(घ) प्याकेज गरेको साल र महीना,
(ङ) आयोडिनको मात्रा (पि.पि.एम.मा),
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको।
(च) आयोडिनयुक्त नूनमा मिश्रित आयोडिन नासिन, उड्न र हराउन नदिन अपनाउनु पर्ने उपाय र प्रविधि,
(छ) आयोडिनयुक्त नूनमा रहेको गुणस्तर कायम रहने अन्तिम मिति,
(ज) तोकिए बमोजिमका अन्य विवरण।
१८. निरीक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारः (१) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाको पालन गरे नगरेको सम्बन्धमा जाँचबुझ तथा निरीक्षण गर्न मन्त्रालयले समितिको सिफारिसमा आवश्यक संख्यामा निरीक्षकहरु नियुक्त गर्न वा नेपाल सरकारको सेवामा बहाल रहेका कर्मचारीहरुलाई सम्बन्धित निकायको स्वीकृति लिई निरीक्षक भई काम गर्न तोक्न सक्नेछ।
(२) निरीक्षकको लागि चाहिने योग्यता तोकिए बमोजिम हुनेछ।
(३) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरुको पालन गरे नगरेको सम्बन्धमा निरीक्षकले तोकिए बमोजिम निरीक्षण तथा जाँचबुझ गरी त्यसको प्रतिवेदन समितिमा पेश गर्नु पर्ने छ।
(४) उपदफा (३) मा लेखिए देखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
परिच्छेद–५ सूचना, शिक्षा र स्वास्थ्य संस्थाको दायित्व
१९. आयोडिनयुक्त नून सम्बन्धी सूचना र शिक्षाः (१) पढ्न, सुन्न र देख्न सकिने आयोडिनयुक्त नून सम्बन्धी उपयोगी सूचना तथा शैक्षिक सामग्रीको प्रचार प्रसार गर्ने स्वीकृति मन्त्रालयले दिनेछ।
(२) उपदफा (१) बमोजिमको आयोडिनयुक्त नून सम्बन्धी सूचना तथा शैक्षिक सामग्रीहरु देहायका कुराहरुको बारेमा स्पष्ट जानकारी दिने किसिमको हुनु पर्नेछः–
(क) मानव तथा पशु स्वास्थ्यको लागि आयोडिनयुक्त नूनको आवश्यकता र महत्त्व,
(ख) आयोडिनयुक्त नूनको प्रयोगबाट हुने फाइदा,
(ग) आयोडिन नभएको नून खाँदा वा खुवाउँदा मानव तथा पशु स्वास्थ्यमा पर्न सक्ने असर,
(घ) आयोडिनयुक्त नून र आयोडिन नभएको नूनको मूल्यमा पर्ने अन्तर,
(ङ) आयोडिनयुक्त नूनमा मिश्रित आयोडिन नासिन, हराउन वा उड्न नदिने उपाय तथा त्यसको लागि अपनाउनु पर्ने प्रविधि।
(३) उपदफा (२) बमोजिमको सूचना तथा शैक्षिक सामाग्रीमा ठीक र उपयोगी जानकारी मात्र हुनु पर्नेछ र आयोडिन नभएको नूनको उपयोग गर्ने तर्फ निरुत्साहन दिने खालको हुनु पर्नेछ।
२०. स्वास्थ्य संस्थाको दायित्वः (१) सर्वसाधारणलाई आयोडिनयुक्त नूनको उपयोगमा प्रोत्साहन गर्न मन्त्रालयले स्वास्थ्य संस्थालाई आवश्यक उपाय अवलम्बन गर्न आवश्यक आदेश तथा निर्देशन दिनेछ।
(२) उपदफा (१) बमोजिम मन्त्रालयले दिएको आदेश तथा निर्देशनको पालना गर्नु स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ।
२१. अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सकिनेः (१) दफा १८ को उपदफा (३) बमोजिम निर्देशकले पेश गरेको प्रतिवेदनबाट कुनै उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा बिक्री वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा दिएको आदेश वा निर्देशन पालन नगरेको देखिएमा समितिको सिफारिसमा मन्त्रालयले त्यस्तो उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा बिक्री वितरकले आफ्नो कारोबार वा व्यवसाय गर्न नेपाल सरकार वा अन्य कुनै निकायबाट पाएको अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले पनि त्यस्तो अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्ने तर्फ आवश्यक कारबाही चलाउनु पर्नेछ।
परिच्छेद–६ कसूर र दण्ड सजाय
२२. कसूर गरेको मानिनेः देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः–
(क) दफा ३ बमोजिम समितिको स्वीकृति नलिई आयोडिन नभएको नुन नेपाल $\times$.......... भित्र पैठारी, खरिद वा बिक्री गरेमा,
(ख) दफा ४ बमोजिम अनुमतिपत्र नलिई नेपाल $\times$........... मा आयोडिनयुक्त नुनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गरेमा,
(ग) दफा १५ बमोजिम निर्धारित गुणस्तर नभएको आयोडिनयुक्त नुनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गरेमा,
(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित कार्य बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कार्य गरेमा।
२३. दण्ड सजायः दफा २२ को देहायको खण्ड बमोजिमको कसुर गर्नेलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) खण्ड (क), (ख) र (ग) बमोजिमको कसुर गर्नेलाई बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
(ख) खण्ड (घ) विपरीत कसुर गर्नेलाई कसुरको प्रकृति हेरी एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
परिच्छेद–७ विविध
२४. संस्थाको दायित्वः कुनै संस्थाले यो ऐन बमोजिम कसुर हुने कार्य गरेमा त्यस्तो संस्थाको मुख्य प्रशासकीय अधिकारीको हैसियतमा काम गर्ने अधिकारी सजायको भागी हुनेछ।
तर आफू मुख्य प्रशासकीय अधिकारी हुनुभन्दा अगावै भएका कसुरको हकमा त्यस्तो व्यक्ति सजायको भागी हुने पर्नु छैन।
२५. उपसमिति गठन गर्न सक्नेः (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरुको कार्यान्वयनको लागि समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
२६. अधिकार प्रत्यायोजन: समितिले यो ऐन बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष वा कुनै सदस्य वा उपसमितिको संयोजक वा सदस्य वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
२७. सरकारवादी हुने: यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुनेछ।
२८. मुद्दाको तहकीकात र दायरा: (१) यो ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकीकात निरीक्षकले गर्नेछ र त्यस्तो तहकीकातको काम पूरा भएपछि जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।
(२) उपदफा (१) बमोजिम मुद्दा तहकीकात र दायर गर्दा निरीक्षकले सरकारी वकीलको राय लिनेछ।
२९. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
द्रष्टव्य: केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्त्तर भएका शब्दहरु:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।