२०१४ सालको ऐन नं. ३
$\infty$
नेपाली मुद्राको चलन चल्ती बढाउनको निमित्त बनेको ऐन
एकै मुद्राको आधारमा देशको आर्थिक व्यवस्थालाई सुदृढ र सन्तुलित पार्नको निमित्त नेपालभर मुलुकमा नेपाली मुद्राको चलन चल्ती बढाउन आवश्यक भएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्को सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेको छ।
१. संक्षिप्त नाम, विस्तार प्रारम्भ: (१) यस ऐनको नाम “नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४” रहेको छ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि लागू हुनेछ।†
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,–
* यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\infty$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा त्रिवकिएको । † ऐन लागू भएको स्थान र मिति:– १. काठमाण्डौ उपत्यका, पूर्व १, २, ३ र ४ नं., पश्चिम १, २, ३ र ४ नं., धनकुटा, पाल्पा, बागलुङ्ग, सल्यान, जुम्ला तथा दैलेख जिल्लाहरुमा २०१७।१।१ देखि लागू (नेपाल राजपत्र –मिति २०१७।१।२७) २. इलाम र वैतडी जिल्लामा २०१८।३।१ देखि लागू (नेपाल राजपत्र –मिति २०१८।२।३२) ३. डोटी जिल्लामा २०१८।५।१ देखि लागू (नेपाल राजपत्र मिति २०१८।४।३०) ४. बाँकी सबै जिल्लाहरुमा २०२२।९।१ देखि लागू (नेपाल राजपत्र –मिति २०२२।८।३०)
(क) “नेपाली मुद्रा” भन्नाले नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको नोट र नेपाल सरकारले निष्कासन गरेको मोहर, रुपैयाँ, रे चकी वा पैसालाई जनाउँछ।
(ख) “विदेशी मुद्रा” भन्नाले नेपाली मुद्रा बाहेक अरू मुद्रा सम्झनु पर्छ।
३. मोल वा फी ज्याला इत्यादि रकम नेपाली मुद्रामा दिन सकिने: यो ऐन लागू भएको क्षेत्रमा कसैले कसैसाँग मालसामानको खरिद बिक्रीमा मोल वापत कुनै रकम दिनु पर्दा वा कसैले कसैलाई काम कुराको निमित्त फी ज्याला, मजुरी, भाडा वा यस्तै अरू कुनै रकम दिन पर्दा नेपाली मुद्रामा दिन ल्याएमा वा त्यस्तो कुनै रकम विदेशी मुद्रामा निर्धारित भएको भए तापनि त्यसको भुक्तानी दिनु पर्दा सो भुक्तानी गर्ने दिनमा नेपाल राष्ट्र बैंकमा चलेको सटही दरमा नेपाली मुद्रामा दिन ल्याएमा बुझी लिनु पर्नेछ।
तर नेपाल सरकारसाँगको लेनदेन र व्यवहारमा यो दफा लागू हुने छैन।
४. विदेशी मुद्रामा भएको लेनदेनको रकम नेपाली मुद्रामा बुझाउन सकिने: कसैले विदेशी मुद्रामा गरेको कुनै लेनदेनमा सो रकम तत्काल यो ऐन लागू रहेको क्षेत्रमा बुझाउनु पर्दा सो बुझाउन ल्याएको दिनमा नेपाल राष्ट्र बैंकमा चलेको दरमा नेपाली मुद्रामा बुझाउन ल्याएमा बुझी लिनु पर्नेछ।
५. बचाउ: नेपाल सरकार र नेपाल सरकारद्वारा अधिकृत व्यक्ति वा संस्था र व्यवहारमा माथिका ३।४ दफा लागू हुने छैन।
६. दण्ड सजाय: कसैले दफा ३ वा ४ बमोजिम बुझाउन ल्याएको नेपाली मुद्रा बुझी नलिएमा निजलाई रू. १००।– एक सयदेखि रू. १०००।– एक हजारसम्म जरिवाना हुनेछ।
७. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ।
द्रष्टव्य:– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्त्तर गरिएका शब्द:–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।