भुक्तानी तथा फर्स्यौट ऐन, २०७५
प्रमाणीकरण र प्रकाशन मिति २०७५।१२।०४
सम्वत् २०७५ सालको ऐन नं. ३१ भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः मुलुकको समग्र भुक्तानी, समाशोधन तथा फर्स्यौट प्रणालीको विकास, विस्तार, प्रवर्द्धन, निगरानी तथा नियमन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
संघीय संसद्ले यो ऐन बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “भुक्तानी तथा फर्स्यौट ऐन, २०७५” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– (क) “अनुमतिपत्र” भन्नाले भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदान गर्न दफा ९ बमोजिम प्रदान गरिएको अनुमतिपत्र सम्झनु पर्छ। (ख) “आरटजीएस (रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम)” भन्नाले स्वचालित विद्युतीय प्रणालीको माध्यमबाट वास्तविक समयमा बैङ्कले तोके बमोजिमको ठूलो मूल्यको भुक्तानी र अति जरुरी भुक्तानी सम्बन्धी प्रत्येक कारोबारको अलग अलग हिसाब मिलान गर्ने गरी सम्बन्धित पक्षको बैङ्क खातामा रकम जम्मा वा खर्च गरी हिसाब मिलान गरिने प्रणाली सम्झनु पर्छ। (ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका विनियम वा जारी भएका निर्देशनमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (घ) “फर्स्यौट” भन्नाले भुक्तानी उपकरण जारी गर्ने र स्वीकार गर्ने पक्षहरुको दाबी वा दायित्व रकम प्रचलित व्यवस्था वा प्रणाली बमोजिम हिसाब
मिलाान वा फरफारख गर्ने कार्य वा प्रक्रिया सम्झनु पर्छ।
(ङ) “ठूलो मूल्य” भन्नाले बैङ्कले समय समयमा ठूलो मूल्य (हाइभ्यालु) भनी निर्धारण गरेको सीमा वा सोभन्दा बढी रकम सम्झनु पर्छ।
(च) “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ।
(छ) “बैङ्क तथा वित्तीय संस्था” भन्नाले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्थापना भएका बैङ्क तथा वित्तीय संस्था सम्झनु पर्छ।
(ज) “बोर्ड” भन्नाले दफा ३ बमोजिम गठन भएको राष्ट्रिय भुक्तानी बोर्ड सम्झनु पर्छ।
(झ) “भुक्तानी उपकरण” भन्नाले दफा ३१ बमोजिमका भुक्तानी उपकरण सम्झनु पर्छ।
(ञ) “भुक्तानी प्रणाली” भन्नाले कुनै भुक्तानी उपकरणको माध्यमबाट सेवाग्राही, संस्था वा बैङ्क बीच हुने जुनसुकै प्रकारको भुक्तानी दाबी वा दायित्वको भुक्तानी, समाशोधन वा फर्स्यौट गरिने प्रणाली सम्झनु पर्छ।
(ट) “भुक्तानी प्रणाली सञ्चालक” भन्नाले भुक्तानी सम्बन्धी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्ने संस्था सम्झनु पर्छ र सो शब्दले समाशोधन गृह, विद्युतीय कार्ड वा अन्य विद्युतीय (अनलाइन) भुक्तानी सञ्चालन गर्ने संस्थालाई समेत जनाउँछ।
(ठ) “भुक्तानी सेवा प्रदायक” भन्नाले सेवाग्राहीलाई भुक्तानी सम्बन्धी सेवा दिने संस्था सम्झनु पर्छ र सो शब्दले संस्था र सेवाग्राही बीचमा वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्व बापतको रकम भुक्तानी गर्ने, स्वदेश तथा विदेशमा रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने वा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने संस्थालाई समेत जनाउँछ।
(ड) “संस्था” भन्नाले दफा ६ को उपदफा (१) बमोजिम कम्पनीको रूपमा स्थापना भई दफा ९ बमोजिम अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ र सो शब्दले बैङ्क तथा वित्तीय संस्थालाई समेत जनाउँछ।
(ढ) “सञ्चार सेवा प्रदायक” भन्नाले टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा जस्ता विद्युतीय सूचना तथा सञ्चार सेवा प्रदान गर्ने प्रचलित कानून
बमोजिम स्थापना भएको कम्पनी सम्झनु पर्छ।
(ण) “सेटलमेण्ट बैङ्क” भन्नाले भुक्तानीसँग सम्बन्धित वित्तीय कारोबारको समाशोधन, फर्स्यौट र दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि संस्थाले दफा १२ बमोजिम सम्झौता गरेको बैङ्क सम्झनु पर्छ।
परिच्छेद–२ राष्ट्रिय भुक्तानी बोर्ड
३. राष्ट्रिय भुक्तानी बोर्डको गठन: (१) देहायका अध्यक्ष र सदस्य रहेको एक राष्ट्रिय भुक्तानी बोर्डको गठन गरिएको छः–
(क) बैङ्कको गभर्नर -अध्यक्ष (ख) अर्थ मन्त्रालयको सचिव -सदस्य (ग) नेपाल सरकारबाट मनोनीत तोकिएको योग्यता पुगेको एकजना विज्ञ -सदस्य (घ) महालेखा नियन्त्रक -सदस्य (ङ) बैङ्कको सम्बन्धित क्षेत्र हेर्ने डेपुटी गभर्नर -सदस्य (च) नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष -सदस्य (छ) बैङ्कको भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक -सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको सदस्यको पदावधि दुई वर्षको हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) बमोजिम मनोनीत सदस्यले आफ्नो पद अनुसारको काम नगरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ।
तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनुपर्नेछ।
(४) बोर्डको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(५) बोर्डको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अघि बैठकमा छलफल हुने विषय सदस्य-सचिवले सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।
(६) कम्तीमा एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा बोर्डको बैठकको लागि
गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(७) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा अर्थ मन्त्रालयको सचिवले बैठकको अध्यक्षता गर्नेछ।
(८) बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(९) बोर्डले आवश्यक ठानेमा भुक्तानी, समाशोधन वा फर्स्यौट सम्बन्धी विज्ञ वा अन्य पदाधिकारीलाई बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(१०) बैठकको निर्णय छुट्टै पुस्तिकामा अभिलेख गरिनेछ र त्यस्तो पुस्तिकामा बैठकको अध्यक्षता गर्ने व्यक्ति र उपस्थित सम्पूर्ण सदस्यले दस्तखत गर्नु पर्नेछ।
(११) बोर्डको निर्णय बोर्डको सदस्य-सचिवले प्रमाणित गरी राख्नु पर्नेछ।
(१२) बोर्डको सचिवालय बैङ्कले तोकेको बैङ्कको विभागमा रहनेछ।
(१३) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ।
४. बोर्डको काम, कर्तव्य र अधिकार: बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) भुक्तानी प्रणालीलाई सुरक्षित, व्यवस्थित तथा सक्षम बनाई वित्तीय स्थायित्व कायम गर्ने, जोखिम न्यूनीकरण गर्ने, भुक्तानी प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्ने तथा भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने,
(ख) भुक्तानी प्रणालीसँग सम्बन्धित कम्पनीहरू बीच समन्वय गर्ने, गराउने,
(ग) भुक्तानी प्रणाली सम्बन्धमा भए गरेका काम कारबाहीको नियमित अनुगमन, नियमन तथा निगरानी (ओभरसाइट) गर्ने, गराउने,
(घ) भुक्तानी प्रणालीसँग सम्बन्धित काम कारबाहीलाई सुरक्षित र व्यवस्थित गर्ने सम्बन्धमा कम्पनी र सञ्चार सेवा प्रदायकलाई समय समयमा आवश्यक निर्देशन दिने,
(ङ) यस ऐन विपरीत कार्य गर्ने संस्थालाई आवश्यक कारबाही गर्ने वा त्यस्तो कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन बैङ्कको सम्बन्धित
विभागलाई निर्देशन दिने,
(च) भुक्तानी प्रणाली सुरक्षित एवं व्यवस्थित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन, नियमन तथा निगरानी गर्न आवश्यकता अनुसार विभिन्न प्राविधिक समिति तथा उपसमिति गठन गर्ने।
परिच्छेद-३ अनुमतिपत्र
५. अनुमतिपत्र नलिई सेवा सञ्चालन गर्न नहुनेः कसैले पनि बैङ्कबाट अनुमतिपत्र नलिई यस ऐन बमोजिम भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न हुँदैन।
६. कम्पनी स्थापना गर्नु पर्नेः (१) यस ऐन बमोजिम भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न चाहने व्यक्तिले प्रचलित कानून बमोजिम कम्पनी स्थापना गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्थाले उपदफा (१) को प्रयोजनको लागि पुनः कम्पनी स्थापना गर्नु पर्ने छैन।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाले यस ऐन बमोजिम भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्नको लागि अर्को कुनै कम्पनी स्थापना गर्न वा अन्य कम्पनीसँग सम्झौता गरी त्यस्तो सेवा दिन वा त्यस्तो कार्यको लागि एजेण्ट नियुक्त गर्न सक्नेछ।
७. आशयपत्र लिनु पर्नेः (१) भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न चाहने व्यक्तिले दफा ६ बमोजिम कम्पनी स्थापना गर्नु अघि देहायको कागजात र तोकिए बमोजिमको दस्तुर सहित आशयपत्रको लागि बैङ्क समक्ष निवेदन दिनु पर्नेछ:—
(क) प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावली, (ख) व्यावसायिक तथा प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन, (ग) तोकिएको ढाँचामा संस्थापकको व्यक्तिगत विवरण, (घ) संस्थापकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ङ) संस्थापकको लगानीको स्रोत खुलेको विवरण, (च) चालू आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको
प्रमाण वा सो प्रयोजनको सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा आय विवरण पेश गरेको निस्सा,
(छ) कम्पनीको तर्फबाट संस्थापक बाहेकका अन्य व्यक्तिले निवेदन दिएमा अख्तियारी पत्र,
(ज) कालोसूची वा डिफल्टरमा नपरेको,
(झ) बैङ्कले तोकिदिएका अन्य कागजात।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुअघि भुक्तानी तथा फर्स्यौट सम्बन्धी कारोबार गर्न बैङ्कबाट अनुमति प्राप्त संस्थाले यस दफा बमोजिम आशयपत्र लिएको मानिनेछ।
तर त्यस्तो संस्थाले कुनै नयाँ भुक्तानी उपकरण सञ्चालनमा ल्याउन चाहेमा त्यस्तो उपकरणको लागि बैङ्कको स्वीकृति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा बैङ्कले आशयपत्र दिन उपयुक्त देखेमा निवेदन प्राप्त भएको नब्बे दिनभित्र निवेदकलाई तोकिए बमोजिमको ढाँचामा आशयपत्र दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम आशयपत्र दिँदा बैङ्क तथा वित्तीय संस्था बाहेकका संस्थाले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकमध्ये एकमात्र कारोबार गर्न पाउने गरी आशयपत्र दिइनेछ।
(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले देहायको कुनै अवस्थामा निवेदकलाई आशयपत्र दिन इन्कार गर्न सक्नेछः-
(क) उपदफा (१) बमोजिम पेश गर्नु पर्ने सम्पूर्ण विवरण कागजात पेश नगरेमा,
(ख) मुलुकको अर्थतन्त्रको अवस्था, आकार र बजार प्रतिस्पर्धा जस्ता वित्तीय तथा प्राविधिक वा दफा १४ को उपदफा (२) मा उल्लिखित आधारबाट थप संस्थाको स्थापना गर्न उपयुक्त नदेखेमा।
(६) उपदफा (५) बमोजिम आशयपत्र दिन इन्कार गरेमा बैङ्कले सोको कारण सहितको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।
(७) उपदफा (३) बमोजिम आशयपत्र प्राप्त व्यक्तिले बैङ्कले तोकेको अवधिभित्र
दफा ६ बमोजिम कम्पनी स्थापना गर्नु पर्नेछ।
(८) उपदफा (७) बमोजिमको अवधिभित्र कम्पनी स्थापना हुन नसकेमा त्यस्तो आशयपत्र स्वतः रद्द हुनेछ।
८. निवेदन दिनु पर्नेः (१) दफा ७ बमोजिम कम्पनीको रुपमा दर्ता भएको संस्थाले आशयपत्र प्राप्त गरेको छ महिनाभित्र भुक्तानी प्रणाली सञ्चालन गर्ने वा भुक्तानी सेवा प्रदान गर्ने अनुमतिपत्रको लागि देहायको विवरण कागजात सहित बैङ्क समक्ष निवेदन दिनु पर्नेछः—
(क) प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावली,
(ख) भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्न आवश्यक पर्ने सेवा, सुविधा भएको कार्यालय भवनको विवरण र भवन भाडामा लिएको भए भवन बहाल सम्बन्धी सम्झौताको प्रतिलिपि,
(ग) संस्थाको संस्थापकले लिन कबूल गरेको शेयरको रकम चुक्ता गरेको प्रमाणित हुने कागजात,
(घ) कारोबार गर्ने मुख्य स्थान र शाखा कार्यालयको स्थान यकिन भएकोमा सोको ठेगाना,
(ङ) सञ्चालन गरिने कारोबारको प्रकृति तथा संस्थाको व्यावसायिक योजना,
(च) संस्थाको सञ्चालक तथा पदाधिकारीको नामावली र त्यस्ता व्यक्ति यस ऐन बमोजिम सञ्चालक तथा पदाधिकारी हुन योग्य रहेको घोषणापत्र,
(छ) सम्भावित जोखिम व्यवस्थापनको लागि आन्तरिक नियन्त्रण प्रणाली कायम गर्न कम्पनीले व्यक्त गरेको प्रतिबद्धतापत्र,
(ज) बैङ्कले तोकिदिएको अन्य कागजात।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र अनुमतिपत्रको लागि निवेदन नदिने संस्थाको आशयपत्र उपर कुनै कारबाही गरिने छैन।
९. अनुमतिपत्र दिनु पर्नेः (१) दफा ८ बमोजिम निवेदन प्राप्त भएको तीस दिनभित्र बैङ्कले निवेदक संस्थाको भौतिक तथा प्राविधिक पूर्वाधारको सम्बन्धमा स्थलगत निरीक्षण एवं जाँचबुझ गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निरीक्षण एवं जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखिएमा बैङ्कले निवेदन प्राप्त भएको मितिबाट साठी दिनभित्र तोकिए बमोजिमको रकम धरौटी लिई निवेदकलाई भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न अनुमतिपत्र दिनु पर्नेछ।
१०. शर्त तोक्न सक्नेः (१) बैङ्कले दफा ९ बमोजिम जारी गरेको अनुमतिपत्रमा संस्थाले पालना गर्नु पर्ने आवश्यक शर्तहरू तोक्न सक्नेछ।
(२) उपदफा (१) का अतिरिक्त बैङ्कले समय समयमा निर्देशन जारी गरी अन्य थप शर्तहरू तोक्न, कायम रहेका शर्तहरू हटाउन वा शर्तमा हेरफेर गर्न सक्नेछ।
(३) उपदफा (१) र (२) बमोजिम तोकिएका शर्तहरूको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ।
११. अनुमतिपत्र दिन इन्कार गर्न सक्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले देहायको अवस्थामा निवेदकलाई भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछः—
(क) संस्थाको भौतिक तथा प्राविधिक पूर्वाधार अपर्याप्त देखिएमा,
(ख) दफा ८ को उपदफा (१) मा उल्लेख भए बमोजिमका सम्पूर्ण विवरण कागजात पेश नगरेमा,
(ग) बैङ्कले तोकेको अवधिभित्र अनुमतिपत्र बापतको धरौटी रकम बैङ्कमा नबुझाएमा।
(२) उपदफा (१) बमोजिम अनुमति दिन इन्कार गरेमा बैङ्कले सोको कारण सहितको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।
(३) यस दफा बमोजिम अनुमतिपत्र प्रदान गर्न इन्कार गरिएको कारणबाट निवेदकलाई कुनै हानि नोक्सानी हुन गएमा त्यस्तो हानि नोक्सानी उपर बैङ्कले कुनै दायित्व व्यहोर्ने छैन।
१२. सम्झौता गर्नु पर्नेः (१) संस्थाले आफ्नो सेवा सञ्चालन गर्नु अघि यस ऐन बमोजिम वित्तीय कारोबारको समाशोधन, फर्स्यौट, हिसाब मिलान वा दायित्व भुक्तानी गर्न प्रयोजनको लागि कुनै सेटलमेण्ट बैङ्कसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ।
(२) संस्थाले उपदफा (१) बमोजिम सम्झौता गरेको सेटलमेण्ट बैङ्कमा यस ऐन बमोजिम गरिने भुक्तानी तथा फर्स्यौट कारोबारको लागि छुट्टै खाता खोल्नु पर्नेछ।
१३. अनुमतिपत्रको अवधि र नवीकरण: (१) यस ऐन बमोजिम नवीकरण गरेकोमा बाहेक दफा ९ बमोजिम प्रदान गरिएको अनुमतिपत्रको अवधि पाँच वर्षको हुनेछ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा नब्बे दिन अगावै सम्बन्धित संस्थाले तोकिए बमोजिमको दस्तुर सहित नवीकरणको लागि बैङ्कसमक्ष निवेदन दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएपछि बैङ्कले त्यस्तो संस्थाको स्थलगत निरीक्षण समेत गरी जाँचबुझ गर्दा अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको स्थलगत निरीक्षण तथा जाँचबुझबाट अनुमतिपत्र नवीकरण गर्न उपयुक्त नदेखेमा सात दिनभित्र सोको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।
(५) उपदफा (२) बमोजिम तोकिएको अवधिभित्र कुनै कारणले अनुमतिपत्र नवीकरणको लागि निवेदन दिन नसकिएमा अनुमतिपत्रको म्याद समाप्त भएको नब्बे दिनसम्म यस ऐन बमोजिम लाग्ने नवीकरण दस्तुरको दोब्बर दस्तुर तिरी अनुमतिपत्र नवीकरण गराउन सकिनेछ।
(६) उपदफा (५) बमोजिम तोकिएको अवधिभित्र नवीकरणको लागि निवेदन नदिने संस्थाको अनुमतिपत्र त्यस्तो अनुमतिपत्रको अवधि समाप्त भएपछि स्वतः रद्द हुनेछ।
(७) अनुमतिपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१४. भुक्तानी उपकरण थप गर्न वा खारेज गर्न निवेदन दिनु पर्ने: (१) संस्थाले यस ऐन बमोजिम प्राप्त गरेको अनुमतिपत्रमा उल्लेख नभएको कुनै भुक्तानी उपकरण थप गर्न वा कायम रहेको कुनै भुक्तानी उपकरण खारेज गर्न चाहेमा बैङ्क समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन देहायको आधारमा जाँचबुझ गर्दा कुनै भुक्तानी उपकरण थप गर्न वा कायम रहेको भुक्तानी उपकरण खारेज गर्न उपयुक्त देखेमा बैङ्कले त्यस्तो भुक्तानी उपकरण थप गर्न वा खारेज गर्न सम्बन्धित संस्थालाई अनुमति दिन सक्नेछ:-
(क) राष्ट्रिय अर्थतन्त्रको अवस्था, (ख) भुक्तानी सेवाको प्रभावकारिता, पारदर्शिता र विश्वसनीयता, (ग) भुक्तानी सम्बन्धी कारोबारको गोपनीयता, (घ) भुक्तानी सम्बन्धी उपकरणमा अन्तरनिहित जोखिम, (ङ) छिटो, छरितो र सुलभ सेवाको प्रत्याभूति, (च) तरलता व्यवस्थापन, (छ) अन्तर्राष्ट्रिय प्रचलन तथा असल अभ्यास, (ज) ग्राहकको हित संरक्षण, (झ) समग्र जोखिम व्यवस्थापन विधि, र (ञ) बैङ्कले उपयुक्त देखेका अन्य विषयहरु।
१५. संस्थाको विवरण प्रकाशन गर्नु पर्नेः बैङ्कले यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त संस्थाको विवरण तोकिए बमोजिम अद्यावधिक गरी आफ्नो वेबसाइट मार्फत नियमित रूपमा प्रकाशन गर्नु पर्नेछ।
१६. चुक्ता पूँजीः संस्थाको चुक्ता पूँजी बैङ्कले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद-४ संस्थाको सञ्चालक समिति
१७. सञ्चालक समितिको गठनः (१) प्रत्येक संस्थामा कम्तीमा तीनजना सञ्चालकहरु रहेको एक सञ्चालक समिति रहनेछ। (२) संस्थाको सञ्चालकको नियुक्ति प्रचलित कानूनको अधीनमा रही संस्थाको साधारण सभाले गर्नेछ। (३) सञ्चालकहरुले आफूमध्ये बहुमतबाट छानेको कुनै एकजना व्यक्ति सञ्चालक समितिको अध्यक्ष हुनेछ। (४) बैङ्क तथा वित्तीय संस्था बाहेकका संस्थाको सञ्चालकको पदमा नियुक्ति हुने व्यक्तिको योग्यता तथा सञ्चालक समिति सम्बन्धी अन्य व्यवस्था यस ऐन अन्तर्गत बनेको विनियममा उल्लेख भए बमोजिम हुनेछ।
१८. सञ्चालक समितिको काम, कर्तव्य र अधिकारः (१) संस्थाको साधारण सभाबाट हुने काम बाहेक बैङ्कबाट भुक्तानी, समाशोधन तथा फर्स्यौटको सम्बन्धमा यस ऐन, प्रचलित कानून,
प्रबन्धपत्र र नियमावलीको अधीनमा रही संस्थाले गर्नु पर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहनेछ।
(२) संस्थाको समग्र जोखिम व्यवस्थापन गरी सेवाग्राहीको हितमा संस्थाको सञ्चालन गर्नु र संस्थागत सुशासन कायम गर्नु सम्बन्धित संस्थाको सञ्चालक समितिको कर्तव्य हुनेछ।
(३) सञ्चालक समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) संस्थाले गर्नु पर्ने काम सुव्यवस्थित रुपले सञ्चालन गर्न यस ऐन, प्रचलित कानून तथा बैङ्कको निर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्ने,
(ख) संस्थाको संगठनात्मक संरचना स्वीकृत गर्ने,
(ग) भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्दा जोखिम वा जोखिममय परिस्थिति उत्पन्न हुन नदिन आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापनका मापदण्ड तयार गरी लागू गर्ने,
(घ) संस्थाले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीको नियमित अनुगमन गरी व्यवस्थित तवरबाट संस्था सञ्चालन गर्ने, गराउने,
(ङ) वार्षिक प्रतिवेदन सहितको लेखापरीक्षण प्रतिवेदन तयार गर्न लगाई संस्थाको वार्षिक साधारण सभामा पेश गर्ने,
(च) बैङ्कले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्ने।
(४) संस्थाको सञ्चालकको हैसियतले काम गर्ने सञ्चालक आफ्नो अधिकारक्षेत्र नाघी गरेको कुनै पनि काम कारबाही प्रति व्यक्तिगत रुपमा उत्तरदायी हुनेछ।
(५) सञ्चालक समितिको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तथा अन्य व्यवस्था संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ।
१९. कार्यकारी प्रमुखको नियुक्ति र सेवाका शर्तः (१) सञ्चालक समितिले यो ऐन, संस्थाको प्रबन्धपत्र र नियमावलीको अधीनमा रही संस्थामा एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको कार्यकारी प्रमुखको शैक्षिक योग्यता र अनुभव यस ऐन अन्तर्गत बनेको विनियममा तोकिए बमोजिम हुनेछ।
(३) सञ्चालक समितिले उपदफा (२) बमोजिम योग्यता पुगेको व्यक्तिलाई संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गरी सात दिनभित्र सोको जानकारी बैङ्कलाई दिनु पर्नेछ।
(४) कार्यकारी प्रमुखको पदावधि सामान्यतयाः चार वर्षको हुनेछ र निज पुनः नियुक्त हुन सक्नेछ।
(५) कार्यकारी प्रमुखको पारिश्रमिक, सेवाका शर्त तथा अन्य सुविधा कम्पनीको सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(६) कार्यकारी प्रमुखको पारिश्रमिक, सेवाका शर्त तथा अन्य सुविधाको निर्धारण निजलाई नियुक्त गर्दाका बखत गर्नुपर्नेछ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्थाको कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था सो सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
२०. कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकारः कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) साधारणसभा वा सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रबन्धपत्र र नियमावलीको अधीनमा रही सञ्चालक समितिबाट प्राप्त अधिकारको प्रयोग गरी संस्थाको प्रशासकीय प्रमुखको रूपमा काम गर्ने,
(ग) भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान सम्बन्धी काम कारबाहीको रेखदेख तथा नियन्त्रण गर्ने,
(घ) संस्थाको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि सञ्चालक समिति समक्ष पेश गर्ने,
(ङ) कर्मचारी विनियमावलीको अधीनमा रही संस्थालाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने,
(च) बैङ्कको निर्देशन अनुरूप संस्था सञ्चालन गर्ने तथा प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने,
(छ) सेवाग्राही, शेयरधनी तथा संस्थाको उच्चतम हित हुने गरी संस्था सञ्चालन गर्ने,
(ज) बैङ्कद्वारा जारी गरिएका विनियम, निर्देशन तथा आदेशको अधीनमा रही भुक्तानी तथा फर्स्यौट सम्बन्धी काम छिटो, छरितो, सुरक्षित र व्यवस्थित रुपले सम्पादन गर्ने।
परिच्छेद-५ संस्थाको दायित्व
२१. संस्था आबद्ध हुनु पर्ने: प्रत्येक संस्था र त्यस्तो संस्थाले जारी गरेको भुक्तानी उपकरण बैङ्कले निर्धारण गरेको प्रक्रिया बमोजिम राष्ट्रिय भुक्तानी (वित्तीय) स्विच र भुक्तानीद्वार (पेमेन्ट गेट वे) मा आबद्ध हुनु पर्नेछ।
२२. सेवा सञ्चालन गर्नु पर्ने: (१) संस्थाले यस ऐन, यस ऐन अन्तर्गत बनेको विनियम, बैङ्कले जारी गरेको निर्देशन तथा अनुमतिपत्रमा तोकिएका शर्त तथा अन्य प्रचलित कानूनले तोकेको मापदण्ड बमोजिम भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्नु पर्नेछ।
(२) संस्थाले बैङ्कले स्वीकृत गरेको वा जारी गरेको भुक्तानी, समाशोधन, फर्स्यौट र हिसाब मिलान प्रक्रिया सम्बन्धी कार्यविधि को पूर्ण पालना गर्नु पर्नेछ।
(३) संस्थाले अनुमतिपत्रमा तोकिएको अवधिभित्र अनुमतिपत्रमा उल्लेख भए बमोजिम भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायक सम्बन्धी काम शुरु गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र काम शुरु नगर्ने संस्थाको अनुमतिपत्र बैङ्कले तोकिए बमोजिम खारेज गर्न सक्नेछ।
२३. अभिलेख सुरक्षित राख्नु पर्ने: (१) संस्थाले भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्दा अपनाउनु पर्ने सुरक्षा नीति, ढाँचा र सोको लागि अवलम्बन गरिएका उपाय वा संयन्त्रको नियमित अनुगमन वा परीक्षण गरी भुक्तानी तथा फर्स्यौटको विवरण र सो सम्बन्धी सूचना तथा अभिलेख सुरक्षित राख्नु पर्नेछ।
(२) संस्थाले भुक्तानी प्रणालीको सुरक्षा, गोपनीयता र विश्वसनीयताको लागि आधिकारिक वा प्रमाणित कम्प्युटर संयन्त्र (सर्टिफाइड सफ्टवेयर र हार्डवेयर) र सुरक्षित तथ्याङ्क प्रणाली (सेक्युर्ड डेटाबेस, डेटा ब्याकअप, डेटा सेन्टर) को अतिरिक्त र संभावित क्षतिको न्यूनीकरण गर्न क्षति पुनःस्थापना प्रणाली (डिजास्टर रिकभरी सिस्टम) को व्यवस्था गर्नु पर्नेछ।
(३) संस्थाले सेवाग्राहीको नाम, ठेगाना, खाता नम्बर, कारोबार मिति, कारोबारको
रकम, रकम स्थानान्तरण (ट्रान्सफर) को किसिम, सेवाग्राहीले रकम स्थानान्तरण (ट्रान्सफर) गरेको खाता र रकमको विवरण, भुक्तानी वा रकम स्थानान्तरण (ट्रान्सफर) गर्न सेवाग्राहीले दिएको आदेश, मौज्दात विवरण र तोकिए बमोजिमका अन्य विवरण तथा अभिलेख बैङ्कले तोकेको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ।
२४. तरलता मौज्दात राख्नु पर्नेः (१) संस्थाले भुक्तानी सेवा प्रदान गर्दा कारोबारको प्रकृति, कारोबारको परिमाण, कारोबारमा निहित जोखिम समेतका आधारमा संस्थाले बहन गर्नु पर्ने दायित्वलाई खाम्ने गरी बैङ्कले समय समयमा तोके बमोजिमको मात्रामा नघट्ने गरी सेटलमेण्ट बैङ्कमा पर्याप्त तरलता मौज्दात राख्नु पर्नेछ।
(२) कम्पनीले कुनै कारणले ग्राहकको कारोबारको दायित्व भुक्तानी गर्न नसकेको अवस्थामा सोको फर्स्यौट गर्ने दायित्व सेटलमेण्ट बैङ्कको हुनेछ।
२५. लेखा तथा लेखापरीक्षणः (१) संस्थाले आफ्नो हिसाब किताब, बहीखाता, स्रेस्ता र लेखाको अभिलेख प्रचलित लेखामान वा लेखाका सर्वमान्य सिद्धान्त अनुरुप कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिबिम्बित हुने गरी दुरुस्त राख्नु पर्नेछ।
(२) संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र अनिवार्य रुपमा आफ्नो वित्तीय र समग्र भुक्तानी प्रणालीको लेखापरीक्षण गराउनु पर्नेछ।
(३) संस्थाले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुअघि तोकिए बमोजिम बैङ्कको स्वीकृति लिनु पर्नेछ।
(४) संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
२६. जानकारी गराउनु पर्नेः (१) संस्थाले आफूले प्रदान गर्ने सेवा, सेवा प्रयोग गरे बापत लाग्ने शुल्क, सेवाग्राहीले पालना गर्नु पर्ने शर्तहरु र कारोबार सञ्चालन प्रक्रिया बारेमा सेवाग्राहीलाई नियमित रूपमा जानकारी गराउनु पर्नेछ।
(२) संस्थाले सेवाग्राहीले मागेका बखत निजसँग सम्बन्धित कारोबारको विवरण लिखित रूपमा वा विद्युतीय माध्यमबाट उपलब्ध गराउनु पर्नेछ।
(३) संस्थाले विद्युतीय माध्यमबाट कारोबार गर्ने क्रममा कुनै त्रुटि भएमा सोको जानकारी तत्काल सम्बन्धित सेवाग्राहीलाई दिनु पर्नेछ।
२७. विवरण पेश गर्नु पर्नेः संस्थाले बैङ्कले तोकेको अवधिभित्र देहाय बमोजिमका विवरण कागजात विद्युतीय माध्यमद्वारा बैङ्क समक्ष पेश गर्नु पर्नेछ:—
(क) सञ्चालनमा रहेका खाता संख्या तथा विवरण, (ख) कारोबार रकम, (ग) संस्थाको बैङ्क मौज्दात, (घ) जालसाजी (फ्रड) तथा विवाद सम्बन्धी घटनाहरुको विवरण, (ङ) विवादको अवस्था र समाधानको विवरण, (च) प्राप्त गुनासो तथा सुझावहरु, (छ) सेवा अवरुद्ध वा सुरक्षासँग सम्बन्धित घटनाहरु, (ज) बैङ्कले तोकेका अन्य विवरण।
२८. विवरण गोप्य राख्नु पर्नेः (१) बैङ्कले यस ऐन बमोजिम संस्थाको अनुगमन, नियमन तथा निगरानी गर्ने सिलसिलामा कुनै संस्थाबाट प्राप्त जानकारी, तथ्याङ्क, विवरण, सूचना तथा अभिलेख प्रचलित कानूनको अधीनमा रही गोप्य राख्नु पर्नेछ।
(२) संस्थाले संस्था र सेवाग्राही बीचको सम्बन्ध, संस्थाको हिसाब किताब, बहीखाता, स्रेस्ता र लेखाको विवरण सम्बन्धित व्यक्ति बाहेक अन्य कसैलाई उपलब्ध गराउनु हुँदैन।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै जानकारी, तथ्याङ्क, विवरण, सूचना तथा अभिलेख उपलब्ध गराएमा गोपनीयता भङ्ग गरेको मानिने छैनः—
(क) संस्थाको निगरानीको सिलसिलामा बैङ्कलाई उपलब्ध गराएमा, (ख) मुद्दा वा कानूनी कारबाहीको सिलसिलामा अदालतलाई उपलब्ध गराएमा, (ग) कानून बमोजिम अधिकार प्राप्त अनुसन्धान, तहकीकात, जाँचबुझ वा अभियोजन गर्ने अधिकारीलाई तहकीकात, जाँचबुझ वा अभियोजनको सिलसिलामा उपलब्ध गराएमा,
(घ) लेखापरीक्षणको सिलसिलामा सम्बन्धित लेखापरीक्षकलाई उपलब्ध गराएमा ।
२९. प्रतिवेदन गर्नुपर्ने: प्रत्येक संस्थाले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानूनी व्यवस्था र सो सम्बन्धमा बैङ्क वा सम्बन्धित निकायले जारी गरेको निर्देशन बमोजिम आफ्नो कारोबारको अभिलेख राखी समयमै सोको प्रतिवेदन सम्बन्धित निकायमा गर्नुपर्नेछ ।
३०. उपभोक्ताको हित संरक्षण हुने गरी सेवा सञ्चालन गर्नुपर्ने: कम्पनीले भुक्तानी प्रणाली वा भुक्तानी सेवा प्रदायकको कारोबारको सञ्चालन गर्दा उपभोक्ताको हित संरक्षण एवं भुक्तानीको सुरक्षा हुने व्यवस्था गरी विश्वसनीय र गुणस्तरीय सेवा सञ्चालन गर्नुपर्नेछ ।
परिच्छेद-६ भुक्तानी उपकरण तथा फर्स्यौट
३१. भुक्तानीका उपकरण: (१) भुक्तानी प्रणालीमा देहाय बमोजिमका भुक्तानीका उपकरणको प्रयोग हुनेछ:-
(क) नगद, (ख) चेक, (ग) विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), (घ) भुक्तानी कार्ड, (ङ) स्विफ्टको माध्यमबाट हुने भुक्तानी, (च) अन्तर बैङ्क भुक्तानी, (छ) इ-मनी (वालेट), (ज) मोबाइल बैंकिङ्ग, (झ) तोकिए बमोजिमका अन्य भुक्तानी उपकरण ।
(२) भुक्तानी उपकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
३२. कारोबारको फर्स्यौट: (१) बैङ्क वा संस्थाले प्रत्येक भुक्तानी आदेश वा प्रत्येक भुक्तानी कारोबारको फर्स्यौट गर्दा त्यस्तो आदेश वा कारोबार वास्तविक समय (रियल टाइम)
मा छुट्टाछुट्टै तरिकाले फर्स्यौट गर्नुपर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क वा संस्थाले कारोबारको फर्स्यौट गर्दा निश्चित समयको अन्तरालभित्र प्राप्त भुक्तानी आदेश वा भुक्तानी कारोबारलाई भुक्तानीसँग सम्बन्धित खाता डेबिट वा क्रेडिट नेट्टिङ्गको आधारमा एकमुष्ठ रूपमा अन्तराल वहसाब गरी कारोबारको फर्स्यौट गर्न सक्नेछ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि "नेट्टिङ्ग" भन्नाले बैङ्कले तोकेको प्रक्रिया बमोजिम निश्चित अवधिमा भुक्तानी तथा फर्स्यौट कार्यमा संलग्न कम्पनीहरु बीच भएको कारोबारको बैङ्क मार्फत खुद हिसाब मिलान गर्ने प्रणाली सम्झनु पर्छ।
(३) नगद, ट्रान्सफर र स्विफ्ट कारोबारको फर्स्यौट उपदफा (१) बमोजिम र विद्युतीय चेक राफसाफ (क्लियरिङ्ग) मार्फत हुने दैनिक कारोबारको फर्स्यौट उपदफा (२) बमोजिम गर्नुपर्नेछ।
(४) आरटिएमएस बमोजिम हुने ठूलो मूल्य भुक्तानी कारोबारको फर्स्यौट उपदफा (१) बमोजिम हुनेछ।
(५) विद्युतीय चेक राफसाफ (क्लियरिङ्ग) गर्दा समाशोधन गृह (क्लियरिङ्ग हाउस) मार्फत हुने कारोबार बैङ्कले तोकेबमोजिम कुल फर्स्यौट वा खुद फर्स्यौट विधि मार्फत गर्नुपर्नेछ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि "कुल फर्स्यौट" भन्नाले सेवाग्राहीको आदेश बमोजिम छुट्टाछुट्टै तरिकाले गरिने कारोबारको फर्स्यौट र "खुद फर्स्यौट" भन्नाले निश्चित समय अन्तरालमा वा बैङ्कले निर्धारण गरे बमोजिम कारोबारको एकमुष्ठ फर्स्यौट सम्झनु पर्छ।
(६) धितोपत्र तथा ऋणपत्रको निष्कासन, ब्याज गणना, लाभांश भुक्तानी, सावाँ तथा ब्याज भुक्तानी, स्वामित्व हस्तान्तरण तथा खरिद बिक्री सम्बन्धी कारोबारको फर्स्यौट धितोपत्र तथा ऋणपत्र सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
३३. अन्तिम फर्स्यौट: (१) संस्थाले बैङ्कले समय समयमा दिएको निर्देशन अनुसार बैङ्क मार्फत कारोबारको अन्तिम फर्स्यौट जोखिम कम हुने गरी छिटो, छरितो र प्रभावकारी रुपमा हुने व्यवस्था मिलाउनु पर्नेछ।
(२) संस्थाले कारोबारको कुनै पनि बेला अन्तिम फर्स्यौट हुन सक्ने गरी पर्याप्त
तरलता, धितो सुरक्षण र जोखिम व्यवस्थापन गर्नुपर्नेछ।
(३) बैङ्कको खातामा कुल वा खुद कारोबार जुनसुकै रुपमा भए तापनि वास्तविक रकम हस्तान्तरण भएपछि मात्र कारोबारको अन्तिम फर्स्यौट हुनेछ।
(४) कारोबारको अन्तिम फर्स्यौट भइसकेपछि कुनै पनि भुक्तानी फिर्ता गर्न वा पुनः भुक्तानी गर्न पाइने छैन।
तर कुनै कारणवश हिसाब फरक पर्न गएमा प्रमाणको आधारमा हिसाब मिलान गर्न बाधा पुगेको मानिने छैन।
(५) संस्थाले बैङ्कले निर्धारण गरे बमोजिम कुनै रकम, तरल सम्पत्ति वा उपकरण सुरक्षण बापत धितो राख्न सक्नेछ।
(६) उपदफा (५) बमोजिम सुरक्षण बापत राखिएको धितो संस्थाले व्यहोर्नु पर्ने भुक्तानी सम्बन्धी अन्य दायित्व निर्वाहका लागि समेत प्रयोग गर्न सकिनेछ।
(७) संस्थाले भुक्तानीको अन्तिम हिसाब मिलान गर्दा बैङ्क मौज्दात वा उपदफा (५) बमोजिम राखिएको धितो वा सुरक्षणले नखामेको अवस्थामा कुनै विशेष समय तोकिएको रहे छ भने सोही समयभित्र र समय तोकिएको रहेन छ भने सोही दिन (इन्ट्राडे) हिसाब मिलान हुने गरी बैङ्कले संस्थालाई ऋण उपलब्ध गराउन सक्नेछ।
३४. आरटिएमएस प्रणालीबाट फर्स्यौट गर्ने: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले तोकिदिए बमोजिम ठूलो मूल्य र अति जरुरी भुक्तानी (हाईभ्यालु एण्ड क्रिटिकल पेमेन्ट) तथा कारोबारको फर्स्यौट आरटिएमएस कुल वा खुद प्रणाली बमोजिम गर्नुपर्नेछ।
(२) आरटिएमएस प्रणालीको सञ्चालन कार्यविधि, सदस्यता, कारोबारको सीमा, सेवा शुल्क, तरलताको व्यवस्था, जोखिम व्यवस्था, कारोबार समय, फर्स्यौट विधि लगायतका व्यवस्था तोकिए बमोजिम हुनेछ।
परिच्छेद-७ कारबाही, कसूर तथा दण्ड सजाय
३५. कारबाही गर्न सक्ने: (१) यो ऐन, यस ऐन अन्तर्गत बनेको विनियमा वा बैङ्कले जारी गरेको निर्देशन वा आदेशको उल्लङ्घन गर्ने संस्थालाई उल्लङ्घनको प्रकृति र गम्भीरता हेरी
बैङ्कले देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी कारबाही गर्न सक्नेछ:–
(क) सचेत गराउने वा नसिहत दिने, (ख) सुधारात्मक कदम चाल्नको लागि कबुलियत गराउने, (ग) कारोबारमा सीमा तोक्ने, (घ) संस्थाको सञ्चालक समितिलाई निलम्बन गर्ने, (ङ) भुक्तानी उपकरणको सञ्चालनमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने, (च) अनुमतिपत्र खारेज गर्ने।
(२) यो ऐन, यस ऐन अन्तर्गत बनेको विनियम वा बैङ्कले जारी गरेको निर्देशन वा आदेशबमोजिम बैङ्कले माग गरेका विवरण कागजात उपलब्ध नगराउने संस्थाको सञ्चालक वा कर्मचारीलाई बैङ्कले देहाय बमोजिम कुनै एक वा एकभन्दा बढी कारबाही गर्न सक्नेछ:–
(क) सचेत गराउने वा नसिहत दिने, (ख) निलम्बनमा राख्न वा तलबभत्ता लगायत सम्पूर्ण सुविधाहरु रोक्का राख्न सम्बन्धित संस्थाको सञ्चालक समितिलाई आदेश दिने, (ग) सञ्चालकको हकमा पदबाट हटाउने र कर्मचारीको हकमा संस्थाको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीमा जुनसुकै व्यवस्था भए तापनि निजलाई सेवाबाट अवकाश दिन सम्बन्धित संस्थाको सञ्चालक समितिलाई आदेश दिने, (घ) वहनानामा गरिएको रकम सम्बन्धित कसूरदारबाट असुल उपर गर्ने, गराउने।
(३) बैङ्कले उपदफा (१) वा (२) बमोजिम कुनै संस्था वा सोको पदाधिकारी वा कर्मचारीलाई कारबाहीको प्रस्ताव गर्नुअघि सफाई पेश गर्ने मनासब मौका दिनुपर्नेछ।
३६. कसूर गरेको मानिने: कसैले देहायको कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ:–
(क) दफा ५ विपरीत अनुमतिपत्र नलिई भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी
सेवा प्रदायकको रुपमा कार्य गरे, गराएमा,
(ख) दफा ८ को उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त गर्न पेश गरेको निवेदनसाथ वा यस ऐन बमोजिम बैङ्क समक्ष पेश गर्नु पर्ने कागजात, जानकारी, विवरण वा तथ्याङ्कमा गलत वा झुट्टा व्यहोरा उल्लेख गरेमा,
(ग) दफा १४ बमोजिम बैङ्कको अनुमति नलिई भुक्तानीका उपकरण थप गरी वा खारेज गरी सेवा सञ्चालन गरेमा वा भुक्तानी प्रणालीमा कुनै परिवर्तन गरेमा,
(घ) दफा २८ बमोजिम गोपनीयता कायम नगरेमा,
(ङ) संस्थाको सम्पत्ति हानी नोक्सानी गरेमा,
(च) बैङ्कबाट गरिने निरीक्षण, अनुगमन वा निगरानी कार्यमा बाधा विरोध गरेमा,
(छ) बैङ्कले दिएको निर्देशन पालना नगरेमा वा अनुमतिपत्रमा तोकिदिएका शर्त उल्लंघन गरेमा,
(ज) यस ऐन अन्तर्गत बनेको विनियम, बैङ्कले जारी गरेको निर्देशन वा आदेश विपरीत अन्य कुनै कार्य गरेमा।
३७. दण्ड सजाय: (१) देहायका कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:- (क) दफा ३६ को खण्ड (क) र (ख) को कसूर गरेमा पाँच वर्षदेखि दश वर्षसम्म कैद वा एक करोड रूपैयाँसम्म जरिवाना वा दुवै सजाय, (ख) दफा ३६ को खण्ड (ग), (घ) र (ङ) बमोजिमको कसूर गरेमा दुई वर्षसम्म कैद वा दश लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय।
(२) कसैले दफा ३६ को खण्ड (च), (छ) र (ज) बमोजिमको कसूर गरेमा कसूरको प्रकृति र गम्भीरता हेरी बैङ्कले कसूरदारलाई एक लाख रुपैयाँदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम सजाय हुने कसूरमा बिगो कायम भएमा त्यस्तो बिगो प्रचलित कानून बमोजिम सम्बन्धित कसूरदारबाट असुल उपर गरिनेछ।
(४) दफा ३६ बमोजिमको कसूरको उद्योग गर्ने वा त्यस्तो कसूरमा मतियार भई
कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
(५) कसैले उपदफा (२) बमोजिम बैङ्कले तोकेको जरिवाना तीस दिनभित्र बैङ्कमा दाखिला नगरेमा निजको नाममा जुनसुकै बैङ्क तथा वित्तीय संस्थामा रहेको निधेषपबाट त्यस्तो रकम कट्टा गरी वा निजको नाममा रहेको अचल सम्पत्ति रोक्का गरी बिगो रकम असूल गर्ने व्यवस्था मिलाउन बैङ्कले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
३८. नेपाल सरकार वादी हुनेः दफा ३६ को खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ।
३९. पुनरावेदन लाग्नेः दफा ३७ को उपदफा (२) बमोजिम बैङ्कले गरेको सजाय उपर चित्त नबुझ्ने पक्षले सजायको आदेश पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।
४०. कारबाहीको लागि लेखी पठाउनेः (१) दफा ३६ बमोजिमको कसूर गरेको जानकारी कुनै माध्यमबाट बैङ्कलाई प्राप्त भएमा बैङ्कले त्यस्तो कसूर उपर छानबिन गर्नको लागि सम्बन्धित अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
(२) बैङ्कले कुनै संस्था वा पदाधिकारीले दफा ३७ मा उल्लेख भएको बाहेक प्रचलित कानून बमोजिम सजाय हुन सक्ने कुनै कसूर गरेको जानकारी पाएमा सो सम्बन्धमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
४१. प्रचलित कानून बमोजिम सजाय हुन सक्नेः यस ऐन बमोजिम सजाय हुने कुनै कसूरमा अन्य प्रचलित कानून बमोजिम पनि सजाय हुने रहेछ भने त्यस्तो कानून बमोजिम सजाय गर्न यस ऐनको कुनै कुराले बाधा पुगेको मानिने छैन।
परिच्छेद-८ विविध
४२. अनुगमन, निगरानी तथा निरीक्षणः (१) बैङ्कले यो ऐन, यस ऐन अन्तर्गत बनेको विनियम, प्रचलित कानून एवं स्थापित अभ्यासको आधारमा नियमित रूपमा संस्थाको अनुगमन तथा निरीक्षण गर्न सक्नेछ।
(२) बैङ्कले सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रचलित कानूनको अधीनमा रही
संस्थाको कारोबार र भुक्तानीका उपकरणको नियमित निगरानी गर्नेछ।
(३) प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक संस्थाको अनुगमन, निरीक्षण तथा निगरानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
४३. विवादको समाधान: (१) यस ऐन बमोजिम संस्थाबाट सम्पादन हुने कुनै कामको सम्बन्धमा संस्था र सेवाग्राही बीचमा कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद उत्पन्न भएको सात दिनभित्र सम्बन्धित संस्थाले आपसी सहमतिबाट समाधान गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र विवाद समाधान हुन नसकेमा सो व्यहोरा खुलाई पन्ध्र दिनभित्र कुनै विवादको कुनै पक्षले बैङ्कको भुक्तानी प्रणाली विभागमा विवाद समाधानको लागि निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निवेदन परेपछि बैङ्कले विवादका पक्षलाई झिकाई सुनवाईको मौका दिई मेलमिलापको प्रक्रिया वा अन्य प्रचलित कानून बमोजिम विवाद समाधानका उपायहरु अवलम्बन गरी विवादको समाधान गरिदिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम बैङ्कले गरेको निर्णय अन्तिम हुनेछ।
४४. विवाद समाधान समिति: (१) यस ऐन बमोजिम सम्पादन हुने कुनै कामको सम्बन्धमा संस्थाहरू बीच कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद समाधान गर्न देहाय बमोजिमको एक विवाद समाधान समिति रहनेछ:—
(क) सहसचिव, अर्थ मन्त्रालय —अध्यक्ष (ख) सहसचिव, महालेखा नियन्त्रकको कार्यालय —सदस्य (ग) बैङ्कको भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक —सदस्य
(२) यस ऐन बमोजिम हुने कारोबारको सम्बन्धमा संस्थाहरूबीच कुनै विवाद उत्पन्न भएमा कुनै पक्षले उपदफा (१) बमोजिमको समिति समक्ष विवाद समाधानको लागि निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम कुनै पक्षको निवेदन परेमा विवाद समाधान समितिले पन्ध्र दिनभित्र सम्बन्धित अर्को पक्षलाई झिकाई सुनवाईको मौका दिई विवादको समाधान गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम विवाद समाधान समितिले गरेको निर्णय अन्तिम
हुनेछ।
(५) विवाद समाधान सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।
४५. निर्देशन दिन सक्ने: (१) यो ऐनको कार्यान्वयनको लागि बैङ्कले सम्बन्धित संस्थालाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम बैङ्कले दिएको निर्देशन पालना गर्नु सम्बन्धित सबै संस्थाको कर्तव्य हुनेछ।
४६. विनियम बनाउने अधिकार: यो ऐन कार्यान्वयन गर्न बैङ्कले आवश्यक विनियम बनाउन सक्नेछ।
४७. खारेजी र बचाउ: (१) नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०३ खारेज गरिएको छ।
(२) उपदफा (१) बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।