तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९
नेपाल राजपत्रमा प्रकाशित मिति २०७९।०३।३१
संशोधन गर्ने ऐन केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
सं वत् २०७९ सालको ऐन नं. ८ तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन
प्रस्तावनाः तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र अन्य जैविक वा गैरजैविक वस्तुलाई पर्ने प्रतिकूल प्रभावलाई निवारण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसद्ले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “अनुमतिपत्र” भन्नाले दफा ३ बमोजिम जारी गरिएको अनुमतिपत्र सम्झनु पर्छ। (ख) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले अनुमतिपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ। (ग) “अनुमतिपत्र जारी गर्ने अधिकारी” भन्नाले दफा ४ बमोजिमको अधिकारी सम्झनु पर्छ। (घ) “अन्य घातक रासायनिक पदार्थ” भन्नाले तेजाब बाहेक मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई गम्भीर हानि, नोक्सानी
वा क्षति पुऱ्याउन सक्ने नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य रासायनिक पदार्थ सम्झनु पर्छ। (ङ) “उत्पादन” भन्नाले तेजाब वा अन्य घातक रासायनिक पदार्थको कुनै तरिकाले उत्पादन, प्रशोधन, संश्लेषण वा सृजना गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्ता पदार्थको प्याकेजिङ्ग वा पुनः प्याकेजिङ्ग गर्ने कार्यलाई समेत जनाउँछ। (च) “जिल्ला समिति” भन्नाले दफा २० बमोजिमको जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति सम्झनु पर्छ। (छ) “तेजाब” भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न), घातक क्षति पुऱ्याउने (कोरोशन) वा अन्य कुनै किसिमले गम्भीर असर पुऱ्याउने अकार्बनिक तेजाब (इनअर्गानिक एसिड) जन्य रासायनिक पदार्थ सम्झनु पर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फुरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको तेजाबजन्य अन्य घातक तथा ज्वलनशील रासायनिक पदार्थलाई समेत जनाउँछ। (ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ । (झ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ। (ञ) “समिति” भन्नाले दफा १६ बमोजिमको केन्द्रीय तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति सम्झनु पर्छ।
परिच्छेद-२ अनुमतिपत्र सम्बन्धी व्यवस्था
३. अनुमतिपत्र लिनु पर्नेः (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम अनुमतिपत्र लिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिले देहाय बमोजिमको विवरण तथा कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:- (क) अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको नाम, ठेगाना तथा सम्पर्क टेलिफोन नम्बर,
(ख) अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको राष्ट्रिय परिचयपत्र वा नागरिकता वा राहदानीको प्रतिलिपि, (ग) कानून बमोजिम स्थापित उद्योग, व्यवसाय, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि र पچھिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण, (घ) अनुमतिपत्र प्राप्त गर्न चाहेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको नाम, (ङ) उत्पादन वा बिक्री वितरण गर्ने भए उत्पादन वा बिक्री वितरण गर्ने स्थान र निकासी वा पैठारी गर्ने भए निकासी वा पैठारी गर्ने मुलुक, (च) तेजाब वा अन्य घातक रासायनिक पदार्थको समिश्रण, मात्रा लगायतको प्राविधिक विवरण (स्पेसिफिकेशन), (छ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन गर्ने भएमा उत्पादनको प्रयोजन, उत्पादन क्षमता, उत्पादन गरिने अनुमानित परिमाण, स्तर र प्रकार, त्यसको लागि आवश्यक पूर्वाधार पूरा गरेको विवरण, (ज) तेजाब वा अन्य घातक रासायनिक पदार्थको पैठारी गर्ने भए त्यसको प्रयोजन र प्रयोग हुने क्षेत्र, (झ) उत्पादन, निकासी वा पैठारी गर्ने भए सम्बन्धित मन्त्रालयको सिफारिसपत्र, (ञ) तोकिए बमोजिमको अन्य विवरण। (३) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अनुमतिपत्र प्रदान गर्न मनासब देखिएमा अनुमतिपत्र जारी गर्ने अधिकारीले निवेदकलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण गर्दा पालना गर्नु पर्ने सर्त उल्लेख गरी निवेदन दिएको पन्ध्र दिनभित्र तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नु पर्नेछ। (४) अनुमतिपत्र प्राप्त गर्नका लागि लाग्ने दस्तुर तथा अनुमतिपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। ४. अनुमतिपत्र जारी गर्ने अधिकारीः (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरणको लागि देहायको अधिकारीले अनुमतिपत्र जारी गर्न सक्नेछः- (क) उत्पादन, निकासी वा पैठारीको लागि भए मन्त्रालय, (ख) बिक्री वितरणको लागि भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालय वा अन्तर्गतको अधिकृत।
(२) उपदफा (१) बमोजिम प्राप्त गरेको अनुमतिपत्र बमोजिमको काम गर्दा तेजाब वा अन्य घातक रासायनिक पदार्थको भण्डारण वा ओसारपसार गर्नु पर्ने रहे छ भने सो प्रयोजनका लागि अनुमतिपत्र प्राप्त व्यक्तिले भण्डारण गर्न वा निकासी, पैठारी, भण्डारण वा बिक्री वितरण गर्ने स्थानसम्म ओसारपसार गर्न सक्नेछ।
५. औद्योगिक प्रयोजनका लागि मात्र अनुमति दिन सकिनेकाः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेका खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थको हकमा औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने परिमाण सम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिनेछ।
६. अनुमतिपत्रको मान्य अवधि तथा नवीकरणः (१) अनुमतिपत्रको मान्य अवधि पाँच वर्षको हुनेछ। (२) उपदफा (१) बमोजिमको अवधि समाप्त हुनुभन्दा पैंतीस दिन अगावै अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिमको अवधिभित्र निवेदन दिन नसक्ने अनुमतिपत्र प्राप्त व्यक्तिले उपदफा (२) बमोजिमको अवधि समाप्त भएको मितिबाट पैंतीस दिनभित्र दोब्बर दस्तुर सहित अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ। (४) उपदफा (२) वा (३) बमोजिम प्राप्त निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गरी अनुमतिपत्र जारी गर्ने अधिकारीले अर्को पाँच वर्षको लागि अनुमतिपत्रको नवीकरण गरिदिन सक्नेछ। (५) अनुमतिपत्र नवीकरण गर्नुको लागि दिइने निवेदनको ढाँचा, नवीकरणको लागि लाग्ने दस्तुर तथा अनुमतिपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
७. अनुमतिपत्र रद्द हुनेकाः (१) दफा ६ बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ। (२) देहायको अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकारीले अनुमतिपत्र रद्द गर्न सक्नेछ:- (क) अनुमतिपत्र प्राप्त गर्नुको लागि पेश भएको कागजात वा विवरण झुट्टा देखिएमा,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालना गर्नु पर्ने शर्तको उल्लङ्घि गरेमा, (ग) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र रद्द गराउनको लागि निवेदन दिएमा, वा (घ) अनुमतिपत्रमा उल्लेखित शर्तको उल्लङ्घि गरेको कारण यस ऐन बमोजिम जरिवाना भएमा वा सजाय पाएमा। (३) उपदफा (२) बमोजिम अनुमतिपत्र रद्द गर्नुअघि अनुमतिपत्र जारी गर्ने अधिकारीले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई पत्र दिएको समय दिई अनुमतिपत्र रद्द गर्नु नपर्ने कुनै मनासिब आधार र कारण भए सोєю पेश गर्नका लागि मौका दिनु पर्नेछ। तर उपदफा (२) को खण्ड (ग) बमोजिम अनुमतिपत्र रद्द गराउन निवेदन दिएकोमा त्यस्तो मौका दिनु पर्ने छैन। (४) उपदफा (३) बमोजिमको अवधिभित्र कुनै आधार र कारण प्राप्त नभएमा वा प्राप्त भएको आधार र कारण मनासिब नदेखाएमा अनुमतिपत्र जारी गर्ने अधिकारीले अनुमतिपत्र रद्द गर्ने निर्णय गरी सोको जानकारी सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिनु पर्नेछ। (५) उपदफा (४) बमोजिमको अनुमतिपत्र रद्द गर्ने निर्णयमा सन्तुष्ट नबुझेमा सम्बन्धित व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र समिति समक्ष उजुरी दिन सक्नेछ र त्यस्तो उजुरीका सम्बन्धमा समितिले गरेको निर्णय अन्तिम हुनेछ। (६) उपदफा (३) बमोजिम कुनै अनुमतिपत्र रद्द गर्ने प्रक्रिया प्रारम्भ भई उपदफा (४) बमोजिमको निर्णय नभएसम्मको अवधिमा त्यस्तो अनुमतिपत्र स्वतः निलम्बित भएको मानिनेछ। (७) उपदफा (६) बमोजिम अनुमतिपत्र निलम्बित भएको अवधिभर त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र बमोजिमको काम गर्न सक्ने छैन।
परिच्छेद-३ अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने शर्तहरु
८. अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने शर्तहरुः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, प्याकेजिङ्ग वा पुनः प्याकेजिङ्ग गर्दा देहाय बमोजिमका शर्तहरुको पालना गर्नु पर्नेछः-
(क) उत्पादन, भण्डारण, ओसारपसार, प्याकेजिङ्ग तथा पुनः प्याकेजिङ्ग सम्बन्धमा तोकिए बमोजिमका प्राविधिक शर्त र मापदण्ड पूरा गर्नु पर्ने, (ख) उत्पादन गर्दाथ भण्डारण वा ओसारपसारको क्रममा टुट फुट नहुने, चुहावट नहुने र राखिएको भाँडोबाट बाहिर नआउने गरी सुरक्षित र उपयुक्त बोतल, कन्टेनर वा प्याकेटमा बन्दी गरी प्याकेजिङ्ग गर्नु पर्ने, (ग) उत्पादन गर्दाथ बिक्री गरिने भाँडो, कन्टेनर वा प्याकेटमा प्रयोग विधि उल्लेख गर्नु पर्ने, (घ) तोकिएकोभन्दा बढी परिमाणमा खुद्रा बिक्री गर्नु नहुने, (ङ) खुद्रा बिक्री गरिने तेजाब वा अन्य घातक रासायनिक पदार्थ तोकिएको परिमाणभन्दा बढी परिमाणमा प्याकेटमा राख्न वा सिलबन्दी नगरी बोटलिङ्ग गर्नु नहुने, (च) खुद्रा बिक्री गर्दाथ बिक्री गरिने भाँडो, कन्टेनर वा प्याकेट तोकिए बमोजिमको गुणस्तर र आकारमा हुनु पर्ने, (छ) भाँडोमा सजिलै खोल्न नसकिने गरी सुरक्षित तवरले सिलबन्दी गर्नु पर्ने, (ज) आफूले उत्पादन, निकासी, पैठारी, बिक्री वितरण गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको मौज्दात तथा बिक्रीको विवरण, परिमाण, प्रकार र क्रेताको विवरण खुल्ने गरी अभिलेख राख्नु पर्ने, (झ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको खरिद, बिक्री तथा तत्सम्बन्धी कागजात र अभिलेख अद्यावधिक राख्नु पर्ने, (ञ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्राविधिक विवरण खुल्ने गरी कागजात राख्नु पर्ने, (ट) तेजाब वा अन्य घातक रासायनिक पदार्थको भण्डारण वा प्रयोग गर्दाथ बालबालिका वा मानसिक रुपमा अस्वस्थ व्यक्तिको पहुँचमा नहुने गरी सुरक्षित रुपमा गर्नु पर्ने, (ठ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन वा भण्डारण स्थलमा जोखिमयुक्त क्षेत्र भएको व्यहोराको चेतावनीमूलक सन्देश सार्वजनिक रुपमा राख्नु पर्ने, (ड) तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण गर्दा खरिदकर्तालाई जुन प्रयोजनको लागि खरिद गरेको हो सोबाहेक अन्य
प्रयोजनको लागि प्रयोग गरेमा कानुन बमोजिम सजाय हुने कुराको जानकारी गराउनु पर्ने, (ढ) तेजाब वा अन्य घातक रासायनिक पदार्थ निकासी गर्दा निकासी गर्ने स्थानसम्म सुरक्षित रुपमा पुर्याउनु पर्ने, (ण) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, भण्डारण, निकासी, पैठारी, ओसारपसार वा बिक्री गर्दा प्रचलित कानुन बमोजिम पालना गर्नु पर्ने गरी कुनै शर्त निर्धारण गरेकोमा त्यस्तो शर्तको पालना गर्नु पर्ने, (त) तोकिए बमोजिमका अन्य शर्तहरु। (२) उपदफा (१) को खण्ड (त) बमोजिम शर्त तोक्दा तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार र बिक्रीको लागि फरक-फरक शर्त तोक्न सकिनेछ। (३) तेजाब वा अन्य घातक रासायनिक पदार्थ राखिएको बोतल, कन्टेनर वा प्याकेटको आकार प्रकार तथा रङ्ग आम रुपमा प्रयोग गरिने पिउने पानी, दुध वा दुधजन्य पदार्थ, हल्का पेय पदार्थ, मदिराजन्य पदार्थको लागि प्रयोग गरिने आकार र प्रकारको भाँडो, बोतल वा प्याकमा राख्न र त्यस्तो पदार्थ जस्तो देखिने गरी प्याकेजिङ्ग गर्न पाइने छैन। (४) तेजाब वा अन्य घातक रासायनिक पदार्थ भण्डारण वा ओसारपसार गर्दा चुहावट, आगलागी वा विष्फोट हुनबाट जोगाउन प्राविधिक रुपले आवश्यक परे सुरक्षा व्यवस्थाको पालना गरी उपयुक्त र सुरक्षित रुपमा गर्नु पर्नेछ। (५) तोकिएको खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ ओसारपसार गर्दा एक पटकमा तोकिएको परिमाणभन्दा बढी ओसारपसार गर्नु हुँदैन। (६) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, ओसारपसार, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न अनुमति नलिने व्यक्ति वा फर्मले त्यस्तो कार्यमा संलग्न हुने व्यक्तिको तोकिए बमोजिम बीमा गराउनु पर्नेछ। ९. चेतावनीमूलक सन्देश तथा संकेत उल्लेख गर्नु पर्नेः (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन गर्ने उत्पादकले त्यस्तो पदार्थको बट्टा, प्याकेट वा बोतलको प्याकेजिङ्ग र लेबलको बाहिरी भागमा खतराको सूचना जनाउने गरी समितिले निर्धारण गरे बमोजिमको चेतावनीमूलक सन्देश र खतरा जनाउने संकेत प्रष्ट रुपमा देख्ने र बुझ्ने गरी नेपाली भाषामा अङ्कित गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री वितरण गर्न पाइँदैन।
१०. विवरण पेश गर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन, निकासी वा पैठारी गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिमको विवरण प्रत्येक छ महिनामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत वा सोझै अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिम विवरण पेश गर्दा तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन गर्ने उत्पादकले उत्पादन क्षमता बमोजिम उत्पादन भए वा नभएको विवरण समेत खुलाउनु पर्नेछ। (३) तेजाब वा अन्य घातक रासायनिक पदार्थलाई कच्चा पदार्थ वा सहायक कच्चा पदार्थको रुपमा प्रयोग गरी कुनै वस्तु उत्पादन गर्ने उद्योगले त्यसरी उत्पादन भएको वस्तु र सोको लागि खपत भएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको परिमाणको विवरण प्रत्येक छ महिनामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत वा सोझै अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ। (४) उपदफा (१) वा (३) बमोजिमको प्रतिवेदन पेश नगरेमा अनुमतिपत्र जारी गर्ने अधिकारीले पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना गर्नेछ।
११. तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद र प्रयोग: (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले मात्र तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्दा व्यावसायिक प्रयोजनको लागि आवश्यक पर्ने परिमाणमा मात्र खरिद गर्नु पर्नेछ। (३) उपदफा (१) वा (२) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिदको लागि प्रयोजन, परिमाण, प्रयोगको तरिका, प्रयोग गर्ने स्थान तथा प्रयोग गर्ने समय खुलाई अनुमतिपत्र प्राप्त व्यक्ति समक्ष लिखित रुपमा माग गर्नु पर्नेछ। (४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएकोभन्दा बढी परिमाणमा तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्नु पर्ने भएमा सोको प्रयोजन,
परिमाण, प्रयोगको तरिका, प्रयोग गर्ने स्थान तथा प्रयोग गर्ने समय खुलाई प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनु पर्नेछ। (५) उपदफा (४) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोगको लागि पूर्वस्वीकृति दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। (६) तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्ने उद्योग, संस्था, फर्म, कम्पनी वा व्यक्तिले आफूले खरिद गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थ दुरुपयोग नहुने र कुनै पनि व्यक्ति जोखिममा नपर्ने गरी भण्डारण गर्नु पर्नेछ। (७) यस दफा बमोजिम खरिद गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थ जुन प्रयोजनको लागि खरिद गरेको हो सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ। (८) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, फर्म, कम्पनी वा व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग भएको परिमाणको अभिलेख राख्नु पर्नेछ। (९) उपदफा (८) बमोजिमको अभिलेख राख्नु पर्ने विवरण राखेको नपाइएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले दि हजार रुपैयाँसम्म जरिवाना गर्नेछ। (१०) तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग वा भण्डारण गर्दा पालना गर्नु पर्ने अन्य शर्त तोकिए बमोजिम हुनेछ।
१२. बिक्री वितरण तथा प्रदर्शनमा बन्देज: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले अठार वर्ष उमेर पूरा नभएको व्यक्तिलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा नि:शुल्क वितरण गर्न वा गर्न लगाउन हुँदैन। (२) उपदफा (१) को प्रयोजनको लागि बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र त्यसरी माग गरेको प्रमाण देखाउन इन्कार गर्ने वा नदेखाउने व्यक्तिलाई तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण गर्न पाइने छैन। (३) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको बट्टा, प्याकेट वा बोतल सिलबन्दी वा बन्दी रुपमा बिक्री गर्नु पर्नेछ र त्यसलाई फोडी वा खोली खुल्ला रुपमा वा अर्को बट्टा वा भाँडोमा खन्याई वा राखी वा अन्य कुनै प्रकारले उत्पादन गर्दा प्याकेजिङ्ग गरिएकोभन्दा फरक रुपमा बिक्री गर्न सक्ने छैन। (४) अनुमतिपत्र प्राप्त व्यक्तिले बिक्री स्थलमा तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्रीको लागि राख्दा खरिदकर्ता वा अन्य व्यक्तिको सहज पहुँच नहुने गरी तथा त्यस्तो पदार्थको विशेष संरक्षण गरी राख्नु पर्नेछ।
१३. बिक्रीको अभिलेख राख्नु पर्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री गर्दा दफा ११ को उपदफा (३) बमोजिम लिखित रुपमा माग गरेको आधारमा बिक्री गरी खरिदकर्ताको नाम, थर, ठेगाना, व्यक्तिको हकमा बाबु र आमाको नाम, सम्पर्क टेलिफोन नम्बर, खरिद गरेको मिति, त्यस्तो पदार्थको नाम तथा परिमाण र प्रयोजन खुलाई तोकिए बमोजिमको ढाँचामा बिक्रीको अभिलेख राख्नु पर्नेछ। (२) यस दफा बमोजिमको बिक्रीको अभिलेख बिक्री भएको मितिले एक वर्षसम्म राख्नु पर्नेछ। (३) यस दफा बमोजिमको अभिलेख राख्नु पर्ने विवरण राखेको नपाइएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले दि हजार रुपैयाँसम्म जरिवाना गर्नेछ।
१४. पैठारी गर्नु अघि स्वीकृति लिनु पर्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्नुअघि देहायको विवरण खुलाई स्वीकृतिको लागि मन्त्रालयमा निवेदन दिनु पर्नेछः- (क) पैठारीकर्ताको नाम, ठेगाना तथा सम्पर्क टेलिफोन नम्बर, (ख) पैठारीकर्ताको अनुमतिपत्र नम्बर र बहाल रहने अवधि, (ग) पैठारी गर्न चाहेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको विवरण र परिमाण, (घ) पैठारीको प्रयोजन, (ङ) पैठारी हुने नाका वा भन्सार बिन्दु। (२) उपदफा (१) बमोजिम परेको निवेदन उपर जाँचबुझ गर्दा त्यस्तो तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्न स्वीकृति दिन मनासब देखिएमा निवेदन परेको मितिले सात दिनभित्र मन्त्रालयले निवेदकलाई तोकिए बमोजिमको ढाँचामा स्वीकृति दिनेछ। (३) मन्त्रालयले यस दफा बमोजिम स्वीकृति प्राप्त गर्नको लागि निवेदन दिने तथा स्वीकृति दिने व्यवस्था विद्युतीय माध्यमबाट समेत गर्न सकिने गरी व्यवस्था मिलाउनु पर्नेछ। (४) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगमा तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्नु पर्ने भएमा त्यस्तो उद्योगले यस दफा बमोजिम पूर्व स्वीकृति लिई त्यस्तो तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्न सक्नेछ।
१५. तेजाब वा अन्य घातक रासायनिक पदार्थ नष्ट वा विसर्जन गर्ने: (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ नष्ट गर्दा वा विसर्जन गर्दा मानव, पशुपन्छी, जलचर, बोटबिरुवा वा अन्य जैविक वा गैरजैविक वस्तु तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ। (२) तेजाब वा अन्य घातक रासायनिक पदार्थको फोहोर तथा सोको कन्टेनर नष्ट वा विसर्जन गर्दा त्यस्तो पदार्थको प्रकृतिका आधारमा छुट्टाछुट्टै नष्ट वा विसर्जन गर्नु पर्नेछ। (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम अनुमतिपत्र लिनु पर्ने कुनै तेजाब वा अन्य घातक रासायनिक पदार्थजन्य फोहोर नष्ट वा विसर्जन गर्ने सम्बन्धमा प्रचलित कानूनमा व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ।
परिच्छेद-४ समिति सम्बन्धी व्यवस्था
१६. केन्द्रीय तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति: (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको नियन्त्रण गर्ने वा गराउन एक केन्द्रीय तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति रहनेछ। (२) समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहनेछन्:- (क) मन्त्रालयले तोकेको मन्त्रालयको सहसचिव - अध्यक्ष (ख) नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्राविधिक प्रतिनिधि - सदस्य (ग) नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको प्राविधिक प्रतिनिधि - सदस्य (घ) मन्त्रालयले मनोनयन गरेको रसायन शास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा पाँच वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको कम्तीमा एकजना महिला सहित तीन जना - सदस्य (ङ) मन्त्रालयको सम्बन्धित शाखाको उपसचिव - सदस्य-सचिव (३) उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनित सदस्यको पदावधि तीन वर्षको हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनित सदस्यले समितिको हित विपरीत कुनै कार्य गरेमा वा समितिको काम कारबाहीमा बेवास्ता गरेमा निजको पदावधि पूरा नहुँदै मन्त्रालयले निजलाई पदबाट हटाउन सक्नेछ। तर यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासब मौका दिनु पर्नेछ।
१७. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) तेजाब वा अन्य घातक रासायनिक पदार्थको व्यवस्थापनको लागि आवश्यक परे नीति निर्धारण सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने, (ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थको सुरक्षित उपयोग, त्यस्ता पदार्थको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा दुर्घटना भएको अवस्थामा क्षति कम गर्न अपनाउनु पर्ने उपायको बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने वा गराउने, (ग) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, भण्डारण, ढुवानी, बिक्री वितरण, नष्ट वा विसर्जनको कार्यविधि र मापदण्ड बनाई मन्त्रालय समक्ष सिफारिस गर्ने, (घ) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने।
१८. समितिको बैठकः (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ। (२) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (३) समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ। (४) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ। (५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा समितिको अध्यक्षले निर्णायक मत दिनेछ। (६) समितिको निर्णय समितिको अध्यक्ष र सदस्य-सचिवबाट प्रमाणित हुनेछ। (७) समितिले आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ। (८) समितिको बैठक भिडियो कन्फरेन्सिङबाट समेत गर्न सकिनेछ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
१९. विद्युतीय अभिलेख प्रणालीको विकास गर्नेः (१) मन्त्रालयले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार तथा बिक्री वितरण सम्बन्धी अद्यावधिक विवरण अनलाइनमा नै उपलब्ध गराउनको लागि आवश्यक विद्युतीय प्रणालीको विकास गरी लागू गर्न सक्नेछ। (२) अनुमतिपत्र प्राप्त व्यक्तिले उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिमको विवरण उपदफा (१) बमोजिमको विद्युतीय प्रणालीमा उपलब्ध गराउनु वा प्रविष्टि गराउनु पर्नेछ। (३) उपदफा (२) बमोजिम विवरण प्रविष्टि गराउने प्रयोजनको लागि उपदफा (१) बमोजिमको विद्युतीय प्रणालीमा अनुमतिपत्र जारी गर्ने अधिकारी तथा अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यकता अनुसार पहुँच दिनु पर्नेछ।
२०. जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समितिः (१) प्रत्येक जिल्लामा तेजाब वा अन्य घातक रासायनिक पदार्थको नियन्त्रण गर्न जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति रहनेछ। (२) जिल्ला समितिमा देहाय बमोजिमका संयोजक तथा सदस्यहरू रहनेछन्ः- (क) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत - संयोजक (ख) नेपाली सेनाको अधिकृत प्रतिनिधि - सदस्य (ग) जिल्ला प्रहरी कार्यालयको अधिकृत प्रतिनिधि - सदस्य (घ) समितिले मनोनयन गरेको विज्ञान सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी कम्तीमा तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको एकजना महिला - सदस्य (ङ) घरेलु तथा साना उद्योगसँग सम्बन्धित कार्यालयको प्रमुख - सदस्य (च) आन्तरिक राजस्व कार्यालयको अधिकृत प्रतिनिधि - सदस्य (३) जिल्ला समितिको बैठक तथा तत्सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
२१. जिल्ला समितिको काम, कर्तव्य र अधिकारः जिल्ला समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) जिल्लाभित्रका अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण गर्दा यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको व्यवस्था तथा अनुमतिपत्रमा उल्लिखित शर्तको पालना भए नभएको सम्बन्धमा निरीक्षण तथा अनुगमन गरी समितिलाई प्रतिवेदन गर्ने, (ख) नष्ट वा विसर्जन गर्नु पर्ने तेजाब वा अन्य घातक रासायनिक पदार्थ यस ऐन बमोजिमको प्रक्रिया पूरा गराई नष्ट वा विसर्जन गर्ने वा गराउने, (ग) तोकिए बमोजिमका अन्य काम गर्ने।
२२. प्रतिवेदन पेश गर्नेः (१) समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको विवरण खुलाई मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ। (२) जिल्ला समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र तोकिए बमोजिमको विवरण खुलाई समितिमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
परिच्छेद-५ कसूर, सजाय र क्षतिपूर्ति सम्बन्धी व्यवस्था
२३. कसूर गरेको मानिनेः कसैले देहायका कुनै कार्य गरे वा गराएमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः- (क) दफा ३ बमोजिम अनुमतिपत्र नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गरेमा वा दफा १४ बमोजिम स्वीकृति नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गरेमा, (ख) अनुमतिपत्र प्राप्त व्यक्तिले दफा ८ बमोजिमका शर्तको पालना नगरेमा, (ग) अनुमतिपत्र प्राप्त व्यक्तिले दफा ९ बमोजिम बट्टा, प्याकेट वा बोतलको प्याकेजिङ्ग गर्दा लेबलको बाहिरी भागमा उल्लेख गर्नु पर्ने चेतावनीमूलक सन्देश र खतरा जनाउने संकेत उल्लेख नगरेमा, (घ) दफा १२ विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण वा प्रदर्शन गरेमा, (ङ) दफा १५ विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन वा नष्ट गरेमा, (च) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत हुने गरी अन्य कुनै काम गरेमा।
२४. सजाय: कसैले दफा २३ बमोजिमको कसूर गरेमा देहाय बमोजिमको सजाय हुनेछ:- (क) दफा २३ को खण्ड (क) बमोजिमको कुनै कसूर गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद, (ख) दफा २३ को खण्ड (ख) बमोजिमको कुनै कसूर गरेमा दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय, (ग) दफा २३ को खण्ड (ग) बमोजिमको कसूर गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय, (घ) दफा २३ को खण्ड (घ), (ङ) वा (च) बमोजिमको कसूर गरेमा दस हजार रुपैयाँदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना।
२५. क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः (१) यस ऐन विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, नष्ट वा विसर्जन गरेको वा यस ऐन बमोजिम पालना गर्नु पर्ने कर्तव्य पालना नगरेको कारणबाट कुनै दुर्घटना भई कसैको जीउ, ज्यान वा शारीरिक अङ्ग वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा सम्बन्धित व्यक्तिले त्यसबाट पीडितलाई वा निजको मृत्यु भई सकेको भए निजको एकासगोलको पति वा पत्नी, छोरा, छोरी, बाबु वा आमालाई घटी र परेको असरको आधारमा मनासिब क्षतिपूर्ति दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित वा निजको मृत्यु भइसकेकोमा उपदफा (१) बमोजिमको निजको हकवालाको उजुरी बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीले भराई दिनु पर्नेछ। (३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अदालतमा दायर भएको मुद्दाको क्षतिपूर्तिको हकमा सोही अदालतको फैसला बमोजिम हुनेछ।
२६. धरौटीमा राख्न सकिनेः (१) यस ऐन बमोजिम सजाय हुने कसुरको अनुसन्धानको सिलसिलामा कब्जा गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थ मुद्दा हेर्ने अधिकारीको आदेश बमोजिम अन्य अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्रचलित बजार मूल्यमा बिक्री गरी प्राप्त रकम मुद्दाको अन्तिम किनारा नलागेसम्म धरौटीमा राख्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री हुन नसकेमा त्यसको सुरक्षित रुपमा भण्डारण गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम सुरक्षित रुपमा भण्डारण गर्न नसकिने तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिम अभिलेख राखी दफा १५ बमोजिम नष्ट वा विसर्जन गर्नु पर्नेछ।
२७. जफत गरिनेः (१) कसैले दफा २३ को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको कसूर गरेको ठहरेमा र त्यस्तो कसूर सम्बन्धी तेजाब वा अन्य घातक रासायनिक पदार्थ दफा २६ बमोजिम कब्जा भई बिक्री भएको वा भण्डारण भएको भएमा त्यस्तो धरौटी रकम वा तेजाब वा अन्य घातक रासायनिक पदार्थ जफत हुनेछ। (२) उपदफा (१) बमोजिम जफत भएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिम अभिलेख राखी दफा १५ बमोजिम नष्ट वा विसर्जन गर्नु पर्नेछ।
परिच्छेद-६ विविध
२८. मुद्दा हेर्ने अधिकारीः (१) दफा २३ को खण्ड (क) बमोजिम सजाय हुने मुद्दामध्ये निकासी वा पैठारी सम्बन्धी कसूर सम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित भन्सार अधिकृतलाई हुनेछ। (२) उपदफा (१) मा लेखिए देहाय बाहेकका यस ऐन अन्तर्गतका अन्य कसूर सम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।
२९. पुनरावेदीः दफा २८ बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ।
३०. प्रचलित कानून बमोजिम सजाय हुनेः यस ऐन अन्तर्गतको कुनै कसूर वा कार्य अन्य प्रचलित कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कसूरमा कानून बमोजिम कारबाही र सजाय गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन।
३१. नेपाल सरकार वादी हुनेः (१) यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ। (२) दफा २८ को उपदफा (१) बमोजिमको मुद्दा बाहेकको यस ऐन बमोजिमको अन्य मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।
(३) दफा २८ को उपदफा (१) बमोजिमको मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-२ मा समावेश भएको मानिनेछ र त्यस्तो मुद्दाको अनुसन्धान सम्बन्धित भन्सार अधिकृतले तोकेको सम्बन्धित कार्यालयको कम्तीमा राजपत्र अधिकृत प्रथम श्रेणीको कर्मचारीले गर्नेछ।
३२. अनुसन्धान तथा कारबाही गर्ने: (१) यस ऐन बमोजिम कुनै कसूर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने व्यक्तिले त्यस्तो कसूरको सम्बन्धमा आफूसँग भएको वा देखे जानेसम्मको सबूत प्रमाण खुलाई त्यस्तो कुराको लिखित, मौखिक वा विद्युतीय माध्यमबाट सम्बन्धित अनुसन्धान अधिकृत वा नजिकको प्रहरी कार्यालय समक्ष यथाशीघ्र सूचना दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएमा सम्बन्धित अनुसन्धान अधिकृत वा प्रहरी कार्यालयले आफूले अनुसन्धान गर्ने भएमा यथाशीघ्र अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ र अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने भएमा यथाशीघ्र त्यस्तो निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ। (३) उपदफा (१) वा (२) बमोजिम सूचना प्राप्त भएमा वा सम्बन्धित अनुसन्धान अधिकृतले कुनै माध्यमबाट त्यस्तो सूचना वा जानकारी पाएमा यस ऐन बमोजिम अनुसन्धान गरी कारबाही अघि बढाउनु पर्नेछ।
३३. अनुगमन तथा निरीक्षण सम्बन्धी व्यवस्था: (१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, नष्ट, विसर्जन वा प्रयोग गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालना गर्नु पर्ने शर्त वा मापदण्डको पालना भए वा नभएको, सुरक्षित तवरको व्यवस्था गरिएको वा नगरिएको सम्बन्धमा मन्त्रालयले आवश्यकता अनुसार अनुगमन तथा निरीक्षण गर्नु वा गराउन सक्नेछ। (२) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण सम्बन्धमा आफ्नो जिल्लाभित्र प्रमुख जिल्ला अधिकारीले अनुगमन तथा निरीक्षण गर्नु पर्नेछ। (३) उपदफा (१) वा (२) बमोजिम अनुगमन तथा निरीक्षण गर्ने अधिकारीले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण सम्बन्धमा पालना गर्नु पर्ने शर्त पालना नगरेकोमा तत्काल त्यस्तो शर्त पालना गर्न लगाउनु पर्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिम अनुगमन तथा निरीक्षण गर्दा कसैले यस ऐन बमोजिम कसूर हुने कार्य गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कारबाही गर्नको लागि अनुसन्धान गर्ने अधिकारीलाई जानकारी दिनु पर्नेछ।
३४. सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने: नेपाल सरकारका सम्बन्धित निकाय, प्रदेश सरकार वा स्थानीय तहले तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्दा अवलंबन गर्नु पर्ने सावधानी तथा सुरक्षा सतर्कता, कुनै दुर्घटना भएको अवस्थामा क्षति कम गर्न गर्नु पर्ने उपायहरु, तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोगबाट हुनसक्ने क्षति समेतको विषयमा आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन वा प्रचार प्रसार गर्नु वा गराउनु पर्नेछ।
३५. नियम बनाउने अधिकार: यो ऐनको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
३६. मापदण्ड बनाउन सक्ने: मन्त्रालयले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, भण्डारण, ढुवानी, बिक्री वितरण, नष्ट वा विसर्जनका सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिमारा रही आवश्यक मापदण्ड बनाउन सक्नेछ।
३७. खारेजी र बचाउ: (१) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ खारेज गरिएको छ। (२) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।