नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
राजपत्रमा प्रकाशित मिति २०७८/०२/०९
सम्वत् २०७८ सालको अध्यादेश नं. ११
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश
प्रस्तावना : नेपाल नागरिकता ऐन, २०६३ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले,
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८” रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ।
२. नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ मा संशोधन : नेपाल नागरिकता ऐन, २०६३ (यसपछि “मूल ऐन” भनिएको) को दफा ३ को,- (१) उपदफा (३) मा रहेका “नेपाल सरहदमभित्र” भन्ने शब्दहरूको सट्टा “नेपालभित्र” भन्ने शब्द राखी सोही उपदफामा रहेका “पितृत्व मातृत्वको” भन्ने शब्दहरूको सट्टा “पितृत्व र मातृत्वको” भन्ने शब्दहरू राखिएका छन्। (२) उपदफा (३) पछि देहायका उपदफा (४), (५) र (६) थपिएका छन् :- “(४) संवत् २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक
रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।
(५) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।
(६) उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिनेछ।”
३. मूल ऐनको दफा ८ मा संशोधन : मूल ऐनको दफा ८ को,-
(१) उपदफा (१) को खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छ:-
“(क१) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा,
तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानामा नभएको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्नेछ।”
(२) उपदफा (१) पछि देहायको उपदफा (१क) थपिएको छः-
"(१क) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (४) बमोजिम नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र आमा दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।"
४. मूल ऐनको दफा २१ मा संशोधन : मूल ऐनको दफा २१ को उपदफा (३) पछि देहायका उपदफा (३क) र (३ख) थपिएका छन् :-
“(३क) कसैले दफा ३ को उपदफा (६) बमोजिम गरेको स्वघोषणा झुट्टो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई छ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
(३ख) कसैले दफा ८ को उपदफा (१) को खण्ड (क१) बमोजिम गरेको स्वघोषणा झुट्टो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।"