फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
प्रमाणीकरण र प्रकाशन मिति २०७७/०६/१२
प्रस्तावना : फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल संघीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७" रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. प्रमाण ऐन, २०३१ मा संशोधन : प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (छ) पछि देहायको खण्ड (ज) थपिएको छ:- "(ज) कुनै व्यक्तिले अर्को व्यक्तिको शरीरमा तेजाब फ्याँकेमा, छिकेमा, खन्याएमा वा अन्य कुनै किसिमले कसैको शारीरिक क्षति हुने गरी प्रयोग गरेमा वा कसैलाई सेवन गराएमा निजले नियतवश वा जानी जानी त्यस्तो व्यक्तिको ज्यान लिने वा अङ्गभङ्ग गराउने कार्य गरेको अदालतले अनुमान गर्नेछ।"
३. न्याय प्रशासन ऐन, २०७३ मा संशोधन : न्याय प्रशासन ऐन, २०७३ को दफा २८क. को उपदफा (२) को अन्त्यमा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ :- "तर तेजाब प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको मुद्दा भए जहिले सुकै दर्ता भएको भए तापनि पहिलो प्राथमिकता दिनु पर्नेछ।"
४. मुलुकी अपराध संहिता, २०७४ मा संशोधन : मुलुकी अपराध संहिता, २०७४ को,- (१) दफा २ को उपदफा (३) को खण्ड (ग) पछि देहायको खण्ड (ग१) थपिएको छ:- "(ग१) दफा १९२क. बमोजिमको कसूर," (२) दफा ३८ को खण्ड (झ) पछि देहायको खण्ड (झ१) थपिएको छ:- "(झ१) तेजाब, अन्य घातक रासायनिक वा ज्वलनशील पदार्थ कसै माथि प्रहार वा प्रयोग गरी वा कसैलाई सेवन गराई कसूर गरेको,"
(३) दफा १२६ पछि देहायको दफा १२६क. थपिएको छ :- "१२६क. कसूर पीडितको नाममा सहयोग लिन नहुने : (१) कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जाल मार्फत आव्हान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन। (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ। (३) यस दफामा अन्यथा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर पीडित वा निजका परिवारका सदस्यले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै सहयोग वा कुनै सुविधा प्राप्त गरेकोमा वा कुनै सामाजिक संस्था वा कुनै व्यक्तिले आफूखुसी दिएको सहयोग प्राप्त गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन । "
(४) दफा १९२ पछि देहायको दफा १९२क. थपिएको छ:- "१९२क. तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने: (१) कसैले कसैलाई तेजाब फ्याँकी, छर्किई, खुँवाई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग गर्नु वा गराउनु वा शारीरिक क्षति पुर्याउनु हुँदैन। स्पष्टीकरण : यस संहिताको प्रयोजनका लागि "तेजाब" भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न), घातक क्षति पुर्याउने (कोरोशन) वा अन्य कुनै किसिमले गम्भीर असर पुर्याउने अकार्बनिक (इनअर्गानिक) एसिडजन्य रासायनिक पदार्थ सम्झनु पर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा अन्य घातक तथा ज्वलनशील रासायनिक पदार्थलाई समेत जनाउँछ। (२) उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यस्तो कार्यको परिणाम स्वरूप कसैको दुवै आँखि जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट
भएमा, दुवै कान जली वा क्षत भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जली वा क्षत भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षत भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षत भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षत भई नासिएमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई बीस वर्ष कैद र दश लाख रुपैयाँ जरिवाना हुनेछ।
(३) उपदफा (२) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजजिमको कुनै कार्य गरी वा त्यसको परिणाम स्वरूप कसैको एउटा आँखा, एउटा कान जली वा क्षत भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षत भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षत भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षत भएमा वा मेरुदण्ड जली वा क्षत भई काम नलाग्ने भएमा पन्ध्र वर्ष देखि बीस वर्षसम्म कैद र सात लाख रुपैयाँ देखि दश लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
(४) उपदफा (२) वा (३) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजजिमको कुनै कार्य गर्दा वा त्यसको परिणाम स्वरूप कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षत भएमा कसूरको प्रकृति बमोजिम सात वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँ देखि सात लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
(५) उपदफा (१) बमोजिम भएको कसूरबाट पीडित व्यक्तिको तत्काल मृत्यु नभई सोही कार्यको परिणाम स्वरूप त्यस्तो कसूर भएको धमितले एक वर्षभित्र मृत्यु भएमा ज्यान मारेको कसूर र उपदफा (२), (३) र (४) बमोजिमको परिणाम निस्केमा पनि सोही उपदफा बमोजिमको कसूर भएको मानिनेछ।
(६) कसैले उपदफा (१) बमोजिमको कार्य गर्न खोज्दा सम्बन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिले यस दफा बमोजिम कसूर गर्न उद्योग गरेको
मानिनेछ र सो बापत पाँच वर्ष देखि सात वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ। (७) उपदफा (२), (३) वा (४) बमोजिम जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ। (८) यस दफा बमोजिम भएको कसूरबाट पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भीरता तथा जरिवाना रकम समेत विचार गरी सजाय निर्धारण गर्दा मनासिब क्षतिपूर्ति भराउनु पर्नेछ ।”
(५) दफा १९३ को,- (क) दफा शीर्षकमा रहेका "तेजाब वा अन्य रासायनिक," भन्ने शब्दहरु हटाइएका छन् । (ख) उपदफा (१) मा रहेका "तेजाब वा त्यस्तै प्रकारका अन्य रासायनिक" भन्ने शब्दहरु पछि "बाहेकका अन्य" भन्ने शब्दहरु थपिएका छन् ।
५. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को,- (१) दफा ११६ को उपदफा (२) को खण्ड (ख) मा रहेका "परिच्छेद-१० को दफा १६७," भन्ने शब्दहरु पछि "परिच्छेद-१४ को दफा १९२क.," भन्ने शब्दहरु थपिएका छन्। (२) दफा १५९ को उपदफा (४) को खण्ड (घ) पछि देहायको खण्ड (घ१) थपिएको छ:- "(घ१) तेजाब प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको," (३) अनुसूची-१ को प्रकरण १ को खण्ड (क) को,- (क) उपखण्ड (४) मा रहेका "१२५ र १२६" भन्ने शब्दहरुको सट्टा "१२५, १२६ र १२६क." भन्ने शब्दहरु राखिएका छन्। (ख) उपखण्ड (१३) मा रहेका "दफा १९२," भन्ने शब्दहरु पछि "१९२क.," भन्ने शब्दहरु थपिएका छन्।
६. फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मा संशोधन : फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को,-
(१) दफा १५ को उपदफा (१) को खण्ड (ख) पछि देहायको खण्ड (ख१) थपिएको छ:- “(ख१) मुलुकी अपराध संहिता, २०७४ को दफा १९२क. वा २१९ बमोजिमको कसूर भए त्यस्तो कसूरबाट पीडितलाई पुर्याएको शारीरिक वा मानसिक पीडा,”
(२) दफा २४ को उपदफा (३) को खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छ:- “(क१) तेजाब प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको,”
(३) दफा २९ को उपदफा (१) को प्रतिबन्धनात्मक वाक्यांश (ग) पछि देहायको प्रतिबन्धनात्मक वाक्यांश (ग१) थपिएको छ:- “(ग१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको कसूरमा सजाय पाएको,”
(४) दफा ३७ को खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छ:- “(क१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको कसूरमा सजाय पाएको,”
(५) दफा ४८ को उपदफा (१) मा रहेका “कसूरबाट पीडितलाई” भन्ने शब्दहरु पछि “औषोपचार, अन्तरिम क्षतिपूर्ति तथा” भन्ने शब्दहरु थपिएका छन्।