राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८
राजपत्रमा प्रकाशित मिति २०७८/०५/०२
प्रस्तावनाः राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस अध्यादेशको नाम "राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८" रहेको छ । (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ मा संशोधनः राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (यस पछि "मूल ऐन" भनिएको) को दफा ३३ को,- (१) उपदफा (२) मा रहेका "केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले" भन्ने शब्दहरुको सट्टा "महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको बीस प्रतिशत वा सो भन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको बीस प्रतिशत वा सो भन्दा बढी सदस्यले एकैपटक" भन्ने शब्दहरु राखिएका छन् । (२) उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छ- "(२क) उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिन भित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।"
३. मूल ऐनको दफा ४८ मा संशोधन: मूल ऐनको दफा ४८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका "दर्ता गरिसकेका दलले" भन्ने शब्दहरु पछि "वा दफा ३३ को उपदफा (२) बमोजिम गठन भएको नयाँ दलले" भन्ने शब्दहरु राखिएका छन् ।
४. मूल ऐनको दफा ५२ मा संशोधन: मूल ऐनको दफा ५२ मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ- "तर राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका सदस्यहरुले दफा ३३ को उपदफा (२) बमोजिम नयाँ दल गठन गरेमा त्यस्तो दलले समानुपातिक तर्फको त्यस्तो प्रतिशत पूरा गर्न आवश्यक हुने छैन ।"
५. मूल ऐनको दफा ५३ मा संशोधन: मूल ऐनको दफा ५३ को उपदफा (१) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ- "तर दफा ३३ को उपदफा (२) बमोजिम गठन भएको दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यले त्यस्तो दल दर्ता भएको साठी दिनभित्र त्यस्तो विवरण पेश गर्नु पर्नेछ ।"