शपथ सम्बन्धी अध्यादेश, २०७८
राजपत्रमा प्रकाशित मिति २०७८/०२/०६
२०७८ सालको अध्यादेश नं. ९
सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश
प्रस्तावनाः सार्वजनिक पदधारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस अध्यादेशको नाम "शपथ सम्बन्धी अध्यादेश, २०७८" रहेको छ । (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,- (क) "शपथ गराउने पदाधिकारी" भन्नाले सार्वजनिक पदधारण गरेको व्यक्तिलाई शपथ गराउने अधिकार प्राप्त सार्वजनिक पदधारण गरेको व्यक्ति सम्झनु पर्छ । (ख) "सार्वजनिक पद" भन्नाले संविधान, अन्य प्रचलित कानून वा अधिकार प्राप्त अधिकारीको निर्णय वा आदेश बमोजिम नियुक्त, निर्वाचित वा मनोनयन हुने र सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्यको पालन वा जिम्मेवारी निर्वाह गर्नु पर्ने सार्वजनिक पद सम्झनु पर्छ ।
३. शपथ लिनु पर्नेः (१) सार्वजनिक पदधारण गर्ने व्यक्तिले आफ्नो कार्यभार सम्हाल्नु अघि संविधान वा अन्य प्रचलित कानूनमा तोकिएको पदाधिकारीबाट प्रचलित कानूनमा तोकिए बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
(२) संविधान वा अन्य प्रचलित कानूनमा शपथ लिनु पर्ने व्यवस्था रहेको तर त्यस्तो कानूनमा शपथ सम्बन्धी ढाँचा उल्लेख नभएकोमा त्यस्तो सार्वजनिक पदधारण गर्ने व्यक्तिले अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
(३) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएको तर तत्सम्बन्धी कानूनमा शपथ लिनु पर्ने व्यवस्था नभएकोमा त्यस्तो सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपाल सरकारले तोकेको अधिकारीबाट अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
४. औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेः (१) सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभुषा वा पोशाक लगाई शपथ लिन सक्नेछ ।
५. शपथको भाषाः (१) शपथ लिँदा वा गराउँदा सरकारी कामकाजको नेपाली भाषामा शपथ लिनु वा गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्नेछ । त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्नेछ ।
(३) सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा त्यस्तो भाषाको र नेपाली भाषाको
शपथको दुई दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
६. पदमा बहाली गर्नेः सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिएपछि आफ्नो पदमा बहाली गर्नेछ ।
७. सुविधा प्राप्त गर्नेः सार्वजनिक पदधारण गर्ने व्यक्तिले प्रचलित कानून बमोजिम वा अधिकारप्राप्त निकाय वा अधिकारीको निर्णय बमोजिमको सुविधा शपथ लिएको मिति देखि प्राप्त गर्नेछ ।
८. अभिलेख राख्नेः सार्वजनिक पदधारण गरेको व्यक्तिले लिएको शपथको एक प्रति शपथ गराउने पदाधिकारीको निकायमा अभिलेख राखी अर्को प्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।
९. शपथ लिएको मानिनेः संविधान वा अन्य प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो अध्यादेश प्रारम्भ हुनु अघि लिएको शपथ यस अध्यादेश बमोजिम लिएको मानिनेछ ।
अनुसूची (दफा ३ सँग सम्बन्धित)
पद तथा गोपनीयताको शपथको ढाँचा
म ........................................... नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक ईश्वरको / देश र जनताको नाममा शपथ लिन्छु कि ............................... पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चित्ताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह या खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु र आफ्नो कर्तव्यको पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहाँदा या नरहाँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट या सङ्केत गर्नेछैन ।
सहीाः ............................. नाम, थरः ............................ पदः ....................... मितिः .......................
द्रष्टव्यः सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथको ढाँचामा रहेको "निष्ठापूर्वक" भन्ने शब्द पछि रहेका "ईश्वरको" या "देश र जनताको" भन्ने शब्द मध्ये शपथमा कुन शब्द प्रयोग गर्ने हो शपथ ग्रहण गर्नु अघि शपथ गराउने पदाधिकारीलाई जानकारी दिनु पर्नेछ ।