आदिकवि भानुभक्त जन्मस्थल विकास समिति (गठन) आदेश, २०७७ राजपत्रमा प्रकाशित मिति २०७८/०२/१७
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम "आदिकवि भानुभक्त जन्मस्थल विकास समिति (गठन) आदेश, २०७७" रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,-
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ।
(ख) “कार्यकारी निर्देशक” भन्नाले दफा ९ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “आदिकवि भानुभक्त जन्मस्थल” भन्नाले दफा ३ को उपदफा (१) बमोजिमको क्षेत्र सम्झनु पर्छ।
(ङ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ।
(च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र समितिको सदस्य–सचिवलाई समेत जनाउँछ।
(छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठित आदिकवि भानुभक्त जन्मस्थल विकास समिति सम्झनु पर्छ।
३. आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको गठन : (१) तनहुँ जिल्लाको भानु नगरपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गतको देहायको चार किल्लाभित्र अवस्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको संरक्षण तथा संवर्द्धन गरी सो क्षेत्रलाई नेपाली भाषा र साहित्यको विशिष्ट केन्द्रको रूपमा विकास गर्न आदिकवि भानुभक्त जन्मस्थल विकास समिति नामको एउटा समिति गठन हुनेछ:-
(३) अध्यक्ष र उपदफा (२) को खण्ड (घ) बमोजिम नियुक्त सदस्यको पदावधि चार वर्षको हुनेछ र निजलाई पुनः नियुक्ति गर्न सकिनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यसम्पादन सन्तोषजनक नभएमा वा इमान्दारीपूर्वक पदीय दायित्व पालना नगरेमा वा गर्न नसक्ने भएमा मन्त्रालयले अध्यक्ष वा त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
(५) उपदफा (४) बमोजिम अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
४. सदस्यको योग्यता : देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति अध्यक्ष वा दफा ३ को उपदफा (२) को खण्ड (घ) बमोजिमको सदस्य पदमा नियुक्ति हुन योग्य मानिनेछ :–
(क) नेपाली नागरिक, (ख) पच्चीस वर्ष उमेर पूरा भएको, (ग) प्रचलित कानून बमोजिम अयोग्य नभएको।
५. सदस्यको अयोग्यता : देहायको व्यक्ति अध्यक्ष वा दफा ३ को उपदफा (२) को खण्ड (घ) बमोजिमको सदस्य पदमा नियुक्ति हुन वा त्यस्तो पदमा बहाल रहन योग्य हुने छैन :–
(क) दफा ४ बमोजिमको योग्यता नभएको, (ख) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि "स्थायी आवासीय अनुमति" भन्नाले विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डि.भि.), परमानेन्ट
रेजिडेन्ट भिसा (पि.आर.) वा ग्रीन कार्ड सम्झनु पर्छ र सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ ।
(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण तथा ओसार पसार, सम्पत्ति शुद्धीकरण, वन्यजन्तुको ओसार पसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको,
(घ) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको,
(ङ) दामासाहीमा परेको ।
६. पद रिक्त हुने अवस्था : देहायको अवस्थामा अध्यक्ष वा दफा ३ को उपदफा (२) को खण्ड (घ) बमोजिमको सदस्यको पद रिक्त हुनेछ :–
(क) आफ्नो पदबाट राजिनामा दिएमा,
(ख) दफा ३ को उपदफा (३) बमोजिमको पदावधि पूरा भएमा,
(ग) दफा ३ को उपदफा (४) बमोजिम पदबाट हटाइएमा,
(घ) दफा ५ बमोजिम अयोग्य भएमा,
(ङ) मृत्यु भएमा ।
७. समितिको काम, कर्तव्य र अधिकार : समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आदिकवि भानुभक्त जन्मस्थलको विकास सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) समितिको वार्षिक बजेट स्वीकृत गर्ने,
(ग) आदिकवि भानुभक्त जन्मस्थलमा रहेका आदिकवि भानुभक्त आचार्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित रहेका प्राचीन सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका स्थलको संरक्षण, संवर्द्धन र पुनर्मनिर्माण गर्ने,
(घ) आदिकवि भानुभक्त जन्मस्थलमा रहेको भानु पुस्तकालयलाई नेपाली भाषा र साहित्यको केन्द्रको रूपमा विकास गर्ने,
(ङ) आदिकवि भानुभक्त आचार्यका समकालीन साहित्यकारको हस्तलिखित पाण्डुलिपि तथा प्रकाशित सामग्री र आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कृति तथा सामग्रीको खोज, अनुसन्धान, सङ्कलन, संरक्षण र प्रवर्द्धन गर्ने,
(च) आदिकवि भानुभक्त आचार्यद्वारा रचित ग्रन्थहरूलाई अन्य भाषामा अनुवाद गरी प्रकाशन गर्ने,
(छ) आदिकवि भानुभक्त जन्मस्थलमा समय समयमा भाषिक, साहित्यिक, शैक्षिक तथा सांस्कृतिक महत्त्वका सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने,
(ज) साहित्य प्रवर्द्धनको लागि साहित्य संस्थाहरुसँग सम्पर्क र सहकार्य गर्ने,
(झ) आदिकवि भानुभक्त जन्मस्थलसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरूबीच आवश्यक समन्वय गराउने,
(ञ) समितिको लागि आवश्यक पर्ने स्रोत जुटाउने,
(ट) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि अन्य काम गर्ने, गराउने ।
८. समिति को बैठक सम्बन्धी कार्यविधि : (१) समितिको बैठक प्रत्येक तीन महिनामा कम्तिमा एक पटक आवश्यकता अनुसार बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिको सदस्य-सचिवले अध्यक्षको निर्देशन बमोजिम बैठकको कार्यसूची सहित बैठक बस्ने सूचना बैठक बस्नुभन्दा कम्तिमा अठचालीस घण्टा अगावै सबै सदस्यलाई दिनु पर्नेछ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(५) समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिले आदिकवि भानुभक्त जन्मस्थल रहेको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य र आवश्यकता अनुसार अन्य कुनै विशेषज्ञ वा विज्ञ व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) समितिको बैठकको निर्णय समितिको अध्यक्ष र सदस्य-सचिवले प्रमाणित गर्नेछन्।
(९) सदस्यले समितिको बैठकमा भाग लिए बापत नेपाल सरकारले तोके बमोजिम बैठक भत्ता तथा सुविधा पाउनेछन् ।
(१०) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
९. कार्यकारी निर्देशक : (१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिकलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ:-
(क) पैंतीस वर्ष उमेर पूरा भएको, (ख) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको र इतिहास, कला, संस्कृति, नेपाली भाषा र साहित्य, सङ्ग्रहालय वा पुरातत्त्व सम्बन्धी विषयमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको, (ग) प्रचलित कानून बमोजिम अयोग्य नभएको।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५ को खण्ड (ख), (ग), (घ) वा (ङ) बमोजिम अयोग्य भएको व्यक्ति कार्यकारी निर्देशक पदमा नियुक्त हुन वा सो पदमा बहाल रहन योग्य हुने छैन।
(४) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निजको पुनः नियुक्ति हुन सक्नेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा नेपाल सरकारले कार्यकारी निर्देशकलाई निजको पदावधि समाप्त नहुँदै पदबाट हटाउन सक्नेछ:-
(क) कार्यसम्पादनस्तर सन्तोषजनक नभएमा, (ख) इमानदारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा, (ग) समितिको हित विपरीत वा समितिलाई हानी नोक्सानी हुने कुनै काम कारबाही गरेमा, (घ) पद अनुसारको आचरण नगरेमा वा खराब आचरण देखिएमा, (ङ) कार्यक्षमताको अभाव देखिएमा।
(६) उपदफा (५) बमोजिम कार्यकारी निर्देशकलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(७) देहायको अवस्थामा कार्यकारी निर्देशकको पद रिक्त हुनेछ:-
(क) अध्यक्ष समक्ष लिखित राजिनामा दिएमा, (ख) उपदफा (४) बमोजिम पदावधि पूरा भएमा, (ग) साठी वर्ष उमेर पूरा भएमा, (घ) उपदफा (३) बमोजिम अयोग्य भएमा, (ङ) उपदफा (५) बमोजिम पदबाट हटाइएमा, (च) मृत्यु भएमा ।
(८) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा अन्य सुविधा नेपाल सरकारको अर्थ मन्त्रालयको सहमति लिई मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकारीलाई कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरी खटाउन सक्नेछ ।
१०. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार : कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) समितिको योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गरी समिति समक्ष पेश गर्ने, (ख) आदिकवि भानुभक्त जन्मस्थलको विकास, संरक्षण र संवर्द्धनका लागि योजना तर्जुमा गरी समिति समक्ष पेश गर्ने र समितिबाट स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने, गराउने,
(ग) समितिको चल अचल सम्पत्तिको संरक्षण गर्ने, गराउने र सोको अभिलेख अद्यावधिक गरी राख्ने, (घ) समितिको बैठकबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने (ङ) समितिको प्रशासनिक तथा आर्थिक काम कारबाहीको नियन्त्रण तथा अनुगमन गर्ने, (च) समितिको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गर्ने, गराउने, (छ) समितिबाट सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने, (ज) समितिको वार्षिक प्रगति विवरण तयार गरी समिति समक्ष पेश गर्ने, (झ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
११. कार्यसम्पादन करार गर्नुपर्ने : (१) कार्यकारी निर्देशकले आफू नियुक्त भएको मितिले तीस दिन भित्र अध्यक्ष समक्ष कार्यसम्पादन करार गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको कार्यसम्पादन करारमा देहायका विषय उल्लेख गर्नु पर्नेछः-
(क) कार्यकारी निर्देशकले गर्नुपर्ने कार्यको विवरण, (ख) आदिकवि भानुभक्त जन्मस्थलको विकासका लागि कार्यान्वयन गरिने योजना, रणनीति र कार्यक्रम तथा त्यसको कार्यान्वयन कार्यतालिका, (ग) खण्ड (क) वा (ख) बमोजिम निजले कार्यसम्पादन गर्दा देखिने वा प्राप्त हुने अपेक्षित प्रतिफल वा उपलब्धिको विवरण, (घ) खण्ड (ग) बमोजिमको प्रतिफल वा उपलब्धि मापन गर्न सकिने सूचक र त्यसको मूल्याङ्कनको संयन्त्र, (ङ) कार्यकारी निर्देशकको कार्यसम्पादनसँग सम्बन्धित अन्य आवश्यक कुरा।
(३) उपदफा (१) बमोजिमको कार्यसम्पादन करार बमोजिम कार्यसम्पादन भए नभएको विषयमा मन्त्रालयले अनुगमन गर्नेछ।
(४) उपदफा (३) बमोजिम मूल्याङ्कन गर्दा कार्यसम्पादनको स्तर साठी प्रतिशतभन्दा कम भएमा दफा ९ को उपदफा (५) को खण्ड (ङ) को प्रयोजनको लागि निजको कार्यक्षमताको अभाव भएको मानिनेछ ।
१२. मानव स्रोत व्यवस्थापन : (१) समितिको कार्यसम्पादनको लागि समितिमा आवश्यक सङ्ख्यामा कर्मचारी रहनेछन्।
(२) उपदफा (१) बमोजिम समितिमा रहने कर्मचारीको पद, सङ्ख्या तथा समितिको सङ्गठन संरचना मन्त्रालयको सहमति लिई समितिले निर्धारण गरे बमोजिम हुनेछ।
तर नयाँ दरबन्दी सिर्जना गर्दा वा थप आर्थिक दायित्व सिर्जना हुने गरी दरबन्दी हेरफेर गर्दा नेपाल सरकारको अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम स्वीकृत सङ्गठन संरचना अनुसारको पदमा तोकिए बमोजिम पदपूर्ति हुनेछ।
(४) समितिका कर्मचारीको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारको अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(५) समितिमा यस आदेश बमोजिम कर्मचारी पदपूर्ति नभएसम्म समितिको कार्य सञ्चालन गर्न आवश्यक कर्मचारी मन्त्रालयले उपलब्ध गराउनेछ ।
(६) उपदफा (५) बमोजिम मन्त्रालयले कर्मचारी उपलब्ध गराउन नसकेमा समितिले मन्त्रालयको स्वीकृति लिई एक पटकमा छ महिनामा नबढ्ने गरी रिक्त पदमा प्रतिस्पर्धाको आधारमा करारमा कर्मचारी नियुक्त गर्न सक्नेछ ।
१३. समितिको कोष : (१) समितिको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायको रकम रहनेछः–
(क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) स्वदेशी व्यक्ति, सङ्घ, संस्था वा निकायबाट प्राप्त सहयोग रकम, (ग) विदेशी सङ्घ, संस्था वा निकायबाट प्राप्त रकम, (घ) समितिले उपलब्ध गराएको कुनै सेवा बापत प्राप्त हुन आएको रकम, (ङ) प्रदेश सरकार वा स्थानीय तहबाट प्राप्त रकम, (च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोषमा रहने रकम समितिले तोकेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिमको "क" वर्गको इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैङ्कमा खाता खोली समितिको नाममा जम्मा गरिनेछ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरीनेछ ।
(५) समितिको कोषको सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(६) समितिको कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१४. लेखा र लेखा परीक्षण : (१) समितिको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली अनुरुपको ढाँचामा राख्नु पर्नेछ ।
(२) समितिले नेपाल सरकारले अपनाए बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ।
(३) समितिको अन्तिम लेखा परीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखा परीक्षकबाट हुनेछ।
(४) मन्त्रालयले समितिको आय–व्ययको लेखा, तत्सम्बन्धी कागजात र नगदी वा जिन्सीको विवरण जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
१५. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने : (१) समितिले यो आदेश वा यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कामको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्य टोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
१६. समितिको कार्यालय : समितिको मुख्य कार्यालय तनहुँ जिल्लाको भानु नगरपालिकामा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालय स्थापना गर्न सकिनेछ।
१७. अधिकार प्रत्यायोजन : (१) समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, कार्यकारी निर्देशक, दफा १५ बमोजिम गठन हुने उपसमिति वा कार्यटोली वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार समितिका अधिकृतस्तरका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
१८. प्रतिवेदन पेश गर्नु पर्ने : (१) समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले सम्पादन गरेको कामको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा देहायको विवरण उल्लेख गर्नु पर्नेछ:-
(क) समितिबाट एक आर्थिक वर्षभित्र सम्पादन भएका कामको संक्षिप्त विवरण,
(ख) नीति, योजना र कार्यक्रमको कार्यान्वयनको स्थिति र उपलब्धि,
(ग) आम्दानी र खर्च,
(घ) लेखापरीक्षकको प्रतिवेदनमा उल्लिखित संक्षिप्त व्यहोरा,
(ङ) काम कारबाही गर्दा देखिएका मुख्य मुख्य समस्या तथा त्यस्ता समस्या समाधानका लागि गरिएका प्रयास,
(च) आगामी योजना तथा कार्यक्रम,
(छ) तोकिए बमोजिमको अन्य विवरण।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदन मन्त्रालय वा मन्त्रालयको निर्देशन बमोजिम समितिले सार्वजनिक गर्नु पर्नेछ।
१९. नेपाल सरकारसँग सम्पर्क : समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
२०. निर्देशन दिन सक्ने : नेपाल सरकारले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ।
२१. नियम बनाउने अधिकार : (१) यो आदेश कार्यान्वयन गर्न समितिले आवश्यक नियम बनाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम समितिले बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(३) उपदफा (१) बमोजिम नियम बनाउँदा नेपाल सरकारलाई थप आर्थिक दायित्व पर्ने विषयमा नेपाल सरकारको अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ।
(क) पूर्व - मस्यङ्गदी नदी, (ख) पश्चिम-पल्याङ्ग खोला, (ग) उत्तर -फाउँदी खोला, (घ) दक्षिण-वरभन्ड्याङ्ग डाँडा । (२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन्:- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको व्यक्तिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको - अध्यक्ष व्यक्ति (ख) प्रमुख, भानु नगरपालिका, तनहुँ - सदस्य (ग) अधिकृतस्तरको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, - सदस्य तनहुँ (घ) आदिकवि भानुभक्त जन्मस्थलको संरक्षण र संवर्द्धन तथा नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिमध्येबाट मन्त्रालयले नियुक्त - सदस्य गरेको कम्तिमा एक जना महिला सहित दुई जना (ङ) कार्यकारी निर्देशक - सदस्य-सचिव