नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति (गठन) आदेश, २०७७ राजपत्रमा प्रकाशित मिति २०७८/०४/१८
संशोधन १. नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८३ २०८३।०२।१८
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम "नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति (गठन) आदेश, २०७७" रहेको छ। (२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,— (क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ। (ख) “कार्यकारी निर्देशक” भन्नाले दफा ९ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ। (ग) “तोकिएको” वा "तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (घ) “पञ्चाङ्ग” भन्नाले तिथि, बार, नक्षत्र, योग तथा करण सम्झनु पर्छ। (ङ) “पञ्चाङ्गकार” भन्नाले पात्रो तयार गर्ने र सम्पादन गर्ने व्यक्ति सम्झनु पर्छ। (च) “पात्रो” भन्नाले तिथि, बार, नक्षत्र, योग, करण, ग्रहस्थिति, चाडपर्व, ग्रहको उदय, अस्त, बक्त तथा मार्ग अवस्थाको विवरण उल्लेख भएको पुस्तिका सम्झनु पर्छ र सो शब्दले गोजी पात्रोलाई समेत जनाउँछ। (छ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ। (ज) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र समितिको सदस्य-सचिवलाई समेत जनाउँछ। (झ) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सम्झनु पर्छ।
३. समितिको गठन : (१) पञ्चाङ्ग गणना र पात्रो तयारीमा एकरूपता र आधिकारिकता कायम गरी प्रचलित परम्परा र संस्कृतिको जगेर्ना तथा सम्बर्द्धन गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति नामको एक समिति रहनेछ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन्:-
(क) ज्योतिषशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गरेको व्यक्ति - अध्यक्ष
(ख) मन्त्रालयले तोकेको मन्त्रालयको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको प्रतिनिधि - सदस्य
(ग) ज्योतिषशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभवप्राप्त व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गरेको एक जना - सदस्य
(घ) धर्मशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी वार्षिक व्रत, पर्व, तिथि लगायतका विषयमा विशेष ज्ञान रहेका व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गरेको एक जना - सदस्य
(ङ) संस्कृति सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गरेको एक जना - सदस्य
(च) पञ्चाङ्ग सम्बन्धी कार्यमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त पञ्चाङ्गकारमध्येबाट मन्त्रालयले मनोनयन गरेको एक जना - सदस्य
(छ) कार्यकारी निर्देशक - सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (क), (ग), (घ) वा (ङ) बमोजिमका सदस्य मनोनयन गर्दा कम्तीमा एकजना महिला मनोनयन गर्नु पर्नेछ।
(४) ...........................
पहिले संशोधनद्वारा झिकिएको।
(५) ........................ (६) .......................
३क. पदमुक्त हुने : (१) यस आदेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (२) को खण्ड (क), (ग), (घ), (ङ) र (च) बमोजिम मनोनीत अध्यक्ष र सदस्यहरू तथा दफा ९ बमोजिम नियुक्त कार्यकारी निर्देशकको मनोनयन वा नियुक्ति गर्दा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए तापनि यो आदेश प्रारम्भ भएपछि त्यस्ता अध्यक्ष, सदस्यहरू र कार्यकारी निर्देशक कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन्। (२) उपदफा (१) बमोजिम पदमुक्त भएका पदाधिकारीलाई मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिनेछ।
४. सदस्यको योग्यता : देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति सदस्य पदमा मनोनीत हुन योग्य मानिनेछ :– (क) नेपाली नागरिक, (ख) पैँतीस वर्ष उमेर पूरा भएको, (ग) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त हुन अयोग्य नभएको।
५. सदस्यको अयोग्यता : देहायको व्यक्ति सदस्य पदमा मनोनीत हुन वा त्यस्तो पदमा बहाल रहन योग्य हुने छैन :– (क) दफा ४ बमोजिमको योग्यता नभएको, (ख) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि "स्थायी आवासीय अनुमति" भन्नाले विदेशी मुलुकले कुनै सर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डि.भि.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.) वा ग्रीन कार्ड सम्झनु पर्छ र सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ। (ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण तथा ओसार पसार, सम्पत्ति शुद्धीकरण, वन्यजन्तुको ओसार
पसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर, तेजाब आक्रमण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको, (घ) कालो सूचीमा रहेको, (ङ) दामासाहीमा परेको।
६. पद रिक्त हुने अवस्था : देहायको अवस्थामा सदस्यको पद रिक्त हुनेछ :- (क) आफ्नो पदबाट राजीनामा दिएमा, (ख) पदावधि पूरा भएमा, (ग) दफा ३ को उपदफा (५) बमोजिम पदबाट हटाइएमा, (घ) दफा ५ बमोजिम अयोग्य भएमा, (ङ) मृत्यु भएमा।
७. समितिको काम कर्तव्य र अधिकार : (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) समितिको वार्षिक बजेट, कार्यक्रम तथा योजना स्वीकृत गर्ने, (ख) नेपाली पञ्चाङ्गको गणना गर्ने, गराउने तथा सो सम्बन्धी विषयमा आवश्यक निर्णय गर्ने, (ग) पात्रो तयार गरी प्रकाशन गर्ने, बिक्री वितरण गर्ने, (घ) समितिमा दर्ता भएका पञ्चाङ्ग रुजु गर्ने, तिथि र चाडपर्व बारे निर्णय गर्ने, (ङ) विवाह, व्रतबन्ध जस्ता सामाजिक र सांस्कृतिक परम्परा तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित तिथि, मुहूर्त र साइतको निर्णय गर्ने, (च) सूर्य ग्रहण, चन्द्र ग्रहण, समय शुबर्द लगायतका अन्य ग्रह नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने, (छ) नेपाल सरकारलाई विभिन्न चाडपर्व, तिथि, मिति, मुहूर्त, साइत आदिको विवरण उपलब्ध गराउने, (ज) पञ्चाङ्गकारको न्यूनतम योग्यता निर्धारण गरी तोकिए बमोजिम पञ्चाङ्गकारको सूची तयार गर्ने, (झ) पञ्चाङ्गसँग सम्बन्धि समसामयिक लेख तथा पुस्तक प्रकाशन गरी बिक्री वितरण गर्ने,
(ञ) पात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थालाई तोकिए बमोजिमको मापदण्डका आधारमा स्वीकृति दिने, (ट) ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्ड सम्बन्धी विवादको निरुपण गर्ने, (ठ) समितिको स्वीकृति बिना प्रकाशन भएका पात्रो तथा क्यालेण्डर सम्बन्धमा जाँचबुझ गरी गलत रूपमा प्रकाशन भएका पात्रो तथा क्यालेण्डरको सूची प्रकाशन र प्रयोग गर्न रोक लगाउने, (ड) ज्योतिषशास्त्र, धर्मशास्त्र, संस्कृति र कर्मकाण्डको सम्बन्धमा अध्ययन अनुसन्धान गरी सोको प्रतिवेदन प्रकाशन गर्ने, (ढ) पात्रो तयारी र प्रकाशन सम्बन्धी आचारसंहिता तयार गरी लागू गर्ने, गराउने, (ण) विभिन्न धर्म, संस्कृति, परम्परा र सम्प्रदायका चाडपर्व सम्बन्धी विवरण सङ्कलन गर्ने, (त) धर्म, संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्न उचित देखिएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, गराउने, (थ) ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्ड सम्बन्धी विषयमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने, परामर्श सेवा प्रदान गर्ने, (द) आफ्नो कार्यक्षेत्रको विषयमा सभा, सम्मेलन, गोष्ठी, प्रवचन आदिको आयोजना गर्ने, (२) समितिले पञ्चाङ्ग सम्बन्धी विषयमा निर्णय गर्दा धर्म, संस्कृति, ज्योतिषशास्त्र र लोकपरम्पराका आधारमा गर्नेछ।
८. समितिको बैठक सम्बन्धी कार्यविधि: (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ। (२) समितिको बैठक अध्यक्षले तोकेको दिन, समय र स्थानमा बस्नेछ। (३) समितिको सदस्य-सचिवले अध्यक्षको निर्देशन बमोजिम बैठकको कार्य सूची सहित बैठक बस्ने सूचना बैठक बस्नुभन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै सदस्यहरुलाई दिनु पर्नेछ। (४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। (५) समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ। (७) समितिले आवश्यकता अनुसार कुनै विशेषज्ञ वा विज्ञ व्यक्तिलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ। (८) समितिको बैठकको निर्णय अध्यक्ष र समितिको सदस्य-सचिवले प्रमाणित गर्नेछ। (९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
९. कार्यकारी निर्देशक : (१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक रहनेछ। (२) मन्त्रालयले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकमध्येबाट कार्यकारी निर्देशक नियुक्त गर्नेछः- (क) पैँतीस वर्ष उमेर पूरा भएको, (ख) मान्यता प्राप्त विश्वविद्यालयबाट ज्योतिषशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी पञ्चाङ्गकारको रुपमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको वा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेको, (ग) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त हुन अयोग्य नभएको। (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५ बमोजिमको अयोग्यता भएको व्यक्ति कार्यकारी निर्देशक पदमा नियुक्त हुन वा सो पदमा बहाल रहन योग्य हुने छैन। $\times$(४) ........................ $\times$(५) .............................. $\times$(६) .............................. (७) उपदफा (२) बमोजिम कार्यकारी निर्देशक नियुक्त नभएसम्मको लागि मन्त्रालयले सङ्घीय निजामती सेवाको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको कुनै अधिकृतलाई कार्यकारी निर्देशकको रुपमा कामकाज गर्ने गरी तोक्न सक्नेछ।
$\times$ पहिलो संशोधनद्वारा खपिएको।
(८) कार्यकारी निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयबाट निर्धारण भए बमोजिम हुनेछ।
१०. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार : कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) समितिबाट निर्णय हुन पर्ने विषयमा प्रस्ताव तयार गरी समिति समक्ष पेश गर्ने, (ख) पात्रो तयार गरी प्रकाशनको लागि समिति समक्ष पेश गर्ने, (ग) समितिको चल अचल सम्पत्तिको रेखदेख गर्ने र सोको अभिलेख अद्यावधिक गरी राख्ने, (घ) समितिको बैठकबाट भएका निर्णयको कार्यान्वयन गर्ने, (ङ) समितिको प्रशासनिक तथा आर्थिक काम कारबाहीको नियन्त्रण तथा अनुगमन गर्ने, (च) समितिबाट सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने वा गराउने, (छ) आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने, (ज) समितिको उद्देश्य प्राप्तिका लागि तोकिए बमोजिका अन्य काम गर्ने वा गराउने।
११. मानव स्रोत व्यवस्थापन : (१) समितिको कार्यसम्पादनको लागि समितिमा आवश्यक संख्यामा कर्मचारी रहनेछन्। (२) उपदफा (१) बमोजिम समितिमा रहने कर्मचारीको पद, संख्या तथा समितिको सङ्गठन संरचना नेपाल सरकारको अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयको स्वीकृति लिई समितिले निर्धारण गरे बमोजिम हुनेछ। (३) उपदफा (२) बमोजिम स्वीकृत सङ्गठन संरचना बमोजिमको पदमा प्रचलित कानून बमोजिम पदपूर्ति हुनेछ। (४) समितिलाई आवश्यक पर्ने विशेष प्रकृतिका पदमा करारमा कर्मचारी नियुक्त गर्न सकिनेछ। (५) समितिका कर्मचारीको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारको अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
१२. समितिको कोष : (१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ। (२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछ:-
(क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) स्वदेशी सङ्घ, संस्था वा व्यक्तिबाट दान, दातव्य वा चन्दा स्वरूप प्राप्त रकम, (ग) विदेशी सरकार, सङ्घ, संस्था, व्यक्ति वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त सहयोग वा अनुदान रकम, (घ) समितिले उपलब्ध गराएको कुनै सेवा बापत वा समितिले प्रकाशन गरेको पात्रो वा अन्य सामग्री बिक्री बापत प्राप्त हुने रकम। (३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ। (४) समितिको कोषमा प्राप्त हुने रकम नेपाल राष्ट्र बैंकबाट "क" वर्गको इजाजतपत्र प्राप्त कुनै बैंकमा समितिको नाममा खाता खोली जम्मा गरिनेछ। (५) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरीनेछ। (६) समितिको कोषको खाता समितिको सदस्य-सचिव र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।
१३. लेखा र लेखापरीक्षण : (१) समितिको आय-व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिमको ढाँचामा राख्नु पर्नेछ। (२) समितिले आर्थिक कारोबार गर्दा नेपाल सरकारले अपनाए बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ। (३) समितिको आन्तरिक लेखा परीक्षण समितिले नियुक्त गरेको व्यक्ति वा संस्थाले गर्नेछ। (४) समितिको अन्तिम लेखा परीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ। (५) मन्त्रालयले समितिको आय-व्ययको लेखा, तत्सम्बन्धी कागजात र नगदी, जिन्सीको विवरण जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ।
१४. उपसमिति वा कार्यदल गठन गर्न सक्ने : (१) समितिले आफ्नो काममा सहयोग पुर्याउन आवश्यक अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्यदलको काम, कर्तव्य, अधिकार र कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ।
१५. बैठक भत्ता : समिति, उपसमिति वा कार्यदलका सदस्यले समितिको बैठकमा भाग लिए बापत नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृत मापदण्ड बमोजिमको बैठक भत्ता पाउनेछन्।
१६. प्रतिवेदन पेश गर्नु पर्ने : (१) समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको दिनभित्र तीन महिनाभित्र आफूले सम्पादन गरेको कामको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा समितिबाट एक आर्थिक वर्षभित्र सम्पादन भएका कामको संक्षिप्त विवरण, नीति, योजना र कार्यक्रम कार्यान्वयनको स्थिति र उपलब्धि, आम्दानी र खर्च, लेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित संक्षिप्त व्यहोरा, काम कारबाही गर्दा देखिएका मुख्य समस्या तथा त्यस्ता समस्या समाधानका लागि गरिएका प्रयास, आगामी योजना तथा कार्यक्रम र तोकिएबमोजिमको अन्य विवरण समेत उल्लेख गर्नु पर्नेछ। (३) उपदफा (१) बमोजिमको प्रतिवेदन मन्त्रालय आफैंले वा मन्त्रालयको निर्देशनमा समितिले सार्वजनिक गर्नु पर्नेछ।
१७. निर्देशन दिन सक्ने : (१) समितिबाट सम्पादन हुने काम कारबाहीको सम्बन्धमा मन्त्रालयले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ।
१८. अधिकार प्रत्यायोजन : समितिले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य, उपसमिति वा कार्यदल, कार्यकारी निर्देशक वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
१९. नेपाल सरकारसँग सम्पर्क : समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
२०. समितिको कार्यालय : समितिको कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ।
२१. नियम बनाउने अधिकार : (१) यो आदेश कार्यान्वयन गर्न समितिले आवश्यक नियम बनाउन सक्नेछ। (२) उपदफा (१) बमोजिम बनेको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ।
२२. खारेजी तथा बचाउ : (१) यो आदेश प्रारम्भ हुनुअघि गठन भएको नेपाल पञ्चाङ्ग निर्णायक समिति र सो सम्बन्धी आदेश यो आदेश प्रारम्भ भएपछि खारेज हुनेछ। (२) उपदफा (१) बमोजिम खारेज भएको समितिमा कार्यरत कर्मचारीलाई दफा ११ को उपदफा (४) बमोजिम समितिमा करारमा नियुक्त गर्न सकिनेछ।
(३) उपदफा (१) बमोजिम खारेज भएको समितिबाट भए गरेका काम कारबाही यसै आदेश बमोजिम भए गरेको मानिनेछ। (४) उपदफा (१) बमोजिम खारेज भएको समितिको सम्पत्ति तथा दायित्व स्वतः समितिमा सर्नेछ।