अचल सम्पत्ति अधिग्रहण नियमहरू, २०१६
नेपाल राजपत्रमा प्रकाशित मिति २०१६।१२।२२
अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. (१) यी नियमहरूको नाम "अचल सम्पत्ति अधिग्रहण नियमहरू, २०१६" रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा– (क) ऐन भन्नाले अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ सम्झनु पर्छ । (ख) धनीको वा चलन गरेको तहसील भन्नाले चलन गरेको घर जग्गा हेरचाह गर्नेमा जिम्मा लिए राखेका व्यक्ति वा व्यक्तिहरूको समूह सम्झनु पर्छ र सो शब्दले त्यस्ता धनीको वा चलन गरेको कारिन्दा वा नोकरलाई समेत जनाउँछ । (२) यी नियमहरूको व्याख्यामा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० प्रयोग गरिनेछ।
३. ऐनको दफा ३ अन्तर्गत धनी वा सो सम्पत्ति कुनै किसिमसँग चलन गर्ने कुनै व्यक्तिका नाउँमा दिने लिखित सूचना धनी वा चलन गर्ने व्यक्तिका हातमा नै दिएमा बाहेक देहाय बमोजिम दिएमा समेत ऐन बमोजिम दिएको मानिनेछः– (क) धनी वा चलन गरेको तहसील भएकोमा सो तहसीलदार बुझार दिएमा, वा (ख) धनी वा चलन गरेको एकाघरको उमेर पुगेको कुनै व्यक्तिलाई दिएमा, वा (ग) सम्बन्धित घर जग्गाको देख्ने ठाउँमा टाँसी दिइ सरजमिनको घटीमा २ जनासम्म मानिसले मुचुल्का गरी दिएमा ।
४. ऐनको दफा ४ अन्तर्गत दिने लिखित सूचना नियम ३ बमोजिम तामेल गरिनेछ ।
द्रष्टव्यः केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः– "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार" ।