आकस्मिक कोष नियमावली, २०३१
नेपाल राजपत्रमा प्रकाशित मिति २०३१।६।२१
संशोधन आकस्मिक कोष (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
आकस्मिक कोष ऐन, २०१६ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “आकस्मिक कोष नियमावली, २०३१” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,– (क) “आकस्मिक कोष” भन्नाले आकस्मिक कोष ऐन, २०१६ अन्तर्गत स्थापना भएको आकस्मिक कोष सम्झनु पर्छ। (ख) “आकस्मिक काम” भन्नाले दैवी प्रकोप वा दुर्घटना वा आन्तरिक वा बाह्य अशान्ति वा खतरा वा यस्तै किसिमको अन्य घटनाबाट उठेको समस्याको निमित्त गर्नु पर्ने काम *वा नेपाल सरकारले आकस्मिक काम भनी तोकेको काम सम्झनु पर्छ। (ग) “पेश्की माग गर्ने अधिकारी” भन्नाले कुनै आकस्मिक कामको निमित्त आकस्मिक कोषबाट खर्च गर्न पेश्की रकम माग गर्ने अधिकारी सम्झनु पर्छ।
३. आकस्मिक कोषको सञ्चालन: (१) कुनै आकस्मिक काममा आकस्मिक कोषबाट खर्च गर्नु भनी *नेपाल सरकार, मन्त्रिपरिषद्ले निकासा दिएमा मात्र आकस्मिक कोषबाट रकम झिकेर खर्च गर्न सकिनेछ।
(२) आकस्मिक कोषको सञ्चालन अर्थ मन्त्रालयबाट हुनेछ र यसको सञ्चालन र रकमको निकासा सम्बन्धी श्रेष्ठ र हिसाब अनुसूचीमा तोकिएको ढाँचामा अर्थ सचिवले वा निजले तोकेको अन्य कुनै अधिकृतले राख्नेछ।
४. आकस्मिक कोषबाट खर्चको निकासाको माग: (१) कुनै आकस्मिक कामको लागि आकस्मिक कोषबाट खर्चको निकासाको माग गर्दा पेश्की माग गर्ने अधिकारीले देहायका विवरण खोली अर्थ मन्त्रालय मार्फत माग गर्नु पर्नेछः-
(क) आकस्मिक कामको विवरण, खर्चको आवश्यकता र चाहिएको रकम, (ख) रुप खर्च मागिएको भए त्यसको कारण र चाहिएको रकम, (ग) आकस्मिक काम पछि सारिन नसकिने कारण, (घ) तुरुन्त खर्च नगरेमा हुने परिणामको संकेत, (ङ) कति अवधिसम्मको लागि खर्च चाहिएको हो त्यसको सम्भाव्यता, (च) आकस्मिक कोषको रकम खर्च गर्ने अधिकृत र निजको कार्यालय।
(२) उपनियम (१) बमोजिम आकस्मिक कोषबाट खर्चको माग भएकोमा अर्थ मन्त्रालयले नियम ३ को उपनियम (१) बमोजिम *नेपाल सरकार, मन्त्रिपरिषद्मा पेश गरी निकासा भए बमोजिम आकस्मिक कोषबाट पेश्कीको रूपमा रकम दिइनेछ र यसरी रकम दिएपछि अर्थ मन्त्रालयले त्यसको सूचना महालेखा परीक्षकको विभाग र महालेखा नियन्त्रक कार्यालयमा दिनु पर्नेछ।
५. आकस्मिक काम पूरा भएको सूचना दिनेः आकस्मिक काम समाप्त भएपछि वा सो काम गर्न सम्भावना छैन भन्ने एकिन गरेपछि सो कुराको सूचना पेश्की माग गर्ने अधिकारीले अर्थ मन्त्रालय, महालेखा परीक्षकको विभाग र महालेखा नियन्त्रक कार्यालयमा तुरुन्त दिनु पर्नेछ।
६. खर्च नभएको रकम सर्वसञ्चित कोषमा दाखिल गर्नेः आकस्मिक कोषबाट पेश्की लिएको रकम खर्च गर्नु नपर्ने भएमा वा सब खर्च नभई बाँकी रहेमा पेश्की माग गर्ने अधिकारीले आकस्मिक काम समाप्त भएको वा सो काम गर्ने सम्भावना छैन भन्ने यकीन गरेको मितिले ३५ दिनभित्र त्यस्तो बाँकी रहेको रकम सर्वसञ्चित कोषमा दाखिल गर्नु पर्नेछ। यसरी रकम सर्वसञ्चित कोषमा दाखिल गरेपछि उक्त अधिकारीले त्यसको सूचना अर्थ मन्त्रालय, महालेखा परीक्षकको विभाग र महालेखा नियन्त्रक कार्यालयमा दिनु पर्नेछ।
७. आकस्मिक कोषको शोध भनाभः आकस्मिक कोषबाट खर्च भएको रकम* नेपालको अन्तरिम संविधान, २०६३ को धारा ९८ बमोजिम यथाशीघ्र शोध भनाभ गरिनेछ।
द्रष्टव्यः– (१) सरकारी रकम असूल फछ्यौट (पहिलो संशोधन) ऐन, २०३३ द्वारा रुपान्तर भएका शब्दहरुः “महालेखापाल कार्यालय” को सट्टा “महालेखा नियन्त्रक कार्यालय”। (२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। (३) सङ्घीय आकस्मिक ऐन, २०७४ द्वारा आकस्मिक सेवा ऐन, २०१६ खारेज भएको।
अनुसूची (नियम ३ (२) सँग सम्बन्धित) आकस्मिक कोषको स्रेस्ता
आकस्मिक कोषको रकम रु. .................... अङ्केरेपी ........................
अर्थ सचिव वा निजले तोकोको अधिकृतको दस्तखत ....... मिति ........................