आकस्मिक बीमा कोष सञ्चालन नियमावली, २०६०
नेपाल राजपत्रमा प्रकाशन मिति २०६०।०६।३०
संशोधन १. आकस्मिक बीमा कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०६१ २०६१।१२।०३ २. आकस्मिक बीमा कोष सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।०१।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “आकस्मिक बीमा कोष सञ्चालन नियमावली, २०६०” रहेको छ। (२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ।*
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको आकस्मिक बीमा कोष सम्झनु पर्छ।
(ख) “जोखिम समूह” भन्नाले हुलदङ्गा हडताल, नागरिक उपद्रव, द्वेषपूर्ण तथा आतङ्कवाद जस्ता क्रियाकलापबाट हुन सक्ने क्षतिको विरुद्ध सुरक्षा प्रदान गरिने जोखिम सम्झनु पर्छ ।
(ग) “बीमा समिति” भन्नाले बीमा ऐन, २०४९ को दफा ३ को उपदफा (१) बमोजिम गठन भएको बीमा समिति सम्झनु पर्छ।
(घ) “सञ्चालक समिति” भन्नाले नियम ९ बमोजिम गठन भएको कोषको सञ्चालक समिति सम्झनु पर्छ।
(ङ) “सदस्यता प्राप्त बीमक” भन्नाले नियम ४ बमोजिम कोषको सदस्यता प्राप्त गरेको बीमक सम्झनु पर्छ।
(च) “सदस्य” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष तथा कोष प्रबन्धक समेतलाई जनाउँछ।
(छ) “कोष प्रबन्धक” भन्नाले नियम १५ बमोजिम नियुक्त भएको कोषको प्रबन्धक सम्झनु पर्छ।
(ज) “आर्थिक वर्ष” भन्नाले प्रत्येक वर्षको श्रावण महिनाको १ गतेदेखि आषाढ महिनाको मसान्तसम्मको अवधि सम्झनु पर्छ।
३. कोषको स्थापना : (१) नेपाल $\text{**}$ ............ भित्र जारी गरिएको निजीवन बीमालेख अन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्न सक्ने जोखिम समूहको दावी व्यहोराका लागि पूनबीमाको व्यवस्था गर्न तथा सोसँग सम्बन्धित अन्य बीमा जोखिमहरूको भुक्तानी गर्नको लागि आकस्मिक बीमा कोष नामबाट एउटा कोषको स्थापना गरिएको छ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् :–
(क) नेपाल सरकारबाट प्राप्त हुने रकम,
(ख) बीमकबाट प्राप्त हुने सदस्यता शुल्क,
$\text{**}$ पहिलो संशोधनद्वारा झिकिएको।
(ख१) सदस्यता प्राप्त बीमकबाट प्राप्त बीज राशि (सिड मनी),
(ग) बीमकहरूले बीमालेखमा रक्षावरण गरेको जोखिम समूह बापतको रकम,
(घ) बीमकहरूले पूर्वबीमकबाट पाउने पुनर्बीमा कमिसन र मुनाफा बापत प्राप्त हुने रकम,
(ङ) नियम ८ बमोजिम लगानीबाट प्राप्त मुनाफा,
(च) अन्य स्रोतबाट प्राप्त हुने रकम।
(२क) सदस्यता प्राप्त बीमकले उपनियम (१) को खण्ड (ख१) बमोजिमको बीज राशि सोही उपनियमको खण्ड (क) बमोजिमको रकमभन्दा कम नहुने गरी कोषमा जम्मा गर्नु पर्नेछ र त्यस्तो रकमको भुक्तानीको शर्त तथा प्रक्रिया सञ्चालक समितिले तोके बमोजिम हुनेछ।
(३) उपनियम (२) बमोजिम कोषमा जम्मा भएको रकमबाट उपनियम (१) बमोजिमको जोखिम भुक्तानी गर्न नपुग हुन गएको अवस्थामा सदस्यता प्राप्त बीमकलाई बीमा समितिले थप शुल्क लगाउन सक्नेछ।
४. कोषको सदस्यता : (१) बीमा ऐन, २०४९ बमोजिम निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न दर्ता भएका बीमकले कोषको सदस्यता प्राप्त गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम कोषको सदस्यता प्राप्त गर्न चाहने बीमकले सञ्चालक समिति समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन यस नियमावली बमोजिम रीत पुगेको देखिएमा त्यस्तो निवेदक बीमकलाई सञ्चालक समितिले अनुसूची–२ बमोजिमको ढाँचामा कोषको सदस्यता प्रदान गर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रदान गरेको कोषको सदस्यता एक आर्थिक वर्षको लागि मान्य हुनेछ र त्यस्तो सदस्यता नवीकरण गर्न सकिनेछ।
(५) उपनियम (४) बमोजिम नवीकरण गर्दा सदस्यता बहाल हुने अवधि समाप्त भएको मितिले एक महिनाभित्र सञ्चालक समितिले तोकेको नवीकरण शुल्क बुझाई सदस्यता प्रदान गर्ने अधिकारीबाट गराउनु पर्नेछ।
५. कोषको सदस्यता खारेज हुने : (१) देहायको अवस्थामा सञ्चालक समितिले नियम ४ बमोजिम प्रदान गरेको कोषको सदस्यता खारेज गर्न सक्नेछ :–
(क) निर्जीवन बीमा कारोबार गर्न पाएको प्रमाणपत्र रद्द भएमा।
(ख) कोषमा बुझाउनु पर्ने बीमा शुल्क $\text{※}$ वा रकम नबुझाएमा।
(ग) यस नियमावली बमोजिम गर्नु पर्ने कार्य नगरेमा।
(२) उपनियम (१) बमोजिम कुनै बीमाको सदस्यता खारेज गर्नु अघि सञ्चालक समितिले त्यस्तो सदस्यता प्राप्त बीमालाई आफ्नो पक्षात सफाइ पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ।
६. कोषमा बुझाउनु पर्ने बीमा शुल्क : (१) बीमालेख अन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्न सक्ने जोखिम समूहको दावी तथा सो सँग सम्बन्धित अन्य बीमा जोखिम व्यहोराका लागि सञ्चालक समितिले तोकिदिए बमोजिमको शुल्क सदस्यता प्राप्त बीमाले कोषमा बुझाउनु पर्नेछ।
(२) नियम ५ बमोजिम कोषको सदस्यता खारेज भएको बीमाबाट कोषको सदस्यता खारेज हुनु अघि कोषमा बुझाउनु पर्ने शुल्क $\text{※}$ वा रकम असुल गर्न सदस्यता खारेज भएको कारणले मात्र बाधा पुगेको मानिने छैन।
$\text{※}$ पहिलो संशोधनद्वारा थप।
७. कोषको प्रयोग : नेपाल**............ भित्र जोखिम समूह रक्षणवरण गरी जारी भएका बीमालेकलाई सुरक्षा प्रदान गर्न र कोषको आवश्यक प्रशासकीय खर्च व्यहोर्न कोषमा रहेको रकमबाट बीमा समितिको स्वीकृतिलई सञ्चालक समितिले खर्च गर्न सक्नेछ।
८. लगानी गर्न सक्ने : कोषमा रहेको रकमबाट जोखिम समूहको भुक्तानी र कोषको प्रशासकीय खर्च कट्टा गरी बाँकी हुन आएको रकम $\circ$कुनै बैङ्कमा मुद्दती निक्षेपमा जम्मा गर्न वा नेपाल सरकारको स्वीकृतिलई सञ्चालक समितिले नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, जमानतपत्र वा बचतपत्रमा लगानी गर्न सक्नेछ।
९. कोषको सञ्चालक समिति : (१) कोष सञ्चालन गर्नको लागि नेपालसरकारले देहायका अध्यक्ष तथा सदस्य रहेको एउटा सञ्चालक समिति गठन गर्नेछ :–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) नेपाल सरकारले बीमाहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी मनोनयन गरेका तीनजना प्रतिनिधि – सदस्य
(ग) कोष प्रबन्धक – सदस्य–सचिव
(२) सञ्चालक समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रूपमा सञ्चालक समितिको बैठकमा उपस्थित हुन आमन्त्रण गर्न सक्नेछ।
(३) सञ्चालक समितिका सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ।
(४) सञ्चालक समितिको सचिवालय बीमा समितिको कार्यालयमा रहनेछ।
१०. सञ्चालक समितिको बैठक र निर्णय : (१) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
** पहिलो संशोधनद्वारा झिकिएको। $\circ$ पहिलो संशोधनद्वारा थप।
(२) सञ्चालक समितिको बैठक आवश्यकतानुसार बस्नेछ।
तर दुईवटा बैठक बीचको अन्तर दुई महिनाभन्दा बढी हुने छैन।
(३) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ।
(४) सञ्चालक समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ।
(५) सञ्चालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत समेत दिन सक्नेछ।
(६) सञ्चालक समितिको निर्णय अध्यक्ष र सदस्य-सचिवद्वारा प्रमाणित गरिनेछ।
(७) सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ।
११. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार : सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कोषको व्यवस्थापन गर्ने,
(ख) जोखिम समूहको पूर्वबीमाको आवश्यक व्यवस्था तथा कार्यान्वयन गर्ने गराउने,
(ग) जोखिम समूहको पूर्वबीमा व्यवस्थाको सिंहावलोकन गर्ने,
(घ) कोषको हितको दृष्टिकोणबाट जोखिम समूहको भविष्यमा अरु थप संरक्षण व्यवस्था गर्ने, नयाँ पूर्वबीमा व्यवस्था गर्ने र नवीकरण गर्ने बीमकर्ताहरूसँग समन्वय गर्ने गराउने,
(ङ) सदस्य बीमकर्ताहरूबाट जोखिम समूहको आवश्यक पूर्वबीमा विवरण तथा बीमा शुल्क लिई पूर्वबीमा शुल्क भुक्तानी गर्ने, गराउने,
(च) कोषमा पर्न आउने दाबी फछ्र्यौट प्रकृयाको लागि बीमा समितिबाट मान्यता प्राप्त सभेयरहरूनियुक्त गर्नु वा सदस्य बीमकहरूले सोही प्रयोजनको लागि नियुक्त गर्ने सभेयरहरूसम्बन्धी आधार निर्धारण गर्ने,
(छ) यस नियमावली अन्तर्गतको दाबी फछ्र्यौट प्रकिया सम्बन्धी निर्देशिका तयार गरी लागू गर्ने,
(ज) सदस्यता प्राप्त बीमकहरूको लागि “जोखिम समूह” सम्बन्धी बीमा, पूनबीमा व्यवस्थापनको निर्देशिका तयार गरी लागू गर्ने र बीमक तथा पूनबीमकहरूसँग समन्वय गर्ने तथा त्यस्ता निर्देशिकाहरूसमयअनुकूल परिमार्जन गर्ने,
(झ) कोष सञ्चालन सम्बन्धि बीमा समिति मार्फत नेपालसरकारलाई आवश्यक प्रतिवेदन तथा सर–सल्लाह र सुझाव दिने,
(ञ) जोखिम समूहका सम्बन्धि पूनबीमकहरूबाट प्राप्त हुने पूनबीमा कमिसनका बीमा समितिको स्वीकृति लिई सञ्चालक समितिले तोकिदिए बमोजिमको रकम कट्टा गरी बाँकी सम्बन्धित बीमकहरूलाई भुक्तानी दिने,
(ट) यस नियमावली अन्तर्गतको दाबी प्रकृयाको अन्तिम टुङ्गो लगाउने,
(ठ) जोखिम समूहबाट पर्न दाबी फछ्र्यौट गर्ने, दाबीहरूफछ्र्यौट गर्न बीमकहरूलाई अख्तियार प्रत्यायोजन गर्ने,
(ड) कोष सञ्चालनको लागि आवश्यक आर्थिक तथा प्रशासनिक निर्देशिका तयार गरी लागू गर्ने,
(ढ) कोषको सदस्यताको सम्बन्धमा आवश्यक आधार तर्जुमा गर्ने तथा शुरुमा कोषको सदस्यता नलिएका बीमकहरूको सदस्यता सम्बन्धमा आवश्यक निर्णय गर्ने,
(ण) नियम ५ बमोजिम सदस्यता प्राप्त बीमकहरूको सदस्यता खारेज गर्ने,
(त) सदस्यता प्राप्त बीमितलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्ने,
(थ) यस नियमावलीको उद्देश्य प्राप्तिका लागि आवश्यक अन्य कार्यहरू गर्ने।
१२. कोषको सञ्चालन तथा व्यवस्था : (१) यस नियमावली बमोजिम कोषमा जम्मा गरिने रकम सञ्चालक समितिले तोकिदिएको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
(२) उपनियम (१) बमोजिम खोलिएको खाताको सञ्चालन सञ्चालक समितिले तोकिदिए बमोजिम हुनेछ।
१३. लेखा र लेखापरीक्षण : (१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत कोषको आय व्ययको लेखा तत्सम्बन्धी कागजातहरू र अन्य नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ।
१४. उपसमिति गठन गर्न सक्ने : यस नियमको उद्देश्य प्राप्तिका लागि सञ्चालक समितिले आवश्यकता अनुसार प्राविधिक उपसमितिहरू गठन गर्न सक्नेछ।
१५. कोष प्रबन्धकको नियुक्ति : (१) नेपाल सरकारले देहायको योग्यता पुगेका व्यक्तिलाई कोष प्रबन्धकमा नियुक्त गर्न वा तोक्न सक्नेछ :–
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरी बीमा, पुनबीमा तथा दावीको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको।
(ख) पैँतीस वर्ष उमेर पूरा भई साठी वर्ष ननाघेको।
तर कोष प्रबन्धकको नियुक्ति नहुन्जेलसम्म बीमा समितिका बहालवाला अधिकृत कर्मचारीमध्येबाट अध्यक्षले तोकेको व्यक्तिले कोष प्रबन्धकको कार्य गर्नेछ।
(२) कोष प्रबन्धक सचिवालयको मुख्य प्रशासकीय अधिकारी हुनेछ। सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन गर्ने तथा कोषको काम कारबाहीको रेखदेख र नियन्त्रण गर्ने सम्पूर्ण अधिकार तथा कर्तव्य कोष प्रबन्धकको हुनेछ।
(३) कोष प्रबन्धकको पदावधि तीन वर्षको हुनेछ र निजलाई पुनः नियुक्त गर्न वा तोक्न सकिनेछ।
(४) कोष प्रबन्धकको सेवा, शर्त तथा सुविधा बीमा समितिको सिफारिसमा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ।
(५) यस नियमावली अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कोष प्रबन्धकले कसैलाई हानि नोक्सानी पुर्याई यस नियमावलीको उद्देश्य तथा कोषको हित विपरीत हुने कुनै काम कारबाही गरे वा सञ्चालक समितिको नीति निर्देशन अनुरूप कार्य सम्पादन नगरेमा बीमा समितिले तोकिदिएको प्रक्रिया अपनाई सञ्चालक समितिले निजलाई कोष प्रबन्धक पदबाट हटाउन सक्नेछ।
तर यसरी पदबाट हटाउनु अघि कोष प्रबन्धकलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट वञ्चित गरिने छैन।
१६. कर्मचारी सम्बन्धी व्यवस्था : कोष सञ्चालनको लागि आवश्यक कर्मचारी बीमा समितिले उपलब्ध गराउनेछ।
१७. विघटन : (१) नेपाल सरकारले आवश्यक देखेमा कोषमा विघटन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम कोषको विघटन भएमा कोषमा रहेको नगदी, जिन्सी तथा अन्य सम्पत्तिमा नेपाल सरकार र सदस्यता प्राप्त बीमाबीच समान अधिकार हुनेछ। त्यस्तो अधिकार अन्तर्गत सदस्यता प्राप्त बीमाको सम्पत्तिमा सदस्यता प्राप्त सबै बीमाले लगानी गरेको बीज राशिोको आधारमा समानुपातिक हिसाबले भाग लगाई लिन पाउने छन्।
१८. निर्देशन दिन सक्ने : कोष सञ्चालन सम्बन्धी विषयमा नेपाल सरकारले सञ्चालक समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिएको निर्देशन पालना गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ।
१९. अनुगमन तथा रेखदेख : कोष सञ्चालन सम्बन्धी कार्यको अनुगमन तथा रेखदेख बीमा समितिले गर्नेछ।
२०. नेपाल सरकारसँग सम्पर्क : सञ्चालक समितिले नेपाल सरकारसँग सम्पर्क राख्नु परेमा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ।
अनुसूची–१ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित) कोषको सदस्यताको लागि निवेदन फारम
श्रीमान् अध्यक्षज्यू, कोष सञ्चालक समिति ...............................
विषय :– सदस्यता पाऊँ।
आकस्मिक बीमा कोष सञ्चालन नियमावली, २०६० को नियम ४ बमोजिम कोषको सदस्यताको लागि देहायको विवरण खुलाई निवेदन गरेको छु / छौं। १. बीमा ऐन, २०४९ बमोजिम निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा समितिमा दर्ता भएको मिति र दर्ता नं. .............. २. आफूले गरेको बीमा व्यवसायको विवरण ........... ३. आफ्नो संगठित संस्थाको प्रबन्धपत्र र नियमावली, ४. निर्जीवन बीमा व्यवसाय गर्न पाएको प्रमाणपत्र, ५. अन्य आवश्यक विवरण
निवेदक बीमक : प्रमाणपत्र नं. : हस्ताक्षर : मिति :
अनुसूची–२ (नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
कोषको सदस्यता प्रमाणपत्र
श्री .................................................................... प्रमाणपत्र नं. ....... ......................................................................
विषय :- कोषको सदस्यता बारे ।
तपाईँले मिति ...................... मा सञ्चालक समिति समक्ष दिएको निवेदन उपर कारबाही हुँदा तपाईँलाई कोषको सदस्यता प्रदान गर्ने सञ्चालक समितिले मिति ................. मा निर्णय गरे बमोजिम यो सदस्यता प्रदान गरिएको छ । तल लेखिएका शर्तहरूको पालना गर्नु होला ।
शर्तहरू १. २. ३.
कोष प्रबन्धक: मिति :*