आन्तरिक हुलाक वस्तु बिमा गर्ने नियमहरू, २०१९ नेपाल राजपत्रमा प्रकाशित मिति २०१९।०८।२८
आन्तरिक हुलाक वस्तु (बिमा गर्ने) ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “आन्तरिक हुलाक वस्तु (बिमा गर्ने) नियमहरू, २०१९” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यी नियमहरूमा,- (क) “बिमा वस्तु” भन्नाले खामभित्र राखिएको पत्र, करेंसी नोट, चेक, हुण्डी, बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू सम्झनु पर्छ। (ख) “हुलाक” भन्नाले यी नियमहरूको अनुसूचीमा दिइएको हुलाकहरू र हुलाक डाइरेक्टोरिटिले आवश्यकता अनुसार समय समयमा तोकिदिएको हुलाक सम्झनु पर्छ। (ग) “नियन्त्रक” भन्नाले नेपाल सरकारबाट नियुक्त भएको अञ्चल प्रमुख सम्झनु पर्छ। (घ) “डेलिभरी” भन्नाले बिमा गरिएको हुलाक वस्तु ठेगानावाला वा सो वस्तु बुझिलिने नियमात अख्तियारी पाएको वारिसलाई बुझाएमा सो ठेगानावालालाई डेलिभरी भएको सम्झनु पर्छ। (ङ) “ऐन” भन्नाले आन्तरिक हुलाक वस्तु (बिमा गर्ने) ऐन, २०१९ सम्झनु पर्छ।
३. बिमा गर्ने हद : अनुसूचीमा उल्लेख भएका हुलाकहरूका बीच बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू बढीमा ने. रू. १,५००/- पन्ध्र सयसम्म बिमा गर्न सकिनेछ।
४. बिमा गर्नु पर्ने : बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू हुलाकबाट चलाउन बिमा गर्न अनिवार्य हुनेछ।
५. बिमा गर्ने तरिका : हुलाक वस्तुहरू बिमा गर्दा देहाय बमोजिम गर्नु पर्छ :- (क) हुलाक महसुल र रजिष्ट्रि शुल्कको अतिरिक्त नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बिमा दस्तुरको अग्रीम चुक्ती हुलाक टिकट टाँसी गर्नु पर्दछ,
(ख) प्रत्येक बिमा वस्तु छाप नफुटाइकन वा बेसावूत वा अस्पष्ट चिन्ह नरहने किसिमसँग खोल्न नसकिने गरी र सफा स्पष्ट बुझिने गरी एकै रङ्गको सफा लाहाद्वाडा एकै ढाँचाको कुनै व्यक्तिगत छाप लगाई बलियो खाममा राम्ररी बन्द गरिएको हुनु पर्दछ। रूपैयाँ पैसाको वा सोझो वाँगा काटिएका रेखा भएको छाप हुनु हुँदैन, (ग) खाम कालो वा अरू कुनै किसिमको रङ्गीन किनारा भएको वा भित्रको वस्तुको कुनै अंश कतै डाट देखिन र चिन्न नसकिने गरी गर्नेको हुनु पर्दछ, (घ) खाम बन्दी गरी टाँसबुन्ने प्रत्येक जोडनीमा छाप लागेको हुनु पर्दछ, खाममा धागोको टाँका माथि वा फित्ता बाँधी जहाँ गाँठो पर्दछ त्यहाँ लाहाछाप लगाएको हुनु पर्दछ, (ङ) खाममा हुलाक अड्डाको लेवल टाँस्ने तथा अन्य चिन्ह लगाउने पर्याप्त स्थान हुनु पर्दछ, (च) खाममा कुनै केिमेट तथा रुपघट नगरी बिमा गरिने मूल्य अङ्क र अक्षरमा स्पष्टसाँग बुझिने गरी लेखिएको हुनु पर्दछ, (छ) प्रेषकको नाम र ठेगाना पाउने व्यक्तिको ठेगाना देब्रेपट्टिको तल्लो कुनामा लेखिएको हुनु पर्दछ। खाममा ठाउँ नभए छुट्टै कागजमा लेखी बिमा गरिने वस्तुसँगै दाखिल गर्नु पर्दछ। (ज) खाममा बढीमा सवा इञ्च लम्बाई र सवा इञ्च चौडाइसम्मको हुलाक टिकट बाहेक अरू किसिमका आफू खुसी लेवल प्रेषकले टाँस्न सक्नेछ। ६. रसीद : बिमा वस्तु बिमा गर्ने निर्धारित समयभित्र हुलाकमा दाखिल हुन आई सो वस्तु हुलाकद्वारा स्वीकृत भएमा बुझाउने व्यक्तिलाई प्रत्येक बिमा वस्तुको निमित्त छुट्टा छुट्टै रसीद दिइनेछ। ७. फिर्ती रसीद : प्रत्येक बिमा वस्तुको निमित्त ठेगानावालाले वा हकको अख्तियात पाएको वारिसले रीतपूर्वक दस्तखत गरेको फिर्ती रसीद प्रेषकलाई नि:शुल्क पठाइनेछ। ८. बिमा वस्तु फिर्ता हुने अवस्था : सम्बन्धित हुलाकले देहायका अवस्थामा बिमा वस्तु प्रेषकलाई नै फिर्ता पठाउनु पर्दछ :- (क) बिमा वस्तुको आगमन सूचना दिएका मितिदेखि १० दिनसम्ममा ठेगानावालाले डेलिभरी नलिएमा, वा
(ख) ठेगानावालाले बिमा वस्तु लिन इन्कार गरेमा वा सही डेलिभरी दिने ठेगानावाला नै नभेटिएमा वा ठेगानावालाको मृत्यु भई डेलिभरी हुन नसकेमा, वा (ग) ठेगानावाला बिना सूचना अघि बसेको ठाउँ छाडी अन्यत्र गएमा वा बिमा वस्तु डेलिभरी गर्ने अख्तियारी नभएको हुलाकको अधिकारक्षेत्रमा सरेकोमा सो सरेका १० दिनभित्र ठेगानावाला वा निजको अख्तियारी पाएको वारिसलाई डेलिभरी दिन हुलाकको तर्फबाट प्रयास गर्दा पनि पुनः ठेगानावाला पत्ता नलागी बिमा वस्तु डेलिभरी हुन नसकेमा। तर बिमा वस्तु हुलाकमा आइपुगेको समयमा बिमा वस्तुको ठेगानावाला सो हुलाक डेलिभरी क्षेत्रबाट बाहिर गएको भए र सो हुलाकमा निजको नाममा बिमा वस्तु आएको सूचना हुलाकबाट वा अरू कुनै तवरबाट थाहा पाई त्यसको डेलिभरी लिने इच्छाको लिखित सूचना सम्बन्धित हुलाकलाई खण्ड (ग) मा उल्लेखित १० दिन भित्र दिएमा सो बिमा वस्तु अरू ५ दिनसम्म सो हुलाकमा राखिनेछ, सो ५ दिन भित्र पनि ठेगानावाला वा निजको अख्तियारी पाएको वारिसले डेलिभरी नलिएमा सो ५ दिन भुक्तानी भएपछि तुरुन्त सो बिमा वस्तु प्रेषकलाई नै फिर्ता पठाइनेछ।
९. क्षतिपूर्ति पाउने हक र बन्देजहरू : बिमा गरिएको हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलाउन गरिँदाको अवस्थामा हराएमा वा नोक्सान भएमा ऐन बमोजिम पाउने क्षतिपूर्तिको रकम देहायको अवस्थामा पाउने छैन :- (क) प्रेषकले लेखेको ठेगाना अधुरो वा अशुद्ध भई गलत डेलिभरी हुन गएमा, वा (ख) प्रेषकले वा ठेगानावालाले कुनै किसिमको जालसाजी गरेको प्रमाणित भएमा, वा (ग) ठेगानावालाले फिर्ती रसीद समेतमा सही गरी बिमा वस्तु डेलिभरी लिइसकेको भएमा, वा (घ) बिमा वस्तु हुलाक दाखिल भएको मितिदेखि २ महिनाभित्र हराएको वा नोक्सानी भएको वा गुम भएको कुनै उजुरी नदिएमा, वा (ङ) अयोग्य वा असुरक्षित प्याक बन्दीको कारणले हराएमा वा नोक्सानी भएमा, वा (च) खाम वा लाहा छापमा कुनै देखिने नोक्सानी नभएमा, वा (छ) बिमा वस्तुभित्र ಕರೆन्सी नोट वा सटही मूल्यका अरू वस्तु वा दुवै साथ खामिएको भै त्यस्ता वस्तुहरूको वास्तविक मूल्यको बिमा नगरिएको भएमा, वा
(ज) बिमा गरिएको वस्तुको स्वभावैबाट हानी नोक्सानी भएमा, वा (झ) हुलाकद्वारा मनाही गरिएका वस्तु बिमा गरिएमा।
१०. क्षतिपूर्ति दिने म्याद : हुलाक डाइरेक्टर वा नियन्त्रकद्वारा परिस्थितिवस जाँचबुझ (इन्क्वायरी) गर्ने आदेश भएमा बाहेक प्रेषकले हुलाकलाई बिमा वस्तु हराएको उजूरी दिएको मितिदेखि २ महिनापछि तुरुन्त क्षतिपूर्ति पाउनेछ।
अनुसूची
१. काठमाडौँ जनरल पोष्ट कार्यालय । २. ललितपुर नगर हुलाक । ३. भक्तपुर नगर हुलाक । ४. वीरगञ्ज मुख्य हुलाक । ५. विराटनगर मुख्य हुलाक । ६. पोखरा मुख्य हुलाक । ७. भैरहवा मुख्य हुलाक ।
द्रष्टव्य:- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।