आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) नियमावली, २०५१
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) नियमावली, २०५१
नेपाल राजपत्रमा प्रकाशित मिति २०५१।४।३०
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) ऐन, २०५१ को दफा २० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण) नियमावली, २०५१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, -
(क) “ऐन” भन्नाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “निरीक्षक” भन्नाले ऐनको दफा १३ को उपदफा (१) बमोजिम नियुक्त गरिएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ ।
३. सुपरिवेक्षण गर्ने : स्तनपानको संरक्षण र सम्बर्द्धन गर्न समितिले आफैले वा उपसमिति वा निरीक्षकहरूद्वारा स्वास्थ्य हेरचाह गर्ने निकाय, स्वास्थ्य कार्य कर्ता र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत, बाल आहारको उत्पादन वा बिक्री वितरण गर्ने उत्पादक वा विक्रेताहरूले ऐन र यस नियमावली बमोजिम पालन गर्नु पर्ने कुराहरू पालन गरेको छ, छैन सुपरिवेक्षण गर्न वा गराउन सक्नेछ ।
४. स्वीकृतिको लागि निवेदन दिने : (१) स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा सङ्गठनले ऐनको दफा ९ को उपदफा (७) बमोजिम कुनै उत्पादक वा विक्रेताबाट कुनै उत्पादन खुद्रा मूल्यभन्दा कम मूल्यमा वा अनुदानको रूपमा लिन चाहेमा त्यसको कारण र उद्देश्य समेत खुलाई समितिको स्वीकृतिको लागि अनुसूची-१ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) ऐनको दफा ९ को उपदफा (९) बमोजिम उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकायलाई कुनै उपकरण वा वस्तुहरू दान दिन चाहेमा समितिको स्वीकृति लिनको लागि अनुसूची-२ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(३) स्वास्थ्य कार्यकर्ताहरूले ऐनको दफा ९ को उपदफा (११) बमोजिम कुनै उत्पादक वा वितरकबाट कुनै छात्रवृत्ति वा अनुसन्धान अनुदान लिन वा व्यावसायिक गोष्ठी वा सम्मेलन आयोजना गर्न वा त्यस्तो गोष्ठी वा सम्मेलनमा भाग लिन चाहिने रकम लिन चाहेमा त्यस्तो छात्रवृत्ति वा अनुसन्धान अनुदान लिनको लागि समितिको स्वीकृतिको लागि अनुसूची-३ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
५. स्वीकृति दिने : (१) नियम ४ को उपनियम (१) बमोजिम कुनै निवेदन परेमा समितिले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी स्वीकृति दिन मनासिब देखिए भए त्यस्तो निवेदनमा उल्लेख भए बमोजिम कुनै उत्पादन लिने स्वास्थ्य हेरचाह गर्ने निकाय वा संस्था वा सङ्गठनले पालन गर्नु पर्ने शर्तहरू समेत उल्लेख गरी स्वीकृति दिनु पर्नेछ ।
(२) नियम ४ को उपनियम (२) बमोजिम कुनै निवेदन परेमा समितिले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी स्वीकृति दिन मनासिब देखिए भए त्यस्तो निवेदनमा उल्लेख भए बमोजिम कुनै उपकरण वा वस्तुहरू दिने उत्पादक वा वितरकले पालन गर्नु पर्ने शर्तहरू समेत उल्लेख गरी स्वीकृति दिनु पर्नेछ ।
(३) नियम ४ को उपदफा (३) बमोजिम कुनै निवेदन परेमा समितिले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी स्वीकृति दिन मनासिब देखिए भए त्यस्तो निवेदनमा उल्लेख भए बमोजिम कुनै छात्रवृत्ति वा अनुसन्धान अनुदान वा रकम लिने स्वास्थ्य कार्यकर्ताले पालन गर्नु पर्ने शर्तहरू समेत उल्लेख गरी स्वीकृति दिनु पर्नेछ ।
(४) उपनियम (१), (२) वा (३) बमोजिमको स्वीकृति समितिले त्यस्तो स्वीकृतिको लागि निवेदन परेको मितिले तीस दिनभित्र दिनु पर्नेछ ।
६. उत्पादनको प्रमाणीकरण : (१) उत्पादक वा वितरकले दुधदानी र मुन्टो बाहेक अन्य कुनै उत्पादन बिक्री गर्नु अघि त्यस्तो उत्पादनको प्रमाणीकरणको लागि उत्पादनको नमूना र
समितिले तोके बमोजिमको दस्तुर सहित अनुसूची-४ बमोजिमको ढाँचामा केन्द्रीय खाद्य अनुसन्धानशालामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा केन्द्रीय खाद्य अनुसन्धानशालाले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सम्बन्धित उत्पादन नेपाल गुणस्तर कार्यालयबाट निर्धारित वा सिफारिस गरिएको गुणस्तर अनुसारको र मानव उपभोगको लागि उपयुक्त देखिएमा त्यस्तो निवेदन परेको मिति तीन महिनाभित्र त्यस्तो उत्पादनको प्रमाणीकरण गरिदिनु पर्नेछ ।
७. लेवलको स्वीकृति : (१) उत्पादक वा विक्रेताले कुनै उत्पादन बिक्री गर्नु अघि त्यस्तो उत्पादनको लेवल स्वीकृतिको लागि अनुसूची-५ बमोजिमको ढाँचाको निवेदनसाथ समिति समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा समितिले सम्बन्धित लेवलमा ऐनको दफा ११ को उपदफा (६) बमोजिम उल्लेख हुनु पर्ने सबै कुराहरू उल्लेख भएको देखिएमा त्यस्तो निवेदन परेको मिति तीस दिनभित्र लेवलको स्वीकृति दिनु पर्नेछ ।
८. अभिलेख राख्नु पर्ने : समितिले नियम ५ वा ७ बमोजिम आफूले स्वीकृति दिएका सबै कुराहरूको अभिलेख राख्नु पर्नेछ ।
९. अधिकार प्रत्यायोजन : समितिले ऐन तथा यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार ऐनको दफा ६ को खण्ड (ज) बमोजिम गठित उपसमिति, समितिको सदस्य-सचिव वा अन्य कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१०. परिचयपत्र : (१) प्रत्येक निरीक्षकलाई अनुसूची-६ बमोजिमको ढाँचामा परिचयपत्र दिइनेछ।
(२) निरीक्षकले आफ्नो परिचयपत्र सधै आफ्नो साथ राख्नु पर्नेछ र ऐन तथा यस नियमावली बमोजिम कुनै काम गर्दा वा आफूलाई प्राप्त अधिकार प्रयोग गर्दा कसैले निजको परिचयपत्र हेर्न खोजेमा तुरुन्त देखाउनु पर्नेछ ।
११. निरीक्षण : (१) निरीक्षकले वर्षमा कम्तीमा दुई पटक आफ्नो क्षेत्रमा रहेका प्रसूति गृह, अस्पतालको प्रसूति तथा शिशु कक्ष, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य व्यवसायीहरूको क्लिनिक वा कार्यालयहरू तथा अन्य स्वास्थ्य हेरचाह गर्ने निकाय र स्वास्थ्य कार्यकत्थाहरूको
कार्यालय एवं उत्पादक र वितरकहरूको उत्पादन स्थल, गोदाम वा कार्यालयको निरीक्षण गरी ऐन र यस नियमावली बमोजिम पालन गर्नु पर्ने कुराहरू पालन भएको छ, छैन जाँचबुझ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्ने प्रयोजनको लागि कसैको घर जग्गामा प्रवेश गर्नु परेमा निरीक्षकले प्रचलित कानून बमोजिम सम्बन्धित व्यक्तिलाई सूचना दिई प्रवेश गर्न सक्नेछ ।
(३) निरीक्षकले उपनियम (१) र (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्ने वा कसैको घर जग्गामा प्रवेश गर्ने प्रयोजनको लागि स्थानीय निकाय, प्रशासन, प्रहरी वा अन्य कुनै व्यक्तिसँग सहयोग मागेमा निजलाई सम्बन्धित सबैले सहयोग गर्नु पर्नेछ ।
१२. निर्देशन दिन सक्ने : (१) नियम ११ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा निरीक्षकले कुनै प्रसूति गृह, अस्पतालको प्रसूति तथा शिशु कक्ष, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य व्यवसायीहरूको क्लिनिक वा कार्यालयमा वा अन्य कुनै स्वास्थ्य हेरचाह गर्ने निकायमा कुनै अनियमितता भएको देखेमा त्यसलाई हटाउन वा त्यहाँ उपलब्ध गराइने सेवामा सुधार गर्नको निमित्त आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले दिएको निर्देशन सम्बन्धित प्रसूति गृह, अस्पताल, स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य हेरचाह गर्ने निकायको प्रमुख तथा स्वास्थ्य व्यवसायीहरूले पालन गर्नु पर्नेछ ।
१३. प्रतिवेदन पेश गर्नु पर्ने : निरीक्षकले नियम ११ बमोजिम निरीक्षण तथा जाँचबुझ गरिसकेपछि आफूले देखेका अन्य कुराहरूको अतिरिक्त नियम १२ बमोजिम आफूले निर्देशन दिएका कुराहरू र आफ्नो सुझाव समेत उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गरी समितिमा पेश गर्नु पर्नेछ ।
१४. अनुसूचीमा हेरफेर वा थपिट : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपिट गर्न सक्नेछ ।
द्रष्टब्यः- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
मिति :......................
श्री स्तनपान संरक्षण तथा संवर्द्धन समिति ...................................................... ।
महोदय,
निम्नलिखित उत्पादक वा वितरकबाट निम्नलिखित उत्पादन खुद्रा मूल्य भन्दा कम मूल्यमा वा अनुदानको रूपमा लिन पाउने स्वीकृतिको लागि यो निवेदन पेश गरेको छु/छौं ।
(क) उत्पादक वा वितरकको नाम :- (ख) ठेगाना :- (ग) उत्पादनको नाम :- (घ) परिमाण :- (ङ) मूल्य :-
निवेदकको, :- सही :- नाम :- दर्जा :-
अनुसूची-२ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित)
मिति :......................
श्री स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति ...................................................... ।
महोदय,
निम्नलिखित स्वास्थ्य हेरचाह गर्ने निकायलाई निम्नलिखित उपकरण वा वस्तुहरू अनुदानको रुपमा दिन त्यस समितिको स्वीकृतिको लागि यो निवेदन पेश गरेको छु/छौं ।
(क) स्वास्थ्य हेरचाह गर्ने निकायको नाम :-
(ख) ठेगाना :-
(ग) उपकरण वा वस्तुको विवरण :-
(घ) परिमाण :-
(ङ) मूल्य :-
(च) उत्पादन वा वितरकको नाम :-
(छ) ठेगाना :-
(ज) दान दिनुको मुख्य उद्देश्य र कारण :-
निवेदकको,-
सही :-
नाम :-
दर्जा :-
अनुसूची-३ (नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
श्री स्तनपान संरक्षण तथा सम्बर्द्धन समिति ...................................................... ।
मिति :......................
महोदय,
निम्नतलिख उत्पादक वा वितरकबाट निम्न बमोजिमको छात्रवृत्ति वा अनुसन्धान अनुदान लिन वा व्यावसायिक गोष्ठी वा सम्मेलन आयोजना गर्न वा त्यस्तो गोष्ठी वा सम्मेलनमा भाग लिन चाहिने रकम लिन त्यस समितिको स्वीकृतिको लागि यो निवेदन पेश गरेको छु/छौं ।
(क) उत्पादन वा वितरकको नाम :-
(ख) ठेगाना :-
(ग) छात्रवृत्ति वा अनुसन्धान सम्बन्धी विवरण :-
(घ) छात्रवृत्ति वा अनुसन्धानको लागि चाहिने रकम :-
(ङ) व्यावसायिक गोष्ठी वा सम्मेलन सम्बन्धी विवरण :-
(च) गोष्ठी वा सम्मेलन हुने वा गर्ने स्थान :-
(छ) गोष्ठी वा सम्मेलन हुने वा गर्ने मिति र अवधि :-
(ज) गोष्ठी वा सम्मेलनमा भाग लिन वा आयोजना गर्न चाहिने रकम :-
(झ) निवेदकको योग्यता सम्बन्धी विवरण :-
(ञ) ठेगाना :-
निवेदकको,- सही :- नाम :- दर्जा :-
अनुसूची-४ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
श्री केन्द्रीय खाद्य अनुसन्धानशाला, ...................................................... ।
मिति :......................
महोदय,
निम्नलिखित उत्पादनको प्रमाणीकरण आवश्यक परेकोले उत्पादनको नमूना आवश्यक दस्तुर समेत संलग्न गरी सो उत्पादनको प्रमाणिकरण पाउन यो निवेदन पेश गरेको छु/छौं ।
(क) उत्पादक वा वितरकको नाम :-
(ख) ठेगाना :-
(ग) उत्पादनको नाम :-
(घ) उत्पादनका साधनहरू :-
(ङ) उत्पादनको विश्लेषण र बनावट :-
(च) उत्पादनको लेबल स्वीकृति भएको छ, छैन :-
(छ) स्वीकृत भएको भए त्यसको मिति :-
निवेदकको, सही :- नाम :- दर्जा :-
अनुसूची-५ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
श्री स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति ...................................................... ।
मिति :......................
महोदय,
निम्नलिखित उत्पादनको लेवलमा त्यस समितिबाट स्वीकृति पाउनको लागि यो निवेदन पेश गरेको छु/छौं ।
(क) उत्पादक वा वितरकको नाम :-
(ख) ठेगाना :-
(ग) उत्पादनको नाम :-
(घ) उत्पादनको प्रमाणीकरण लिएको छ, छैन :-
(ङ) प्रमाणीकरण लिएको भए त्यसको मिति :-
निवेदकको,-
सही :-
नाम :-
दर्जा :-
अनुसूची-६ (नियम १० को उपनियम (१) सँग सम्बन्धित) नेपाल सरकार स्वास्थ्य मन्त्रालय ........................
निरीक्षकको, :-
नाम :- परिचयपत्र नं .
सही :- मिति ..................
कार्य क्षेत्र :- .......................................... जिल्लाहरू
परिचयपत्र दिने अधिकारीको :-
नाम :-
सही :-
दर्जा :- निरीक्षकको फोटो
कार्यालयको छाप ....... (फोटोमा समेत पर्ने गरी)