उपभोक्ता संरक्षण नियमावली, २०७६ नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।१२।०३
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “उपभोक्ता संरक्षण नियमावली, २०७६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले उपभोक्ता संरक्षण ऐन, २०७५ सम्झनुपर्छ। (ख) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनुपर्छ।
परिच्छेद-२ उपभोक्ता संरक्षण सम्बन्धी व्यवस्था
३. विशेष परिस्थिति मानिने: ऐनको दफा ४ को उपदफा (२) को खण्ड (च) को प्रयोजनको लागि नेपाल राज्यभर वा कुनै ठाउँ विशेषमा सुक्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोप तथा महामारी वा आकस्मिक वा अप्रत्याशित विशेष कारणबाट सृजित परिस्थिति वा युद्ध वा आन्तरिक द्वन्द्व जस्ता परिस्थितिहरु विशेष परिस्थिति मानिनेछ।
४. नीतिगत व्यवस्थाको कार्यान्वयन: (१) ऐनको दफा ४ को उपदफा (३) बमोजिम नेपाल सरकारले गरेको नीतिगत व्यवस्था कार्यान्वयन गर्न छुट्टै संस्थागत व्यवस्था गरिएकोमा सोही निकायले र त्यस्तो संस्थागत व्यवस्था नगरिएकोमा विभागले त्यस्तो नीतिगत व्यवस्थाको कार्यान्वयन गर्नेछ। (२) उपनियम (१) बमोजिम नीतिगत व्यवस्थाको कार्यान्वयन गर्दा विभागले अन्य सरकारी तथा गैरसरकारी निकाय वा उपभोक्ता संस्थासँग समन्वय र सहकार्य गर्न सक्नेछ।
५. वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण: (१) ऐनको दफा ५ को उपदफा (१) बमोजिम कुनै वस्तु वा सेवाको गुणस्तर वा मापदण्ड निर्धारण गर्दा नेपाल सरकारले देहायको आधार लिन सक्नेछः-
(क) त्यस्तो वस्तु वा सेवाको सम्बन्धमा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाले निर्धारण गरेको गुणस्तर सम्बन्धी मापदण्ड,
(ख) त्यस्तो वस्तु वा सेवा उत्पादन गर्ने अन्य मुलुकले निर्धारण गरेको गुणस्तर सम्बन्धी मापदण्ड।
(२) उपनियम (१) बमोजिम वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण गर्दा सम्भव भएसम्म त्यस्तो वस्तुको उत्पादक वा सोसँग सम्बन्धित प्राविधिक ज्ञान भएका विज्ञसँग समेत परामर्श गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम निर्धारण गरिएको मापदण्ड विभागले सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत राख्नु पर्नेछ।
६. पैठारीकर्ताको दायित्वः पैठारीकर्ताले कुनै वस्तु पैठारी गर्दा ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख गरिएको दायित्वको अतिरिक्त वस्तुको प्रकृति अनुसार विभागले तोके बमोजिमका अन्य दायित्व समेत पूरा गर्नु पर्नेछ।
७. ढुवानीकर्ताको दायित्वः विभागले ढुवानीकर्ताले कुनै वस्तुको ढुवानी गर्दा विशेष सुरक्षात्मक उपाय अपनाउनु पर्ने भनी तोकिदिएकोमा त्यस्तो विशेष सुरक्षात्मक उपाय अवलम्बन गर्नु सम्बन्धित ढुवानीकर्ताको दायित्व हुनेछ।
८. सञ्चयकर्ताको दायित्वः कुनै वस्तु सञ्चय गर्दा त्यस्तो वस्तुको सञ्चयबाट जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट बचाउन र वस्तुको गुणस्तर कायम गर्न आवश्यक प्रकार तथा आर्दता कायम हुने गरी त्यस्तो वस्तुको सञ्चय गर्नु सम्बन्धित सञ्चयकर्ताको दायित्व हुनेछ।
९. बिक्रेताको दायित्वः कुनै वस्तु बिक्री गर्दा त्यस्तो वस्तुको प्रयोग सम्बन्धमा उपभोक्ताले कुनै जानकारी माग गरेमा तत्सम्बन्धी जानकारी दिनु सम्बन्धित बिक्रेताको दायित्व हुनेछ।
१०. सेवा प्रदायकको दायित्वः आफूले प्रदान गर्ने सेवाको गुणस्तर, त्यसबाट उपभोक्ताले हुनसक्ने लाभ र त्यस्तो सेवा उपभोग गर्दा उपभोक्ताले पालना गर्नु पर्ने कुनै शर्त भए सो समेतको जानकारी उपभोक्तालाई दिनु सम्बन्धित सेवा प्रदायकको दायित्व हुनेछ।
११. बजारको तह निर्धारण: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वस्तु वा सेवाको प्रकृति अनुसार त्यस्तो वस्तु वा सेवाको बजारको तह निर्धारण गर्नेछ।
तर कुनै वस्तु वा सेवाको बजारको तह निर्धारणको सम्बन्धमा प्रचलित कानूनमा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ।
१२. वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्ने निकाय तोक्न सक्नेछ ।त्यसरी मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्ने निकाय तोक्दा त्यस्तो निकायले कुन कुन वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने हो सो समेत उल्लेख गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तोकेको निकायले वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्दा ऐनको दफा २१ मा उल्लेखित आधारका अतिरिक्त देहायको आधारमा त्यस्तो वस्तु वा सेवाको मूल्यको मापदण्ड तयार गर्नु पर्नेछः-
(क) वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यास (इन्टरनेशनल बेस्ट प्राक्टिस),
(ख) वस्तु वा सेवाको बजारको तह, र
(ग) उपनियम (१) बमोजिमको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्ने निकायले तोके बमोजिम वस्तु वा सेवाको प्रकृति अनुसार लिन पाउने मुनाफा।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्दा त्यस्तो वस्तु वा सेवाको वास्तविक लागतमा अवसर लागत, चन्दा, उपहार, व्यवसायीको आफ्नै कारणले तिर्नु परेको वा तिर्नुपर्ने दण्ड, जरिवाना, हर्जाना तथा सम्बन्धित वस्तुको उत्पादनसँग असम्बन्धित अन्य वस्तुको लागत, मूल्य निर्धारणको मापदण्डमा तोकिएको शीर्षक वा रकम भन्दा फरक हुने गरी मूल्यमा समावेश गरी मूल्य निर्धारण गर्नु वा गराउन हुँदैन।
(४) उपनियम (२) बमोजिम कुनै वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण नभएको अवस्थामा मन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयसँग परामर्श गरी त्यस्तो वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गर्न सक्नेछ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम सम्बन्धित सरकारी निकाय वा सार्वजनिक संस्थानबाट हुने गरेको वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्डको हकमा सोही बमोजिम हुनेछ।
१३. वस्तु वा सेवाको मूल्य सूची राख्ने: (१) बिक्रेताले आफूले बिक्री वितरण गर्ने प्रत्येक वस्तु वा सेवाको कर र अन्य शुल्क सहितको मूल्य सूची बिक्री, वितरण स्थलमा स्पष्ट देखिने, बुझिने गरी राख्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा छुट्टै मूल्य सूची राख्न आवश्यक पर्ने छैन :-
(क) प्रत्येक वस्तुको प्याकेट वा त्यस्तो वस्तु राखिएको भाँडोको बाहिर त्यस्तो वस्तुको मूल्य उल्लेख भएकोमा,
(ख) विद्युतीय माध्यमबाट वस्तु वा सेवाको मूल्य सूची निरन्तर प्रदर्शन गरिएकोमा,
(ग) कुनै वस्तुको प्याकेटमा एकभन्दा बढी वस्तु राखिएको र त्यस्तो प्याकेटमा वस्तुको प्रति एकाइ मूल्य उल्लेख भएकोमा, वा
(घ) वस्तु र सेवाको मूल्य सूची वा मेनु राखिएकोमा।
परिच्छेद-३ परिषद् तथा बजार अनुगमन एवं निरीक्षण सम्बन्धी व्यवस्था
१४. परिषद्को अन्य काम, कर्तव्य र अधिकारः ऐनको दफा २४ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) उपभोक्ताको हक, हित संरक्षण तथा उपभोक्ता शिक्षा, सचेतनाको लागि उपभोक्ता सँगालार्थ परिचालन गर्ने सम्बन्धित निकायलाई निर्देशन दिने,
(ख) उपभोक्ताको हक, हित संरक्षणको लागि प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन गरिने कार्यक्रमको गुणस्तरीयता तथा एकरूपता सम्बन्धमा विश्लेषण गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव दिने।
१५. केन्द्रीय बजार अनुगमन समितिको बैठकः (१) केन्द्रीय बजार अनुगमन समितिको बैठक आवश्यकता अनुसार सो समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(२) केन्द्रीय बजार अनुगमन समितिका पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा सो समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(३) केन्द्रीय बजार अनुगमन समितिमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(४) केन्द्रीय बजार अनुगमन समितिको बैठकमा आवश्यकता अनुसार विभिन्न विषयगत क्षेत्र, निकाय वा संस्थाका पदाधिकारी वा विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(५) केन्द्रीय बजार अनुगमन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गर्न सक्नेछ।
(६) केन्द्रीय बजार अनुगमन समितिका संयोजक र सदस्यले बैठकमा भाग लिए बापत पाउने बैठक भत्ता नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिम हुनेछ।
१६. केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार: ऐनको दफा २६ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रीय बजार अनुगमन समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) उपभोक्ताको हक, हित संरक्षण सम्बन्धमा नेपाल सरकार, परिषद् वा मन्त्रालयले दिएको निर्देशन बमोजिम अनुगमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गराउने,
(ख) ऐनको दफा २६ को खण्ड (छ) बमोजिम गठित समिति वा उपसमिति मार्फत गरे गराएको काम कारबाहीको आधारमा एकीकृत प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्ने,
(ग) प्रदेश बजार अनुगमन समितिसँग समन्वय गरी बजार अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन अन्य आवश्यक काम गर्ने।
१७. प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा २७ को उपदफा (१) बमोजिम गठित प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐनको अधीनमा रही उपभोक्ताको हक, हित संरक्षणको लागि नियमित रूपमा बजार अनुगमन गर्ने, गराउने,
(ख) उपभोक्ताको हक, हित संरक्षण गर्ने सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार, परिषद् वा मन्त्रालयले दिएको निर्देशन बमोजिम अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गराउने,
(ग) बजार अनुगमन गर्दा कसैले ऐन तथा यस नियमावली विपरीत कार्य गरेको देखिएमा कारबाहीको लागि तुरुन्त विभाग वा सम्बन्धित निरीक्षण अधिकृत समक्ष लेखी पठाउने।
(२) प्रदेश बजार अनुगमन समितिले बजार अनुगमन गर्दा केन्द्रीय बजार अनुगमन समिति तथा विभागसँग समन्वय गर्नु पर्नेछ।
१८. स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा २८ को उपदफा (१) बमोजिम गठित स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐनको अधीनमा रही उपभोक्ताको हक, हित संरक्षणको लागि नियमित रूपमा स्थानीय बजार अनुगमन गर्ने, गराउने,
(ख) बजार अनुगमन सम्बन्धी कार्यशैली प्रभावकारी बनाउन प्रदेश बजार अनुगमन समितिसँग समन्वय गर्ने,
(ग) उपभोक्ताको हक, हित संरक्षण गर्ने सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार, परिषद्, मन्त्रालय वा विभागले दिएको निर्देशन बमोजिम अनुगमन कार्यशैली प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गराउने,
(घ) अनुगमनको क्रममा ऐन तथा यस नियमावली बमोजिमको व्यवस्था परिपालना भएको नपाएमा ऐन तथा यस नियमावली बमोजिमको व्यवस्था कायम गर्नको लागि निश्चित अवधि तोकी सम्बन्धित उत्पादक, वितरक वा बिक्रेतालाई आदेश दिने,
(ङ) कसैले ऐनको दफा ३८ बमोजिम कसूर हुने कुनै कार्य गरेको पाएमा कारबाहीको लागि विभाग वा सम्बन्धित निरीक्षण अधिकृत समक्ष लेखी पठाउने,
(च) उपभोक्ताको हक, हित संरक्षणको लागि स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्ने।
(२) स्थानीय बजार अनुगमन समितिको बजार अनुगमन सम्बन्धी कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ।
१९. बजार अनुगमन टोली गठन गर्न सक्ने: (१) ऐनको दफा २९ को प्रयोजनको लागि विभागले कम्तीमा राजपत्रांकित तृतीय श्रेणीको कर्मचारीको नेतृत्वमा अनुगमन गरिने वस्तु वा सेवा सम्बन्धी विज्ञ, निरीक्षण अधिकृत, सुरक्षा निकायका पदाधिकारी एवं अन्य निकाय वा संस्थाका प्रतिनिधि समेत रहेका आवश्यक सङ्ख्यामा बजार अनुगमन टोली गठन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम अनुगमन टोली गठन गर्दा अनुगमन गरिने वस्तु वा सेवाको प्रकृति, स्वरूप र प्राविधिक पक्षको आधारमा वस्तु वा सेवाको नियमन गर्ने सम्बन्धित नियमनकारी निकायका प्रतिनिधि, नेपाल सरकार तथा प्रदेश सरकारका सम्बन्धित निकायका अधिकृत प्रतिनिधि समेत रहने गरी विषयगत वा संयुक्त अनुगमन टोली गठन गर्न सकिनेछ।
(३) बजार अनुगमन टोलीले ऐन तथा यस नियमावली बमोजिम बजार अनुगमन तथा निरीक्षण गर्दा अनुसूची-१ बमोजिमको बजार अनुगमन तथा निरीक्षण फारमको प्रयोग गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम कुनै अनुगमन टोली गठन गरेकोमा विभागले सोको जानकारी मन्त्रालय र सम्बन्धित नियमनकारी निकायलाई दिनु पर्नेछ।
(५) वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर सम्बन्धी विषय समेत अनुगमन र सुपरिवेक्षण गर्न मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन सक्नेछ।
२०. आकस्मिक निरीक्षण गर्न सक्ने: (१) ऐन वा यस नियमावली विपरीत कुनै कार्य भइरहेको वा हुन लागेको जानकारी कुनै माध्यमबाट विभागमा प्राप्त हुन आएमा महानिदेशकले त्यस्तो कार्य भइरहेको वा हुन लागेको स्थानको तत्काल आकस्मिक निरीक्षण गर्न सम्बन्धित निरीक्षण अधिकृतलाई आदेश दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको निरीक्षण अधिकृतले त्यस्तो स्थानको आकस्मिक निरीक्षण गरी चौबीस घण्टाभित्र महानिदेशक समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
२१. निरीक्षण अधिकृतको योग्यता: (१) देहायको योग्यता पुगेको व्यक्ति निरीक्षण अधिकृतको पदमा नियुक्त हुन योग्य हुनेछः-
(क) कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाल सरकारको कुनै सेवाको कम्तीमा राजत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा कार्यरत रहेको, तर कुनै विषयको विशेष ज्ञान आवश्यक परेमा त्यस्तो विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्ने।
(ख) वस्तु वा सेवाको गुणस्तर निर्धारण तथा परीक्षण सम्बन्धी विषय वा कानून, न्याय वा अपराध अनुसन्धान सम्बन्धी विषयमा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीस दिनको तालिम प्राप्त गरेको।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल न्याय सेवामा कार्यरत अधिकृत वा यो नियमावली प्रारम्भ हुँदाका बखत विभाग र अन्तर्गत कार्यालयमा वा प्रचलित कानून बमोजिम अपराधको अनुसन्धान तहककात सम्बन्धी कार्य गर्ने सरकारी निकायमा कम्तीमा छ महिनाको कार्य अनुभव भएको अधिकृत कर्मचारी निरीक्षण अधिकृतको रूपमा काम गर्न योग्य मानिनेछ।
२२. निरीक्षण अधिकृतको नियुक्तिः (१) विभागले नियम २१ बमोजिम योग्यता पुगेका विभाग वा अन्तर्गत कार्यरत अधिकृत कर्मचारीलाई आवश्यकता अनुसार निरीक्षण अधिकृतको रूपमा नियुक्त गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम आवश्यक सङ्ख्यामा निरीक्षण अधिकृत नियुक्त गर्न नसकिएमा विभागले नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा अन्य सरकारी निकायमा कार्यरत कुनै अधिकृत कर्मचारीलाई सम्बन्धित मन्त्रालय, विभाग वा सरकारी निकायको सहमतिमा र प्रदेश सरकार वा स्थानीय तहमा कार्यरत कुनै अधिकृत
कर्मचारीलाई सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमतिमा निरीक्षण अधिकृतको रुपमा काम गर्ने गरी तोक्न सकिनेछ।
(३) यस नियम बमोजिम निरीक्षण अधिकृत नियुक्ति गर्दा वा तोक्दा त्यस्तो निरीक्षण अधिकृतको भौगोलिक कार्यक्षेत्र समेत खुलाउनु पर्नेछ।
(४) उपनियम (१) वा (२) बमोजिम निरीक्षण अधिकृत नियुक्त गरिएको वा तोकेको सूची र निजको विवरण विभागले आफ्नो वेबसाइटमा राख्नु पर्नेछ।
२३. परिचयपत्र लगाउनु पर्नेः (१) निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने क्रममा विभागले उपलब्ध गराएको अनुसूची-२ बमोजिमको ढाँचाको परिचयपत्र अनिवार्य रूपमा लगाउनु पर्नेछ। (२) सरोकारवाला व्यक्ति वा अधिकार प्राप्त निकायले परिचयपत्र हेर्न चाहेमा त्यस्तो परिचयपत्र निजलाई देखाउनु निरीक्षण अधिकृतको कर्तव्य हुनेछ।
२४. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधिः (१) निरीक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी सुरु गर्ने क्रममा व्यवसायस्थलमा प्रवेश गर्दा सोको लिखित सूचना अनुसूची-३ बमोजिमको ढाँचामा सम्बन्धित वस्तुको उत्पादक, वितरक, बिक्रेता वा सेवा प्रदायकलाई दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम सूचना दिएपछि निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु पर्ने वस्तु वा सेवासँग सम्बन्धित उद्योग, गोदाम, व्यापारिक परिसर, घर कम्पाउण्ड, ढुवानीको साधन वा अन्य कुनै ठाउँमा प्रवेश गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु वा सम्बन्धित व्यक्तिसँग तत्सम्बन्धी कुनै कागजात वा विवरण माग गर्नु सक्नेछ।
(३) उपनियम (२) बमोजिम खानतलासी गर्नु अघि निरीक्षण अधिकृतले सम्बन्धित उत्पादक, वितरक, बिक्रेता वा सेवा प्रदायक वा खानतलासी गरिने उद्योग, गोदाम, व्यापारिक परिसर, घर कम्पाउण्ड, ढुवानीको साधनको धनी वा निजको प्रतिनिधिबाट खानतलासीको काममा संलग्न व्यक्तिको जीउको तलासी लिन लगाई खानतलासी गर्ने स्थानमा प्रवेश गरी खानतलासीको काम सम्पन्न गरेको व्यहोराको अनुसूची-४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ।
(४) निरीक्षण अधिकृतले उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा निरीक्षण वा जाँचबुझको प्रयोजनको लागि अनुसूची-५ बमोजिमको वस्तु वा सेवाको परीक्षण सूची तयार गरी त्यस्ता वस्तु वा सेवा परीक्षणको लागि नमूना समेत सङ्कलन गर्नु सक्नेछ।
(५) निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अनुसूची-१ बमोजिमको अनुगमन तथा निरीक्षण फारम समेत प्रयोग गर्नु पर्नेछ।
(६) उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने कार्यमा कसैले बाधा अवरोध गरेमा निरीक्षण अधिकृतले त्यस्तो बाधा अवरोध गर्ने व्यक्तिलाई मनासिब समय दिई सो स्थानबाट हट्नुका लागि सूचना दिनु पर्नेछ। त्यसरी सूचना दिँदा नहटेमा वा प्रवेश गर्दा बाधा अवरोध गरेमा निरीक्षण अधिकृतले आवश्यकता अनुसार बल प्रयोग गरी त्यस्तो बाधा अवरोध गर्ने व्यक्तिलाई हटाई वा सम्बन्धित भवनको कुनै झ्याल, ढोका, छेस्किनी खोली, तोडी भित्र प्रवेश गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्नेछ।
(७) उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा सो स्थानबाट कुनै वस्तु बरामद गर्नु परेमा त्यस्तो वस्तु वा सोको नमूनाको विवरण उल्लेख गरी वस्तुको धनी र उपलब्ध भएसम्म स्थानीय तहका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी र स्थानीय व्यक्तिको रोहबरमा अनुसूची-६ बमोजिमको ढाँचामा बरामदी मुचुल्का तयार गर्नु पर्नेछ। त्यसरी तयार गरेको बरामदी मुचुल्काको एक प्रति सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिम तयार गरेको बरामदी मुचुल्कामा साक्षी बस्ने मानिस फेला परेमा वा उपस्थित व्यक्तिहरूले साक्षी बस्न इन्कार गरेमा निरीक्षण अधिकृतले मुचुल्कामा सोही व्यहोरा जस्ता आफूले दस्तखत गरी नमिसाली साथ राख्नु पर्नेछ।
(९) खानतलासी लिँदा कुनै व्यक्तिको शरीरको तलासी लिनुपरेमा सो समेत लिन सकिनेछ र तलासी लिनुपर्ने व्यक्ति महिला भएमा निजको शरीरको तलासी महिला कर्मचारीबाट लिनु पर्नेछ।
(१०) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा व्यवसायको प्रकृति अनुसार यथासम्भव सूर्योदयदेखि सूर्यास्त भित्रको समयमा गर्नु पर्नेछ।
(११) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यथासम्भव कसैको निजी वा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी नहुने गरी गर्नु पर्नेछ।
(१२) निरीक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम गरेको निरीक्षण, जाँचबुझ वा खानतलासीको अभिलेख अनुसूची-७ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।
२५. निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार: ऐनको दफा ३३ मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) निरीक्षण, जाँचबुझ वा अनुसन्धानको सिलसिलामा कुनै गुणस्तरहीन वा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुको बिक्री, वितरण भइरहेको वा सेवा प्रदान गरेको देखिएमा त्यस्तो वस्तु वा सेवा व्यवसायमा प्रयोग भएको वस्तुको प्रयोगशाला परीक्षणको लागि
आवश्यक हुने हदसम्मको परिमाणमा नमुना लिने र त्यस्तो नमुनालाई गुणस्तरमा फरक नपर्ने गरी सुरक्षित तरिकाले वस्तुको प्रकृति अनुसार निर्धारित प्रक्रिया पूरा गरी सिलबन्द गर्ने,
(ख) खण्ड (क) बमोजिम नमुना लिएको वस्तुको बिक्री, वितरणमा तीस दिनसम्म रोक लगाउने,
(ग) ऐन वा यस नियमावली विपरीत हुने गरी कुनै वस्तु वा सेवाको उत्पादन वा बिक्री, वितरण भएको पाएमा त्यस्तो वस्तु वा सेवाको उत्पादन स्थल, बिक्री वा वितरणस्थल सिलबन्द गर्ने,
(घ) ऐन वा यस नियमावली विपरीत कुनै कार्य गर्ने व्यक्ति भाग्न वा उम्कन सक्ने देखिएमा वा निजलाई तत्काल पक्राउ नगरेमा अनुसन्धानमा प्रतिकूल असर पर्ने देखिएमा प्रचलित कानून बमोजिम मुद्दा हेर्ने अधिकारीको अनुमति लिई पक्राउ गर्ने,
(ङ) अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिलाई प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी तारेखमा राख्ने, धरौटी वा जमानी लिई छाड्ने र धरौटी वा जमानी दिन नसकेमा प्रचलित कानून बमोजिम पुनामा राख्ने ।
२६. प्रतिवेदन कार्यान्वयनः (१) ऐनको दफा ३३ बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गरिसकेपछि निरीक्षण अधिकृतले सात दिनभित्र देहायका कुराहरू खुलाई विभाग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ:-
(क) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु पर्नेको कारण,
(ख) निरीक्षण, जाँचबुझ वा खानतलासी गरिएको वस्तु वा सेवासँग सम्बन्धित विवरण,
(ग) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा फेला परेका वस्तु र त्यस्तो वस्तु रोक्का वा कब्जा गर्नु परेकोमा त्यसरी रोक्का वा कब्जा गर्नु परेको कारण र सोसँग सम्बन्धित विवरण,
(घ) वस्तुको नमुना लिएकोमा त्यस्तो नमुना परीक्षणको लागि पठाइएको मिति,
(ङ) तत्काल जरिवाना गरिएकोमा त्यसरी जरिवाना गर्नु पर्नेको कारण र जरिवानाको रकम,
(च) निरीक्षण, जाँचबुझ वा खानतलासी पछि सो सम्बन्धमा गर्नु पर्ने बाँकी काम, कारबाहीको विवरण,
(छ) निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा सम्पन्न गर्नुपर्ने तर सम्पन्न गर्न नसकिएका कुनै कुरा भए सोको विवरण ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनबाट सो सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने वा कुनै विवरण वा थप जानकारी लिनु परे देखेमा महानिदेशकले सम्बन्धित निरीक्षण अधिकृतलाई निश्चित अवधि तोकी थप अनुसन्धान गर्नुपर्ने विषय, जानकारी वा विवरण माग्नु पर्ने विषय समेत खुलाई पुनः अनुसन्धान गर्न वा त्यस्तो विवरण पेश गर्न लगाउन सक्नेछ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदनमा कुनै विषयमा अर्को निकायबाट आवश्यक व्यवस्था वा कारबाही हुनुपर्ने भनी सिफारिस भएकोमा त्यस्तो सिफारिसको कार्यान्वयनको लागि सो प्रतिवेदनको एक प्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम अन्य निकायमा कार्यान्वयनको लागि प्रतिवेदन पठाएकोमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा महानिदेशकले समय समयमा सम्बन्धित निकायबाट आवश्यक जानकारी लिई प्राप्त विवरण विभागको वार्षिक प्रतिवेदन वा वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्नेछ।
(५) यस नियम बमोजिम प्राप्त प्रतिवेदनको कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महानिदेशकको हुनेछ।
२७. वस्तुको परीक्षणः (१) ऐनको दफा ३४ को उपदफा (१) बमोजिम कुनै वस्तुको नमूना परीक्षणको लागि प्रयोगशालामा पठाउँदा त्यस्तो वस्तुको प्रकृति अनुसार आवश्यक परिमाणमा नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षणको लागि निर्धारित मापदण्ड अनुसारको भाँडो वा प्याकेटमा राखी सिलबन्दी गरी पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सङ्कलन गरिएको वस्तुको नमूना सिलबन्दी गर्दा देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्नेछः-
(क) सिलबन्दी गर्दा भाँडो वा प्याकेटभित्र राखिएको वस्तुको गुणस्तर वा परिमाणमा फरक नपर्ने, नचुहिने वा बाहिर आउन नसक्ने गरी बन्द गर्ने,
(ख) सील नतोडी वस्तु राखिएको भाँडो वा प्याकेट खोल्न नमिल्ने गरी सिलबन्दी गर्ने,
(ग) परीक्षणको लागि राखिएको वस्तुको भाँडो वा प्याकेट बाहिर त्यस्तो वस्तुको नाम, परिमाण, संकेत नम्बर र सांकेतिक सङ्ख्या (कोड नम्बर) भए सो समेत स्पष्ट रुपमा उल्लेख गरी सङ्कलित वस्तुसँग
सम्बन्धित व्यक्ति र निरीक्षण अधिकृतले मिति उल्लेख गरी दस्तखत गर्ने।
(३) यस नियम बमोजिम नमूना लिएको वस्तु प्रयोगशाला परीक्षणको क्रममा खर्च हुने वा खेर जाने रहेछ भने त्यसरी खर्च वा खेर गई बाँकी रहेको वस्तु पुनः प्रयोगमा आउन सक्ने भएमा त्यस्तो वस्तु सम्बन्धित उत्पादक वा बिक्रेतालाई भरपाई गरी फिर्ता दिनु पर्नेछ।
२८. वस्तु नष्ट गर्ने: (१) ऐनको दफा ३४ बमोजिम वस्तुको नमूना परीक्षण गर्दा त्यस्तो वस्तु निर्धारित मापदण्ड वा गुणस्तरको नभएको ठहरिएको कारणबाट नष्ट गर्नु परेमा वा नमूना लिएको वस्तु सम्बन्धित उत्पादक वा बिक्रेताले फिर्ता नलिएमा वा लैजान इन्कार गरेमा अनुसूची-८ बमोजिमको ढाँचामा मुचुल्का तयार गरी सोको अभिलेख राखी त्यस्तो वस्तु नष्ट गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम कुनै वस्तु नष्ट गर्दा त्यस्तो वस्तुको कुनै भाग वा अंश पुनः प्रयोगमा ल्याउन वा उपभोग गर्न नसकिने गरी जलाएर, खाडल खनी जमिनमा पुरी वा जलाइ वा जनस्वास्थ्य वा वातावरणमा प्रतिकूल असर नपुग्ने गरी नष्ट गर्नु पर्नेछ। (३) उपनियम (२) बमोजिम कुनै वस्तु नष्ट गरिएकोमा सो वस्तु नष्ट गर्दाका बखत उपनियम (१) बमोजिम तयार गरिएको मुचुल्काको एक प्रति सम्बन्धित वस्तुको उत्पादक वा बिक्रेतालाई दिई अर्को प्रति निरीक्षण अधिकृतले मिसिलसार राख्नु पर्नेछ।
परिच्छेद-४ उजुरी, जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
२९. उजुरीमा खुलाउनु पर्ने कुरा: (१) कुनै वस्तु वा सेवा प्रदायकले ऐन वा यस नियमावली विपरीत कुनै काम कारबाही गरेको सम्बन्धमा ऐनको दफा ३६ को उपदफा (१) बमोजिम उजुरी दिँदा देहायका कुराहरू खुलाई अनुसूची-९ बमोजिमको ढाँचामा दिनु पर्नेछ:-
(क) ऐन वा यस नियमावली विपरीत काम कारबाही गर्ने व्यक्ति वा संस्थाको नाम र ठेगाना, (ख) खण्ड (क) बमोजिमको व्यक्ति वा संस्थाले उत्पादन वा बिक्री गरेको वस्तु वा प्रदान गरेको सेवामा देखिएको त्रुटि वा निजको काम कारबाहीबाट भएको हानी नोक्सानी वा क्षतिको विवरण, (ग) उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर, (घ) उजुरीको व्यहोरालाई पुष्टि गर्ने जानकारी वा सबुद प्रमाण।
(२) उपनियम (१) बमोजिम उजुरी दिँदा विद्युतीय माध्यम (फ्याक्स, इमेल, टेलिफोन आदि) बाट पनि दिन सकिनेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यसको कारण उजुरीमा खुलाउनु पर्नेछ।
(४) उपनियम (१) बमोजिमको ढाँचामा नभएको कारणबाट मात्र कुनै उजुरी उपर कारबाही गर्नेबाट बाधक हुने छैन।
३०. उजुरी दर्ता गर्नुपर्नेः (१) ऐनको दफा ३६ बमोजिम केन्द्रीय बजार अनुगमन समिति समक्ष प्राप्त हुन आएका उजुरीका सम्बन्धमा सो समितिले त्यस्तो उजुरीको अभिलेख राखी आवश्यक कारबाहीका लागि त्यस्तो उजुरी तुरुन्त विभागमा पठाउन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम केन्द्रीय बजार अनुगमन समिति मार्फत वा सोझै विभागमा प्राप्त हुन आएका उजुरी विभागले तुरुन्त दर्ता गरी सोको निस्सा सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ।
(३) कसैले ऐनको दफा ३६ बमोजिम निरीक्षण अधिकृत समक्ष उजुरी दिएकोमा निरीक्षण अधिकृतले त्यस्तो उजुरी विभागको दर्ता किताबमा दर्ता गर्न लगाउनु वा उजुरी आफैले बुझिलिई सोको निस्सा तत्काल उजुरीकर्तालाई दिनु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै विद्युतीय साधन मार्फत वा विभागमा उपस्थित भई मौखिक उजुरी दिएकोमा त्यस्तो उजुरीको व्यहोरा अनुसूची-९ बमोजिमको ढाँचामा टिपोट गरी उजुरीकर्ता उपस्थित भए निजबाट हस्ताक्षर गराई महानिदेशकले तोकेको अधिकृतबाट प्रमाणित गराई उजुरी किताबमा दर्ता गर्नु पर्नेछ।
(५) उजुरीकर्ताले उजुरीमा आफ्नो परिचय गोप्य राख्न चाहेको कुरा उल्लेख गरेकोमा विभागले त्यस्तो उजुरीकर्ताको सम्बन्धमा छुट्टै अभिलेख खडा गरी त्यस्तो अभिलेख महानिदेशक वा निजले तोकेको अधिकृतको जिम्मामा राख्नु पर्नेछ र उजुरी दर्ता किताबमा विभागले निर्धारण गरे बमोजिम संकेत नम्बर राखी उजुरी दर्ता गर्नु पर्नेछ।
३१. उजुरीको अनुसन्धान तथा तामेलीः (१) नियम ३० को उपनियम (२) वा (४) बमोजिम विभागमा दर्ता भएको उजुरीको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न महानिदेशकले निरीक्षण अधिकृतलाई तत्काल आदेश दिनु पर्नेछ।
(२) नियम ३० को उपनियम (३) बमोजिम निरीक्षण अधिकृत समक्ष प्राप्त हुन आएका उजुरीको सम्बन्धमा निरीक्षण अधिकृतले तत्काल अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम अनुसन्धान गर्दा देहायको अवस्था विद्यमान भएमा अनुसन्धान अधिकृतले त्यस्तो उजुरी तामेलीमा राख्न महानिदेशक समक्ष सिफारिस गर्न सक्नेछः-
(क) उजुरीमा उल्लिखित व्यहोरा झुट्टा वा काल्पनिक भएमा वा तथ्ययुक्त नदेखेमा, (ख) त्यस्तो उजुरीमा उल्लिखित व्यहोराको सम्बन्धमा सो उजुरी पर्नु अघि सोही विषयमा कसैको उजुरी परी वा नपरी कारबाही भुरू भइसकेको वा विभागबाट एक पटक अनुसन्धान तथा तहकीकात भई टुङ्गो लागिसकेको देखेमा, वा (ग) उजुरी उपर तत्काल कारबाही अघि बढाउन आवश्यक सबुद प्रमाण पर्याप्त नभएको देखेमा। (४) उपनियम (३) बमोजिम अनुसन्धान अधिकृतबाट तामेलीमा राख्न सिफारिस भई आएका उजुरीका सम्बन्धमा महानिदेशकले आवश्यक जाँचबुझ गरी तामेलीमा राख्न वा सो उपर थप अनुसन्धान गर्न आदेश दिन सक्नेछ। (५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपभोक्ताको हक, हित विपरीत हुने गरी भएको कुनै काम कारबाहीको सम्बन्धमा कुनै सञ्चार माध्यम वा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका सामग्रीलाई समेत विभागले उजुरीको रूपमा लिई आवश्यक जाँचबुझ गर्न सक्नेछ।
३२. तत्काल जरिवाना गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि: (१) ऐनको दफा ३९ को उपदफा (१) बमोजिम तत्काल जरिवाना गर्नु पर्नेमा निरीक्षण अधिकृतले अनुसूची-१० बमोजिमको ढाँचामा आदेश पत्र खडा गरी सोको एक प्रति त्यस्तो जरिवाना तिर्नुपर्ने व्यक्तिलाई बुझाई सोको भरपाई समेत गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जरिवानाको रकम निर्धारण गर्दा निरीक्षण अधिकृतले ऐनको दफा ३९ को उपदफा (१) र (२) को अधीनमा रही सम्बन्धित व्यक्तिले गरेको कसूरको प्रकृति, त्यसको मात्रा र त्यसबाट उपभोक्तामा पर्नसक्ने प्रतिकूल प्रभाव समेतको आधारमा निर्धारण गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जरिवानाको आदेश दिँदा निरीक्षण अधिकृतले जरिवानाको रकम, त्यस्तो जरिवाना बुझाउने स्थान (बैङ्कको नाम, खाता नम्बर) र जरिवाना दाखिला गर्नुपर्ने अन्तिम मिति समेत तोकिदिनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम निरीक्षण अधिकृतले दिएको आदेश सम्बन्धित व्यक्तिले बुझ्न इन्कार गरेमा वा सो कार्यमा कुनै बाधा अवरोध गरेमा निरीक्षण अधिकृतले स्थानीय प्रहरीको सहयोगमा त्यस्तो जरिवानाको आदेश निजलाई बुझाउन लगाउन सक्नेछ।
(५) निरीक्षण अधिकृतले ऐनको दफा ३९ बमोजिम आफूले गरेको तत्काल जरिवाना सम्बन्धी आदेशको अभिलेख अनुसूची-११ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।
३३. क्षतिपूर्ति निर्धारणः ऐनको दफा ५२ बमोजिम अदालतले क्षतिपूर्ति रकम निर्धारण गर्दा हानी, नोक्सानी वा क्षति बापत पीडित पक्षले प्रचलित कानून बमोजिम गरेको बीमा बापत कुनै रकम प्राप्त गरेको वा नगरेको, त्यस्तो रकम प्राप्त गर्न सक्ने अवस्था भएको वा नभएको र निजलाई हानी, नोक्सानी वा क्षति बापत कुनै सरकारी वा गैरसरकारी निकायबाट कुनै सेवा सुविधा प्राप्त भएको वा नभएको सम्बन्धमा समेत विचार गर्नु पर्नेछ।
परिच्छेद-५ विविध
३४. सुपथ मूल्यमा खाद्य वस्तु वा सेवा उपलब्ध गराउने: (१) नेपाल सरकारले ऐनको दफा १९ बमोजिम निर्धारण गरेको अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको सूची अनुसारका वस्तुको बिक्री वितरणको लागि मन्त्रालयले सार्वजनिक संस्था वा निजी क्षेत्रसँग समन्वय गरी आवश्यक स्थान र संख्यामा सुपथ मूल्य पसल वा सार्वजनिक वितरण केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्नेछ। (२) प्रदेश सरकार वा स्थानीय तहले अत्यावश्यक खाद्य तथा अन्य वस्तुको सहज बिक्री वितरणको लागि स्थानीय व्यवसायीसँग समन्वय गरी आवश्यक स्थान र संख्यामा सुपथ मूल्य पसल वा सार्वजनिक वितरण केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्नेछ। (३) उपनियम (१) वा (२) बमोजिम सुपथ मूल्य पसल वा सार्वजनिक वितरण केन्द्र सञ्चालन गर्दा स्थानीय महिला समूह वा कृषि सहकारीलाई प्राथमिकता दिन सकिनेछ। (४) नेपाल सरकारले चाडपर्वको अवसरमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थानबाट सहुलियत मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था गर्न सक्नेछ।
३५. अभिलेख राख्नेः ऐन तथा यस नियमावली विपरीत गरेको कसूरको सम्बन्धमा कुनै व्यक्ति वा संस्था विरुद्ध मुद्दा चलाइएको वा अन्य कुनै कारबाही गरिएको वा निजलाई कालो सूचीमा राखिएकोमा विभागले सोको अभिलेख अनुसूची-१२ बमोजिमको ढाँचामा राखी त्यसको जानकारी सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ।
३६. निरीक्षण अधिकृत हेरफेर गर्न सक्नेः देहायको अवस्थामा विभागले जुनसुकै बखत निरीक्षण अधिकृत हेरफेर गर्न सक्नेछः- (क) कुनै कारणबाट निरीक्षण अधिकृत आफ्नो पदमा बहाल नरहेमा,
(ख) कुनै कारणले निरीक्षण अधिकृतबाट अनुसन्धान, तहकीकात गर्न वा गराउन उपयुक्त नहुने वा निजबाट त्यस्तो कार्य सम्पन्न हुन सक्ने नदेखेमा, (ग) अनुसन्धान, तहकीकातको कार्य सम्पन्न हुँदै निजको सरुवा, बढुवा भई अन्य कार्यालयमा रमाना भएमा। तर सरुवा भएको अधिकृतलाई निरीक्षण, जाँचबुझ वा अनुसन्धानको कार्य सम्पन्न नभएसम्म निरीक्षण अधिकृतको रुपमा काममा लगाउन बाधा पर्ने छैन ।
३७. अनुसूचीमा हेरफेर वा रुपघट गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा रुपघट गर्न सक्नेछ।
३८. खारेजी र बचाउ: (१) उपभोक्ता संरक्षण नियमावली, २०५६ खारेज गरिएको छ । (२) उपनियम (१) बमोजिमको नियमावली अन्तर्गत भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची-१
(नियम १९ को उपनियम (३) तथा नियम २४ को उपनियम (५) सँग सम्बन्धित)
अनुगमन तथा निरीक्षण फारामको ढाँचा
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २९ र ३३ बमोजिम बजार अनुगमन टोली/निरीक्षण अधिकृतले आज मिति .... साल ...... महिना .... गते ....... बार ....... बजेको समयमा ..........को अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा भरेको फारम ।
२.३. कमसल वस्तुलाई विशिष्ट वा गुणस्तर भएको स्तरमान, गुणस्तर, मात्रा, श्रेणी, संरचना, डिजाइन देखाई बिक्री गर्ने गरेको वा नगरेको, २.४. पुनर्मिर्मत वा पुराना वस्तुलाई नयाँ हो भनी बिक्री गर्ने गरेको वा नगरेको, २.५. घोषित गरिएका कुनै फाइदा नहुने अवस्थामा पनि वस्तु वा सेवाको बिक्री गर्ने गरेको वा नगरेको, २.६. तयगत आधार बिना कुनै वस्तुको उपभोग वा प्रयोगबाट त्यस्तो वस्तुको दाबी वा प्रत्याभूति गर्ने वा बिक्री गर्ने गरेको वा नगरेको, २.७. कुनै वस्तु वा सेवाको वास्तविक लागतको आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य तय वा बिक्री गर्ने गरेको वा नगरेको, २.८. कुनै वस्तु वा सेवाको मूल्यमा दान, इनाम वा निःशुल्क पाइने अन्य वस्तुको मूल्य वा लागत समावेश गरी मूल्य निर्धारण गर्ने वा त्यस्तो मूल्यमा त्यस्तो वस्तु वा सेवाको बिक्री गर्ने गरेको वा नगरेको, २.९. त्रुटिपूर्ण उत्पादनबाट नष्ट भएको वस्तुको मूल्य वा व्यापारिक कारोबारको सिलसिलामा करार भएको वस्तुको मूल्य समेत अन्य वस्तुको लागत मूल्यमा समावेश गरी बिक्री गर्ने गरेको वा नगरेको, २.१०. कुनै वस्तु वा सेवा तोकिएको गुणस्तर वा मानकभन्दा घटीबढी हुने गरी वा उपभोगबाट उपभोक्तालाई हानि, नोक्सानी पुर्याउने गरी वस्तु उत्पादन, मिश्रण, आपूर्ति, ओसारपसार, सञ्चय वा बिक्री गर्ने गरेको वा नगरेको, २.११. कुनै वस्तु विस्थापित गर्न नकली वस्तु उत्पादन, पैठारी वा बिक्री गर्ने गरेको वा नगरेको, २.१२. कुनै वस्तु वा सेवाको कृत्रिम अभाव सिर्जना
गने, जम्माखोरी गर्ने वा बिक्री गर्ने गरेको वा नगरेको २.१३ कुनै वस्तु उपभोग गर्दा उपभोक्तालाई हानि, नोक्सानी वा क्षति पुग्ने गरी विषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यस्तो वस्तु बिक्री गर्ने गरेको वा नगरेको, २.१४. उपभोग गरिसक्नु पर्ने अवधि व्यतित भइसकेको वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गर्ने गरेको वा नगरेको, २.१५. उपभोग गर्न नसकिने गुणस्तरहीन वस्तु पैठारी, उत्पादन वा बिक्री गर्ने गरेको वा नगरेको, २.१६ व्यावसायिक सेवा प्रदायकले सेवाको मूल्य, गुणस्तर, सेवा उपलब्ध गराउने स्थान र समय उल्लेख नगरी सेवा प्रदान गर्ने गरेको वा नगरेको, २.१७. कुनै वस्तु वा सेवा बिक्री वा प्रदान गर्दा तोकिएको व्यापारिक तहभन्दा बढी तह वा श्रृङ्खला खडा गरी बिक्री वा प्रदान गर्ने गरेको वा नगरेको, २.१८. संरचना, मानक वा मापदण्ड तोकिएकोमा सो पूरा नगरी वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने गरेको वा नगरेको, २.१९. व्यवसायी वा त्यस्ता व्यक्ति र अन्य व्यक्ति वा सङ्घ संस्थाको मिलोमतोबाट कसैले कुनै वस्तुको उत्पादन, पैठारी, ढुवानी, सञ्चय वा बिक्री वितरणमा लागेको लागत र तोकिए बमोजिम भन्दा बढी मुनाफ़ा लिई बिक्री वितरण वा ढुवानी वा बिक्री वितरणमा अवरोध गर्ने गरेको वा नगरेको, २.२०. कुनै वस्तुको उत्पादनका लागि चाहिने कच्चा पदार्थको कोटा निर्धारण गर्ने वा कुनै वस्तुको उत्पादन घटाउने वा त्यस्तै अन्य
कुनै काम गर्ने गरेको वा नगरेको, २.२१. वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापदण्ड विपरीत वस्तु वा सेवाको बिक्री वितरण गर्ने गरेको वा नगरेको २.२२. ऐन तथा नियमावली विपरीतका अन्य काम कारबाही (क) ....... (ख) ....... (ग) ......... ३. अन्य काम कारबाहीको विवरण ३.१ व्यवसायको साइनबोर्ड सबैले देख्ने गरी राख्ने वा टाँस्ने गरेको वा नगरेको, ३.२ ढक तराजु तथा नापतौल मेसिनको प्रमाणीकरण तथा दुरुस्त राख्ने गरेको वा नगरेको, ३.३ बिक्री स्थलमा म्याद समाप्त भएका वस्तु सद्दे मालवस्तुसँगै मिसाएर राख्ने वा त्यस्तो वस्तु बिक्री गर्ने गरेको वा नगरेको, ३.४ सेवाग्राहीले देख्न सक्ने गरी म्याद समाप्त भएका वस्तुको सङ्कलन क्षेत्र (एक्सपायर जोन) को व्यवस्था र प्रयोग गरेको वा नगरेको, ३.५ माग भएको बखत वस्तुको स्टक देखाउने वा स्टकको विवरण हेर्न दिने गरेको वा नगरेको, ३.६ त्रुटिपूर्ण उत्पादन वा प्याकेजिङ्ग गर्ने गरेको वा नगरेको, ३.७ खाद्य र अखाद्य वस्तुहरु छुट्टै राखी बिक्री गर्ने व्यवस्था गरेको वा नगरेको, ३.८ सरसफाई र फोहोरमैलाको व्यवस्थापन गर्ने गरेको वा नगरेको, ३.९ बिक्रीस्थल वा ढुवानी साधन र प्रक्रिया वा भण्डारणमा उचित सुरक्षा व्यवस्था गर्ने गरेको वा नगरेको, ३.१० व्यवसायसँग सम्बन्धित मापदण्डको पालना गरेको वा नगरेको, ३.११ उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली,
मापदण्ड वा निर्देशिका बमोजिम पालना गर्नु पर्ने अन्य कुराको पालना गरेको वा नगरेको, ३.१२ वस्तुको बिक्रीमा ट्रेडमार्क लगायतका बौद्धिक सम्पत्तिको चोरी वा नक्कल गरेको वा नगरेको,
४. नमूना सम्बन्धी विवरण :
५. संलग्न कागजात : ५.१ तत्काल जरिवाना गरेको भए सोको कारण र जरिवाना रकम: ५.२ निरीक्षणको क्रममा कुनै आदेश र निर्देशन दिएको भए सोको संक्षिप्त विवरणः ५.३ अन्य कागजातः
६. माथि उल्लेख भए बमोजिमको विवरण मेरो/हाम्रो उपस्थितिमा तयार पारिएको र यसमा उल्लिखित व्यहोरा ठीक, साँचो हो र यसको एक प्रति बुझिलिएँ भनी सहीछाप गरेको,- दस्तखत : .................... नाम, थर : .....................................
७. साक्षीः(स्थानीय व्यक्ति वा स्थानीय तहका प्रतिनिधि)
८. अनुगमन, निरीक्षण गर्ने टोलीको विवरणः
९. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने निरीक्षण अधिकृतको,- (क) दस्तखतः (ख) नाम, थरः
इति सम्बत् ................साल ........महिना...गते रोज.... मा शुभम् ।
अनुसूची-२ (नियम २३ को उपनियम (१) सँग सम्बन्धित) निरीक्षण अधिकृतको परिचयपत्रको ढाँचा
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग निरीक्षण अधिकृत परिचयपत्र
फोटो परिचयपत्र नं. : नाम, थर : कर्मचारी सङ्केत नं. : बहाल रहने मिति :
निरीक्षण अधिकृतको दस्तखत : $\quad$ परिचयपत्र जारी गर्ने, $\quad$ दस्तखत : $\quad$ पद : $\quad$ मिति :
द्रष्टव्य: यो परिचयपत्र कसैले पाएमा सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाई दिनु होला।
अनुसूची-३ (नियम २४ को उपनियम (१) सँग सम्बन्धित) निरीक्षण/जाँचबुझ/खानतलासी सम्बन्धी सूचना
प.सं. : च.नं. : मिति : नमनित : श्री ............................................. ................................................
विषय :- निरीक्षण/जाँचबुझ/खानतलासी गर्ने सम्बन्धमा ।
............. वस्तु/सेवाको उत्पादक/वितरक/बिक्रेता त्यस उद्योग/कम्पनी/संस्था/फर्म/.................... ले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ............. विपरीत हुने गरी देहायको कार्य गरे गराएको भनी विभाग/कार्यालयमा परेको उजुरीको सम्बन्धमा सोही ऐनको दफा ३३ बमोजिम त्यस उद्योग/कम्पनी/संस्था/फर्म/ .........................को कारोबारस्थल/गोदाम/व्यापारिक परिसर/घर कम्पाउण्ड लगायत कारोबारसँग सम्बन्धित स्थल वा ढुवानी साधनको खानतलासी गर्नु परेको हुँदा सो स्थलको निरीक्षण गर्न, खानतलासी गर्न वा कारोबारसँग सम्बन्धित कागजात, खाताबही एवं विद्युतीय साधन लगायत माग गरेका अन्य सूचना, कागजात एवं प्रमाण उपलब्ध गराउन र आवश्यकता अनुसार सिलबन्द गर्ने कार्यमा सहयोग पुर्याउनु हुन उपभोक्ता संरक्षण नियमावली, २०७६ को नियम २४ को उपनियम (१) बमोजिम यो सूचना दिइएको छ।
निरीक्षण अधिकृतको,- दस्तखत : नाम : मिति :
अनुसूची-४ (नियम २४ को उपनियम (३) सँग सम्बन्धित) खानतलासी मुचुल्का
...................जिल्ला ...................महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँपालिका, वडा नं.........स्थित ...................स्थानमा ....................... नाममा रहेको .................... उद्योग/कम्पनी/संस्था/फर्मले गरी आएको कारोबारको सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३३ बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नुपर्ने भएकोले तपाईको स्वामित्व, भोगचलन, जिम्मा वा नियन्त्रणमा रहेको यस उद्योग/कम्पनी/संस्थाको परिसर/घर कम्पाउण्ड/निवासस्थानमा अधिकार प्राप्त हामी तपसिल बमोजिमका व्यक्तिले सम्बन्धित धनीबाट वा निजको प्रतिनिधिबाट हाम्रो जीउ तलासी गराई उल्लिखित स्थानको निरीक्षण, जाँचबुझ वा खानतलासी गरी यो मुचुल्का तयार गरी पेश गरेका छौं।
तपसिलः १. खानतलासी गर्न प्रवेश गर्ने व्यक्तिको जीउ तलासी नलिने व्यक्तिको नाम, थर र ठेगानाः (क) .............. (ख) ............ २. निरीक्षण, जाँचबुझ वा खानतलासीको संक्षिप्त व्यहोराः ३. माथि उल्लिखित व्यहोरा ठीक साँचो हो भनी सहिछाप गरेको नाम, थर र ठेगानाः (क) घरधनी/वस्तु वा व्यवसायको धनी वा निजको प्रतिनिधि): (ख) स्थानीय प्रतिनिधि (सम्भव भएमा): ४. काम तामेल गरेकोः (क) दस्तखत, नाम, थरः (ख) दस्तखत, नाम, थरः ५. निरीक्षण अधिकृतको,- (क) दस्तखतः (ख) नाम, थरः
इति सम्बत् ............... साल ........ महिना .......... गते .......... रोज शुभम् ।
अनुसूची-५ (नियम २४ को उपनियम (४) सँग सम्बन्धित) नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग वस्तु वा सेवाको परीक्षण सूची तथा नमूना
प्रमाणित गर्ने अधिकृतको, दस्तखत : नाम : मिति:
अनुसूची-६ (नियम २४ को उपनियम (७) सँग सम्बन्धित) बरामदी मुचुल्काको ढाँचा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग/ ............................... कार्यालयबाट खटई आएका निरीक्षण अधिकृत श्री ............................... सहितको टोलीले..................... जिल्ला .................. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँपालिका वडा नं. ............. स्थित ...................... स्थानमा निरीक्षण/जाँचबुझ/खानतलासी गरी देहाय बमोजिमको विवरण सहित यो मुचुल्का तयार गरिएको छ।
१. उजुरी/सूचनाको छोटकरी विवरणः- २. खानतलासी गरिएको घर, जग्गा ठाउँ (चार किल्ला सहित) र वस्तुको विवरणः- ३. बरामद भएका वस्तु, कागजातको विवरणः-
४. खानतलासी लिएको घर, जग्गा, ठाउँ, वस्तु वा सेवा व्यवसायको धनी वा निजको एकाघरको व्यक्ति वा प्रतिनिधिको, नाम, थर र ठेगाना : ................................................................. दस्तखतः ............................................
५. हाम्रो रोहबरमा उल्लिखित वस्तु बरामद भएको हो भनी सहीछाप गर्ने साक्षीकोः (क) नाम, थर र उमेर: ........................................ ठेगाना: ........................................ दस्तखतः .................... (ख) नाम, थर र उमेर: ........................................ ठेगाना: ........................................ दस्तखतः ....................
६. स्थानीय तहका प्रतिनिधि (सम्भव भएमा): ७. काम तामेल गर्नेः
.................................. निरीक्षण अधिकृत
इति सम्बत् ............... साल ........ महिना .......... गते .......... रोज शुभम् । निरीक्षण अधिकृत
अनुसूची-७ (नियम २४ को उपनियम (१२) सँग सम्बन्धित) नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग निरीक्षण, जाँचबुझ वा खानतलासीको अभिलेख
प्रमाणित गर्ने अधिकृतको,- दस्तखत: पद: नाम: मिति:
अनुसूची-८ (नियम २८ को उपनियम (१) सँग सम्बन्धित) वस्तु नष्ट गर्दा तयार गर्नु पर्ने मुचुल्काको ढाँचा
निरीक्षण अधिकृत श्री................सहितको टोलीले................ जिल्ला ............ महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँपालिका वडा नं. ............. स्थित उद्योग/ कम्पनी/ संस्था/ फर्म / ............... बाट सङ्कलन गरेको देहायको वस्तुको नमुना ............. प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड बमोजिमको नभई गुणस्तरहीन भएको कुरा प्रतिवेदनबाट प्रमाणित भएकोले ऐनको दफा ३५ को उपदफा (१) बमोजिम जफत गरी पुनः प्रयोग हुन नसक्ने गरी जमिन मुनि खाडल खनी गाडी/ आगोमा जलाइ/टुक्रा पारी (यस बाहेक अन्य कुनै तरिकाले नष्ट गरेको भए सो व्यहोरा समेत उल्लेख गर्ने) नष्ट गरिएको व्यहोरा साँचो हो ।
नष्ट गरिएको वस्तु
काम तामेल गर्नेः रोहबरः वस्तुको धनी वा सम्बन्धित उत्पादक वा बिक्रेताको सहीछाप:
निरीक्षण अधिकृतको,- दस्तखतः नाम, थर:
इति सम्बत् .................... साल ........... महिना .............. गते ........... रोज शुभम् ।
अनुसूची-९ (नियम २९ को उपनियम (१) र नियम ३० को उपनियम (४) सँग सम्बन्धित) उजुरीको ढाँचा
श्री केन्द्रीय बजार अनुगमन समिति/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग/ निरीक्षण अधिकृत ।
............ जिल्ला, ............ नगरपालिका/गाउँपालिका वडा नं. ....... टोल: ......... मार्ग....... स्थित........... वस्तु उत्पादक/ वितरक/बिक्रेता/सेवा प्रदायक श्री........................ (व्यक्ति वा संस्थाको नाम) ले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत हुने गरी देहाय बमोजिमको कार्य गरेको हुनाले निजलाई कानून बमोजिम कारबाही हुनो लागि यो उजुरी गरेको/लेखाथ दिएको छु । उजुरीमा उल्लेख गरेको व्यहोरा मैले जाने बुझेसम्म साँचो छ ।
१= उजुरीकर्ताको नाम, थर: २= ठेगाना र सम्पर्क नम्बर: ३= उजुरीको संक्षिप्त व्यहोरा: (वस्तु बिक्रेता वा सेवा प्रदायकले गरेको त्रुटि वा काम कारबाहीबाट उपभोक्तालाई भएको/हुन सक्ने हानी, नोक्सानी वा क्षतिको संक्षिप्त विवरण उल्लेख गर्ने)
उजुरी दर्ता मिति: उजुरीकर्ताको दस्तखत:
४= मौखिक वा कुनै माध्यमबाट उजुरी प्राप्त भएको भए सो टिपोट गरेको नाम, थर र दस्तखत: ५= उजुरी प्राप्त भएको व्यहोरा प्रमाणित गर्ने अधिकारीको नाम, थर, दर्जा र प्रमाणित गरेको मिति: मौखिक उजुरीकर्ताको दस्तखत (उपलब्ध भएमा).......
अनुसूची-१० (नियम ३२ को उपनियम (१) सँग सम्बन्धित) तत्काल जरिवानाको आदेश पत्रको ढाँचा
विषयः जरिवाना गरिएको बारे ।
श्री ....................................... ............................................. ................................................
तपाई सञ्चालक वा धनी रहेको .................................................................................... कम्पनी/फर्म/ संस्थाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ...............बमोजिमको कसूर गरेको देखिएकाले तपाईलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क)/ (ख)/(ग)/(घ)/(ङ) बमोजिम रु. ........................(अक्षरेपीः ................) जरिवाना गरिएको छ । सो जरिवाना आजका मितिले सात दिनभित्र यस विभाग/कार्यालय (कार्यालय कोड नं. .......................) को नाममा .........................बैङ्कमा राजश्व शीर्षक नं. .............मा रकम जम्मा गरेको बैङ्क भौचरको दोश्रो प्रति यस विभाग/कार्यालयमा पेश गर्नु हुन यो आदेश गरेको छु । उक्त अवधिभित्र जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारबाही हुने व्यहोरा समेत जानकारी गराउँदछु ।
साथै, यो आदेशमा चित्त नबुझेमा यो आदेश प्राप्त गरेको सात दिनभित्र उल्लिखित जरिवानाको ५० प्रतिशत रकम यस विभाग/कार्यालय (कार्यालय कोड नं............................) को ...................................बैङ्कस्थित धरौटी खाता नं. ...................मा जम्मा गरेको सक्कल बैङ्क भौचरको तेस्रो प्रति सहित विभागका महानिदेशक समक्ष पुनरावलोकनको लागि निवेदन गर्न सकिने व्यहोरा समेत जानकारी गराउँदछु ।
अन्य आदेश वा निर्देशन भएः
१. निरीक्षण अधिकृतको,- २. दस्तखत: ३. नाम, थरः
इति सम्बत् ..................... साल............... महिना............. गते रोज............ शुभम् ।
अनुसूची-११ (नियम ३२ को उपनियम (५) सँग सम्बन्धित) नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग तत्काल जरिवाना सम्बन्धी आदेशको अभिलेखको ढाँचा (आ.व. २०...../...)
प्रमाणित गर्ने अधिकृतको,- दस्तखत: नाम, थर: मिति:
अनुसूची-१२ (नियम ३५ सँग सम्बन्धित) मुद्दा चलाइएको/अन्य कारबाही गरिएको/कालो सूचीमा राखिएको व्यक्ति वा संस्थाको अभिलेखको ढाँचा