ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७
नेपाल राजपत्रमा प्रकाशित मिति २०५७।११।८
संशोधन ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
वातावरण संरक्षण ऐन, २०५३ को दफा २४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले वातावरण संरक्षण ऐन, २०५३ सम्झनु पर्छ । (ख) “महासन्ध” भन्नाले ओजोन तहको संरक्षणको लागि व्यवस्था भएको भियना महासन्ध, १९८५ (भियना कन्भेन्सन फर द प्रोटेक्सन अफ द ओजोन लेयर) सम्झनु पर्छ । (ग) “प्रोटोकल” भन्नाले ओजोन तहलाई नष्ट गर्ने पदार्थ सम्बन्धी मन्त्रियल प्रोटोकल, १९८७ (द मन्त्रियल प्रोटोकल अन सबस्टेन्सेस ज द्याट डिप्लिट द ओजोन लेयर) सम्झनु पर्छ । (घ) “पदार्थ” भन्नाले प्रोटोकलको अनुसूची ए., बी., सी. र ई. मा उल्लिखित ओजोन तहलाई नष्ट गर्ने नियन्त्रित पदार्थहरू मध्ये नियम ३ बमोजिमको स्पेसिफिकेशनमा समावेश कुनै पदार्थ सम्झनु पर्छ र सो शब्दले मन्त्रालयले समय समयमा नेपाल
राजपत्रमा सूचना प्रकाशन गरी पदार्थ भनी तोकिदिएको कुनै पदार्थ समेतलाई जनाउँछ ।
(ङ) “पैठारीकर्ता” भन्नाले कुनै विदेशी मुलुकबाट नेपाल $\times$......... भित्र पदार्थ पैठारी गर्ने प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्था सम्झनु पर्छ ।
(च) “डिलर” भन्नाले पदार्थ बिक्री वितरण गर्ने व्यक्ति, फर्म वा संस्था वा त्यस्तो व्यक्ति, फर्म वा संस्थाको एजेण्ट सम्झनु पर्छ र सो शब्दले आफैले पदार्थ बिक्री वितरण गर्ने पैठारीकर्ता समेतलाई जनाउँछ ।
(छ) “उपभोग” भन्नाले रेफ्रिजेरेशन, वातानुकूलन, कृषि, स्वास्थ्य तथा अग्नि नियन्त्रण लगायतका व्यापार, व्यवसाय वा औद्योगिक प्रयोजनको लागि हुने खपत सम्झनु पर्छ र सो शब्दले पदार्थको बिक्री वितरण, सञ्चय वा भण्डारण समेतलाई जनाउँछ ।
(ज) “इजाजतपत्र जारी गर्ने अधिकारी” भन्नाले वाणिज्य विभागको महानिदेशक सम्झनु पर्छ र सो शब्दले निकासी पैठारी नियन्त्रकको काम गर्ने गरी नेपाल सरकारले तोकेको अन्य कुनै अधिकारी समेतलाई जनाउँछ ।
३. पदार्थको स्पेसिफिकेशन, परिमाण तथा विस्थापन दरः (१) यस नियमावली बमोजिम नेपाल $\times$......... भित्र उपभोग तथा बिक्री वितरण गरिने पदार्थको स्पेसिफिकेशन अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) पदार्थको वार्षिक खपत र पैठारी परिमाण तथा विस्थापन दर मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
४. इजाजतपत्र जारी गनुपर्नेः मन्त्रालयले निर्धारण गरेको प्रक्रिया, शर्तहरू, स्पेसिफिकेशन, परिमाणात्मक मापदण्ड तथा विस्थापन दरको अन्तर्गत रही पैठारी इजाजतपत्र जारी गर्ने अधिकारीले नियम ३ र प्रचलित कानून बमोजिम पदार्थ पैठारी गर्ने इजाजतपत्र जारी गनुपर्नेछ ।
$\times$ पहिलो संशोधनद्वारा खारेज गरिएको ।
५. पैठारीकर्ताले पालना गर्नुपर्ने शर्तहरूः मन्त्रालयले प्रोटोकलका प्रावधान अनुसार पैठारीकर्ताले पालना गरी देहाय बमोजिमका शर्तहरू तोक्न सक्नेछः-
(क) पदार्थको स्पेसिफिकेशन बमोजिमको गुणस्तर यकीन हुने गरी उत्पादकले दिएको प्रमाणपत्र लिई राख्नु पर्ने,
(ख) विदेशी मुलुकबाट पदार्थ चलान गर्ने समयमा त्यस्तो पदार्थको स्पेसिफिकेशन, गुणस्तर, परिमाण र कन्टेनर ल्याकेजिङका सम्बन्धमा सम्बन्धित निकायले दिएको लोड पोर्ट प्रमाणपत्र लिई राख्नु पर्ने,
(ग) पैठारी गरिएको पदार्थको प्रत्येक खेप सम्बन्धित भन्सार नाकामा अनलोड गर्दा त्यस्तो पदार्थको स्पेसिफिकेशन, गुणस्तर, परिमाण र कन्टेनर ल्याकेजिङको सम्बन्धमा सम्बन्धित निकायले दिएको लोड पोर्ट प्रमाणपत्र पेश गर्नुपर्ने,
(घ) विदेशी मुलुकबाट पदार्थ खरिद गरी नेपालभित्र पैठारी गर्दा त्यस्तो पदार्थ सम्बन्धित मुलुकबाट निकासी गर्न इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्थाबाट खरिद गरेको हुनुपर्ने,
(ङ) एकपटकमा तोकिएको परिमाणसम्म पदार्थको पैठारी गर्न पाउने,
(च) पदार्थ पैठारी गर्दा महासन्धि वा प्रोटोकलको पक्ष भएका राष्ट्रहरूबाट मात्र खरिद गर्नुपर्ने,
(छ) पैठारी गरेको पदार्थ अन्य कुनै मुलुकमा निकासी गर्न नहुने,
(ज) पदार्थको स्पेसिफिकेशन, परिमाण, गुणस्तर तथा तत्सम्बन्धी प्रमाणपत्रहरू इत्यादी सम्बन्धमा झुट्ठा विवरण पेश गर्न नहुने,
(झ) पदार्थ पैठारी गर्दा सम्बन्धित देशको निकासीकर्ताबाट देहायको विवरण समेत लिई सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नुपर्नेः-
(१) पैठारीकर्ताको नाम र ठेगाना, (२) पदार्थको स्पेसिफिकेशन र परिमाण (मेट्रिक टनमा), (३) पदार्थ निकासीकर्ता र मुलुक,
(४) पदार्थको प्रचलित व्यापारिक र वैज्ञानिक (रासायनिक) नाम तथा विश्व भन्सार संगठनद्वारा निर्धारित हार्मोनाइज्ड सिस्टम (एच.एस.) सङ्केत,
(५) पदार्थ उत्पादन मिति,
(६) पदार्थ उत्पादन गर्ने मुलुक र उत्पादकको नाम,
(७) पदार्थ नयाँ उत्पादित वा पुनप्रशोधित (रिसाइकिल्ड) वा पुनप्राप्त (रिकभ्रि) मध्ये कुन किसिमको हो सो को विवरण,
(८) पदार्थको मूल्य (अमेरिकी डलरमा) ।
६. यस नियमावली विपरीत हुने गरी पदार्थको उपभोग तथा बिक्री वितरण गर्न नहुनेः कसैले पनि यस नियमावलीको विपरीत हुने गरी पदार्थको उपभोग तथा बिक्री वितरण गर्नु हुँदैन गराउनु हुँदैन ।
७. मन्त्रालयको काम, कर्तव्य र अधिकारः पदार्थको उपभोग तथा बिक्री वितरण नियमित र नियन्त्रण गर्ने गराउने सन्दर्भमा मन्त्रालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मन्त्रालयले प्रोटोकलको प्रावधानहरूको आधारमा पदार्थहरू पैठारी गर्ने आवश्यक प्रक्रिया र शर्तहरू निर्धारण गर्ने,
(ख) रेफ्रिजेरेशन, वातानुकूलन, कृषि, स्वास्थ्य तथा अरिन नियन्त्रण लगायतका व्यापार, व्यवसाय वा औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने पदार्थको स्पेसिफिकेशन वार्षिक पैठारी तथा खपत परिमाण र विस्थापन दर समेत निर्धारण गर्ने,
(ग) प्रोटोकलको प्रावधान बमोजिम पदार्थको वार्षिक पैठारी तथा उपभोग परिमाणलाई क्रमशः विस्थापन गर्दै लगी निर्धारित अवधि भित्रमा शून्य परिमाणमा पुर्याउन आवश्यक कार्यहरू गर्ने, गराउने,
(घ) पदार्थको उपभोग तथा बिक्री वितरण स्थितिको नियमित अनुगमन एवं मूल्याङ्कन गर्ने,
(ङ) ऐन, यस नियमावली, महासन्धि र प्रोटोकलको उद्देश्य अनुरूप ओजोन तहलाई नष्ट नगर्ने पदार्थको उपभोगलाई नियमित र नियन्त्रण गर्न आवश्यक अन्य कार्यहरू गर्ने, गराउने ।
८. मन्त्रालयलाई जानकारी दिनु पर्नेः इजाजतपत्र जारी गर्ने अधिकारीले प्रचलित कानून बमोजिम पदार्थ पैठारी गर्न इजाजतपत्र जारी गरिसकेपछि वा जारी गरिएको इजाजतपत्र संशोधन वा स्थगित वा रद्द गरिसकेपछि सोको दिन दिनभर मन्त्रालयलाई लिखित जानकारी गराउनु पर्नेछ ।
९. निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्नेः (१) प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्थाले नेपाल राष्ट्र बैंकद्वारा निर्धारित भुक्तानी प्रणालीको माध्यमबाट मात्र पदार्थ पैठारी गर्न पाउनेछ । यस प्रयोजनका लागि सम्बन्धित इजाजत पत्र प्राप्त पैठारीकर्ताले इजाजतपत्र प्राप्त गरेको मितिले पन्ध्र दिनभर नेपाल $\times$......... को कुनै वाणिज्य बैंकमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पदार्थ पैठारी गर्न वाणिज्य बैंकमा निवेदन दिने इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्थाले त्यस्तो निवेदन तथा त्यसका साथ संलग्न गरिने विवरणको प्रतिलिपि जानकारीको लागि मन्त्रालय समक्ष पनि पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको निवेदन परेमा सम्बन्धित वाणिज्य बैंकले इजाजतपत्र जारी गर्ने अधिकारीले पैठारी गर्न इजाजतपत्र दिए बमोजिमको पदार्थ पैठारी गर्न खोजेको भएमा प्रचलित कानून बमोजिम भुक्तानीको व्यवस्था गरिदिनु पर्नेछ तथा त्यसबारे मन्त्रालयलाई जानकारी तुरुन्त दिनु पर्नेछ ।
१०. पैठारीको सूचना दिनुपर्नेः पैठारीकर्ताले पदार्थहरू सम्बन्धित भन्सार नाकामा ल्याई पुर्याएपछि सम्बन्धित भन्सार कार्यालयले तत्सम्बन्धमा सम्पूर्ण विवरण खुलाई मन्त्रालयलाई जानकारी दिनु पर्नेछ ।
११. पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्नेः पैठारीकर्ताले आफूले पैठारी गरी डिलरहरूलाई बिक्री वितरण गरेको तथा आफूसँग मौज्दात रहेको पदार्थको स्पेसिफिकेशन, परिमाण र किसिम समेत खुलाई
$\times$ पहिलो संशोधनद्वारा खारेज गरिएको ।
अनुसूची-२ बमोजिमको ढाँचामा विवरण तयार पारी प्रत्येक छ महिनामा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ । उक्त विवरणसँग पैठारीकर्ताले आफ्ना डिलरहरूको नाम र ठेगाना समेतको जानकारी मन्त्रालयले तोकेको ढाँचामा संलग्न गरी पेश गर्नुपर्नेछ ।
१२. अभिलेख तथा विवरणः (१) पैठारीकर्ताले पैठारी गरेको पदार्थ सम्बन्धी देहाय बमोजिमको अभिलेख तथा विवरण अद्यावधिक गरी राख्नु पर्नेछ र मन्त्रालयले माग गरेको अवस्थामा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछः-
(क) नेपाल $\times$.........भित्र पैठारी गरेको पदार्थको परिमाण, गुणस्तर, किसिम र मूल्य सम्बन्धी विवरण,
(ख) डिलर मार्फत वा सिधै सम्बन्धित ग्राहकलाई बिक्री वितरण गरेको पदार्थको परिमाण र किसिम सम्बन्धी विवरण,
(ग) सञ्चित पदार्थको परिमाण र किसिम ।
(२) उपनियम (१) बमोजिमको अभिलेख तथा विवरण मन्त्रालयले माग गरेको बखत उपलब्ध नगराएमा मन्त्रालयले त्यस्तो पैठारीकर्ताको नाममा भविष्यमा इजाजतपत्र जारी नगर्नको लागि इजाजतपत्र जारी गर्ने अधिकारी समक्ष लेखी पठाउन सक्नेछ ।
(३) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि कुनै व्यक्ति, फर्म वा संस्थाले पदार्थ पैठारी गरेको रहेछ भने पनि त्यस्ता पदार्थको मौज्दात सम्बन्धमा मन्त्रालयले मागेको अभिलेख तथा विवरण मन्त्रालय समक्ष पेश गर्ने कर्तव्य त्यस्तो व्यक्ति, फर्म वा संस्थाको हुनेछ ।
१३. भन्सार नाकामा निरीक्षणः नियम १० बमोजिम सम्बन्धित भन्सार कार्यालयले पदार्थ भन्सार नाकामा आई पुगेको जानकारी दिएपछि मन्त्रालयले आवश्यक ठानेमा निरीक्षण गर्न सक्नेछ ।
$\times$ पहिलो संशोधनद्वारा झिकिएको ।
१४. डिलरले नाम दर्ता गराउनु पर्नेः (१) यस नियमावली बमोजिम पैठारीकर्ताबाट पदार्थ खरीद गरी क्रेतालाई बिक्री वितरण गर्न चाहने डिलरले मन्त्रालयमा नाम दर्ता गराई त्यस्तो पदार्थ बिक्री वितरण गर्ने स्वीकृति लिनु पर्नेछ ।
(२) डिलरले पदार्थ बिक्री वितरण गर्ने सम्बन्धमा मन्त्रालयले समय समयमा तोकिदिएको शर्त पालना गर्नुपर्नेछ ।
१५. डिलरले पदार्थ खरीद गरी क्रेतालाई बिक्री वितरण गरेको विवरण पेश गर्नु पर्नेः (१) डिलरले पैठारीकर्ताबाट खरीद गरी क्रेतालाई बिक्री वितरण गरेको तथा आफूसँग मौज्दात रहेको पदार्थको स्पेसिफिकेशन, परिमाण र किसिम समेत खुलाई अनुसूची-३ बमोजिमको ढाँचामा तयार पारिएको विवरण प्रत्येक छ महिनामा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ । उपरोक्त विवरणसँग डिलरले आफूलाई पदार्थ बेच्ने पैठारीकर्ता तथा आफ्ना क्रेताको नाम र ठेगाना तथा क्रेताले कुन प्रयोजनको लागि पदार्थ खरीद गरेको हो सोको विवरण समेत मन्त्रालयद्वारा निर्धारित ढाँचामा तयार गरी पेश गर्नु पर्नेछ ।
(२) पदार्थ खरीद गर्ने क्रेताले आफूले खरीद गरेको पदार्थको स्पेसिफिकेशन, परिमाण, किसिम र मौज्दात तथा सो पदार्थ जुन प्रयोजनको लागि खरीद गरेको हो सो प्रयोजनको लागि उपभोग गरे नगरेको विवरण समेत मन्त्रालयले मागेको बखत उपलब्ध गराउनु पर्नेछ ।
१६. निर्धारित प्रयोजन बमोजिम उपभोग गर्नु पर्नेः (१) कुनै पनि व्यक्ति, फर्म वा संस्थाले कुनै निर्धारित प्रयोजनको लागि पैठारी वा खरीद गरेको पदार्थ सो प्रयोजन बाहेक अन्य प्रयोजनको लागि उपभोग गर्न पाउने छैन ।
(२) निर्धारित प्रयोजन बाहेक अन्य प्रयोजनको लागि पदार्थको उपभोग गर्ने पैठारीकर्ता वा खरीदकर्तालाई प्रचलित कानून बमोजिम कारबाही गरिनेछ ।
१७. आवश्यक निर्देशन दिन सक्नेः पदार्थको उपभोग तथा बिक्री वितरण सम्बन्धी व्यवस्थाको नियमन तथा नियन्त्रण प्रभावकारी ढङ्गबाट गर्न गराउन मन्त्रालयले आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ । त्यस्तो आदेश तथा निर्देशनको पालना गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
१८. मन्त्रालयले आवश्यक व्यवस्था गर्न सक्नेः मन्त्रालयले पदार्थको उपभोग तथा बिक्री वितरण सम्बन्धी व्यवस्थाको नियमन तथा नियन्त्रण प्रभावकारी ढङ्गबाट गर्न आवश्यकता अनुसार निरीक्षक, सर्वेयर वा अन्य सम्बन्धित विषयको विशेषज्ञ खटाउन वा अन्य उपयुक्त व्यवस्था गर्न र तत्सम्बन्धमा अपनाउनु पर्ने कार्यविधि समेत तोक्न सक्नेछ ।
१९. सहयोग गर्नु पर्नेः यस नियमावलीको कार्यान्वयनको सिलसिलामा निरीक्षण, सुपरिवेक्षण वा अनुगमन कार्य गर्न मन्त्रालयद्वारा खटाइएका निरीक्षक, सर्वेयर वा सम्बन्धित विषयको विशेषज्ञलाई सम्बन्धित निकाय, व्यक्ति, फर्म वा संस्थाले आवश्यक सहयोग गर्नु पर्नेछ ।
२०. उपसमिति वा कार्यटोली गठन गर्न सक्नेः (१) मन्त्रालयले पदार्थको उपभोग तथा बिक्री वितरण व्यवस्थाको नियमन तथा नियन्त्रण प्रभावकारी ढङ्गबाट गर्न र यस नियमावलीको प्रावधानको कार्यान्वयनको लागि समय समयमा आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन भएको उपसमिति वा कार्यटोलीको काम, कर्तव्य, अधिकार र कार्यविधि मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।
२१. निर्देशिका बनाउन सक्नेः मन्त्रालयले ऐन र यस नियमावलीको अधीनमा रही पदार्थको उपभोग तथा बिक्री वितरणका सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ र त्यस्तो निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
२२. सजाय गर्ने अधिकारीः यस नियमावली विपरीत पदार्थको उपभोग तथा बिक्री वितरण गर्नेलाई सजाय गर्ने अधिकार मन्त्रालयलाई हुनेछ ।
२३. यसै नियमावली बमोजिम हुनेः यस नियमावलीमा लेखिए जतिका कुरामा यसै नियमावली बमोजिम र अन्यको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।
२४. अनुसूचीमा थपघट तथा हेरफेरः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ ।
द्रष्टब्यः- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर भएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित) पदार्थको स्पेसिफिकेशन
समूह “क”
समूह “ख”
समूह “ग”
समूह “घ”
समूह “ङ”
समूह “च”
स्पष्टीकरणः यस अनुसूचीको प्रयोजनको लागि,- (क) “ओडीएस” भन्नाले ओजोन डिप्लेटिङ सब्स्टेन्सेस (ओजोनतहलाई नष्ट गर्ने पदार्थ) सम्झनु पर्छ । (ख) “ओडीपि” भन्नाले ओजोन डिप्लेटिङ पोटेन्सियल (ओजोनतहलाई नष्ट गर्ने पदार्थको ओजोनतह नाशक क्षमता) सम्झनु पर्छ ।
द्रष्टव्यः १. समूह “क” प्रोटोकलको एनेक्स “ए” को समूह १ सँग सम्बन्धित रहेको । २. समूह “ख” प्रोटोकलको एनेक्स “सि” समूह १ सँग सम्बन्धित रहेको । ३. समूह “ग” प्रोटोकलको एनेक्स “ए” को समूह २ सँग सम्बन्धित रहेको । ४. समूह “घ” प्रोटोकलको एनेक्स “बी” को समूह २ सँग सम्बन्धित रहेको । ५. समूह “ङ” प्रोटोकलको एनेक्स “बी” को समूह ३ सँग सम्बन्धित रहेको । ६. समूह “च” प्रोटोकलको एनेक्स “डि” को समूह १ सँग सम्बन्धित रहेको ।
अनुसूची-२ (नियम ११ सँग सम्बन्धित)
पैठारीकर्ताद्वारा ओजोन तह नष्ट गर्ने पदार्थ पैठारी गरेको तथा डिलरलाई बिक्री वितरण गरेको विवरण
श्री वातावरण महाशाखा, जनसंख्या तथा वातावरण मन्त्रालय, सिंहदरबार, काठमाडौँ ।
पैठारीकर्ताले पदार्थको स्पेसिफिकेशन, जम्मा परिमाण तथा किसिम (नयाँ, पुनप्रशोधित वा पुनप्राप्त के हो ?) खुलाउनु पर्नेः-
अवधि २०.... देखि ............. २०.... सम्म
पैठारीकर्ता - व्यक्ति, फर्म वा संस्थाको नामः-
* मेट्रिक टनमा उल्लेख गरिएको हुनु पर्नेछ ।
मिति:- पैठारीकर्ताको नाम, ठेगाना र दस्तखतः-
अनुसूची-३ (नियम १५ सँग सम्बन्धित) डिलरद्वारा ओजोन तह नष्टगर्ने पदार्थ खरीद गरेको तथा क्रेतालाई बिक्री वितरण गरेको विवरण
श्री वातावरण महाशाखा, जनसंख्या तथा वातावरण मन्त्रालय, सिंहदरबार, काठमाडौँ ।
(डिलरले खरीद गरेको पदार्थको स्पेसिफिकेशन, जम्मा परिमाण तथा किसिम (नयाँ, पुनःशोधित वा पुनःप्राप्त के हो ?) खुलाउनु पर्नेः-
अवधि २०.... देखि ............. २०.... सम्म
डिलरको (व्यक्ति, फर्म वा संस्था) को नामः-
* मेट्रिक टनमा उल्लेख गरिएको हुनु पर्नेछ ।
मिति:- $\quad$ डिलरको नाम, ठेगाना र दस्तखतः-