औद्योगिक पुनरुत्थान कोष (सञ्चालन कार्यविधि) नियमावली, २०६४
नेपाल राजपत्रमा प्रकाशित मिति २०६४।९।१९
प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “औद्योगिक पुनरुत्थान कोष (सञ्चालन कार्यविधि) नियमावली, २०६४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलाएमा यस नियमावलीमा,– (क) “कोष” भन्नाले नियम ३ बमोजिम खडा भएको औद्योगिक पुनरुत्थान कोष सम्झनु पर्छ। (ख) “रूग्ण उद्योग” भन्नाले प्राविधिक समितिको सिफारिसमा समितिले तोकेको मापदण्ड भित्र परेका उद्योग सम्झनु पर्छ। (ग) “समिति” भन्नाले नियम ६ बमोजिमको औद्योगिक पुनरुत्थान कोष सञ्चालन समिति सम्झनु पर्छ। (घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष समेतलाई जनाउनेछ। (ङ) “मुख्य प्रशासकीय अधिकृत” भन्नाले नियम १६ को उपनियम (२) बमोजिमको मुख्य प्रशासकीय अधिकृत सम्झनु पर्छ। (च) “प्राविधिक समिति” भन्नाले नियम ९ बमोजिमको समिति सम्झनु पर्छ।
परिच्छेद–२ कोषको स्थापना तथा प्रयोग सम्बन्धी व्यवस्था
३. कोषको स्थापना: (१) आन्तरिक द्वन्द्वबाट रुग्ण भएका तथा व्यावसायिक रूपमा सञ्चालन हुन सक्ने सम्भाव्य क्षमता भएका उद्योगको पहिचान गर्ने र ती उद्योगको पुनरुत्थान गर्ने कार्य समेतको लागि औद्योगिक पुनरुत्थान कोष नाम गरेको एक कोष खडा गरिनेछ।
(२) कोषमा देहायका रकमहरू जम्मा गरिनेछ:– (क) नेपाल सरकारबाट प्राप्त हुने रकम, (ख) नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने रकम, (ग) बैङ्क तथा वित्तीय संस्था एवं पुनरुत्थान हुन चाहने उद्यमी व्यवसायीको सहभागिताबाट प्राप्त हुने रकम, र (घ) अन्य स्रोतबाट प्राप्त हुने रकम।
(३) यो नियमावली प्रारम्भ भएपछि सुरुमा कोषको सञ्चालनका लागि आवश्यक पर्ने कुल रकममध्ये पचास प्रतिशत रकम नेपाल सरकारबाट र बाँकी पचास प्रतिशतमध्ये नेपाल राष्ट्र बैंक र वाणिज्य बैङ्कहरूबाट प्राप्त हुनेछ।
(४) कोषलाई आवर्ती कोष (रिवोल्भिङ फण्ड) को रूपमा सञ्चालन गरिनेछ।
४. कोषको प्रयोग: कोषमा जम्मा भएको रकम देहायको कार्यको लागि खर्च गरिनेछ:– (क) रुग्ण उद्योगको पहिचान गर्न आवश्यक अध्ययन अनुसन्धान गर्न, (ख) खण्ड (क) बमोजिमको अध्ययन अनुसन्धानबाट पहिचान भएको रुग्ण उद्योगको पुनरुत्थान गर्न, (ग) रुग्ण उद्योग पुनरुत्थानका सम्बन्धमा समितिले तोकेका अन्य कामहरू गर्न।
५. कोषको रकम प्रयोग हुन नसक्ने: नियम ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि रुग्ण उद्योग पुनरुत्थानसँग सम्बन्धित विषयमा बाहेक कसैलाई चन्दा, पुरस्कार, उपहार, अनुदान लगायत कुनै पनि आर्थिक सहायता प्रदान गर्ने प्रयोजनका लागि कोषको रकम खर्च गर्न सकिने छैन।
परिच्छेद–३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार
६. समिति गठन: कोष सञ्चालन तथा व्यवस्थापन गर्नको लागि देहाय बमोजिमको एक औद्योगिक पुनरुत्थान कोष सञ्चालन समिति रहनेछः–
(क) नेपाल सरकारद्वारा नियुक्त विज्ञ - अध्यक्ष (ख) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ - सदस्य (ग) प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ - सदस्य (घ) प्रतिनिधि, नेपाल बैङ्कर्स सङ्घ - सदस्य (ङ) प्रतिनिधि, साना तथा घरेलु उद्योग सङ्घ - सदस्य (च) प्रतिनिधि, नेपाल राष्ट्र बैंक - सदस्य (छ) प्रतिनिधि, अर्थ मन्त्रालय - सदस्य (ज) प्रतिनिधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य (झ) मुख्य प्रशासकीय अधिकृत - सदस्य-सचिव
७. समितिको काम, कर्तव्य र अधिकारः यस नियमावलीमा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूबाट समय समयमा कोषमा राख्न आवश्यक पर्ने रकम निर्धारण गर्ने, (ख) रुग्ण उद्योगको पहिचान गर्ने, (ग) उद्योग रुग्ण हुनुको कारण पहिचान गर्ने, (घ) रुग्ण उद्योगको पुनरुत्थान गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने, (ङ) रुग्ण उद्योग पुनरुत्थान गर्दा गरिनु पर्ने कार्यहरू (वित्तीय तथा गैरवित्तीय सहयोग) को मापदण्ड निर्धारण गर्ने, (च) रुग्ण उद्योग पुनरुत्थानको सिलसिलामा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने,
(छ) रूग्ण उद्योगको पुनरुत्थान गर्न कार्यान्वयनमा ल्याउने, ल्याउन लगाउने,
(ज) पुनरुत्थानको दायरामा परेका रूग्ण उद्योगको सञ्चालन अवस्थाको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने,
(झ) पुनरुत्थान कार्यको प्रगति समीक्षा गरी प्रतिवेदन पेश गर्ने,
(ञ) पुनरुत्थान हुन नसक्ने रूग्ण उद्योगको खारेजी गर्ने सम्बन्धमा उद्योग, ऋणदाता बैंक जस्ता निकायसँग समन्वय गरी आवश्यक कारबाही गर्ने, गराउने,
(ट) रूग्ण उद्योग पुनरुत्थान सम्बन्धमा आवश्यक अन्य कार्य गर्ने।
८. समितिको बैठक र निर्णयः (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिका कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको गणपूरक संख्या पुगेको मानिनेछ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूहरूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(६) समितिले आवश्यक ठानेमा नेपाल सरकारको कुनै निकायको प्रतिनिधि वा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(७) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद–४ प्राविधिक समितिको गठन र काम, कर्तव्य र अधिकार
९. प्राविधिक समितिको गठन: (१) रुग्ण उद्योगको पहिचान र पुनरुत्थान कार्यमा समितिलाई सहयोग पुऱ्याउन देहाय बमोजिमको एक प्राविधिक समिति रहनेछ:-
(क) बैंकिङ व्यवसायसँग सम्बन्धित विशेषज्ञमध्येबाट समितिले मनोनयन गरेको व्यक्ति - संयोजक (ख) बैंकर्स एसोसिएसनबाट नियुक्त विज्ञ - सदस्य (ग) मुख्य प्रशासकीय अधिकृत - सदस्य-सचिव
(२) प्राविधिक समितिले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(३) प्राविधिक समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आपैले निर्धारण गरे बमोजिम हुनेछ।
१०. प्राविधिक समितिको काम, कर्तव्य र अधिकार: (१) प्राविधिक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) रुग्णताको मापदण्ड तयार गर्ने, (ख) रुग्ण उद्योगको यथार्थ स्थितिको विश्लेषण गरी रुग्णता पहिचान गर्ने, (ग) रुग्ण उद्योगको पुनरुत्थानको लागि पुऱ्याउनु पर्ने वित्तीय तथा गैर वित्तीय सहयोगको किसिम तयार गर्ने, (घ) रुग्ण उद्योगलाई रुग्णताका आधारमा पुऱ्याउनु पर्ने वित्तीय तथा गैर वित्तीय सहयोग पहिचान गर्ने, (ङ) समितिले तोकेको अन्य आवश्यक कार्य गर्ने।
परिच्छेद–५ कोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था
११. कोषको व्यवस्थापन तथा सञ्चालन: (१) कोषको रकम समितिबाट नेपाल राष्ट्र बैंक वा नेपाल भित्रका अन्य कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
(२) उपनियम (१) बमोजिमको खाता समितिको मुख्य प्रशासकीय अधिकृत र कोषको सचिवालयमा खटिएको लेखा अधिकृत वा लेखापालको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ।
१२. रुग्ण उद्योग पुनरुत्थान सम्बन्धी प्रस्ताव पेश गर्नु पर्नेः (१) पुनरुत्थान हुन चाहने रुग्ण उद्योगले रुग्ण उद्योग पुनरुत्थान कोषको सचिवालयमा समितिले तोकेको ढाँचामा प्रस्ताव पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुने प्रस्ताव उपर प्राविधिक समितिले आवश्यक अध्ययन, छानबिन, विश्लेषण तथा मूल्याङ्कन गर्नेछ।
(३) उपनियम (२) बमोजिम अध्ययन, छानबिन, विश्लेषण तथा मूल्याङ्कनबाट देखिएका यथार्थ विवरण र आफ्नो सिफारिस सहितको प्रतिवेदन प्राविधिक समितिले समितिमा पेश गर्नु पर्नेछ।
१३. कोषको प्रशासकीय खर्चः कोषमा रहेको मौज्दात रकमबाट समितिले तोके बमोजिमको रकम कोषको प्रयोजनको लागि प्रशासकीय लगायत अन्य कार्यमा खर्च गरिनेछ।
१४. रकम निकासाः कोषबाट हुने खर्चको निकासा समितिले दिनेछ।
१५. लेखा तथा लेखापरीक्षणः (१) कोषको आम्दानी खर्चको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ।
(२) कोषको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।
परिच्छेद–६ विविध
१६. कोषको सचिवालयः (१) कोषको सचिवालय काठमाडौं उपत्यकामा रहनेछ।
(२) कोषको प्रशासकीय प्रमुखको रूपमा काम गर्न एक मुख्य प्रशासकीय अधिकृत रहनेछ। मुख्य प्रशासकीय अधिकृतको नियुक्ति समितिले गर्नेछ। त्यसरी नियुक्ति नभएमाका लागि बैङ्क वा वित्तीय संस्थामा अधिकृतस्तरमा काम गरिरहेको वा काम गरिसकेको कुनै व्यक्तिलाई नेपाल सरकारले मुख्य प्रशासकीय अधिकृतको रूपमा काम गर्ने गरी तोक्न सक्नेछ। प्रशासकीय अधिकृतको काम गर्न नेपाल सरकारले नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलाई खटाउन सक्नेछ।
(३) कोषको सचिवालयमा आवश्यक संख्यामा कर्मचारीहरू रहने छन्।
(४) मुख्य प्रशासकीय अधिकृत र कर्मचारीको सेवा, शर्त र पारिश्रमिक लगायतका अन्य सुविधा समितिले तोके बमोजिम हुनेछ।
१७. प्रतिवेदन पेश गर्नु पर्नेः समितिले आफूले गरेको कार्य सम्पादन सम्बन्धी वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नेपाल सरकार, अर्थ मन्त्रालयमा बुझाउनु पर्नेछ।
१८. अभिलेख राख्नु पर्नेः (१) कोषले आफूले गरेको काम कारबाहीको अभिलेख दुरुस्त राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम राखिएको अभिलेख कोषको प्रयोजन समाप्त भएपछि कोषले अर्थ मन्त्रालयमा बुझाउनु पर्नेछ।
१९. नेपाल सरकारले निर्देशन दिन सक्नेः नेपाल सरकारले यस नियमावली बमोजिम कोष सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ।
२०. कोष रहने अवधिः (१) समितिको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी खारेज नगरेसम्म कोष कायम रहनेछ।
(२) उपदफा (१) बमोजिम कोष खारेज हुँदा कोषमा रहेको रकम नेपाल सरकारले कोष खारेज गर्दाका बखत तोकेको निकायमा दाखिला गरिनेछ।
२१. दिग्दर्शन बनाउन सक्नेः समितिले रुग्ण उद्योगको पुनरुत्थान कार्यक्रम कार्यान्वयन गर्न तत्सम्बन्धी आवश्यक कार्यविधिको व्यवस्था गर्न दिग्दर्शन बनाउन सक्नेछ।