कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली, २०६७
नेपाल राजपत्रमा प्रकाशित मिति २०६८।८।२६
संशोधन १. कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली (पहिलो संशोधन), २०८३ २०८३।०३।२५
कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली, २०६७” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ सम्झनु पर्छ। (ख) “प्रमाणपत्र” भन्नाले नियम १४ बमोजिम प्रदान गरिएको समूह दर्ताको प्रमाणपत्र सम्झनु पर्छ। (ग) “मन्त्रालय” भन्नाले भूमि सुधार तथा व्यवस्था मन्त्रालय सम्झनु पर्छ। (घ) “समूह” भन्नाले नियम १४ बमोजिम दर्ता भएको मुक्त कमैयाहरुको समूह सम्झनु पर्छ।
३. मुक्त कमैयाको वर्गीकरणः मन्त्रालयले मुक्त कमैयालाई बसोबास गराउन, रोजगार दिलाउन तथा आय आर्जन सम्बन्धी कार्यको लागि समितिको सिफारिसमा देहाय बमोजिम वर्गीकरण गर्नेछः- (क) आफ्नो वा आफ्नो परिवारको नाममा घर र जग्गा नभएकोलाई “क” वर्ग,
(ख) सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको र आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई “ख” वर्ग,
(ग) आफ्नो वा आफ्नो परिवारको नाममा दुई कठ्ठासम्म जग्गा र घर भएकोलाई “ग” वर्ग,
(घ) आफ्नो वा आफ्नो परिवारको नाममा दुई कठ्ठा भन्दा बढी जग्गा र घर भएकोलाई “घ” वर्ग।
४. परिचयपत्र दिनेः (१) नियम ३ बमोजिम गरिएको वर्गीकरणको आधारमा कल्याणकारी अधिकृतले मुक्त कमैयालाई परिचयपत्र दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परिचयपत्र दिँदा “क” वर्गको मुक्त कमैयालाई रातो रङ्गको, “ख” वर्गको मुक्त कमैयालाई निलो रङ्गको, “ग” वर्गको मुक्त कमैयालाई पहेंलो रङ्गको र “घ” वर्गको मुक्त कमैयालाई सेतो रङ्गको परिचय पत्र दिइनेछ।
५. जग्गा सिफारिस गर्नेः (१) समितिले मुक्त कमैयालाई बसोबास तथा खेतीको लागि आवश्यक परे जग्गा पहिचान गरी मन्त्रालय समक्ष सिफारिस गर्नेछ।
(२) उपनियम (१) बमोजिम जग्गा सिफारिस गर्दा त्यस्तो जग्गा रहेको ठाउँ, कित्ता नम्बर, चार किल्ला, क्षेत्रफल तथा त्यस्तो जग्गामा बसोबास गराउन सकिने मुक्त कमैयाको सङ्ख्या समेत उल्लेख गर्नु पर्नेछ।
(३) समितिले उपनियम (१) बमोजिम जग्गा सिफारिस गर्दा देहायका जग्गाहरूमध्येबाट बसोबास तथा खेतीका लागि सबै भन्दा उपयुक्त ठहर्याएको जग्गा सिफारिस गर्नु पर्नेछः-
(क) नेपाल सरकार, सरकारी कम्पनी, नेपाल सरकारद्वारा गठित समिति, आयोग वा विकास समिति ऐन, २०१३ अन्तर्गत गठित समितिका नाममा दर्ता भएको तर नेपाल सरकार, त्यस्तो कम्पनी, समिति वा आयोगले प्रयोग नगरेको जग्गा,
(ख) वन जङ्गल नभएको सार्वजनिक वा सरकारी जग्गा,
(ग) घना वन जङ्गल नभएको सामुदायिक वा अन्य वन क्षेत्रको जग्गा,
(घ) नदी धार तथा नदी सिमाना छुट्ट्याई बाँकी रहेको सार्वजनिक वा सरकारी जग्गा,
(ङ) कुनै व्यक्तिको जग्गाको सिमानामा रहेको सार्वजनिक वा सरकारी जग्गा,
(च) मुक्त कमैयालाई एकपटक वितरण गरी नियम १० बमोजिम पुनः नेपाल सरकारको नाममा कायम गरिएको जग्गा।
६. जग्गा उपलब्ध गराउनेः (१) नेपाल सरकारले नियम ५ बमोजिम समितिले सिफारिस गरेको जग्गा मध्येबाट “क” र “ख” वर्गका मुक्त कमैयाको परिवारलाई बसोबास तथा खेतीको लागि बढीमा पाँच कठ्ठा जग्गा उपलब्ध गराउनेछ।
(२) उपनियम (१) बमोजिम जग्गा उपलब्ध गराउँदा सम्भव भएसम्म मुक्त कमैयाले उपभोग गरी आएको जग्गा उपलब्ध गराउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम मुक्त कमैयालाई जग्गा उपलब्ध गराउन नसकिने भएमा नेपाल सरकारले जग्गा खरिद गरी उपलब्ध गराउन सक्नेछ।
(४) उपनियम (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जग्गा खरिद गर्नको लागि यस नियमावली बमोजिम ऋण नलिएका मुक्त कमैयालाई जग्गा उपलब्ध गराइने छैन।
७. उपलब्ध गराइने जग्गाको अधिकतम हदः नियम ६ बमोजिम मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा देहायको क्षेत्रमा देहाय बमोजिम उपलब्ध गराइनेछः-
(क) नगरपालिका र राजमार्गसँग जोडिएको बजार क्षेत्रमा बढीमा एक कठ्ठा,
(ख) खण्ड (क) बाहेकको राजमार्गसँग जोडिएको अन्य क्षेत्रमा बढीमा दुई कठ्ठा,
(ग) खण्ड (क) र (ख) बाहेकको अन्य क्षेत्रमा बढीमा पाँच कठ्ठा।
८. जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्नेः (१) नेपाल सरकारबाट नियम ६ बमोजिम जग्गा उपलब्ध गराउने निर्णय भएपछि कल्याणकारी अधिकृतले सम्बन्धित मुक्त कमैयालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउनेछ।
(२) उपनियम (१) बमोजिमको जग्गाधनी दर्ता प्रमाण पूर्जामा त्यस्तो जग्गा कुनै व्यहोराले धितो बन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाइने कुरा समेत उल्लेख गरिनेछ।
९. धितो बन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाइनेः (१) नेपाल सरकारले मुक्त कमैयालाई उपलब्ध गराएको जग्गा वित्तीय वा अन्य संस्थामा धितो बन्धक राखी ऋण लिन वा कुनै पनि हकनियमले कसैलाई हक हस्तान्तरण गर्न पाइने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुक्त कमैयाका कानून बमोजिमका अंशियारका बीचमा अंशबण्डा गर्न र निजको शेषपछि निजका हकदारका नाममा नामसारी गर्न बाधा पर्ने छैन।
(३) ऐन तथा यस नियमावलीबमोजिम मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गा नेपाल सरकारले प्रचलित कानूनबमोजिम जग्गा प्राप्त गर्नुपर्ने भएमा मुक्त कमैयालाई सट्टाबर्थ स्वरूप अन्यत्र जग्गा उपलब्ध हुने सुनिश्चित गरी जग्गा प्राप्ति सम्बन्धी कारबाही अगाडि बढाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त भएको जग्गाको हकमा समेत उपनियम (१) र (२) बमोजिमको सर्त लागू हुनेछ।
१०. नेपाल सरकारको नाममा कायम गरिनेः (१) देहायको कुनै अवस्थामा मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गा त्यस्तो मुक्त कमैयाको नामबाट लगत कट्टा गरी नेपाल सरकारको नाममा कायम गरिनेछः-
(क) कसैले झुट्टा विवरण पेश गरी मुक्त कमैयाको परिचयपत्र वा त्यस्तो परिचयपत्रको आधारमा जग्गा प्राप्त गरेको कुरा त्यस्तो जग्गा उपलब्ध गराइसकेपछि जानकारी हुना आएमा,
(ख) मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गामा निज वा निजको परिवारले बसोबास नगरेमा वा लगातार तीन वर्ष वा सोभन्दा बढी अवधि भोग चलन नगरेमा,
(ग) यो नियम प्रारम्भ हुनु भन्दा अघि नै मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गामा निजलाई बसोबास गराउन नसकिएकोमा,
(२) उपदफा (१) को खण्ड (ग) को अवस्थामा मुक्त कमैयालाई अन्यत्र जग्गाको व्यवस्था गरिनेछ।
११. रकम तथा निर्माण सामाग्री उपलब्ध गराइनेः यस नियमावली बमोजिम जग्गा उपलब्ध गराइएका “क” वर्गका मुक्त कमैया र घर नभएका वा घर भएपनि सो ठाउँबाट
स्थानान्तरण गरिएका “ख” वर्गका मुक्त कमैयालाई एउटा घर निर्माण खर्च वापत एकपटक नेपाल सरकारले निर्णय गरे बमोजिमको रकम र काठ उपलब्ध गराइनेछ।
१२. समितिको अन्य काम, कर्तव्य र अधिकारः ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मुक्त कमैयालाई बसोबास गराउन उपयुक्त जग्गाको पहिचान गरी मन्त्रालय समक्ष सिफारिस गर्ने,
(ख) यस नियमावली बमोजिम बसोबासको लागि जग्गा उपलब्ध गराइएका, जग्गा उपलब्ध गराउन बाँकी रहेका तथा जग्गा प्राप्त गरे पनि विभिन्न कारणले जग्गा भोग गर्न नपाएका मुक्त कमैयाको अद्यावधिक लगत तयार गर्ने,
(ग) मुक्त कमैयाको लागि विभिन्न निकाय तथा गैरसरकारी संघ संस्थाहरुबाट सञ्चालन गरिने कार्यक्रमहरुको समन्वय गर्ने,
(घ) मुक्त कमैयाको आय आर्जन, व्यवसाय र रोजगार प्रवर्द्धनको लागि नेपाल सरकारले लागु गरेका कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सहयोग पुऱ्याउने।
१३. कल्याणकारी अधिकृतको काम, कर्तव्य र अधिकारः ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कल्याणकारी अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँग सम्पर्क र समन्वय गरी मुक्त कमैयाको लागि सीपमूलक तालीम तथा आय आर्जन कार्यक्रम सञ्चालन गर्ने,
(ख) सीपमूलक तालीम लिएका मुक्त कमैयाको अद्यावधिक विवरण तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको पन्ध्र दिनभित्र मन्त्रालय समक्ष पेश गर्ने,
(ग) मुक्त कमैयाको आय आर्जन, व्यवसाय र रोजगारी प्रवर्द्धनको लागि नेपाल सरकारद्वारा स्वीकृत तालीम कार्यक्रम सञ्चालन गर्ने,
(घ) कोषबाट ऋण प्राप्त गरेका मुक्त कमैयाले शर्त बमोजिम व्यवसाय सञ्चालन गरे नगरेको अनुगमन गर्ने वा गराउने,
(ङ) मुक्त कमैयालाई दिइएको ऋण असुली गर्ने,
(च) मुक्त कमैयालाई सहकारीको भावना अनुरूप सङ्गठित र परिचालित हुन प्रोत्साहन तथा सहयोग गर्ने,
(छ) रोजगारी सम्बन्धी सूचनाको संकलन गरी उपयुक्त माध्यमबाट मुक्त कमैयाहरुलाई जानकारी दिने।
१४. समूह गठन गर्न सक्नेः (१) मुक्त कमैयाहरुले संयुक्त रुपमा आय आर्जन हुने कुनै व्यवसाय सञ्चालन गर्नको लागि मुक्त कमैयाका कम्तीमा पच्चीस परिवारहरु भएको समूह गठन गर्न सक्नेछन्।
(२) उपनियम (१) बमोजिम समूह गठन गर्न चाहने मुक्त कमैयाहरुले त्यस्तो समूह दर्ता गर्नको लागि निवेदन दस्तुर बापत पचास रुपैयाँ संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा कल्याणकारी अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा समूह दर्ता गर्न उपयुक्त देखिएमा कल्याणकारी अधिकृतले मुक्त कमैयाको समूह दर्ता गरी निवेदकलाई अनुसूची-२ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ।
(४) यस नियम बमोजिम मुक्त कमैयालाई समूह दर्ता गराउने कार्यमा सहयोग पुर्याउन मन्त्रालयले समूहको विधान तथा अन्य आवश्यक कागजातको नमूना तयार गरी कल्याणकारी अधिकृत मार्फत उपलब्ध गराउने व्यवस्था गर्नेछ।
१५. नवीकरण सम्बन्धी व्यवस्थाः (१) प्रमाणपत्रको अवधि आर्थिक वर्षको अन्त्यसम्म हुनेछ।
(२) प्रमाणपत्र नवीकरण गराउन चाहने समूहले प्रमाणपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा पन्ध्र दिन अगावै प्रमाणपत्र नवीकरणको लागि पच्चीस रुपैयाँ दस्तुर सहित कल्याणकारी अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम नवीकरणको लागि निवेदन प्राप्त भएमा कल्याणकारी अधिकृतले त्यस्तो प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रमाणपत्रको अवधि समाप्त भएको तीन महिनाभित्र कुनै समूहले प्रमाणपत्र नवीकरण गर्न आएमा कल्याणकारी अधिकृतले रुपैयाँ एक सय दस्तुर लिई त्यस्तो प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ।
१६. वैदेशिक रोजगारीमा पठाउन सक्नेः नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहने मुक्त कमैयालाई वैदेशिक रोजगारीमा पठाउनको लागि उपयुक्त व्यवस्था गर्न सक्नेछ।
१७. ऋण उपलब्ध गराउन सक्नेः (१) नेपाल सरकारले यस नियमावली बमोजिम जग्गा प्राप्त नगरेका “क” र “ख” वर्गका मुक्त कमैयालाई बसोबासको निमित्त दुई कठ्ठासम्म जग्गा खरिद गर्न एक पटकको लागि ऋण उपलब्ध गराउन सक्नेछ।
(२) नेपाल सरकारले “ग” र “घ” वर्गका मुक्त कमैयालाई कुनै व्यवसाय सञ्चालन गर्न ऋण उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ।
(३) नेपाल सरकारले आयआर्जन हुने कुनै व्यवसाय गर्न चाहने मुक्त कमैया वा समूहलाई व्यक्तिगत वा सामूहिक रुपमा ऋण उपलब्ध गराउन सक्नेछ।
(४) नेपाल सरकारले वैदेशिक रोजगारमा जान चाहने मुक्त कमैयालाई हवाई टिकट खरिद गर्नको लागि ऋण उपलब्ध गराउन सक्नेछ।
(५) उपनियम (४) र (५) बमोजिमको ऋण कोषमा जम्मा भएको रकमबाट उपलब्ध गराइनेछ।
(६) यस नियम बमोजिम उपलब्ध गराइने ऋणको वार्षिक व्याज दर तीन प्रतिशत भन्दा बढी हुने छैन।
१८. ऋण माग गर्न सक्नेः (१) नियम १७ को प्रयोजनको लागि कुनै मुक्त कमैया वा समूहले ऋण लिन चाहेमा अनुसूची-३ बमोजिमको ढाँचामा कल्याणकारी अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकलाई ऋण उपलब्ध गराउन मनासिब देखिएमा देहायको अधिकारी वा निकायले मुक्त कमैया वा समूहलाई ऋण उपलब्ध गराउन सक्नेछः-
(क) पचास हजार रुपैयाँसम्मको भए सम्बन्धित कल्याणकारी अधिकृतले,
(ख) पचास हजार रुपैयाँ भन्दा बढी एक लाख रुपैयाँसम्मको भए उपसमितिले,
(ग) एक लाख रुपैयाँ भन्दा बढीको भए उपसमितिको सिफारिसमा मन्त्रालयको सचिवले।
(३) उपनियम (२) को खण्ड (ख) को प्रयोजनको लागि कल्याणकारी अधिकृतको संयोजकत्वमा मालपोत कार्यालय र नापी कार्यालयको प्रमुख रहेको एक उपसमिति रहनेछ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १७ को उपनियम (१) बमोजिमको ऋण समितिको सिफारिसमा मन्त्रालयको सचिवले उपलब्ध गराउनेछ।
१९. कबुलियत गराउनु पर्नेः नियम १८ बमोजिम ऋण उपलब्ध गराउने निर्णय भएपछि कल्याणकारी अधिकृतले ऋण रकम प्रदान गर्नु अघि मुक्त कमैया वा समूहसँग अनुसूची-४ बमोजिमको ढाँचामा कबुलियत गराउनु पर्नेछ।
२०. सम्बन्धित कामको लागि ऋण उपयोग गर्नु पर्नेः (१) मुक्त कमैया वा समूहले यस नियमावली बमोजिम प्राप्त गरेको ऋण जुन कामको लागि लिइएको हो सोही कामको लागि खर्च गर्नु पर्नेछ।
(२) उपनियम (१) विपरीत कुनै मुक्त कमैया वा समूहले ऋणको रकम खर्च गरेमा कल्याणकारी अधिकृतले जुनसुकै बखत त्यस्तो ऋणको रकम असुल उपर गर्न सक्नेछ।
२१. प्रगति विवरण पेश गर्नु पर्नेः (१) समूहले सो समूहबाट भए गरेका काम कारबाहीको विवरण सहितको प्रतिवेदन प्रत्येक तीन महिनामा कल्याणकारी अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
(२) कल्याणकारी अधिकृतले समूहद्वारा गरिएको काम कारबाहीको जुनसुकै समयमा निरीक्षण गरी समूहलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित समूहको कर्तव्य हुनेछ।
२२. अनुगमन गर्ने: (१) मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गाको उपयोग र मुक्त कमैयाको आय आर्जन तथा रोजगारीको लागि संचालित कार्यक्रमहरुको प्रभावकारिता भए वा नभएको तथा यस नियमावली बमोजिम ऋण प्राप्त गरेका मुक्त कमैयाले कबुलियत बमोजिम ऋण उपयोग गरे वा नगरेको सम्बन्धमा कल्याणकारी अधिकृतले अनुगमन गर्न वा गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा प्राप्त भएको यथार्थ विवरण सहितको प्रतिवेदन नियमित रुपमा कल्याणकारी अधिकृतले मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
२३. कार्यविधि बनाई लागू गर्ने: यो नियमावली कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ।
२४. अनुसूचीमा हेरफेर गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ।
द्रष्टव्य: १. कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली (पहिलो संशोधन), २०८३ द्वारा रुपान्तर गरिएका शब्दहरू- “भूनिसुधार कार्यालय” को सट्टा “भूनिप्रशासन कार्यालय”
अनुसूची-१ (नियम १४ को उपनियम (२) सँग सम्बन्धित) समूह दर्ता गर्नको लागि दिइने निवेदनको ढाँचा
श्री कल्याणकारी अधिकृतज्यू, भूमिप्रशासन कार्यालय, =====================================।
विषयः समूह दर्ता गरी पाऊँ ।
हामीले सामूहिक रुपमा आय आर्जन हुने व्यवसाय गर्नको लागि समूह दर्ता गर्न चाहेकोले निवेदन वापत लाग्ने दस्तुर संलग्न गरी देहायको विवरण खुलाई यो निवेदन गरेका छौं।
१. समूहको नामः
२. समूहको सम्पर्क ठेगानाः (क) जिल्लाः- (ख) न.पा.÷गा.वि.सः- (ग) वडा नं.M- (घ) फोन नं.M-
३. समूहमा रहने परिवार संख्याः-
४. समूहले गर्ने कामः-
५. समूहको आर्थिक स्रोतः-
६. अन्य विवरणः-
समूहको प्रमुख पदाधिकारीको,- सहीः- नाम,थरः- ठेगानाः- मितिः-
निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः- (१) समूहको विधान दुई प्रति, (२) समूह दर्ता सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, (३) समूहका पदाधिकारीहरुको नागरिकता र मुक्त कमैयाको परिचयपत्रको प्रतिलिपि।
अनुसूची-२ (नियम १४ को उपनियम (३) सँग सम्बन्धित) समूह दर्ताको प्रमाणपत्र
श्री ............. .......................समूह ।
मिति ........................ को निर्णयानुसार ........................ नामक मुक्त कमैया समूह दर्ता गरी तपाईलाई यो प्रमाणपत्र दिइएकोछ ।
कल्याणकारी अधिकृतको,-
सही:
कार्यालयको छाप नाम, थर:
प्रमाणपत्रको नवीकरण
अनुसूची-३ (नियम १८ को उपदफा (१) सँग सम्बन्धित) ऋण माग गर्न दिइने निवेदनको ढाँचा
श्री कल्याणकारी अधिकृतज्यू, भूमिप्रशासन कार्यालय....................।
विषयः- ऋण पाउँ ।
महोदय,
म/हामीलाई ........................ कार्य गर्नको लागि रु ..... ....................... आवश्यक परेकोले ऋण स्वरुप सो रकम उपलब्ध गराई पाउन देहायको विवरण खुलाई यो निवेदन गरेको छु/छौं।
१. ऋण माग गर्ने मुक्त कमैया वा समूहको,- (क) व्यक्ति भए नाम थरः- (ख) परिचयपत्र नं. र किसिमः- (ग) ठेगानाः- (घ) समूहमा आवद्ध भए समूहको नामः-
२. ऋण माग गर्नुको प्रयोजन,- (क) जग्गा खरिद गर्ने भए,- (१) यस नियमावली बमोजिम जग्गा प्राप्त गरे वा नगरेकाः- (२) जग्गा खरिद गर्न चाहेको क्षेत्र र जग्गाको क्षेत्रफलः- (ख) व्यवसाय गर्ने भए,- (१) व्यवसायको नामः- (२) व्यवसाय सञ्चालन गर्ने स्थानः- (३) अनुमानित लागतः-
(४) उत्पादित वस्तु खपत हुने बजार:-
(५) उत्पादित वस्तुबाट मुनाफा हुन लाग्ने अवधि:-
(६) एक वर्षमा हुन सक्ने मुनाफा:-
(ग) वैदेशिक रोजगारमा जान हवाई टिकट खरिद गर्न ऋण माग गर्ने भए,-
(१) रोजगारमा जान चाहेको मुलुक:-
(२) काम गर्ने कम्पनी र कामको विवरण:-
(३) काम वापत पाउने पारिश्रमिक रकम:-
३. यस अघि व्यवसाय सञ्चालन गर्न ऋण लिएको भए-
(१) ऋण लिएको रकम:-
(२) कुन व्यवसायको लागि ऋण लिएको हो:-
(३) ऋण चुक्ता गरेको मिति:-
४. ऋण भुक्तानीको अवधि र तरिका (ऋण भुक्तानी गर्ने अवधि र तरिका प्रस्ताव गर्ने)
निवेदकको, सही:- नाम थर:- मिति:-
निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु:-
(१) मुक्त कमैयाको परिचयपत्रको प्रतिलिपि, (२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (३) आफूले कुनै तालीम प्राप्त गरेको भए सोको प्रमाणपत्रको प्रतिलिपि, (४) व्यवसाय सञ्चालन गर्ने भए सो सम्बन्धी प्रस्ताव, (५) समूहको तर्फबाट व्यवसाय सञ्चालन गर्ने भएमा सम्बन्धित समूहको सिफारिस, (६) वैदेशिक रोजगारमा जान चाहेको भए सम्बन्धित मुलुकबाट भिसा प्राप्त भएको प्रमाण।
अनुसूची-४ (नियम १९ सँग सम्बन्धित) ऋण प्राप्त गर्ने कबुलियतनामाको ढाँचा
म/ समूह .................................... ले .................................... काम/ व्यवसायको लागि .................... रु. .................... ऋण लिए वापत देहाय बमोजिम गर्ने गरी यो कबुलियतनामा पेश गरेको छु/छौं।
१. ऋण रकम वापत लाग्ने वार्षिक व्याजदर:-
२. ऋणको रकम भुक्तानी गर्ने प्रक्रिया:-
३. ऋणको रकम समय भित्र नबुझाएमा अन्य सम्पत्तिबाट असूल गर्ने पाउने कुरा:-
४. अन्य आवश्यक कुराहरु:-
कल्याणकारी अधिकृतको, ऋण लिनेको,
सही:- सही:-
नाम, घर:- नाम, घर:-
कार्यालय:- उमेर:-
पद:- ठेगाना:-
कार्यालयको छाप:-
इति संवत् २०..... साल .......... महिना ......... गते रोज ........ शुभम्।
पद: मिति:-