करार सेवा नियमहरू, २०२६
नेपाल राजपत्रमा प्रकाशित मिति २०२६।१०।१६
संशोधन १. करार सेवा (पहिलो संशोधन) नियमावली, २०३१ २०३१।०५।१७ २. करार सेवा (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।०१।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “करार सेवा नियमहरू, २०२६” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. करारद्वारा काममा लगाउन सकिनेः (१) नेपाल सरकारले नियम ३ मा उल्लेखित कुनै अवस्था परेमा कुनै व्यक्तिलाई करारद्वारा काममा लगाउन सक्नेछ । (२) त्यस्तो करार बढीमा २ वर्षको अवधिको लागि मात्र गर्न सकिनेछ र आवश्यक परेमा करारको अवधि अर्को २ वर्ष सम्मको लागि पुनः एक पटक बढाउन सकिनेछ । तर– विशेष अवस्था परेमा कुनै विशेषज्ञहरू एकै पटकमा ५ वर्षसम्मको लागि करार सेवामा काममा लगाउन सकिनेछ । (३) नेपाल सरकारले करारनामा गराउँदा सो करारमा काममा लगाइने व्यक्तिले पूरा गर्नु पर्ने काम र कर्तव्य, निजले पाउने पारिश्रमिक र सुविधा, काममा लगाइने अवधि तथा अन्य सेवाका शर्तहरू स्पष्ट उल्लेख गरी निजको र नेपाल सरकारको तर्फबाट
① पहिलो संशोधनद्वारा संशोधित ।
काममा लगाउने अधिकारको दस्तखत गरी करारनामाको एक प्रति निजलाई र एक प्रति सम्बन्धित कार्यालयमा राख्नु पर्नेछ ।
३. करारद्वारा काममा लगाउने अवस्थाः देहायको अवस्था परेमा बाहेक अन्य कुनै अवस्थामा करारद्वारा कुनै व्यक्तिलाई काममा लगाउन सकिनेछः–
(क) नेपाल सरकारको कुनै खास काम गर्नको लागि नेपाल सरकारको सम्बन्धित निजामती सेवाभित्र उपयुक्त व्यक्ति नभएमा, वा
(ख) नेपाल सरकारको कुनै विशेषज्ञ कर्मचारीले अवकाश प्राप्तगदा निजको काम सम्हाल्न अर्को कुनै योग्य सरकारी कर्मचारी नभई निज नै विशेष रूपमा उपयुक्त भएमा ।
४. करारद्वारा काममा लगाउन अयोग्यताः देहाय बमोजिमको कुनै व्यक्ति करारद्वारा काममा लगाउन योग्य मानिने छैन ।
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहरिएको, वा
(ख) भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य ठहरिने गरी बर्खास्त भएको ।
५. करारद्वारा काममा लगाउन परामर्श लिनु पर्नेः नियम २ बमोजिम कुनै व्यक्तिलाई करारद्वारा काममा लगाउन परेमा त्यसरी काममा लगाउन अगावै काममा लगाउन परेको अवस्था र कारण खोली सामान्य प्रशासन मन्त्रालयको र लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।
६. करारनामामा तोक्नु पर्ने अन्य सर्तहरूः नियम २ बमोजिम करारनामा गराउँदा सो करारनामामा अन्य कुराहरूको अतिरिक्त देहायका सर्तहरूसमेत तोक्नु पर्नेछः–
(क) करारद्वारा काममा लगाइएका व्यक्तिले प्रचलित कानून बमोजिम निजामती कर्मचारीले पालना गर्नु पर्ने आचरणको पालना गर्नु पर्ने,
(ख) करारद्वारा काममा लगाइएका व्यक्तिले खण्ड (क) मा उल्लिखित आचरण पालना नगरेमा वा निजलाई लगाइएको काम अनुसारको जिम्मेवारी पूरा नगरेमा वा भ्रष्टाचार गरेमा, वा नैतिक पतन देखिने फौजदारी अपराध गरेमा वा कार्यालयको समयमा बराबर मादक पदार्थको सेवन गरेमा नेपाल सरकारले करार अन्त गर्न सक्ने, र
(ग) करारद्वारा काममा लगाइएको व्यक्तिले करारनामाको शर्त विपरीत काम गरी वा अन्य गैर जिम्मेवार काम गरी नेपाल सरकारलाई हानी नोक्सानी पर्न गएमा निजबाट त्यसको हर्जाना भराउन सक्नेछ ।