कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।१२।०२
कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ४० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम "कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) नियमावली, २०७७" रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "ऐन" भन्नाले कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० सम्झनु पर्छ।
(ख) "कसूरजन्य सम्पत्ति वा साधन" भन्नाले कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन सम्झनु पर्छ।
(ग) "कार्यालय" भन्नाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बाहेकका अन्य जिल्लाको जिल्ला प्रशासन कार्यालय सम्झनु पर्छ।
परिच्छेद-२ सम्पत्ति वा साधन रोक्का तथा नियन्त्रण
३. कसूरजन्य सम्पत्ति वा साधनको खोजतलासः (१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा तहकीकातको सिलसिलामा कुनै व्यक्तिसँग कसूरजन्य सम्पत्ति वा साधन रहे भएको देखिएमा वा त्यस्तो सम्पत्ति वा साधन कुनै निकाय, संस्था वा व्यक्तिले लुकाई छिपाइ राखेको शङ्का गर्नु पर्ने मनासिब वा पर्याप्त आधार भएमा त्यस्तो सम्पत्ति वा साधनको खोजतलास गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम खोजतलास गर्ने सिलसिलामा अनुसन्धान अधिकारीले प्रचलित कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी सोधपुछ गर्न, बयान लिन, खानतलासी गर्न र प्राप्त सम्पत्ति बरामद गर्न सक्नेछ ।
४. कसूरजन्य सम्पत्ति वा साधनको पहिचान: (१) अनुसन्धान अधिकारीले नियम ३ बमोजिम सम्पत्ति वा साधनको खोजतलास गर्दा कुनै सम्पत्ति वा साधन फेला पारेमा त्यस्तो सम्पत्ति वा साधन कसूरजन्य सम्पत्ति वा साधन हो वा होइन भन्ने कुराको यकीन गरी पहिचान गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारीले कुनै सम्पत्ति वा साधन कसूरजन्य सम्पत्ति वा साधन हो वा होइन भन्ने कुराको यकीन गर्दा देहायको आधार लिन सक्नेछ :-
(क) त्यस्तो सम्पत्ति वा साधनको सरकारी निकाय वा अन्य कुनै निकायले अभिलेख राख्ने रहेछ भने त्यस्तो अभिलेख,
(ख) त्यस्तो सम्पत्ति वा साधन प्राप्तिको आधार र स्रोत,
(ग) त्यस्तो सम्पत्ति वा साधन प्राप्त गर्दाको अवस्था,
(घ) अनुसन्धान अधिकारीले आवश्यक ठानेको अन्य आधार।
५. रोक्का राख्ने वा नियन्त्रणमा लिने: नियम ४ बमोजिम पहिचान भएको सम्पत्ति वा साधन अनुसन्धान अधिकारीले ऐनको दफा ४ बमोजिम कसैले उपयोग तथा हक वा स्वामित्व हस्तान्तरण गर्न नपाउने गरी तत्काल रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ।
६. मूल्याङ्कन गर्नु पर्ने: (१) नियम ५ बमोजिम रोक्का राखेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधनको सम्बन्धमा अनुसन्धान अधिकारीले ऐनको दफा १९ को उपदफा (१) बमोजिमको आधारमा मूल्याङ्कन गरी मूल्य खुलाई सोको अभिलेख राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम मूल्य कायम गर्दा त्यस्तो सम्पत्ति वा साधनको गुणस्तर, प्रयोगको अवस्था तथा अवधि समेतलाई दृष्टिगत गरी मूल्य कायम गर्नु पर्नेछ।
७. सहयोग लिन सक्ने: (१) कसूरजन्य सम्पत्ति वा साधन खोजतलास गर्दा, त्यस्तो सम्पत्ति वा साधन रोक्का वा नियन्त्रणमा लिँदा वा त्यस्तो सम्पत्ति वा साधनको मूल्य कायम गर्दा अनुसन्धान अधिकारीले आवश्यकता अनुसार कुनै सरकारी निकाय, स्थानीय तह, संस्था वा व्यक्तिसँग आवश्यक सहयोग माग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु सम्बन्धित सरकारी निकाय, स्थानीय तह, संस्था वा व्यक्तिको कर्तव्य हुनेछ।
८. विवरण पठाउनु पर्ने: (१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा तहकीकातको सिलसिलामा नियम ५ बमोजिम रोक्का राखेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधनको विवरण अनुसूची-१ बमोजिमको ढाँचामा कार्यालय वा विभागमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारीबाट विवरण प्राप्त भएपछि कार्यालयले सोको अभिलेख राखी प्रत्येक महिना त्यस्तो विवरण विभागमा पठाउनु पर्नेछ।
(३) ऐनको दफा ६ बमोजिम कार्यालयले बैंकमा जम्मा गरेको विदेशी मुद्रा, विनिमय अधिकारपत्र वा बहुमूल्य धातु वा वस्तु सम्बन्धी विवरण र ऐनको दफा ७ बमोजिम धरौटी खातामा जम्मा गरेको रकमको विवरण प्रत्येक महिना अनुसूची-२ बमोजिमको ढाँचामा विभागमा पठाउनु पर्नेछ।
(४) यस नियम बमोजिम विवरण पठाउँदा विद्युतीय माध्यमबाट समेत पठाउन सकिनेछ।
परिच्छेद-३ सम्पत्ति वा साधन लिलाम बिक्री, प्रयोग तथा नष्ट गर्ने सम्बन्धी
९. धरौटी जम्मा गर्नु पर्ने: ऐन बमोजिम जफत गरिएका सम्पत्ति वा साधनको लिलाम बिक्रीमा सहभागी हुन चाहने व्यक्तिले ऐनको दफा १८ बमोजिम त्यस्तो सम्पत्ति वा साधनको मूल्याङ्कन भई कायम भएको रकमको बीस प्रतिशत रकम विभाग वा कार्यालयले तोकिदिएको धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
१०. लिलाम बिक्री गरेको विवरण पठाउने: (१) विभाग वा कार्यालयले ऐनको दफा २१ बमोजिम लिलाम बिक्री गरिएका सम्पत्ति वा साधनको विवरण लिलाम साकार गरेको सात दिनभित्र अनुसूची-३ बमोजिमको ढाँचामा सम्बन्धित अदालतमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कार्यालयले अदालतमा पठाएको विवरणको लिखित जानकारी विभागलाई समेत दिनु पर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिमको विवरणको अभिलेख विभागले राख्नु पर्नेछ।
११. सम्पत्ति वा साधन प्रयोग गर्न सकिने: (१) ऐन तथा यस नियमावली बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन अनुसन्धान अधिकारीले नोक्सान नहुने वा कुनै किसिमले क्षति नपुग्ने गरी सुरक्षित राख्नु पर्नेछ।
(२) ऐन तथा यस नियमावली बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनबाट आयस्ता प्राप्त हुन सक्ने देखिएमा विभागले इच्छुक व्यक्ति वा संस्थासँग सरकारी सम्पत्ति लिजमा दिने सम्बन्धी प्रचलित कानून बमोजिम करार गरी त्यस्तो सम्पत्ति वा साधन भाडामा लगाउन वा लिजमा दिन वा खेतीयोग्य जग्गा भए खेती लगाउन वा अन्य कुनै आयस्ता हुने काममा प्रयोग गर्न वा उपयुक्त रूपमा व्यवस्थापन गर्न वा गराउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम सम्पत्ति वा साधन प्रयोग गर्दा कुनै आयस्ता भएमा सोको सञ्चालन खर्च कटाई बाँकी रकम ऐनको दफा ७ बमोजिम धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
१२. सम्पत्ति वा साधन नष्ट गर्नु पर्ने: (१) विभाग वा कार्यालयले ऐनको दफा ११ बमोजिम जफत गरेको कुनै सम्पत्ति वा साधनमध्ये ऐनको दफा २० को उपदफा (च) बमोजिम लिलाम बिक्री हुन नसकेका, सार्वजनिक हित वा जनस्वास्थ्यको दृष्टिले प्रयोगमा ल्याउन नहुने भई नष्ट गर्नु पर्ने देखिएका, प्रचलित कानून बमोजिम नष्ट गर्नु पर्ने भनी उल्लेख भएका, सड्नगल्न गरी नष्ट भई जाने प्रकृतिका सम्पत्ति वा साधन नष्ट गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्पत्ति वा साधन नष्ट गर्दा विभागले भए महान्यायाधिवक्ताको कार्यालय, महालेखा नियन्त्रकको कार्यालय र प्रहरी प्रधान कार्यालयको प्रतिनिधिको रोहबरमा र कार्यालयले भए सम्बन्धित सरकारी वकील कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको रोहबरमा नष्ट गर्नु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सम्पत्ति वा साधनको कुनै भाग पुनः प्रयोग गर्न सकिने वा लिलाम बिक्री हुन सक्ने भएमा त्यस्तो भाग छुट्याई बाँकी भाग मात्र नष्ट गर्नु पर्नेछ।
(४) उपनियम (१) वा (३) बमोजिम कुनै सम्पत्ति वा साधन नष्ट गर्नु अघि त्यस्तो सम्पत्ति वा साधनको नाम, परिमाण, अनुमानित मूल्य, त्यस्तो सम्पत्ति वा साधनको धनी वा प्राप्त गरिएको स्रोत र मिति समेत खुलाई मुचुल्का तयार गरी राख्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम तयार गरिएको मुचुल्काको प्रति विभागले भए सम्बन्धित अदालतमा र कार्यालयले भए विभाग र सम्बन्धित अदालतमा समेत पठाउनु पर्नेछ।
१३. नेपाल सरकारको नाममा कायम गर्ने: (१) ऐनको दफा ११ बमोजिम जफत हुने ठहरी ऐनको दफा २० बमोजिम लिलाम बिक्री हुन नसकेको वा ऐनको दफा १७ को उपदफा (२) बमोजिम नेपाल सरकारले उपयोग गर्ने निर्णय गरेको अचल सम्पत्ति नेपाल सरकारको नाममा कायम गर्न विभाग वा कार्यालयले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो सम्पत्ति नेपाल सरकारको नाममा कायम गरी सोको जानकारी विभाग र कार्यालयलाई दिनु पर्नेछ।
परिच्छेद-४ विবিধ
१४. विभागको अन्य काम, कर्तव्य र अधिकार: ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त विभागको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) ऐनको दफा २४ को अधीनमा रही कोषको रकम प्रयोग गर्ने सम्बन्धमा आवश्यक कार्यक्रम बनाई स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ख) कसूरको अनुसन्धान तथा तहकीकातको सिलसिलामा रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको संरक्षण सम्बन्धमा समय समयमा अनुगमन तथा निरीक्षण गर्ने,
(ग) रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन सम्बन्धमा कार्यालय वा अन्य निकायलाई आवश्यक निर्देशन दिने,
(घ) कसूरजन्य सम्पत्ति वा साधन रोक्का, नियन्त्रण वा जफत गर्ने सम्बन्धमा अनुसन्धान अधिकारीसँग आवश्यक समन्वय गर्ने।
१५. कोषको प्रयोग: (१) कोषको रकम प्रयोग गर्नु अघि समितिबाट कार्यक्रम स्वीकृत गराउनु पर्नेछ।
(२) समितिको स्वीकृति बिना कोषको रकम खर्च गर्ने गरी कार्यक्रम बनाउन र खर्च गर्न हुँदैन।
१६. धरौटी खाताको सञ्चालन: ऐनको दफा १५ बमोजिमको धरौटी खाताको सञ्चालन विभागको प्रमुख वा निजले तोकेको विभागको कुनै अधिकृतस्तरको कर्मचारी र आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।
१७. धरौटी फिर्ता: (१) ऐनको दफा ७ बमोजिम धरौटी खातामा जम्मा गरेको रकम जुन सम्पत्ति वा साधनबाट प्राप्त भएको हो त्यस्तो सम्पत्ति वा साधन कसूरजन्य सम्पत्ति वा साधन नभएको भनी अदालतबाट अन्तिम फैसला भएमा त्यस्तो रकम सम्बन्धित धनीलाई फिर्ता दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम धरौटी खातामा जम्मा गरेको रकम फिर्ता लिनको लागि सम्बन्धित धनीले फैसलाको जानकारी पाएको मितिले छ महिनाभित्र सो फैसलाको प्रतिलिपि साथै राखी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको हकमा विभागमा र अन्य जिल्लाको हकमा कार्यालयमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको निवेदन परेमा विभाग वा कार्यालयले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो व्यक्तिलाई रकम फिर्ता गर्नु पर्ने देखिएमा निजलाई भरपाई गराई त्यस्तो रकम फिर्ता दिनु पर्नेछ।
(४) उपनियम (२) बमोजिमको अवधिभित्र रकम फिर्ताको लागि निवेदन नपरेमा त्यस्तो रकम तथा अदालतको अन्तिम फैसलाबाट जफत हुने ठहरेको कसूरजन्य सम्पत्ति वा साधन बापतको धरौटी खातामा जम्मा गरेको रकम विभाग वा कार्यालयले कोषमा जम्मा गर्नु पर्नेछ।
१८. समितिको अन्य काम, कर्तव्य र अधिकार: ऐनको दफा २६ मा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) अदालतको आदेश बमोजिम जफत भएका सम्पत्ति वा साधनको व्यवस्थापन तथा प्रयोग सम्बन्धमा विभागलाई आवश्यक निर्देशन दिने,
(ख) कोषको रकमको प्रयोग गर्ने सम्बन्धमा विभागबाट पेश भएका कार्यक्रम स्वीकृत गर्ने।
१९. अनुसूचीमा हेरफेर गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ।
अनुसूची-१ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) रोक्का राखेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधनको विवरण
विवरण तयार गर्ने,- $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ विवरण प्रमाणित गर्ने,- नाम, थर : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम, थर : पद : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद : दस्तखत : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत : मिति : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति :
अनुसूची-२ (नियम ८ को उपनियम (३) सँग सम्बन्धित) बैङ्कमा जम्मा गरेको विदेशी मुद्रा, विनिमय अधिकारपत्र वा बहुमूल्य धातु वा वस्तु सम्बन्धी विवरण
विवरण तयार गर्नेको,- $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ विवरण प्रमाणित गर्नेको,- नाम, थर : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम, थर : पद : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद : दस्तखत : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत : मिति : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति :
अनुसूची-३ (नियम १० को उपनियम (१) सँग सम्बन्धित) लिलाम बिक्री गरेको सम्पत्ति वा साधनको विवरण
विवरण तयार गर्नेको,- विवरण प्रमाणित गर्नेको,- नाम, थर : नाम, थर : पद : पद : दस्तखत : दस्तखत : मिति : मिति :