कार्य सञ्चालन कोष नियमावली, २०५२
नेपाल राजपत्रमा प्रकाशित मिति २०५२।१२।२६
संशोधन कार्य सञ्चालन कोष (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
कार्य सञ्चालन कोष ऐन, २०४३ को दफा १० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “कार्य सञ्चालन कोष नियमावली, २०५२” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,– (क) “ऐन” भन्नाले कार्य सञ्चालन कोष ऐन, २०४३ सम्झनु पर्छ। (ख) “सम्बन्धित निकाय” भन्नाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयद्वारा कार्य सञ्चालन कोष स्थापना गर्नको निमित्त स्वीकृति प्राप्त गरेको कुनै मन्त्रालय अन्तर्गत रहेको निकाय सम्झनु पर्छ।
३. कोषको खाताको सञ्चालनः ऐनको दफा ५ को उपदफा (१) बमोजिम खोलिएको कोषको खाताको सञ्चालन सम्बन्धित मन्त्रालयले तोकेको सम्बन्धित निकायको अधिकृतको दस्तखतबाट हुनेछ।
४. कोषको रकम खर्च गर्ने प्रक्रियाः कोषमा जम्मा रहेको रकमबाट सम्बन्धित निकायको विशेष कार्य सञ्चालन गर्नको निमित्त वा ऐनको दफा ५ को उपदफा (२) मा उल्लेख भए बमोजिम कच्चा पदार्थ तथा स्पेयर पाटर्स् खरीद एवं मर्मत गर्ने प्रयोजनको निमित्त खर्च गर्दा
सम्बन्धित निकायले *सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून बमोजिमका प्रक्रियाहरु पूरा गर्नु पर्नेछ।
५. कोषको हिसाब पेश गर्नु पर्नेः ऐनको दफा ६ बमोजिम मन्त्रालयले तोकिदिएको अधिकारीले कोषको वार्षिक हिसाब महालेखा नियन्त्रक समक्ष पेश गर्दा अनुसूची बमोजिमको ढाँचामा कोषको आय-व्ययको विवरण समेत पेश गर्नु पर्नेछ।
६. कोषको लेखा र लेखापरीक्षणः (१) सम्बन्धित निकायले कोषको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राख्नु पर्नेछ।
(२) सम्बन्धित निकायले कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट गराउनु पर्नेछ। तर कोषको आन्तरिक लेखा परीक्षण सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुनेछ।
अनुसूची (नियम ५ सँग सम्बन्धित)
(क) कोषको रकम नेपाल सरकारबाट कोषको निमित्त प्रदान भएको जम्मा रु. ................
(ख) मौज्दात साल तमामको अन्तमा बाँकी रहेको रकम (बैङ्क नगद) रु. ................... साल तमामको अन्तमा बाँकी जिन्सी माल सामानको मूल्य रु. .................... जम्मा रु. ...............
(ग) बचत वा नोक्सान (क) बाट (ख) कटाई बाँकी रहेको बचत वा नोक्सानः– रु. .........................
..................... .................... पेश गर्ने सदर गर्ने लेखा प्रमुख कार्यालय प्रमुख*