कार्यालय स्थापना गर्ने सम्बन्धी नियमहरू, २०४०
नेपाल राजपत्रमा प्रकाशित मिति २०४०।०४।०९
संशोधन कार्यालय स्थापना गर्ने सम्बन्धी (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।०१।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “कार्यालय स्थापना गर्ने सम्बन्धी नियमहरू, २०४०” रहेको छ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. कार्यालय स्थापना गर्दा कार्यक्षेत्र तोक्नेः नेपाल सरकारले केन्द्रीय कार्यालय बाहेक अरू कुनै कार्यालय स्थापना गर्दा क्षेत्र, अञ्चल, जिल्ला, जिल्लाको इलाका, नगर वा गाउँ विकास समिति र वडाको सिमानालाई आधारमानी कार्यक्षेत्र तोकनु पर्नेछ।
तर आवश्यकता अनुसार एउटै जिल्लाभित्रको कुनै एक वा एकभन्दा बढी *गाउँ विकास समिति वा नगरपालिकाको सिमानालाई आधार मानी कार्यक्षेत्र तोक्न पनि सकिनेछ।
३. एक कार्यालयको लागि बढी कार्यक्षेत्र तोक्न सकिनेः (१) नियम २ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले एक भन्दा बढी क्षेत्र, अञ्चल, जिल्ला, जिल्लाको इलाका, नगर वा गाउँ विकास समिति र वडाको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्रभित्र रहने गरी कार्यालय स्थापना गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम कार्यालय स्थापना गर्दा देहायबमोजिमको व्यवस्था गर्नुपर्नेछः–
(क) एकभन्दा बढी जिल्लाको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्रभित्र रहने गरी कार्यालय स्थापना गर्दा प्रत्येक जिल्लाको लागि छुट्टा छुट्टै इकाई र बजेटको व्यवस्था गर्नुपर्नेछ । त्यस्तो कार्यालय जुन जिल्ला सदरमुकाममा स्थापना गरिने हो सो सदरमुकाम समेत तोकनु पर्नेछ ।
(ख) एकभन्दा बढी अञ्चलको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्रभित्र रहने गरी कार्यालय स्थापना गर्दा प्रत्येक अञ्चलको लागि छुट्टा छुट्टै इकाई र बजेटको व्यवस्था गर्नुपर्नेछ । त्यस्तो कार्यालय जुन अञ्चल सदरमुकाममा स्थापना गरिने हो सो सदरमुकाम समेत तोकनु पर्नेछ ।
(ग) एकभन्दा बढी क्षेत्रको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्र रहने गरी कार्यालय स्थापना गर्दा प्रत्येक क्षेत्रको लागि छुट्टा छुट्टै इकाई र बजेटको व्यवस्था गर्नुपर्नेछ । त्यस्तो कार्यालय जुन क्षेत्रीय सदरमुकाममा स्थापना गरिने हो सो सदरमुकाम समेत तोकनु पर्नेछ ।
४. यी नियमाहरू बमोजिम कार्यक्षेत्र तोक्नुपर्नेः यी नियमाहरू प्रारम्भ हुनुभन्दा अघि स्थापना भै रहेको कार्यालयमध्ये नियम २ वा ३ बमोजिम कार्यक्षेत्र नतोकेका कार्यालयहरूको कार्यक्षेत्र पनि यी नियमाहरू प्रारम्भ भएको मितिले ६ महिनाभित्र यसै नियमावली बमोजिम तोक्नु पर्नेछ ।
द्रष्टव्यः– १. गाउँ विकास समिति ऐन, २०४८ द्वारा रूपान्तर भएका शब्दहरूः– “गाउँ सभा” वा “गाउँ पञ्चायत” को सट्टा “गाउँ विकास समिति” । २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।*