केन्द्रीय अनुसन्धान ब्युरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७०
राजपत्रमा प्रकाशित मिति २०७०।०३।०३
प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद – १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस नियमावलीको नाम “केन्द्रीय अनुसन्धान ब्युरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७०” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अनुसन्धान अधिकृत” भन्नाले नियम ६ मा उल्लिखित अपराधको अनुसन्धान तहकीकातको लागि निर्देशकले तोकेको प्रहरी अधिकृत सम्झनु पर्छ। (ख) “निदेशक” भन्नाले नियम ८ बमोजिम तोकिएको ब्युरोको निदेशक सम्झनु पर्छ। (ग) “ब्युरो” भन्नाले नियम ३ बमोजिम स्थापना भएको केन्द्रीय अनुसन्धान ब्युरो सम्झनु पर्छ। (घ) “मुद्दा” भन्नाले ब्युरोद्वारा अनुसन्धान तहकीकात भई मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएको मुद्दा सम्झनु पर्छ। (ङ) “सूत्र” भन्नाले अपराध अनुसन्धान सम्बन्धी सूचना सङ्कलनका लागि ब्युरोद्वारा नियम १२ बमोजिम परिचालन गरिएको व्यक्ति सम्झनु पर्छ।
परिच्छेद – २ केन्द्रीय अनुसन्धान ब्युरो सम्बन्धी व्यवस्था
३. ब्युरोको स्थापना: प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान तहकिकात गर्ने अपराधको गम्भीरता, अपराधको प्रकृति, अपराधमा संलग्न गिरोह वा त्यसले समाजको शान्ति सुरक्षामा पाउने असरको आधारमा त्यस्ता अपराधको विशिष्टीकृत अनुसन्धान तहकिकात गर्ने र अन्य कुनै प्रहरी कार्यालयबाट भइरहेको वा हुने अनुसन्धान तहकिकातको कार्यमा सहयोग गर्ने एक केन्द्रीय अनुसन्धान ब्युरो रहनेछ।
४. ब्युरोको कार्यालय: ब्युरोको मुख्य कार्यालय काठमाण्डौ उपत्यकाभित्र रहनेछ र आवश्यकता अनुसार नेपालको अन्य स्थानमा पनि स्थायी वा अस्थायी प्रकृतिको शाखा कार्यालय स्थापना गर्न सकिनेछ।
५. रेखदेख, नियन्त्रण तथा समन्वय: प्रहरी महानिरीक्षकको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही ब्युरोले यस नियमावली बमोजिमको कार्य सम्पादन गर्नेछ।
६. ब्युरोले अनुसन्धान गर्ने अपराधहरु: ब्युरोले देहाय बमोजिमका अपराधहरुको अनुसन्धान तहकिकात गर्नेछ:–
(क) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ बमोजिम सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान तहकिकात हुने अपराधहरु मध्ये जघन्य, संगठित वा सार्वजनिक चासो वा राष्ट्रिय महत्वको विषय वा मानव अधिकारको गम्भीर उल्लंघन वा राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशील महसुस गरी प्रहरी महानिरीक्षकले तोकिदिएका अपराधहरु, र
(ख) कुनै प्रहरी कार्यालयको अधिकारक्षेत्रभित्र पर्ने भए तापनि त्यस्तो अपराधको अनुसन्धान तहकिकात ब्युरोले गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकबाट तोकिएका अपराधहरु।
७. प्रहरी कर्मचारी सम्बन्धी व्यवस्थाः (१) व्यूरोमा आवश्यक संख्यामा प्रहरी कर्मचारीहरु रहनेछन्।
(२) व्यूरोमा प्रहरी कर्मचारी खटाउँदा अपराधको अनुसन्धान तहकीकातमा विशेष दक्षता हासिल गरेका वा तालीम प्राप्त गरेका प्रहरी कर्मचारीलाई प्राथमिकता दिनु पर्नेछ।
(३) निर्देशक बाहेक अन्य प्रहरी कर्मचारीको सामान्यतया कम्तीमा दुई वर्ष अवधि पुरा नभई अन्यत्र सरुवा गरिने छैन।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीलाई काममा राखिरहँदा व्यूरोद्वारा गरिने अनुसन्धान तहकीकातको कार्यमा नकारात्मक असर पुग्न जाने देखिएमा निर्देशकको सिफारिसमा त्यस्तो प्रहरी कर्मचारीलाई अन्यत्र सरुवा गर्न सकिनेछ।
(५) व्यूरोमा कार्यरत प्रहरी कर्मचारीको अन्यत्र सरुवा गर्दा निर्देशकको राय लिनु पर्नेछ।
परिच्छेद – ३ निर्देशकको काम, कर्तव्य र अधिकार
८. निर्देशकको रुपमा कामकाज गर्न तोक्नेः (१) नेपाल सरकारले निर्देशकको रुपमा कामकाज गर्न नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम कामकाज गर्न तोकिएको निर्देशक व्यूरोको प्रशासकीय प्रमुखको रुपमा रहनेछ।
९. निर्देशकको काम कर्तव्य र अधिकारः निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) व्यूरोमा प्राप्त हुन आएका अपराधहरुको पूर्ण व्यवसायीक ढङ्गले अनुसन्धान तहकीकात गर्ने वा गराउने,
(ख) मातहत अनुसन्धान अधिकृतबाट भए गरेका अनुसन्धान तहकीकात कार्यको नियमित रुपमा अनुगमन तथा मूल्याङ्कन गर्ने,
(ग) मातहत अनुसन्धान अधिकृत एवं अनुसन्धान इकाई वा शाखा कार्यालयहरुको नियन्त्रण र रेखदेख गर्ने,
(घ) जघन्य, जटिल एवं राष्ट्रिय चासोका अपराधको अनुसन्धान तहकीकात सम्बन्धी विषयमा प्रहरी प्रधान कार्यालयमा राय सुझाव पठाउने,
(ङ) ब्युरोको दैनिक प्रशासकीय कामकारबाही सञ्चालन गर्ने,
(च) अन्तर्राष्ट्रिय अपराध, संगठित अपराधहरुको अनुसन्धान कार्यमा मित्र राष्ट्रका अनुसन्धान निकायहरुसँग समन्वय गरी कार्य सञ्चालन गर्ने,
(छ) अपराधको अनुसन्धान तहकीकात सम्बन्धी समसामयिक विषयमा मिडिया एवं सरोकारवालाहरुसँग समन्वय गरी सूचना प्रवाहको व्यवस्था मिलाउने,
(ज) ब्युरोमा कार्यरत जनशक्तिको वृत्ति विकास, तालीम तथा अन्य सुविधाहरु सम्बन्धमा योजना बनाउने र सो को कार्यान्वयनको लागि आवश्यक कार्य गर्ने,
(झ) ब्युरोको कार्यप्रणाली, अनुसन्धान प्रणाली तथा अपराधको स्थिति बारे नियमित रुपमा प्रहरी महानिरीक्षक समक्ष प्रतिवेदन पेश गर्ने,
(ञ) ब्युरोद्वारा गरिएका अपराधको अनुसन्धान तहकीकात सम्बन्धी क्रियाकलापहरुको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र प्रहरी महानिरीक्षक समक्ष पेश गर्ने,
(ट) प्रहरी महानिरीक्षकबाट तोकिए बमोजिमका अन्य कार्य गर्ने।
परिच्छेद – ४ सूत्र परिचालन सम्बन्धी व्यवस्था
१२. सूत्र परिचालन: (१) अपराधको सूचना प्राप्त गर्न वा अपराधको अनुसन्धान तहकीकातको कार्यमा सहयोग पुग्ने सूचना सङ्कलनको लागि ब्युरोले गोप्यरुपमा सूत्र परिचालन गर्न सक्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि सर्वसाधारण, पूर्व अपराधी, विभिन्न पेशामा संलग्न स्वदेशी वा विदेशी व्यक्ति सूत्रको रुपमा परिचालन हुन सक्नेछन्।
(३) उपनियम (१) बमोजिमको सूत्र, निजको नियुक्ति तथा सूत्र परिचालन सम्बन्धी विवरण गोप्य रहनेछ ।
(४) उपनियम (१) बमोजिमका सूत्रहरुको नियुक्ति, परिचालन र बखँसी सम्बन्धी कार्य गर्नको लागि व्यूरोमा देहाय बमोजिमको सूत्र परिचालन समिति रहनेछः–
(क) निर्देशक – अध्यक्ष (ख) व्यूरोमा कार्यरत वरिष्ठतम् प्रहरी वरिष्ठ उपरीक्षक – सदस्य (ग) व्यूरोमा कार्यरत वरिष्ठतम् प्रहरी उपरीक्षक – सदस्य–सचिव
(५) उपनियम (४) बमोजिमको सूत्र परिचालन समितिले सूत्रको नियुक्ति, परिचालन तथा बखँसी सम्बन्धी कार्यविधि आफै तय गर्नेछ।
१३. सूत्रको वर्गीकरणः (१) व्यूरोमा देहाय बमोजिमको सूत्रहरु रहने छन्ः–
(क) स्थायी सूत्र (ख) अस्थायी सूत्र
(२) नियमित रुपमा मासिक पारिश्रमिक प्राप्त गर्ने गरी उपनियम (१) को खण्ड (क) बमोजिमको सूत्रको नियुक्ति गर्न सकिनेछ। स्थायी सूत्रहरुको कामको उपादेयता तथा दक्षताको आधारमा देहाय बमोजिम वर्गीकरण गरिनेछः–
(क) विशेष सूत्र (ख) सामान्य सूत्र
(३) नियमित रुपमा पारिश्रमिक नपाउने तर काम विशेषको लागि एकमुष्ठ पारिश्रमिक पाउने वा नपाउने गरी अस्थायी सूत्रको नियुक्ति गर्न सकिनेछ।
१४. पारिश्रमिक निर्धारणः नियम १३ बमोजिम नियुक्ति पाएको सूत्रले प्रत्येक आर्थिक वर्षको लागि विनियोजित बजेटको अधीनमा रही नियम १२ को उपनियम (३) बमोजिमको सूत्र परिचालन समितिले निर्धारण गरे बमोजिमको पारिश्रमिक पाउनेछ।
१५. अभिलेख गोप्य राख्ने: व्यूरोको अनुसन्धान तहकिकातको कार्यमा परिचालित सूत्रहरुको कामको स्तर, कामको क्षेत्र, सूत्रबाट हुन सक्ने जोखिम वा कमजोरी, सम्पर्क ठेगाना लगायतका विषयमा इन्टेलिजेन्स प्रमुख र निर्देशकले गोप्य अभिलेख राख्नु पर्नेछ।
१६. खर्चको विवरण: सूत्र परिचालन सम्बन्धी खर्चको सम्पूर्ण विवरण अद्यावधिक राख्नु पर्नेछ।
१७. सूत्रबाट हटाउन सक्ने: नियम १२ बमोजिम नियुक्त गरिएको सूत्र अनुपयोगी ठहरिएमा वा निजको व्यावसायिकता र इमान्दारितामा शंका उत्पन्न भएमा नियम १२ को उपनियम (३) बमोजिमको सूत्र परिचालन समितिले निजलाई जुनसुकै बखत पनि सूत्रबाट हटाउन सक्नेछ।
परिच्छेद – ५ विविध
१८. साक्षी, सुराकी, उजुरीकर्ताको संरक्षण सम्बन्धी व्यवस्था: (१) कुनै मुद्दामा साक्षी रहेको कुनै व्यक्तिलाई अदालत समक्ष उपस्थित हुन वा अदालतमा बकपत्र गरिसके पछि आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको सुरक्षामा खतरा रहेको छ भन्ने लागेमा सो को कारण खुलाई आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको सुरक्षाको प्रबन्ध गरिदिन व्यूरो समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा व्यूरोले त्यस्तो व्यक्ति वा निजको परिवारको सदस्यलाई सुरक्षा उपलब्ध गराउन सम्बन्धित महानगरीय प्रहरी आयुक्तको कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयलाई लेखी पठाउनेछ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित महानगरीय प्रहरी आयुक्तको कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयले आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ ।
(४) उजुरीकर्ता वा सुराकी वा निजको परिवारको सदस्यको सुरक्षाको लागि त्यस्तो उजुरीकर्ता वा सुराकीको नाम, थर, वतन लगायत परिचयात्मक विवरणलाई आवश्यकता अनुसार कुनै काल्पनिक वा सांकेतिक नाम दिई व्यूरोले अनुसन्धान तहकिकातको कार्य अगाडि बढाउन सक्नेछ।
१९. अभियुक्त तथा दसी प्रमाण राख्नेः (१) व्यूरोले अनुसन्धान तहकीकात गरेको अपराधको अभियुक्तलाई हिरासतमा लिनु परेमा व्यूरोले आफ्नै वा नजिकको प्रहरी कार्यालयको हिरासतमा राख्न सक्नेछ।
(२) व्यूरो आफैंले अनुसन्धान तहकीकातको सिलसिलामा कब्जामा लिएको वा प्राप्त हुन आएको अपराधसँग सम्बन्धित दसी प्रमाण आफैसँग राख्न वा आवश्यकता अनुसार नजिकको प्रहरी कार्यालयमा सुरक्षितसाथ राख्न लेखी पठाउन सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम व्यूरोबाट कुनै अभियुक्त वा अपराधसँग सम्बन्धित दसी प्रमाण राख्न कुनै प्रहरी कार्यालयलाई अनुरोध गई आएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो अभियुक्त वा दसी प्रमाणलाई प्रचलित कानून बमोजिम राख्नु पर्नेछ।
२०. अनुसन्धान अधिकृतको अधिकारः (१) अनुसन्धान अधिकृतले अनुसन्धान तहकीकातको कार्य सम्पादन गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४, सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ तथा अन्य प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई प्राप्त भए बमोजिमका सम्पूर्ण अधिकारहरु प्रयोग गर्न सक्नेछ।
(२) आफ्नो कार्य सम्पादन गर्ने क्रममा व्यूरोमा खटिएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम स्थानीय प्रहरीलाई भए सरहको अधिकार प्रयोग गरी आफ्नो कार्य नेपालभर सञ्चालन गर्न सक्नेछ।
२१. पोसाकः (१) व्यूरोका प्रहरी कर्मचारीहरुले लगाउने पोसाकको सम्बन्धमा देहायमा उल्लेख भए बमोजिम हुनेछः–
(क) पोसाक मर्यादित र सादा हुनु पर्नेछ।
(ख) कार्यालय समयमा पोसाकमा व्यूरोको लोगो समेत लगाउनु पर्नेछ।
(ग) अनुसन्धान तहकीकातको लागि फिल्डमा खटिदा त्यस्तो खटिने प्रहरी कर्मचारीले आफ्नो ईच्छा अनुसारको पोसाक लगाउन सक्नेछ।
(२) व्यूरोको प्रहरी कर्मचारीहरुको पोसाकमा लगाउने लोगोको स्वरुप र आकार प्रहरी प्रधान कार्यालयबाट निर्धारण भए बमोजिम हुनेछ।
(३) ब्युरोको प्रहरी कर्मचारीहरुको पोसाकको अनुकूलता, प्रतिकूलता र आवश्यकताको विश्लेषण गरी प्रहरी प्रधान कार्यालयले समय समयमा आदेश जारी गरी त्यस्तो पोसाक परिवर्तन गर्न सक्नेछ।
२२. अन्य व्यक्ति वा निकायको सहयोग माग गर्न सक्नेः ब्युरोले अपराधको अनुसन्धान तहकीकातको सिलसिलामा आवश्यकता अनुसार चिकित्सक, विशेषज्ञ, प्रयोगशाला लगायत विभिन्न व्यक्ति तथा निकायको सहयोग माग गर्न सक्नेछ।
२३. ब्युरोलाई सहयोग गर्नु पर्नेः ब्युरो वा अनुसन्धान अधिकृतबाट कुनै अपराधको अनुसन्धान तहकीकातको क्रममा कुनै सहयोग माग भएमा उक्त कार्यमा सहयोग गर्नु प्रत्येक व्यक्ति, कार्यालय र संस्थाको कर्तव्य हुनेछ।
२४. थप भत्ता सुविधाः ब्युरोमा खटिइने प्रहरी कर्मचारीले नेपाल सरकारले उपलब्ध गराए बमोजिमको थप भत्ता सुविधा प्राप्त गर्न सक्नेछ।
२५. यसै नियमावली बमोजिम हुनेः यस नियमावलीमा लेखिए जति कुरामा यसै नियमावली बमोजिम र अन्य कुराको हकमा प्रहरी नियमावली, २०४९ बमोजिम हुनेछ।
द्रष्टव्य: केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ द्वारा रुपान्तरित भई मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधन गरिएका शब्दहरु:-
"सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची-१" को सट्टा "मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१"।