खप्टड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४
नेपाल राजपत्रमा प्रकाशित मिति २०४४।७।२
संशोधन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी केही नियमहरूलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “खप्टड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, - (क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ । (ख) “निकुञ्ज” भन्नाले खप्टड राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ । (ग) “संरक्षक” भन्नाले निकुञ्जको प्रशासनको अभिभारा भएको निकुञ्जको मुख्य अधिकृत सम्झनु पर्छ । (घ) “सहायक संरक्षक” भन्नाले निकुञ्जको सहायक संरक्षक सम्झनु पर्छ । (ङ) “धार्मिक क्षेत्र” भन्नाले खप्टड राष्ट्रिय निकुञ्जभित्रको कुनै क्षेत्रमा सिमाङ्कन गरी धार्मिक क्षेत्र भनी छुट्याइएको क्षेत्र सम्झनु पर्छ । (च) “स्थानीय व्यक्ति” भन्नाले निकुञ्जको क्षेत्रले घेरिएको वा निकुञ्जसँग जोडिएको गाउँमा स्थायी बसोबास गरेको व्यक्ति सम्झनु पर्छ । (छ) “विभाग” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्झनु पर्छ ।
३. निकुञ्जको सिमाना: निकुञ्जको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।
४. निकुञ्जभित्र प्रवेश: निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले संरक्षकबाट अनुसूची-१ बमोजिमको प्रवेशपत्र लिनु पर्नेछ र प्रवेशपत्र लिँदा अनुसूची -२ बमोजिमको दस्तूर लाग्नेछ ।
५. प्रवेश निषेध गर्न सक्ने: निकुञ्जको हितको लागि संरक्षकले निकुञ्जभित्र कुनै पनि व्यक्तिको प्रवेश निषेध गर्न सक्नेछ ।
तर यसरी प्रवेश निषेध गर्दा स्थानीय व्यक्ति तथा निकुञ्ज भएर मात्र पुगि सकिने गाउँको व्यक्तिलाई निकुञ्जको बाटो भएर आवत जावत गर्न रोक लगाएको वा नियम २० बमोजिमको तोकिएको बाटोबाट आवागमन गर्न रोक लगाएको मानिने छैन ।
६. निकुञ्जमा प्रवेश आफ्नो दायित्वमा हुने: प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई निकुञ्जभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी चोटपटक वा मृत्यु भए बापत क्षतिपूर्तितर्फ निमित्त नेपाल सरकार जिम्मेवार हुनेछैन ।
७. निकुञ्जभित्र निषिद्ध कार्यहरू: संरक्षकको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र देहायका कार्यहरू गर्न गराउन पाउने छैन ।
(क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरू बनोट बनाउन वा भोग गर्न, (ख) कुनै भू-भागमा कब्जा गर्न, वनस्पति सफा गर्न वा नोक्सानी पुर्याउन, आवाद गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, (ग) घरपालुवा जीवजन्तु वा पंक्षी चरी चराउन र तिनिहरूलाई खोला वा पोखरीमा पानी खुवाउन, (घ) रुख, वृक्षलावा, झाडी वा अन्य कुनै वनस्पति काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा त्यस्तो वनस्पति सुक्ने कुनै काम गर्न वा त्यस्तो वनस्पतिमा आगो लगाउन वा अरु कुनै प्रकारको हानी नोक्सानी पुर्याउन, (ङ) कुनै स्थानमा रात बिताउन, क्याम्प गर्न वा आगो बाल्न,
(च) ढुङ्गा बालुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ माटो वा अन्य त्यस्तै पदार्थ हटाउन वा कुनै किसिमले जग्गालाई क्षति पुर्याउन, (छ) निकुञ्जभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फकाउन वा त्यसमा कुनै हानिकारक वा विष्फोटक पदार्थहरू प्रयोग गर्न, (ज) बाहिरी वातावरणमा भएको (एक्जोटिक) बिरुवा, जीवजन्तु वा पंक्षी निकुञ्जभित्र ल्याउन वा छाड्न। तर खप्टङ राष्ट्रिय निकुञ्ज स्थापना हुनु अघि निकुञ्जभित्र कानूनी अधिकार पाएर बसेका स्थानीय बासिन्दाहरूको आफ्नो भोगको जग्गामा यो नियम लागू हुने छैन।
८. धार्मिक क्षेत्रभित्र निषिद्ध कार्यहरू: कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जभित्रका धार्मिक क्षेत्रभित्र देहायका कार्यहरू गर्न पाउने छैन:-
(क) कुनै पशु, पंक्षीलाई मार्न, बली चढाउन वा मासु बिक्री गर्न, खान वा खुवाउन, (ख) कुनै मादक पदार्थ बिक्री गर्न वा सेवन गर्न, (ग) पूजा तथा अन्य धार्मिक कार्यको लागि बाहेक धर्मशालामा रात बिताउन, (घ) चरी चराउन वा गोठ राख्न, (ङ) तोकिएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा आगो बाल्न।
९. साथमा राख्न, लैजान वा प्रयोग गर्न नपाइने वस्तुहरू: संरक्षकको लिखित अनुमति नलिई कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेश गर्दा वा रहँदा वा नियम २० बमोजिम तोकिएको बाटोबाट हिँड्दा देहायका चीज वस्तुहरू साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउने छैन:-
(क) धनुषवाण, भाला, दजन, पासो, जाल, धराप, वा चोट पुर्याउन सक्ने वा गोली प्रयोग हुने जुनसुकै हातहतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू, (ख) आखेटोपहार वा कुनै वन्यजन्तुका सुकेको वा आलो मासु।
तर स्थानीय व्यक्ति र निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँको व्यक्तिले आफ्नो घरायसी कामको लागि खुकुरी, बन्चरो र यस्तै हातहतियार मात्र निकुञ्जभित्रबाट लैजान बाधा पर्नेछैन ।
१०. वनस्पति वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन नहुने: कसैले निकुञ्जभित्र वा बाहिरबाट आगो लगाई वा अन्य कुनै किसिमले निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
११. वन्यजन्तु वा पंक्षीको शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने: निकुञ्जको हितको लागि उपयुक्त हुने काम गर्न वा वैज्ञानिक अनुसन्धानको निम्मित नमूना संकलन गर्न ऐन अन्तर्गत इजाजत प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षकको लिखित अनुमति प्राप्त नगरी कुनै व्यक्तिले निकुञ्जभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्न, लखेट्न वा तसणउन वा कुनै पनि वन्यजन्तु, पंक्षी वा कीट किटाणुलाई मार्न, पक्रिन वा चोट पुर्याउन वा अन्य कुनै पनि पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला टाउन बिगार्न वा खलबल्याउन वा कुनै कीट किटाणु, माछा वा प्राकृतिक उपज संकलन गर्न हुँदैन ।
१२. अनुमति नलिई माछा मार्न नपाइने: (१) कुनै व्यक्तिले अनुसूची अनुसूची -२ बमोजिम लाग्ने दस्तूर तिरी संरक्षकबाट अनुसूची -३ बमोजिमको ढाँचाको अनुमतिपत्र नलिई निकुञ्जभित्र रहेको खोला वा पोखरीको माछा मार्न हुँदैन ।
(२) प्राथमिक क्षेत्रभित्रको खोला वा पोखरीमा माछा मार्न पाइने छैन ।
(३) यस नियम बमोजिम अनुमतिपत्र नलिई माछा मार्न चाहने व्यक्तिले माछा मार्दा बल्छी बाहेक अन्य साधन प्रयोग गर्न हुँदैन ।
(४) उपनियम (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि चैत्र १ गतेदेखि आश्विन मसान्तसम्म माछा मार्न पाइने छैन ।
१३. विभागको पूर्व स्वीकृति लिनु पर्ने: कसैले निकुञ्जभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा विभागको पूर्व स्वीकृति प्राप्त गरी त्यस्तो काम गर्न सक्नेछ । त्यसरी स्वीकृति प्राप्त गरी गरेको अनुसन्धानको एकप्रति विभाग समक्ष पेश गर्नु पर्नेछ ।
तर अनुसन्धान कार्य गर्ने इजाजत प्राप्त व्यक्तिले निकुञ्जको हितको प्रतिकूल असर पर्ने कुनै काम कारबाही गर्नु हुँदैन। निकुञ्जको हितको प्रतिकूल असर पर्ने काम कारबाही गरेकोमा त्यस्तो कार्य संरक्षकले तत्काल रोकी सम्पूर्ण विवरण सहित विभागमा पठाउनु पर्नेछ र विभागले पनि त्यसरी आएको विवरणमा आवश्यक जाँचबुझ गर्दा निकुञ्जको हितको प्रतिकूल असर पर्ने काम कारबाही गरेको ठहरे त्यस्तो अनुसन्धान कार्य गर्ने इजाजत रद्द गर्न सक्नेछ।
१४. पोष्टर टाँस्न वा राख्न नपाउने: निकुञ्जको प्रयोजनको लागि निकुञ्जको कार्यालयको कर्मचारीले बाहेक निकुञ्जभित्र अन्य कसैले पनि कुनै किसिमको चिन्हपट्ट, सूचनापट्ट, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन।
१५. बाजाघर बजाउन नपाउने: निकुञ्जभित्रको धार्मिक स्थल वा निवास स्थान, होटल, लज वा रेस्टुराँमा बाहेक अन्यत्र कसैले रेडियो, टेप रेकर्ड वा अन्य कुनै बाजाघर बजाउन पाउने छैन।
१६. फोहरमैला गर्ने वा फाल्न नपाउने: कसैले निकुञ्जभित्र फोहरमैला गर्ने वा फोहर फाल्न हुँदैन।
१७. विष्ालु पदार्थ फ्याँक्न, हाल्न वा छर्न नपाउने: निकुञ्जभित्र वा निकुञ्जभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लागू वा विष्ालु पदार्थ फ्याँक्न वा निकुञ्ज भएर बग्ने नदी, खोला वा पानीको अन्य कुनै स्रोतमा हाल्न वा छर्न वा निकुञ्जभित्र पुग्ने गरी अत्तरिकाबाट हाल्न समेत हुँदैन।
१८. इशारा संकेत मान्नु पर्ने: निकुञ्जको क्षेत्रभित्र सबै सवारी चालक, पैदल यात्री वा तीर्थयात्रीले निकुञ्जको कर्मचारीले गरेको इशारा वा संकेतलाई वा त्यस्तो इशारा वा संकेत जनाउनको लागि राखिएको कुनै चिन्हपट्ट बमोजिम सवारी चलाउनु र हिँड्नु पर्नेछ।
१९. आवागमनमा प्रतिबन्ध: होटल, लज वा तोकिएको स्थानमा बाहेक संरक्षकको लिखित अनुमति बिना साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म कसैले निकुञ्जभित्र पस्न वा हिँडडुल गर्न वा याक वा खच्चड लगायतका कुनै पनि किसिमको सवारी हिँडाउन हुँदैन।
तर स्थानीय व्यक्ति वा निकुञ्ज भएर मात्र पुग्ने गाँउको व्यक्तिलाई निकुञ्जको बाटो भएर आवात जावत गर्न वा सरकारी कर्मचारीले आफ्नो कामकाजको सिलसिलामा कुनै पनि समयमा निकुञ्जभित्र प्रवेश गर्न बाधा पर्ने छैन ।
२०. बाटोको सुविधा: (१) संरक्षकले निकुञ्जभित्र सर्वसाधारणको सुविधाको लागि अनुसूची-४ मा तोकिए बमोजिमको बाटोबाट पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिँडाउन याक वा खच्चड लगायत कुनै पनि किस्मको सवारी हिँडाउन, चिन्हपट्ट लगाइ त्यस्तो बाटो तोक्न सक्नेछ र सर्वसाधारण जनताले पनि त्यसरी चिन्हपट्ट लगाई तोकिएको बाटो मात्र उपयोग गर्नुपर्नेछ ।
(२) संरक्षकको लिखित अनुमति बिना कुनै पनि अवस्थामा कसैले उपनियम (१) बमोजिम चिन्हपट्ट लगाई तोकिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।
(३) उपनियम (१) मा जुनसुकै कुराले लेखिएको भए तापनि प्रतिकूल मौसममा चिन्हपट्ट लगाई तोकिएको कुनै बाटो बन्द गर्न उपयुक्त ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म संरक्षकले सो बाटो बन्द गर्न सक्नेछ ।
२१. सवारी साधन वा घरपालुवा जीवजन्तु पक्रि कारबाहीको लागि बुझाउने: यस नियमावली बमोजिम निकुञ्जभित्र सुविधा दिइएको बाटो बाहेक अन्य बाटोबाट सवारी साधन वा घरपालुवा जीवजन्तु हिँडाएको भेटिएमा संरक्षक वा निजले खटाएको कर्मचारीले त्यस्तो सवारी साधन वा घरपालुवा जीवजन्तु पक्रि सम्बन्धित अधिकारी समक्ष कारबाहीको लागि बुझाउनेछ ।
२२. गिरफ्तार गर्न सकिने: (१) संरक्षकबाट वारेन्ट प्राप्त गरी सहायक संरक्षक, वन्यजन्तु सुरक्षा गाईड वा निकुञ्जका अन्य कर्मचारीले कुनै व्यक्तिलाई ऐनको विखिलाप काम गरेको अभियोगमा गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको घर, मालसामान वा सवारी साधनको खानतलासी लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुराले लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा बिना वारेन्ट पनि सहायक संरक्षक, रेञ्जर वा जमदार दर्जासम्मका वन्यजन्तु सुरक्षा गाईडले अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सक्नेछ ।
२३. निकुञ्जभित्र प्रवेश गर्दा पालना गर्नु पर्ने कुराहरू: प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने प्रत्येक व्यक्तिले देहायका कुराहरूको पालना गर्नु पर्नेछ:-
(क) निकुञ्जभित्र प्रवेश गरेपछि आफ्नो वा आफ्नो साथमा जाने पथप्रदर्शक, भरिया, भान्छे वा अन्य व्यक्तिले प्रयोग गरेका खानेकुरा, बट्टाहरू, मादक पदार्थ वा अन्य वस्तुका शिशाहरू, फिलिमका रीलका बट्टाहरू, प्याक गर्ने कागजपत्रहरू, प्लाष्टिकका थैलाहरू, अक्सिजनका भाडा वा सिलिन्डर, अन्य फ्याँक्ने सरसामग्रीहरू संरक्षक वा निकुञ्जका अन्य कुनै कर्मचारीले तोकेको ठाउँमा फाल्नु पर्नेछ।
(ख) निकुञ्जभित्र आफ्नो र आफ्नो साथमा जाने पथप्रदर्शक, भरिया, भान्छे वा अन्य कुनै व्यक्तिको दैनिक उपभोगको लागि चाहिने काठ, दाउरा, स्याउला र पाल्को किला वा कुनै अन्य प्रयोजनको लागि चाहिने काठ निकुञ्जको झाडी, बुट्यान वा ढलेको रूख वा खडा रूख समेतबाट प्रयोग गर्नु हुँदैन र त्यस्तो काठ दाउरा स्थानीय व्यक्तिबाट खरिद गर्नु समेत हुँदैन।
(ग) निकुञ्जभित्र प्रवेश गर्दा आफ्नो र आफ्ना साथमा जाने पथप्रदर्शक, भरिया, भान्छे वा अन्य कुनै व्यक्तिको लागि पर्याप्त मात्रामा चाहिने मट्टितेल, ग्यास, पेट्रोल वा अन्य यस्तै इन्धन निकुञ्जभित्र प्रवेश गर्ने बखत आफूसँग साथमा हुनु पर्नेछ।
२४. प्रवेश दस्तुरमा छुट: (१) सरकारी काम कारबाहीको सिलसिलामा कुनै कर्मचारी निकुञ्जभित्र प्रवेश गर्दा दस्तुर लाग्ने छैन।
(२) कसैले निकुञ्जभित्र पर्ने कुनै धार्मिक स्थलमा आफ्नो परम्परा अनुसार पाठपूजा वा दर्शन गर्नेको लागि निकुञ्जभित्र प्रवेश गर्दा दस्तुर लाग्ने छैन।
(३) निकुञ्जभित्र वा निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँमा स्थापित सार्वजनिक संस्थामा काम गर्ने नेपाली तथा गैरनेपाली कर्मचारीलाई र त्यस्तो संस्थाको सेवा उपभोग गर्ने व्यक्तिलाई र नियम २० बमोजिम बाटोको सुविधा प्रयोग गर्ने स्थानीय व्यक्तिलाई प्रवेश दस्तुर लाग्ने छैन।
(४) नियम ३१ बमोजिम नेपाल सरकारसँग करार गरी कुनै सेवा सञ्चालन गर्ने व्यक्ति वा संस्थाको कर्मचारीको प्रवेश दस्तुरको हकमा सोही करारमा लेखिए बमोजिम हुनेछ ।
(५) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहेका कुनै शिक्षण संस्था वा अन्य कुनै संस्थाको व्यक्ति वा दललाई निकुञ्जभित्र संरक्षकले निःशुल्क प्रवेश गर्न दिन सक्नेछ ।
२५. दुर्घटना तथा मृत्यु भएमा सूचना गर्नु पर्ने: निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्ति दुर्घटनामा परेमा वा मृत्यु भएमा त्यस्तो व्यक्तिसँग साथमा गएका अन्य व्यक्तिले सो कुराको सूचना निकुञ्जको प्रहरी चौकी वा निकुञ्जको कार्यालयमा गर्नु पर्नेछ ।
२६. क्षेत्र छुट्याउन सक्ने: निकुञ्जको व्यवस्थापनको लागि संरक्षकले आवश्यकता अनुसार निकुञ्जलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्न सक्नेछ ।
२७. काठ दाउरा दिन सकिने: (१) घर बनाउन वा घर मर्मत गर्न काठ दाउरा लिन चाहने स्थानीय व्यक्तिले वन पैदावार बिक्री वितरण सम्बन्धी प्रचलित नियम बमोजिमको दस्तूर बुझाएमा संरक्षकले त्यस्तो व्यक्तिलाई अनुसूची-५ बमोजिमको काठ दाउरा लिन पाउने पूजी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिएको पूजी बमोजिमको काठ दाउरा सोही पूजीमा तोकिएको क्षेत्रबाट लिनु पर्नेछ ।
२८. खर, घाँस, निगालो वा लोता दिन सकिने: (१) घर बनाउन, घर मर्मत गर्न वा कुटीर उद्योगको लागि खर, घाँस, निगालो वा लोता लिन चाहने स्थानीय व्यक्तिले अनुसूची-२ मा तोकिए बमोजिमको दस्तूर बुझाएमा संरक्षकले त्यस्तो व्यक्तिलाई अनुसूची-६ बमोजिमको खर, घाँस, निगालो वा लोताको पूजी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको पूजी बमोजिमको खर, घाँस, निगालो वा लोता संरक्षकले तोकेको क्षेत्रबाट तोकेको अवधिसम्म मात्र दिइनेछ ।
२९. लगत लिन सकिने: संरक्षकले निकुञ्जको कार्यालयको अभिलेखको लागि स्थानीय व्यक्तिहरू तथा निजहरूको घर, खेतबारी र घरपालुवा जीवजन्तुहरूको लगत अनुसूची-७ बमोजिमको ढाँचामा लिन सक्नेछ ।
३०. निस्सा दिन र चिन्ह लगाउन सक्ने: संरक्षकले निकुञ्जको हितको लागि स्थानीय व्यक्तिलाई परिचयको निस्सा दिन र निज रूको घरपालुवा जीवजन्तुलाई चिन्ह लगाउन सक्नेछ।
३१. चरी चराउन सक्ने: आफ्नो घरपालुवा जीवजन्तुलाई निकुञ्जभित्र चरी चराउन चाहे वा गोठ राख्न चाहे स्थानीय व्यक्तिले अनुसूची-२ मा तोकिए बमोजिमको दस्तूर बुझाउन पर्नेछ र त्यस्तो व्यक्तिलाई संरक्षकले तोकेको क्षेत्रमा तोकेको अवधिको लागि चरी चराउन वा गोठ राख्न अनुसूची-८ बमोजिमको अनुमतिपत्र दिन सक्नेछ।
तर निकुञ्जभित्र चरीचराउन दिन मनासिव नहुने ठाउँमा संरक्षकले कुनै खास समयसम्मका लागि चरीचराउन वा गोठ राख्ने अनुमति बन्द गर्न सक्नेछ।
३२. नेपाल सरकारले निकुञ्जको हितको लागी सेवा संचालन गराउन सक्ने: (१) निकुञ्जको हितको लागि नेपाल सरकारले निकुञ्जभित्र होटल, लज, छाप्रो, सार्वजनिक यातायात वा यस्तै किसिमको अन्य सेवा वा सुविधाको व्यवस्था आफैं वा अन्य व्यक्तिसित करार गरी संचालन गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम अन्य व्यक्तिबाट सेवा संचालन गराउँदा नेपाल सरकारले आवश्यकता अनुसार त्यसको शर्त तोक्न सक्नेछ।
(३) यो नियमावली लागू हुनु भन्दा अघिदेखि निकुञ्जभित्र संचालन भएका होटल, लज, रेष्टुराँ वा चिया पसलको मालिकले यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र यस नियमावली बमोजिम नेपाल सरकारसँग करार गर्नु पर्नेछ।
३३. मुद्दा हेर्ने अधिकारी: (१) ऐन र यस नियमावलीको अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार निकुञ्जभित्रको लागि निकुञ्जको संरक्षकलाई हुनेछ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई र निज रहेकोमा रेञ्जरलाई हुनेछ:-
(क) नियम ४ को बखिलाप प्रवेशपत्र नलिई निकुञ्जभित्र प्रवेश गरेमा,
(ख) नियम ७ को खण्ड (ग), (ङ) वा (च) को विपरित कुनै कामकारबाही गरेमा वा सोही नियमको खण्ड (घ) को विपरित पाँच सय रुपैयाँसम्म मोल पर्ने वनपैदावारमा कसैले किसिमले हानि नोक्सानी पुर्याएमा, (ग) नियम ८ को विपरित धार्मिक क्षेत्रभित्र निषिद्ध कार्य गरे गराएमा, (घ) नियम १२ को विपरित अनुमति नलिई माछा मारेमा, (ङ) नियम १४ को विपरित कुनै चिन्हपट्ट, सूचना, विज्ञापन वा पोष्टरहरू टाँसेमा वा राखेमा, (च) नियम १५ को विपरित कुनै किसिमको बाजा बजाएमा, (छ) नियम १६ को विपरित फोहर मैला गरेमा वा फ्याँकेमा, (ज) नियम १८ को विपरित इशारा वा संकेत दिएमा, (झ) नियम १९ को विपरित निकुञ्जनभित्र पसेमा, हिँडडुल गरेमा वा सवारी चलाएमा, (ञ) नियम २० को विपरित तोकिएको बाटो छोडी अन्यत्रबाट यात्रा गरेमा, घरपालुवा जीवजन्तु हिँडाएमा वा कुनै सवारी चलाएमा।
३४. निर्माण कार्य गर्न नेपाल सरकारको स्वीकृति लिनु पर्ने: निकुञ्जनभित्र कुनै सरकारी वा गैरसरकारी निर्माणकार्य वा योजना सञ्चालन गर्दा गराउँदा नेपाल सरकार तथा भू-संरक्षण मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
३५. प्रवेश शुल्क लगाउन सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अवधि तोकी वा तोकी नेपाली नागरिकलाई निकुञ्जनभित्र प्रवेश शुल्क लगाउन सक्नेछ।
३६. सहायक संरक्षकको अधिकार: निकुञ्जमा संरक्षक नभएको अवस्थामा नियम ३३ को उपनियम (१) बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक यस नियमावली बमोजिमको संरक्षकको अधिकार सहायक संरक्षकले प्रयोग गर्न पाउनेछ।
३७. अनुसूचीमा संशोधन गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीहरूमा संशोधन गर्न सक्नेछ ।
द्रष्टव्य :- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:- "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार" ।
अनुसूची-१ (नियम ४ सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरा प्रवेशपत्र
सि.नं. ................ मिति: .........
१. प्रवेश पत्र लिने व्यक्ति नाम, थर, बतन:- २. उमेर:- ३. नागरिकता:- ४. प्रवेश स्थान:- ५. प्रवेश दस्तूर:-
प्रवेशपत्र प्रदान गर्ने अधिकारीको:- नाम:- सही:- दर्जा:- कार्यालयको छाप:-
द्रष्टव्य: १. प्रवेशपत्रको अको पृष्ठमा निकुञ्ज सम्बन्धी नियमहरू उल्लेख गरिएका छन् । २. निकुञ्जभित्र रहुञ्जेल प्रत्येक व्यक्तिले प्रवेशपत्र आफ्नो साथमा राख्नु पर्नेछ र निकुञ्जको सम्बन्धित कर्मचारीले हेर्न चाहेमा जुनसुकै बखत देखाउनु पर्नेछ ।
अनुसूची-२ (नियम ४, १२, २८ र ३१ सँग सम्बन्धित) दस्तूर
(क) राष्ट्रिय निकुञ्जको प्रवेश दस्तुर (प्रतिव्यक्ति प्रतिप्रवेश): नेपाली नागरिकलाई रु. १००।- साके मुलुकभित्रका अन्य नागरिकलाई रु. ५००।- अन्य विदेशी नागरिकलाई रु. १,५००।- (दश वर्षभन्दा मुनिका केटाकेटीलाई दस्तूर लाग्ने छैन ।)
(ख) माछा मार्ने दस्तुर: नेपाली नागरिकलाई रु. १००।- साके मुलुकभित्रका नागरिकलाई रु. ५००।- अन्य विदेशी नागरिकलाई रु. १,०००।-
(ग) क्याम्पिङ (बासबस्ने) दस्तुर (प्रतिव्यक्ति प्रत्येक रातको लागि): नेपाली नागरिकलाई रु. १००।- साके मुलुकभित्रका अन्य नागरिकलाई रु. ५००।- अन्य विदेशी नागरिकलाई रु. १,०००।-
(घ) खर, घाँस, निगालो र लोक्ता बापतको पूँजी दस्तुर: खर र घाँस (प्रतिपूँजी) रु. १०।- निगालो (प्रति भारी) रु. २५।- लोक्ता (प्रति भारी) रु. ५०।-
(ङ) चरीचरान वा गोठ राख्ने दस्तुर (प्रतिगोटा): राँगा, भैँसी रु. ५०।- गधा, खच्चर, घोडा रु. १००।- गोरु रु. २५।- भेडा, बाख्रा र अन्य यस्तै जीवजन्तु रु. १०।-
(च) हेलिकप्टर अवतरण / Hovering समेत प्रत्येक पटकको लागि रु. ३,०००।-
= मिति २०७५।६।२९ को राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
(छ) सिनेमा (डकुमेन्ट्री फिल्म) छायाङ्कन दस्तुर:
नेपाली नागरिकलाई रु. १०,०००।- साकुमुलुकभित्रका नागरिकलाई रु. ५०,०००।- अन्य विदेशी नागरिकलाई यु.एस. डलर १,५०० बराबरको नेपाली रुपैयाँ
द्रष्टव्य: ड्रोनबाट सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन गर्दा यसको अन्तरिरि थप २५ (पच्चीस) प्रतिशत शुल्क लाग्नेछ। छायाङ्कन टोलीका साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ।
(ज) डकुमेन्ट्री बाहेक अन्य प्रयोजनको लागि ड्रोनको प्रयोग गर्दा प्रचलित प्रक्रिया पूरा गरेपछि सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कनको लागि तोकिएको दस्तुर लाग्नेछ।
(झ) तालिमप्राप्त पञ्जीकृत गाइडले निकुञ्जभित्र गाइड सेवा उपलब्ध गराए बापत प्रतिगाइड प्रति वर्ष गाइड शुल्क रु. १,०००।-
द्रष्टव्य:
(क) उल्लिखित दस्तुरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ। (ख) रीतपूर्वकको प्रवेशपत्र बाहेक मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ। (ग) घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाटो लेजाँदा दस्तुर लाग्ने छैन। (घ) गाइड शुल्क बुझाउने गाइडलाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन। (ङ) प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत अतिरिक्त दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ। (च) उद्धारको लागि खटिएको हेलिकप्टरलाई शुल्क लाग्ने छैन। (छ) चरीचरन वा गोठ राख्नको लागि दिइएको अनुमति पत्र तीन महिनासम्मको लागि मात्र मान्य हुनेछ।
अनुसूची - ३ (नियम १२ सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरा अनुमतिपत्र
सि.नं.: ................. मिति: ...............
अनुमति पत्र लिने व्यक्तिको नाम, थर, वतन:- उमेर:- नागरिकता:- माछा मार्न पाउने खोला वा पोखरीको नाम, खण्ड:- माछा मार्दा पालन गर्नु पर्ने शर्त:- अनुमति पत्र दस्तूर:-
अनुमतिपत्र प्रदान गर्ने अधिकारी:- नाम:- सही:- दर्जा:- कार्यालयको छाप:-
अनुसूची-४ (नियम २० को उपनियम (१) सँग सम्बन्धित)
बाटोहरू
१. लोखडा खप्टड झिग्राना मूलबाटो २. कुडौँ खप्टड झिग्राना मूलबाटो ३. रातो माटो खप्टड झिग्राना मूलबाटो ४. बलेल्तो सहस लिङ्ग- खप्टड झिग्राना मूलबाटो
अनुसूची-५ (नियम २७ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरा काठ दाउरा लिन पाइने पूजी
सि.नं.: ............ मिति: ................
१. पूजी लिने व्यक्तिको नाम, थर, वतन:- २. उमेर:- ३. नागरिकता:- ४. पूजी बहाल रहने अवधि:- ५. निकुञ्जभित्र काठ दाउरा लिन पाउने क्षेत्र:- ६. काठ दाउराको किसिम र परिमाण:- ७. टाँचा लगाउन पर्नेमा लगाइने टाँचाको विवरण:- ८. पूजी दस्तूर:-
पूजी दिने अधिकारीको:- नाम:- सही:- दर्जा:- कार्यालयको छाप:-
अनुसूची-६ (नियम २८ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरा
सि.नं.: ........... मिति: ................
खर/घाँस/निगालो/लोत्ता लिन पाउने पूजी
१. पूजी लिने व्यक्तिको नाम, थर, बतन:- २. उमेर:- ३. पूजी बहाल रहने अवधि:- ४. निकुञ्जभित्र खर, घाँस, निगालो वा लोत्ता लिन पाउने क्षेत्र:- ५. खर, घाँस, निगालो वा लोत्ताको किसिम र परिमाण:- ६. पूजी दस्तुर:-
पूजी दिने अधिकारीको:- नाम:- सही:- दर्जा:- कार्यालयको छाप:
द्रष्टव्य:- खर, घाँस, निगालो वा लोत्ताको पूजीको म्याद दस दिनसम्म मात्र कायम रहनेछ ।
अनुसूची-७ (नियम २९ सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरा लगत लिने ढाँचा
१. गाउँको नाम:- २. *गाउँ विकास समिति र वडा:- ३. परिवारको मुख्यको नाम:- ४. परिवारको सदस्य संख्या:- (क) बाह्र वर्षमाथिको (पुरुष): ............ (महिला): ............ (ख) बाह्र वर्षसम्मको (पुरुष): ............ (महिला): ............ ५. परिवारको साक्षर संख्या:- (क) एस.एल.सी. वा सो सरह भन्दा तल (पुरुष): ............ (महिला): ............ (ख) एस.एल.सी. वा सो सरह (पुरुष): ............ (महिला): ............ (ग) एस.एल.सी. वा सो सरह भन्दा माथि (पुरुष): ............ (महिला): ............
६. घरपालुवा जीवजन्तु:- जीवजन्तुको किस्म वा जात भाले संख्या पोथी संख्या जम्मा संख्या याक, चौरी - - - भेडा, च्याङ्ग्रा - - - बोका, बाख्रा - - -
गाई, गोरु - - - भैँसी, राँगो - - - घोडा, खच्चड - - - हँस, कुखुरा तथा अन्य पंक्षी - - - कुकुर - - - बिरालो - - - अन्य जनावर - - -
७. घरको:- तल्ला:-............. गाह्रो:-(काठ, ढुङ्गा, ईँट वा अन्य):- छाना.-(काठ, ढुङ्गा जस्ता, टीन वा अन्य):- चिम्नी (भएको वा नभएको):- अन्य विवरण (केही भए):-
८. खेतबारी:- गोठ, खर्क आदि के हो त्यसको विवरण:- खेत, बारी, खर्क क्षेत्रफल:-
९. विविध:- (क) सालिन्दा चाहिने दाउराको अनुमानित भारी (प्रतिव्यक्ति):- (ख) घर मर्मतको लागि चाहिने अनुमानित काठ:- (ग) घर मर्मत तथा कुटीर उद्योगको लागि चाहिने खर, घँस, निगालो वा लत्ता (अनुमानित परिमाण) भारी:- (घ) चरी चराउनको लागि चाहिने अनुमानित जग्गा क्षेत्रफल ...................
लगत लिने अधिकारीको,- नाम:................ सही:................. दर्जा:................ मिति:.................
अनुसूची -८ (नियम ३१ सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, बाजुरा
चरी चराउन वा गोठ राख्न पाउने अनुमतिपत्र
सि.नं.: ................. मिति: ...............
१. अनुमतिपत्र लिने व्यक्तिको नाम, थर, बतन:-
२. उमेर:-
३. घरपालुवा जीवजन्तुको किसिम र संख्या:-
४. चरी चराउन वा गोठ राख्न पाउने क्षेत्र:-
५. चरी चराउन वा गोठ राख्ने दस्तूर:-
अनुमतिपत्र दिने अधिकारीको:- नाम:- सही:- दर्जा:-
द्रष्टव्य:- चरी चराउन वा गोठ राख्नको लागि दिइएको अनुमतिपत्र तीन महिनासम्मको लागी मात्र मान्य हुनेछ ।*