लालमोहर र प्रकाशन मिति २०३९।७।३
संशोधन गर्ने ऐन १. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
प्रमाणिकरण र प्रकाशन मिति २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।६।२८ ३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६◆ २०६६।१०।७ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ ५. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०३९ सालको ऐन नं. १२ $\times$........................ राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापन गर्न बनेको ऐन
प्रस्तावना : प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्नको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष स्थापना गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीर नर वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– (क) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सम्झनु पर्छ । (ख) “समिति” भन्नाले दफा ५ बमोजिम गठन भएको सञ्चालक समिति सम्झनु पर्छ । (ग) “अध्यक्ष” भन्नाले कोषको अध्यक्ष सम्झनु पर्छ ।
◆ यो ऐन संवत २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(घ) “सदस्य र सदस्य–सचिव” भन्नाले कोषको सदस्य सम्झनु पर्छ । (ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियमामा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. कोषको स्थापना : (१) राष्ट्रिय प्रकृति संरक्षण कोष नामको एक कोष स्थापना हुनेछ । (२) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित र संगठित संस्था हुनेछ । (३) कोषको सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । (४) कोषले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कसैले बन्दोबस्त गर्न सक्नेछ । (५) कोषले व्यक्ति सरह नालाइस उजुर गर्न सक्ने र कोष उपर पनि सोही नामबाट नालाइस उजुर लाग्न सक्नेछ ।
४. संरक्षक : प्रधानमन्त्री कोषको संरक्षक हुनेछ ।
५. सञ्चालक समितिको गठन : कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न देहाय बमोजिमको सञ्चालक समिति गठन हुनेछ :– (क) संरक्षकबाट मनोनीत व्यक्ति एकजना – अध्यक्ष (ख) अध्यक्षबाट मनोनीत नेपाल सरकारको सचिवहरुमध्येबाट तीनजना – सदस्य (ग) अध्यक्षबाट मनोनीत नेपाल सरकारको विभाग वा सरकारी वा गैरसरकारी संस्थाका प्रतिनिधिहरुमध्येबाट तीनजना – सदस्य (घ) अध्यक्षबाट मनोनीत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि वा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरुमध्येबाट चारजना – सदस्य (ङ) अध्यक्षबाट मनोनीत कोषको लागि उपयुक्त ठानेका व्यक्तिहरु तीनजना – सदस्य (छ) अध्यक्षबाट मनोनीत व्यक्ति एकजना – सदस्य–सचिव
६. पदावधि : (१) अध्यक्ष तथा सदस्यहरुको पदावधि पाँच वर्षको हुनेछ । (२) अध्यक्ष तथा सदस्यको पदावधि समाप्त भएपछि निजहरु दफा ५ बमोजिम पुनः मनोनीत हुन सक्नेछन् । (३) पदावधि समाप्त नहुँदै अध्यक्ष वा सदस्यको पद रिक्त हुन आएमा बाँकी पदावधिका लागि दफा ५ बमोजिम अध्यक्ष वा सदस्य मनोनीत हुनेछ ।
(४) अध्यक्ष वा सदस्यले राजीनामा गरेमा निजहरु आफ्नो पदबाट मुक्त भएको मानिनेछ । (५) आफ्नो कर्तव्य सुचारु रुपले पालन नगर्ने सदस्यलाई अध्यक्षबाट जुनसुकै बखतमा हटाउन सक्नेछ ।
७. पारिश्रमिक : समितिका अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीले पाउने पारिश्रमिक भत्ता तथा अन्य सुविधाहरुकोषको बमोजिम हुनेछ ।
८. समितिको बैठक : (१) अध्यक्षको निर्देशनमा सदस्य–सचिवले मिति, स्थान र समय तोकी बैठक बोलाउनेछ । बैठकको अध्यक्षता अध्यक्षबाट हुनेछ र अध्यक्षको अनुपस्थितिमा सदस्यहरुले आफूमध्येबाट छानेको कुनै सदस्यले अध्यक्षता गर्नेछ । (२) बैठक बस्ने सूचना बैठक बस्नु भन्दा साधारणतया एक महिना अगावै दिनु पर्नेछ । (३) ६ जना सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (४) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ । (५) साधारणतया समितिको बैठक वर्षको एक पटक बस्नेछ । (६) बैठकको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिने छ । (७) यस दफामा लेखिएदेखि बाहेक बैठकमा अपनाईने अन्य कार्यविधि समितिले आफै व्यवस्थापन गर्न सक्नेछ ।
९. कोषको काम र कर्तव्य : कोषको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :– (क) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण, संवर्धन र व्यवस्थापन गर्ने, (ख) राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुको विकासको निमित्त आवश्यक व्यवस्था गर्ने, (ग) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्ने ।
१०. कोषको अधिकार : कोषको अधिकार देहाय बमोजिम हुनेछ :– (क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था तथा अन्य क्षेत्रबाट नगदी, जिन्सी वा अन्य किसिमको सहायता प्राप्त गर्ने ।
(ख) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदासँग सम्बन्धित विदेशी संस्था र अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्पर्क राख्ने । (ग) विदेशी संस्था वा अन्तर्राष्ट्रिय संघ संस्था मार्फत चन्दा सङ्कलन गर्ने गराउने । (घ) कोषको हितको लागि अन्य आवश्यक काम गर्ने ।
११. उपसमिति गठन गर्न सक्ने : (१) कोषले आफ्नो काम कारबाहीको निमित्त आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ । (२) उपसमितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
१२. कोष : (१) कोषमा देहायका रकमहरु रहनेछन् :– (क) नेपाल सरकारले प्रदान गरेको रकम, (ख) राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम, (ग) अन्य स्रोतबाट प्राप्त रकम । (२) कोषको सबै रकम नेपाल राष्ट्र बैंक वा अन्य कुनै बैंकमा कोषको नाउँमा जम्मा गरिनेछ । (३) जिन्सी आम्दानी खर्चको हिसाब छुट्टै राखिनेछ । (४) कोषको तर्फबाट गर्नु पर्ने सबै खर्च कोषबाट व्यहोरोइनेछ । (५) कोषको खाता सञ्चालन तोकिए बमोजिम हुनेछ ।
१३. लेखा र लेखापरीक्षण : (१) कोषको आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ । (२) कोषको लेखापरीक्षण महालेखापरीक्षकको विभागबाट हुनेछ । (३) नेपाल सरकारले चाहेमा कोषको हिसाब किताब सम्बन्धी कागजात र अरु नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न सक्नेछ ।
१४. मुद्दा हेर्ने अधिकारी : कोष वादी वा प्रतिवादी भएको कुनै मुद्दा वा यो ऐन अन्तर्गतको कुनै मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार $\rightarrow$ उच्च अदालतलाई हुनेछ ।
१५. अधिकार प्रत्यायोजन : समितिले आफ्नो केही अधिकार अध्यक्ष, सदस्य, उपसमिति वा कोषको कुनै पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१६. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न समिति को परामर्श लिई नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
$\rightarrow$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
१७. विनियम बनाउने अधिकार : यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत नहुने गरी कोषले आवश्यक विनियमहरु बनाउन सक्नेछ र त्यस्तो विनियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
१८. नेपाल सरकारसँग सम्पर्क : कोषले नेपाल सरकारसँग सम्पर्क राख्दा $\sqrt{}$ वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत राख्नेछ ।
द्रष्टव्य : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः (क) “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” (ख) “श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष” को सट्टा “राष्ट्रिय प्रकृति संरक्षण कोष”
$\sqrt{}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।