लालमोहर र प्रकाशन मिति २०३९।०८।०६
संशोधन गर्ने ऐन १. वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ २०४८।१२।३०
प्रमाणीकरण र प्रकाशन मिति २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\blacklozenge$ २०६६।१०।०७ ३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०३९ सालको ऐन नं. १६ $\text{x}$ .................... भू तथा जलाधार संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : बाढी, पहिरो, भू-क्षय जस्ता प्राकृतिक प्रकोपको नियन्त्रण गरी भू तथा जलाधार संरक्षण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न र सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “भू तथा जलाधार संरक्षण ऐन, २०३९” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “संरक्षित जलाधार क्षेत्र” भन्नाले दफा ३ अन्तर्गत घोषित संरक्षित जलाधार क्षेत्र सम्झनुपर्छ। (ख) “भू तथा जलाधार संरक्षण” भन्नाले बाढी, पहिरो, भू-क्षय जस्ता प्राकृतिक प्रकोपबाट कुनै क्षेत्रलाई नष्ट हुनबाट रोक्ने वा बचाउने तथा पानीको आयतन र बहावलाई सामान्य स्थितिमा राख्ने वा पानीको बहावलाई धमिलो हुन नदिई स्वच्छता बनाई राख्ने कार्य सम्झनुपर्छ।
$\blacklozenge$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको। $\text{x}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित।
(ग) “भू-उपयोगिता प्रणाली (लैण्ड यूज सिस्टम)” भन्नाले जग्गाको उर्वराशक्ति बनाई राख्ने भौतिक तथा रासायनिक गुणहरूलाई कमजोर नपार्ने वा नष्ट हुन नदिने वा कायम रहने किसिमले खेती वा अन्य कार्य गरी त्यस्तो जग्गाको दीर्घकालीन उपयोग गर्ने प्रक्रियालाई सम्झनुपर्छ । (घ) “विभाग” भन्नाले वन तथा भू-संरक्षण विभाग सम्झनुपर्छ। (ङ) “जलाधार संरक्षण अधिकृत” भन्नाले दफा १९ बमोजिम नियुक्त वा तोकिएको अधिकृत सम्झनुपर्छ। (च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ।
३. संरक्षित जलाधार क्षेत्र घोषित गर्न सक्ने : (१) भू तथा जलाधार संरक्षणको लागि आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल $\times$..................को कुनै क्षेत्रलाई चार किल्ला खुलाई संरक्षित जलाधार क्षेत्र घोषित गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम घोषित संरक्षित जलाधार क्षेत्रको सीमाना आवश्यकताअनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्न सक्नेछ। (३) उपदफा (१) बमोजिम घोषित संरक्षित जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि जलाधार संरक्षण अधिकृतले एकीकृत जलाधार व्यवस्थापन कार्ययोजना तर्जुमा गरी विभागमा पेश गर्नुपर्नेछ र विभागबाट स्वीकृत भएपछि त्यस्तो कार्ययोजना कार्यान्वयन गर्नुपर्नेछ। (४) उपदफा (३) बमोजिमको कार्ययोजना कार्यान्वयन गर्दा स्थानीय तहको समन्वयमा गर्नुपर्नेछ।
४. संरक्षित जलाधार क्षेत्रमा गर्न सकिने कार्यहरू : संरक्षित जलाधार क्षेत्रमा जलाधार संरक्षण अधिकृतले भू तथा जलाधार संरक्षणको लागि देहायबमोजिम कार्यहरू गर्न गराउन सक्नेछ :- (क) रोकथाम वा नियन्त्रण गर्ने बाँध (डेम), गल्छी नियन्त्रण (चेकडेम), तटबन्ध (इम्बाङ्कमेण्ट), गरा सुधार (टेरेस इम्प्रुभमेण्ट), कूलो, सहायक कूलो वा ढल (डाइभर्सन च्यानल),
टेवा दिने पर्खाल (रिटिनिङवाल), पोखरी र यस्तै अन्य आवश्यक बनौटको निर्माण गर्ने तथा त्यसको स्याहार सम्भार गर्ने, (ख) परीक्षणस्थल (ट्रायल प्लट) हरूको व्यवस्था गर्ने तथा त्यसको स्याहार सम्भार गर्ने, (ग) वृक्षारोपण गर्ने, घाँस, झारपात वा अन्य वनस्पति लगाउने र त्यसको स्याहार सम्भार गर्ने तथा हुर्काउने, (घ) पहिरो जान सक्ने जग्गाहरू र भिराला पाखाहरूमा रहेका वन जङ्गल, झारपात, घाँस तथा अन्य प्राकृतिक वनस्पतिको संरक्षण गर्ने, त्यसको स्याहार सम्भार गर्ने तथा सम्वर्द्धन गर्ने, (ङ) बाली र फलफूलको खेती गर्ने, (च) माटोको उर्वराशक्ति र पानी तथा वातावरणको स्वच्छता सन्तुलित रुपमा कायम बनाई राख्ने, (छ) सम्बन्धित ठाउँहरूमा विद्युतीकरण गर्ने, (ज) नेपाल सरकारले तोकिदिएका भू तथा जलाधार संरक्षणसम्बन्धी अन्य कार्यहरू गर्ने।
५. संरक्षित जलाधार क्षेत्रभरको जग्गाको वर्गीकरण : (१) दफा ४ को प्रयोजनको लागि संरक्षित जलाधारक्षेत्रभरको जग्गालाई जलाधार संरक्षण अधिकृतले तोकिएबमोजिम वर्गीकरण गर्न सक्नेछ।
६. भू-उपयोगिता प्रणाली अपनाई खेती गर्ने : (१) जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधार क्षेत्रभरको तोकिदिएको जग्गामा भू-उपयोगिता प्रणाली अपनाई कुनै बाली वा फलफूलको खेती गर्न तथा रूख, बिरुवा वा घाँस लगाउन वा अन्य कुनै कार्य गराउन सक्नेछ। (२) उपदफा (१) बमोजिम तोकिदिएको जग्गा कसैको निजी स्वामित्व भएको जग्गा भएमा सम्बन्धित जग्गाधनी वा मोहीले आफ्नो जग्गामा भू-उपयोगिता प्रणाली अपनाई त्यस्तो कार्यहरू गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम भू-उपयोगिता प्रणाली अपनाई कार्यहरू गर्न जग्गाधनी वा मोहीलाई विभागले प्राविधिक ज्ञान तथा सेवा उपलब्ध गराउने छ र आवश्यक आर्थिक सहयोग समेत तोकिएबमोजिम दिनेछ। (४) उपदफा (१) बमोजिम भू-उपयोगिता प्रणाली अपनाई कुनै कार्य गर्न लगाएको कारणबाट कुनै जग्गाबाट मोही निष्कासित हुने भएमा त्यस्तो मोहीलाई नेपाल सरकारले मुआब्जा दिनेछ। भू-उपयोगिता अपनाई कुनै कार्य गर्न लगाएको जग्गामा सम्बन्धित जग्गाधनीले मुआब्जा लिई आफ्नो स्वामित्व नेपाल सरकारलाई छोड्न चाहेमा, त्यस्तो जग्गाधनीले स्वामित्व छोड्न सक्नेछ। त्यसरी स्वामित्व छोड्ने
जग्गाधनी र मोहीलाई मुआब्जा दिदा प्रचलित दरभाउलाई ध्यानमा राखी मुआब्जा दिइनेछ।
७. प्राविधिक ज्ञान तथा सेवा र आर्थिक सहयोग प्रदान गर्ने : दफा ४ को खण्ड (क) बमोजिमका कार्यहरू कसैले आफ्नो निजी स्वामित्व भएको जग्गामा गर्न चाहेमा निजलाई विभागले त्यस्तो कार्य गर्नको लागि आवश्यक प्राविधिक ज्ञान तथा सेवा उपलब्ध गराउनेछ र आवश्यक आर्थिक सहयोगसमेत तोकिएबमोजिम दिनेछ।
८. क्षतिपूर्ति दिने : दफा ४ को खण्ड (क) वा (ख) बमोजिमका कार्यहरू जलाधार संरक्षण अधिकृतले कसैको निजी स्वामित्व भएको जग्गामा गरेमा ती कार्यहरू त्यस्तो जग्गामा गरे वापत जलाधार संरक्षण अधिकृतले सम्बन्धित जग्गाधनीलाई $\alpha$सम्बन्धित $\beta$ गाउँपालिका वा नगरपालिकाको परामर्श लिई प्रचलित दरभाउलाई समेत ध्यानमा राखी क्षतिपूर्ति दिनेछ।
९. परीक्षण गर्न सक्ने : (१) जलाधार संरक्षण अधिकृतले दफा ४ को खण्ड (ख) अन्तर्गत कुनै परीक्षणस्थलको व्यवस्था गर्दा त्यस्तो परीक्षण स्थलमा कुनै बाली फलफूल, रूख, बिरुवा, घाँस वा यस्तै अन्य वनस्पति लगाई हुकानी परीक्षण गर्न गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको परीक्षणस्थलमा लगाइएको बाली, फलफूल, रूख, बिरुवा, घाँस वा यस्तै अन्य वनस्पतिलाई कसैले कुनै किसिमले नष्ट गर्न हुँदैन।
१०. प्राकृतिक प्रकोप हुने वा हुन सक्ने जग्गामा निषेधित कार्य : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कसैले संरक्षित जलाधार क्षेत्रभरको जग्गामध्ये बाढी वा पहिरो आउने वा आउन सक्ने वा भू-क्षय वा भू-कटान हुने वा हुन सक्ने जग्गा भनी जलाधार संरक्षण अधिकृतले तोकिदिएको जग्गामा जलाधार संरक्षण अधिकृतको अनुमति नलिई कसैले देहायको कुनै कार्य गर्न पाउने छैन :-
(क) कुनै खोला, नाला, खहरे, ताल वा जलाशयको वा भूमिगत पानी कुनै किसिमले थुन्ने वा जम्मा गर्ने वा थुनिएको वा जम्मा गरिएको पानी कूलो, सहायक कूलो, ढलद्वारा वा अन्य कुनै किसिमले अन्यत्र लै जाने वा फकाउने वा त्यस्तो पानी त्यसरी थुनी, जम्मा गरी लगी, फकाई वा अन्य कुनै किसिमले कुनै काममा प्रयोग गर्ने,
(ख) प्रचलित वनसम्बन्धी कानूनबमोजिम आफूखुस गर्न पाउने रूख, बिरुवा वा अन्य वन पैदावार काट्ने वा अन्य कुनै किसिमले नष्ट गर्ने,
(ग) भैरहेको वन जङ्गल, रूख, बिरुवा, झारपात, घाँस वा अन्य प्राकृतिक वनस्पति काट्ने वा अन्य कुनै किसिमले नष्ट गर्ने,
$\alpha$ वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ द्वारा संशोधित । $\beta$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
(घ) ढुङ्गा, माटो, बालुवा, हिलो आदि थुप्रन तथा जम्मा हुन जाने काम गर्ने वा थुप्रिएको तथा जम्मा भएका ढुङ्गा, माटो, बालुवा, हिलो आदि बगाई लैजान दिने काम गर्ने, (ङ) ढुङ्गा बालुवा, वा अन्य प्रकारको माटो खन्ने, झिक्ने वा लैजाने, (च) फोहर मैला तथा यस्तै वातावरण दूषित पार्ने खालको अन्य सामग्रीहरू फ्याँक्ने वा त्यस्तो फोहर मैला र सामग्रीहरू थुपाउने वा राख्ने ठाउँको निर्माण गर्ने, (छ) उद्योग, व्यवसाय वा बसोबासको बस्ती स्थापना गर्ने, (ज) गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा र यस्तै अन्य घरपालुवा पशु तथा पंक्षीहरू लैजाने, राख्ने वा चराउने।
११. उद्योग, व्यवसाय तथा बसोबासको बस्तीलाई सार्न सक्ने : (१) संरक्षित जलाधार क्षेत्रभरको जग्गामा स्थापना भइरहेको उद्योग, व्यवसाय तथा बसोबासको बस्तीलाई भू तथा जलाधार संरक्षणको कार्यको लागि नेपाल सरकारले अन्यत्र सार्न वा त्यस्तो उद्योग, व्यवसाय वा बसोबासको बस्ती भएको जग्गा प्राप्त गर्न आवश्यक देखेमा नेपाल सरकारले त्यस्तो उद्योग, व्यवसाय तथा बसोबासको बस्तीलाई अन्यत्र सार्न वा सो भएको जग्गालाई जग्गाप्राप्ति सम्बन्धी प्रचलित कानूनबमोजिम प्राप्त गर्नसक्नेछ। (२) उपदफा (१) बमोजिम कुनै उद्योग व्यवसाय वा बसोबासको बस्तीलाई अन्यत्र सार्दा त्यसबाट सम्बन्धित व्यक्तिलाई हुन जाने नोक्सानीको उचित क्षतिपूर्ति नेपाल सरकारले दिनु पर्नेछ।
१२. प्रवेश गर्न सक्ने : (१) जलाधार संरक्षण अधिकृतले वा निजले तोकेको कर्मचारीले दफा ४ मा लेखिएको कुनै कार्य गर्न वा त्यस्तो कार्यहरूको निरीक्षण वा स्याहार सम्भार गर्न संरक्षित जलाधार क्षेत्रभरको जग्गामा जुनसुकै बखत प्रवेश गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम प्रवेश गर्दा कसैले बाधा विरोध गर्न गराउन हुँदैन।
१३. निषेध गर्न सक्ने : जलाधार संरक्षण अधिकृतले दफा ४ अन्तर्गतको कुनै कार्य भएको जग्गामा तथा त्यस्तो जग्गाको वरपर अरू कसैले भू-क्षय वा भू-कटान हुन सक्ने कार्यहरू गर्न नपाउने गरी निषेध गर्न सक्नेछ।
१४. जग्गा प्राप्त गर्न सकिने : भू तथा जलाधार संरक्षणको लागि नेपाल सरकारले कसैको निजी स्वामित्व भएको जग्गाप्राप्त गर्न चाहेमा त्यस्तो जग्गा जग्गा प्राप्ति सम्बन्धी प्रचलित कानूनबमोजिम प्राप्त गर्न सक्नेछ।
१५. राष्ट्रिय स्रोत संरक्षण आयोग : (१) नेपाल सरकारलाई भू तथा जलाधार संरक्षण सम्बन्धी विषयमा राय सल्लाह दिन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय स्रोत संरक्षण आयोग गठन गर्नेछ।
(२) उपदफा (१) बमोजिम गठन भएको राष्ट्रिय स्रोत संरक्षण आयोगको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछन्।
१६. जिल्ला भू तथा जलाधार संरक्षण समिति : (१) कुनै जिल्लामा भू तथा जलाधार संरक्षण सम्बन्धी कार्यहरूको कार्यान्वयनमा समन्वय ल्याउन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जिल्ला भू तथा जलाधार संरक्षण समिति गठन गर्नेछ। (२) उपदफा (१) बमोजिम गठन भएको जिल्ला भू तथा जलाधार संरक्षण समितिको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछन्।
१७. नास्न, मास्न, विगाड्न वा हेरफेर गर्न नहुने : कसैले संरक्षित जलाधार क्षेत्रमा दफा ४ बमोजिम गरिएको कुनै कार्य नास्न, मास्न, विगाड्न वा हेरफेर गर्न गराउन हुँदैन।
१८. जिल्ला भू तथा जलाधार संरक्षण समितिको परामर्श लिनु पर्ने : जलाधार संरक्षण अधिकृतले दफा ५ बमोजिम संरक्षित जलाधार क्षेत्रभरको जग्गालाई वर्गीकरण गर्दा वा दफा ६ को उपदफा (१) बमोजिम त्यस्तो जग्गामा भू–उपयोगिता प्रणाली अपनाई कुनै कार्य गराउँदा निजले जिल्ला भू तथा जलाधार संरक्षण समितिको परामर्श लिनु पर्नेछ।
१९. जलाधार संरक्षण अधिकृतको नियुक्ति : यस ऐनको प्रयोजनको लागि नेपाल सरकारले आवश्यकतानुसार जलाधार संरक्षण अधिकृतहरू नियुक्ति गर्न सक्नेछ। त्यसरी जलाधार संरक्षण अधिकृतहरू नियुक्ति नभएको अवस्थामा सो अधिकृतको काम गर्न नेपाल सरकारले अन्य कुनै अधिकृतलाई तोक्न सक्नेछ।
२०. कब्जा गर्न सक्ने : कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरूको बखिलाफ काम गरेमा सो कामको सिलसिलामा प्रयोग भएका औजार, चौपाया, सवारी साधन र अन्य माल वस्तुहरू जलाधार संरक्षण अधिकृतले कब्जामा लिन सक्नेछ। तर चौपायाको हकमा चौपायाधनीबाट धरौट लिई त्यस्तो चौपाया निजलाई नै बुझाई दिन सक्नेछ र चौपायाधनीले धरौट बुझाउन नचाहेमा जलाधार संरक्षण अधिकृतले सो चौपायालाई लिलाम गर्न सक्नेछ।
२१. दण्ड सजाय : (१) दफा ६ को उपदफा (२) वा दफा १२ को उपदफा (२) को बखिलाफ काम गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ। (२) दफा १० को बखिलाफ काम गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा पाँचसय रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ। (३) दफा १७ को बखिलाफ काम गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ र नोक्सानीको बिगो समेत त्यस्तो व्यक्तिबाट असुल गरिनेछ।
(४) यो ऐनको अन्य दफा वा यस ऐन अन्तर्गत बनेका नियमहरूको विपरित काम गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ। (५) यस ऐन अन्तर्गत सजाय हुने कसूरसित सम्बन्धित औजार, चौपाया, सवारी साधन र माल वस्तुहरू जफत हुनेछन्।
२२. नेपाल सरकार वादी हुने : यो ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार बादी हुनेछ।
२३. मुद्दाको तहकीकात : (१) यो ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकीकात जलाधार संरक्षण अधिकृतले गर्नेछ। (२) उपदफा (१) बमोजिम मुद्दा तहकीकात गर्दा जलाधार संरक्षण अधिकृतले सरकारी वकीलको राय लिनु पर्नेछ।
२४. नेपाल सरकारले जलस्रोतको उपयोग तथा वितरण गर्न बाधा नहुने : नेपाल सरकारले कुनै जलस्रोतको विकास आफैले गर्न यस ऐनमा लेखिएका कुनै कुराले बाधा पुर्याएको मानिने छैन।
२५. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।