त्रिभुवन विश्वविद्यालय ऐन, २०४९
लालमोहर र प्रकाशन मिति २०४९।०९।२२
संशोधन गर्ने ऐन १. आयकर ऐन, २०५८ २०५८।१२।१९ प्रमाणीकरण र प्रकाशन मिति २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।०६।२८ ३. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ २०६४।०५।०९ ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\text{*} $ २०६६।१०।०७ ५. शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ २०७७।०३।११ ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०४९ सालको ऐन नं. ४६ $\text{†}$ ... ... ..
त्रिभुवन विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐन $\text{†}$
प्रस्तावना: ... ... ... नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने क्रममा $\text{‡}$संवत २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई बढी सक्षम बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ।
$\text{•}$ यो ऐन संवत २०६५ साल जेठ १५ गतेदेखि लागू भएको। $\text{†}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिर्षकिएको। $\text{‡}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा थप।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, - (क) “विश्वविद्यालय” भन्नाले त्रिभुवन विश्वविद्यालय सम्झनु पर्छ। (ख) “सभा” भन्नाले दफा ८ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ। (ग) “प्राज्ञिक परिषद्” भन्नाले दफा ११ बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ। (घ) “कार्यकारी परिषद्” भन्नाले दफा १३ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ। (ङ) “सेवा आयोग” भन्नाले दफा १५ बमोजिमको सेवा आयोग सम्झनु पर्छ। (च) “अध्ययन संस्थान” भन्नाले यस ऐन बमोजिमको अध्ययन संस्थान सम्झनु पर्छ। (छ) “सङ्काय” भन्नाले यस ऐन बमोजिमको सङ्काय सम्झनु पर्छ। (ज) “अनुसन्धान केन्द्र” भन्नाले यस ऐन बमोजिमको अनुसन्धान केन्द्र सम्झनु पर्छ। (झ) “डीन” भन्नाले अध्ययन संस्थान वा सङ्कायको प्रमुख सम्झनु पर्छ। (ञ) “कार्यकारी निर्देशक” भन्नाले अनुसन्धान केन्द्रको प्रमुख सम्झनु पर्छ। (ट) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने वा अनुसन्धान कार्यमा संलग्न प्राध्यापक, सह-प्राध्यापक, उप-प्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु पर्छ र सो शब्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षक तथा यस ऐन अन्तर्गत बनेको नियममा शिक्षक भनि तोकिएको व्यक्तिलाई समेत जनाउँछ। (ठ) “विभाग” भन्नाले यस ऐन बमोजिम केन्द्रीय विभाग वा विभाग सम्झनु पर्छ। (ड) “आङ्गिक क्याम्पस” (आङ्गिक महाविद्यालय) भन्नाले विश्वविद्यालयको आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) सम्झनु पर्छ।
(ढ) “सम्बन्धन प्राप्त क्याम्पस” (सम्बन्धन प्राप्त महाविद्यालय) भन्नाले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस (सम्बन्धन प्राप्त महाविद्यालय) सम्झनु पर्छ। (ण) “विद्वत परिषद्” भन्नाले यो ऐन बमोजिम स्थापित विद्वत परिषद् सम्झनु पर्छ। (त) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद-२ विश्वविद्यालयको स्थापना, काम, कर्तव्य र अधिकार
३. त्रिभुवन विश्वविद्यालय कायम रहनेछः (१) यो ऐन प्रारम्भ हुनु भन्दा अघि स्थापित त्रिभुवन विश्वविद्यालय यस ऐन अन्तर्गत स्थापित भएको मानी कायम रहनेछ। (२) विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ।
४. विश्वविद्यालय स्वशासित संस्था हुनेछः (१) विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ। (२) विश्वविद्यालयको सबै काम कारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ। (३) विश्वविद्यालयले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिकन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ। (४) विश्वविद्यालयले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र विश्वविद्यालय उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ।
५. विश्वविद्यालयको काम, कर्तव्य र अधिकारः विश्वविद्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) उच्च शिक्षाको विकास गर्नको लागि तोकिए बमोजिमका विभिन्न शिक्षण, प्रशिक्षण र अनुसन्धानको व्यवस्था र सञ्चालन गर्न अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र र विभागको व्यवस्था गर्ने र तिनीहरूको रेखदेख तथा निरीक्षण गर्ने। (ख) आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) तथा सम्बन्धन प्राप्त क्याम्पसहरू (सम्बन्धन प्राप्त महाविद्यालयहरू) बाट तोकिएको उच्च शिक्षा हासिल गर्ने विद्यार्थी, प्रशिक्षार्थी वा अनुसन्धानकर्तालाई तोकिए
बमोजिमको प्रमाण पत्र दिने र विशिष्ट व्यक्तिलाई मानार्थ उपाधि प्रदान गर्ने। (ग) निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) स्थापना गर्न स्वीकृति दिने र सम्बन्धन प्रदान गर्ने तथा त्यस्तो सम्बन्धन प्राप्त क्याम्पस (महाविद्यालय) लाई विश्वविद्यालयले प्रदान गर्ने सुविधा र सहयोग निर्धारण गर्ने। (घ) स्वदेशी वा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्ध कायम गर्ने। (ङ) स्वदेशी वा विदेशी प्राज्ञिक, शैक्षिक वा अन्य संस्था र व्यक्तिबाट आर्थिक सहयोग प्राप्त गर्ने तथा शैक्षिक कार्यक्रमहरूको आदान प्रदान गर्ने। (च) छात्रवृत्ति, पदक र पुरस्कारहरू प्रदान गर्ने व्यवस्था गर्ने। (छ) विश्वविद्यालय अन्तर्गत विभिन्न खेलकुद र कल्याणकारी कार्यक्रमको व्यवस्था र सञ्चालन गर्ने। (ज) विश्वविद्यालयलाई आवश्यक पर्ने नियम बनाउने। (झ) विश्वविद्यालयसँग सम्बन्धित अन्य कामहरू गर्ने।
परिच्छेद-३ विश्वविद्यालयको संगठनको स्वरूप, पदाधिकारीहरू र विश्वविद्यालय सभा
६. विश्वविद्यालयको संगठनः विश्वविद्यालयको संगठन देहाय बमोजिम हुनेछ। यिनीहरूको सामूहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछ। (क) विश्वविद्यालय सभा, (ख) प्राज्ञिक परिषद्, (ग) कार्यकारी परिषद्, (घ) सेवा आयोग, (ङ) अध्ययन संस्थान, (च) सङ्काय, (छ) विभाग, (ज) आङ्गिक क्याम्पस, (आङ्गिक महाविद्यालय) (झ) सम्बन्धन प्राप्त क्याम्पस, (सम्बन्धन प्राप्त महाविद्यालय) (ञ) अनुसन्धान केन्द्र र (ट) अन्य निकायहरू।
७. पदाधिकारीहरूः विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरू रहने छन्ः-
(क) कुलपति, (ख) सह-कुलपति, (ग) उप-कुलपति, (घ) अध्यक्ष, सेवा आयोग, (ङ) शिक्षाध्यक्ष, (च) रजिष्ट्रार, (छ) डीन, (ज) कार्यकारी निर्देशक, (झ) सहायक डीन, (ञ) क्याम्पस (महाविद्यालय) प्रमुख, (ट) तोकिएका अन्य पदाधिकारीहरू।
८. विश्वविद्यालय सभाको गठन: (१) विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक विश्वविद्यालय सभा रहनेछ। (२) विश्वविद्यालय सभाको गठन देहाय बमोजिम हुनेछ:- (क) कुलपति - अध्यक्ष (ख) सह-कुलपति - उपाध्यक्ष (ग) उप-कुलपति - सदस्य (घ) ... ... ... (ङ)* नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उप-कुलपति र अन्य विश्वविद्यालयका उप-कुलपतिहरूमध्येबाट दुईजना - सदस्य (च) शिक्षाध्यक्ष - सदस्य-सचिव (छ) रजिष्ट्रार - सदस्य (ज) सचिव, ☼शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य (झ) सचिव, अर्थ मन्त्रालय - सदस्य (ञ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा
सम्बन्धी हुने) - सदस्य (ट) भूतपूर्व उप-कुलपतिहरूमध्येबाट एक जना - सदस्य (ठ) अध्ययन संस्थानका डीनहरू - सदस्य (ड) संकायका डीनहरू - सदस्य (ढ) अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू - सदस्य (ण) विभागका प्रमुखहरूमध्येबाट पाँच जना - सदस्य (त) त्रिभुवन विश्वविद्यालयका नेपाल प्राध्यापक संघ क्याम्पस इकाईका अध्यक्ष र सचिवको निर्वाचक मण्डलले समानुपातिक एकल संक्रमणीय मतको आधारमा निर्वाचित गरेका पाँचजना शिक्षकहरू - सदस्य स्पष्टीकरण: यस खण्ड बमोजिम सदस्यको निर्वाचनमा उम्मेदवार हुन चाहने शिक्षक कम्तीमा पन्ध्र वर्ष विश्वविद्यालयको स्थायी सेवामा कार्यरत भएको हुनु पर्दछ। *(त१) त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको प्रतिनिधि एकजना - सदस्य *(त२) नेपाल पब्लिक क्याम्पस संघको प्रतिनिधि एकजना - सदस्य (थ) आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना - सदस्य (द) सम्बन्धन प्राप्त क्याम्पस (सम्बन्धन प्राप्त महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना - सदस्य (ध) नेपाल प्राध्यापक संघका प्रतिनिधि एक जना - सदस्य (न) ख्याति प्राप्त विद्वान वा प्रतिष्ठित व्यक्तिहरू मध्येबाट दुई जना - सदस्य
(प) विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरू मध्येबाट दुई जना - सदस्य (फ) पत्रकारहरू मध्येबाट एक जना - सदस्य (व) विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय समितिका प्रतिनिधि एक जना - सदस्य (भ) उद्योगपति, व्यापारी तथा चन्दादाताहरू मध्येबाट दुई जना - सदस्य
(३) निर्वाचित तथा पदेन सदस्यहरू बाहेक सभाका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषदको सिफारिसमा कुलपतिबाट हुनेछ। (४) मनोनीत तथा निर्वाचित सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ। तर मनोनीत सदस्य जुन पदको नाताले मनोनीत भएको हो सो पदमा कायम नरहेमा स्वतः सभाको सदस्य रहने छैन।
९. सभाको बैठकः (१) सभाको बैठक सामान्यतया वर्षको दुई पटक बस्नेछ। तर आवश्यक परेमा सभाको विशेष बैठक बोलाउन सकिनेछ। (२) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले गर्नेछ। अध्यक्षको अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता उपाध्यक्षले गर्नेछ। (३) सभाको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। तर गणपूरक संख्याको अभावमा बैठक स्थगित भई पुनः बोलाइएको बैठकमा सभाको सम्पूर्ण सदस्य संख्याको एक तिहाई सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ। (३क) सभाको अध्यक्षता गर्ने व्यक्तिले सभाको बैठकको निर्णय प्रमाणित गर्नेछ। (४) सभाको बैठकको अन्य कार्यविधि सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ।
१०. सभाको काम, कर्तव्य र अधिकारः सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः - (क) विश्वविद्यालयलाई मार्गदर्शन गर्ने। (ख) विश्वविद्यालयको नीति निर्धारण गर्ने।
(ग) विश्वविद्यालय अन्तर्गतका कुनै निकाय वा पदाधिकारीहरूलाई आवश्यक निर्देशन दिने। (घ) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने। (ङ) विश्वविद्यालयको दीर्घकालीन योजना स्वीकृत गर्ने। (च) विश्वविद्यालय सम्बन्धी नियमहरू पारित गर्ने। (छ) आवश्यकता अनुसार विशेष समिति र आयोगको गठन गर्ने। (ज) तोकिए बमोजिम अन्य कामहरू गर्ने।
परिच्छेद-४ प्राज्ञिक परिषद्
११. प्राज्ञिक परिषद्को गठनः (१) विश्वविद्यालयको प्राज्ञिक निकायको रूपमा काम गर्न देहायका सदस्यहरू भएको एउटा प्राज्ञिक परिषद् हुनेछ- (क) उप-कुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - उपाध्यक्ष (ग) रजिस्ट्रार - सदस्य (घ) अध्ययन संस्थानका डीनहरू - सदस्य (ङ) संकायका डीनहरू - सदस्य (च) प्रत्येक संकाय तथा अध्ययन संस्थानबाट कम्तिमा एक, एक जनाको प्रतिनिधित्व हुने गरी विषय समितिका अध्यक्षहरूमध्येबाट दश जना - सदस्य (छ) आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना - सदस्य (ज) सम्बन्धन प्राप्त क्याम्पस (सम्बन्धन प्राप्त महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरूमध्येबाट दुई जना - सदस्य (झ) पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक - सदस्य (ञ) अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू - सदस्य (ट) नेपाल प्राध्यापक संघका प्रतिनिधि एक जना - सदस्य (ठ) प्रतिष्ठित विद्वानहरू मध्येबाट दुई जना - सदस्य (ड) नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, विश्वविद्यालय - सदस्य
(ढ) विभागका प्रमुखहरू मध्येबाट पाँच जना - सदस्य (ण) विश्वविद्यालयका वरिष्ठ शिक्षकहरू मध्येबाट दश जना - सदस्य (२) उपदफा (१) को खण्ड (च) बमोजिमका सदस्यहरूको मनोनयन सम्बन्धित संकाय तथा अध्ययन संस्थानका डीनहरूको सिफारिसमा उप-कुलपतिले दुई वर्षको लागि गर्नेछ। (३) उपदफा (१) को खण्ड (च) बमोजिमका सदस्यहरू बाहेक अन्य मनोनित सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा उप-कुलपतिले दुई वर्षको लागि गर्नेछ। (४) डीनहरूमध्येबाट एक जनालाई उप-कुलपतिले प्राज्ञिक परिषद्को सचिव भई काम गर्न तोक्नेछ।
१२. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकारः प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) विश्वविद्यालयले प्रदान गर्ने उपाधिहरूको व्यवस्था गर्ने। (ख) विश्वविद्यालय अन्तर्गत अध्ययन, अनुसन्धान र प्रशिक्षण हुने विषयहरूको पाठ्यक्रम निर्धारण गर्ने। (ग) परीक्षाको किसिम तोक्ने। (घ) विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धान गरिने विषयहरूमा भर्ना हुन चाहिने योग्यता र भर्ना हुने आधार तोक्ने। (ङ) प्राज्ञिक विषयमा कार्यकारी परिषद्लाई राय सल्लाह दिने। (च) अनुसन्धान सम्बन्धी नीति निर्धारण गर्ने। (छ) विश्वविद्यालयको विद्यापरिषद्ले गरेका सिफारिस तथा निर्णयहरू कार्यान्वयनको लागि अनुमोदन गर्ने वा निर्देशन दिने। (ज) तोकिए बमोजिम अन्य कामहरू गर्ने।
परिच्छेद-५ कार्यकारी परिषद्
१३. कार्यकारी परिषद्को गठनः (१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका सदस्यहरू भएको कार्यकारी परिषद् हुनेछः- (क) उप-कुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - सदस्य
(ग) अध्ययन संस्थानका डीनहरू मध्येबाट एकजना - सदस्य (घ) सङ्कायका डीनहरू मध्येबाट एकजना - सदस्य (ङ) विश्वविद्यालयका शिक्षकहरूमध्येबाट दुईजना - सदस्य (च) रजिष्ट्रार - सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरूको मनोनयन उप-कुलपतिको सिफारिसमा सभाले दुई वर्षको लागि गर्नेछ।
१४. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार: कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) सभाका निर्णयहरू कार्यान्वयन गर्ने गराउने। (ख) विश्वविद्यालयको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन, अन्य प्रतिवेदन र प्रस्तावहरू तयार गरी स्वीकृति वा अनुमोदनको लागि सभामा पेश गर्ने। (ग) विश्वविद्यालयको चल अचल सम्पत्तिको सञ्चालन, संक्षण र रेखदेख गर्ने। (घ) विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने। (ङ) विश्वविद्यालयको चल अचल सम्पत्तिको हक हस्तान्तरण गर्न वा कुनै सम्झौता, करार वा ठेक्का पट्टा गरी दिने, लिने। (च) विद्यार्थी शुल्क निर्धारण गर्ने। (छ) निजी क्षेत्रमा सञ्चालन गरिने क्याम्पसहरू (महाविद्यालयहरू) लाई तोकिए बमोजिम सम्बन्धन दिने र सम्बन्धन दिएका क्याम्पसहरू (महाविद्यालयहरू) लाई मूल्यांकनको आधारमा अनुदान दिन सिफारिस गर्ने। (ज) नियमको मसौदा बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने र सभाबाट स्वीकृत भएपछि लागू गर्ने। (झ) यस ऐनको उद्देश्य कार्यान्वयन गर्ने सिलसिलामा आन्तरिक कार्य व्यवस्थापन गर्न नियममा नखुलेको विषयमा ऐनको प्रतिकूल नहुने गरी आदेश जारी गर्ने।
तर त्यस्तो आदेश त्यसपछि बसेको सभाले स्वीकृत नगरेमा स्वतः बदर हुनेछ। (ञ) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिसमा नियुक्ति र बढुवा गर्ने। (ट) डीनहरू, कार्यकारी निर्देशकहरू, केन्द्रीय विभागका प्रमुखहरू र क्याम्पस (महाविद्यालय) प्रमुखहरूको नियुक्ति गर्ने। (ठ) तोकिए बमोजिम अन्य कामहरू गर्ने।
परिच्छेद-६ सेवा आयोग
१५। सेवा आयोग: (१) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न देहायका सदस्यहरू भएको एउटा निष्पक्ष र स्वतन्त्र सेवा आयोगको गठन हुनेछ - (क) कुलपतिबाट नियुक्त व्यक्ति - अध्यक्ष (ख) सदस्य, लोकसेवा आयोग - सदस्य (ग) प्राध्यापकहरू मध्येबाट एक जना - सदस्य (२) उपदफा (१) को खण्ड (क) र (ग) बमोजिम अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिस पेश गर्न कुलपतिबाट सह-कुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ। (३) सेवा आयोगको अध्यक्ष र मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ। (४) सेवा आयोगको काम, कर्तव्य र अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ। (५) सेवा आयोगले शिक्षकको नियुक्ति तथा बढुवा गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई र कर्मचारीको नियुक्ति तथा बढुवा गर्दा प्रशासनिक दक्षता तथा अनुभवलाई मुख्य आधार बनाउनेछ। (६) सेवा आयोगको अध्यक्ष र सदस्यहरूको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ।
परिच्छेद-७ विश्वविद्यालयका पदाधिकारी
१६. कुलपति: *(१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ। (२) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ। निज उपस्थित रहेको अवस्थामा निजले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षको आसन ग्रहण गर्नेछ। (३) कुलपतिले विश्वविद्यालय वा विश्वविद्यालयसँग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण गर्न र निर्देशन दिन सक्नेछ।
१७. सहकुलपति: (१) ‡शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा राज्य मन्त्री विश्वविद्यालयको सह-कुलपति हुनेछ। (२) कुलपतिको अनुपस्थितिमा सह-कुलपतिले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्नेछ। (३) सह-कुलपतिले आवश्यकता अनुसार विश्वविद्यालयको निरीक्षण गर्न र निर्देशन दिन सक्नेछ।
१८. उपकुलपति: (१) उप-कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ। (२) विश्वविद्यालयको उप-कुलपति पदमा नियुक्तिका लागि सिफारिस पेश गर्न कुलपतिबाट सह-कुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट उप-कुलपतिको नियुक्ति हुनेछ। (३) उप-कुलपतिको कार्यकाल चार वर्षको हुनेछ। निजको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ। (४) विश्वविद्यालयको सबै काम कारबाही उपर उप-कुलपतिको सामान्य नियन्त्रण रहनेछ र निजले विश्वविद्यालयको काम कारबाहीमा निर्देशन दिन र रेखदेख गर्न सक्नेछ। (५) उप-कुलपतिले सभाको निर्णय र निर्देशनहरू कार्यान्वयन गराउनु पर्नेछ। (६) कुलपति र सह-कुलपति दुवैको अनुपस्थितिमा विश्वविद्यालयको सभा र दीक्षान्त समारोहमा उप-कुलपतिले अध्यक्षता गर्नेछ।
(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा कुनै निकाय वा अधिकारीले गर्ने भनी उल्लेख भएका कामहरू बाहेक अन्य कामहरू उप-कुलपतिले गर्नेछ। त्यस्तो कामको जानकारी उप-कुलपतिले तुरुन्त कुलपतिलाई गराउनु पर्नेछ र लगत्तै बस्ने सभाको बैठकबाट अनुमोदन गराउनु पर्नेछ। (८) उप-कुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१९. शिक्षाध्यक्षः (१) उप-कुलपतिको सिफारिसमा कुलपतिले विश्वविद्यालयको शिक्षाध्यक्षको नियुक्ति गर्नेछ। (२) शिक्षाध्यक्ष विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ। (३) शिक्षाध्यक्षको पदावधि चार वर्षको हुनेछ। (४) शिक्षाध्यक्षको अनुपस्थितिमा शिक्षाध्यक्षले गर्ने काम गर्न उप-कुलपतिले डीनहरू मध्येबाट कुनै एक जनालाई नियुक्त गर्नेछ। (५) शिक्षाध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ। (६) शिक्षाध्यक्षले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र अनुसन्धाननात्मक कार्यहरूको रेखदेख र समन्वय गर्नेछ। (७) उप-कुलपतिको अनुपस्थितिमा शिक्षाध्यक्षले उप-कुलपतिको काम गर्नेछ। (८) शिक्षाध्यक्षले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक निकायहरूको कामको रेखदेख गर्नेछ। (९) शिक्षाध्यक्षले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक गुणस्तरको अभिवृद्धि गर्ने योजना तथा कार्यक्रम बनाउनेछ। (१०) शिक्षाध्यक्षले सभाको निर्णय वा आदेशलाई अभिलेख गरी राख्नु पर्नेछ। सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ। (११) शिक्षाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
२०. रजिष्ट्रारः (१) उप-कुलपतिको सिफारिसमा कुलपतिले विश्वविद्यालयको रजिष्ट्रार नियुक्त गर्नेछ। (२) रजिष्ट्रार विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ। (३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ।
(४) रजिष्ट्रारको अनुपस्थितिमा रजिष्ट्रारले गर्नु पर्ने काम गर्न उप-कुलपतिले डीनहरू मध्येबाट कुनै एक जनालाई नियुक्त गर्नेछ। (५) रजिष्ट्रारको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ। (६) रजिष्ट्रारको रेखदेखमा विश्वविद्यालयको सामान्य प्रशासन र कोष रहनेछ र विश्वविद्यालयले अपनाउने आर्थिक नीतिको सम्बन्धमा निजले आफूलाई उपयुक्त लागेको सल्लाह सभालाई दिनेछ। (७) सभामा पेश गरिने विश्वविद्यालयको आय व्ययको वार्षिक अनुमान तयार गर्ने, विद्यार्थीहरूको नाम दर्ता गर्ने, परीक्षा सञ्चालन गर्ने र प्रमाण पत्रको व्यवस्था गर्ने जिम्मेवारी रजिष्ट्रारको हुनेछ। (८) रजिष्ट्रारले विश्वविद्यालयको हिसाब किताब तोकिए बमोजिम लेखा परीक्षण गराई त्यसको प्रतिवेदन सभामा पेश गर्नेछ। (९) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
२१. डीन, कार्यकारी निर्देशक र अन्य पदाधिकारीः डीन, कार्यकारी निर्देशक र अन्य पदाधिकारीहरूको नियुक्ति, काम, कर्तव्य, अधिकार, पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ।
+२१क. नियुक्ति गर्नु पर्ने अवधि: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पदाधिकारीको पद रिक्त भएमा सम्बन्धित अधिकारीले रिक्त भएको तीन महिनाभित्र त्यस्तो पदमा नियुक्ति गरी पूरित गर्नु पर्नेछ।
+२१ख. जिम्मेवारी तोक्न सक्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपुरित नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उप-कुलपतिको जिम्मेवारी सह-कुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उप-कुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्नेछ।
+२१ग. पदबाट हटाउन सकिने: (१) उप-कुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार वा सेवा आयोगको अध्यक्षले आफ्नो पद अनुरूपको जिम्मेवारी पूरा नगरेको, इमान्दारीपूर्वक काम नगरेको वा निजले पद अनुकूलको आचरण नगरेको भनी सभामा तत्काल रहेका एकतृतयाइ सदस्यले निजलाई पदबाट हटाउन कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सभाको कुनै
सदस्यको अध्यक्षतामा विश्वविद्यालय अनुदान आयोगको सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ। (२) उपदफा (१) बमोजिम गठित छानबिन समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी तीस दिनभित्र आफ्नो प्रतिवेदन कुलपति समक्ष पेश गर्नुपर्नेछ। (३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि कुलपतिकले सो प्रतिवेदन सभा समक्ष पेश गर्नेछ। (४) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन उपर छलफल हुँदा सभाका कुल सदस्य संख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्यले उप-कुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार वा सेवा आयोगको अध्यक्षलाई पदबाट हटाउन निर्णय गरेमा कुलपतिले उप-कुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार वा सेवा आयोगको अध्यक्षलाई पदबाट हटाउने छ। तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वंचित गरिने छैन। (५) उप-कुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र सेवा आयोगको अध्यक्ष बाहेक विश्वविद्यालयका अन्य पदाधिकारीलाई उपदफा (१) बमोजिमको आरोप छानबिन गर्दा वा पदबाट हटाउँदा अपनाउनु पर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ। (६) यस दफा बमोजिम कुनै पदाधिकारी उपर छानबिन शुरु भएमा छ महिनाभित्र अन्तिम निर्णय गरिसक्नु पर्नेछ। त्यस्तो अन्तिम निर्णय नभएसम्म निजले आफू बहाल रहेको पदमा काम गर्न पाउने छैन। (७) उपदफा (६) बमोजिमको पदाधिकारीले गर्ने दैनिक काम सम्पादन गर्निका लागि कुलपतिले विश्वविद्यालयको वरिष्ठतम पदाधिकारीलाई जिम्मेवारी तोक्न सक्नेछ।
२२. अनुसन्धान केन्द्रहरूको स्थापना र सञ्चालन : विश्वविद्यालयमा आवश्यकतानुसार शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानको लागि विभिन्न अनुसन्धान केन्द्रहरू स्थापना हुन सक्नेछन्। त्यस्ता केन्द्रहरूको स्थापना, काम, कर्तव्य, अधिकार र सञ्चालन तोकिए बमोजिम हुनेछ।
२३. विधा परिषद्को गठन, काम, कर्तव्य र अधिकारः विधा परिषद्को गठन, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
परिच्छेद - ८ विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
२४. विश्वविद्यालयको कोषः (१) विश्वविद्यालयको एक कोष रहनेछ। (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः-
(क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) विश्वविद्यालयले सापटी लिएको रकम, (ग) विश्वविद्यालयको लागि दान, दातव्य र आर्थिक सहायता स्वरूप प्राप्त भएको रकम, (घ) शुल्क तथा अन्य कुनै स्रोतबाट प्राप्त रकम। (३) विश्वविद्यालयको कोषको रकम तोकिएको बैंकमा खाता खोली जम्मा गरिनेछ। (४) विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ। (५) विश्वविद्यालयको सबै खर्चहरू उपदफा (२) बमोजिमको कोषबाट व्यहोरिनेछ।
२५. लेखा र लेखापरीक्षणः (१) विश्वविद्यालयको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ। ⊕(२) विश्वविद्यालयको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
२६. निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) को स्थापना र सम्बन्धनः (१) विश्वविद्यालयको स्वीकृति लिई निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) स्थापना गर्न सकिनेछ। (२) उपदफा (१) बमोजिम स्थापना भएको क्याम्पस (महाविद्यालय) ले विश्वविद्यालयसँग तोकिए बमोजिम सम्बन्धन गराउनु पर्नेछ। (३) उपदफा (२) बमोजिम सम्बन्धन प्राप्त क्याम्पस (महाविद्यालय) को स्वरूप र त्यस्तो क्याम्पस (महाविद्यालय) ले पाउने आर्थिक सहयोग तोकिए बमोजिम हुनेछ।
२७. विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यताः विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता तोकिए बमोजिम हुनेछ।
२७क. नि:शुल्क उच्च शिक्षा तथा छात्रवृत्ति: (१) विश्वविद्यालयले तोकेको मापदण्ड पूरा गरी विश्वविद्यालय वा मातहतका आर्थिक तथा सामुदायिक शैक्षिक संस्थामा भर्ना भएका दलित, सीमान्तकृत, अपाङ्ग र आर्थिक रूपले विपन्न विद्यार्थीको लागि उच्च शिक्षा नि:शुल्क हुनेछ। (२) उपदफा (१) को प्रयोजनको लागि आधार, मापदण्ड, वर्गीकरण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
⊕ शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७७ द्वारा संशोधित। शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ द्वारा थप।
(३) उपदफा (१) बमोजिमको सुविधा एक विद्यार्थीले प्रत्येक तहमा एकपटक मात्र उपभोग गर्न पाउनेछ। (४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दलित विद्यार्थीको लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा भर्नाका लागि तोकिए बमोजिमको सिट सुरक्षित गरिनेछ। (५) विश्वविद्यालयले शहीद, बेपत्ता पारिएका र अपाङ्गता भएका व्यक्तिका छोरा, छोरीको लागि प्रचलित कानूनमा व्यवस्था भए बमोजिम उच्च शिक्षाको व्यवस्था गर्नेछ। (६) कक्षा छ देखि कक्षा दशसम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले उच्च शिक्षामा प्रचलित कानून बमोजिम छात्रवृत्ति पाउनेछ।
२८. काम कारवाही अवैध नमानिनेः विश्वविद्यालयको कुनै पदाधिकारीको स्थान रिक्त भै वा कुनै पदाधिकारीको नियुक्ति वा कुनै अंगको गठनमा त्रुटि भै काम कारवाही भएको रहेछ भने सो कारणले मात्र त्यस्तो काम कारबाई अवैध मानिने छैन।
२९. असल नियतले काम गरेकोमा बचाउः यो ऐन बमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा विश्वविद्यालय वा विश्वविद्यालयको कुनै पदाधिकारी उपर मुद्दा चलाउने वा अन्य कुनै कानूनी कारवाही गरिने छैन।
३०. अधिकार प्रत्यायोजनाः (१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये सबै वा केही अधिकार कार्यकारी परिषद् वा उप-कुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ। (२) प्राज्ञिक परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये सबै वा केही अधिकार विश्वविद्यालयको विद्यापरिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ। (३) कार्यकारी परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये सबै वा केही अधिकार विश्वविद्यालयका कुनै पदाधिकारी वा विश्वविद्यालयको कुनै समितिलाई प्रत्यायोजन गर्न सक्नेछ। (४) सेवा आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये सबै वा केही अधिकार विश्वविद्यालयको कुनै समितिलाई प्रत्यायोजन गर्न सक्नेछ।
३१. नेपाल सरकारसँग सम्पर्क: विश्वविद्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नेछ।
३२. वार्षिक प्रतिवेदन: विश्वविद्यालयको वार्षिक प्रतिवेदन तोकिएको अवधिरि सभामा पेश गरिनेछ।
३३. विश्वविद्यालयलाई छुट र सुविधा: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको रजिष्ट्रेशन गर्नु पर्ने जुनसुकै लिखित रजिष्ट्रेशन गर्नु परेमा रजिष्ट्रेशन दस्तुर लाग्ने छैन। (२) .........
*३३क. स्वीकृति लिनु पर्ने : यस ऐनमा अन्तर्गत जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा वा कार्य गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ।
३४. नियम बनाउने अधिकार: यो ऐनको उद्देश्य कार्यान्वयन गर्न विश्वविद्यालयले आवश्यक नियम बनाउन सक्नेछ।
३५. खारेजी र बचाउ: (१) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ खारेज गरिएको छ। (२) यो ऐन प्रारम्भ हुँदाको बखत कायम रहेको त्रिभुवन विश्वविद्यालयको लेनदेन, कारोबार, ऋण, धन लगायत सम्पूर्ण अधिकार र दायित्व यस ऐन बमोजिमको विश्वविद्यालयको हुनेछ। (३) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ अन्तर्गत बनेको नियम विनियमहरू यो ऐन प्रारम्भ भएको मितिले एक वर्षसम्म मात्र लागू रहनेछन्।
$\oplus$ शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७७ द्वारा संशोधित। $\blacktriangleright$ आयकर ऐन, २०५८ द्वारा शिथिल गरिएको। $+$ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ द्वारा थप। दृष्टव्य : केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ ले देहाय शब्दको सट्टा देहायको शब्द राखी रूपान्तरण गरेको छ : "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार"।*