खोप नियमावली, २०७४ नेपाल राजपत्रमा प्रकाशित मिति २०७५।४।२१
खोप ऐन, २०७२ को दफा ४२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “खोप नियमावली, २०७४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्था” भन्नाले नियम ५ बमोजिम खोप सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको स्वास्थ्य संस्था सम्झनु पर्छ । (ख) “ऐन” भन्नाले खोप ऐन, २०७२ सम्झनु पर्छ । (ग) “कार्यालय” भन्नाले जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालय सम्झनु पर्छ । तर सङ्घीय संरचनामा जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालय नरहेको अवस्थामा प्रदेशको खोप सम्बन्धी विषय हेर्ने कार्यालय सम्झनु पर्छ । (घ) “मन्त्रालय” भन्नाले खोप सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ । (ङ) “विभाग” भन्नाले सङ्घीय तथा प्रादेशिक स्वास्थ्य सेवा वा विभाग सम्झनु पर्छ । (च) “स्वास्थ्य संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापित सरकारी, गैरसरकारी, निजी वा सामुदायिक अस्पताल, नर्सिङ्ग होम वा स्वास्थ्य संस्था
सम्झनु पर्छ र सो शब्दले खोप सेवा सञ्चालन गर्ने प्रयोजनका लागि स्थापित खोप केन्द्र, क्लिनिक वा पोलिक्लिनिकलाई समेत जनाउँछ ।
३. अनिवार्य रूपमा खोप लगाउनु पर्ने : सम्बन्धित व्यक्तिले अनुसूची-१ मा उल्लिखित रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलनको लागि सोही अनुसूचीमा उल्लिखित खोप अनिवार्य रूपमा लगाउनु पर्नेछ ।
४. खोप सम्बन्धी मापदण्ड : ऐन तथा यस नियमावली बमोजिम दिइने खोपको मापदण्ड देहाय बमोजिम हुनु पर्नेछ :-
(क) विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तरयुक्त रहेको भनी प्रमाणित (प्रि-क्वालिफाइड) भएको, (ख) उत्पादन भएको मुलुक वा अन्य मुलुकमा प्रयोग भइसकेको, (ग) उपयोग गर्ने म्याद भित्रको भएको, (घ) खोपको भायलमा भ्याक्सिन भायल मनिटरको सूचक भएको, (ङ) खोप निकासी गर्ने देशको नियामक निकायमा लट रिलिज प्रमाणपत्र प्राप्त गरेको, (च) मन्त्रालयले समय समयमा तोकेका अन्य मापदण्ड पूरा गरेको ।
५. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने : (१) खोप सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थाले अनुमतिपत्रको लागि एकहजार रुपैयाँ दस्तुर सहित अनुसूची-२ बमोजिमको ढाँचामा सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखेमा कार्यालयले अनुसूची-३ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा अनुमतिपत्र दिन नमिल्ने भएमा कार्यालयले त्यसको कारण सहितको जानकारी सात दिन भित्र निवेदकलाई दिनु पर्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी स्वास्थ्य संस्थाले खोप सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनुपर्ने छैन ।
६. अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले पालना गर्ने शर्त : अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले देहाय बमोजिमका शर्तहरू पालना गर्नु पर्नेछ :-
(क) छुट्टै खोप कक्षको प्रबन्ध गर्नु पर्ने, (ख) खोप भण्डारण गर्ने रेफ्रिजेरेटर वा फ्रिजरमा खोप बाहेक अन्य सामग्री राख्न नहुने, (ग) खोप सेवा सञ्चालनबाट उत्सर्जित हुने खोपजन्य फोहोर पदार्थको व्यवस्थापन विभागले तोकेको मापदण्ड बमोजिम गर्नु पर्ने, (घ) खोप कार्यक्रममा समावेश भएका खोप नि:शुल्क रूपमा उपलब्ध गराउनु पर्ने, (ङ) खोपको तालिका सार्वजनिक गर्नु पर्ने, (च) खोप सेवा सञ्चालन गर्दा त्यस्तो खोपको प्रकृति, फाइदा र सम्भावित असरका बारेमा खोप लिने व्यक्ति, निजको संरक्षक वा अभिभावकलाई जानकारी गराउनु पर्ने, (छ) खोप कार्यक्रममा समावेश भएका खोप खेर जाने दर राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड अनुरूप गर्नु पर्ने, (ज) खोप सेवा सञ्चालनको सम्बन्धमा अनुमतिपत्रमा उल्लिखित शर्त तथा विभागले समय समयमा दिएका निर्देशन पालना गर्नु पर्ने।
७. अनुमतिपत्रको अवधि र नवीकरण : (१) अनुमतिपत्रको अवधि त्यस्तो अनुमतिपत्र जारी भएको मितिले तीन वर्षको हुनेछ ।
(२) अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा पन्ध्र दिन अगावै अनुमतिपत्र नवीकरणको लागि पाँच सय रुपैयाँ नवीकरण दस्तुर सहित अनुसूची-४ बमोजिमको ढाँचामा सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्छ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा कार्यालयले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो अनुमतिपत्र नवीकरण गरिदिनु पर्छ ।
८. अनुमतिपत्र रद्द गर्न सकिने : (१) अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले नियम ७ बमोजिमको अवधिभित्र अनुमतिपत्र नवीकरण नगराएमा सम्बन्धित कार्यालयले त्यस्तो अनुमतिपत्र रद्द गर्नेछ ।
(२) सम्बन्धित कार्यालयले देहायको अवस्थामा अनुमतिपत्र रद्द गर्न सक्नेछ :- (क) यस नियमावली तथा अनुमतिपत्रमा उल्लेखित शर्त उल्लंघन गरेमा, (ख) विभागले दिएको निर्देशन पालना नगरेमा ।
९. अभिलेख राख्ने: (१) स्वास्थ्य संस्थाले आफूले दिएका खोपको विवरण तथा खोप लिने व्यक्तिको नाम, थर, उमेर, लिङ्ग समेतको विवरण खुल्ने गरी अभिलेख राख्नु पर्छ ।
(२) उपनियम (१) बमोजिमको विवरण कार्यालयले आवश्यकता अनुसार निरीक्षण तथा जाँच गर्न सक्नेछ ।
१०. खोप सेवाको प्रतिवेदन : (१) अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले आफूले सञ्चालन गरेको खोप सेवाको प्रतिवेदन प्रत्येक महिनाको महिना समाप्त भएको सात दिनभित्र मन्त्रालयले निर्धारण गरेको ढाँचामा सम्बन्धित कार्यालयमा पेश गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका विषय समावेश गर्नु पर्छ :- (क) खोप लिने सेवाग्राहीको नाम, थर, उमेर, लिङ्ग तथा सङ्ख्या सहितको विवरण, (ख) कुन रोग विरुद्ध खोप दिइएको हो, सो को विवरण,
(ग) खोपको कारणबाट खोप लिने व्यक्तिमा कुनै नकारात्मक असर देखिएको भए सो को विवरण,
(घ) कार्यालयले तोकेका अन्य आवश्यक विषय ।
११. खोप कार्डको ढाँचा : खोप दिने व्यक्तिले खोप लगाएको प्रमाण स्वरूप खोप लगाउने प्रत्येक व्यक्तिलाई अनुसूची-५ बमोजिमको ढाँचामा खोपकार्ड दिनु पर्नेछ ।
१२. खोप सेवाको अनुगमन गर्नु पर्ने : (१) कार्यालयले स्वास्थ्य संस्थाबाट सञ्चालित खोप सेवाको नियमित रूपमा अनुगमन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा अन्य कुराको अतिरिक्त देहायका विषयमा अनुगमन गर्नु पर्नेछ :-
(क) ऐन तथा यस नियमावली बमोजिमको खोप सम्बन्धी मापदण्ड पूरा गरे, नगरेको,
(ख) अनुमतिपत्रमा उल्लेख भए बमोजिमको सेवा सञ्चालन गरे, नगरेको,
(ग) खोप सेवा सञ्चालन गर्दा त्यस्ता खोपको प्रकृति, फाइदा र सम्भावित असरका बारेमा खोप लिने व्यक्ति, निजको संरक्षक वा अभिभावकलाई जानकारी गराए, नगराएको,
(घ) समितिले जारी गरेको खोप सेवा सञ्चालन सम्बन्धी निर्देशिका तथा विभागले तोकेको मापदण्ड पालना गरे, नगरेको,
(ङ) ऐन तथा यस नियमावलीमा तोकिएको अन्य शर्तहरू पालना गरे, नगरेको ।
(३) उपनियम (२) बमोजिम अनुगमन गर्दा कार्यालयले सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु त्यस्तो स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ ।
१३. मन्त्रालयको स्वीकृति लिनु पर्ने : (१) ऐनको दफा १३ को उपदफा (३) बमोजिम विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तर युक्त रहेको भनी प्रमाणित भई नसकेको खोप आपूर्ति गर्न चाहने संस्थाले प्रत्येक पटक खोप आपूर्ति गर्न मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्वीकृति लिन चाहने संस्थाले सल्लाहकार समितिको सिफारिस संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा मनासिब देखिएमा मन्त्रालयले निवेदकलाई अनुसूची-७ बमोजिमको ढाँचामा स्वीकृतिपत्र दिनेछ ।
१४. समितिको काम, कर्तव्य र अधिकार : ऐनको दफा १६ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) ऐनको दफा ३९ बमोजिम तयार पारिएको वार्षिक प्रतिवेदनमा औँल्याइएका समस्या तथा चुनौती समाधानका लागि आवश्यक पहल गर्ने,
(ख) खोप सेवाको प्रभावकारी सञ्चालनका सम्बन्धमा मन्त्रालयले समय समयमा दिएका निर्देशन पालना गर्ने, गराउने ।
१५. सल्लाहकार समितिको बैठक सम्बन्धी व्यवस्था : (१) सल्लाहकार समितिको बैठक आवश्यकता अनुसार सो समितिको अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ ।
(२) सल्लाहकार समितिको बैठक सो समितिको अध्यक्षको निर्देशनमा सदस्य-सचिवले बोलाउनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सल्लाहकार समितिको अध्यक्षको अनुपस्थितिमा सदस्य-सचिवले सदस्यहरूसँग परामर्श गरी सल्लाहकार समितिको बैठक बोलाउन सक्नेछ ।
(४) सल्लाहकार समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य-सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सो समितिका सदस्यहरूलाई दिनु पर्नेछ ।
(५) सल्लाहकार समितिका कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(६) सल्लाहकार समितिको बैठकको अध्यक्षता त्यस्तो समितिको अध्यक्षले र निजको अनुपस्थितिमा सो बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(७) सल्लाहकार समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(८) सल्लाहकार समितिले आवश्यक ठानेमा खोप कार्यक्रमसँग सम्बन्धित क्षेत्रको विशेषज्ञलाई सो समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(९) सल्लाहकार समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
१६. अनुसन्धान समितिको बैठक सम्बन्धी व्यवस्था : (१) अनुसन्धान समितिको बैठक आवश्यकता अनुसार सो समितिको अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ ।
(२) अनुसन्धान समितिको बैठक सो समितिको अध्यक्षको निर्देशनमा सदस्य-सचिवले बोलाउनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान समितिको अध्यक्षको अनुपस्थितिमा सदस्य-सचिवले सदस्यहरूसँग परामर्श गरी अनुसन्धान समितिको बैठक बोलाउन सक्नेछ ।
(४) अनुसन्धान समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य-सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना समितिका सदस्यहरूलाई दिनु पर्नेछ ।
(५) अनुसन्धान समितिका कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(६) अनुसन्धान समितिको बैठकको अध्यक्षता त्यस्तो समितिको अध्यक्षले र निजको अनुपस्थितिमा सो बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(७) अनुसन्धान समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(८) अनुसन्धान समितिले आवश्यक ठानेमा खोप कार्यक्रमसँग सम्बन्धित क्षेत्रको विशेषज्ञलाई सो समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(९) अनुसन्धान समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
१७. कोषको खाता सञ्चालन : कोषको खाता विभागका महानिदेशक र लेखा प्रमुखको संयुक्त दस्तखतमा सञ्चालन गर्नु पर्नेछ । सङ्घीय संरचनामा विभाग नरहेमा मन्त्रालयका सचिव र लेखा प्रमुखको संयुक्त दस्तखतमा सञ्चालन गर्नु पर्नेछ ।
१८. उजूरी दिन सक्ने : कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेमा वा निजको अङ्गभङ्ग वा मृत्यु भएमा त्यस्तो खोपबाट पीडित व्यक्ति वा निजको परिवारको सदस्यले त्यस्तो घटना भएको सात दिनभित्र उपचार तथा क्षतिपूर्तिको लागि सम्बन्धित कार्यालयमार्फत समितिमा उजूरी दिन सक्नेछ ।
स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “परिवार” भन्नाले पीडित वा मृतकको एकासगोलको पति, पत्नी, बाबु, आमा वा सौतेनी आमा, दाजु, भाई, दिदी, बहिनी, छोरा, छोरी, बुहारी, नाति वा नातिनी सम्झनु पर्छ र सो शब्दले निजको संरक्षक वा अभिभावकलाई समेत जनाउँछ ।
१९. उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था : (१) नियम १८ बमोजिम कुनै उजूरी परेमा समितिले सो विषयमा अनुसन्धानको लागि सात दिनभित्र त्यस्तो उजूरी अनुसन्धान समितिमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजूरी प्राप्त भएमा अनुसन्धान समितिले सो उजूरीसँग सम्बन्धित पक्षलाई बुझ्ने, प्रमाण सङ्कलन गर्ने लगायतका कार्य गरी ऐनको दफा २८ बमोजिम उपचार गर्नु पर्ने तथा क्षतिपूर्ति दिनु पर्ने वा नपर्ने सम्बन्धमा ठहर गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम क्षतिपूर्ति दिनु पर्ने ठहर भएमा अनुसन्धान समितिले देहायका आधारमा क्षतिपूर्ति रकम निर्धारण गर्नु पर्नेछ :-
(क) खोपको कारणबाट खोप लिने व्यक्तिलाई परेको प्रतिकूल असर वा प्रभावको गम्भीरता, (ख) खोप लिन नहुने व्यक्तिलाई खोप दिए वा नदिएको, (ग) ऐन तथा यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी खोप दिए वा नदिएको, (घ) अनुसन्धान समितिले आवश्यक देखेका अन्य आधार ।
(४) उपनियम (१) बमोजिम उजूरी प्राप्त गरेको मितिले पैँतीस दिनभित्र अनुसन्धान समितिले आफ्नो ठहर सहितको अनुसन्धान प्रतिवेदन समितिमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्रतिवेदन दिनु पूर्व अनुसन्धान समितिले ऐनको दफा २९ बमोजिम समितिबाट विशेषज्ञ समिति गठन गरेको भए त्यस्तो समितिको राय समेतको आधारमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(६) उपनियम (४) बमोजिम प्रतिवेदन प्राप्त भएको पन्ध्र दिनभित्र समितिले सम्बन्धित पीडित वा निजको हकवालालाई अनुसन्धान समितिबाट सिफारिस भए बमोजिमको क्षतिपूर्ति रकम उपलब्ध गराउनु पर्नेछ ।
(७) खोप लगाए पश्चात खोप लिने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको वा निजको अङ्गभङ्ग भएको भनी अनुसन्धान समितिले सिफारिस गरेमा सो खोप दिने स्वास्थ्य संस्थाले त्यस्तो व्यक्तिको उपचारको आवश्यक प्रबन्ध गरी उपचार बापत लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्नेछ ।
तर सरकारी स्वास्थ्य संस्थाको हकमा मन्त्रालयले निर्णय गरे बमोजिम हुनेछ ।
२०. अनुसूचीमा हेरफेर वा थपघट : मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित) अनिवार्य रूपमा खोप लगाउनु पर्ने रोग र त्यस विरुद्ध दिइने खोपको सूची
अनुसूची–२ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) अनुमतिपत्रको लागि दिइने निवेदन
श्री .............................................. कार्यालय ...................................................................
विषय: अनुमतिपत्र सम्बन्धमा ।
खोप सेवा सञ्चालन गर्नको लागि अनुमतिपत्र आवश्यक परेकोले देहाय बमोजिमको विवरण खुलाई खोप नियमावली, २०७४ को नियम ५ को उपनियम (१) बमोजिम यो निवेदन पेश गरेको छु ।
१. स्वास्थ्य संस्थाको,– (क) नाम : (ख) ठेगाना (सम्पर्क नम्बर समेत) : (ग) संस्थाको प्रकार : (अ) निजी/गैरसरकारी/सामुदायिक : (आ) अस्पताल/नर्सिङ्ग होम/पोलिक्लिनिक/खोपकेन्द्र/क्लिनिक :
२. स्वास्थ्य संस्थाको भौतिक अवस्था : (क) भवन/कोठा : (ख) खोप सेवा सञ्चालन गर्न छुट्टै कोठा भएको/नभएको : (ग) खोप सेवा सञ्चालन गर्न फर्निचरको विवरण : (घ) कोल्ड चेनको व्यवस्था : (अ) रेफ्रिजेरेटरको सङ्ख्या र प्रकार (आ) कोल्ड बक्स सङ्ख्या र प्रकार (इ) भ्याक्सिन क्यारियर सङ्ख्या र प्रकार
(ई) आइस प्याक सङ्ख्या र प्रकार
(इ) हात धुने व्यवस्था भए/नभएको
(च) फोहरमैलाको विसर्जन गर्ने व्यवस्थाको विवरण :
३. खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकार :
४. सञ्चालन गर्न चाहेको खोप :
(क) खोप कार्यक्रममा समावेश भएका खोपहरू :
(ख) अन्य खोपहरू :
५. निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू :-
(क) संस्था दर्ता प्रमाणपत्र
(ख) स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्रको प्रतिलिपि
(ग) पछिल्लो आर्थिक वर्षको कर तिरेको प्रमाण–पत्र
(घ) खोप दिने स्वास्थ्यकर्मीको शैक्षिक योग्यताको प्रमाण पत्र र काउन्सिल दर्ता प्रमाणपत्र
संस्थाको छाप : $\quad$ संस्थाको तर्फबाट निवेदन दिने व्यक्तिको,-
$\quad$ दस्तखत :
$\quad$ नाम, थर :
$\quad$ पद :
$\quad$ मिति :
$\quad$ संस्थाको नाम र ठेगाना :
अनुसूची–३ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित) खोप सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई दिइने अनुमतिपत्र
नेपाल सरकार स्वास्थ्य मन्त्रालय .......................................................... .....................................................................
सेवा सञ्चालन गर्ने अनुमतिपत्र
अनुमतिपत्र नं. :
श्री ................................................................................................... .....................................................................................................................
खोप सेवा सञ्चालन गर्ने अनुमतिको लागि मिति .................................. मा त्यस स्वास्थ्य संस्थाबाट दिइएको निवेदन उपर कारबाही हुँदा त्यस संस्थालाई खोप सेवा सञ्चालन गर्ने अनुमतिपत्र दिने गरी मिति ................................. मा निर्णय भएकोले खोप ऐन, २०७२, खोप नियमावली, २०७४ तथा देहायका शर्तहरूको अधीनमा रही देहायका खोपहरू सञ्चालन गर्ने गरी खोप नियमावली, २०७४ को नियम ५ को उपनियम (२) बमोजिम यो अनुमतिपत्र दिइएको छ ।
१. खोप सेवा सञ्चालन गर्न अनुमति दिइएका खोपहरू (क) कार्यक्रममा समावेश भएका खोपहरू : (ख) अन्य खोपहरू :
२. अनुमतिपत्र कायम रहने अवधि :
कार्यालयको छाप : $\quad$ अनुमतिपत्र दिने अधिकारीको- $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम र थर : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद : $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति :
३. अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले पालना गर्नु पर्ने शर्तहरू : (क) खोप सेवा सञ्चालन गर्दा प्रयोग हुने खोपहरू ऐन तथा नियमावली बमोजिम निर्धारित मापदण्ड अनुरूपको हुनु पर्ने, (ख) खोपको भण्डारणको लागि निर्धारित मापदण्ड बमोजिमको छुट्टै कक्षको व्यवस्था गर्नु पर्ने, (ग) खोप कार्यक्रममा समावेश भएका खोपहरू निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने, (घ) अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै अनुमतिपत्र नवीकरण गराउनु पर्ने, (ङ) खोप सेवाका सम्बन्धमा यस नियमावली बमोजिमको प्रतिवेदन सम्बन्धित कार्यालयमा बुझाउनु पर्ने,
(च) खोप दिने व्यक्तिले खोप लिएको स्पष्ट देखिने गरी खोप लिने व्यक्तिलाई खोप कार्ड दिनु पर्ने,
(छ) यस नियमावली बमोजिमका शर्तहरू पालना गर्नु पर्ने ।
(अनुमतिपत्रको पछडिको पृष्ठमा लेखिने)
अनुमतिपत्रको नवीकरण
अनुसूची-४ (नियम ७ को उपनियम (२) सँग सम्बन्धित) अनुमतिपत्र नवीकरणको लागि दिने निवेदन
श्री .................................. कार्यालय .................................. ।
विषय : अनुमतिपत्र नवीकरण सम्बन्धमा ।
त्यस कार्यालयबाट मिति ........................ मा प्रदान गरिएको अनुमतिपत्रको अवधि मिति ....................... मा समाप्त हुने भएकोले अनुमतिपत्र नवीकरण गराउनको लागि खोप नियमावली, २०७४ को नियम ७ को उपनियम (२) बमोजिम यो निवेदन पेश गरेको छु ।
स्वास्थ्य संस्थाको तर्फबाट निवेदन दिने व्यक्तिको, स्वास्थ्य संस्थाको छाप : दस्तखत : नाम, थर : पद : मिति :
अनुसूची-५ (नियम ११ सँग सम्बन्धित)
खोप कार्ड
खोप कार्डको अग्र भाग
नेपाल सरकार Government of Nepal स्वास्थ्य मन्त्रालय Ministry of Health ...................................................... ......................................................
खोप लगाएको प्रमाणपत्र Immunization-Certificate
खोप लिने व्यक्तिको नाम, थर : ................................................... लिङ्ग : ........Nationality : ............................
Full Name : ………………………………………………………….………Sex : ……..… Nationality : …………
बाबुको नाम : ....................................................................................................................... Father’s Name : .......................................................................................................................
आमाको नाम : ....................................................................................................................... Mother’s Name : .......................................................................................................................
जन्म मिति गते/महिना/साल : ……/……/…... कार्ड जारी गरेको मिति गते/महिना/साल : ……./………./….……
Date of Birth (DD/MM/YY) : ………/………/………… Date of Card Issued (DD/MM/YY): ………/………/…………
ठेगाना: प्रदेश : …………………………जिल्ला : …………………… पोस्टल/जिप कोड : ………………
Address: State …………….....………. District………………………….. Postal/ZIP Code: ………..
गाउँपालिका/नगरपालिका : …..........………………वडा : ……….. टोल/गाउँ : ………………………………
Village Body/Municipality : …………………………Ward No : ……………. Tole/Village : …………………
खोप कार्डको भित्री भागको पहिलो पाना
खोपको मात्रा दिएको मिति (ग/म/सा) तल लेख्नुहोस् Write the date (DD/MM/YY) of antigen dose given
खोप कार्डको भित्री भागको दोस्रो पाना
खोप कार्ड Immunization Card (Certificate of Vaccination)
कृपया यो कार्ड कसैले भेटेमा नजिकको स्वास्थ्य संस्थामा बुझाई दिनु होला ।
खोप कार्डको पृष्ठ भाग
द्रष्टव्य: कार्डको भित्री भागमा लेखिने सबै अक्षरहरू गाढा रातो रङ्गमा हुनु पर्नेछ । कार्डको अग्र पाना र पृष्ठ पानाको पृष्ठभूमि गाढा निलो रङ्गको बनाई त्यसमा लेखिने अक्षरहरू सेतो रङ्गमा हुनु पर्नेछ । कार्डको लम्बाई (तेसो) बार्स सेन्टिमिटर (जसलाई बीचमा मोडी एघार-एघार सेन्टिमिटर बनाउनु पर्ने) र चौडाई (ठाडो) तेह्र सेन्टिमिटर हुनु पर्नेछ ।
अनुसूची–६ (नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
खोप आपूर्ति गर्ने स्वीकृतिको लागि दिइने निवेदन
श्री स्वास्थ्य मन्त्रालय, काठमाडौँ ।
विषय : स्वीकृति सम्बन्धमा ।
विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तरयुक्त रहेको भनी प्रमाणित भई नसकेको देहाय बमोजिमको खोप आपूर्ति गर्नु पर्ने भएकोले आपूर्ति गर्ने स्वीकृतिको लागि देहायका कागजात संलग्न गरी खोप नियमावली, २०७४ को नियम १३ को उपनियम (२) बमोजिम यो निवेदन गरेको छु ।
खोप आपूर्ति गर्ने संस्थाको, नाम : ठेगाना : छाप :
खोप आपूर्ति गर्ने संस्थाको तर्फबाट निवेदन दिने व्यक्तिको, दस्तखत : नाम, थर : ठेगाना : मिति :
निवेदन साथ संलग्न गर्नु पर्ने कागजात :
(क) आपूर्ति गर्न लागेको खोप असल उत्पादन प्रक्रिया अपनाई उत्पादन भएको प्रमाणित गर्ने कागजात,
(ख) आपूर्ति गर्न लागेको खोप उत्पादन भएको मुलुक वा अन्य देशमा प्रयोग भइसकेको प्रमाणित गर्ने कागजात,
(ग) आपूर्ति गर्न लागेको खोप उत्पादन गर्ने देशको नियमनकारी निकायमा दर्ता भएको प्रमाणित गर्ने कागजात,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिमको व्यहोरा औषधि व्यवस्था विभागबाट प्रमाणित गरेको कागजात,
(ङ) खोप आपूर्ति गर्ने संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(च) सल्लाहकार समितिको सिफारिस पत्र ।
अनुसूची–७ (नियम १३ को उपनियम (३) सँग सम्बन्धित) खोप आपूर्तिको लागि दिइने स्वीकृतिपत्र
श्री .............................................................................
विषय: स्वीकृतिपत्र सम्बन्धमा ।
त्यस संस्थाबाट विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त रहेको भनी प्रमाणित भई नसकेको खोप आपूर्ति गर्न पाऊँ भनी मिति ............................................................. मा दिएको निवेदन उपर कारबाही हुँदा त्यस संस्थालाई देहाय बमोजिमको खोप आपूर्ति गर्न खोप नियमावली, २०७४ को नियम १३ को उपनियम (३) बमोजिम यो स्वीकृतिपत्र दिइएको छ ।
स्वीकृतिपत्र दिने अधिकारीको,-
कार्यालयको छाप : $\quad$ दस्तखत :
$\quad$ नाम, थर :
$\quad$ पद :
$\quad$ मिति :