गोरखापत्र कर्पोरेसन नियमहरू, २०२१ नेपाल राजपत्रमा प्रकाशित मिति २०२१।१२।२६
संशोधन गोरखापत्र कर्पोरेसन (पहिलो संशोधन) नियमहरु, २०६९ २०६९।०९।२३
गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यी नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “गोरखापत्र कर्पोरेसन नियमहरू, २०२१” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,- (क) “ऐन” भन्नाले गोरखापत्र कर्पोरेसन ऐन, २०१९ लाई सम्झनु पर्छ। (ख) “शेयर” भन्नाले कर्पोरेसनको निर्धारित शेयर सम्झनु पर्छ। (ग) “लाभांश” भन्नाले शेयरमा मुनाफाको रूपमा दिइने रकम सम्झनु पर्छ र यो शब्दले बोनसलाई समेत जनाउँछ। (घ) “प्रतिनिधि” भन्नाले रीतपूर्वक अधिकार प्राप्त प्रतिनिधि सम्झनु पर्छ। (ङ) “सचिव” भन्नाले समितिको सचिव नै काम गर्ने म्यानेजिङ्ग डाइरेक्टरलाई जनाउँछ।
परिच्छेद-२ सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू
३. सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू : (१) प्रत्येक सञ्चालकलाई समितिको सभामा भाग लिई गरेको सेवा वापत पारिश्रमिकको रूपमा तीस रुपैयाँ कर्पोरेसनको कोषबाट दिइनेछ। (२) काठमाडौं उपत्यका बाहिर तत्काल बसोबास गर्ने कुनै सञ्चालकलाई समितिको सभामा भाग लिन वा कर्पोरेसनको काममा सो इलाकामा आउँदा नेपाल सरकारको
राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत सरह दैनिक भत्ता, भ्रमण भत्ता र उपनियम (१) मा लेखिएको पारिश्रमिक कर्पोरेसनले दिन दिलाउन सक्नेछ। (३) सञ्चालकहरूलाई कर्पोरेसनको अरू सेवामा बोलाइएमा निजहरूलाई कर्पोरेसन र निजहरूको बीच हुने सम्झौता अनुसार माथिका उपनियमहरूमा लेखिएको पारिश्रमिकको अतिरिक्त अरू थप रकम दिइनेछ। (४) माथिका उप-नियमहरूमा लेखिएका पारिश्रमिकको अतिरिक्त सञ्चालकले अख्तियार पाए बमोजिम समय समयमा कर्पोरेसनको व्यवसाय कारोबार र त्यसको व्यवस्थाको निमित्त तरीख वा खर्च गरी विवरण पेश गरेमा मनासिब देखिए जति अङ्क निजलाई भत्ता दिइनेछ। (५) यी नियमहरूमा जेसुकै लेखिएको भए तापनि सल्लाहकारले कर्पोरेसनको काममा भ्रमण गर्नु पर्दा सञ्चालकलाई सरह दैनिक भत्ता र भ्रमण भत्ता निजलाई समितिले दिन दिलाउन सक्नेछ।
४. रजिष्टर राख्ने : सञ्चालकले काम गरेको छोटकरी विवरण र रेकर्डको लागि समितिले प्रधान कार्यालयमा एक रजिष्टर राख्नु पर्नेछ।
परिच्छेद-३ समितिको सभा र कार्यविधि
५. समितिको सभा : समितिको अध्यक्षले चाहेको बखत समितिको सभा बोलाउन सक्नेछ । तर त्यस्तो सभा वर्षमा ६ पटक भन्दा घटी हुने छैन। समितिको सभाको कार्यसूची सहित सभा हुने स्थान र समयको सूचना साधारणतः सभाहुने अठ्ठालिस घण्टा अगावै प्रत्येक सञ्चालकलाई तत्काल बसोबास गर्ने घरको ठेगानामा लिखित रूपमा पठाउनु पर्नेछ।
६. गणपूरक सङ्ख्या (कोरम) नपुगेमा अर्को सभा बोलाउने : गणपूरक सङ्ख्या नपुगेको कारणबाट समितिको सभा बस्न नसकेमा समितिको अर्को सभा अध्यक्षले तोकेको दिन समय र स्थानमा बस्नेछ।
७. समितिको कारबाही : (१) समितिले आफ्नो सभामा कार्यसूचीमा परेको कुरामा छलफल गर्नेछ। (२) कुनै सञ्चालकले कार्यसूची बाहिरको कुरा छलफल गर्न चाहेमा उपस्थित सबै सञ्चालकहरूको स्वीकृति लिई गर्न सकिनेछ।
(३) सभाको प्रत्येक प्रश्नको निर्णय साधारण बहुमतबाट हुनेछ। तर मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ।
८. माइन्युट किताबहरू राख्ने : समितिले साधारण सभाहरूको निर्णय र आफ्नो सभामा पास भएको कुरा छुट्टा छुट्टै माइन्युट किताबमा चढाई हिफाजत साथ राख्नु पर्छ।
९. शेयर होल्डरद्वारा निरीक्षण : समितिले साधारण सभाको माइन्युट किताबलाई कार्यालयको समय जुनसुकै बखत पनि शेयर होल्डरले निरीक्षण गर्न पाउने गरी खुला राख्नु पर्छ।
परिच्छेद-४ साधारण सभा, विशेष साधारण सभा र कार्यविधि
१०. साधारण सभा बोलाउने समय : (१) कोपोरेसनको साधारण सभा बोलाउँदा सबै शेयर होल्डरहरूलाई सभा हुने स्थान, दिन, समय र कार्यहरूको विवरण सहितको लिखित सूचना कमसेकम १० दिन अगाडि दिनु पर्छ। (२) उपनियम (१) बमोजिम कुनै शेयर होल्डरहरूलाई सभा हुने सूचना आकस्मिक कारणवश छुटेको वा कुनै शेयरहोल्डरले सभाको सूचना नपाएको कारणले कुनै सभामा भएको काम कारबाही अमान्य हुने छैन।
११. साधारण सभाको काम : लाभ हानीको हिसाब व्यालेन्सिट कोपोरेसन र लेखा परीक्षकहरूको रिपोर्ट लिने र त्यस उपर विचार गर्ने पालो पालो गरी अवकाश लिने सञ्चालकहरूको स्थानमा अर्को सञ्चालकहरू नियुक्त गर्ने अडिटरहरू नियुक्त गर्ने र तिनिहरूको मेहनताना निर्धारित गर्ने लाभांश घोषणा गर्ने र वार्षिक साधारण सभाद्वारा गर्नु पर्ने भनी लेखिएका अरू सबै कार्यहरू सम्पादन गर्ने काम वार्षिक साधारण सभाको हुनेछ।
१२. साधारण सभाको अध्यक्ष : प्रत्येक साधारण सभामा समितिको अध्यक्षले अध्यक्षता गर्न पाउनेछ। त्यस्तो कुनै अध्यक्ष नभएमा वा कुनै सभामा बैठक हुन तोकिएको समयले १५ मिनेटसम्म पनि निज उपस्थित नभएमा वा उपस्थित भएपछि अध्यक्षता गर्न इच्छुक नभएमा उपस्थित शेयरहोल्डरहरूले अर्को सञ्चालकलाई सो सभाको निमित्त अध्यक्ष छान्ने छन्, सबै सञ्चालकहरू उपस्थित नभएमा वा उपस्थित भएपछि अध्यक्षता गर्न इच्छुक नभएमा उपस्थित शेयरहोल्डरले आफूमध्ये एक जनालाई अध्यक्ष छान्ने छन्।
१३. गणपूरक संख्या नपुगेको समयमा सभा स्थगित गर्ने : साधारण सभाको निमित्त तोकिएको समयले आधा घण्टा पछि पनि आवश्यक गणपूरक संख्या नपुगेमा अध्यक्षले आवश्यकता अनुसार अर्को पटक बस्ने गरी सभा स्थगित गर्नेछ।
१४. प्रस्ताव राख्ने तरीका र निर्णय गर्ने : (१) साधारणतः साधारण सभामा प्रस्ताव उपर हात उठाएर निर्णय गरिनेछ। तर त्यसरी हात उठाएर मतदान गर्नु भन्दा अगावै बहुसङ्ख्यक शेयरहोल्डरहरूले गुप्त मत दिने माग गरेमा भने सोही बमोजिम गर्नु पर्दछ। कुनै प्रस्ताव हातहरू उठाएर सर्वसम्मतबाट वा बहुमतबाट पास भएको वा अस्वीकृत भएको कुरा अध्यक्षले घोषणा गरी सो कुरा सभाको माइन्यूट किताबमा चढाईपछि सो कुराको अन्तिम प्रमाण हुनेछ। त्यसको लागी प्रस्तावको पक्ष वा विपक्षमा दिइएका मतहरूको सङ्ख्या र अनुपात बारे कुनै प्रमाणको रेकर्ड राख्नु पर्दैन। (२) उपनियम (१) मा लेखिए बमोजिम गुप्त मतदानको माग गरिएमा त्यस्तो मतदान सभाको अध्यक्षले निर्देशन गरे बमोजिमको तरीका अनुसार सोही बमोजिमको समय र स्थानमा तुरुन्त वा केही मध्यान्तरपछि वा बढीमा ४८ घण्टा सम्मको सभा स्थगनपछि लिइनेछ र सो मतदानको नतीजालाई सभाको निर्णय मानिनेछ।
१५. मत गणना गर्नेको नियुक्ति : शेयरहोल्डरहरूले गुप्त मतदानको माग गरेमा मतहरूको गणना गर्ने र त्यसको प्रतिवेदन अध्यक्ष छेउ पेश गर्नुको निमित्त २ जना मतगणना गर्ने व्यक्तिहरू नियुक्ति गर्नु पर्छ। मतदानको नतीजा निकाल्नु भन्दा अगाडि कुनै पनि बखत अध्यक्षले मत गणना गर्नेलाई सो पदबाट हटाउन पाउने र त्यसरी हटाएकोमा रिक्त स्थानको पूर्ति गर्न पाउने छ। तर मत गणना गर्ने एकजना व्यक्ति साधारण सभामा उपस्थित शेयरहोल्डरहरू मध्ये कुनै एक शेयरहोल्डर (सञ्चालक नभएको) हुनेछ।
१६. साधारण सभा स्थगित गर्ने अधिकार : साधारण सभाको अध्यक्षले मनानसब कारण भएमा सो सभालाई अर्को समय र स्थानको निमित्त स्थगित गर्न सक्नेछ। तर एक सभामा राखिएको काम कार्यहरू नसकिई अर्को पटक बस्ने गरी सभा स्थगित गरिएमा अघिल्लो सभामा नसकिई बाँकी रहेका काम कार्यहरू बाहेक अरू कुनै कार्य सम्पादन गर्न सकिने छैन।
१७. सभा स्थगित नगरी कुनै गुप्त मत दिने : सभाको अध्यक्षको चुनावमा वा सभा स्थगनको प्रश्नमा रीतपूर्वक गुप्त मतदान माग गरिएमा सभा स्थगित नगरी सोही सभामा मत लिइनेछ।
१८. गुप्त मतदान लिने मागबाट काम कार्य नरोकिने : गुप्त मत लिने माग भएमा सोही माग सम्बन्धी प्रश्न बाहेक अरू काम कार्यहरू सम्पन्न गर्नुको निमित्त सभालाई आफ्नो काम चालू गर्न बाधा पुर्याउने छैन।
१९. विशेष साधारण सभा बोलाउने : समितिले निकालेको शेयर पूँजीका कम्तीमा दश खण्डको एक खण्ड मूल्यको शेयर लिने वा कम्तीमा पच्चीस जना शेयरहोल्डरहरूले आफ्नो हस्ताक्षरमा लिखित निवेदन गरेमा वा समितिले आवश्यक देखेमा जुनसुकै बखत पनि विशेष साधारण सभा बोलाउन सक्नेछ। विशेष साधारण सभाको माग हुँदा निम्नलिखित कुराहरू समावेश हुनु पर्छ:- (क) विशेष साधारण सभाको माग हुँदा सभा बोलाउन पर्ने उद्देश्यहरूको उल्लेख भै माग गर्नेहरूको दस्तखत गरी सो मागपत्र समितिको प्रधान कार्यालयमा दाखिल भएको हुनुपर्छ। एक वा एक भन्दा बढी कुराको माग गरेमा माग गर्ने एक वा एकभन्दा बढी शेयरहोल्डरहरूको दस्तखत परेको लिखितहरू दाखिल गर्न सकिनेछ। (ख) खण्ड (क) बमोजिम विशेष साधारण सभाको मागपत्र दाखिल भएको मितिले २१ दिनभित्र पनि समितिले त्यस्तो सभा बोलाउने तर्फ कारबाही नगरेमा नेपाल सरकारको सम्बन्धित विभागले त्यस्तो सभा बोलाउन सक्नेछ। (ग) खण्ड (ख) अन्तर्गत नेपाल सरकारको सम्बन्धित विभागले त्यस्तो कुनै विशेष साधारण सभा गर्दा समितिले सभा बोलाउँदा सरहको कार्यविधि अपनाउनेछ। तर यस्तो सभा कर्पोरेसनको प्रधान कार्यालयमा नै बस्नुपर्छ, सार्वजनिक विदा परेको दिनमा भने कुनै सभा गर्नु हुँदैन।
२०. गणपूरक संख्या नपुगेको विशेष साधारण सभा समाप्त हुने : (१) नियम १९ बमोजिम विशेष साधारण सभा बोलाउँदा बैठक हुने समयको १५ मिनेट पछि सम्ममा गणपूरक संख्या नपुगेमा अर्को एक पटक समयलाई सो सभा स्थगित गर्न सकिनेछ। (२) उपनियम (१) बमोजिम अर्को बैठक बोलाउँदा पनि गणपूरक संख्या नपुगेमा सो सभा समाप्त भएको मानिनेछ।
परिच्छेद-५ शेयरहोल्डरहरूको मत दिने कार्य प्रणाली र उत्तरदायित्व
२१. संगठित संस्था शेयरहोल्डर भएकोमा कार्यविधि : कुनै संगठित संस्था समितिको शेयर होल्डर भएकोमा त्यस्तो संगठित संस्थाको सञ्चालकहरूको समितिले प्रस्ताव पास गरी कर्पोरेसनको साधारण सभा वा विशेष साधारण सभामा आफ्नो प्रतिनिधि भई काम गर्न आफूले उपयुक्त
देखेको व्यक्तिलाई अख्तियार दिन सक्नेछ। त्यस्तो अख्तियारी पाएको व्यक्तिले सो संगठित संस्थाको तर्फबाट सो संस्थाले शेयरहोल्डर वा ऋणदाताको हैसियतले पाउने सबै हक र अधिकारहरूको प्रयोग गर्न पाउनेछ। त्यस्तो संगठित संस्थाको एकजना सञ्चालकले सक्कल प्रस्ताव बमोजिमको नक्कल हो भनी प्रमाणित गरी रीतपूर्वक दस्तखत गरी कर्पोरेसनको सभामा सो अख्तियारको नक्कल पेश गरेमा त्यसलाई निजको नियुक्ति को प्रमाण मानिनेछ।
२२. मृत वा बहुला वा टाट उल्टे को शेयरहोल्डरको मत : नियम ४९ अन्तर्गत कुनै शेयर नामसारी गर्न पाउने कुनै व्यक्ति हकिवालाले आफू रजिष्टर शेयरहोल्डर भए सरह सो शेयर बापत कुनै पनि साधारण सभामा मत दिन पाउनेछ। तर आफूले प्रस्ताव पेश गरेको साधारण सभा वा त्यस्तो स्थानमै अर्को पटक बोलाइएको साधारण सभा हुने समयको कमसेकम ४८ घण्टा अगावै निजले आफ्नो शेयर नामसारी भएको कुरा समितिलाई लिखित बुझाउन सक्नुपर्छ वा समितिले अगावै निजको त्यस्तो हक स्वीकृत गरेको हुनु पर्छ।
२३. संयुक्त शेयरहोल्डरहरू : कुनै शेयरको सम्बन्धमा संयुक्त शेयरहोल्डरहरू भएमा ती मध्ये कुनै एक जनाले साधारण सभामा सो शेयर उपर आफ्नो एकलौटी हक भए सरह सो शेयर बापत मत दिन पाउँछ। सभामा त्यस्तो संयुक्त शेयरहोल्डरहरू एकभन्दा बढी उपस्थित भएमा सो शेयरको रजिष्टर हकताबमा तिनीहरूमध्ये जसको नाम अगाडि परेको छ र निजको नाम मात्र कर्पोरेसनको शेयरहोल्डरमा दर्इएको मानिनेछ र निजले मात्र सो शेयर बापत मत दिन पाउनेछ।
२४. शेयर बिक्री गर्दा : समितिले आफ्नो शेयरहरू सर्वसाधारण जनतामा बिक्रीको लागि दिँदा समितिको स्थितित बारे पूरा जानकारी गराउन समितिको कारोबार, व्यवसाय, लगानी र आर्थिक स्थिति सम्बन्धी सबै विवरणहरू भएको उद्देश्यपत्र निकाल्नु पर्छ। त्यस्तो उद्देश्यपत्र साधारण सभाको स्वीकृति लिई निकाल्नु पर्छ।
२५. शेयर बाँडफाँड नगरेमा रकम फिर्ता दिने : कर्पोरेसनले देहाय बमोजिम गर्नु पर्छ :- (क) जारी गरिएको पूँजीको ५० प्रतिशत दाखिल नभएसम्म समितिले शेयरहरू बाँडफाँड गर्ने तर्फ काम कारबाही गर्नु हुँदैन, (ख) शेयरको निमित्त दरखास्त परेको मितिले ३ महिनाभित्र कर्पोरेसनले दरखास्तिवालालाई शेयर बिक्री गर्नु पर्छ वा बिक्री नगर्ने भनी इन्कार गरीदिनु पर्छ,
(ग) दरखास्तिवालालाई शेयर बाँडफाँड गरेपछि सो गरेको मितिले ३ महिना भित्र निजको नाममा सो शेयर बाँडफाँड भएको प्रमाणपत्र कोर्पोरेशनले दिनु पर्छ, (घ) खण्ड (ख) बमोजिम शेयर बाँडफाँड नगर्ने भनी इन्कार गरेमा कोर्पोरेशनले दरखास्तिवालाबाट प्राप्त रकम बिना ब्याज निजलाई फिर्ता गर्नु पर्छ।
२६. शेयर बाँडफाँडमा प्रतिबन्ध : शेयरहरू सर्वसाधारण जनतामा बिक्रीको निमित्त दिँदा शेयरको निमित्त दिने प्रत्येक दरखास्तसाथ दाखिल गर्नु पर्ने रुपैयाँ शेयरको अंकित मूल्य (नोमिनल एमाउण्ट) को ५ प्रतिशतभन्दा बढी हुने छैन।
२७. कमिशन वा दलाली दस्तुर : कोर्पोरेशनको शेयर खरीद गर्ने वा शेयरका ग्राहकहरू ल्याउने व्यक्तिहरूलाई शेयरको अंकित मुल्यको ५ प्रतिशतमा नबढाई समितिले निर्णय गरे बमोजिमको दरले कमिशन वा दलाली दस्तुरसम्म कोर्पोरेशनले दिन सक्नेछ।
२८. संयुक्त शेयरहोल्डरहरूको दायित्व : कुनै संयुक्त शेयरका सम्बन्धमा सो शेयर बापत कोर्पोरेशनलाई तिर्नु पर्ने सबै रकमहरूमा सो सबै शेयरहोल्डरहरूको बेग्ला बेग्लै र संयुक्त रूपले पनि जवाफदेही हुनेछ।
२९. हक दाबीलाई मान्यता नदिने : यी नियमहरूमा लेखिएकोमा बाहेक कसै को नाममा कुनै शेयर रजिष्टर गरिएको छ भने निजलाई नै सो शेयरको एक मात्र धनी मान्ने र सोही अनुसार व्यवहार गर्ने अधिकार कोर्पोरेशनलाई हुनेछ। अधिकार प्राप्त अदालतले आदेश दिएमा वा अरू कानूनले मान्यता दिएमा बाहेक त्यस्तो शेयरमा अरू कुनै व्यक्तिको हक दाबीलाई कोर्पोरेशनले मान्यता दिन बाध्य हुने छैन।
३०. शेयरहोल्डरहरूको नाममा रजिष्टर हुन सक्ने : एक वा एकभन्दा बढी व्यक्तिहरू वा कुनै लिमिटेड कम्पनी वा अरू संगठित संस्थाको नाममा शेयरहरू रजिष्टर हुन सक्नेछ। तर कुनै एक शेयर ४ जनाभन्दा बढी व्यक्तिका नाममा संयुक्त शेयरहोल्डरहरूको रूपमा रजिष्टर गरिने छैन। त्यस्तो संयुक्त शेयरलाई एक शेयर मानिनेछ।
परिच्छेद-६ प्रमाणपत्रहरू
३१. प्रमाणपत्रहरू : शेयरको प्रमाणपत्रको ढाँचा अनुसूचीमा लेखिए बमोजिम हुनेछ। शेयरहोल्डरहरूको प्रमाणपत्र र त्यसको दोहरी दिँदा त्यसमा कोर्पोरेशनको छाप र २ जना सञ्चालकहरू र सचिवको दस्तखत समेत गराई दिनु पर्छ।
३२. शेयरहोल्डरहरूको प्रमाणपत्र लिने अधिकार : प्रत्येक शेयरहोल्डरले आफ्नो नाममा रजिष्टर भएको प्रत्येक शेयरको एक प्रमाणपत्र पाउनेछ। तर त्यसरी स्वीकृति दिएमा एक भन्दा बढी शेयरहरूको भिन्न भिन्न प्रमाणपत्र पाउनेछ। तर त्यसरी एक भन्दा बढी लिएको प्रत्येक प्रमाणपत्र बापत समितिले रु. १।- लिन पाउनेछ। प्रत्येक शेयरको प्रमाणपत्रमा जुन शेयर वा शेयरहरू बापत सो प्रमाणपत्र दिइएको हो सो शेयरको संख्या र विशेष संख्याहरू र त्यसको भुक्तानी भएको रकम अंकित भएको हुनु पर्छ।
३३. नयाँ प्रमाण पत्र र दस्तुर लिने : (१) कुनै प्रमाणपत्र झुत्रो भई वा नबिग्रि वा पछाडी पट्टीका पृष्ठहरू भरि गराउ भई खाली ठाउँ बाँकी नरही सो प्रमाणपत्र समिति छेउ पेश हुन आएमा समितिले त्यसलाई रद्दी गरी त्यसको सट्टामा अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ। कुनै प्रमाणपत्र हराएमा वा नासिएमा र सो भएको समितिलाई चित्त बुझ्ने प्रमाण पेश किएमा समितिले नेपालबाट प्रकाशन हुने पत्र पत्रिकामा कमसेकम एक पटक सो कुराको विज्ञापन गराउन लगाई र आफूले देखेजति जमानत लिई सो हराएको वा नासिएको प्रमाणपत्रसँग सम्बन्धित शेयर जुन व्यक्तिको नाममा रजिष्टर भएको हो निजलाई त्यसको सट्टामा अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम दिइएको प्रत्येक नयाँ प्रमाणपत्र बापत कोपोरेसनलाई रु. १।- को दस्तुर तिर्नु पर्नेछ।
३४. संयुक्त शेयरहोल्डर भएको प्रमाणपत्र दिने : दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रजिष्टर भएको शेयरहरूको प्रमाणपत्र दिँदा रजिष्टरमा सबैभन्दा अगाडि नाम भएको व्यक्तिलाई दिइनेछ।
३५. शेयरहोल्डरहरूको विरुद्ध कोपोरेसनले गरेको कारबाहीमा सबूत प्रमाण : कुनै शेयरहोल्डर वा निजको प्रतिनिधिको विरुद्ध कोपोरेसनले शेयरको सम्बन्धमा निजसँग लिनुपर्ने भनी दाबी गरेको कुनै ऋणको रकम वा बाँकी लागेको भनी दाबी गरेको रकम असूल उपर गर्न चलाएको मुद्दाको पुपर्थ र सुनुवाईमा विपक्षीको नाम जुन शेयरको सम्बन्धमा दाबी गरिएको छ सो शेयरहोल्डर वा संयुक्त शेयरहोल्डर मध्ये एक जनाको नाममा कोपोरेसनको रजिष्टरमा दर्ता भएको छ वा उक्त दाबी गर्दाको समय सो रजिष्टरमा दर्ता थियो भन्ने र उक्त दाबी गरिएको रकम भुक्तानी भएको भनी कोपोरेसनको रजिष्टरमा जनिएको छैन भन्ने प्रमाणित गर्नु पर्याप्त हुनेछ।
पहिलो संशोधनद्वारा संशोधित।
परिच्छेद-७ भुक्तानी म्याद र कट्टा गर्ने
३६. भुक्तानी म्याद दिने : (१) शेयर बिक्री नियम बमोजिम निश्चित समयमा भुक्तानी गर्नु पर्ने शेयरको चुक्ता हुन बाँकी रकमहरू बापत सो शेयर लिने व्यक्तिहरूलाई समितिले आफूले उपयुक्त देखे बमोजिम समय समयमा भुक्ताना म्याद दिन सक्नेछ। तर पछिल्लो भुक्तानी म्यादको रकम तिर्ने मितिले एक महीनाभित्र अर्को रकम तिर्नुपर्ने गरी भुक्तानी म्यादको सूचना निकाल्नु हुँदैन। (२) उपनियम (१) बमोजिम सूचना पाएमा प्रत्येक शेयरहोल्डर वा ऋणदाताले समितिबाट तोकिदिएको समय र स्थानमा तोकिएको व्यक्ति छे उ भुक्तानी गर्नु पर्छ।
३७. भुक्तानी म्याद दिइएको मानिने व्यवस्था : (१) समितिले भुक्तानी म्यादको सूचना दिने गरी पास गरेको निर्णय बमोजिम दिएको समयको अवधिलाई भुक्तानी म्याद मानिनेछ। (२) भुक्तानी म्याद दिँदा कति रकम भुक्तानी गर्नु पर्ने हो सो समितिले कम्सेकम १४ दिन अगाडि समय, स्थान र कुन व्यक्ति छे उ भुक्तानी गर्ने हो सबै खुलाइ सूचना पठाउनु पर्छ।
३८. भुक्तानी म्यादको रकममा लाग्ने व्याज र सूचना पठाउने : (१) ऐनको अधीनमा रही कुनै शेयरहोल्डर वा ऋणदाताले कुनै भुक्तानी म्यादको तिर्नुपर्ने रकम तोकिएको मिति समयमा पनि नतिरेमा सो बापत निजले तोकिएको मितिले वास्तविक भुक्तानी भएको मिति समयको वर्ष १ को ५ प्रतिशतका दरले व्याज तिर्नु पर्छ। (२) तिर्नु पर्ने रकम तोकिएको मिति समयमा पनि नतिरेमा उपनियम (१) बमोजिमको दरले हुन आउने व्याज र सो रकम भुक्तानी नगरीए बापत तत्कालसम्म हुने सबै खर्चहरूका लागी यसरी भुक्तानी नगरी बाँकी राखेको जुनसुकै बखत कोपोरे शनले जममा एकमुष्ट तिर्ने गरी त्यस्तो शेयरहोल्डर वा ऋणदातालाई सूचना पठाउन सक्नेछ। (३) उपनियम (२) बमोजिम सूचना पठाउँदा तिर्नु पर्ने रकमको भुक्तानी म्याद पठाएको मितिले कम्सेकम १४ दिन पछिको मिति, स्थान र कुन व्यक्ति छे उ भुक्तानी गर्नु पर्ने हो सो उल्लेख गरिनेछ। सो बमोजिम भुक्तानी नगरेमा तत्सम्बन्धी ऋणपत्रमा व्याज नदिइने र समितिले निर्णय गरे बमोजिमको रकम कट्टा गर्न सक्ने कुराको समेत उल्लेख सोही सूचनामा लेखिनेछ।
(४) उपनियम (१) बमोजिम लागेको व्याजको सम्बन्धमा समितिले मनासिब देखेका केही अङ्क तिनु नपर्ने गरी निर्णय गर्न सक्नेछ।
३९. निश्चित समयमा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी म्यादको रकम सरह भुक्तानी गर्नु पर्नेः यी नियमहरू बमोजिम शेयर सम्बन्धी तिर्नु पर्ने रकम बाहेक अरू रकम किस्ताबन्दीमा गरी निश्चित समयमा भुक्तानी गर्ने म्याद दिइएकोमा त्यस्तो प्रत्येक रकमको लागि समितिबाट भुक्तानी म्यादको सूचना दिइएको सरह मानी तिर्नु पर्नेछ। त्यस बारे रकमको सम्बन्धमा यस परिच्छेदका सबै कुराहरू लागू हुने छन्।
४०. भुक्तानी म्यादको रकम पेश्की भुक्तानी गर्न सक्ने : समितिले उपयुक्त देखमा कुनै ऋणपत्र बापत कुनै ऋणदाताले समितिलाई भुक्तानी गर्नु पर्ने रकमको सबै वा केही अंश म्यादमा तोकिएको रकममा बढाइ अगावै पेश्कीको रूपमा तिर्न चाहेमा तिर्न सक्नेछ। त्यसरी समय समयमा भुक्तानी म्यादको रकममा बढाइ तत्काल पेश्की दिइएका रकमहरू बापत कोपोरेसनले वर्ष १ को ५ प्रतिशतमा नबढाई त्यस्ता ऋणदाता र समितिको आपसमा मञ्जुरी भए बमोजिमको दरले निजलाई व्याज दिन सक्नेछ।
४१. ऋणपत्रबाट रकम कट्टा गर्न सक्ने : ऋणपत्रको किस्ताबन्दी बमोजिम भुक्तानी गर्नु पर्ने रकम नतिरी बाँकी राखेको भए तत्सम्बन्धी ऋणपत्रमा जुनसुकै समय समितिबाट निर्णय भए बमोजिमको रकम कट्टा गर्न सक्नेछ। तर सो कट्टा गर्ने रकम सम्बन्धित ऋणपत्रमा भुक्तानी भई सकेको रकमको ५ प्रतिशत भन्दा बढता हुने छैन।
४२. रकम कट्टा गरिसकेपछि सूचना दिने : कुनै ऋणपत्रमा रकम कट्टा गरिएपछि सो हुनु भन्दा अघि सम्म सो ऋणपत्र जुन व्यक्तिको नाममा कायम रहेको थियो निजलाई सो कट्टा गरिएको निर्णयको सूचना पठाइनेछ। त्यसरी कट्टा गरिएको कुरा र मिति समेत माइन्युट किताबमा जनाइनेछ। तर त्यसरी सूचना पठाउन वा माइन्युट किताबमा जनाउन छुटेको वा लापरवाही भएको कारणले कट्टा गरिएको निर्णय अमान्य हुने छैन।
४३. कट्टा गरिएको रकम कोपोरेसनको सम्पत्ति हुने : त्यसरी कट्टा गरिएको रकम कोपोरेसनको सम्पत्ति हुनेछ र सो रकमलाई समितिले आफूले उपयुक्त देख बमोजिमको काममा लगाउन सक्नेछ।
४४. कट्टा गरिने निर्णय बदर गर्न सक्नेछ : कट्टा गरिएको रकम काममा लगाई नसकेको भए समितिले जुनसुकै बखत त्यस्तो निर्णयलाई बदर गर्न सक्नेछ।
४५. समितिले नयाँ प्रमाणपत्रहरू दिन सक्ने : ऐन र यी नियमहरूले दिएको अधिकार प्रयोग गरी समितिले कुनै शेयर बिक्री गरेकोमा सो शेयरको प्रमाणपत्र अघिल्लो शेयरहोल्डर वा ऋणदाताबाट कोर्पोरेसनमा दाखिल भएको रहेनछ भने समितिले उक्त प्रमाणपत्रलाई रद्दी गरी त्यसको बदलामा हालको शेयरहोल्डर वा ऋणदातालाई अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ।
४६. नामसारीको लिखत गर्ने : समितिले अन्यथा निर्णय गरेमा बाहेक रीतपूर्वक नामसारीको लिखत तयारी गरी नामसारी लिने र दिने दुबै पक्षको मन्जूरको सही छाप लगाई सो लिखित लिखत शेयर प्रमाणपत्र सहित राखी कोर्पोरेसनको कार्यालयमा दाखिल नगरेसम्म त्यस्तो शेयरको कुनै नामसारी रजिस्टर गर्ने छैन। त्यस्तो नामसारीको लिखतमा नामसारी गरी लिने र दिने दुबैको सहीछाप ठेगाना र पेशा उल्लेख भएको हुनु पर्छ। नामसारी गरी लिनेको नाममा सो शेयर रजिस्टर नगरीएसम्म नामसारी गरी दिने व्यक्ति नै सो शेयरको धनी मानिनेछ। त्यस्तो व्यक्तिले पनि आफ्नो सहीछाप ठेगाना र पेशा समेत लेखेको हुनु पर्छ।
परिच्छेद-८ नामसारी
४७. नामसारी रजिस्टर गर्नको लागि दरखास्त दिने : शेयरको नामसारी रजिस्टर गराउँदा नामसारी गरी दिने वा लिने कसैले पनि दरखास्त दिन सक्नेछ। तर नामसारी गरी दिनेले त्यस्तो दरखास्त दिएमा केही मात्र रकम चुक्तानी भएको शेयरको सम्बन्धमा समितिले दरखास्तको सूचना नामसारी गरी लिने छेउ नपठाएसम्म नामसारीको रजिस्टर गर्ने छैन र त्यस्तो सूचना पठाएपनि ऐन वा यी नियमहरूको अधीनमा रही सो सूचना नामसारी गरी लिनेले बुझी लिएको मिति २ हप्तासम्ममा कुनै बाधा अवरोध गरेमा बाहेक समितिले निजको नाम रजिस्टर गर्नेछ।
४८. नामसारी रजिस्टर गर्ने समितिको अधिकार : (१) कसैले शेयरको नामसारी गर्न दरखास्त दिएमा समितिले त्यस्तो नामसारीलाई कारण सहित वा रहित रजिस्टर गर्न इन्कार गर्न सक्नेछ। (२) उपनियम (१) बमोजिम कुनै शेयरको नामसारी रजिस्टर गर्न इन्कार भएमा सो नामसारीको लिखत कोर्पोरेसनको कार्यालयमा दाखिल भएको मितिले २ महिनाभित्र समितिले सो कुराको सूचना नामसारी गर्ने र नामसारी गरी लिने दुबै पक्ष कहाँ पठाउनु पर्छ।
४९. नाबालक बहुलाहा इत्यादिको नाममा नामसारीको रजिष्टर गर्न नहुने : कुनै नाबालक वा बहुलाएको व्यक्तिको नाममा कुनै शेयरको नामसारी गर्न हुँदैन। तर कुनै नाबालक वा बहुलाएको व्यक्तिको शेयरहोल्डरको अभिभावक वा कुनै शेयरहोल्डर मरेमा वा टाट उल्टेमा वा ऋण नतिरी नसकी साहुको दामासाहीमा परेमा सो वापत निजको नाममा रहेको शेयरमा हक पुग्ने व्यक्तिले त्यस्तो शेयरको प्रमाणपत्र र आफ्नो हक पुग्ने प्रमाणपत्र समितिलाई शिष्ट बुझ्ने गरी पेश गरेमा आवश्यकता अनुसार त्यस्तो व्यक्तिको नाममा त्यस्तो शेयर रजिष्टर गरी दिन सक्नेछ।
५०. नामसारीको लिखत र प्रमाण দাखिल गर्नु पर्ने : नामसारीको रजिष्टर गर्न दरखास्त दिँदा नामसारीको लिखत, नामसारी गरिने शेयरको प्रमाणपत्र र ती शेयरहरू उपर नामसारी गरिदिने व्यक्तिको हक भएको र सो नामसारी गर्न पाउने अधिकार भएको प्रमाणपत्र कोपोरेसनको कार्यालयमा দাखिला गर्नु पर्छ। नियम बमोजिम दस्तुर बुझाएपछि नामसारी गरी लिने व्यक्तिको नाम लेखिए बमोजिमको शेयर रजिष्टर गरिनेछ। तर उक्त कुराहरूले नियम ४८ अन्तर्गत समितिले नामसारी रजिष्टर गर्न इन्कार गर्न पाउने अधिकारलाई बाधा पुर्याउने छैन।
५१. नामसारी लिखत समितिले राख्नु पर्ने : रजिष्टर गरिएको सबै नामसारीको लिखतहरू कोपोरेसनको कार्यालयमा रहनेछ। तर समितिले रजिष्टर गर्न इन्कार गरेमा जसले नामसारीको लिखत দাखिल गरेको हो उसलाई फिर्ता दिनु पर्नेछ।
५२. नामसारीको दस्तुर लाग्ने : प्रत्येक नामसारीको रजिष्टर गर्न रु १।- दस्तुर लाग्नेछ।
५३. नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्ने : समितिले आफूलाई उचित लागेमा वर्ष भरिमा बढीमा ४५ दिन समय र एक पटकमा लगातार ३० दिनमा नबढाई नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्नेछ। तर त्यसरी बन्द गर्दा गोरखापत्र र अन्य प्रमुख दैनिक पत्रिकामा समेत ७ दिन अगावै सूचना गर्नु पर्छ।
५४. शेयरमा हक हुने व्यक्ति : मृत शेयरहोल्डरको प्रतिनिधिलाई मात्र सो मृतव्यक्तिको नाममा रजिष्टर नै राखेको शेयरमा हकदार भनी कोपोरेसनले मान्यता दिनेछ। कुनै शेयर विभिन्न शेयरहोल्डरहरूको नाममा संयुक्त रूपले रजिष्टर भै ती मध्ये कुनै एक जनाको मृत्यु भएमा कोपोरेसनको बाँकी संयुक्त शेयरहोल्डरहरूलाई मात्र सो शेयरको हकदार मान्नेछ तर सो
कुराले गर्दा सो मृत व्यक्तिले अरू व्यक्तिहरूसँग लिई राखेको शेयर बापत निजको चल अचल सम्पत्तिमा रहने दायित्वबाट বঞ্চিত रहेको मानिने छैन ।
परिच्छेद-९ पूँजी घटाउने र बढाउने अधिकार
५५. पूँजी बढाउने अधिकार : ऐनको अधीनमा रही समितिले समय समयमा आफूले आवश्यक देखेको नयाँ शेयरहरू सृजना गरी कर्पोरेसनको निष्काशनत चालू पूँजीलाई बढाउँदै लगी अधिकृत पूँजीको हदसम्म बढाउन सक्नेछ ।
५६. नयाँ शेयरहरू निष्कासन गर्ने र बिक्री गर्ने : (१) कर्पोरेसनको साधारण सभाले प्रस्ताव पास गरी अन्यथा निर्णय गरेमा बाहेक नयाँ निष्काशन गरिएको शेयरहरू सर्वप्रथम पुराना रजिष्टर शेयरहोल्डरलाई आनुपातिक रूपमा बिक्री गरिनेछ । त्यसरी बिक्रीमा निकाल्दा त्यस्तो कुरा खुलाई कमसेकम २४ दिनको म्याद तोकी पुराना शेयरहोल्डरहरूलाई सूचना जारी गरिनेछ । (२) उपनियम (१) बमोजिम नलिएका शेयरहरूका सम्बन्धमा समितिले कर्पोरेसनको सर्वोत्तम हितको ख्याल राखी सर्वसाधारण जनतालाई बिक्री गर्न सक्नेछ ।
५७. नयाँ शेयरबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश हुने : नयाँ शेयरहरूको सृजनाबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश मानिनेछ र सो शेयरको सम्बन्धमा ऐन र यी नियमहरूको कुराहरू लागू हुनेछ ।
५८. पूँजी घटाउने वा खारेज गर्ने बारे : कर्पोरेसनले समय समयमा विशेष प्रस्ताव पास गरी सो प्रस्ताव पास भएको मिनिटसममा बाँकी रहन गएको वा कुनै व्यक्तिले नलिई वा लिन मञ्जूर नगरी त्यसै रहेको शेयरहरू खारेज गर्न वा हराएका वा उपलब्ध जायजथाको आधार नभएको पूँजीलाई खारेज गर्न वा शेयरहरू उपर दायित्व कम गर्दा आफ्नो पूँजी घटाउन सक्नेछ ।
५९. संयुक्त शेयर होल्डरहरूको हक र दायित्व : संयुक्त शेयरहोल्डरहरूले संयुक्त रूपले फाइदा उठाउने र तिनीहरू मध्ये कुनै पनि शेयरहोल्डर कायम नरहेमा अरू बाँकीले संयुक्त रूपमा त्यसको उपयोग गरेको मानिनेछ । सो शेयरको सम्बन्धमा भुक्तानी गर्न पर्ने रकम र अरू रकमहरू बापत तिनीहरूको संयुक्त रूपले दायित्व रहनेछ । सो शेयरबापत तिनीहरूले पाउने लाभांश वा अरू रुपैयाँ बुझी लिएको रसिद कुनै एक जनाले दिन सक्नेछ ।
६०. शेयरहरू कर्पोरेसनलाई फिर्ता गर्ने : कुनै शेयरहोल्डरले आफ्नो सबै वा केही शेयरहरू कर्पोरेसनलाई फिर्ता गर्दा निज र समितिको आपसमा भएको मञ्जुरीको शर्त बन्देज बमोजिम गर्न सक्नेछ।
परिच्छेद-१० ऋण लिने अधिकार
६१. ऋण लिने अधिकार : समितिले समय समयमा आफूलाई मनानसब लागे बमोजिम ऋणहरू लिन उठाउन र त्यसबाट कर्पोरेसनको प्रयोजनको निमित्त कुनै रकम भुक्तानी गराउन सक्नेछ। शेयरहोल्डरहरूले पनि कुनै धितो लिई वा नलिई कर्पोरेसनलाई ऋणदिन सक्नेछ। तर कर्पोरेसनले लिई राखेको र लिने भएको ऋणको रकम मिलाएर कुनै रकम कर्पोरेसनको चुक्ता पूँजीको समूहा रकम र कर्पोरेसनको पृथक रहेको रिजर्भको रकमभन्दा बढी भएमा समितिले साधारण सभाको अनुमति बिना त्यस्तो ऋण लिन पाउने छैन।
६२. ऋण लिँदाको शर्त बन्देज : समितिले साधारण सभाबाट अधिकार पाएमा अवस्थाअनुसार कर्पोरेसनको अचल सम्पत्तिको सबै वा केही अंशको धितो बन्धकमा राखी वा त्यसबाट व्यवहार हुने गरी ऋण लिन कर्पोरेसनको तत्कालको अचल सम्पत्तिको सबै वा केही अंशप्रति व्यवहार हुने ऋणपत्रहरू निष्कासन गरी ऋण उठाउन र कर्पोरेसनको प्रयोजनको निमित्त केही रकम सो ऋणपत्रमा भुक्तानी गराउन वा फिर्ता दिलाउन सक्नेछ। त्यसरी पास भएको निर्णयलाई पास भएको मिति ३५ दिनभित्रमा नेपाल सरकारको सम्बन्धित विभागमा रजिस्टर गराउनु पर्छ।
६३. शेयरहोल्डरले दिएको ऋणको व्याज पाउने : ऐनको अधीनमा रही शेयरहोल्डरहरूले कर्पोरेसनलाई दिएको ऋणपत्रहरूको सम्बन्धमा आपसमा भएको सम्झौता अनुसार व्याज पाउनेछ।
६४. कर्पोरेसनको तर्फबाट सचिवले ग्यारेण्टी दिन र ठेक्का पट्टा गर्न पाउने : समितिले चाहेमा सचिवले समितिलाई दिएको प्रत्येक ऋणको ग्यारेण्टी दिन र कर्पोरेसनको हितको निमित्त ठेक्का पट्टा गर्न सक्नेछ र त्यसको ग्यारेण्टी दिए बापत समितिले निर्धारित गरे बमोजिम र सचिवलाई मञ्जुर हुने रकम निजलाई दिइनेछ। त्यसरी पाएको रकमलाई सचिवले गरेको सेवा बापत पाएको पारिश्रमिक मानिने छैन।
६५. धितो बन्धकहरूको रजिस्टर गराउने : समितिले कर्पोरेसनको सम्पत्तिमा खास असर पर्ने सबै धितो बन्धकहरू र व्यवहार हुने सबै रकमहरूको लिखित नेपाल सरकारबाट स्वीकृत ढाँचामा
रीतपूर्वकराख्न लगाउनु पर्छ र त्यस्तो धितो बन्धक र अरू रकमलाई नेपाल सरकारको सम्बन्धित विभागमा रजिष्टर गराउनु पर्छ । त्यस्तो धितो बन्धक र अरू रकममा कुनै हेरफेर भएमा र त्यस्तो कुनै रकम भुक्तानी गरिएमा त्यसको सूचना कोर्पोरेसनको तर्फबाट नेपाल सरकारको सम्बन्धित विभागलाई दिनु पर्छ।
६६. ऋणदाता र शेयरहोल्डरले लिखित निरीक्षण गर्न पाउने : नियम ६५ बमोजिम धितो बन्धक र कोर्पोरेसनको सम्पत्ति प्रति व्यवहार हुने अरू लिखितहरूको रजिष्टर भएको प्रतिलिपि र लिखितलाई त्यस्तो कुनै रजिष्टर भएको ऋणदाताले र शेयरहोल्डरले समितिबाट तोकेको दस्तुर तिरी र सो सम्बन्धमा कोर्पोरेसनबाट लगाएको मनासिब माफिकको प्रतिबन्धहरू पालन गरी निरीक्षण गर्न पाउने गरी खुला राख्नु पर्छ। तर कार्यालय खुलेको दिनमा त्यस्तो निरीक्षण गर्न पाउने समय २ घण्टा भन्दाकम हुने छैन ।
६७. ऋणपत्र नामसारीको लिखित : कुनै रजिष्टर भएको ऋणपत्रको नामसारीको हकमा त्यस्तो नामसारीको रीतपूर्वक लिखित तयार गरी नामसारी गरी दिने र लिने दुवै पिको छाप लगाई सो ऋणपत्रको प्रमाणपत्र सहित कोर्पोरेसनको कार्यालयमा दाखिला नगरी रजिष्टर गरिने छैन ।
६८. ऋणपत्रको नामसारी रजिष्टर गर्न इन्कारको सूचना : समितिले कुनै ऋणपत्र रजिष्टर गर्न इन्कार गरेमा त्यसको सूचना नामसारी गरी दिने र लिने दुवै पक्षहरू छेउ पठाउनु पर्छ।
६९. लाभ हानि को खाता इत्यादि निरीक्षण गर्न ऋणदाताहरूको अधिकार : ऋणदाताहरू र निजहरूको प्रतिनिधिहरूले पनि शेयरहोल्डरहरू सरह कोर्पोरेसनको व्यालेन्स सीट र लाभ हानिको खाताहरू, अडिटरहरूको प्रतिवेदन र सो सम्बन्धी अरू प्रतिवेदनहरू प्राप्त गर्न र निरीक्षण गर्न पाउने छन्।
परिच्छेद-११ रजिष्ट र अमूल्यन कोष
७०. रजिष्ट कोष : समितिले समय समयमा लाभांश वितरणको सिफारिस गर्नुभन्दा अगावै कोर्पोरेसनको कारोबार नियमित रूपले र कुशलतापूर्वक चलाउने, आकस्मिक खर्च चलाउने, ऋण र समितिको अरू दायित्वहरूको हिसाब जाँच् गर्ने र समितिले कोर्पोरेसनको हितको लागि आवश्यक देखेको अरू प्रयोजनहरूको निमित्त कोर्पोरेसनको मुनाफामध्ये उपयुक्त देखेजतीको अंश रजिष्ट कोषको निमित्त अलग छुट्याउन सक्नेछ। त्यसरी छुट्याइएको विभिन्न रकमहरूलाई समितिले शेयर बाहेक आफूले उचित देखेका अरू लगानीमा लगाउन,
समय समयमा त्यस्तो लगानीलाई हेरफेर गर्न, उपयोग गर्न र त्यसको सबै वा केही अङ्कलाई कोर्पोरेशनलाई हित हुने अरू कामको लागि छुट्याउन सक्नेछ।
७१. अमूल्यन कोष : समितिले समय समयमा लाभांश वितरणको सिफारिस गर्नुभन्दा अगावै कोर्पोरेशनको लगानीमा हुने अमूल्यन पूर्तिका लागि आगो, बाढी आँधी तुफान, भूकम्प, दुर्घटना, हुलदङ्गा, चलन चल्ती समेतको कारणबाट कोर्पोरेशनको कुनै भवन, वर्कप्लान्ट, कलपुर्जा वा अरू सम्पत्ति नासिने वा नोक्सानी हुनेमा त्यसको बदलामा अर्को बनाउन त्यसको कुनै भाग मरम्मत वा हेरफेर गर्न वा पूर्त गर्न, राम्रो अवस्थामा राख्न वा त्यस्तो अचल सम्पत्ति बढाउनमा लगाउन सकिने गरी कोर्पोरेशनको मुनाफामध्ये आफूले उपयुक्त देखेजति अङ्क अमूल्यन (डेप्रिसिएशन) कोषको निमित्त अलग छुट्याउन सक्नेछ। त्यस्तो छुट्याइएकोमा कोषमा रहेको जायज्यतालाई कोर्पोरेशनको कारोबारमा लगाउने पूरा अधिकार समितिलाई हुनेछ र सो जायज्यतालाई कोर्पोरेशनको अरू जायज्यताबाट अलग छुट्याई राख्न समिति बाध्य हुने छैन।
७२. रुपैयाँ लगानी : रिजर्भ कोष र अमूल्यन (डेप्रिसिएशन) कोषको निमित्त छुट्याइएका सबै रुपैयाँ कोर्पोरेशनको मुनाफा बनी राखिनेछ र ती कोषहरूबाट क्रमशः वास्तविकता नोक्सानी वा अमूल्यन (डेप्रिसिएशन) को निमित्त चाहिने व्यवस्था गरी सकेपछि लाभांश भुक्तान गर्नमा पनि लगाउन सक्नेछ। त्यस्तो रुपैयाँ र कोर्पोरेशनको प्रयोजनको निमित्त तत्काल तुरुन्तै चाहिने अरू सबै रुपैयाँलाई समितिले चाहेको लगानी वा धितो बन्धकमा लगाउन चालू पूँजी सरह प्रयोग गर्न कुनै बैङ्कमा धितो राख्न सक्नेछ।
परिच्छेद-१२ लाभांश
७३. लाभांश घोषित गर्ने : कोर्पोरेशनले साधारण सभाबाट प्रस्ताव पास गरी लाभांश घोषित गर्नेछ।
७४. ऋणको रकम कट्टा गर्न सकिने : समितिले कुनै शेयरहोल्डरहरूलाई लाभांश बाँड्दा सो शेयरहोल्डरबाट भुक्तानी म्यादको रकम वा अरू कुनै ऋणपत्रको रकम बाँकी भए सो तिनत्क कोर्पोरेशनले निजलाई कुनै औपचारिक भुक्तानी म्याद पठाएको वा नपठाएको जे भए तापनि लाभांशबाट कट्टा गर्न सक्नेछ।
७५. लाभांशको बदला जायज्यथा दिन सकिने : (१) साधारण सभाले लाभांश घोषित गर्दा त्यस्तो लाभांशको सबै वा केही अंश बापत कुनै खास खास जायज्यथाहरू वितरण गर्न निदेश दिन सक्नेछ। त्यस्तो निर्णयलाई सचिवले कार्यान्वयन गर्नु पर्छ। (२) त्यस्तो वितरणको सम्बन्धमा कुनै कठिनाइ आइपरेमा समितिले आफूले उचित देखे बमोजिमको समाधान गर्न सक्नेछ। खास गरी समितिले त्यस्तो अवस्थामा खण्डी प्रमाणपत्रहरू निष्काशन गर्न, त्यस्तो खास खास जायज्यथाहरू वा त्यसको कुनै अंशको वितरणको निमित्त मूल्य निर्धारित गर्न र सबै पदहरूको हकलाई एकनास गरी मिलाउन, त्यसरी निर्धारित गरिएको मूल्यको आधारमा कुनै पनि शेयरहोल्डरलाई नगद भुक्तानी गर्ने गरी निर्णय गर्न सक्नेछ।
७६. हुलाकद्वारा भुक्तानी : शेयरहरूको नगदीमा दिन पर्ने लाभांश, व्याज वा अरू रुपैयाँ सो शेयरहोल्डरको रजिष्टर भएको ठेगानामा संयुक्त शेयरहोल्डरहरू भए तिनहरूमध्ये रजिष्टर हकताबमा सबैभन्दा पहिले नाम हुने व्यक्तिको ठेगानामा वा त्यस्तो शेयरहोल्डर वा संयुक्त शेयरहोल्डरहरूले लिखित रूपमा दिइ राखेको ठेगानामा सोझै हुलाकबाट पठाउन सकिनेछ।
७७. संयुक्त शेयरहोल्डरहरूको लाभांश वा अरू रुपैयाँको रसिद : कुनै शेयरको संयुक्त होल्डरहरूमध्ये कुनै एकजनाले सो शेयर बापत बुझिलिएको लाभांश वा अरू रुपैयाँको रसिद गरी दिन सक्नेछ।
७८. लाभांशको व्याज नपाउने : कसैले पनि कर्पोरेसनबाट लाभांशको व्याज पाउने छैन।
७९. नामसारीले लाभांशको हकमा असर नपर्ने : कुनै शेयरको नामसारी गरिएको कारणले सो नामसारी रजिष्टर नगरिएसम्म सो शेयर लाभांश पाउने हक नामसारी गरी दिने व्यक्तिबाट नामसारी गरी लिने व्यक्तिमा सरेको मानिने छैन।
८०. दाबी नगरेमा लाभांश : कसैले लाभांश घोषित भएको मितिले १ वर्षभित्रमा दाबी नगरेमा समितिले सो लाभांश उपर कसैको दाबी नपरेसम्म कर्पोरेसनको हित हुने काममा लगाउन सक्नेछ। लाभांश घोषित भएको मितिले ६ वर्षभित्र कसैले दाबी नगरेमा समितिले सो लाभांश कर्पोरेसनको हितको निमित्त जफत गर्न सक्नेछ।
परिरिच्छेद-१३ मुनाफालाई पूँजीमा परिणत गर्ने
८१. मुनाफालाई पूँजीमा परिणत गर्ने : (१) कर्पोरेसनले समितिको सिफारिसमा साधारण सभाद्वारा देहाय बमोजिम निर्णय गर्न सक्नेछ :-
(क) तत्काल कर्पोरेशनका रिजर्भ खातामा वा लाभ र हानिको खातामा चढाइएको वा वितरणको निमित्त उपलब्ध भएको रकमको कुनै अंश पूँजीमा परिणत गर्नु वाञ्छनीय हुने, र (ख) खण्ड (क) मा लेखिए बमोजिमको रकम समान अनुपातका लाभांशमा वितरण गरिएमा सो पाउने भएका शेयरहोल्डरहरूमा उपनियम (२) मा लेखिएको तरिकामा वितरणको निमित्त खुला गरिदिनु हुने। (२) उपनियम (१) को खण्ड (ख) मा लेखिएको रकम नगदमा भुक्तानी गरिने छैन। तर सम्बन्धित शेयरहोल्डरले लिइराखेको ऋणपत्रको तत्काल चुक्ती हुन बाँकी रहेको रकम चुक्ता गर्नमा लगाइनेछ। (३) कर्पोरेशनबाट पास भएको प्रस्तावलाई समितिले कार्यान्वयन गर्नु पर्छ।
८२. समितिले विनियोजन इत्यादि गर्ने : नियम ८१ मा लेखिए बमोजिम पास भएको प्रस्तावलाई समितिले समय समयमा देहाय बमोजिम गर्नु पर्छ :- (क) पूँजीमा परिणत गर्ने गरी निर्णय गरिएको लाभांश नबाँडिएको मुनाफाका रकमहरूलाई विनियोजन गर्ने र काममा लगाउने, (ख) सामान्यतया त्यसलाई कार्यान्वयन गर्न चाहिने सबै काम कार्यहरू गर्ने।
परिच्छेद-१४ आर्थिक व्यवस्था
८३. बजेट : सचिवले हरेक वर्ष वैशाखको पहिलो सातामा आय व्ययको अनुमानित विवरण समितिका समक्ष प्रस्तुत गर्नु पर्छ। ८४. निकासा : स्वीकृत बजेटमा परेका प्रत्येक रकमबाट नियमानुसार खर्च गर्नको निमित्त एक कलममा बढीमा १० हजार रुपैयाँको निकासा सचिवले दिन सक्नेछ। सो भन्दा बढीको निकासा समितिले दिनेछ। ८५. ठेक्का पट्टा वा योजना स्वीकृति सम्बन्धमा : कर्पोरेशनलाई चाहिने कामको निमित्त कुनै ठेक्का पट्टा गर्दा वा कुनै योजना स्वीकार गर्दा सचिवले बढीमा रु २,०००।- दुई हजारसम्मको ठेक्का वा योजना स्वीकृति गर्न सक्नेछ। सो भन्दा माथिको चाह्री समितिले गर्नेछ।
८६. मालसामान खरिद बिक्री : कर्पोरेसनले मालसामान किन्नु, बिक्री गर्नु परेमा प्रचलित घटाघट वा बढाबढको नियम अनुसार गर्नु पर्नेछ।
८७. सवारीको उपयोग : कर्पोरेसनको मोटर गाडीहरू र त्यस्तै सवारीहरू कर्पोरेसनको काममा मात्र प्रयोग गरिनेछ र त्यसको लगबुक तोकिए बमोजिम राख्नु पर्छ।
८८. समाचारपत्रको आदान प्रदान : (१) विदेशी वा स्वदेशी समाचार पत्रहरूसँग गोरखापत्रको आदान प्रदान गर्ने अधिकार कर्पोरेसनलाई मात्र हुनेछ। (२) कर्पोरेसनको समाचारपत्र विदेशी वा स्वदेशी कुनै पुस्तकालय वा स्कूल वा सार्वजनिक संस्थामा निःशुल्क पठाउँदा देश हुन्छ भन्ने लागेमा निःशुल्क दिन अथवा शुल्कको १० प्रतिशतसम्म छुट दिने अधिकार सचिवलाई हुनेछ।
परिच्छेद-१५ हिसाब र लिखतहरू
८९. हिसाब किताब राख्ने : (१) समिति वा सचिवले कर्पोरेसनको कारोबार वास्तविक र दुरुस्त देखिने गरी हिसाब किताबहरू र लिखतहरू नेपाली भाषामा राख्नु राख्न लगाउनु पर्छ। (२) कर्पोरेसनको हिसाब किताब आफ्नो प्रधान कार्यालयमा समिति वा शेयरहोल्डरबाट निरीक्षण गर्न सकिने गरी राख्नु राख्न लगाउनु पर्छ। तर सो हिसाब किताबहरू कर्पोरेसनको साधारण सभाको अनुमतिले मात्र निरीक्षण गर्न पाउनेछ। (३) त्यस्तो हिसाब किताबहरू प्रधान कार्यालयबाट हटाई अन्य सुरक्षित ठाउँमा राख्न सकिनेछ तर त्यसरी हटाउँदा त्यसको कारणहरू सहितको सूचना नेपाल सरकारको सम्बन्धित विभागमा पठाउनु पर्छ।
९०. लाभ हानिको खाता र बैलेन्स सीट : (१) प्रत्येक वर्ष समितिले अघिल्लो साधारण सभा भएको मितिले ९ महिना वा सो भन्दा अघिको मितिसम्मको र कर्पोरेसनको आफ्नो कारोबार वा सरोकार भएको हकमा १२ महिनासम्मको बैलेन्स सीट र लाभ हानिको खाताको तयार गरी वार्षिक साधारण सभामा पेश गर्नु पर्छ। (२) कर्पोरेसनको आर्थिक साल सचिवको सुझावमा समितिले निर्धारित गरे बमोजिम हुनेछ। (३) बैलेन्स सीट र लाभ हानिको खाताको साथमा अडिटरहरूको प्रतिवेदन पनि नत्थी गरिनेछ। त्यसरी नत्थी नगरेमा पुछारमा त्यस्तो प्रतिवेदन उल्लेख गरिनेछ र सो
प्रतिवेदन कोर्पोरेशनको साधारण सभामा पढेर सुनाइनेछ। कुनै शेयरहोल्डरहरूले हेर्न चाहेमा हेर्न पाउनेछ।
९१. समितिको प्रतिवेदन : समितिले प्रत्येक बैलेन्स सीट र लाभ हानीको खातामा कोर्पोरेशनको अधिकृत पूँजी र त्यसको जायजथाको वास्तविक र दुरुस्त स्थिति सो जायजथाको यथा सम्भव ठीक ठीक मूल्याङ्कन गरिएको तरिका साहु र आसामी हरूको पूरा विवरण देखाउनु पर्छ र त्यसको साथै आफ्नो प्रतिवेदनमा कोर्पोरेशनको कारोबारको स्थिति र अवस्था, त्यस्तो, बैलेन्स सीट वा त्यसपछिको कुनै बैलेन्स सीटमा कुनै रकम रिजर्भको निमित्त राख्ने गरी सिफारिस गरेको भए सो कुरा शेयरहोल्डरहरूलाई लाभांशको रूपमा मुनाफाबाट कुनै रकम बाँड्ने गरी सिफारिस गरिएको भए सो कुरा समेत उल्लेख गरी पेश गर्नु पर्छ। सो प्रतिवेदन शेयरहोल्डरहरूबाट कोर्पोरेशनको कारोबारको स्थितिको सराहना गराउन कारोबारमा लाभ हुने र कोर्पोरेशनको आर्थिक वर्षमा त्यस्तो कारोबारमा अरुहुने महत्वपूर्ण कुराहरू परिवर्तन हुने कुराहरू समेत उल्लेख हुनु पर्छ। उपरोक्त खाता बैलेन्स सीट र प्रतिवेदन कमसेकम २ जना सञ्चालक तथा म्यानेजिङ्ग डाइरेक्टरको सही हुनु पर्छ।
९२. लाभ हानीको खातामा रहने अरू कुराहरू : लाभ हानीको खातामा मान्य लेखिएको विवरणहरूको अतिरिक्त सञ्चालकको पारिश्रमिक, म्यानेजिङ्ग डाइरेक्टरको तलब, कमिशन इत्यादि केही दिइएको भए त्यसको विवरण सञ्चालकलाई दिएको फी, कोर्पोरेशनका कर्मचारीलाई दिएको तलब, ज्याला र अवमूल्यन (डिप्रेसिएसन) को निमित्त गरिएको व्यवस्थाको उल्लेख गरिनेछ।
९३. शेयरहोल्डरहरूलाई प्रतिलिपि पठाउने : सचिवले अडिटरहरूद्वारा लेखापरीक्षण भएका बैलेन्स सीट र लाभ हानीको खाताको छापिएको एक प्रतिलिपिमा त्यसको साथमा अडिटरहरूको र समितिको प्रतिवेदन राखी साधारण सभा हुने कमसेकम ७ दिन अगावै कोर्पोरेशनका प्रत्येक शेयरहोल्डर कहाँ सूचना पठाउनु पर्छ।
९४. बैलेन्स सीटको प्रतिलिपि दाखिल गर्ने : बैलेन्स सीट र लाभ हानीको खाता कोर्पोरेशनको साधारण सभामा पेश भइसकेपछि त्यसको एक प्रतिलिपिमा म्यानेजिङ्ग डाइरेक्टर र सञ्चालकहरूको दस्तखत गरी त्यसको साथमा शेयर होल्डरहरूको लिस्टको १ प्रति राखी नेपाल सरकारको सम्बन्धित विभागमा दाखिला गर्नु पर्छ।
परिच्छेद-१६ अडिटरहरूको काम कर्तव्य
९५. अडिटरहरूको कर्तव्य र अधिकार : (१) ऐनको अधीनमा रही प्रत्येक अडिटरले आफ्नो कर्तव्य पालनको निमित्त आवश्यक भएका सूचना र स्पष्टीकरण कोर्पोरेसनको सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर र अरू कर्मचारीहरूबाट माग्न सक्नेछ। (२) ऐनको दफा २७ को उपदफा (४) बमोजिम अडिटरले प्रतिवेदन पेश गर्दा देहायका कुराहरू समेत उल्लेख गर्नु पर्नेछ:- (क) त्यस्तो बैलेन्ससीट र लाभ हानिको खाता कोर्पोरेसनको हिसाब किताबहरूसँग मेल खान्छ खाँदैन र कोर्पोरेसनको वास्तविक र दुरुस्त स्थिति देखाउने गरी तयार गरिएको छ छैन, (ख) सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर वा कोर्पोरेसनको अरू कुनै कर्मचारीले अनुचित काम गरेको छ छैन। (३) आफूले लेखापरीक्षण गरी प्रतिवेदन दिएमा अडिटरलाई हिसाबहरू पेश हुने साधारण सभाको सूचना प्राप्त हुनेछ र निज सो सभामा उपस्थित हुन पाउनेछ। सो सभा हुँदा निजले आफूले लेखापरीक्षण गरेको हिसाबहरूको सम्बन्धमा मागिए बमोजिम सबै सूचनाहरू दिनु पर्छ।
९६. हिसाबको काम हुने अवस्था : कोर्पोरेसनको प्रत्येक हिसाब लेखा परीक्षण वै साधारण सभाबाट स्वीकृति दिएपछि सो स्वीकृति भएका मितिले ३ महिनाभित्र सो हिसाबमा कुनै त्रुटि फेला परेमा बाहेक अन्तिम हुनेछ। उक्त ३ महिनाको अवधिभित्र कुनै त्रुटि फेला परेमा सो त्रुटि सच्याए पछि सो हिसाब अन्तिम हुनेछ।
परिच्छेद- १७ लिखित र सूचनाहरू पठाउने
९७. शेयरहोल्डरहरू छनौ सूचना र लिखितहरू पठाउने तरिका : (१) कोर्पोरेसनले कुनै शेयरहोल्डर छनौ कुनै लिखित बुझाउनु पर्दा निजकै हातमा बुझाई दिन वा निजको रजिस्टर भएको ठेगानामा वा सो नभए कोर्पोरेसनलाई दिई राखेको ठेगानामा हुलाकद्वारा पठाउन सक्नेछ। (२) उपनियम (१) बमोजिम कुनै लिखित हुलाकद्वारा पठाउँदा रीतपूर्वक नाम ठेगाना लेखी लाग्ने हुलाक महसुल तिरी टिकट टाँसी सो लिखित हुलाक अड्डामा छोडी दिएपछि पठाइएको मानिनेछ। शेयरहोल्डरले त्यस्तो लिखित हुलाकद्वारा रजिष्टर गरी पठाउनु पर्छ भनी
त्यसको निमित्त चाहिने पर्याप्त खर्चको रुपैयाँ कोर्पोरेशनको कार्यालयमा जम्मा गरी राखेको भए निजको नाममा सोही बमोजिम गरी नपठाएमा निजलाई बुझाएको मानिने छैन । तर त्यस्तो लिखित सभाको सूचनाको सम्बन्धमा भए समितिबाट सो सूचनापत्र हुलाकमा छोडेको दश दिन व्यतित भएपछि बुझाइएको मानिनेछ।
९८. संयुक्त शेयरहोल्डरहरूलाई सूचना : कोर्पोरेशनका कुनै शेयरका संयुक्त शेयर होल्डरहरूलाई कुनै लिखित बुझाउनु पर्दा सो संयुक्त शेयरहोल्डरहरू मध्ये जसको नाम कोर्पोरेशनको रजिष्टरमा सबैभन्दा पहिले लेखिएको छ निजलाई सूचना पठाइदिए वा बुझाइदिए पर्याप्त हुनेछ।
९९. हकवाला वा प्रतिनिधिलाई सूचना दिने : कुनै शेयरहोल्डरको मृत्यु भई वा टाट उल्टी वा शेयरको हकवालालाई कुनै लिखित बुझाउनु पर्दा कोर्पोरेशनले निजको नाम, दर्जा र हकवाला वा प्रतिनिधिको नाम, दर्जा लेखी वा हकवाला वा प्रतिनिधिले कुनै ठेगाना दिई राखेको भए सो ठेगानामा लेखी हुलाकद्वारा पठाउनेछ। सो भए प्रमुख दैनिक पत्रिकामा त्यस्तो लिखित प्रकाशित गरिनेछ।
१००. नामसारी गरी लिने व्यक्तिहरू : नामसारीद्वारा वा कानून बमोजिम कुनै शेयरको हक पाउने व्यक्ति सो शेयरको सम्बन्धमा दिइने प्रत्येक सूचनाप्रति जवाफदेही हुनेछ। निजको नाम र ठेगाना रजिष्टर किताबमा थपिएको छैन भने त्यस्तो सूचना शेयरको हक छोड्ने व्यक्तिलाई रीतपूर्वक दिइनेछ।
१०१. शेयरहोल्डरको मृत्यु भए तापनि निजको नाममा पठाइएको सूचना मान्य हुने : (१) कुनै शेयरहोल्डरको नाममा वा अरू व्यक्तिहरूसँग संयुक्त रूपमा रजिष्टर भई राखेको शेयरको सम्बन्धमा सो शेयरहोल्डरको रजिष्टर भएको ठेगानामा बुझाई दिएको वा हुलाकद्वारा पठाइएको लिखित वा सूचना तत्काल सो शेयरहोल्डरको मृत्यु भई त्यसको सूचना कोर्पोरेशनले पाए वा नपाए तापनि निजको ठाउँमा अरू व्यक्तिको नाम शेयरहोल्डर वा संयुक्त शेयरहोल्डरको हैसियतमा रजिष्टर भई सकेकोमा बाहेक रीतपूर्वक पठाइएको मानिनेछ। त्यसरी पठाइएको सूचना वा लिखितलाई यो ऐनको प्रयोजनको निमित्त निजको हकवाला, निजको प्रतिनिधि र त्यस्तो शेयरसँग संयुक्त रूपमा सरोकार भएका व्यक्तिहरू सबैलाई पठाइएको मानिनेछ।
(२) उपनियम (१) बमोजिम कोर्पोरेशनले दिने सूचनामा सहिछाप पनि गरिनेछ।
१०२. म्यानेजिङ्ग डाइरेक्टरको अनुमति बिना शेयरहोल्डरहरू कोपोरेशनको घर जग्गाभित्र प्रवेश गर्न नपाउने : सञ्चालक बाहेक कुनै शेयरहोल्डरले वा कर्मचारीले तत्काल सो कोपोरेशनको म्यानेजिङ्ग डाइरेक्टरको अनुमति बिना कोपोरेशनको घर जग्गा भित्र प्रवेश गर्न वा त्यस्तो घर जग्गा वा सम्पत्तिहरूको निरीक्षण गर्न वा कोपोरेशनको व्यापार, व्यापार रहस्य, गोप्य किसिमको कुनै कुरा वा कोपोरेशनको व्यवसायको सञ्चालकसँग सम्बन्धित जुनसुकै कुरा सर्वसाधारण जनतामा प्रकट गर्न, कोपोरेशनको हितको लागि वांछनीय लागेका अरू कुराहरूको बारे को कुनै विवरणको सूचना लिन वा खोजी गर्न पाउने छैन ।
१०३. जायज्यथाको विवरण : कोपोरेशनको विघटन भएमा त्यसबाट उपलब्ध रहेको जायज्यथा शेयरहोल्डरहरूलाई पूरा पूँजी फिर्ता दिन अपर्याप्त भएमा सबै शेयरहोल्डरहरूले सो विघटन प्रारम्भ भएको मितिमा निजहरूको नाउँमा रहेको शेयरहरू वापत भुक्तानी पाउनु पर्ने रकमको अनुपातमा बराबर नोक्सानी व्यहोर्ने गरी त्यस्तो जायज्यथाको वितरण गरिनेछ ।
१०४. कोपोरेशनको कोषबाट दायित्वहरूको पूर्ति : कोपोरेशनको सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर, कर्मचारी वा अडिटरको काममा लगाइएका कुनै व्यक्तिले त्यसरी सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर, कर्मचारी वा अडिटर भई कोपोरेशनको तर्फबाट कुनै देवानी वा फौजदारी मुद्दामा प्रतिरक्षा गर्न वा यस ऐन अन्तर्गत परेको निवेदन पत्रको सम्बन्धमा अदालतबाट निजको विपक्षमा फैसला भएमा वा निजलाई फूसद दिएमा निजले व्यहोर्नु परेको दायित्वहरू वापत कोपोरेशनको कोषबाट पूर्ति गरिनेछ ।
परिच्छेद-१८ विविध
१०५. कोपोरेशनका कर्मचारीहरूको सेवा शर्त : कोपोरेशनका कर्मचारीहरूको नियुक्ति, पदोन्नति सेवाका शर्तहरू, मेहनताना (तलब भत्ता) र अन्य सुविधाहरूको हकमा कोपोरेशनले विनियमहरू बनाउन सक्नेछ ।
१०६. कोपोरेशनको व्यवस्था : (१) समितिको आदेश र निर्देशनको अधीनमा रही कोपोरेशनको दैनिक प्रशासन र व्यवस्था सम्बन्धी समस्त कामको उत्तरदायित्व समितिको सचिवको हैसियतले समेत म्यानेजिङ्ग डाइरेक्टरमा रहनेछ ।
(२) म्यानेजिङ्ग डाइरेक्टरको सेवाको शर्त, मेहनताना र अन्य सुविधाहरू विनियममा तोकिए बमोजिम हुनेछ ।
द्रष्टव्य :- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची (नियम ३१ सँग सम्बन्धित)
प्रमाणपत्र नम्बर शेयरहकत्ता शेयर नम्बरदेखि.......
अधिकृत पूँजी १०,००,०००।- हाल निष्कासित पूँजी ३,००,०००।- ने. रु. १०।- दरले शेयर कित्ता ३०,०००।- मा विभाजित
गोरखापत्र कर्पोरेसनको रु.१०।- दरको....................नम्बर देखि..............नम्बर सम्मको शेयर कित्ता..................को नाममा दर्ता भएको हुनाले गोरखापत्र कर्पोरेसनको छाप लागेको प्रमाणपत्र दिने काम भएको छ ।
काठमाडौं ।
२०२ साल..............गते रोज............... सञ्चालकहरू सचिव
गोरखापत्र कर्पोरेसन शेयरको प्रमाणपत्र (गोरखापत्र कर्पोरेसन ऐन, २०१९ अनुसार स्थापित)