गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४
प्रमाणीकरण र प्रकाशन मिति २०६४।५।१०
१. सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ २०८१।१२।१८
व्यवस्थापिका-संसदले बनाएको २०६४ सालको ऐन न. १५ गैर आवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: गैर आवासीय नेपालीहरुमा नेपालप्रतिको सामिप्यता अभिवृद्धि गरी त्यस्ता व्यक्तिलाई नेपालको सर्वाङ्गीण विकासमा सहभागी गराउन उत्प्रेरित गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– *(क) "गैरआवासीय नेपाली” भन्नाले देहायको व्यक्ति सम्झनु पर्छ:- (१) गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति, (२) नेपाली मूलको विदेशी नागरिक, (३) विदेशमा बस्ने नेपाली नागरिक।
*(क१) "गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति” भन्नाले कानून बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।
(ख) “नेपाली मूलको विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति सापतमा स्वयम् वा वंशको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ।
(ग) “विदेशमा बस्ने नेपाली नागरिक” भन्नाले साविकको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटीई विदेशस्थित कुटनैमिक नियोग वा महावाणिज्य दूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनु पर्छ। (घ) “परिचयपत्र” भन्नाले दफा ४ बमोजिम दिइएको गैर आवासीय नेपालीको परिचयपत्र सम्झनु पर्छ। (ङ) “लगानी” भन्नाले मुनाफा आर्जन गर्ने उद्देश्यले नेपालको कुनै उद्योग वा व्यवसायमा गरेको लगानी सम्झनु पर्छ र सो शब्दले उद्योग वा व्यवसाय र गैर आवासीय नेपालीका बीच सम्झौता गरी कुनै विदेशी उत्पत्तिको प्रविधि सम्बन्धी अधिकार, विशिष्टता, फर्मुला, प्रक्रिया, पेटेण्ट, ट्रेडमाक वा प्राविधिक सीप वा ज्ञानको हस्तान्तरण गर्ने वा प्राविधिक सल्लाहकार वा व्यवस्थापन सेवा उपलब्ध गराउने कार्य समेतलाई जनाउँछ। (च) “परिवार” भन्नाले पति, पत्नी, बाबु, आमा, छोराछोरी, बाजे बज्यै र सासू वा ससुरा सम्झनु पर्छ। (छ) “नजिकका नातेदार” भन्नाले आयकर ऐन, २०५८ को दफा २ को खण्ड (ब) मा उल्लिखित नातेदार सम्झनु पर्छ। (ज) “परिवर्त्य विदेशी मुद्रा” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २ को खण्ड (ठ) बमोजिमको परिवर्त्य विदेशी मुद्रा सम्झनु पर्छ। (झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. गैर आवासीय नेपालीको अभिलेख खडा गर्ने: (१) कुनै गैर आवासीय नेपाली वा निजको परिवारले गैर आवासीय नेपालीको सो हैसियतमा आफ्नो नाम दर्ता गराउन चाहेमा तोकिए बमोजिमको दस्तुर सहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको निवेदन परेमा तोकिएको अधिकारीले आवश्यक छानबिन गरी तोकिए बमोजिम गैर आवासीय नेपालीको अभिलेख खडा गर्नेछ।
४. परिचयपत्र दिने: (१) दफा ३ बमोजिम अभिलेखमा नाम समावेश भएको गैर आवासीय नेपालीले परिचयपत्र लिन चाहेमा तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा तोकिएको अधिकारीले आवश्यक छानबिन गरी तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई गैर आवासीय नेपालीको परिचयपत्र दिन सक्नेछ। (३) उपदफा (२) बमोजिम दिइएको परिचयपत्रको अवधि नेपाली मूलको विदेशी नागरिक भए निजले प्राप्त गरेको भिसाको अधीनमा रही बढीमा दश वर्ष र विदेशमा बस्ने नेपाली नागरिक भए दुई वर्षसम्म बहाल रहने छ। तर दुई वर्षभन्दा बढी विदेशमा बसोबास गर्न पाउने अनुमतिपत्र प्राप्त विदेशमा बस्ने नेपाली नागरिकलाई सो अवधिको लागि परिचयपत्र दिन सकिनेछ। (४) परिचयपत्र नवीकरण गराउन चाहने गैर आवासीय नेपालीले परिचयपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (५) उपदफा (४) बमोजिम परिचयपत्र नवीकरणको लागि निवेदन परेमा तोकिएको अधिकारीले उपदफा (३) को अधीनमा रही तोकिए बमोजिमको दस्तुर लिई परिचयपत्र नवीकरण गरिदिनु पर्नेछ। ५. गैर आवासीय नेपालीको हैसियत कायम रहने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम लगानी गरेको विदेशमा बस्ने नेपाली नागरिक कुनै उद्योग वा व्यवसाय सञ्चालनको सिलसिलामा त्यस्तो उद्योग वा व्यवसायको सञ्चालक वा उच्च व्यवस्थापकीय पदाधिकारीको हैसियतले नेपालमा बसोबास गरेमा पनि निजको गैर आवासीय नेपालीको हैसियत कायम रहनेछ। ६. परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न पाउने: परिचयपत्रप्राप्त गैर आवासीय नेपालीले परिवर्त्य विदेशी मुद्रामा आर्जन गरेको रकम नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैंक वा वित्तीय संस्थामा परिवर्त्य विदेशी मुद्रामा खाता खोली सञ्चालन गर्न सक्नेछ। ७. परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सक्ने: (१) गैर आवासीय नेपालीले वा गैर आवासीय नेपालीको पचास प्रतिशतभन्दा बढी शेयर लगानी भएको कुनै विदेशी कम्पनीले प्रचलित कानून बमोजिम विदेशी लगानीको लागि खुला गरिएको उद्योग वा व्यवसाय वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी गैर आवासीय नेपालीको लागि लगानी गर्न खुला गरेको अन्य कुनै उद्योग वा व्यवसायमा विदेशमा विदेशी मुद्रामा आर्जन गरेको रकम नेपालमा परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको गैर आवासीय नेपाली वा कम्पनीले नेपालमा लगानी गर्ने रकम प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैंक वा वित्तीय संस्था मार्फत प्राप्त गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त गरेको रकमको कानून बमोजिम स्रोत खुलाउनु पर्ने अवस्थामा सोको स्रोत खुलाउनु पर्नेछ।
८. जानकारी दिनु पर्ने: कुनै गैर आवासीय नेपालीले नेपालमा लगानी गरेमा तोकिएको विवरण खुलाई तोकिएको अधिकारी समक्ष सोको जानकारी दिनु पर्नेछ।
९. रकम फिर्ता लैजान सक्ने: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैर आवासीय नेपालीले दफा ७ बमोजिम गरेको लगानी र त्यसबाट प्राप्त भएको लाभ बराबरको रकम मनजले परिवर्तित विदेशी मुद्रामा तोकिए बमोजिम फिर्ता लैजान सक्नेछ।
१०. नेपाली मूलका विदेशी नागरिकलाई सुविधा तथा सहुलियत: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली मूलका विदेशी नागरिकले नेपालमित्र बसोबास गर्नको लागि आफ्नो वा आफ्नो परिवारको निम्ति तोकिएको शर्तको अधीनमा रही तोकिएको क्षेत्रफलको जग्गा वा अन्य सम्पत्ति खरिद गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम नेपाली मूलको विदेशी नागरिकले खरिद गरेको सम्पत्ति प्रचलित कानूनको अधीनमा रही बिक्री गर्न सक्नेछ। (३) नेपाली मूलको विदेशी नागरिकको मृत्यु भई अपुताली परेमा र निजको नेपालमा सम्पत्ति भएमा त्यस्तो सम्पत्ति निजको हकवाला परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक भए निजले पाउनेछ र त्यस्तो हकवाला नभए प्रचलित कानून बमोजिम हुनेछ।
११. भिसा सम्बन्धी सुविधा: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय नेपाली भिसा नि:शुल्क उपलब्ध गराइनेछ। (१क) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एकपटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधा सहितको आवासीय भिसा नि:शुल्क उपलब्ध गराइनेछ। (२) उपदफा (१) बमोजिम दिइएको भिसाको अवधि आवश्यकता अनुसार थप गर्न सकिनेछ।
१२. कर नलाग्ने: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको विषयमा देहाय बमोजिम हुनेछ :-
(क) गैर आवासीय नेपालीले लगानी गर्दाको पूँजी रकममा कुनै कर लाग्ने छैन, (ख) गैर आवासीय नेपालीले मनजस्तो नजिकको नातेदार नेपाली नागरिकलाई निजी प्रयोगको लागि एक आर्थिक वर्षमा पन्च लाख रुपैयाँमा नबढ्ने गरी नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैंक वा वित्तीय संस्था मार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन, (ग) गैर आवासीय नेपालीले नाफा आर्जन नगर्ने गरी खडा भएको कुनै सामाजिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, परोपकारी, खेलकूद वा दैवी प्रकोपको उद्धार कार्यसँग सम्बन्धित संस्थालाई नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैंक वा वित्तीय संस्था मार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन।
१३. उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने: यस ऐन बमोजिम लगानी गर्ने नेपाली मूलको विदेशी नागरिकले नेपाली नागरिक सरह नेपालमा उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउनेछ।
१४. प्रचलित कानून बमोजिमको सुविधा पाउने: प्रचलित कानून बमोजिम कुनै विदेशी नागरिकले परिवर्त्य विदेशी मुद्रामा नेपालमा लगानी गरे बापत पाउने सुविधा यस ऐन बमोजिम लगानी गर्ने नेपाली मूलका विदेशी नागरिकले पनि पाउनेछ।
१५. सल्लाहकार बोर्ड गठन गर्न सक्ने: (१) विदेशी लगानी सम्बन्धी नीति वा कानूनलाई समयानुकूल बनाउन, गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिन तथा गैर आवासीय नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्नको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी गैर आवासीय नेपाली संस्थाको समेत प्रतिनिधित्व हुने गरी बढीमा सातजना रहेका एक सल्लाहकार बोर्डको गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको सल्लाहकार बोर्डको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ।
१६. गैर आवासीय नेपाली संघ सम्बन्धी व्यवस्था: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैर आवासीय नेपालीहरुले नेपालमित्र गैर आवासीय नेपाली संघ खोल्न पाउने छन्। (२) गैर आवासीय नेपाली संघको दर्ता तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१७. परिचयपत्र रद्द हुने: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा बस्ने नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता लिएमा निजले यस ऐन बमोजिम प्राप्त गरेको परिचयपत्र स्वतः रद्द हुने छ। (२) उपदफा (१) बमोजिम परिचय पत्र रद्द भएमा विदेशमा बस्ने नेपाली नागरिकले सो हैसियतमा यस ऐन बमोजिमको कुनै सुविधा तथा सहुलियत पाउने छैन।
१८. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।