चिठ्ठा नियमावली, २०२७
नेपाल राजपत्रमा प्रकाशित मिति २०२७।१०।१५
संशोधन चिठ्ठा (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
चिठ्ठा ऐन, २०२५ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “चिठ्ठा नियमावली, २०२७” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले चिठ्ठा ऐन २०२५ सम्झनु पर्छ ।
३. चिठ्ठा खोल्ने स्वीकृतिको निमित्त निवेदन दिनेः (१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम चिठ्ठा खोल्न चाहने व्यक्ति वा संस्थाले नेपाल सरकारको स्वीकृतिको निमित्त निवेदन दिनु दा चिठ्ठाको २ प्रति नमूना सामेल गरी स्थानीय प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा अनुसूचीमा तोकिएको ढाँचाको निवेदन दिनु पर्छ । (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले निवेदकको सम्बन्धमा आवश्यक जाँचबुझ गरी आफ्नो मन्तव्य सहित उक्त निवेदन गृह मन्त्रालयमा पठाउनु पर्नेछ । (३) उपनियम (२) बमोजिम प्रमुख जिल्ला अधिकारीको मन्तव्य सहितको निवेदन प्राप्त भएपछि गृह मन्त्रालयले निवेदकलाई चिठ्ठा खोल्ने अनुमति दिन सक्नेछ । (४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक प्रदर्शनीस्थल, क्लब वा सोसाइटी जस्तो ठाउँमा मात्र खोलिने चिठ्ठाको हकमा प्रमुख जिल्ला अधिकारीले निवेदकलाई चिठ्ठा खोल्ने अनुमति दिन सक्नेछ ।
४. पुरस्कारमा हेरफेर गर्नु परेमा सूचना गर्ने: ऐनको दफा ४ बमोजिम चिठ्ठाको पुरस्कारमा हेरफेर गर्नु परेमा चिठ्ठाको बिक्री बन्द भएको ७ दिनभित्र बन्द भएको मिति सम्ममा बिक्री भएको र बिक्री हुन बाँकी चिठ्ठाको लगत तथा चिठ्ठा बिक्री भएको दामासाहीले पाउने पुरस्कारको परिमाण समेत खोली चिठ्ठा खोल्नु अगावै चिठ्ठा खोल्न चाहने व्यक्ति वा संस्थाले त्यसको सूचना स्थानीय प्रमुख जिल्ला अधिकारी समक्ष दिनु पर्नेछ।
५. चिठ्ठाको विवरण पठाउने: चिठ्ठा खोलिए पछि त्यसको भोलिपल्टै चिठ्ठा खोल्ने व्यक्ति वा संस्थाले बिक्री भएको र बिक्री हुन सकेको चिठ्ठाको लगत, वितरण भएको पुरस्कार पाउने व्यक्तिहरुको नाम, पुरस्कार पाउने चिठ्ठाहरुको क्रम संख्या, पुरस्कारमा हेरफेर गरिएको भए त्यसको व्यहोरा आदि सबै खोली सम्पूर्ण विवरण स्थानीय प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ।
६. अधिकृत खटाउने: चिठ्ठा खोल्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीले चिठ्ठा खोल्ने समयमा एकजना अधिकृत र निजलाई मद्दत गर्न आवश्यक कर्मचारीहरु खटाउनेछ।
७. प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनु पर्ने: चिठ्ठाको प्रतिमा तोकिएको मिति वा स्थानमा कुनै परिवर्तन गर्नु परेमा स्थानीय प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिई त्यस्तो परिवर्तन गर्न सकिनेछ।
८. चिठ्ठाको नतिजा प्रकाशित गर्ने: चिठ्ठा खोलिएपछि पुरस्कार पाउने व्यक्तिहरुको चिठ्ठाको नम्बर र नाम भए नाम समेत यथाशीघ्र पत्रपत्रिकामा प्रकाशित गर्नु पर्छ।
९. लेखापरीक्षण: नियम ३ को उपनियम (४) बमोजिम स्वीकृति प्राप्त गरेको चिठ्ठा बाहेक अरु सबै चिठ्ठाहरुको आय-व्ययको लेखापरीक्षण स्थानीय जिल्ला प्रशासन कार्यालयमा गराउनु पर्नेछ।
द्रष्टव्य:– १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरु:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । २. पहिलो संशोधनबाट रुपान्तर भएका शब्दहरु: “अञ्चलाधीश”, “गृह पञ्चायत मन्त्रालय” र “अञ्चलाधीश कार्यालय” भन्ने शब्दहरुको सट्टा क्रमशः “प्रमुख जिल्ला अधिकारी”, “गृह मन्त्रालय” र “जिल्ला प्रशासन कार्यालय”।
अनुसूची (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार गृह मन्त्रालय मार्फत ......................... प्रमुख जिल्ला अधिकारी कार्यालय ।
महोदय,
म । हामी ........... ले देहाय बमोजिमको चिठ्ठा खोल्न चाहेकोले स्वीकृतिको निमित्त निवेदन गरेको छु । छौँ–
१. चिठ्ठा खोल्ने उद्देश्य .............
२. चिठ्ठाको पूँजी ..................
३. चिठ्ठा बिक्रीबाट प्राप्त हुने कूल रकम ....... मध्ये ....... प्रतिशतले बाँडिइने पुरस्कारको विवरण ............
४. पुरस्कार बाँडी बाँकी रहने रकम मध्ये (क) चिठ्ठा सम्बन्धी खर्च .................. (ख) सहायता वा मुनाफा .................
निवेदको नाम, थर............ ठेगाना ........................ मिति ..... ...... ............