छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०
नेपाल राजपत्रमा प्रकाशित मिति २०६०।३।२६
संशोधन १. छात्रवृत्ति सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०६३ २०६३।१०।२८ २. छात्रवृत्ति सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०६४ २०६४।११।१६ ३. छात्रवृत्ति सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०६५ २०६५।१०।२० ४. छात्रवृत्ति सम्बन्धी (चौथो संशोधन) नियमावली, २०६६ २०६७।२।३ ५. छात्रवृत्ति सम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०६९ २०६९।८।१८ ६. छात्रवृत्ति सम्बन्धी (छैठौँ संशोधन) नियमावली, २०७२ २०७२।५।२१
छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा १० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ सम्झनु पर्छ । (ख) “आयोग” भन्नाले राष्ट्रिय योजना आयोग सम्झनु पर्छ । (ग) “छात्रवृत्ति निर्धारण समिति” भन्नाले नियम ६ बमोजिमको छात्रवृत्ति नीति निर्धारण समिति सम्झनु पर्छ ।
(ग१) $^०$
(घ) “छनौट समिति” भन्नाले नियम ८ बमोजिमको छात्रवृत्ति छनौट समिति सम्झनु पर्छ ।
(ङ) “मूल विषय” भन्नाले छात्रवृत्तिको लागि दरखास्त आह्वान गर्दा सार्वजनिक रुपमा प्रकाशन गरिएको सूचनामा तोकेको विषय सम्झनु पर्छ ।
(च) “परीक्षा” भन्नाले छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा उमेदवार छनौट गर्न $^१$ नियम १० बमोजिम लिइएको परीक्षा सम्झनु पर्छ ।
(छ) “बिगो निर्धारण समिति” भन्नाले नियम २५ बमोजिमको छात्रवृत्ति सम्बन्धी बिगो निर्धारण समिति सम्झनु पर्छ ।
३. छात्रवृत्तिको विषय स्वीकृत गर्नु पर्ने: (१) विदेशी सरकार वा कुनै संस्थाबाट माग गर्नु पर्ने विभिन्न किसिम, तह वा स्तरको छात्रवृत्तिको विवरण भरी पठाउन आयोगले समयावधि तोकी नेपाल सरकारको सम्बन्धित मन्त्रालय र निकायबाट प्रत्येक वर्ष माग गर्नेछ ।
(२) उपनियम (१) बमोजिम माग भएपछि सम्बन्धित मन्त्रालय वा निकायले सो मागपत्रमा तोकिएको अवधिभित्र छात्रवृत्ति माग गरी आयोगमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको मागलाई आयोगले राष्ट्रिय योजना अनुकूल चाहिने जनशक्तिको आधारमा विश्लेषण गरी छात्रवृत्तिको विषय स्वीकृत गर्नेछ ।
(४) उपनियम (३) बमोजिम विषय स्वीकृत भएपछि आयोगले स्वीकृत गरिएका छात्रवृत्तिको विषय, अध्ययन वा तालीमको निमित्त उपयुक्त मुलुक, तालीमको स्तर, अवधि र संख्या, उम्मेदवार खुला प्रतियोगिता वा विभागीय प्रतियोगिता कसरी छनौट गर्ने हो सो समेत खुलाई सम्बन्धित मन्त्रालय वा निकायमा पठाउनेछ ।
$^०$ तेस्रो संशोधनद्वारा झिकिएको। $^१$ छैठौं संशोधनद्वारा थप।
(५) उपनियम (३) बमोजिम स्वीकृत भएका विषय मध्ये स्वदेशमै अध्ययन वा तालीमका व्यवस्था भए नभएको जाँच गरी स्वदेशमा अध्ययन वा तालीमको व्यवस्था नभएका वा भए पनि आवश्यक परिमाणमा नभएका विषयको निमित्त मात्र मन्त्रालय वा निकायले विदेशी सरकार वा कुनै संस्थाबाट छात्रवृत्ति उपलब्ध गराउन आवश्यक कारबाही गर्नेछ ।
४. पहिले नै प्राप्त भई सकेका छात्रवृत्तिको विषय स्वीकृति सम्बन्धी व्यवस्था: (१) नेपाल सरकारको कुनै मन्त्रालय वा निकायबाट छात्रवृत्ति माग गर्नु भन्दा अगावै विदेशी सरकार वा कुनै संस्थाबाट कुनै विषयमा अध्ययन वा तालीमका लागि छात्रवृत्ति प्राप्त भएमा र सो छात्रवृत्ति राष्ट्रिय योजना अनुकूल देखिएमा आयोगले त्यस्तो छात्रवृत्तिको विषय स्वीकृत गरी त्यस्तो छात्रवृत्तिमा खुला प्रतियोगिताता वा विभागीय प्रतियोगिताता जुन प्रहियाबाट उम्मेदवार छनौट हुने हो सो समेत खुलाई सम्बन्धित मन्त्रालय वा निकायमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सरकार वा कुनै संस्थाबाट प्राप्त भएको छात्रवृत्ति कुनै व्यक्ति विशेषको निमित्त प्रदान गरिएको वा व्यक्तिगत रुपमा विदेशी सरकार वा कुनै संस्थासँग माग गरी उपलब्ध भएकोमा त्यस्तो छात्रवृत्तिमा कुनै कारबाही गरिने छैन ।
५. स्वीकृत नभएको विषयमा छात्रवृत्तिमा नपठाउने: नियम ३ वा ४ मा लेखिएदेखि बाहेक आयोगबाट विषय स्वीकृत नभएको छात्रवृत्ति गरिने वा त्यस्तो छात्रवृत्तिमा अध्ययन वा तालीमको निमित्त पठाइने छैन ।
*तर नियम ३ को उपनियम (१) बमोजिम आयोगले विवरण माग नगरेको वर्षमा शिक्षा मन्त्रालयमा कुनै छात्रवृत्ति प्राप्त भएमा सो मन्त्रालयले ऐन तथा यस नियमावली बमोजिम उम्मेदवार छनौट गरी अध्ययन वा तालीममा पठाउन सक्नेछ ।
६. छात्रवृत्ति निर्धारण समिति: (१) छात्रवृत्ति सम्बन्धी नीति निर्धारण, समन्वय तथा व्यवस्थापन गर्ने काम समेतको लागि देहायका सदस्यहरु रहेको एक छात्रवृत्ति नीति निर्धारण समिति रहनेछ:-
(क) शिक्षा मन्त्री वा राज्य मन्त्री - अध्यक्ष (ख) आयोगको शिक्षा हेर्ने सदस्य - सदस्य (ग) सचिव, शिक्षा मन्त्रालय - सदस्य (घ) प्रतिनिधि (राजपत्राहित प्रथम श्रेणी) अर्थ मन्त्रालय - सदस्य (ङ) प्रतिनिधि (राजपत्राहित प्रथम श्रेणी) परराष्ट्र मन्त्रालय - सदस्य (च) प्रमुख, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय - सदस्य (छ) सह-सचिव, (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा), शिक्षा मन्त्रालय - सदस्य-सचिव
(२) ............................
(३) छात्रवृत्ति निर्धारण समितिले आवश्यक देखेमा सम्बन्धित क्षेत्रको कुनै विशेषज्ञलाई सो समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(४) छात्रवृत्ति निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
७. छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार: छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा नीति निर्धारण गर्ने, (ख) छात्रवृत्ति प्रदान गर्ने विभिन्न निकायहरु बीच समन्वय कायम गर्ने, (ग) छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिता बनाई लागू गर्ने,
(घ) परीक्षाको विवरण प्राप्त गर्ने सम्बन्धमा सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँग आवश्यक परामर्श र समन्वय गर्ने,
(ङ) छात्रवृत्ति सम्बन्धमा आवश्यक अन्य काम गर्ने, गराउने ।
८. छात्रवृत्ति छनौट समिति: (१) खुल्ला प्रतियोगिताद्वारा छात्रवृत्ति छनौट गर्ने कार्यको लागि देहायका सदस्यहरु रहेको एक छात्रवृत्ति छनौट समिति रहनेछ:-
(क) सह-सचिव (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) शिक्षा मन्त्रालय - अध्यक्ष
(ख) शिक्षा मन्त्रालयले मनोनयन गरेका तीनजना विशेषज्ञहरु - सदस्य
(ग) उप-सचिव, (छात्रवृत्ति शाखा), शिक्षा मन्त्रालय - सदस्य-सचिव
(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको सदस्य हुनको लागि कुनै विश्वविद्यालय वा सो अन्तर्गतका निकायमा शिक्षण वा अनुसन्धानको क्षेत्रमा कम्तीमा पञ्च वर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) छात्रवृत्ति छनौट समितिले आवश्यक देखेमा सम्बन्धित क्षेत्रको कुनै विशेषज्ञलाई सो समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) छात्रवृत्ति छनौट समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
९. छनौट समितिको काम, कर्तव्य र अधिकार: (१) छनौट समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-
(क) सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट लिइएको परीक्षाको प्राप्ताङ्क सहितको विवरण प्राप्त गर्ने,
(ख) खण्ड (क) बमोजिमको प्राप्ताङ्क र उम्मेदवारको शैक्षिक योग्यता तथा आरक्षण सम्बन्धी प्रमाणका आधारमा साधारण तथा आरक्षण तर्फको योग्यताक्रम कायम गर्ने,
(ग) छात्रवृत्तिमा मनोनयनको लागि शिक्षा मन्त्रालय समक्ष उम्मेदवारको नाम सिफारिस गर्ने,
(घ) खण्ड (क) बमोजिमको विवरण उपलब्ध हुन नसकी खण्ड (ख) बमोजिम योग्यताक्रम कायम गर्न नसकिने भएमा त्यस्तो छात्रवृत्तिमा मनोनयनको लागि निजामती सेवा सम्बन्धी प्रचलित कानून बमोजिमको छात्रवृत्ति बाँडफाँड समितिमा पठाउन वा अन्य उपयुक्त व्यवस्था गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गर्ने,
(ङ) छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिताको मस्यौदा तयार गरी छात्रवृत्ति निर्धारण समिति समक्ष पेश गर्ने,
(च) छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिता उल्लंघन गर्ने व्यक्ति उपर आवश्यक कारबाही गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गर्ने,
(छ) छात्रवृत्ति प्राप्त गर्ने उम्मेदवार हुनुको लागि चाहिने न्यूनतम योग्यता तोक्ने,
(ज) छात्रवृत्ति सम्बन्धमा लिइएको परीक्षाको अनुगमन गर्ने,
(झ) छात्रवृत्ति निर्धारण समितिले दिएको नीति निर्देशिकालाई पालना गर्ने,
(ञ) छात्रवृत्तिमा उम्मेदवारको छनौट सम्बन्धी अन्य आवश्यक कार्य गर्ने गराउने ।
*१०. छात्रवृत्तिको परीक्षा: (१) शिक्षा मन्त्रालयले छात्रवृत्ति सम्बन्धी परीक्षा सञ्चालन गर्नुको लागि समय तोकी छात्रवृत्ति उपलब्ध गराउने नेपालको विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थालाई लेखी पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखि आएमा त्यस्तो विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाले सो विषयमा शिक्षा मन्त्रालयले तोकेको समयमा परीक्षा सञ्चालन गर्न वा त्यस्तो समयमा आफ्नो विश्वविद्यालय वा शैक्षिक संस्थामा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिँदा छात्रवृत्ति प्रयोजनका लागि समेत हुने गरी एउटै परीक्षा सञ्चालन गर्न सक्नेछ ।
तर एक शैक्षिक सत्रको लागि एउटा विषयमा एकभन्दा बढी परीक्षा सञ्चालन गर्न सकिने छैन ।
*१०क. छात्रवृत्ति आरक्षण गरिने: (१) नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये पैंतालीस प्रतिशत स्थान सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न देहायका समुदाय तथा व्यक्तिलाई आरक्षण गरी सो प्रतिशतलाई शत प्रतिशत कायम गरी देहायको प्रतिशतका आधारमा वितरण गरिनेछ:-
(क) आर्थिक वा सामाजिक रुपमा विपन्नका लागि पच्चीस प्रतिशत, (ख) महिलाका लागि तेत्तीस प्रतिशत, (ग) अपाङ्गका लागि दुई प्रतिशत, (घ) जनजातिका लागि सताइस प्रतिशत, (ङ) दलितका लागि नौ प्रतिशत, (च) पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिका लागि चार प्रतिशत ।
छैठौँ संशोधनद्वारा संशोधित । तेस्रो संशोधनद्वारा संशोधित ।
स्पष्टीकरण: यस खण्डको प्रयोजनका लागि “पिछडिएको दुर्गम क्षेत्रका व्यक्ति” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरेको व्यक्तिलाई जनाउँछ ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम आर्थिक वा सामाजिक रुपमा विपन्नका लागि आरक्षित पच्चीस प्रतिशत स्थान देहायका समुदाय तथा व्यक्तिलाई देहायको प्रतिशतका आधारमा वितरण गरिनेछ:-
(क) मधेसीका लागि बीस प्रतिशत, (ख) मुस्लिम समुदायका लागि दुई प्रतिशत, (ग) बेपत्ता पारिएका व्यक्ति तथा शहीदको परिवार तथा घाइते वा निजको सन्ततीका लागि तीन प्रतिशत ।
स्पष्टीकरण: यस खण्डको प्रयोजनका लागि,
(१) “बेपत्ता पारिएका व्यक्ति तथा शहीद” भन्नाले जनयुद्ध, लोकतन्त्रका लागि सम्बत् २०६२/०६३ मा सञ्चालित भएको जनआन्दोलन, मधेस आन्दोलन लगायत लोकतन्त्रका लागि मुलुकभित्र सञ्चालित सम्पूर्ण तरह आन्दोलन वा क्रान्तिको क्रममा बेपत्ता पारिएको वा शहीद भएको व्यक्तिलाई जनाउँछ ।
(२) “घाइते” भन्नाले लोकतन्त्रका लागि सम्बत् २०६२/०६३ मा सञ्चालित भएको जनआन्दोलनको क्रममा घाइते भई अधिकार प्राप्त निकायको परिभाषा बमोजिम कम्तीमा ५० प्रतिशत अशक्त भई आजीवन अङ्गभङ्ग भएका व्यक्तिलाई जनाउँछ ।
(३) उपनियम (१) को खण्ड (ख) बमोजिम महिलाका लागि आरक्षित तेत्तीस प्रतिशत स्थानमध्ये तीन प्रतिशत स्थान दलित समुदायका महिला र दुई प्रतिशत स्थान मुस्लिम समुदायका महिलाका लागि आरक्षण गरिनेछ ।
चौथो संशोधनद्वारा संशोधित ।
(४) उपनियम (२) को खण्ड (क) बमोजिम मधेशी समुदायका लागि आरक्षित बीस प्रतिशत स्थानमध्ये तीन प्रतिशत स्थान मधेशी दलित समुदायका व्यक्तिलाई आरक्षण गरिनेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदाय वा व्यक्ति उपलब्ध नभएमा नेपालभित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गराइनेछ ।
(६) उपनियम (३) बमोजिम दलित समुदायका महिला र मुस्लीम समुदायका महिलाको लागि आरक्षित स्थानमा सम्बन्धित समुदायका व्यक्तिहरु उपलब्ध नभएमा त्यस्तो स्थान अन्य महिलालाई प्रदान गरिनेछ र उपनियम (४) बमोजिम मधेशी दलित समुदायको लागि आरक्षित स्थानमा सम्बन्धित समुदायका व्यक्तिहरु उपलब्ध नभएमा त्यस्तो स्थान मधेशी समुदायका अन्य व्यक्तिलाई प्रदान गरिनेछ ।
(७) यसनियम बमोजिम प्रतिशत निर्धारण गर्दा दशमलव पछि अङ्क आएमा देहाय बमोजिम गरिनेछ:-
(क) दशमलव भन्दा पछि आएको अङ्कमध्ये सबैभन्दा बढी अङ्क ल्याउनेलाई एक स्थान थप गर्ने,
(ख) दशमलव पछि को अङ्क बराबर भएमा साधारण योग्यताक्रममा अगाडि रहेको उम्मेदवार भएको समुदायलाई एक स्थान थप गर्ने ।
उदाहरणको लागिः प्रतिशत निर्धारण गर्दा महिला तर्फ ५.५ प्रतिशत र अपाङ्ग तर्फ ५.२ प्रतिशत हुन आएमा महिला तर्फ ६ सिट र अपाङ्ग तर्फ ५ सिट कायम गरिनेछ । महिला तर्फ ५.५ प्रतिशत र अपाङ्ग तर्फ ५.५ प्रतिशत हुन आएमा साधारण योग्यताक्रममा जुन
समुदायको व्यक्तिको नाम अगाडि रहेको छ सोही समुदायका लागि एक सिट थप गरिन्छ ।
(८) यस नियम बमोजिम स्थान वितरण गर्दा जुन शैक्षिक संस्था वा देशको लागि छात्रवृत्ति प्राप्त भएको हो सो शैक्षिक संस्था वा देशको लागि साधारण समूह तथा स्थान आरक्षित गरिएको समूह समाहित हुने गरी स्थान वितरण गर्नु पर्नेछ ।
(९) यस नियम बमोजिम आरक्षित गरिएको स्थान र साधारण समूहको लागि छुट्याइएको स्थानलाई प्रत्येक वर्ष समायोजन गर्न सकिनेछ ।
(१०) कुनै समूहको लागि छुट्याइएको स्थानमा सो समूहको दरखास्त पर्न नआएमा वा उम्मेदवार छनौट हुन नसकेमा त्यस्तो समूहलाई छुट्याइएको स्थान स्वतः साधारण समूहमा सर्नेछ ।
(११) यो नियम प्रारम्भ हुँदाका बखत छात्रवृत्ति आरक्षणका सम्बन्धमा भए गरेका काम कारबाही यसै नियम बमोजिम भए गरेको मानिनेछ ।
११. दरखास्त आह्वान गर्ने: (१) छनौट समितिले छात्रवृत्तिमा छनौट गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनको लागि कम्तीमा सात दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिहरूबाट दरखास्त आह्वान गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका कुराहरू खुलाउनु पर्नेछ:-
(क) परीक्षा दिएको विश्वविद्यालय वा शैक्षिक संस्था,
(ख) न्यूनतम शैक्षिक योग्यता,
(ग) नियम १०क. बमोजिम आरक्षण गरिएको छात्रवृत्तिको विवरण,
(घ) दरखास्त साथ पेश गर्नु पर्ने सिफारिस तथा अन्य कागजात सम्बन्धी विवरण,
छैठौँ संशोधनद्वारा संशोधित ।
(ङ) दरखास्तको ढाँचा र दरखास्त दिने स्थान,
(च) दरखास्त दस्तुर,
(छ) दरखास्त दिने माध्यम,
(ज) दरखास्त बुझाउन सकिने अन्तिम दिन र समय,
(झ) दरखास्त सम्बन्धी अन्य आवश्यक कुराहरु ।
१२. उम्मेदवार हुन चाहिने न्यूनतम योग्यता: (१) यस नियमावली बमोजिम "छात्रवृत्तिका लागि दरखास्त दिन चाहिने व्यक्तिले छनौट समितिले तोकिदिएको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी परीक्षामा कम्तीमा पचास प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनु पर्दछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि छात्रवृत्ति उपलब्ध गराउने विदेशी सरकार, कुनै निकाय वा शिक्षण संस्थाले छात्रवृत्तिका लागि छुट्टै शैक्षिक योग्यता र उत्तीर्ण प्रतिशत तोकेको रहे छ भने सो समेत पूरा गरेको हुनु पर्दछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्साशास्त्र विषयको स्नातकोत्तर र दन्त चिकित्साशास्त्र विषयको स्नातकोत्तर तहको छात्रवृत्तिका लागि दरखास्त दिन चाहिने व्यक्तिले कुनै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी वा यस्तै अन्य स्वास्थ्य सम्बन्धी संस्थामा कम्तीमा दुई वर्ष काम गरेको हुनु पर्दछ ।
१३. दरखास्त बुझाउनु पर्ने: नियम ११ बमोजिम प्रकाशित सूचना अनुसार दरखास्त दिन चाहिने व्यक्तिले सो सूचनामा तोकिएको दस्तुर सहित त्यस्तो सूचनामा तोकिएको म्यादभित्र सोही नियमको खण्ड (छ) बमोजिमको माध्यमबाट छनौट समितिमा दरखास्त बुझाउनु पर्दछ ।
१३क. सिफारिस पेश गर्नु पर्ने: (१) नियम १०क. बमोजिम आरक्षित गरिएको स्थानमा उम्मेदवार हुन चाहने देहायका व्यक्तिले नियम १३ बमोजिम दरखास्त बुझाउँदाका बखत आफू
सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी देहाय बमोजिमको निकायको सिफारिस पेश गर्नु पर्नेछ:-
(क) अपाङ्गले राष्ट्रिय अपाङ्ग महासंघ वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(ख) जनजातिले आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(ग) दलितले राष्ट्रिय दलित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(घ) पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट,
(ङ) मधेसी समुदायको व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(च) मुस्लिम समुदायको व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(छ) बेपत्ता पारिएका व्यक्ति वा सहिद परिवार तथा घाईते वा निजको सन्ततीले गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट ।
(२) उपनियम (१) को खण्ड (घ) बमोजिम पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिस पेश गर्दा निज दरखास्त दिदाका बखत सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ र त्यस्तो व्यक्तिले पिछडिएको दुर्गम क्षेत्रमा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १०क. बमोजिम आरक्षित गरिएको स्थानमा उम्मेदवार हुन चाहने व्यक्तिले नियम १३ बमोजिम दरखास्त
बुझाउने समयमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले विपन्नको कारण खुलाई अनुसूची-१ख. को ढाँचामा गरेको सिफारिस पेश गर्नु पर्नेछ ।
(४) Ꝟअपाङ्गता भएका व्यक्ति वा घाइतेले चिकित्साशास्त्र वा इन्जिनियरिङ्ग विषय अध्ययन गर्न दरखास्त दिने भएमा उपनियम (१) को खण्ड (क) बमोजिमको सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम छ भनी लेखिदिएको सिफारिस समेत दरखास्त साथ पेश गर्नु पर्नेछ ।
१४. उम्मेदवार छनौट गर्ने आधार: (१) छनौट समितिले छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाले लिएको परीक्षाको प्राप्ताङ्कलाई आधार लिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सरकार, निकाय वा शैक्षिक संस्थाबाट प्राप्त छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा त्रिभुवन विश्वविद्यालय वा सो अन्तर्गतको शिक्षण संस्थाले लिएको परीक्षाको प्राप्ताङ्कलाई आधार लिइनेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि चित्रकला, गायन, वादन, नृत्य, सिलाई जस्ता विषयमा छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा छनौट समितिले छुट्टै आधार निर्धारण गरी उम्मेदवार छनौट गर्न सक्नेछ ।
१५. कार्य अनुभव वापतको अंक: (१) नियम १२ को उपनियम (२) को प्रयोजनको लागि कार्य अनुभव वापत देहाय बमोजिम बढीमा बीस अंक दिइनेछ:-
(क) “क” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे वापत वर्षको आठ अंक र अन्य क्षेत्रमा काम गरे वापत वर्षको दस अंक दरले,
Ꝟ चौथो संशोधनद्वारा संशोधित ।
(ख) “ख” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे बापत वर्षको छ अङ्क र अन्य क्षेत्रमा काम गरे बापत वर्षको आठ अङ्कका दरले,
(ग) “ग” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे बापत वर्षको तीन अङ्क र अन्य क्षेत्रमा काम गरे बापत वर्षको पाँच अङ्कका दरले,
(घ) “घ” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे बापत वर्षको एक अङ्क र अन्य क्षेत्रमा काम गरे बापत वर्षको दुई अङ्कका दरले ।
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “वर्ग” भन्नाले शिक्षा मन्त्रालयले नेपालको भौगोलिक अवस्थालाई विचार गरी तोकेको क्षेत्र सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको अङ्क प्राप्त गर्न सम्बन्धित व्यक्तिले सम्बन्धित वर्गमा कम्तीमा एक वर्ष रुजु हाजिर भई काम गरेको हुनु पर्नेछ र निजले एक वर्षभन्दा बढी काम गरेको रहेछ भने पनि अवधि काम गरेको जो सोही अनुपातमा अङ्क दिइनेछ ।
१६ योग्यताक्रम कायम गर्ने: (१) छनौट समितिले छात्रवृत्तिको लागि योग्यताक्रम कायम गर्दा शैक्षिक संस्थागत र विषयगत रुपमा साधारण तथा आरक्षण समूहहरुको छुट्टाछुट्टै योग्यताक्रम कायम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम योग्यताक्रम कायम गर्ने समयमा कुनै व्यक्तिको एकै विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्थाबाट परीक्षाको प्राप्ताङ्क प्राप्त भएको देखिएमा सबै भन्दा बढी प्राप्ताङ्कलाई आधार मानी योग्यताक्रम कायम गरिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्साशास्त्र र दन्त चिकित्साशास्त्र विषयको स्नातकोत्तर तहको छात्रवृत्तिको हकमा उम्मेदवारले परीक्षामा
प्राप्त गरेको अधीनमा नियम १५ बमोजिमको कार्य अनुभव बापतको अङ्क जोडी योग्यताक्रम कायम गरिनेछ ।
(४) उपनियम (१), (२) र (३) बमोजिम योग्यताक्रम कायम गर्दा एकभन्दा बढी उम्मेदवारहरूको अङ्क बराबर हुन गएमा त्यस्ता उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यताको प्राप्ताङ्क प्रतिशतका आधारमा योग्यताक्रम कायम गरिनेछ ।
(५) छनौट समितिले यस नियम बमोजिम कायम गरेको योग्यताक्रम शिक्षा मन्त्रालय समक्ष पेश गरी सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
१६क. छात्रवृत्तिको लागि मनोनयन गर्ने: (१) नियम १६ बमोजिम योग्यताक्रम प्रकाशन भए पछि छनौट समितिले त्यस्तो योग्यताक्रममा रहेका उम्मेदवारलाई आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षा मन्त्रालयलाई प्राप्त भएको छात्रवृत्ति सिट संख्याको अधीनमा रही शिक्षण संस्थाको प्राथमिकताक्रम तोकी कम्तीमा सात दिनको म्याद दिई सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशित भए पछि सम्बन्धित उम्मेदवारले छनौट समितिले उपलब्ध गराएको फाराममा आफूले अध्ययन गर्न चाहेको विषय, शिक्षण संस्था वा मुलुकको प्राथमिकताक्रम तोक्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राथमिकताक्रम प्राप्त भए पछि छनौट समितिले नियम १६ बमोजिमको योग्यताक्रमको आधारमा छात्रवृत्तिको विषय तथा स्वदेशको हकमा सम्बन्धित शिक्षण संस्था र विदेशको हकमा सम्बन्धित मुलुकको नाम खुलाई मुख्य तथा वैकल्पिक उम्मेदवारहरूको सूची प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सूची प्रकाशन गर्दा सम्बन्धित उम्मेदवारले सम्पर्क राख्नु पर्ने अवधि तथा दावी विरोध गर्न चाहने उम्मेदवारले दावी विरोध गर्न पाउने समय समेत उल्लेख गर्नु पर्नेछ ।
छैठौं संशोधनद्वारा थप ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र कसैको दावी विरोध परेमा छनौट समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी अन्तिम सूची तयार गरी उम्मेदवार मनोनयनका लागि शिक्षा मन्त्रालय समक्ष पेश गर्नेछ ।
(६) उपनियम (५) बमोजिम उम्मेदवार मनोनयन गर्न सिफारिस प्राप्त भएपछि शिक्षा मन्त्रालयले सम्बन्धित उम्मेदवारलाई छात्रवृत्तिमा मनोनयन गर्नु पर्नेछ ।
(७) उपनियम (४) बमोजिमको अवधिभित्र मुख्य उम्मेदवार सम्पर्क गर्न नआएमा वा निजले अध्ययन गर्न नचाहेमा शिक्षा मन्त्रालयले वैकल्पिक उम्मेदवारलाई योग्यताक्रमको आधारमा मनोनयन गर्नेछ ।
१७. योग्यताक्रम मान्य रहने अवधि: (१) नियम १६ बमोजिम प्रकाशन गरेको योग्यताक्रम छात्रवृत्ति उपलब्ध गराउने विश्वविद्यालय वा शैक्षिक संस्थाको एक शैक्षिक सत्रका लागि मान्य हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तपिन विदेशी सरकार, निकाय वा शैक्षिक संस्थाबाट प्राप्त छात्रवृत्तिको हकमा नियम १४ को उपनियम (२) बमोजिमको परीक्षाको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म मान्य रहनेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तपिन शिक्षा मन्त्रालयबाट सम्वत् २०७१ सालमा सञ्चालन गरिएको परीक्षाबाट तयार भएको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म मान्य रहनेछ ।
तर त्यस्तो योग्यताक्रमको सूची कुनै शिक्षण संस्थाको एक शैक्षिक सत्रभन्दा बढी अवधिको लागि मान्य रहने छैन ।
१८. ...................
१९. ................
२०. विभागीय प्रतियोगिताद्वारा उम्मेदवार छनौट गर्ने आधार र कार्यविधि: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको मन्त्रालय वा निकायले विभागीय प्रतियोगिताद्वारा उम्मेदवारको छनौट गर्ने आधार र कार्यविधि प्रचलित कानून बमोजिम हुनेछ ।
२१. कबुलियत गर्नु पर्ने: (१) छात्रवृत्तिमा छनौट भई अध्ययन वा तालीममा जानु अघि त्यस्तो व्यक्तिले अनुसूची-१ बमोजिमको ढाँचामा कबुलियत गरी शिक्षा मन्त्रालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कबुलियत गर्दा सम्बन्धित व्यक्तिले नेपाल मेडिकल बोर्डमा दर्ता भएको चिकित्सकद्वारा प्रमाणित गरिएको निरोगताको सक्कल प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
२२. विषय परिवर्तन गर्न नदिइने: छात्रवृत्तिमा छनौट भई अध्ययन वा तालीम प्राप्त गरिरहेको व्यक्तिलाई अध्ययन वा तालीमको निमित्त पठाइएको विषय परिवर्तन गर्न दिइने छैन ।
तर कुनै व्यक्तिले सम्बन्धित सरकार वा शिक्षण संस्थाको सिफारिस सहित त्यसरी अध्ययन गरेको वा तालीम लिएको विषय परिवर्तन गर्नु पर्ने स्पष्ट कारण देखाई निवेदन दिएमा र सो विषय परिवर्तन गर्न मनासिब देखिएमा आयोगको सहमति लिई शिक्षा मन्त्रालयले विषय परिवर्तनको स्वीकृति दिन सक्नेछ ।
२२क. छात्रवृत्तिमा पुनः मनोनयन गर्न सकिने: यस नियमावली बमोजिम छात्रवृत्तिका लागि छनौट भएको व्यक्तिलाई कुनै स्वदेशी वा विदेशी शैक्षिक संस्थामा मनोनयन गरिएकोमा सो संस्थाबाट कन्फर्मेसन प्राप्त हुन नआएमा निजलाई यस नियमावली बमोजिम पुनः छात्रवृत्तिमा मनोनयन गर्न सकिनेछ ।
२३. छात्रवृत्तिको समयावधि थप गर्न सक्ने: छात्रवृत्तिमा अध्ययन वा तालीमको निमित्त पठाइएको विषय कुनै कारणले पूर्व निर्धारित अवधिभित्र सम्पन्न हुन नसक्ने कारण देखाई म्याद थपको निमित्त कुनै व्यक्तिले आफूले अध्ययन वा तालीम गरेको संस्थाको सिफारिस साथ शिक्षा
तेस्रो संशोधनद्वारा थप ।
मन्त्रालय समक्ष निवेदन दिएमा सो मन्त्रालयले म्याद थपको निमित्त छात्रवृत्ति उपलब्ध हुने नहुने कुराको विचार गरी नेपाल सरकारलाई कुनै आर्थिक व्ययभार नपर्ने र भविष्यमा प्राप्त हुने छात्रवृत्तिलाई असर नपर्ने भए अध्ययन वा तालीमको म्याद थप गर्ने स्वीकृति दिन सक्नेछ ।
२४. प्रतिवेदन पेश गर्नु पर्ने: छात्रवृत्ति वा तालीममा जाने व्यक्तिले ऐनको दफा ४ को उपदफा (१) बमोजिम अनुसूची-३ बमोजिमको ढाँचामा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
२५. विगो निर्धारण समिति: (१) छात्रवृत्ति सम्बन्धी विगो निर्धारण गरी नेपाल सरकार समक्ष सिफारिस गर्नको लागि देहायका सदस्यहरु रहेको एक छात्रवृत्ति विगो निर्धारण समिति रहने छ:-
(क) शिक्षा मन्त्रालयले तोकेको सो मन्त्रालयको सह-सचिव - अध्यक्ष (ख) प्रमुख, केन्द्रीय तहसील कार्यालय - सदस्य (ग) प्रतिनिधि, अर्थ मन्त्रालय - सदस्य (घ) उपसचिव (ऐन, नियम परामर्श शाखा), शिक्षा मन्त्रालय - सदस्य (ङ) उप-सचिव, (छात्रवृत्ति शाखा), शिक्षा मन्त्रालय - सदस्य-सचिव
(२) विगो निर्धारण समितिले उपनियम (१) बमोजिम विगो सिफारिस गर्दा ऐनको दफा ७ को अधीनमा रही गर्नु पर्नेछ ।
(३) छात्रवृत्ति विगो निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
२६. सरकारी बाँकी सरह असुल गरिने: ऐनको दफा ७ बमोजिम नेपाल सरकारले निर्धारण गरेको विगो सम्बन्धित व्यक्तिले छ महिनाभित्र शिक्षा मन्त्रालयमा बुझाउनु पर्नेछ । सो म्यादभित्र कुनै व्यक्तिले सो नबुझाएमा त्यस्तो विगो नेपाल सरकारको बा'की सरह असुल गरिनेछ ।
२६क. दरखास्त दिन अयोग्य हुने: कुनै व्यक्तिले झुट्टा विवरण पेश गरी दरखास्त दिएको पाइएमा निजलाई दुई वर्षसम्म छात्रवृत्तिको लागि $\text{}^६$ ............ दरखास्त दिन अयोग्य हुने गरी सूचीकृत गरिनेछ ।
२७. पुनः छात्रवृत्तिमा छनौट नगर्ने: (१) छात्रवृत्तिमा छनौट भएको कुनै व्यक्ति छात्रवृत्तिमा नगएमा वा त्यस्तो व्यक्तिले ऐन वा यस नियमावली विपरीतको अन्य कार्य गरेमा निजलाई ऐन बमोजिम सजाय गरिनेछ ।
$\text{}^२$(१क) शिक्षा मन्त्रालयले छात्रवृत्तिमा नजाने वा ऐन बमोजिम सजाय पाएको व्यक्तिको विवरण अभिलेख गराई राख्नेछ ।
(२) उपनियम (१) बमोजिम सजाय पाएको व्यक्तिलाई पुनः अर्को छात्रवृत्तिमा छनौट गरिने छैन ।
२७क. स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिनु पर्ने: (१) विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने नेपाली नागरिकले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको शुल्क $\text{}^٥$ र शिक्षा मन्त्रालयले तोके बमोजिमका कागजात संलग्न गरी स्वीकृतिपत्रको लागि अनुसूची-४ बमोजिमको ढाँचामा शिक्षा मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
$\text{}^٥$(१क) शिक्षा मन्त्रालयले उपनियम (१) बमोजिम स्वीकृतिपत्रको लागि दिइने निवेदन विद्युतीय माध्यमबाट समेत लिने व्यवस्था मिलाउन सक्नेछ ।
(२) $\text{}^*$ उपनियम (१) वा (१क) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकको व्यहोरा मनासिब देखिएमा शिक्षा मन्त्रालयले निवेदकलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानको लागि अनुसूची-५ बमोजिमको ढाँचामा स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिनेछ ।
$\text{}^१$ पाँचौँ संशोधनद्वारा थप । $\text{}^६$ छैठौँ संशोधनद्वारा झिकिएको । $\text{}^२$ पहिलो संशोधनद्वारा थप । $\text{}^٥$ छैठौँ संशोधनद्वारा थप । $\text{}^*$ छैठौँ संशोधनद्वारा संशोधित ।
(३) उपनियम (१) वा (१क) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान स्वीकृतिपत्र दिन मनासिव नदेखिएमा शिक्षा मन्त्रालयले सोको कारण खुलाई निवेदकलाई जानकारी दिनु पर्नेछ ।
२७ख. विदेशी मुद्राको सटही सुविधा पाउने: (१) नियम २७क. को उपनियम (२) बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान स्वीकृतिपत्र पाएको व्यक्तिले त्यस्तो अध्ययनको लागि विदेशी मुद्राको सटही सुविधा लिन चाहेमा अनुसूची-६ बमोजिमको ढाँचामा शिक्षा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकको व्यहोरा मनासिव देखिएमा शिक्षा मन्त्रालयले निवेदकलाई विदेशी मुद्राको सटही सुविधाको लागि अनुसूची-७ बमोजिमको ढाँचामा सम्बन्धित निकायमा सिफारिस गर्नेछ ।
२७ग. स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिएकै कारण उपाधिले मान्यता नपाउने: नियम २७क. बमोजिम कुनै व्यक्तिलाई विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न स्वीकृतिपत्र दिएको कारणबाट त्यस्तो संस्थाबाट प्राप्त उपाधिलाई मान्यता दिन वा त्यस्तो उपाधिको स्तर निर्धारण गर्न नेपाल सरकार वा सम्बद्ध निकाय बाध्य हुने छैन ।
२७घ. कागजात धुल्याउन सक्ने: (१) शिक्षा मन्त्रालयले छात्रवृत्तिको लागि प्राप्त दरखास्त र सो साथ संलग्न कागजात तथा यो नियम प्रारम्भ हुनु अघि सञ्चालन गरिएका छात्रवृत्ति सम्बन्धी परीक्षासँग सम्बन्धित कागजातहरू योग्यताक्रम कायम भएको एक वर्षपछि प्रचलित कानून बमोजिम धुल्याउन सक्नेछ ।
(२) शिक्षा मन्त्रालयले स्वीकृतिपत्रको लागि नियम २७क. को उपनियम (१) बमोजिम निवेदकले पेश गरेका कागजात दुई वर्षपछि प्रचलित कानून बमोजिम धुल्याउन सक्नेछ ।
तर स्वीकृतिपत्रको विद्युतीय अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
२८. बैठक भत्ता: छात्रवृत्ति निर्धारण समिति, छात्रवृत्ति छनौट समिति, बिगो निर्धारण समिति तथा सो अन्तर्गत बनेको उपसमितिका सदस्यले त्यस्तो समिति वा उप-समितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयले तोकिदिए बमोजिमका बैठक भत्ता पाउन सक्नेछ ।
२९. निर्देशिका बनाई लागू गर्न सक्ने: यस नियमावली बमोजिम कार्य गर्नको लागि शिक्षा मन्त्रालयले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
३०. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने: शिक्षा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।
३१. खारेजी र बचाउ: (१) छात्रवृत्ति नियमावली, २०२९ खारेज गरिएको छ ।
(२) छात्रवृत्ति नियमावली, २०२९ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।
द्रष्टव्य: (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरु:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) तेस्रो संशोधनद्वारा रुपान्तर भएका शब्दहरुः- (क) “शिक्षा तथा खेलकूद” भन्ने शब्दहरुको सट्टा “शिक्षा” (ख) “सुरक्षित” शब्दको सट्टा “आरक्षित” । (३) छैठौं संशोधनद्वारा रुपान्तर भएको शब्दहरु:- ”अपाङ्ग” शब्दको सट्टा “अपाङ्गता भएका व्यक्ति” ।
*अनुसूची-१ (नियम २१ को उपनियम (१) सँग सम्बन्धित) कबुलियतनामा
श्री ............................. को नाति/नातिनी श्री ............................. को छोरा/छोरी जिल्ला..................................गा.वि.स./न.पा..........................वडा नं ................... मा स्थायी बसोबास भएको मिति ......................... मा जन्मेको म ............................ नेपाल सरकार, शिक्षा मन्त्रालय/.............बाट..........................................विषयमा अध्ययन/तालिमका लागि .............................. संस्था/देशमा नि:शुल्क/आंशिक/शुल्क छात्रवृत्तिमा छनोट भएकोले सो अध्ययन/तालिम पूरा हुनासाथ छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ तथा यस नियमावली बमोजिम गर्नु पर्ने सम्पूर्ण काम गर्नेछु । सो बमोजिम नगरे मैले छात्रवृत्ति वापत पाएको आर्थिक सुविधा, विदेशमा छात्रवृत्ति पाई अध्ययन/तालिममा जाँदा नेपाल सरकार वा विदेशी सरकार वा कुनै संस्थाबाट प्रदान गरिएको रकम र अध्ययन/तालिममा जाँदा आउँदा लागेको यातायात खर्च लगायत मैले प्राप्त गरेको अन्य खर्च बापतको रकम समेत बुझाउनेछु । सो रकम मैले नबुझाएमा मेरो घर घरानाबाट सरकारी बाँकी सरि असुल गरेमा मेरो मञ्जुरी भएकोले सो बमोजिम कबुलियतनामा गरी माफत नेपाल सरकार शिक्षा मन्त्रालयमा बुझाएँ ।
ल्याप्चे सहीछाप
दायाँ बायाँ छात्रवृत्ति पाउनेको,-
नोटः १. अध्ययन समाप्त भए पश्चात तोकिएको समयभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ । २. अध्ययन समाप्त भए पश्चात तोकिएको अवधिसम्म अनिवार्य काम गर्नु पर्नेछ ।
“अनुसूची - १क
..........................
८ तेस्रो संशोधनद्वारा झिकिएको।
अनुसूची-१ख.
(नियम १३क. को उपनियम (३) सँग सम्बन्धित)
श्री शिक्षा मन्त्रालय केशरमहल, काठमाडौँ ।
विषय:- विपन्नको सिफारिस गरिएको ।
उपरोक्त सम्बन्धमा श्री ......................... को नाति/नातिनी श्री .......................... को छोरा/छोरी ............ जिल्ला ................. गा.वि.स./न.पा./उ.म.न.पा/म.न.पा. .............वडा बस्ने वर्ष ...... को श्री/सुश्री/श्रीमती .................... मिति .......... देखि ........ सम्म .............. सामुदायिक विद्यालयमा अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेका विद्यार्थी हुन् । निज ......................................... कारणले विपन्न भएको देखिंदा निजलाई विपन्न व्यक्तिको लागि आरक्षित गरिएको छात्रवृत्तिको स्थानमा उम्मेदवार हुन पाउने व्यवस्था गरिदिनु हुन सिफारिस गरिएको छ ।
माथि लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सुुला बुझाउँला ।
सिफारिस गर्नेको,-
कार्यालयको छाप: सही: नाम: पद: कार्यालय: मिति:
४ अनुसूची-२
.......................
४ छैटौँ संशोधनद्वारा झिकिएको।
अनुसूची-३ (नियम २४ सँग सम्बन्धित)
प्रतिवेदन
श्री .......................... मन्त्रालय, ..........................., काठमाडौं ।
विषय: प्रतिवेदन पेश गरेको ।
नेपाल सरकार, ................................... मन्त्रालयबाट छात्रवृत्तिमा छनौट भई ................................. सरकार वा संस्थाको छात्रवृत्तिमा वि.सं./सन् ............... मा .................... विषयमा अध्ययन/तालिम गर्न गएकोमा सो अध्ययन/तालिम सम्पन्न गरेरकोले निम्न विवरण सहितको यो प्रतिवेदन पेश गरेको छु ।
प्रतिवेदन पेश गर्नेको, सही:- नाम:- ठेगाना:- मिति:-
उल्लेख गर्नु पर्ने विवरण
(क) अध्ययन वा तालीमको विषय:
(ख) अध्ययन वा तालीम दिएको संस्थाको नाम र ठेगाना:
(ग) अध्ययन वा तालीममा गएको देश:
(घ) हासिल गरेको शैक्षिक योग्यता वा तालीम:
(ङ) अध्ययन वा तालीम समाप्त भएको मिति:
(च) विदेशमा अध्ययन वा तालीममा गएको भए नेपाल आइपुगेको मिति:
(छ) &..................
(ज) &..................
(झ) &..................
(ञ) &..................
(ट) &..................
(ठ) अध्ययन वा तालीम अवधिभर कुनै मान, पदवी र पुरस्कार प्राप्त गरेको भए सो को विवरण (प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने):
(ड) अध्ययन अवधिमा विषय परिवर्तन गरे नगरेको (यदि गरेको भए पूरा विवरण उल्लेख गर्ने):
& छैठौं संशोधनद्वारा झिकिएको।
#अनुसूची-४ (नियम २७क. को उपनियम (१) सँग सम्बन्धित)
श्री शिक्षा मन्त्रालय, केशरमहल, काठमाडौं ।
विषय:- विदेशमा उच्च शिक्षा अध्ययन गर्न स्वीकृतिपत्र पाउँ।
मलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्नको लागि त्यस मन्त्रालयको स्वीकृति पत्र (No Objection Letter) आवश्यक परेको हुँदा सो वापत लाग्ने शुल्क सहित देहायका विवरणहरु खुलाई निवेदन गरेको छु :-
१. निवेदकको नाम (In English Block Letter) :
२. ठेगाना (In English Block Letter):
३. बाबुको/आमाको नाम (In English Block Letter):
४. अध्ययन गर्न स्वीकृतिपत्र मागेको विषय (In English Block Letter):
५. अध्ययन गर्ने तह (Language/Training) (In English Block Letter) :
६. अध्ययन गर्ने संस्थाको नाम (In English Block Letter) :
७. अध्ययन गर्न जाने देशको नाम (In English Block Letter) :
८. सटही सुविधा लिन चाहेको बैंक वा वित्तीय संस्थाको नाम र ठेगाना (In English Block Letter):
अभिभावकले निवेदन दिएको भए,- निवेदकको,-
सही: सही:
नाम, थर: नाम, थर:
ठेगाना: ठेगाना:
मिति: मिति:
संलग्न कागजातहरू:
१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । (नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम फरक भएमा जिल्ला प्रशासन कार्यालयबाट निज एउटै व्यक्ति भएको व्यहोरा प्रमाणित गरी दिएको कागजात पेश गर्नु पर्नेछ ।
२. जुन तह अध्ययन गर्न जाने हो सो भन्दा एक तह मुनिको ट्रान्सक्रिप्ट वा प्रमाणपत्रको प्रतिलिपि । *तर मूल प्रमाणपत्र प्राप्त नहुँदासम्म अस्थायी स्वीकृतिपत्र (प्रोभिजनल नो अब्जेक्सन लेटर) प्रदान गर्न सकिने छ । मूल प्रमाणपत्र प्राप्त भएपछि स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) प्रदान गर्न सकिने छ ।
नोट: प्रत्येक विषय,तह वा अध्ययन संस्थाका लागि छुट्टाछुट्टै फाराम भरी राजश्व समेत बुझाएको प्रमाण पेश गर्नु पर्नेछ ।
=अनुसूची-५
(नियम २७क. को उपनियम (२) सँग सम्बन्धित)
भाग १ : No Objection Letter
Government of Nepal Ministry of Education, Science and Technology ........................... website : Keshar Mahal, Kantipath Kathmandu, Nepal Date: Ref. No.:
Subject : No Objection Letter
The Ministry of Education, Science and Technology has no objection for the following person who wish to study at his/her own expenses in the following institute with a precondition that in no way this affects the number of scholarship seats made available by the Government of .....................each year to Nepal. This letter is also being issued upon his/her request to enable him/her to apply and get foreign currency exchange facility for the study of purpose from the ............................Bank/Financial Institution as per the circular issued by Nepal Rastra Bank.
Name :- Address :- Father / Mother's Name :- Subject :- Level (Language / Training) :- Name of Institution :- Country :-
भाग २ : Provisional No Objection Letter
Government of Nepal Ministry of Education, Science and Technology ........................... website : Keshar Mahal, Kantipath Kathmandu, Nepal Date:
Ref. No.:
Subject : Provisional No Objection Letter
The Ministry of Education, Science and Technology has no objection for the following person who wish to study at his/her own expenses in the following institute with a pre-condition that in no way this affects the number of scholarship seats made available by the Government of .....................each year to Nepal.
Name :-
Address :-
Father / Mother's Name :-
Subject :-
Level (Language / Training) :-
Name of Institution :-
Country :- ...............................................................
Note: This provisional No Objection Letter will be valid until the date the concerned examination board is supposed to issue the final certificate/transcript.
#अनुसूची-६
(नियम २७ख. को उपनियम (१) सँग सम्बन्धित)
श्री शिक्षा मन्त्रालय, केशरमहल, काठमाडौं ।
विषय:- विदेशी मुद्रा सटहीका लागि सिफारिस पाऊँ ।
मलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानको लागि त्यस मन्त्रालयबाट विदेशी मुद्रा सटही सुविधाका लागि सिफारिस आवश्यक परेको हुँदा सो वापत लाग्ने शुल्क सहित देहायका विवरणहरु खुलाई निवेदन गरेको छु :-
१. निवेदकको नाम (In English Block Letter): २. ठेगाना (In English Block Letter): ३. बाबुको/आमाको नाम (In English Block Letter): ४. अध्ययन गर्ने स्वीकृतिपत्र मागेको विषय (In English Block Letter): ५. अध्ययन गर्ने तह (Language/Training) (In English Block Letter): ६. अध्ययन गर्ने संस्थाको नाम (In English Block Letter): ७. अध्ययन गर्न जाने देशको (In English Block Letter): ८. सटही सुविधा लिन चाहेको बैंक वा वित्तीय संस्थाको नाम र ठेगाना (In English Block Letter):
अभिभावकले निवेदन दिएको भए,- निवेदकको,-
सही: सही:
नाम, थर: नाम, थर:
ठेगाना: ठेगाना:
मिति: मिति:
संलग्न कागजातहरू:
१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम फरक भएमा जिल्ला प्रशासन कार्यालयबाट निज एउटै व्यक्ति भएको व्यहोरा प्रमाणित गरिदिएको कागजात पेश गर्नु पर्नेछ)
२. जुन तह अध्ययन गर्न जाने हो सो भन्दा एक तह मुनिको ट्रान्सक्रिप्ट वा प्रमाणपत्रको प्रतिलिपि ।
नोट: प्रत्येक विषय, तह वा अध्ययन संस्थाका लागि छुट्टाछुट्टै फाराम भरी राजश्व समेत बुझाएको प्रमाण पेश गर्नु पर्नेछ ।
#अनुसूची-७
(नियम २७ख. को उपनियम (२) सँग सम्बन्धित)
Government of Nepal Ministry of Education *............ &.......................
website: Ref. No.: Keshar Mahal, Kantipath Kathmandu, Nepal. Date:
Subject: Foreign Currency Exchange
The Ministry of Education *..................... has no objection for the following person who wish to study at his/her own expenses in the following institute with a precondition that in no way this affects the number of scholarship seats made available by the government of ..................... each year to Nepal.
This letter is also being issued upon his/her request to enable him/her to apply and get foreign currency exchange facility for the study of purpose from the ............................ Bank/Financial Institution as per the circular issued by Nepal Rastra Bank.
Name :-
Address :-
Father / Mother's Name :-
Subject :-
Level (Language / Training):-
Name of Institution:-
Country :-
...................................
C.C. to:
Nepal Rastra Bank: For the purpose of providing necessary foreign exchange facility.
....................*
सही:- सम्पर्क ठेगाना:- टेलिफोन नम्बरः मिति:-