जलयात्रा नियमावली, २०६३
नेपाल राजपत्रमा प्रकाशित मिति २०६३।०५।१९
संशोधन: १. जलयात्रा (पहिलो संशोधन) नियमावली, २०६४ २०६५।०५।३० २. जलयात्रा (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।०१।३०
पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “जलयात्रा नियमावली, २०६३” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ। (ख) “जलयात्रा (र्याफ्टिङ्ग)” भन्नाले कायक, क्याटाराफ्ट, डुङ्गा, नाउ वा अन्य यस्तै प्रकृतिका नदीमा तैरिने जलयात्राका साधन प्रयोग गरी मनोरञ्जन, प्राकृतिक वा सांस्कृतिक दृश्यावलोकनको लागि नदीमा गरिने यात्रा सम्झनु पर्छ। (ग) “इजाजतपत्र” भन्नाले जलयात्राको व्यवसाय गर्न नियम ५ बमोजिम दिइने इजाजतपत्र सम्झनु पर्छ। (घ) “मन्त्रालय” भन्नाले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ। (ङ) “जलयात्रा व्यवसायी” भन्नाले जलयात्रा व्यवसाय गर्नको लागि प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी वा फर्म सम्झनु पर्छ।
(च) “जलयात्रा टोली” भन्नाले एक वा एकभन्दा बढी सदस्य भएको जलयात्रा गर्ने टोली सम्झनु पर्छ।
(छ) “रिवर गाइड” भन्नाले जलयात्रा टोलीलाई जलयात्रामा सहयोग गर्ने कामको लागि नियम १२ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ।
(ज) “अनुमतिपत्र” भन्नाले रिवर गाइडको काम गर्न नियम १२ बमोजिम दिइने अनुमतिपत्र सम्झनु पर्छ।
परिच्छेद-२ इजाजतपत्र सम्बन्धी व्यवस्था
३. इजाजतपत्र पत्र नलिई जलयात्रा व्यवसाय गर्न नहुने : यस नियमावली बमोजिम इजाजतपत्र नलिई कसैले पनि जलयात्रा व्यवसाय गर्न पाउँदैन।
४. इजाजतपत्रको लागि दरखास्त दिनु पर्ने : जलयात्राको व्यवसाय सञ्चालन गर्न चाहने नियम ६ बमोजिमका शर्त पूरा गरेको जलयात्रा व्यवसायीले इजाजतपत्रको लागि अनुसूची-१ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ।
५. इजाजतपत्र दिने : (१) नियम ४ बमोजिम प्राप्त भएको दरखास्त जाँचबुझ गर्दा दरखास्त दिने जलयात्रा व्यवसायीले देहायका कुराहरु पूरा गरेको देखेमा मन्त्रालयले त्यस्तो जलयात्रा व्यवसायीसँग पाँच हजार रुपैयाँ दस्तुर लिई जलयात्रा व्यवसाय सञ्चालन गर्न अनुसूची-२ बमोजिमको ढाँचामा इजाजतपत्र दिनेछ :-
(क) जलयात्रा व्यवसायीका नाममा कम्तीमा दुईवटा जलयात्राका साधन भएको,
(ख) जलयात्रा व्यवसाय सञ्चालन गर्न मन्त्रालयले तोके बमोजिमको गुणस्तरका सुरक्षात्मक उपकरण तथा सामग्री भएको,
(ग) मन्त्रालयले समय समयमा तोकि दिएको अन्य कुराहरु पूरा गरेको ।
(२) उपनियम (१) को खण्ड (ख) मा उल्लेखित सुरक्षात्मक उपकरण तथा सामग्री मन्त्रालयले तोकेको गुणस्तर बमोजिम भए वा नभएको जाँच गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रका प्रतिनिधि समेत रहने गरी पाँच सदस्यीय समिति गठन गर्नेछ।
(३) यो नियमावली प्रारम्भ हुनु अगावै नेपाल सरकारको निकायमा दर्ता भई सञ्चालन भई आएका च्यार्टरिङ्ग एजेन्सीले यो नियमावली प्रारम्भ भएको एक वर्षभित्र यस नियमावली बमोजिम इजाजतपत्र लिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र इजाजत पत्र लिन नसकेका च्यार्टरिङ्ग एजेन्सीले यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र इजाजत पत्र लिनु पर्नेछ।
६. कम्पनी वा फर्मको दर्ता तथा बैङ्क ग्यारेण्टी सम्बन्धी व्यवस्था : जलयात्रा व्यवसायीले इजाजतपत्र लिनु अघि देहाय बमोजिमका कुराहरु पूरा गरेको हुनु पर्नेछ :-
(क) कम्पनीको हकमा कम्तीमा दुई लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी र फर्मको हकमा कम्तीमा दुई लाख रुपैयाँ जायजेथा भएको फर्म दर्ता गर्नु पर्ने,
(ख) मन्त्रालयको नाममा पचास हजार रुपैयाँ बराबरको बैङ्क जमानत दाखिला गर्नु पर्ने।
७. इजाजतपत्रको अवधि र नवीकरण : (१) नियम ५ बमोजिम दिइएको इजाजतपत्रको बहाल अवधि पाँच वर्षको हुनेछ।
(२) इजाजतपत्र नवीकरण गराउन चाहने जलयात्रा व्यवसायीले इजाजतपत्रको बहाल अवधि समाप्त हुनु तीन महिना अगावै पाँच हजार रुपैयाँ मन्त्रालयमा बुझाई इजाजतपत्र नवीकरण गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधि समाप्त भएपछि इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले इजाजतपत्र नवीकरण गराउन आएमा इजाजतपत्रको बहाल अवधि समाप्त भएको मितिले पहिलो दुई महिनासम्मको लागि नवीकरण दस्तुरको पचास प्रतिशत र त्यसपछिको एक महिनासम्मको लागि शत प्रतिशत थप नवीकरण दस्तूर लिई मन्त्रालयले इजाजतपत्र नवीकरण गरी दिनेछ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र पनि जलयात्रा व्यवसायीले इजाजतपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ।
८. इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने शर्तहरु : इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले देहाय बमोजिमका शर्तहरु पालन गर्नु पर्नेछ :-
(क) जलयात्रामा जलायात्रीलाई लैजानु अघि जलयात्रामा जाने व्यक्तिको नाम, ठेगाना, मन्त्रालय वा मन्त्रालयले तोकेको निकायमा दर्ता गराउने,
(ख) जलयात्राको लागि खुला गरिएका नदी बाहेक अन्यत्र विदेशी पर्यटकलाई जलयात्रा नगराउने,
(ग) जलयात्रा व्यवसाय सञ्चालन गर्न मन्त्रालयद्वारा तोकिएका आचार संहिता पालन गर्नु पर्ने,
(घ) ऐन तथा नियमावली बमोजिम जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने अन्य शर्तहरू पालन गर्ने।
९. इजाजतपत्र रद्द गर्न सक्ने : (१) जलयात्रा व्यवसायीले यस नियमावली विपरीत जलयात्रा गराएमा मन्त्रालयले निजको इजाजतपत्र रद्द गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि मन्त्रालयले त्यस्तो जलयात्रा व्यवसायीलाई आफ्नो सफाई पेश गर्न मनासिब मौका दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम इजाजतपत्र रद्द भएको जलयात्रा व्यवसायीले इजाजतपत्र रद्द भएको मितिबाट दुई वर्षसम्म जलयात्रा सम्बन्धी व्यवसाय गर्न पाउने छैन र निजलाई नयाँ इजाजतपत्र दिइने छैन।
(४) उपनियम (१) बमोजिम इजाजतपत्र रद्द भएको कारणबाट मात्र त्यस्तो जलयात्रा व्यवसायी यस नियमावली बमोजिमको दायित्वबाट मुक्त हुने छैन।
१०. सुरक्षा सम्बन्धी व्यवस्था : (१) जलयात्रा व्यवसायीले जलयात्रामा जाने पर्यटक तथा नेपाली कामदारलाई जीवन सुरक्षा ज्याकेट (लाइफ ज्याकेट), हेल्मेट जस्ता सुरक्षात्मक सामग्रीहरू उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सुरक्षात्मक सामग्री व्यवस्था नगरेको कारणबाट जलयात्रामा जाने व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेमा वा निजको मृत्यु भएमा सम्बन्धित जलयात्रा व्यवसायीले त्यस्तो व्यक्तिलाई देहायको क्षतिपूर्ति तिर्नु पर्नेछ:-
(क) चोटपटक लागेकोमा त्यस्तो चोटपटकको प्रकृति हेरी दुई लाख रुपैयाँसम्म,
(ख) मृत्यु भएमा पाँच लाख रुपैयाँसम्म।
(३) जलयात्राको सिलसिलामा कुनै दुर्घटना भएमा त्यस्तो दुर्घटनाको प्राथमिक खोज तथा उद्धार सम्बन्धी कार्य र जलयात्रा व्यवसायीको मृत्यु भएकोमा शव व्यवस्थापन सम्बन्धित जलयात्रा व्यवसायीले गर्नु पर्नेछ।
परिच्छेद-३ रिवर गाइड सम्बन्धी व्यवस्था
११. अनुमतिपत्रको लागि दरखास्त दिनु पर्ने : रिवर गाइडको काम गर्न चाहने व्यक्तिले अनुमतिपत्रको लागि अनुसूची-३ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ।
१२. अनुमतिपत्र दिने : नियम ११ बमोजिम प्राप्त भएको दरखास्त जाँचबुझ गर्दा दरखास्त दिने व्यक्ति अनुमतिपत्र दिनको लागि योग्य देखिएमा मन्त्रालयले त्यस्तो व्यक्तिसँग पाँच सय रुपैयाँ दस्तुर लिई अनुसूची-४ बमोजिमको ढाँचामा रिवर गाइडको अनुमतिपत्र दिनेछ।
१३. अयोग्यता : देहायको व्यक्ति रिवर गाइडको अनुमतिपत्रको लागि योग्य हुने छैन :- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको, (ख) कुनै मानसिक वा सरुवा रोग लागेको, (ग) नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट रिवर गाइडको तालीम नलिएको, (घ) रिवर गाइडको अनुमतिपत्र खारेज भई तीन वर्षको अवधि भुक्तान भई नसकेको।
१४. विदेशी तालीमको मान्यता : (१) विदेशबाट प्राप्त गरेको रिवर गाइडको तालीमलाई मान्यता दिने सम्बन्धमा सिफारिस गर्ने प्रयोजनको लागि मन्त्रालयले रिवर गाइड सम्बन्धी तालीम दिने नेपाल सरकारबाट मान्यता प्राप्त वा प्रचलित कानून बमोजिम इजाजत वा अनुमतिपत्र प्राप्त संस्था समेतको प्रतिनिधित्व हुने गरी बढीमा तीन सदस्य रहेको एक समिति गठन गर्नेछ।
(२) उपनियम (१) बमोजिमको समितिले आवश्यक जाँचबुझ गरी त्यस्तो तालीमलाई मान्यता दिन सकिने वा नसकिने व्यहोराको सिफारिस मन्त्रालयमा पेश गर्नेछ र सो समितिले मान्यता दिन सकिने व्यहोरा सिफारिस गरेमा मन्त्रालयले समकक्षता निर्धारण गरी त्यस्तो रिवर गाइडको तालीमलाई मान्यता दिन सक्नेछ।
(३) उपनियम (१) बमोजिमको समितिले उपनियम (२) बमोजिम सिफारिस गर्दा विचार गर्नु पर्ने कुरा मन्त्रालयले समय समयमा तोकी सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ।
१५. अनुमतिपत्रको अवधि र नवीकरण : (१) अनुमतिपत्रको बहाल अवधि पाँच वर्षको हुनेछ।
(२) अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुन तीन महिना अगावै दुई सय रुपैयाँ मन्त्रालयमा बुझाई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधि समाप्त भएपछि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र नवीकरण गर्न आएमा अनुमतिपत्रको बहाल अवधि समाप्त भएको मितिले पहिलो दुई महिनासम्मको लागि नवीकरण दस्तुरको पच्चीस प्रतिशत, छ महिनासम्मको लागि पचास प्रतिशत, नौ महिनासम्मको लागि पचहत्तर प्रतिशत र एक वर्षसम्मको लागि शत प्रतिशत थप दस्तुर लिई मन्त्रालयले अनुमतिपत्र नवीकरण गरी दिनेछ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र पनि अनुमतिपत्र नवीकरण नगरेमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ।
१६. रिभर गाइडले गर्ने नहुने कामहरु : रिभर गाइडले देहायका काम गर्नु हुँदैन :-
(क) आफूले जलयात्रा गराएको पर्यटकसँग कुनै किसिमको मालसामान खरिद गर्न वा सो कामसँग सम्बन्धित व्यक्तिसँग नगद वा अरु कुनै चीज वस्तु माग्न वा लिन,
(ख) जलयात्रा व्यवसायीले उपलब्ध गराएका उपकरण बेचबिखन गर्न,
(ग) जलयात्रा व्यवसायीको निर्देशन विपरीत कार्य गर्न,
(घ) कुनै पनि किसिमले खराब आचरण प्रदर्शन गर्न,
(ङ) आफ्नो अनुमतिपत्र अरुलाई हस्तान्तरण गरी रिभर गाइडको काम गर्न लगाउन,
(च) मन्त्रालयबाट जारी गरिएको रिभर गाइडको पालना गर्नु पर्ने आचार संहिता विपरीत कार्य गर्न।
१७. रिभर गाइडको काम, कर्तव्य र अधिकार : रिभर गाइडको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) जलयात्रीहरुलाई जलयात्रा गराउन सकिने नदीमा जलयात्रा गराउने,
(ख) जलयात्राको लागि नेपाल सरकारबाट खुला गरिएका नदीमा मात्र जलयात्रा टोलीलाई जलयात्रा गराउने,
(ग) जलयात्रा टोलीसँग अनुशासित र मर्यादित ढंगले सम्बन्ध राखी काम गर्नु पर्ने,
(घ) जलयात्रा व्यवसायीबाट जलयात्राको लागि प्राप्त मालसामानहरु हिनमिना हुन नदिने,
(ङ) जलयात्रा टोलीलाई सुरक्षित र सरल तरिकाले जलयात्रा गराउन सहयोग गर्ने,
(च) जलयात्रा टोलीलाई कुनै विपत परेमा उद्धार गर्ने र जलयात्रीको जिउधन संरक्षण गर्ने,
(छ) जलयात्राको सिलसिलामा सरसामान प्रयोग गर्दा निस्केको फोहरमैला यस नियमावली बमोजिम व्यवस्थापन गर्ने गराउने,
(ज) मन्त्रालय र सम्बन्धित जलयात्रा व्यवसायीले दिएको निर्देशन बमोजिम काम गर्ने,
(झ) जलयात्राको सिलसिलामा कुनै दैवी प्रकोप वा विपत आइपरेमा जलयात्रीको जिउ धन संरक्षण गर्न आवश्यक अन्य कुनै पनि मनासिव काम गर्ने वा गराउने।
१८. अनुमतिपत्र खारेज गर्न सकिने : (१) देहायका अवस्थामा मन्त्रालयले रिभर गाइडले पाएको अनुमतिपत्र खारेज गर्नेछ :-
(क) अनुमतिपत्र प्राप्त व्यक्ति नियम १३ बमोजिम अयोग्य भएमा,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले नियम १६ मा उल्लेख भए बमोजिमको कुनै काम गरेमा।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि मन्त्रालयले निजलाई कम्तीमा पन्ध्र दिनको म्याद दिई आफ्नो सफाइ पेश गर्न मौका दिनु पर्नेछ।
१९. करार गराएर मात्र काममा लगाउनु पर्ने : इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले कुनै व्यक्तिलाई जलयात्रा सम्बन्धी काममा लगाउँदा अनुसूची-५ बमोजिमको ढाँचामा करार गरी लगाउनु पर्नेछ।
२०. रिभर गाइड र कामदारलाई दिनु पर्ने सुविधा : इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले जलयात्रा टोलीसाँग जाने रिभर गाइड वा कामदारलाई निजको मासिक पारिश्रमिकको अतिरिक्त जलयात्रा अवधिभरको लागि कम्तीमा अनुसूची-६ बमोजिमको सुविधा उपलब्ध गराउनु पर्नेछ।
२१. व्यक्तिगत दुर्घटना बीमा र क्षतिपूर्ति सम्बन्धी व्यवस्था : (१) इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले जलयात्रा टोलीसाँग जाने रिभर गाइड वा कामदारको जलयात्रामा जानु अघि नेपालमा बीमा व्यवसायको कारोबार गर्न पाउने इजाजतपत्र प्राप्त बीमा कम्पनीबाट जलयात्रा अवधिभरको लागि कम्तीमा दुई लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बीमा गरिएको व्यक्तिको दुर्घटनामा परी अङ्गभङ्ग वा मृत्यु भएमा त्यस्तो व्यक्तिले बीमा कम्पनीबाट पाउनु पर्ने रकम निज वा निजले इच्छाएको कुनै व्यक्ति रहेछ भने निजलाई र त्यस्तो व्यक्ति पनि नभए निजको नजिकको हकवालालाई दिलाई दिने जिम्मेवारी सम्बन्धित जलयात्रा व्यवसायीको हुनेछ।
(३) उपनियम (१) बमोजिम बीमा गराउनु पर्ने व्यक्तिको बीमा नगराई जलयात्रा सम्बन्धी काममा लगाइएको अवस्थामा कुनै दुर्घटना परी अङ्गभङ्ग वा मृत्यु भएमा सो बापत उपनियम (१) बमोजिमको बीमाको रकम बराबरको क्षतिपूर्ति सम्बन्धित जलयात्रा व्यवसायीले सम्बन्धित व्यक्तिलाई र निजको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति र त्यस्तो व्यक्ति नभएमा निजको नजिकको हकवालालाई उपलब्ध गराउनु पर्नेछ।
(४) उपनियम (२) बमोजिम बीमा नगराई रिभर गाइड वा अन्य कामदारलाई काममा लगाएमा मन्त्रालयले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
(५) जलयात्रा टोलीसाँग जाने कामदारलाई जलयात्राको क्रममा सामान्य चोटपटक लागेमा जलयात्रा व्यवसायीले निजको खर्चमा त्यस्तो व्यक्तिको आवश्यक औषधोपचार गरिदिनु पर्नेछ।
२२. रकम असुल गराई दिन सक्ने : (१) कुनै रिभर गाइड वा कामदारले इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीसाँग आफूले गरेको कामको पारिश्रमिक लिन बाँकी रहेकाले भराई पाउन
मन्त्रालय समक्ष दिएको दरखास्त जाँचबुझ गर्दा सो व्यहोरा मनासिब देखिएमा मन्त्रालयले त्यस्तो जलयात्रा व्यवसायीले मन्त्रालयको नाममा राखेको बैङ्क जमानत रकमबाट कट्टा हुने गरी सम्बन्धित दरखास्तवालालाई रकम भुक्तानी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम भुक्तानी दिएको रकम सम्बन्धित जलयात्रा व्यवसायीले पैंतीस दिनभित्र पुनः बैङ्क जमानतको रुपमा दाखिला गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको रकम भुक्तानी दिन सम्बन्धित जलयात्रा व्यवसायीले बैङ्क जमानत बापत राखेको रकम पर्याप्त नभएमा त्यस्तो रकम दाखिला गर्न मन्त्रालयले सम्बन्धित जलयात्रा व्यवसायीलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी निर्देशन दिएमा सो बमोजिम रकम दाखिला गर्नु सम्बन्धित जलयात्रा व्यवसायीको कर्तव्य हुनेछ।
(४) उपनियम (२) वा (३) बमोजिमको बैङ्क जमानत वा रकम दाखिला नगर्ने जलयात्रा व्यवसायीको इजाजतपत्र मन्त्रालयले रद्द गर्न सक्नेछ।
परिच्छेद-४ विविध
२३. वातावरणीय सरसफाई तथा फोहरमैला व्यवस्थापन सम्बन्धी व्यवस्था : (१) जलयात्रामा प्रयोग भएका वस्तु वा त्यसबाट निस्केको फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनको लागि फोहरमैलालाई देहाय बमोजिम वर्गीकरण गरिएको छ :-
(क) नष्ट गर्न सकिने फोहरमैला (ख) पुनः प्रशोधन गर्न सकिने फोहरमैला
(२) उपनियम (१) बमोजिमको वर्गीकरणमा पर्ने वस्तुहरु अनुसूची-७ मा उल्लेख भए बमोजिम हुनेछन्।
(३) इजाजत प्राप्त जलयात्रा व्यवसायीले उपनियम (१) को खण्ड (क) बमोजिमका फोहरमैला स्थानीय गाउँ विकास समिति वा नगरपालिकाको पदाधिकारी वा सो समिति वा नगरपालिका वा अन्तर्गतको वडा समितिको पदाधिकारीको रोहवरमा र त्यस्तो पदाधिकारी उपस्थित हुन नसकेमा त्यस्तो जलयात्रा दलको कम्तीमा दुईजना सदस्य र रिवर गाइडको उपस्थितिमा पानीघाट वा सार्वजनिक महत्त्वको वा संधिसंपन्न पर्ने ठाउँमा पुर्याई त्यस्तो वस्तुको प्रकृति अनुसार जलाउने, नष्ट गर्ने वा खाडल खनी पुर्ने व्यवस्था गर्नु पर्नेछ।
(४) इजाजत प्राप्त जलयात्रा व्यवसायीले उपनियम (१) को खण्ड (ख) बमोजिमका फोहरमैला स्थानीय नगरपालिका वा गाउँ विकास समिति वा सो नगरपालिका वा समिति अन्तर्गतको वडा समितिले बुझी व्यवस्थापन गर्न चाहेमा त्यस्तो नगरपालिका, गाउँ विकास समिति वा वडा समितिलाई र त्यस्तो नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिले बुझी लिन नचाहेमा काठमाडौं उपत्यका मन्त्रालयले तोकेको निकाय वा संस्थालाई बुझाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम फोहरमैला बुझी व्यवस्थापन गर्ने नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिले त्यस्तो जलयात्रा व्यवसायीसँग पाँच हजार रुपैयाँसम्म शुल्क लिन सक्नेछ।
(६) जलयात्रा व्यवसायीले यस नियमावली बमोजिम फोहरमैला व्यवस्थापन नगरी स्थानीय नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिले गर्ने वा गराउने व्यवस्था गरेमा सो वापत व्यवस्थापन गर्ने वस्तुको प्रकृति हेरी पाँच हजार रुपैयाँसम्म सम्बन्धित नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिलाई उपलब्ध गराउनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम त्यस्तो रकम उपलब्ध नगराएमा त्यस्तो व्यवसायीले मन्त्रालयमा बैङ्क ग्यारेण्टीको रुपमा राखेको रकमबाट मन्त्रालयले पाँच हजार रुपैयाँ कट्टा गरी त्यस्तो नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिलाई उपलब्ध गराई दिनेछ।
(८) उपनियम (७) बमोजिम रकम उपलब्ध गराएमा सम्बन्धित जलयात्रा व्यवसायीले बैङ्क ग्यारेण्टी बराबरको रकम पैंतीस दिनभित्र मन्त्रालयमा दाखिला गर्नु पर्नेछ।
(९) जलयात्राका लागि खुला गरिएका नदीहरुको वातावरणीय स्वच्छता तथा पर्यावरणीय पद्धतिलाई कायम राख्न मन्त्रालयले सम्बन्धित नगरपालिका, गाउँ विकास समिति तथा सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी संयुक्त प्रयासमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछ।
२४. जलयात्रा व्यवसायी मार्फत जलयात्रा गर्नु पर्ने : मन्त्रालयले अन्यथा स्वीकृति दिएकोमा बाहेक जलयात्रा गर्ने पर्यटकले यस नियमावली बमोजिम इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायी मार्फत मात्र जलयात्रा गर्नु पर्नेछ।
२५. प्रतिलिपि दिने : (१) कसैले इजाजतपत्र वा अनुमतिपत्र हराए वा नासेमा त्यसको पैंतीस दिनभित्र कारण खुलाई मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दिइएको दरखास्त जाँचबुझ गर्दा मनासिब देखिएमा मन्त्रालयले दुई सय रुपैयाँ दस्तुर लिई दरखास्तवालालाई इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिनेछ।
२६. निरीक्षण गर्न सक्ने : (१) मन्त्रालयले कुनै टोली वा अधिकारी खटाई इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीको कार्यालय वा निजको काम कारबाहीको निरीक्षण गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्न आउने टोली वा अधिकारीले माग गरे बमोजिमका विवरणहरु उपलब्ध गराउनु सम्बन्धित इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीको कर्तव्य हुनेछ।
२७. अधिकारी तोकिएको : ऐनको दफा ४५ग. बमोजिमको अधिकारी प्रयोग गर्ने अधिकारी मन्त्रालयको सचिव हुनेछ।
२८. निर्देशन दिन सक्ने : नेपाल सरकारले इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु जलयात्रा व्यवसायीको कर्तव्य हुनेछ।
२८क. निर्देशिका बनाई लागू गर्न सक्ने : जलयात्रा सम्बन्धी व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा मन्त्रालयले ऐन र यस नियमावलीको अधीनमा रही आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ।
२९. आचार संहिता लागू गर्न सक्ने : (१) मन्त्रालयले इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायी, रिभर गाइड तथा पर्यटकले जलयात्राको सिलसिलामा पालन गर्नु पर्ने आचार संहिता बनाई लागू गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम लागू गरेको आचार संहिता पालना गर्नु सम्बन्धित इजाजत प्राप्त जलयात्रा व्यवसायी, रिभर गाइड तथा पर्यटकको कर्तव्य हुनेछ।
३०. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने : इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले प्रत्येक आर्थिक वर्षमा आफूले गरेका कारोबारको विवरण सहितको अनुसूची-८ बमोजिमको ढाँचामा प्रतिवेदन तयार गरी श्रावण मसान्तभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
३१. अनुसूचीमा फेरफेर वा थपघट गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यक फेरफेर वा थपघट गर्न सक्नेछ।
३२. खारेजी : (१) पदयात्रा तथा जलयात्रा नियमावली, २०४१ खारेज गरिएकोछ।
(२) पदयात्रा तथा जलयात्रा नियमावली, २०४१ बमोजिम जलयात्रा सम्बन्धमा भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिने छन्।
अनुसूची-१ (नियम ४ सँग सम्बन्धित) इजाजतपत्रको लागि दिइने दरखास्त
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय।
विषय : इजाजतपत्र पाउँ।
जलयात्राको व्यवसाय सञ्चालन गर्न देहायको विवरण खुलाई यो दरखास्त गरेको छु ।
१. जलयात्रा व्यवसायीको,- (क) नाम :- (ख) ठेगाना :- (ग) शेयर धनी प्रोप्राइटरको नाम र विवरण:-
२. जलयात्रा व्यवसायमा लगानी गर्ने पूँजीको विवरण : (क) कम्पनीको चुक्ता पूँजी :- (ख) कम्पनीको जारी पूँजी :- (ग) कम्पनीको अधिकृत पूँजी :- (घ) कम्पनीको स्थिर पूँजी :- (ङ) फर्म भए फर्मको जायजेथा :-
३. आगामी तीन वर्षमा सेवा पुर्याउने अनुमानित पर्यटक सङ्ख्या र विदेशी मुद्रा आर्जन सम्बन्धी विवरण :-
४. प्रस्तावित जनशक्तिको विवरण :- रिभर गाइड प्रशासनिक लेखा अन्य जम्मा जना जना जना जना जना
५. जलयात्रा सञ्चालन गर्न आवश्यक हुने साधनहरूको प्रस्तावित विवरण :- सामग्री प्रस्तावित सङ्ख्या भाडामा लिने खरिद गर्ने
६. विदेशी जलयात्रा व्यवसायी वा अन्य त्यस्तै प्रकृतिका व्यवसायीसँग सम्बद्धता कायम गरिने भएमा त्यसको विवरण : (क) नाम :- टेलिफोन :- (ख) पूरा ठेगाना :- फ्याक्स :- इन्टरनेट :- इमेल :- ७. अन्य आवश्यक कुनै कुरा भए .......................................... ८. संलग्न गर्नु पर्ने कागजात : (क) कम्पनी भए कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि। (ख) फर्म भए फर्म दर्ता भएको प्रमाणपत्र। (ग) नेपाली नागरिकताको प्रतिलिपि। माथि लेखिएको व्यहोरा ठीक साँचो छ, झूठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
अनुसूची-२ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) इजाजतपत्र
फोटो श्री ............................................................ विषय : इजाजतपत्र।
तपाईंलाई जलयात्राको व्यवसाय सञ्चालन गर्न जलयात्रा नियमावली, २०६३ को नियम ५ को उपनियम (१) बमोजिम यो इजाजतपत्र दिइएको छ। इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीको,- (क) नाम :- (ख) ठेगाना :- (ग) धनी शेयर धनी प्रोपाइटरको नाम र विवरण :- (घ) इजाजतपत्रको अवधि :-
इजाजतपत्र दिने अधिकारीको,- कार्यालयको छाप सही :- नाम :- पद :- कार्यालय :- मिति :-
नवीकरणको विवरण
अनुसूची-३ (नियम ११ सँग सम्बन्धित) अनुमतिपत्रको लागि दिइने दरखास्त
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विषय : अनुमतिपत्र पाऊँ।
रिभर गाइडको काम गर्न देहायका विवरणहरु खुलाई यो दरखास्त गरेको छु ।
दरखास्तवालाको,- (क) नाम :- (ख) पूरा ठेगाना :- (ग) जन्म मिति :- (घ) शैक्षिक योग्यता :- (ङ) बाबुको नाम र ठेगाना :- (च) बाजेको नाम र ठेगाना :- (छ) तालीमको प्रमाणपत्र :- (ज) अनुभव :- अवधि :- काम गरेको संस्था र ठाउँ :-
दरखास्तवालाको,- सही :- मिति :-
अनुसूची-४ (नियम १२ सँग सम्बन्धित) रिवर गाइडको अनुमतिपत्र
फोटो
श्री ..................................... तपाईंलाई रिवर गाइडको काम गर्न जलयात्रा नियमावली, २०६३ को नियम १२ बमोजिम यो अनुमतिपत्र दिइएको छ ।
अनुमतिपत्र प्राप्त व्यक्तिको,- (क) नाम :- (ख) पूरा ठेगाना :- (ग) जन्म मिति :- (घ) बाबुको नाम :- (ङ) बाजेको नाम :- (च) अनुमतिपत्रको अवधि :-
अनुमतिपत्र दिने अधिकारीको,- कार्यालयको छाप सही :- नाम :- पद :- कार्यालय :- मिति :-
नवीकरणको विवरण
^अनुसूची-५
(नियम १९ सँग सम्बन्धित)
जलयात्रा व्यवसायी र कामदार बीच भएको करार
... .... .... .... .... को छोरा/छोरी/श्रीमती ... .... जिल्ला .. ......... गा.वि.स. /नगरपालिका ............... वडा नं. ....... बस्ने वर्ष ... को श्री /श्रीमती/सुश्री................................ लाई नेपाल सरकारबाट अनुमति प्राप्त ........ ...... नदीको . ....खण्डमा मिति ...... ..... देखि .. .... ...सम्म .... दिनको लागि देहायका सुविधा दिने गरी जलयात्रा सम्बन्धी काममा लगाउन र सो कार्य गर्ने हामी जलयात्रा व्यवसायी तथा कामदार बीच सहमति भएकोले यो करार गरेका छौं ।
सुविधाहरू
१ ...............
२ ...............
३ ...............
कामदार ............... जलयात्रा व्यवसायीको तर्फबाट
नामः- नामः-
सहीः- सहीः-
ठेगानाः- पदः-
इति संवत् ........... साल .......... महिना ........ गते रोज ....... शुभम् ।
^ पहिलो संशोधनद्वारा संशोधित ।
अनुसूची-६ (नियम २० सँग सम्बन्धित) रिभर गाइड र कामदारलाई दिनु पर्ने सुविधाको विवरण
१. रिभर गाइड र कामदारलाई देहायका दरले न्यूनतम दैनिक भत्ता दिनु पर्नेछ :- (क) रिभर गाइडलाई चार सय रुपैयाँ । (ख) कामदारलाई दुई सय रुपैयाँ ।
२. रिभर गाइडलाई जलयात्रासँग सम्बन्धित देहायका मालसामान दिनु पर्नेछ :- (क) जलयात्रामा आवश्यक पर्ने सुरक्षात्मक सामग्री (ख) खाना, औषधि र औषधि उपचारको सरसामान ।
३. अन्य थप सुविधा दिने भए सो उल्लेख गर्ने : (क) (ख)
अनुसूची-७ (नियम २३ को उपनियम (२) सँग सम्बन्धित)
(क) नष्ट गर्न सकिने फोहोरमैला: शौच कागज (ट्वाइलेट पेपर), अन्य कागजहरु, कार्डबोर्ड, बाँस तथा काठबाट निर्मित सामान, जुट र सुतिका झोला, सडेगलेको खानेकुरा, फलफूल तथा त्यसको बोक्रा तथा अन्य त्यस्तै फोहोरमैला।
(ख) पुनः प्रशोधन गर्न सकिने फोहोरमैला: टिन, सिसी, जार वा काँचका भाँडा बर्तन, प्लास्टिकका बट्टाहरु, प्लास्टिकका सीट, प्लास्टिकका झोला, ग्यास कन्टेनर, स्लिपिङ्ग ब्याग, प्लास्टिक कन्टेनर, प्लास्टिकका डोरी र यस्तै पुनः प्रशोधन गर्न सकिने अन्य फोहोरहरु।
अनुसूची-८ (नियम ३० सँग सम्बन्धित)
प्रतिवेदन
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
विषय : प्रतिवेदन ।
जलयात्रा नियमावली, २०६३ को नियम ३० को प्रयोजनको लागि ................. देखि ................. अवधिसम्मको लागि देहायको विवरण सहितको प्रतिवेदन पेश गरेको छु ।
१. नेपाल =........... मा जलयात्राको प्रबन्ध गरेको पर्यटकको सङ्ख्या :-
२. सेवा उपलब्ध गराएका पर्यटकहरुको नागरिकता बमोजिमको विवरण :-
३. नेपाल =........भित्र र बाहिर आफ्नो व्यवसायको प्रचार प्रसार गराएको विवरण :-
४. अन्तर्राष्ट्रिय सभा सम्मेलन आदिमा भाग लिएको विवरण :-
दोस्रो संशोधनद्वारा झिकिएको ।
५. विदेशबाट पर्यटन उद्योग विकास गर्नको लागि आमन्त्रित व्यक्तिहरुको विवरण :-
६. आय व्ययको लेखापरीक्षण भएको प्रतिवेदनको विवरण छुट्टै कागजमा लेखी संलग्न राख्नु पर्ने :-
जलयात्रा व्यवसायीमा कार्यरत कर्मचारीहरुको विवरण :-
७. कुल कारोबारको स्थिति :-
८. यस अवधिमा बुझाएको करको रकम :- (क) आयकर :- बुझाएको मिति :- (ख) मूल्य अभिवृद्धि कर :- बुझाएको मिति :- (ग) पर्यटक सेवा शुल्क :- बुझाएको मिति :-
९. भौतिक पूर्वाधारको विवरण :-
१०. सुविधाबाट ल्याइएका भौतिक सामानको विवरण :-
११. जलयात्रा व्यवसायीको,- (क) नाम र ठेगाना :- (ख) कम्पनीको पूँजी :- (१) जारी पूँजी .................. (२) अधिकृत पूँजी ............... (३) चुक्ता पूँजी .................. (४) स्थिर पूँजी ................... (ग) फर्म भए फर्मको जायजेथा ................
इजाजतपत्र नम्बर र जारी मिति :- आयकर प्रमाणपत्रको नम्बर अवधि :- विदेशी मुद्रा कारोबारको इजाजत अवधि :- जलयात्रा व्यवसायीको प्रमुख व्यक्तिको नाम :- प्रोप्राइटर वा शेयर धनीको नाम :- (क) (ख) (ग)
प्रतिवेदन पेश गर्ने जलयात्रा व्यवसायीको तर्फबाट सही :- नाम :- पद :- टेलिफोन :- फ्याक्स :- इमेल:- वेवसाइट:- मिति:-
द्रष्टव्य : (१) सवारी साधनको दर्ता नम्बर उल्लेख गर्नु पर्छ। (२) यो प्रतिवेदन जलयात्रा व्यवसायी कम्पनी भए प्रबन्ध निर्देशक वा प्रमुख अधिकारीले र फर्म भए फर्मधनीले हस्ताक्षर गरी पेश गर्नु पर्छ। (३) आय व्ययको लेखा परीक्षण प्रतिवेदन तयार भएको एक महिनाभित्र अनिवार्य रुपमा मन्त्रालयमा पेश गर्नु पर्छ।
दर्खास्तवालाको,- सही :- नाम :- पूरा ठेगाना :- मिति :- कार्यालयः- ठेगानाः-