जाँचबुझ आयोग (सदस्यहरूको सेवाको शर्त) नियमावली, २०५१
नेपाल राजपत्रमा प्रकाशित मिति २०५१।०२।१२
संशोधन जाँचबुझ आयोग (सदस्यहरुको सेवाको शर्त) (पहिलो संशोधन) नियमावली, २०७० २०७०।०१।३०
जाँचबुझ आयोग ऐन, २०२६ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “जाँचबुझ आयोग (सदस्यहरूको सेवाको शर्त) नियमावली, २०५१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय व प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,—
(क) “ऐन” भन्नाले जाँचबुझ आयोग ऐन, २०२६ सम्झनु पर्छ ।
(ख) “आयोग” भन्नाले ऐनको दफा ३ बमोजिम गठन हुने आयोग सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शब्दले आयोगको अध्यक्षलाई समेत जनाउँछ ।
३. शपथ लिनुपर्नेः (१) आयोगलाई तोकिएको काम शुरु गर्नुअघि आयोगका अध्यक्ष एवं सदस्यले अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।
(२) ऐनको दफा ३ को उपदफा (१) बमोजिम * ............... गठन भएको आयोगको अध्यक्षले सर्वोच्च अदालतको प्रधान न्यायधीश समक्ष र अन्य सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
(३) ऐनको दफा ३ को उपदफा (२) बमोजिम * ............... गठन भएको आयोगको अध्यक्षले सर्वोच्च अदालतको प्रधान न्यायधीश वा निजले तोकेको सर्वोच्च अदालतको न्यायधीश समक्ष र अन्य सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
४. आचरण पालन गर्नु पर्नेः (१) सदस्यले यस नियमावलीमा उल्लेखित आचरणहरू पालन गर्नु पर्नेछ ।
(२) कुनै सदस्यले यस नियमावलीमा लेखिएको कुनै कुराको प्रतिकूल आचरण गरेमा निजले आफ्नो पद अनुसारको आचरण नगरेको मानिनेछ ।
५. राष्ट्रको स्वार्थलाई सर्वोपरि राख्नु पर्नेः सदस्यले धर्म, वर्ण, लिङ्ग, जाति, जनसमुदाय वा क्षेत्रको संकुचित स्वार्थमा लिनु नभई इमान्दारीपूर्वक आफूलाई सुम्पिएको काम सम्पन्न गर्नु पर्नेछ ।
६. काम कारबाही वा मर्यादामा आँच पुर्याउन नहुनेः सदस्यले आयोगको काम कारबाही वा सदस्यको मर्यादामा आँच पुग्ने गरी कुनै काम गर्नु हुँदैन ।
७. निर्भिक रही काम गर्नु पर्नेः सदस्यले आफ्नो कर्तव्य पालन गर्दा आफ्नो ज्ञान र विवेकको प्रयोग गरी कसैको डर, त्रास वा मोलहिजमा नपरी निर्भिक रही काम गर्नु पर्नेछ ।
८. बाह्य प्रभावबाट मुक्त रहनु पर्नेः सदस्यले कुनै लोभ, लालच वा पक्षपात गरी बाह्य प्रभावबाट मुक्त रही आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नु पर्नेछ ।
९. गोपनीयता भङ्ग गर्नु नहुनेः सदस्यले आयोगको काम कारबाहीमा बाधा पुग्ने वा आयोगको गोपनीयता भङ्ग हुने हालतमा कसैलाई पनि कुनै कुराको जानकारी दिन वा तत्सम्बन्धी अन्य कुनै कुरा उपलब्ध गराउन हुँदैन ।
१०. रकम हिनमिना गर्न नहुनेः सदस्यले आयोगको कामको निमित्त खर्च गर्नको लागि प्राप्त गरेको रकम हिनमिना गर्नु हुँदैन ।
११. अनुचित लाभ उठाउन नहुनेः सदस्यले आफ्नो पदको प्रभाव देखाई अनुचित लाभ उठाउने कुनै काम गर्नु हुँदैन ।
१२. निषेध गरिएको काम अरुबाट गराउन नहुनेः यस नियमावलीले निषेध गरेको कुनै काम गर्न उद्योग गर्न, अरुबाट गराउन वा सो गर्ान अरुलाई दुरुत्साहन गर्न समेत हुँदैन ।
१३. पारिश्रमिक र सुविधाः सदस्यको पारिश्रमिक र सुविधा आयोग गठन हुँदा निर्धारण गरिए बमोजिम हुनेछ ।
द्रष्टव्य:– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
पद तथा गोपनीयताको शपथ
म ................................. ईश्वरको नाममा सत्यनिष्ठापूर्वक आयोगको अध्यक्ष / सदस्यको हैसियतले मलाई सुम्पिएको जिम्मेवारी मेरो योग्यता, ज्ञान र विवेकले भ्याएसम्म भय, पक्षपात, लोभ वा द्वेषभाव नराखी पूरा गर्नेछु र मलाई आयोगको कामको सिलसिलामा जानकारी हुन आएका गोप्य कुराहरू आफ्नो जिम्मेवारी पूरा गर्नको निमित्त आवश्यक पर्मा बाहेक आयोगमा बहाल रहेको वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष तवरले कुनै पनि किसिमबाट प्रकट गर्ने छैन ।
मिति:....................... हस्ताक्षर ........................