जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) नियमावली, २०७४
नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।०३।०५
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) नियमावली, २०७४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “आयोग” भन्नाले राष्ट्रिय दलित आयोग सम्झनु पर्छ । (ख) “उजूरी” भन्नाले ऐनको दफा ५ बमोजिमको उजूरी सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम दिइने जाहेरी दरखास्तलाई समेत जनाउँछ। (ग) “ऐन” भन्नाले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ सम्झनु पर्छ । (घ) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।
३. प्रहरी कार्यालयमा उजूरी दिन सक्नेः (१) कसैले ऐनको दफा ४ बमोजिमको कसूर गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले अनुसूची-१ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा उजूरी दिन सक्नेछ । (२) कसैले नेपाली नागरिक विरुद्ध ऐनको दफा ४ बमोजिमको कुनै कसूर नेपाल बाहिर गरेमा सो थाहा पाउने व्यक्तिले निज बसोबास गरेको वा प्रतिवादी रहेको जिल्लाको नजिकको प्रहरी कार्यालयमा अनुसूची-१ बमोजिमको ढाँचामा उजूरी दिन सक्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले यस ऐनको दफा ४ बमोजिमको कसूर गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले मौखिक, हुलाक वा अन्य माध्यमबाट प्रहरी कार्यालयमा उजूरी दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम कसैले उजूरी दिएको भए सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो उजूरीकर्तालाई झिकाई उजूरीको व्यहोरा सनाखत गराउनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम उजूरी प्राप्त भएकोमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो उजूरीलाई अनुसूची-१ बमोजिमको ढाँचामा अभिलेख गरी राख्नु पर्नेछ ।
(६) यस नियम बमोजिम कुनै उजूरी परेमा प्रहरी कार्यालयले त्यस्तो उजूरी दर्ता गरी अनुसूची-२ बमोजिमको ढाँचामा उजूरी दर्ताको भरपाई सम्बन्धित उजूरीकर्तालाई दिनु पर्नेछ ।
४. आयोग वा स्थानीय तहमा उजूरी गर्न सक्नेः (१) कसैले नियम ३ बमोजिम दिएको उजूरी प्रहरी कार्यालयले दर्ता नगरेमा वा प्रचलित कानून बमोजिम आवश्यक कारबाही नगरेमा सम्बन्धित व्यक्तिले पन्ध्र दिनभित्र अनुसूची-३ बमोजिमको ढाँचामा आयोग वा स्थानीय तहमा उजूरी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै उजूरी परेमा आयोग वा स्थानीय तहले सो उजूरीको व्यहोरा कार्यालयमा अभिलेख गरी तीन दिनभित्र उजूरी दर्ता गर्नको लागि सम्बन्धित प्रहरी कार्यालयमा अनुसूची-४ बमोजिमको ढाँचामा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो उजूरी दर्ता गरी अनुसूची-२ बमोजिमको भरपाई सम्बन्धित आयोग वा स्थानीय तहमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम भरपाई प्राप्त भएमा आयोग वा स्थानीय तहले सम्बन्धित उजूरीकर्तालाई त्यस्तो भरपाई उपलब्ध गराउनु पर्नेछ ।
अनुसूची-१ (नियम ३ को उपनियम (१) र (२) सँग सम्बन्धित) उजूरीको ढाँचा
श्री .......................... मा दिएको प्रहरी कार्यालयले भनें (प्रहरी कार्यालयको नाम र ठेगाना) दर्ता नं. दर्ता मिति:-
उजूरी
१. पीडितको नाम, थर र ठेगानाः-
२. कसूर गर्ने व्यक्तिको नाम, थर, ठेगाना र हुलियाः-
३. कसूर भएको वा हुन लागेको स्थान, मिति र समयः-
४. कसूरको व्यहोराः-
५. सम्बन्धित कुनै प्रमाण भए सो को विवरणः-
६. संबद्ध अन्य विषय र विवरणः-
यस उजूरीको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला । प्रहरीद्वारा केस तहकीकात हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनपर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु ।
उजूरीकर्ताको,- दस्तखतः मितिः
अनुसूची-२ (नियम ३ को उपनियम (६) सँग सम्बन्धित)
उजूरीको भरपाइ
विषय - जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूर बारे ।
............................................(उजूरीकर्ताको नाम) को मिति ........................... को उजूरी प्राप्त भई यस प्रहरी कार्यालयको दर्ता किताबमा मिति ................... मा दर्ता भयो ।
कार्यालयको छापः- उजूरी दर्ता गर्ने प्रहरी कर्मचारीको,-
दर्ता नं- दस्तखत:
अनुसूची-३
(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
उजूरीको ढाँचा
श्री ........................ (आयोग / स्थानीय तहको नाम) मा दिएको उजूरी
१. उजूरीकर्ताको नाम, थर, ठेगानाः २. कसूर गर्ने व्यक्तिको नाम, थर, ठेगाना र हुलियाः ३. कसूर भएको वा हुन लागेको स्थान, मिति र समयः ४. कसूरको व्यहोराः ५. सम्बन्धित कुनै प्रमाण भए सो को विवरणः ६. संबद्ध अन्य विषय र विवरणः ७. उजूरी दर्ता गर्न इन्कार गर्ने प्रहरी कार्यालयको नाम र ठेगानाः ८. प्रहरी कार्यालयले उजूरी दर्ता गर्न इन्कार गरेको मितिः ९. उजूरी दर्ता गर्न इन्कार गर्नुको कारणः
यस उजूरीको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला । प्रहरीद्वारा केस तहकीकात हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुन पर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु ।
उजूरीकर्ताको,- दस्तखतः मितिः
अनुसूची-४ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित)
आयोग वा स्थानीय तहले प्रहरी कार्यालयमा लेखी पठाउने सूचनाको ढाँचा
श्री ................................. (प्रहरी कार्यालयको नाम र स्थान)
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ बमोजिमको कसूर सम्बन्धमा त्यस कार्यालयमा मिति ................... मा ....................... ले दिएको उजूरी त्यस कार्यालयबाट दर्ता गर्न इन्कार भएको भनी यस .................................. (आयोग वा स्थानीय र तहको नाम र ठेगाना) मा निजले उजूरी दर्ता गराएको हुँदा सम्बन्धित व्यक्तिको नाममा उजूरी दर्ता गरी कानून बमोजिम दर्ताको भरपाई यस ......................... (आयोग वा स्थानीय तहको नाम) मा उपलब्ध गराइदिनु हुन निजले दिएको उजूरी यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ ।
सम्बन्धित अधिकारीको,- नामः दस्तखतः पदः मितिः कार्यालयको नामः
नाम: पद: कार्यालय: मिति: