ट्रेड युनियन नियमावली, २०५०
नेपाल राजपत्रमा प्रकाशित मिति २०५०।०८।१४
संशोधन १. ट्रेड युनियन (पहिलो संशोधन) नियमावली, २०७७ २०७७/१०/१९
ट्रेड युनियन ऐन, २०४९ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “ट्रेड युनियन नियमावली, २०५०” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा– (क) “ऐन” भन्नाले ट्रेड युनियन ऐन, २०४९ सम्झनु पर्छ। (ख) “दर्ताको प्रमाणपत्र” भन्नाले यस नियमावली बमोजिम रजिष्ट्रारले प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई दर्ता गरी दिएको प्रमाणपत्र सम्झनु पर्छ र सो शब्दले रजिष्ट्रारले यस नियमावली बमोजिम ट्रेड युनियन सङ्घ वा ट्रेड युनियन महासङ्घलाई दर्ता गरी दिएको प्रमाणपत्रलाई समेत जनाउँछ।
३. प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको लागि दरखास्तः (१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर वापत लाग्ने एक सय पचास रुपैयाँ संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा रजिष्ट्रार समक्ष दरखास्त दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको दरखास्त साथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाइ संलग्न गरिएको हुनु पर्नेछः–
(क) प्रतिष्ठानस्तरको ट्रेड युनियनको नाम र ठेगाना।
(ख) प्रतिष्ठानस्तरको ट्रेड युनियनको गठन मिति।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति।
(घ) पदाधिकारीहरूको नाम, थर र ठेगाना।
(ङ) दर्ताका लागि दरखास्त दिँदाको समयसम्ममा सो प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता प्राप्त कुल कामदार सङ्ख्या र तिनिहरूको नाम, उमेर, कार्य विवरण एवं प्रतिष्ठानमा गरेको सेवा अवधि।
(च) दर्ता गर्नको निमित्त पञ्जीकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि।
(छ) दर्ता गर्नको निमित्त पञ्जीकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र।
(ज) दर्ता हुने प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता प्राप्त सदस्य कामदारहरूले अन्य प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता ग्रहण नगरेको कुराको स्वीकारोक्ती गरेको कागज।
४. प्रतिष्ठान स्तरको ट्रेड युनियन दर्ताको प्रमाणपत्रः नियम ३ बमोजिम प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि पञ्जीकाधिकारी समक्ष दरखास्त परेमा पञ्जीकाधिकारीले सोही नियमको उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी ऐनको दफा ३ को उपदफा (३) बमोजिम त्यस्तो प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई दर्ता किताबमा दर्ता गरी अनुसूची–२ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
५. ट्रेड युनियन सङ्घको दर्ताको लागि दरखास्तः (१) ऐनको दफा ४ को उपदफा (३) बमोजिम ट्रेड युनियन सङ्घ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर बापत लाग्ने पाँच सय रुपैयाँ संलग्न गरी अनुसूची–३ बमोजिमको ढाँचामा पञ्जीकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दरखास्तसाथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाई संलग्न गरिएको हुनु पर्नेछः–
(क) ट्रेड युनियन सङ्घको नाम र ठेगाना।
(ख) ट्रेड युनियन सङ्घको गठन मिति।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति।
(घ) ट्रेड युनियन सङ्घ गठन गर्नको लागि प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूले आपसमा गरेको सम्झौताको प्रतिलिपि।
(ङ) ट्रेड युनियन सङ्घ गठन गर्ने प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूको नाम।
(च) प्रतिष्ठान बाहिरका एकै प्रकृतिका उद्योग व्यवसायमा काम गर्ने कामदारहरूले आपसमा सम्झौता गरी ट्रेड युनियन सङ्घ गठन गरेको भए त्यस्ता कामदारहरूको नाम, ठेगाना र कामको प्रकृति।
(छ) पदाधिकारीहरूको नाम, थर र ठेगाना।
(ज) दर्ता गर्नको निमित्त पञ्जीकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि।
(झ) दर्ता गर्नको निमित्त पञ्जीकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र।
(ञ) दर्ता हुने ट्रेड युनियन सङ्घको सदस्यता प्राप्त प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूले अन्य ट्रेड युनियन सङ्घको सदस्यता ग्रहण नगरेको कुराको स्वीकारोक्ती गरेको कागज।
६. ट्रेड युनियन सङ्घ दर्ताको प्रमाणपत्रः नियम ५ बमोजिम ट्रेड युनियन सङ्घ दर्ता गराउनको लागि पञ्जीकाधिकारीले सोही नियमको उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी
ऐनको दफा ४ को उपदफा (४) बमोजिम त्यस्तो ट्रेड युनियन सङ्घलाई दर्ता किताबमा दर्ता गरी अनुसूची-४ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
७. ट्रेड युनियन महासङ्घको दर्ताको लागि दरखास्तः (१) ऐनको दफा ५ को उपदफा (२) बमोजिम ट्रेड युनियन महासङ्घ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर बापत लाग्ने एक हजार रुपैयाँ संलग्न गरी अनुसूची-५ बमोजिमको ढाँचामा पञ्जीकरण अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दरखास्तसाथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाई संलग्न गरिएको हुनु पर्नेछः–
(क) ट्रेड युनियन महासङ्घको नाम र ठेगाना। (ख) ट्रेड युनियन महासङ्घको गठन समिति। (ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति। (घ) ट्रेड युनियन महासङ्घ गठन गर्नको लागि ट्रेड युनियन सङ्घहरूले आपसमा गरेको सम्झौताको प्रतिलिपि। (ङ) ट्रेड युनियन महासङ्घ गठन गर्ने ट्रेड युनियन सङ्घहरूको नाम। (च) पदाधिकारीहरूको नाम, थर र ठेगाना। (छ) दर्ता गर्नको निमित्त पञ्जीकरण अधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि। (ज) दर्ता गर्नको निमित्त पञ्जीकरण अधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र। (झ) दर्ता हुने ट्रेड युनियन महासङ्घको सदस्यता प्राप्त ट्रेड युनियन सङ्घहरूले अन्य ट्रेड युनियन महासङ्घको सदस्यता ग्रहण नगरेको कुराको स्वीकरोत्ती गरेको कागज।
८. ट्रेड युनियन महासङ्घ दर्ताको प्रमाणपत्रः नियम ७ बमोजिम ट्रेड युनियन महासङ्घ दर्ता गराउनुको लागि पञ्जीकाधिकारी समक्ष दरखास्त परेमा पञ्जीकाधिकारीले सोही नियमको उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी ऐनको दफा ५ को उपदफा (३) बमोजिम त्यस्तो ट्रेड युनियन महासङ्घलाई दर्ता किताबमा दर्ता गरी अनुसूची-६ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
९. ट्रेड युनियनको नवीकरण : (१) नियम ४, ६ र ८ बमोजिम दर्ता भएको ट्रेड युनियनले ऐनको दफा ७क. मा उल्लेखित अवधि समाप्त हुनु भन्दा तीन महिना अघि अनुसूची-७ बमोजिमको दस्तुर सहित पञ्जीकाधिकारी समक्ष नवीकरणको लागि दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र नवीकरणको लागि दरखास्त दिन नसक्ने ट्रेड युनियनले ऐनको दफा ७क. बमोजिमको अवधि भित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पच्चीस प्रतिशत दस्तुर सहित पञ्जीकाधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र नवीकरणको लागि दरखास्त नदिएमा सो अवधि समाप्त भएको पन्ध्र दिन भित्र पञ्जीकाधिकारीले त्यस्तो ट्रेड युनियनलाई नवीकरण गर्न सूचना दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको सूचना पाउने ट्रेड युनियनले ऐनको दफा ७क. बमोजिमको अवधि समाप्त भएको छ महिना भित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुर सहित पञ्जीकाधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(५) उपनियम (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनु अघि ऐनको दफा ७क. बमोजिमको अवधि समाप्त भएका ट्रेड युनियनलाई यो नियम प्रारम्भ भएको पन्ध्र दिन भित्र पञ्जीकाधिकारीले नवीकरण गर्न सूचना दिनु पर्नेछ र यसरी सूचना प्राप्त गर्ने ट्रेड युनियनले यो नियम प्रारम्भ भएको तीन महिना भित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुर सहित पञ्जीकाधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(६) उपनियम (१), (२), (४) वा (५) बमोजिम पेश भएको दरखास्त सम्बन्धमा पञ्जिकारिधिकारीले जाँचबुझ गरी रीत पुगेको देखिएमा त्यस्तो ट्रेड युनियनको नवीकरण गरिदिनु पर्नेछ।
(७) उपनियम (४) वा (५) बमोजिमको अवधि भित्र नवीकरणको लागि दरखास्त नदिने ट्रेड युनियनको दर्ताथ कायम रहने छैन।
१०. आधिकारिक ट्रेड युनियनको निर्वाचन: कामदारहरूको तर्फबाट व्यवस्थापकसँग सामूहिक सौदाबाजी गर्ने कुनै प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई आधिकारिक ट्रेड युनियनको मान्यता दिने प्रयोजनको निमित्त सो प्रतिष्ठानस्तरको ट्रेड युनियनले कामदारहरूको बहुमत प्राप्त गरेको हो कि होगरको कुराको निर्धारण गर्न पञ्जिकारिधिकारीले निर्वाचन गराउनु पर्नेछ।
११. पञ्जिकारिधिकारीले निर्वाचन अधिकृत तोक्ने: नियम १० बमोजिम आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउनु निमित्त पञ्जिकारिधिकारीले कुनै कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न सक्नेछ।
१२. निर्वाचन प्रकृयाको निर्धारण गर्ने: (१) नियम १० बमोजिम गरिने आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रकृया निर्धारण गर्ने सम्बन्धमा पञ्जिकारिधिकारीले नेपाल सरकारको स्वीकृति लिई निर्वाचन सम्बन्धी निर्देशिका बनाई लागू गर्नु पर्नेछ।
(२) नियम ११ बमोजिम तोकिएको निर्वाचन अधिकृतले आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउँदा उपनियम (१) बमोजिमको निर्वाचन सम्बन्धी निर्देशिकाको अधिनमा रही गराउनु पर्नेछ र त्यस्तो निर्वाचन गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित प्रतिष्ठानले व्यहोर्नु पर्नेछ।
१३. आधिकारिक ट्रेड युनियनलाई प्रमाणपत्र दिनु पर्ने: आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कामदारहरूको बहुमत प्राप्त गरी आधिकारिक ट्रेड युनियनको मान्यता प्राप्त गर्न प्रतिष्ठानस्तरको ट्रेड युनियनले ऐनको दफा ११ को उपदफा (२) बमोजिम पञ्जिकारिधिकारीलाई लिखित सूचना दिएको मितिले पन्ध्र दिनभित्र पञ्जिकारिधिकारीले त्यस्तो ट्रेड युनियनलाई अनुसूची-८ बमोजिमको ढाँचामा आधिकारिक ट्रेड युनियनको प्रमाणपत्र दिनु पर्नेछ।
१४. सम्मिलन भई गठन भएको प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको लागि दरखास्तः (१) ऐनको दफा १९ बमोजिम कुनै प्रतिष्ठानको दुई वा दुईभन्दा बढी ट्रेड युनियनहरू एउटै प्रतिष्ठानस्तरको ट्रेड युनियनमा सम्मिलन भई गठन भएको नयाँ प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर वापत लाग्ने एक सय पचास रुपैयाँ संलग्न गरी अनुसूची ९ बमोजिमको ढाँचामा पञ्जीकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दरखास्तसाथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाई संलग्न गरिएको हुनु पर्नेछः–
(क) सम्मिलन भई गठन भएको प्रतिष्ठानस्तरको ट्रेड युनियनको नाम र ठेगाना।
(ख) सम्मिलन भई गठन भएको मिति।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति।
(घ) सम्मिलन हुन चाहने प्रतिष्ठानस्तरको ट्रेड युनियनका सदस्यहरूले सम्मिलनको पक्षमा खसालेको मत सङ्ख्या।
(ङ) सम्मिलन हुने सम्बन्धमा प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूले आपसमा गरेको सम्झौताको प्रतिलिपि।
(च) एउटै प्रतिष्ठानस्तरको ट्रेड युनियनमा सम्मिलन भएका प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूको नाम।
(छ) पदाधिकारीहरूको नाम, थर र ठेगाना।
(ज) दर्ताको निमित्त पञ्जीकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि।
(झ) दर्ता गर्नको निमित्त पञ्जीकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र।
(३) उपनियम (१) बमोजिम सम्मिलित भई गठन भएको नयाँ प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि पञ्जीकाधिकारी समक्ष दरखास्त परेमा पञ्जीकाधिकारीले उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी त्यस्तो प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई दर्ता किताबमा दर्ता गरी अनुसूची-२ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
१५. अनुसूचीमा थपघट वा हेरफेरः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरू:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ताको लागि दरखास्तको ढाँचा
मिति:–
श्रीमान् पञ्जिकारिधिकारीज्यू, .............................. ..............................
महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा ३ को उपदफा (२) बमोजिम ................................. प्रतिष्ठानको ............................................. प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गर्ने कार्य गर्ने कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता दस्तुर वापत लाग्ने एक सय पचास रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ३ को उपनियम (२) मा उल्लेखित विवरणहरू समेत संलग्न गरी सो प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि यो दरखास्त गरेको छु ।
भवदीय,
(........................ प्रतिष्ठानस्तरको ट्रेड युनियनको तर्फबाट)
अनुसूची-२ (नियम ४ र नियम १४ को उपनियम (३) सँग सम्बन्धित) प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको प्रमाणपत्र
दर्ता प्रमाणपत्र नं.:–
नेपाल सरकार श्रम मन्त्रालय श्रम विभाग
............................. श्रम कार्यालय प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको प्रमाणपत्र
........................................ प्रतिष्ठानको ....................................... प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई ट्रेड युनियन ऐन, २०४९ को दफा ३ को उपदफा (३) बमोजिम दर्ता गरी ट्रेड युनियन नियमावली, २०५० को नियम ४ र १४ बमोजिम यो दर्ताको प्रमाणपत्र दिइएको छ।
पञ्जीकाधिकारीको दस्तखत
अनुसूची-३ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) ट्रेड युनियन सङ्घ दर्ताको लागि दरखास्तको ढाँचा
मिति:–
श्रीमान् पञ्जिकारिधिकारीज्यू, .............................. ..............................
महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा ४ को उपदफा (३) बमोजिम ..................... ट्रेड युनियन सङ्घ दर्ता गर्ने कार्य गर्न कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता दस्तुर वापत लाग्ने पाँचसय रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ५ को उपनियम (२) मा उल्लेखित विवरणहरू समेत संलग्न गरी सो ट्रेड युनियन सङ्घ दर्ता गराउनको लागि यो दरखास्त गरेको छु ।
भवदीय (..................... ट्रेड युनियन सङ्घको तर्फबाट)
अनुसूची-४ (नियम ५ सँग सम्बन्धित) ट्रेड युनियन सङ्घको दर्ताको प्रमाणपत्र
दर्ता प्रमाणपत्र नं:—
नेपाल सरकार श्रम मन्त्रालय श्रम विभाग ............................. श्रम कार्यालय
ट्रेड युनियन सङ्घको दर्ताको प्रमाणपत्र
........................................ ट्रेड युनियन सङ्घलाई ट्रेड युनियन ऐन, २०४९ को दफा ४ को उपदफा (४) बमोजिम दर्ता गरी ट्रेड युनियन नियमावली, २०५० को नियम ६ बमोजिम यो दर्ताको प्रमाणपत्र दिइएको छ।
पञ्जीकाधिकारीको दस्तखत:-
अनुसूची–५ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) ट्रेड युनियन महासङ्घ दर्ताको लागि दरखास्तको ढाँचा
मिति:—
श्रीमान् पञ्जिकारिधिकारीज्यू, .............................. ..............................
महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम ..................... ट्रेड युनियन महासङ्घ दर्ता गर्ने कार्य गर्ने कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता दस्तुर वापत लाग्ने एक हजार रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ७ को उपनियम (२) मा उल्लेखित विवरणहरू समेत संलग्न गरी सो ट्रेड युनियन महासङ्घ दर्ता गराउनको लागि यो दरखास्त गरेको छु ।
भवदीय (..................... ट्रेड युनियन महासङ्घको तर्फबाट)
अनुसूची-६ (नियम ८ सँग सम्बन्धित) ट्रेड युनियन महासङ्घको दर्ताको प्रमाणपत्र
दर्ता प्रमाणपत्र नं:—
नेपाल सरकार श्रम मन्त्रालय श्रम विभाग ............................. श्रम कार्यालय
ट्रेड युनियन महासङ्घको दर्ताको प्रमाणपत्र
.................................... ट्रेड युनियन महासङ्घलाई ट्रेड युनियन ऐन, २०४९ को दफा ५ को उपदफा (३) बमोजिम दर्ता गरी ट्रेड युनियन नियमावली, २०५० को नियम ८ बमोजिम यो दर्ताको प्रमाणपत्र दिइएको छ।
पञ्जीकरण अधिकारीको दस्तखत:-
अनुसूची-७ (नियम ९ को *उपनियम (१) सँग सम्बन्धित) *ट्रेड युनियनको नवीकरण दस्तुर
*ट्रेड युनियनको नवीकरण दस्तुर देहाय बमोजिम हुनेछ:–
नवीकरण दस्तुर (१) प्रतिष्ठानस्तरको ट्रेड युनियन रु. ७५।– (२) ट्रेड युनियन सङ्घ रु. २५०।– (३) ट्रेड युनियन महासङ्घ रु. ५००।–
अनुसूची-८ (नियम १३ सँग सम्बन्धित) आधिकारिक ट्रेड युनियनको प्रमाणपत्र
............................ प्रतिष्ठानको प्रतिष्ठानस्तरको ट्रेड युनियनका कामदारहरूको तर्फबाट व्यवस्थापकसँग सामूहिक सौदाबाजी गर्न ट्रेड युनियन ऐन, २०४९ को दफा ११ बमोजिम .......................... प्रतिष्ठानस्तरको ट्रेड युनियनले मान्यता प्राप्त गरेको सूचना दिएको हुनाले ट्रेड युनियन नियमावली, २०५० को नियम १३ बमोजिम सो प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई आधिकारिक ट्रेड युनियनको प्रमाणपत्र दिइएको छ।
पञ्जीकाधिकारीको दस्तखत: मिति:–
अनुसूची-९ (नियम १४ सँग सम्बन्धित) सभिलनको लागि दरखास्तको ढाँचा
मिति: ....................
श्रीमान् पञ्जीकाधिकारीज्यू, .............................. ..............................
महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा १९ बमोजिम ......................... प्रतिष्ठानको देहायका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरू एउटै प्रतिष्ठानस्तरको ट्रेड युनियनमा सम्मिलित भई गठन भएको ...................... प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गर्ने कार्य गर्न कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता दस्तुर वापत लाग्ने एकसय पचास रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ३ को उपनियम (२) मा उल्लेखित विवरणहरू समेत संलग्न गरी सो प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि यो दरखास्त गरेको छु ।
भवदीय
(.................... प्रतिष्ठानस्तरको ट्रेड युनियनको तर्फबाट)
१. ...... २. ...... ३. ......*