तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायता कोष सञ्चालन नियमावली, २०७५
प्रकाशन र प्रमाणीकरण मिति २०७५।०९।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायता कोष सञ्चालन नियमावली, २०७५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “कोष” भन्नाले नियम ३ बमोजिमको तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायता कोष सम्झनु पर्छ ।
(ख) “जिल्ला समिति” भन्नाले नियम ७ बमोजिमको जिल्ला समिति सम्झनु पर्छ ।
(ग) "तुइन" भन्नाले नदी, खोला वा खोल्सा तर्नको लागि काठको खम्बा वा सिमेन्ट प्रयोग गरी बनाइएको टावर वा रूखमा एउटै लठ्ठा वा मोटो डोरीको प्रयोग गरी फलामे टोकरी वा काठको बाकस (प्लेटफर्म) र घिन्नी (पुल्ली) प्रयोग गरी बनाइएको सार्वजनिक रुपले मानिस, जनावर वा सामान ओसारपसार गर्न प्रयोग गरिने माध्यम सम्झनु पर्छ ।
(घ) “प्रभावित व्यक्ति” भन्नाले तुइनबाट मानिस, जनावर वा सामान ओसारपसार गर्ने क्रममा दुर्घटनामा परी घाइते वा अङ्गभङ्ग भएका व्यक्ति सम्झनु पर्छ र सो शब्दले तुइन दुर्घटनाको कारणले मृत्यु भएका, अङ्गभङ्ग वा अशक्त भएका व्यक्तिका नाबालक सन्तान र एकासगोलमा रहेका परिवारका आश्रित सदस्यलाई समेत जनाउँछ ।
(ङ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ ।
(च) “समिति” भन्नाले नियम ५ बमोजिमको कोष परिचालन समिति सम्झनु पर्छ ।
३. कोषको स्थापना र सञ्चालन : (१) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार, राहत तथा उनीहरुको जीविकोपार्जनमा आवश्यक सहयोग पुर्याउन तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायता कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछ:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) स्वदेशी संघ, संस्था, व्यवसायी वा व्यक्तिबाट प्राप्त रकम, (ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) कोषको रकम नेपाल राष्ट्र बैंकमा छुट्टै खाता खोली जम्मा गरिनेछ ।
(४) कोषको सञ्चालन समितिको सदस्य-सचिव र मन्त्रालयको लेखा अधिकृतको संयुक्त दस्तखतबाट हुनेछ ।
४. कोषको प्रयोग : (१) कोषमा जम्मा भएको रकम देहाय बमोजिमको कार्यमा प्रयोग गरिनेछ :- (क) तुइन दुर्घटनामा परी घाइते भएका व्यक्तिको उद्धार तथा स्वास्थ्य उपचार गर्न, (ख) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको लागि सीपमुलक तालिमको व्यवस्था गर्न, (ग) तुइन दुर्घटनाबाट प्रभावित बालबालिकाले आफ्नो धर्म संस्कृति अनुसार बाबु वा आमाको काजक्रिया गर्नु पर्ने वा शोकरिण गर्नु पर्ने भएमा सोको लागि राहत उपलब्ध गराउन, (घ) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिलाई सहायता पुर्याउने उद्देश्यले अन्य आवश्यक काम कारबाही गर्न ।
(२) उपनियम (१) बमोजिम कोषको प्रयोग गर्दा बालबालिकालाई विशेष प्राथमिकता दिइनेछ ।
५. कोष परिचालन समिति : (१) कोषको सञ्चालनको लागि मन्त्रालयमा देहाय बमोजिमको एक कोष परिचालन समिति रहनेछ :- (क) सचिव, मन्त्रालय - अध्यक्ष (ख) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य (ग) सहसचिव, नेपाल सरकारको अर्थ मन्त्रालय - सदस्य (घ) सहसचिव, मन्त्रालय - सदस्य-सचिव
(२) समितिले कोषको सञ्चालन र परिचालन गर्दा निष्पक्ष र पारदर्शी रुपमा गर्नु पर्नेछ ।
(३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
६. समितिको काम, कर्तव्य र अधिकार : समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) कोषको सञ्चालन चुस्त र दुरुस्त रुपमा गर्ने, गराउने,
(ख) नियम ४ मा उल्लेख भए बमोजिमको कार्यको लागि रकम उपलब्ध गराउन जिल्ला समितिबाट प्राप्त सिफारिसको जाँचबुझ गरी उपयुक्त देखिएमा आवश्यक रकम यकिन गरी निकासा दिने,
(ग) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको पहिचान गर्न आवश्यक जाँचबुझ गर्ने गराउने,
(घ) कोष परिचालन सम्बन्धमा मन्त्रालयबाट प्राप्त निर्देशनको कार्यान्वयन गर्ने, गराउने ।
७. जिल्ला समिति : (१) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिलाई सहयोगको लागि सिफारिस गर्न जिल्लास्तरमा देहाय बमोजिमको एक समिति रहनेछः-
(क) प्रमुख जिल्ला अधिकारी - अध्यक्ष
(ख) जिल्ला समन्वय समितिको प्रमुखले तोकेको सो समितिको सदस्य - सदस्य
(ग) सम्बन्धित स्थानीय तहको उपाध्यक्ष - सदस्य
(घ) प्रमुख, जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय - सदस्य
(ङ) जिल्ला समन्वय अधिकारी - सदस्य-सचिव
(२) जिल्ला समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) यस नियमावलीमा उल्लेखित काम, कर्तव्य र अधिकारका अतिरिक्त जिल्ला समितिको अन्य काम, कर्तव्य र अधिकार समितिले तोके बमोजिम हुनेछ ।
(४) जिल्ला समितिको सचिवालय सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रहनेछ ।
८. सहायता सम्बन्धी कार्यविधि : (१) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको तत्काल उद्धार गर्नु पर्ने भएमा सम्बन्धित प्रहरी कार्यालय र स्थानीय विपद् व्यवस्थापन समितिले गर्नु पर्नेछ ।
(२) तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिले सहयोगको लागि सम्बन्धित स्थानीय तहको सिफारिस सहित जिल्ला समितिको सचिवालयमा निवेदन दिनु पर्नेछ ।
(३) जिल्ला समितिले दुर्घटनाबाट प्रभावित व्यक्तिलाई सहयोगको लागि सिफारिस गर्नु पूर्व तुइन दुर्घटनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयको प्रतिवेदन लिई अन्य आवश्यक विवरण समेत सङ्कलन गर्नु पर्नेछ ।
(४) जिल्ला समितिले उपनियम (३) बमोजिमको विवरणको मूल्याङ्कन तथा तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको पहिचान गर्न आवश्यक जाँचबुझ गर्नु पर्ने देखिएमा सो समेत गरी प्रभावित व्यक्तिलाई सहायता उपलब्ध गराउनु पर्ने दिनभित्र समिति समक्ष सिफारिस गरी सक्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम जिल्ला समितिबाट भएको सिफारिस सम्बन्धमा समितिले आवश्यक जाँचबुझ गरी प्रभावित व्यक्तिको उद्धार तथा स्वास्थ्य उपचारको लागि भएको खर्च रकम तत्काल राहत स्वरूप उपलब्ध गराउनुको साथै त्यस्तो व्यक्तिलाई सीपमुलक तालीमको लागि आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।
९. तुइन विस्थापन : (१) यो नियमावली प्रारम्भ भए पछि कुनै पनि व्यक्ति, संस्था वा निकायले निजी वा सार्वजनिक प्रयोजनको लागि कुनै पनि प्रकारको तुइन निर्माण गर्नु हुँदैन ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका निजी वा सार्वजनिक तुइनलाई यो नियमावली प्रारम्भ भएको बढीमा दुई वर्षभित्र स्थानीय तहले विस्थापन गरिसक्नु पर्नेछ ।
(३) उपनियम (१) विपरीत निर्माण भएको तुइन दुर्घटनाबाट भएको क्षतिको सम्बन्धमा त्यसरी तुइन निर्माण गर्ने व्यक्ति, संस्था वा निकाय जिम्मेवार हुनेछ ।
१०. अनुगमन गर्ने : (१) कोषबाट प्राप्त रकमको सदुपयोग भए वा नभएको तथा जुन प्रयोजनको लागि कोषबाट रकम प्राप्त भएको हो सोही प्रयोजनको लागि खर्च भए वा नभएको भन्ने सम्बन्धमा मन्त्रालयले अनुगमन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा कोषको रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित व्यक्ति वा निकायलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएकोमा सम्बन्धित निकायले आवश्यक जाँचबुझ गरी कानून बमोजिम कारबाही गर्नु पर्नेछ ।
११. कोषको लेखा र लेखापरीक्षण : (१) कोषको लेखा नेपाल सरकारको स्वीकृत लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) कोषको आय-व्ययको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
१२. प्रतिवेदन : समितिले यस नियमावली बमोजिम भए गरेका कामको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी प्रत्येक वर्षको साउन मसान्तभित्र मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
१३. अधिकार प्रत्यायोजन : समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार समितिको कुनै सदस्य वा मन्त्रालयको अधिकृत स्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१४. कोषको निष्क्रियता : (१) यो नियमावली प्रारम्भ भएको दुई वर्ष पछि कोष स्वतः निष्क्रिय हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई वर्ष पुग्नु अगावै नियम ९ बमोजिम तुइन विस्थापन भएमा त्यसरी तुइन विस्थापन भए पछि कोष निष्क्रिय हुनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम कोष निष्क्रिय हुँदा कोषमा रहेको रकम मन्त्रालयले सङ्ीय सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।
१५. कार्यविधि बनाउन सक्ने : यस नियमावली बमोजिमको कोष सञ्चालन गर्ने तथा प्रभावित व्यक्तिलाई उद्धार, राहत तथा सीपमूलक तालीम प्रदान गर्ने सम्बन्धमा समितिले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
१६. आवश्यक व्यवस्था गर्ने : यो नियमावली कार्यान्वयन गर्ने क्रममा कुनै द्विविधा उत्पन्न भई कार्यान्वयन गर्न बाधा परेमा मन्त्रालयले आवश्यक व्यवस्था मिलाउनेछ ।