दाना पदार्थ नियमावली, २०४१
नेपाल राजपत्रमा प्रकाशित मिति २०४१।४।८
संशोधन दाना पदार्थ (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
दाना पदार्थ ऐन, २०३३ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “दाना पदार्थ नियमावली, २०४१ रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुने छ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा – (क) “ऐन” भन्नाले दाना पदार्थ ऐन, २०३३ सम्झनु पर्छ । (ख) “सार्वजनिक विश्लेषक” भन्नाले नियम ३ बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ । (ग) “पोको” भन्नाले दाना पदार्थ राख्ने बोरा, बाक्सा, भाँडा, बर्तन, प्याकेट वा थैली समेतलाई जनाउँछ । (घ) “स्थानीय अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकी दिएको अधिकारी सम्झनु पर्छ र त्यसरी अधिकारी नतोकिएकोमा प्रमुख जिल्ला अधिकारी सम्झनु पर्छ ।
परिच्छेद-२ सार्वजनिक विश्लेषक
३. सार्वजनिक विश्लेषकको योग्यता, काम र कर्तव्यः (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायको योग्यता पुगेको र दाना विश्लेषण र परीक्षणको काम गर्ने गरेको कुनै कर्मचारीलाई यस नियमावलीको प्रयोजनको लागि सार्वजनिक विश्लेषक तोक्न सक्नेछः–
(क) केमेष्ट्री वा फूड साईन्स वा बायोलशिकल साईन्समा एम.एस्सी. परीक्षा पास गरी दाना पदार्थ अनुसन्धान वा विश्लेषण कार्यमा दुई वर्षको अनुभव प्राप्त भएको, वा
(ख) केमेष्ट्री विषय लिई बी.एस्सी. परीक्षा पास गरी दाना पदार्थ अनुसन्धान वा विश्लेषण कार्यमा पाँच वर्षको अनुभव प्राप्त गरेको ।
(२) सार्वजनिक विश्लेषकले दाना जाँचकी, मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले विश्लेषण वा परीक्षणको लागि पठाएको दाना पदार्थको नमूनाको विश्लेषण वा परीक्षण गरी त्यसको प्रतिवेदन त्यस्तो जाँचकी, अधिकारी वा अदालतमा पठाउनु पर्नेछ ।
४. दाना पदार्थको विश्लेषण तथा परीक्षण केन्द्रीय खाद्य अनुसन्धानशालाबाट हुनेः (१) ऐन तथा यस नियमावली बमोजिम दाना पदार्थको विश्लेषण वा परीक्षण गराउनु पर्ने पदार्थ त्यस्तो विश्लेषण वा परीक्षण केन्द्रीय खाद्य अनुसन्धानशालाबाट हुनेछ ।
(२) दाना पदार्थको विश्लेषण तथा परीक्षण सम्बन्धमा केन्द्रीय खाद्य अनुसन्धानशालाले देहाय बमोजिम गर्नु पर्नेछः–
(क) ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले जाँचको लागि पठाएको दाना पदार्थको नमूनाको विश्लेषण गरी प्रतिवेदन पठाउने,
(ख) दाना पदार्थ स्तर निर्धारण समितिलाई कुनै दाना पदार्थको स्तर निर्धारण गर्नको लागि सहायतार्थ अनुसन्धान र अन्वेषण गरी प्रतिवेदन प्रस्तुत गर्ने, र
(ग) दाना पदार्थ जाँच गर्ने सम्बन्धमा दाना जाँचकीहरूको तालिमको प्रबन्ध मिलाउने ।
परिच्छेद-३ दाना जाँचकी सम्बन्धी व्यवस्था
५. दाना जाँचकीको प्रमाणपत्रः ऐन बमोजिम नियुक्त गरिएको वा तोकिएको दाना जाँचकीलाई अनुसूची-१ बमोजिमको ढाँचाको परिचयपत्र दिइनेछ ।
६. दाना जाँचकीको योग्यताः दाना जाँचकीको पदमा नियुक्ति हुने व्यक्तिको योग्यता फूड टेक्नोलजी वा ल्याब टेक्नोलजीमा आई. एस्सी. वा सो सरह वा बी. एस्सी. को प्रमाणपत्र प्राप्त भएको हुन पर्नेछ ।
७. दाना जाँचकीको काम कर्तव्यः दाना जाँचकीको काम कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) ऐन वा यस नियमावलीको बखिलाफ दाना पदार्थको उत्पादन वा सञ्चय वा बिक्री वितरण वा ढुवानी गरिएको वा त्यस्तो काम कुरा गर्न लागेको शङ्का लागेमा त्यस्तो दाना पदार्थको नमूना लिई तुरुन्तै विश्लेषण वा परीक्षणको लागि सार्वजनिक विश्लेषक समक्ष पठाउने,
(ख) खण्ड (क) बमोजिम दाना पदार्थको नमूना लिई त्यसको जनाउ अनुसूची-२ बमोजिमको ढाँचामा दाना पदार्थको धनीलाई दिने,
(ग) कुनै व्यक्ति, फर्म वा संस्थाले ऐन वा यस नियमावलीको बखिलाफ कुनै कारवाई गरेको छ भन्ने सूचना प्राप्त भएमा त्यसको छानबीन गर्ने,
(घ) आफूले निरीक्षण गरेको र ऐन वा यस नियमावली बमोजिम कारवाई गरिएको वा जफत भएको दाना पदार्थको अभिलेख राख्ने,
(ङ) स्थानीय अधिकारीको सामान्य नियन्त्रणमा रही ऐन तथा यस नियमावली बमोजिम आफूलाई तोकिएको तथा आफूले गर्नु पर्ने काम कर्तव्य गर्ने ।
८. दाना जाँचकीको अधिकार: (१) दाना जाँचकीले आफ्नो कर्तव्य पालनको सिलसिलामा देहायको अधिकार प्रयोग गर्न सक्नेछः–
(क) दाना पदार्थ उत्पादन गर्ने वा संचय गर्ने वा बिक्री वितरण गर्ने ठाउँहरूबाट दाना पदार्थको नमूना लिने,
(ख) कुनै दाना पदार्थको बिक्री वितरणबाट सरुवा रोग फैलिने सम्भावना छ भन्ने कुरा निजलाई लागेमा र निजको रायमा स्थानीय भेटेरिनेरी अधिकृत समेतको सहमति भएमा स्थानीय अधिकारीको स्वीकृति लिई त्यस्तो दाना पदार्थको बिक्री वितरणमा रोक लगाउने,
(ग) कुनै दाना पदार्थ दूषित छ भन्ने मनासब माफिकको शङ्का भएमा स्थानीय अधिकारीको स्वीकृति लिई त्यस्तो दाना पदार्थ बिक्री वितरण गर्नमा रोक लगाउने,
(घ) दाना पदार्थ जाँच गर्ने सम्बन्धमा कुनै दाना पदार्थ राखेको पोको वा त्यस्तो कुनै माल वस्तु राखिएको घर जग्गामा प्रवेश गर्नु पर्ने भएमा सो घर जग्गाको धनी वा सो ठाउँको जिम्मा लिएका कुनै व्यक्तिको अनुमति लिई र त्यस्तो व्यक्तिले अनुमति नदिएमा सम्बन्धित *गाउँ विकास समिति वा नगरपालिका वा नजिको प्रहरी कार्यालयको प्रतिनिधि साक्षी राखी प्रवेश गर्ने,
(ङ) दाना पदार्थ उत्पादन गर्ने व्यक्तिसँग वा दाना पदार्थ उत्पादन गर्ने ठाउँमा पाइएको अन्य कुनै दाना वा दाना पदार्थमा मिश्रित हुन सक्ने अन्य पदार्थको सम्बन्धमा उत्पादनकर्ताले सन्तोषजनक उपयोग बताउन नसकी सो पदार्थ त्यहाँ रहँदा उत्पादन भई राखेको दाना पदार्थसँग सम्मिश्रण हुन सक्ने सम्भावना देखेमा वा शङ्का लागेमा त्यस्तो पदार्थलाई अविलम्ब त्यहाँबाट हटाउन आदेश दिने,
(च) निकासी पैठारी वा ढुवानी भई राखेको कुनै दाना पदार्थ दूषित छ भन्ने मनासब माफिकको शङ्का लागेमा रोकी यस नियमावली बमोजिम आवश्यक कारवाई गर्ने, र
(छ) विश्लेषण को लागि यस नियमावली बमोजिम लिइएको दाना पदार्थको नमूनालाई कुनै पनि सरकारी वा गैर सरकारी यातायातका साधन वा हुलाकद्वारा विश्लेषण को लागि पठाउने ।
(२) उपनियम (१) को खण्ड (ख), (ग) र (च) बमोजिम गरिएको कारवाईको सूचना दाना जाँच्कीले तुरुन्त स्थानीय अधिकारी र केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख कहाँ पठाउनु पर्नेछ ।
परिच्छेद-४ दाना पदार्थको विश्लेषण
९. दाना पदार्थको नमूना: (१) दाना पदार्थको नमूना लिँदा दाना जाँच्कीले नमूना लिने ठाउँमा नै लगभग पाँच सय ग्रामको दाना पदार्थ दुई खण्डमा लिई बेग्ला बेग्लै पोकामा राखी प्रत्येक पोकामा लाछाप लगाई देहाय बमोजिम गर्नु पर्नेछ:–
(क) एउटा पोका विश्लेषण परीक्षणको लागि सार्वजनिक विश्लेषक समक्ष पठाउने,
(ख) एउटा पोको स्थानीय अधिकारी समक्ष पठाउने ।
(२) उपनियम (१) बमोजिमका पोकाहरू भित्र राखिएका दाना पदार्थ बाहिर निस्कन, चुहन र कुनै बाहिरी चीज वा पदार्थभित्र राख्न नपाउने गरी बनेको र स्वच्छ सफा हुनु पर्छ ।
(३) यस नियमानुसार नमूनाको लागि लिइने दाना पदार्थको कूल परिमाणको प्रचलित मोल दाना जाँच्कीले नतिरी मात्र नमूना लिन पाउनेछ ।
(४) दाना पदार्थ राखिएको पोकामा र त्यसलाई मोडेको बाहिरी आवरणमा समेत दाना पदार्थ राख्ने व्यक्तिको सहिछाप हुनु पर्नेछ ।
(५) उपनियम (४) अनुसार दाना पदार्थ राखिएको पोकामा र यसलाई मोडेको बाहिरी आवरणमा समेत दाना पदार्थ राख्ने व्यक्तिले सहिछाप नगरेमा दाना जाँच्कीले विश्लेषण परीक्षणको लागि सार्वजनिक विश्लेषक समक्ष नमूना पठाउँदा सो कुराको जानकारी समेत सार्वजनिक विश्लेषकलाई र स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।
१०. दाना पदार्थको नमूना पठाउनेः (१) दाना जाँचकी वा मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले विश्लेषण परीक्षणको लागि नमूना पठाउँदा देहाय बमोजिम गरी पठाउनु पर्नेछः–
(क) दाना पदार्थको नमूनालाई अनुसूची-३ मा तोकिए बमोजिमको फारामसाथ संलग्न गरी लाहाछाप लगाई सुरक्षासाथ पठाउनु पर्नेछ ।
(ख) दाना पदार्थको नमूना राखिएको पोकामा र त्यसलाई मोडेको बाहिरी आवरणमा समेत नमूनाको वस्तुको नाम र परिमाण वा संकलनको सांकेतिक संख्या केही भए सो स्पष्ट रूपमा अंकित गर्नु पर्नेछ ।
(ग) खण्ड (क) बमोजिम पठाउने फारामको एउटा प्रतिलिपि र नमूनाको पोको आवरणमा लगाइएको लाहाछापको नमूना छुट्टै खाममा राखी पठाउनु पर्नेछ ।
(घ) नमूना राखिएको पोको बाटोमा नखुल्ने र नचुहिने किसिमबाट बन्द गरी सो पोकालाई बाक्लो कागजमा अन्य बेने पदार्थले बेरी त्यसलाई धागो वा डोरीले बाँधी कम्तीमा विभिन्न चार ठाउँमा असर स्पष्ट बुझिने गरी लाहाछाप लगाउनु पर्नेछ र त्यसरी लाहाछाप लगाउँदा उक्त लाहाछाप नउप्काई त्यस्तो पोका खोल्न नसकिने गरी लगाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको दाना पदार्थको नमूनाको आवरणमा लागेको लाहाछाप ठीक छ छैन भन्ने जाँच गरी त्यसको अवस्थाको अभिलेख राखी सो नमूनाको आवरण केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख वा सार्वजनिक विश्लेषक वा निजले अनुमति दिएको व्यक्तिले खोल्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त हुन आएको दाना पदार्थको नमूनाको विश्लेषण वा परीक्षण गरी त्यसको नतीजा केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख वा सार्वजनिक विश्लेषकले अनुसूची-४ मा तोकिए बमोजिमको फाराममा सम्बन्धित अधिकृतलाई वा अदालतमा पठाउनु पर्नेछ ।
११. दाना पदार्थको जिम्माः (१) दाना जाँचकीले कुनै दाना पदार्थ दूषित छ भन्ने शङ्का लाग्न यस नियमावली बमोजिमको त्यस्तो दाना पदार्थको नमूना लिई सकेपनि सो पदार्थ बिक्री वितरण वा हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्ने देखेंमा स्थानीय अधिकारीको स्वीकृति लिई सो पदार्थको स्टक सम्पूर्ण थ वा शङ्का लागेसम्मको अंशमा लालाछाप लगाई आफ्नो जिम्मामा राख्न सक्नेछ र यसरी जिम्मामा लिएको दाना पदार्थको अनुसूची-५ मा तोकिएको ढाँचाको भरपाई सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आफ्नो जिम्मामा राख्न आवश्यक नपर्ने वा सम्भव नहुने देखेंमा त्यस्तो दाना पदार्थको धनीलाई सो लालाछाप लगाइएको पदार्थ सुरक्षितसाथ राख्ने कागज गराई अनुसूची-६ बमोजिमको ढाँचामा आदेश दिनु पर्नेछ ।
१२. दाना पदार्थ दूषित नठहरिएमा रोक्का रहेको पदार्थ फुकुवा गर्नेः यस नियमावली बमोजिम नमूना लिइएको दाना पदार्थको विश्लेषण वा परीक्षण गर्दा सो दाना पदार्थ दूषित नठहरिएमा मुद्दा परिसकेको नभए दाना जाँचकीले नै दाना पदार्थ फुकुवा वा फिर्ता गर्नेछ ।
१३. मुद्दा दायर गर्नेः (१) यस नियमावली बमोजिम नमूना लिइएको दाना पदार्थ विश्लेषण वा परीक्षण गर्दा दूषित ठहरिएमा दाना जाँचकीले ऐन बमोजिमको स्पष्ट अभियोग र तत्सम्बन्धी सम्पूर्ण विवरण खोली मुद्दा हेर्ने अधिकारी समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(२) ऐन तथा यस नियमावली उल्लंघन गरे बापत कुनै व्यक्ति, फर्म वा संगठित संस्था उपरको कानूनी कारवाईमा मुद्दा हेर्ने अधिकारी र पुनरावेदन सुन्ने अदालतलाई सहयोग गर्नु सम्बन्धित दाना जाँचकीको कर्तव्य हुनेछ ।
१४. दाना पदार्थको पुनः विश्लेषण वा परीक्षणः नियम १३ बमोजिम मुद्दा दायर भई सकेपनि मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले अभियुक्तको निवेदनमा सम्बन्धित दाना पदार्थको पुनः विश्लेषण वा परीक्षण गराउन मनानसब ठहराई नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम रहेको सम्बन्धित दाना पदार्थ पुनः विश्लेषण वा परीक्षणको लागि केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख समक्ष पठाएमा निजले एक पटक पुनः विश्लेषण वा परीक्षण गरी पठाउनु पर्नेछ ।
परिच्छेद-५ दाना स्तर निर्धारण समिति
१५. दाना स्तर निर्धारण समितिको गठन: (१) ऐन तथा यस नियमावलीमा तोकिए बमोजिमको काम गर्नको लागि देहाय बमोजिमको एउटा दाना स्तर निर्धारण समिति (यस पछि यस परिच्छेदमा "समिति" भनिएको) गठन गरिएको छः–
(क) महानिर्देशक, पशु विकास तथा पशु स्वास्थ्य विभाग -अध्यक्ष (ख) प्रमुख खाद्य अनुसन्धान अधिकृत -उपाध्यक्ष (ग) कानून तथा न्याय मन्त्रालयका उपसचिव -सदस्य (घ) कृषि मन्त्रालयका उपसचिव -सदस्य (ङ) उद्योग मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर कार्यालयको वरिष्ठ अधिकृत -सदस्य (च) पशुचिकित्सालयका वरिष्ठ पशु चिकित्सक -सदस्य (छ) उद्योग मन्त्रालयबाट मनोनीत दाना उद्योग व्यवसायी -सदस्य (ज) पशु विकास तथा पशु स्वास्थ्य विभागबाट मनोनीत पशु पंक्षी पालन व्यवसायमा लागेका व्यक्ति -सदस्य (झ) कृषि मन्त्रालय अन्तर्गतका सार्वजनिक विश्लेषक -सदस्य-सचिव
(२) उपनियम (१) खण्ड (छ) र (ज) बमोजिम मनोनीत सदस्यहरुको पदावधि सामान्यतः दुई वर्षको हुनेछ ।
तर मनोनित गर्ने मन्त्रालयले सो अवधि समाप्त भएपछि त्यस्तो सदस्यलाई पुनः मनोनित गर्न वा अवधि नपुग्दै त्यस्तो सदस्यलाई हटाउन सक्नेछ ।
(३) समितिको बैठकमा सम्पूर्ण सदस्य संख्याको आधा भन्दा बढी सदस्यहरु उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको कार्यालय नेपाल सरकारले तोकेको स्थानमा रहनेछ ।
(५) समितिका सदस्यहरुले समितिको बैठकमा भाग लिए बापत नेपाल सरकारबाट निर्धारण भए बमोजिमको बैठक भत्ता पाउनेछन् ।
(६) समितिको बैठकको अन्य कार्यविधि समिति आफैंले व्यवस्थित गर्न सक्नेछ ।
१६. समितिको काम, कर्तव्य र अधिकारः (१) दाना पदार्थको गुणस्तर र मात्रा कुन परिधिभित्रको हुनुपर्दछ भन्ने कुरा निर्धारण गरी सो गुणस्तर मात्र कायम राख्न लगाउने सम्बन्धमा नेपाल सरकारलाई सल्लाह दिनु समितिको कर्तव्य हुनेछ ।
(२) दाना पदार्थको सम्बन्धमा नेपाल सरकारले सल्लाह मागेमा त्यस्तो सल्लाह दिनु समितिको कर्तव्य हुनेछ ।
(३) समितिले चाहेमा कुनै खास कामको लागि उपसमितिहरू गठन गर्न सक्नेछ र त्यस्तो उपसमितिमा समितिका सदस्य नरहेका अन्य व्यक्तिहरू पनि रहन सक्नेछन् । समितिले तोकिदिएको अधिकार प्रयोग गरी उपसमितिले कार्य गर्नेछ ।
परिरिच्छेद-६ अनुज्ञापत्र र अन्य व्यवस्था
१७. दाना पदार्थ बिक्री वितरण गर्ने अनुज्ञापत्रः (१) दाना पदार्थ बिक्री वितरण गर्न चाहिने व्यक्तिले पाँच रुपैयाँ दस्तूर तिरी सम्बन्धित *गाउँ विकास समिति वा नगरपालिकाबाट अनुसूची-७ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ र त्यस्तो अनुज्ञापत्र स्थानीय अधिकारी वा निजले तोकेको कर्मचारी वा दाना जाँचकीले खोजेको बखत देखाउन सक्ने गरी बिक्री स्थलमै राख्नु पर्नेछ ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत दाना पदार्थको व्यवसायमा लागेका व्यक्तिले पनि यो नियमावली प्रारम्भ भएको मितिले ३ महिनाभित्र उपनियम (१) बमोजिम सम्बन्धित *गाउँ विकास समिति वा नगरपालिकाबाट अनुज्ञापत्र लिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम दाना पदार्थको बिक्री वितरण गर्नको लागि अनुज्ञापत्र दिएपछि सम्बन्धित *गाउँ विकास समिति वा नगरपालिकाले त्यसको जानकारी केन्द्रीय खाद्य अनुसन्धानशालालाई दिनु पर्नेछ ।
१८. दाना उद्योगको अनुज्ञापत्र: (१) दाना पदार्थ उत्पादन गर्न चाहने व्यक्तिले उद्योग स्थापना गर्न उद्योग विभागमा निवेदन दिनुभन्दा अगावै केन्द्रीय खाद्य अनुसन्धानशालाको सिफारिस लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सिफारिस लिन चाहने व्यक्तिले स्थापना गर्न चाहेको उद्योगको सम्बन्धमा देहायका कुराहरू खुलाई योजना तयार गरी केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिनु पर्नेछ:–
(क) उद्योगको किसिम, (ख) उद्योगको लागि चाहिने मेसिनरी, (ग) प्राविधिक सीप, (घ) सरसफाईको व्यवस्था, (ङ) कच्चा पदार्थको किसिम र स्रोत, (च) दाना पदार्थको प्याकिङ्ग गर्दा एउटा पोकोको दोहोरो उपयोग गरिने भएमा त्यस्तो पोकामा कीटाणुनाशक औषधी छन्ने (प्यूमिजेसन) व्यवस्था ।
(३) उपनियम (२) बमोजिमको दरखास्त पर्न आएमा केन्द्रीय खाद्य अनुसन्धानशालाले आवश्यकतानुसार प्रस्तावित दाना उद्योगको योजनामा फेरफेर गरी सो अनुसार गर्न कबुलियत गराई दाना उद्योग स्थापना गर्न अनुमति दिनको लागि सिफारिस गर्नेछ ।
(४) दाना उद्योग स्थापना गरिसकेपछि दाना पदार्थको उत्पादन कार्य सुरु गर्नुभन्दा अघि बीस रुपैयाँ तिरी केन्द्रीय खाद्य अनुसन्धानशालाबाट अनुसूची-८ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ ।
(५) यो नियमावली प्रारम्भ हुनु भन्दा अगावै स्थापना भएका दाना उद्योगहरूले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र उपनियम (२) बमोजिमका विवरणहरू खुलाई केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिई बीस रुपैयाँ दस्तूर तिरी अनुसूची-८ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ ।
(६) उपनियम (४) र (५) बमोजिमको अनुज्ञापत्र स्थानीय अधिकारी वा निजले तोकेको कर्मचारी वा दाना जाँचकीले खोजेको बखत देखाउन सक्ने गरी उद्योग स्थलमै राख्नु पर्नेछ ।
१९. उत्पादनमा रोक लगाउन सकिनेः नियम १८ को उपनियम (४) र (५) बमोजिम केन्द्रीय खाद्य अनुसन्धानशालाबाट अनुज्ञापत्र प्राप्त गरी दाना पदार्थको उत्पादन कार्य सुरु भएपछि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट निरीक्षण हुँदा योजनामा उल्लेखित शर्त बमोजिमको व्यवस्था नभएमा वा उत्पादित दाना पदार्थ ऐन बमोजिम निर्धारित गुणस्तरको नभएमा सो शर्त अनुसारको व्यवस्था र गुणस्तरमा सुधार नगरेसम्मको लागि केन्द्रीय खाद्य अनुसन्धानशालाको सिफारिसमा सम्बन्धित स्थानीय अधिकारीले दाना पदार्थको उत्पादनमा रोक लगाउन सक्नेछ ।
२०. छुट्टाछुट्टै अनुज्ञापत्र लिनुपर्नेः एक ठाउँभन्दा बढी ठाउँहरूमा दाना पदार्थ उत्पादन वा बिक्री वितरण गर्न चाहने व्यक्तिले त्यस्तो प्रत्येक ठाउँको लागि छुट्टाछुट्टै दरखास्त दिई यस परिच्छेद बमोजिम अनुज्ञापत्र प्राप्त गर्नु पर्नेछ ।
२१. अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरणः (१) यस परिच्छेद बमोजिम प्राप्त गरेको अनुज्ञापत्र प्रत्येक वर्ष आषाढ मसान्तसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम अनुज्ञापत्र बहाल रहने अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र अर्को आर्थिक वर्षको निमित्त अनुज्ञापत्र दिने अधिकारीबाट अनुज्ञापत्रको नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नवीकरणको लागि दरखास्त दिने व्यक्तिले अनुज्ञापत्रको निमित्त बीस रुपैयाँ नवीकरण दस्तूर बुझाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले अनुज्ञापत्रको नवीकरणको लागि दरखास्त दिन आएमा अनुज्ञापत्र दिने अधिकारीले उपनियम (३) बमोजिम लाग्ने दस्तूरमा देहाय बमोजिमको थप दस्तूर लिई नवीकरण गर्न सक्नेछः–
(क) उपनियम (२) बमोजिमको म्याद नाघेपछि सोही आर्थिक वर्षको आशिन मसान्तसम्मको लागि पाँच रुपैयाँ ।
(ख) खण्ड (क) को म्याद नाघेपछि सोही आर्थिक वर्षको अन्तसम्मको लागि दश रुपैयाँ ।
२२. अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने शर्तहरूः दाना पदार्थ उत्पादन, वा बिक्री वितरण गर्ने अनुज्ञापत्र प्राप्त व्यक्तिले देहायको शर्तहरू पालन गर्नु पर्नेछः–
(क) दाना पदार्थ उत्पादन गर्ने, जमघन गर्ने वा बिक्री गर्ने काममा सरुवा वा संक्रामक रोगबाट पीडित वा फोहोरी व्यक्तिलाई लगाउन हुँदैन ।
(ख) दाना पदार्थ उत्पादन गर्ने, सञ्चय गर्ने वा बिक्री गर्ने ठाउँ साँधै सन्तोषप्रद रूपले सफा सुग्घर राख्नुपर्छ । चर्पी, हिसाबखाना र फोहर वा बेकाभमा मालसामान थुपारी राख्ने ठाउँको अलग व्यवस्था गर्नु पर्नेछ ।
(ग) उत्पादक वा थोक विक्रेताहरूले आफूले उत्पादन गरेको दाना पदार्थको मात्रा, दाना पदार्थ बिक्री वितरणको लागि पठाएको मात्रा र सो दाना पदार्थ कुन कुन ठाउँमा बिक्री वितरण गरिएको हो सो कुरा दर्ता किताबमा उल्लेख गरी राख्नु पर्नेछ ।
२३. दाना पदार्थ राख्ने ठाउँ सम्बन्धमाः दाना पदार्थ तयार गर्ने वा राख्ने ठाउँ परिवहनमा प्रयोग गरिने कुनै पनि पोका देहाय बमोजिमको हुनु पर्नेछः–
(क) सफा सुग्घर तथा टुटफुट नभएको,
(ख) राम्ररी बन्द गरिएको वा धुलो मैला, झिङ्गा, किरा, फट्टिङ्ग्रा आदिबाट बचाउन राम्ररी छोपिएको, र
(ग) दुर्गन्ध, फोहर, मैला, दूषित हावा वा पानी नपस्ने ।
२४. जमानतपत्र प्राप्त खुरा बिक्रेताः ऐनको दफा ७ को उपदफा (२) को प्रयोजनको लागि अनुज्ञापत्र प्राप्त उत्पादक वा थोक बिक्रेताको वा निजको एजेन्टबाट दाना पदार्थको किसिम, गुणस्तर, परिमाण र मूल्य खुलाई दिइएको क्यास मेमो साथमा भएको खुरा बिक्रेतालाई जमानतपत्र प्राप्त खुरा बिक्रेता मानिनेछ ।
२५. अधिकार प्रत्यायोजन गर्न सकिनेः यस परिच्छेद बमोजिम केन्द्रीय खाद्य अनुसन्धानशालालाई प्राप्त अधिकार केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुखले लिखित
रूपमा अख्तियारी दिई नेपाल सरकारको कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।
दृष्टव्य:—केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरू:— “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ५ सँग सम्बन्धित)
परिचय–पत्र
नं. :— मिति :—
दाना जाँचकीको परिचय–पत्र :—
नाम, थर र बतन :—
दस्तखतको नमूना :—
दर्जा :—
द्रष्टव्य :— फोटोमा समेत पर्ने गरी प्रमाणित गर्ने अधिकारीको दस्तखत र कार्यालयको छाप लागेको हुनु पर्नेछ ।
दाना पदार्थ नियमावली, २०४१ को नियम ५ बमोजिम प्रस्तुत व्यक्तिलाई माथि उल्लेखित क्षेत्रको लागि तोकिएको मितिदेखि दाना जाँचकी भै काम गर्न अधिकार प्रदान गरिएको प्रमाणित गरिन्छ ।
दस्तखत :—
प्रमाणित गर्ने अधिकारी :—
कार्यालय :—
द्रष्टव्य:
(१) दाना जाँचकीसँग यो परिचय–पत्र साथमा रहेको हुनु पर्दछ र आवश्यक परी कुनै व्यक्तिले हेर्न चाहेमा देखाउनु पर्नेछ ।
(२) कुनै पनि अवस्थामा यो परिचय–पत्र अरू कुनै व्यक्तिलाई दिन वा प्रत्यायोजन गर्न पाइने छैन ।
(३) दाना जाँचकीले पदबाट राजीनामा गरेमा वा अन्य कुनै कारणले सो पदबाट अवकाश पाएमा यो परिचयपत्र अविलम्ब केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुखलाई फिर्ता बुझाउनु पर्नेछ ।
(नियम ७ को खण्ड (ख) सँग सम्बन्धित)
दाना पदार्थ धनीको नाम, ठेगानाः– ... ... ... ... ... ... ... ... ...... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... मैले आजका मितिमा ... ... ... ... ... .. को .... .... ... ... ... ... ... ... ... ... ... ... ठाउँ स्थित पसल/गोदाम/घर जग्गाबाट तल उल्लेख गरिएको दाना पदार्थ विश्लेषण को लागि नमूना लिएको छु ।
स्थानः–
मितिः–
...... ......... ............ .....
...... ......... ............ .....
...... ......... ............ .....
अनुसूची-३ (नियम १० को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित) दाना पदार्थको नमूना संलग्न गरी पठाउने फाराम
... ... ... ... ... ... ... ... बाट प्रेषित... ... ... ... ... ... ... ... लाई
संख्याः– मितिः–
विश्लेषण को लागि पठाइएको दाना पदार्थको विवरण
१. नमूनाको क्रम संख्याः– २. दाना पदार्थ धनीको नामः– ३. नमूना लिएको मिति तथा स्थानः– ४. जाँच विश्लेषण को लागि प्रेषित पदार्थको विवरणः–
यस पत्रको नक्कल प्रति एक र नमूनाको पोकामा लगाइएको लाहाछापको नमूना छाप छुट्टै हुलाक/ डकुमेण्ट/ मानिस हस्ते पठाइँदै छ ।
... ... ... ... ... ... दाना जाँचकी वा अदालत वा अन्य अधिकारी
(नियम १० को उप—नियम (३) संग सम्बन्धित)
यो प्रमाणित गरिन्छ कि त्यस ... ... ... ... ... ... ... ... .. ... ... कार्यालय अदालतबाट मिति ... ... .... ... ... ... ... ... ... ... ... ... को पत्रसंख्या ... ... ... ... ... ... ... सार् ... ... ... ... ... ... ... प्रयोजनको लागि पठाउनु भएको नम्बर ... ... ... ... ... संकेत गरिएको नमुना पत्रसाथ ... ... ... ... मितिमा प्राप्त भयो र त्यसको विश्लेषण परीक्षण गरियो र विश्लेषण परीक्षणको नतीजाहरू निम्न मुताविक छ ।
... ... ....
प्राप्त नमुनाको पोका र बाहिरी आवरण लगाइएको लाहाछाप (सिल) हरूको अवस्था निम्न मुताविक थियोः–
... ... .... ... ... ... ...
केन्द्रीय खाद्य अनुसन्धानशालाको
प्रमुख वा सार्वजनिक विश्लेषक
कार्यालयको छापः–
मितिः–
कुनै खास विषयको प्रतिवेदन मागिएको भए आवश्यक दफाहरू समावेश गर्न सक्नेछ ।
अनुसूची –५ (नियम ११ को उप–नियम (१) संग सम्बन्धित)
दाना पदार्थको जिम्मा लिंदा दिने भर्पाई
दाना पदार्थको धनीको नाम र ठेगानाः–
दाना पदार्थ नियमावली, २०४१ को नियम ११ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी तपाईको ... ... ... ... ... स्थित पसल/गोदाम/घर/जग्गाबाट तपसीलमा लेखिएको दाना पदार्थको स्टक आजका मितिमा मैले आफ्नो जिम्मामा लिएको छु ।
जिम्मा लिएको स्टकको विवरण ... ... ... ... ... ...क्षेत्रको दाना जाँचकी मितिः–... ... ... ... ... ... ... ...
अनुसूची-६ (नियम ११ को उपनियम (२) संग सम्बन्धित) दाना पदार्थको धनीलाई दिने आदेश
दाना पदार्थ धनीको नाम र ठेगानाः–
तपाईँसित रहेको दाना पदार्थ ... ... ... ... ... ... ... ... ... ... मेरो विचारमा दूषित छ भन्ने लागेकोले यस सम्बन्धी कारवाहीको लागि दाना पदार्थ नियमावली, २०४१ को नियम ११ को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी सो दाना पदार्थको स्टक यस सम्बन्धमा अर्को आदेश नभएसम्म बिक्री वितरण वा अन्य कुनै किसिमसँग हिनामिना हुन नपाउने गरी तपाईले आफ्नो जिम्मामा सुरक्षित राख्नु होला ।
... ... ... ... ... ... क्षेत्रको स्थानः– दाना जाँचकी मितिः– ... ... ... ... ... ... ... ...
अनुसूची-७ (नियम १७ र २१ संग सम्बन्धित) दाना पदार्थ बिक्री वितरण गर्ने अनुज्ञापत्र
सि.नं. पत्र संख्या चलानी नं.:—
१. पसल वा फर्मको नाम:— २. ठेगाना:—
३. पसल/फर्मको हिस्सेदार वा कारबाहीको लागि जिम्मा लिने व्यक्तिको नाम र थर:—
४. बाबुको नाम:— ५. बाजेको नाम:—
६. जन्मस्थान:— ७. स्थायी ठेगाना (वडा नं. समेत):—
८. अस्थायी ठेगाना:— ९. बिक्री वितरण गर्न (वडा नं. समेत) चाहिने दाना पदार्थ नाम:—
१०. हस्ताक्षर:— ११. औंठाको छाप:— दा. बा.
१२. फोटो:— अनुज्ञापत्र दिने अधिकारीको दस्तखत:— $\diamond$ नगर वा गा.वि.स.को नाम:— जिल्ला:— अञ्चल:—
फोटोमा समेत पर्ने गरी दस्तखत तथा कार्यालयको छाप:—
१३. अनुज्ञापत्रको दस्तूर:—
$\diamond$ पहिलो संशोधनद्वारा संशोधित ।
१४. नवीकरण दस्तूर:—
अनुसूची-८
(नियम १८ को उप–नियम (४) र (५) तथा नियम २१ सँग सम्बन्धित)
दाना पदार्थको उत्पादन गर्ने अनुज्ञापत्र
सि.नं. पत्र संख्या र चलानी नं.:–
१. उद्योगको नाम:–
२. ठेगाना:–
३. उद्योगपतिको नाम र थर:–
४. उद्योगको कारबाहीका लागि जिम्मामा लिने व्यक्तिको नाम र थर:–
५. बाबुको नाम:–
६. बाजेको नाम:–
७. स्थायी ठेगाना (वडा नं. समेत):–
८. अस्थायी ठेगाना (वडा नं. समेत):–
९. उत्पादन तथा बिक्री वितरण गर्न चाहेको दाना पदार्थको नाम:–
१०. हस्ताक्षर:–
११. औंठाको छाप:–
१२. फोटो:–
फोटोमा समेत पर्ने गरी दस्तखत तथा कार्यालयको छाप:–
१३. अनुज्ञापत्रको दस्तूर:—
१४. नवीकरण दस्तूर:—
दायाँ बायाँ केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुखको दस्तखत:–