दामासाही सम्बन्धी नियमावली, २०६४
नेपाल राजपत्रमा प्रकाशित मिति २०६४।०८।१७
दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “दामासाही सम्बन्धी नियमावली, २०६४” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले दामासाही सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ।
(ख) “दामासाही सम्बन्धी व्यवसाय” भन्नाले दामासाही सम्बन्धी कारबाही गर्ने सिलसिलामा जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटर भई सञ्चालन गरिने व्यवसाय सम्झनु पर्छ।
(ग) “इजाजतपत्र” भन्नाले दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न नियम १० बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ।
३. दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिनु पर्नेः (१) ऐनको दफा ४ को उपदफा (१) बमोजिमको कुनै व्यक्तिले कुनै कम्पनी उपर दामासाही सम्बन्धी कारबाही गर्न चाहेमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेशको लागि अनुसूची–१ बमोजिमको ढाँचामा अदालत समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिनको लागि नियम ४ बमोजिम ऋण चुक्ता गर्न जारी गरेको सूचना रीतपूर्वक सम्बन्धित कम्पनीलाई बुझाएको पैंतीस दिन पूरा भएको हुनु पर्नेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ४ को उपदफा (१) को खण्ड (ग) वा (घ) बमोजिम कम्पनीको शेयरधनी वा डिबेन्चरधनीले
उपनियम (१) बमोजिम निवेदन दिँदा अदालतले ऐनको दफा ४ को उपदफा (४) बमोजिम तोकेका तथ्यहरू पूरा गर्नु पर्नेछ।
४. ऋण चुक्ता गर्न सूचना दिनु पर्नेः (१) ऐनको दफा ५ बमोजिम ऋण चुक्ता गर्न सूचना दिँदा अनुसूची–२ बमोजिमको ढाँचामा कम्पनीको रजिष्टर्ड कार्यालयलाई सूचना दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाएमा वा रजिस्ट्री गरी हुलाक मार्फत पठाएमा वा त्यस्तो कार्यालयमा राखिएको टेलिफ्याक्स, इ–मेल, टेलेक्स वा यस्तै अन्य विद्युतीय उपकरण मार्फत पठाएमा रीतपूर्वक सूचना तामेल भएको मानिनेछ।
(३) उपनियम (२) बमोजिम सूचना तामेल हुन नसकेमा सम्बन्धित कम्पनीलाई रेडियो, टेलिभिजन वा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा तत् सम्बन्धी सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सकिनेछ। त्यसरी गरिएको सूचनालाई कम्पनीले जानकारी पाएको मानिनेछ।
५. सञ्चालकले प्रतिवेदन दिनु पर्नेः अदालतले दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ गर्न ऐनको दफा १० को उपदफा (३) बमोजिम आदेश दिँदाका बखत वा सोभन्दा एक वर्ष अगाडिको अवधिभित्र कम्पनीको सञ्चालक पदमा बहाल रहेको व्यक्तिले आफू बहाल रहँदाको बखतसम्मको कम्पनीको वित्तीय स्थिति तथा कारोबारको सम्बन्धमा अनुसूची – ३ बमोजिमको ढाँचामा अदालतमा प्रतिवेदन दिनु पर्नेछ।
६. ऋण दाबी पेश गर्न म्याद दिनु पर्नेः लिक्विडेटरले ऐनको दफा ४५ बमोजिम खारेजीमा परेको कम्पनीका साहूहरूलाई अनुसूची–४ बमोजिमको ढाँचामा ऋण दाबी पेश गर्न सूचना दिनु पर्नेछ।
७. साहूले दाबी पेश गर्नु पर्नेः (१) दामासाहीमा परेको कम्पनीको साहूले ऐनको दफा ४८ बमोजिम कम्पनीले भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानी योग्य ऋणको दाबी पेश गर्दा अनुसूची–५ को ढाँचामा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दाबी पेश गर्दा साहूले त्यस्तो दाबीलाई पुष्टी गर्ने कुनै सबुद प्रमाण र सो सम्बन्धी कुनै लिखित भए सो समेत पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले माग गरेका बखत पेश गर्नु पर्नेछ।
८. परिपक्क भई नसकेको दाबीमा छूट दिन सक्नेः पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले सम्बन्धित साहू साँग परामर्श गरी ऐनको दफा ५१ बमोजिम पर्न आएको अपरिपक्क ऋण दाबीमा लाग्ने साधारण व्याजको पचहत्तर प्रतिशतसम्म छूट दिन सक्नेछ।
९. इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेः (१) ऐनको दफा ६४ को उपदफा (१) बमोजिम शर्त पूरा गरी दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त गर्न चाहिने व्यक्तिले अनुसूची–६ बमोजिमको ढाँचामा पाँच सय रूपैयाँ दस्तुर सहित कार्यालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा प्रचलित कानुन बमोजिम नेपाल कानुन व्यवसायी परिषद्, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको संस्थाबाट तत् सम्बन्धी व्यवसाय गर्न कानुन व्यवसायी भए अधिवक्ताको प्रमाणपत्र र अन्य व्यवसायी भए त्यस्तो व्यवसाय गर्न प्राप्त इजाजतपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम दिएको निवेदन साथ वाणिज्य कानुन, व्यापार शास्त्र, व्यवस्थापन, लेखा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातककोपान्डी प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित व्यवसायमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको सबुद समेत संलग्न गर्नु पर्नेछ।
१०. इजाजतपत्र जारी गर्नेः (१) नियम ९ बमोजिम प्राप्त निवेदन उपर कार्यालयले आवश्यक जाँचबुझ गर्नेछ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिनु परे देखेमा पाँच हजार दस्तुर लिई कार्यालयले अनुसूची–७ बमोजिमको ढाँचामा इजाजतपत्र जारी गर्नेछ।
११. इजाजतपत्रको नवीकरणः (१) इजाजतपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सो मितिले पाँच आर्थिक वर्षको अन्त्यसम्म बहाल रहनेछ।
(२) इजाजतपत्र नवीकरण गर्न चाहिने इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा पैंतीस दिन अगावै देहायका कुराहरू खुलाई पाँच सय रूपैयाँ
निवेदन दस्तुर संलग्न गरी इजाजतपत्र नवीकरणको लागि कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) निजले पाँच वर्षसम्म गरेको कार्यको संक्षिप्त विवरण,
(ख) निज वा निज सदस्य भएको पेशागत संस्थाबाट पेश भएको आय विवरण दाखिला भएको प्रमाण,
(ग) निज सदस्य भएको पेशागत संस्थाको सदस्यता नवीकरण भएको प्रमाणपत्र।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकको माग बमोजिम इजाजतपत्र नवीकरण गर्ने मनासिब देखेमा कार्यालयले पाँचहजार रूपैयाँ नवीकरण दस्तुर लिई इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ।
(४) उपनियम (२) बमोजिमको म्याद नाघेको साठी दिनभित्र कुनै इजाजतपत्र प्राप्त व्यक्तिले दस हजार रूपैयाँ इजाजतपत्र नवीकरण विलम्ब दस्तुर संलग्न गरी इजाजतपत्र नवीकरणको लागि निवेदन दिएमा कार्यालयले त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ।
(५) उपनियम (४) बमोजिमको म्यादभित्र पनि इजाजतपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ।
१२. दामासाही प्रशासन कार्यालयको अन्य काम, कर्तव्य र अधिकारः ऐनको दफा ६५ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त दामासाही प्रशासन कार्यालयको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्र अनुसारको काम गरेको देखेमा इजाजतपत्र निलम्बन वा बदर गर्ने अदालत समक्ष प्रतिवेदन गर्ने,
(ख) इजाजतपत्र प्राप्त व्यक्तिको र इजाजतपत्र निलम्बन, बदर वा खारेज भएको अद्यावधिक अभिलेख राख्ने।
१३. रकम लगानीका क्षेत्रः ऐनको दफा ६९ को उपदफा (१) बमोजिम खोलिएको खातामा जम्मा भएको बचत रकम देहायको क्षेत्रमा लगानी गर्नु पर्नेछः–
(क) नेपाल सरकारको ऋणपत्र,
(ख) छ महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप,
(ग) पुनर्संरचना कार्यक्रम।
१४. कम्पनीको दर्ता खारेजी: (१) कम्पनीको खारेजीको काम कारबाही सम्पन्न भएपछि ऐनको दफा ४७ अनुसार त्यस्तो कम्पनीको दर्ता खारेजीको लागि लिक्विडेटरले त्यस्तो काम कारबाही सम्पन्न भएको मिति सात दिनभित्र सोको आवश्यक विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयले त्यस्तो कम्पनी खारेजी भएको व्यहोरा अभिलेख गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम विवरण अभिलेख गरिएपछि त्यस्तो कम्पनीको दर्ता खारेज भई स्वतः विघटित भएको मानिनेछ।
(४) कम्पनी रजिष्ट्रारको कार्यालयले उपनियम (३) बमोजिम कम्पनीको दर्ता खारेजी गरेपछि कम्पनी विघटित भएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा दुई पटक प्रकाशन गर्नु पर्नेछ।
१५. अनुसूचीमा हेरफेर वा घटघट गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा घटघट गर्न सक्नेछ।
१६. बचाउ: यो नियमावली प्रारम्भ हुनुभन्दा अघि प्रचलित कानून बमोजिम गरिएको लिक्विडेसन सम्बन्धी काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची–१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
श्री ............. अदालतमा चढाएको निवेदन
विषय: दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेश पाऊँ ।
देहायको कम्पनी दामासाहीमा परेकोले देहाय बमोजिमको विवरण खुलाई दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेशको लागि यो निवेदन गर्दछु / गर्दछौं :–
विवरण
१. दामासाहीमा परेको कम्पनीको नाम र ठेगानाः
२. निवेदन दिनु पर्ने कारणः (क) (ख) (ग)
३. कम्पनीको वित्तीय स्थितिको संक्षिप्त विवरणः (क) (ख) (ग)
४. कम्पनी दामासाहीमा परेको व्यहोरा पुष्टि हुने प्रमाणः (क) (ख) (ग)
५. अन्य आवश्यक कुराहरु:
(क)
(ख)
(ग)
माथि उल्लिखित विवरणको आधारमा उल्लिखित कम्पनी दामासाहीमा परेको स्पष्ट छ ।
यसर्थ उल्लिखित कम्पनी उपर दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेश पाऊँ । यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदकको,– दस्तखत: नाम: मिति:
संलग्न कागजात,– १. २. ३. ४. ५.
अनुसूची–२ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
कम्पनीलाई साहूले ऋण चुक्ता गर्न जारी गरेको सूचना
श्री ................ कम्पनी प्रा.लि. / लि. ................................ (कं.को रजिष्टर्ड ठेगाना उल्लेख गर्ने)
महाशय,
तपाई ऋणी ............................ कम्पनी प्रा.लि./लि.ले मिति .................. का दिन म ................... बाट रू. ............... (अक्षरे रुप ................................... ) ऋण लिई ................ साल ......... महिना ....... गतेभित्र चुक्ता गर्नेछु भनी हामी दुई पक्ष बीच भएको मिति ......................... को लिखतमा उल्लेख भए अनुरूप हाल मिति .................. गतेसम्म पनि रकम चुक्ता नगरेको हुनाले उक्त मितिदेखि आजसम्म भुक्तानी गर्न बाँकी रू. .......... (अक्षरे रुप ..............................) र सोमा लाग्ने ....... प्रतिशत व्याज सहित जम्मा रू. ...............( अक्षरे रुप ..................................... ) यो सूचना पाएको मितिले ३५ दिनभित्र मेरो ........................बैङ्क स्थित खाता नं. .................मा जम्मा गरी सोको अर्धकट्टी भौचर लिई मेरो निम्न ठेगानामा बुझाउन ल्याउन हुन सूचित गरिन्छ।
साहू वा निजबाट अख्तियार प्राप्त व्यक्तिको,–
दस्तखत: नाम, थर: ठेगाना: मिति:
अनुसूची–३ (नियम ५ सँग सम्बन्धित)
.................. अदालतमा चढाएको कम्पनीको वित्तीय स्थिति र कारोबारको प्रतिवेदन ।
म ................ कम्पनीको सञ्चालक पदमा मिति ............. देखि शख ........... सम्म बहाल रहेकोले दामासाही सम्बन्धी ऐन, २०६३ को दफा १६ तथा दामासाही सम्बन्धी नियमावली, २०६४ को नियम ५ प्रयोजनको लागि कम्पनीको मिति ............... देखि शख .............. सम्मको वित्तीय स्थिति तथा कारोबारको सम्बन्धमा देहाय बमोजिमको प्रतिवेदन पेश गरेको छु ।
(१) कम्पनीको मिति .............. को वासलात अनुसार कुल सम्पत्ति रू. ................... रहेकोमा सो मध्ये कुल स्थिर सम्पत्ति रू. ..............., कुल चालू सम्पत्ति (Current Assets) रू. .............., र कुल अन्य सम्पत्ति रू. .................. रहेको देखिन्छ।
(२) कम्पनीको मिति ..................... को वासलात अनुसार कुल पूँजी तथा दायित्व रू. .............. रहेकोमा सो मध्ये कुल शेयरधनीको कोष (Shareholders Fund) रू. .......... कुल दीर्घकालीन ऋण दायित्व रू. ..........., कुल चालू दायित्व (Current Liabilities) रू. ............... र कुल अन्य दायित्व रू. ............ रहेको देखिन्छ।
(३) कम्पनीको चालू आर्थिक वर्ष ........ को मिति ........... सम्मको अवधिको नाफा/ नोक्सान हिसाब अनुसार कुल नाफा/नोक्सान रू. .............. भएको देखिन्छ।
(४) कम्पनीको सम्पूर्ण सम्पत्तिलाई बजारमा बिक्री गर्दा प्राप्त हुने अनुमानित रकमबाट कम्पनीको कुल दायित्व चुक्ता हुन सक्ने वा नसक्ने ................................
(५) ........................... सम्म गरिएका महत्त्वपूर्ण कारोबारको विवरणः (क) (ख) (ग)
(६) अन्य आवश्यक कुराहरू।
यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
प्रतिवेदक दस्तखतः सञ्चालकको नामः मितिः
अनुसूची–४ (नियम ६ सँग सम्बन्धित)
ऋण दाबी पेश गर्ने कम्पनीका साहूहरूलाई जारी गरिएको पत्र दिने सूचना
मिति ............ मा ............. अदालतबाट ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) बमोजिम कम्पनीलाई खारेज गर्ने आदेश भएकोले सो कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहूहरूले देहायको विवरण उल्लेख गरी यो सूचना प्रकाशित भएको पत्र दिनभित्र आफ्नो ऋण दाबी पेश गर्ने सम्बन्धित सबैको जानकारीको लागि सूचना जारी गरिएको छ।
(१) ऋण दिने साहूको नामः (२) ऋण दिएको मितिः (३) ऋण दिनु परेको कारणः (४) ऋण भुक्तान योग्य भए नभएको व्यहोराः (५) ऋण दाबीमा कुनै किसिमबाट हक पुगेको भए सो हकदाबी पुग्ने प्रमाण तथा कागजातः (६) ऋण दाबी प्रमाणित हुने प्रमाण तथा कागजातः (७) कम्पनीले भुक्तान गर्नु पर्ने ऋण रकमको देहाय बमोजिमको विस्तृत विवरणः (क) सुरुमा लिएको ऋणः (ख) चुक्ता गरेको साँवा, व्याज र मितिः (ग) ऋण दाबी गरेको मितिसम्मको बक्यौताः (८) अन्य आवश्यक कुराहरू
सूचना जारी गर्ने लिक्विडेटरको,– दस्तखतः नामः मितिः
अनुसूची–५ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) कम्पनीले भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानीययोग्य ऋणको दाबी।
श्रीमान् पुनर्संरचना व्यवस्थापक/ लिक्विडेटरज्यू ................................. लि. / प्रा.लि. (.............................. ठेगाना)
मिति .......... मा ऋण दाबी पेश गर्नका लागि जारी गरेको सूचनाका सम्बन्धमा देहायको विवरण खुलाई कम्पनीले मलाई भुक्तानी गर्न बाँकी रहेको वा भुक्तानीययोग्य ऋणको दाबी देहाय बमोजिम पेश गरेको छु ।
(१) ऋण दिने साहूको नामः
(२) ऋण दिएको मितिः
(३) ऋण दिनुपर्ने कारणः
(४) ऋण भुक्तान योग्य भए नभएको व्यहोराः
(५) ऋण दाबीमा कुनै किसिमबाट हकदाबी पुगे आएको भए सो हकदाबी पुग्ने प्रमाण तथा कागजातः
(६) ऋण दाबी प्रमाणित हुने प्रमाण तथा कागजातः
(७) कम्पनीले भुक्तानी गर्नु पर्ने ऋण रकमको देहाय बमोजिमको विस्तृत विवरणः (क) सुरुमा लिएको ऋणः (ख) कम्पनीले चुक्ता गरेको साँवा व्याज र मितिः (ग) ऋण दाबी गरेको मितिसम्म भुक्तान पाउनु पर्ने बक्यौताः
(८) अन्य आवश्यक कुराहरुः
ऋण दाबी पेश गर्ने साहूको,– दस्तखतः नामः ठेगानाः मितिः
अनुसूची–६ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
श्री दामासाही प्रशासन कार्यालय, ............................... विषय : दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र पाऊँ ।
महाशय, मलाई दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इच्छा भएकोले देहाय बमोजिमको विवरण खुलाई इजाजतपत्र दस्तुर समेत यसै साथ संलग्न गरी दामासाही सम्बन्धी व्यवसायीको इजाजतपत्र पाउनका लागि यो निवेदन पेश गरेको छु ।
(१) इजाजतपत्र प्राप्त गर्न चाहने व्यक्तिको,– (क) नामः (ख) उमेरः (ग) शैक्षिक योग्यताः (घ) पेशागत संस्थाः (ङ) बसोबास गरेको स्थानः (च) अनुभवः
(२) अन्य आवश्यक कुराहरुः (क) (ख) (ग)
यसमा लेखिएको व्यहोरा ठीक साँचो छ झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
निवेदक,– दस्तखतः मितिः
संलग्न कागजातः १. २. ३. ४. ५.
अनुसूची–७ (नियम १० को उपनियम (२) सँग सम्बन्धित)
दामासाही प्रशासन कार्यालय ...............................
दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र
इजाजतपत्र नं. मिति:
दामासाही सम्बन्धी ऐन, २०६३ तथा दामासाही सम्बन्धी नियमावली, २०६४ बमोजिम तपाईं ............................................ लाई दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न पाउने गरी यो इजाजतपत्र दिइएको छ।
(१) इजाजतपत्र प्राप्त गर्नेको,– इजाजतपत्र प्रदान गर्ने अधिकारीको,–
दस्तखतः दस्तखतः
नामः नामः
उमेरः पदः
शैक्षिक योग्यताः मिति:
बसोबास गरेको ठेगानाः
पेशागत संस्थाः
(२) इजाजतपत्र बहाल रहने अवधिः .........................................
नवीकरण