दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली, २०७४ नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।०६।२५
दूरसञ्चार ऐन, २०५३ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय व्यहोरा प्रसङ्गले अको अर्थ नलागेमा यस नियमावलीमा,- (क) “अनुमतिपत्र” भन्नाले दूरसञ्चार पूर्वाधार सेवाको निर्माण तथा सञ्चालनको लागि प्रदान गरिएको नियम ६ बमोजिमको अनुमतिपत्र सम्झनु पर्छ। (ख) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले दूरसञ्चार पूर्वाधार सेवाको निर्माण तथा सञ्चालनको लागि प्रदान गरिएको नियम ६ बमोजिमको अनुमतिपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ। (ग) “ऐन” भन्नाले दूरसञ्चार ऐन, २०५३ सम्झनु पर्छ। (घ) “ठूला पूर्वाधार” भन्नाले दूरसञ्चार सेवामा प्रयोग हुने सात मिटरभन्दा अग्ला टावर र व्यापकताको रुपमा रहने अप्टिकल फाइबर सम्झनु पर्छ र सो शब्दले प्राधिकरणको सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका दूरसञ्चार पूर्वाधार समेतलाई जनाउँछ। (ङ) “दूरसञ्चार पूर्वाधार” भन्नाले दूरसञ्चार सेवामा प्रयोग हुने जग्गा, भवन, टावर, बीटीएस एसल्टर, ऊर्जा आपूर्ति (पावर सप्लाई), जेनेरेटर, ब्याट्री, एयर कन्डिसनर, अग्निनिरोधक, अप्टिकल फाइबर, राईट अफ वे, पोल, डक्ट, ट्रेन्च जस्ता अविद्युतीय (ननइलेक्ट्रोनिक्स) पूर्वाधार तथा सुविधा सम्झनु पर्छ।
(च) “दूरसञ्चार पूर्वाधार सेवा” भन्नाले नेपाल सरकारले ऐनको दफा २३ को उपदफा (२) बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको दूरसञ्चार पूर्वाधार सेवा सम्झनुपर्छ। (छ) “सेवा प्रदायक” भन्नाले ऐन बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ। (ज) “मन्त्रालय” भन्नाले सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनुपर्छ। (झ) “सहप्रयोग” भन्नाले दूरसञ्चार पूर्वाधारमा एकभन्दा बढी सेवा प्रदायकको संयुक्त प्रयोग सम्झनुपर्छ।
परिच्छेद-२ अनुमतिपत्र सम्बन्धी व्यवस्था
३. अनुमतिपत्र नलिई दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्न नहुनेः (१) कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार पूर्वाधारको निर्माण तथा सञ्चालन गर्दैन। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमति प्राप्त व्यक्तिले दूरसञ्चार पूर्वाधार निर्माण गर्न प्रारम्भ गरेको निश्चित समय सेवा प्रदायकलाई ठूला पूर्वाधारको निर्माण तथा सञ्चालन पाउने गरी अनुमतिपत्र प्रदान गरिने छैन। तर सेवा प्रदायकले ठूला पूर्वाधार निर्माण गर्नका लागि सम्झौता गरिसकेको अवस्थामा यो नियमले बाधा पुर्याएको मानिने छैन। (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत दूरसञ्चार पूर्वाधार निर्माण गरिसकेका सेवा प्रदायकले त्यस्तो दूरसञ्चार पूर्वाधारको सञ्चालन तथा व्यवस्थापन गर्न अनुमतिपत्र लिनुपर्ने छैन। (४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको पचहत्तर प्रतिशतभन्दा बढी शेयर लगानी गरिएको सेवा प्रदायकले दूरसञ्चार पूर्वाधार सेवाको निर्माण तथा सञ्चालन गर्न जुनसुकै बखत अनुमतिपत्रको लागि प्राधिकरण समक्ष आवेदन दिन सक्नेछ। (५) उपनियम (४) बमोजिम आवेदन परेमा प्राधिकरणले दूरसञ्चार पूर्वाधार सेवाको निर्माण तथा सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम प्राधिकरणले दूरसञ्चार पूर्वाधार सेवाको निर्माण तथा सञ्चालन गर्न अनुमतिपत्र दिन नियम ५ र ६ तथा नियम ८ को उपनियम (२) मा भएको व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
४. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः (१) प्राधिकरणले राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा कम्तीमा पैंतीस दिनको अवधि तोकी दूरसञ्चार पूर्वाधार सेवाको अनुमति प्राप्त गर्न चाहने व्यक्तिको लागि आवेदन माग गरी अंग्रेजी भाषामा सूचना प्रकाशन गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम कुनै पनि आवेदन दाता हुन नआएमा वा एउटा मात्र आवेदन दाता भएमा पुनः दिनको म्याद दिई पुनः सूचना प्रकाशन गर्नु पर्नेछ । (३) दूरसञ्चार पूर्वाधार सेवाको अनुमतिपत्र लिन चाहने व्यक्तिले उपनियम (१) बमोजिम सूचना प्रकाशित भएको अवधिभित्र अनुसूची-१ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ । तर सेवा प्रदायकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक प्रतिशतभन्दा बढी लगानी गरेको व्यक्ति अनुमतिपत्रको लागि निवेदन दिन योग्य हुने छैन ।
५. अनुमतिपत्रको लागि आवश्यक पुँजी, प्राविधिक निपुणता, अनुभव र लगानीः (१) अनुमतिपत्र प्राप्त गर्न आवश्यक परे न्यूनतम पुँजी, प्राविधिक निपुणता तथा अनुभव अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनु पर्नेछ । (२) अनुमतिपत्र प्राप्त गर्नको लागि निवेदन दिने व्यक्ति विदेशी भए त्यस्तो व्यक्तिले निर्माण गर्न चाहेको दूरसञ्चार पूर्वाधार सेवा सम्बन्धी कुल लगानीको कम्तीमा बीस प्रतिशत लगानी नेपाली नागरिकको हुनु पर्नेछ ।
६. अनुमतिपत्र दिनु पर्नेः (१) नियम ४ बमोजिम निवेदन प्राप्त भएपछि प्राधिकरणले निवेदकको प्राविधिक र आर्थिक योग्यता तथा क्षमतालाई आधार मानी मूल्याङ्कन गर्नेछ । (२) उपनियम (१) बमोजिम गरिने मूल्याङ्कनको सूचक, आधार तथा अन्य कार्यविधि प्राधिकरणले तोके बमोजिम हुनेछ । (३) उपनियम (१) बमोजिम मूल्याङ्कन गर्दा निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखिएमा अनुसूची-३ बमोजिमको ढाँचामा प्राधिकरणले अनुमतिपत्र दिनु पर्नेछ ।
७. अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने सर्तहरूः अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका सर्तहरू पालना गर्नु पर्नेछः-
(क) प्राधिकरणले निर्धारण गरेको गुणस्तर अनुसारको दूरसञ्चार पूर्वाधारको व्यवस्था गरी सेवा प्रदायकलाई दूरसञ्चार पूर्वाधार सेवा उपलब्ध गराउनु पर्ने, (ख) दूरसञ्चार पूर्वाधार कुनै कारणले बिग्रिएमा प्राधिकरणले तोकिदिएको स्तर अनुरूप निःशुल्क रुपमा मर्मत सम्भार गर्नु पर्ने, (ग) दूरसञ्चार सेवा प्रदायकसँग गरिएको सम्झौता अनुरूप दूरसञ्चार पूर्वाधार सेवा उपलब्ध गराउनु पर्ने, (घ) अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले दूरसञ्चार सेवा सञ्चालिका सम्बन्धमा तोकिदिएको न्यूनतम स्तर अनुरूप हुने गरी दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्नु पर्ने, (ङ) अनुमतिपत्र प्राप्त व्यक्ति र सहप्रयोगकर्ता बीच हुने सम्झौताका शर्तहरु र सेवाको शुल्क सम्बन्धमा प्राधिकरणबाट तोकिएको मापदण्ड अनुरूप हुनु पर्ने, (च) अनुमतिपत्रमा तोके बमोजिमको क्षेत्रमा सेवा सञ्चालन तथा विस्तार गर्नु पर्ने, (छ) अनुमतिपत्र प्राप्त गरेको दुई वर्षभित्र कम्तीमा दुईसयटा दूरसञ्चार टावर निर्माण या प्राप्त गर्नु पर्ने, (ज) दूरसञ्चार पूर्वाधार सेवा सञ्चालिका सम्बन्धमा प्राधिकरणले तोकेका अन्य शर्तहरु पालना गर्नु पर्ने।
८. अनुमतिपत्रको संख्या र अवधिः (१) पूर्वाधार सेवाको विकासको लागि पहिलो पटक दुईटा अनुमतिपत्र प्रदान गरिनेछ। (२) उपनियम (१) बमोजिम कुनै पूर्वाधार सेवाको अनुमतिपत्र दिइसकेपछि पाँच वर्षसम्म त्यस्तो दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्न अर्को अनुमतिपत्र दिइने छैन। तर अनुमति प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको दूरसञ्चार पूर्वाधार सेवा उपलब्ध गराउन नसकेमा या वस्तुगत मूल्याङ्कनको आधारमा त्यस्तो दूरसञ्चार पूर्वाधार सेवाको थप आवश्यकता छ भन्ने देखिएमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप अनुमति दिइयस उपनियमले बाधा पुर्याएको मानिने छैन। (३) अनुमतिको अवधि बढीमा पच्चीस वर्षको हुनेछ। तर एक पटकमा पाँच वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिइने छैन।
(४) अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिको अवधि समाप्त हुनु तीन महिना अगावै अनुमतिपत्र नवीकरणको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन परेमा एक पटकमा पाँच वर्षमा नबढाई अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ।
९. अनुमतिपत्र र नवीकरण दस्तुर: अनुमतिपत्र दस्तुर तथा अनुमतिपत्र नवीकरण दस्तुर देहाय बमोजिम हुनेछः- (क) अनुमतिपत्रको लागि सात करोड पचास लाख रुपैयाँ। (ख) अनुमतिपत्र नवीकरणको लागि पाँच करोड रुपैयाँ।
१०. सेयर बिक्री गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार पूर्वाधारको बीस प्रतिशत तथा सोभन्दा बढी सेयर बिक्री गर्नु परेमा प्राधिकरणको स्वीकृति लिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम सेयर बिक्री गर्दा प्राधिकरणले तोके बमोजिमको दूरसञ्चार सम्बन्धी अनुभव प्राप्त गरेको व्यक्तिलाई मात्र बिक्री गर्न सकिनेछ। (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र प्राप्त गरेको दुई वर्षसम्म र नियम ७ को खण्ड (छ) बमोजिमको शर्त पूरा नगरेसम्म बीस प्रतिशत तथा सोभन्दा बढी सेयर बिक्री गर्न पाउने छैन।
परिच्छेद-३ दूरसञ्चार पूर्वाधारको निर्माण
११. ठूला पूर्वाधार निर्माण गर्दा स्वीकृति लिनु पर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले ठूला पूर्वाधार निर्माण गर्नको लागि अनुसूची-४ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकलाई ठूला पूर्वाधार निर्माण गर्न स्वीकृति दिन मनासब् देक भएमा प्राधिकरणले सो निवेदन प्राप्त गरेको तीस दिनभित्र अनुसूची-५ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ। (३) उपनियम (२) बमोजिम स्वीकृति दिनु अघि प्राधिकरणले आवश्यक ठानेमा निवेदकसँग थप विवरण वा कागजात माग गर्न सक्नेछ र त्यस्तो विवरण वा कागजात उपलब्ध गराउनु निवेदकको कर्तव्य हुनेछ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ठूला पूर्वाधार निर्माण गर्न प्रस्ताव गरिएको स्थानमा सहप्रयोग गर्न सकिने दूरसञ्चार पूर्वाधार उपलब्ध भएमा नयाँ पूर्वाधार निर्माण गर्न स्वीकृति दिइने छैन । तर त्यस्तो पूर्वाधारको क्षमता कमी भएमा वा वैकल्पिक रुपमा वा आपत्कालीन अवस्थामा सो पूर्वाधार प्रयोग गर्न आवश्यक परेमा अनुमतिपत्र प्राप्त व्यक्तिलाई ठूला पूर्वाधार निर्माण गर्न स्वीकृति प्रदान गर्न सकिनेछ । (५) उपनियम (२) बमोजिम ठूला पूर्वाधार निर्माण गर्न स्वीकृति दिँदा प्राधिकरणले तोकेको मापदण्ड बमोजिम कम्तीमा तीनटा सेवा प्रदायकले ठूला पूर्वाधार सहप्रयोग गर्न सक्ने गरी स्वीकृति दिनुपर्नेछ । तर प्राविधिक वा व्यावसायिक दृष्टिले तीन वा तीनभन्दा बढी सेवा प्रदायकले ठूला पूर्वाधार सहप्रयोग गर्न नसक्ने भएमा प्राधिकरणले त्यस्तो ठाउँमा सोभन्दा कम सेवा प्रदायकले ठूला पूर्वाधार प्रयोग गर्न सक्ने गरी स्वीकृति दिन सक्नेछ । (६) यस नियम बमोजिम ठूला पूर्वाधार निर्माण गर्न स्वीकृति दिँदा प्राधिकरणले आवश्यक शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।
१२. विशेष स्थानमा दूरसञ्चार पूर्वाधार निर्माण गर्न स्वीकृति लिनु पर्नेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त व्यक्ति तथा सेवा प्रदायकले विशेष स्थानमा दूरसञ्चार पूर्वाधार निर्माण गर्नु अघि प्राधिकरणको स्वीकृति लिनु पर्नेछ । स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “विशेष स्थान” भन्नाले सुरक्षा वा अन्य कारणले भौतिक निर्माणका काम गर्न नियन्त्रण गरिएका पुरातात्विक स्थल वा प्राचीन स्मारक स्थल वा विशेष भौगोलिक कारणले प्रचलित कानून बमोजिम दूरसञ्चार पूर्वाधार निर्माण गर्न प्राविधिक रुपमा कठिन हुने भनी प्राधिकरणको सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्थान सम्झनु पर्छ । (२) विशेष स्थानमा दूरसञ्चार पूर्वाधार निर्माण तथा प्रयोग गर्ने सम्बन्धमा प्राधिकरणले आवश्यक शर्त तोक्न सक्नेछ । (३) उपनियम (१) बमोजिम स्वीकृति दिनु अघि प्राधिकरणले सम्बन्धित निकायबाट सहमति लिनु पर्नेछ ।
१३. स्थानान्तरण तथा पुनर्विकास गर्न सक्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्ति तथा नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकले दूरसञ्चार पूर्वाधारको स्थानान्तरण तथा पुनर्विकास गर्न सक्नेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ठूला पूर्वाधारको स्थानान्तरण तथा पुनर्विकास गर्नु अघि प्राधिकरणको स्वीकृति लिनु पर्नेछ। (३) अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकले सहप्रयोग गरेको दूरसञ्चार पूर्वाधारको स्थानान्तरण तथा पुनर्विकास गर्दा सहप्रयोगकर्ताको सहमति लिनु पर्नेछ। (४) उपनियम (३) बमोजिम सहमति प्राप्त हुन नसकेमा अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकको अनुरोधमा प्राधिकरणले सहप्रयोगकर्ताको सेवाको निरन्तरतालाई सुनिश्चित हुने गरी त्यस्तो दूरसञ्चार पूर्वाधारको स्थानान्तरण तथा पुनर्विकास गर्न स्वीकृति दिनेछ।
१४. पूर्वाधारको विवरण सार्वजनिक गर्नु पर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले निर्माण गरेको दूरसञ्चार पूर्वाधारको विवरण त्यस्तो पूर्वाधार निर्माण भएको तीस दिनभित्र आफ्नो वेबसाइटमा राखी सार्वजनिक गर्नु पर्नेछ र सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ। (२) नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकले सहप्रयोग हुन सक्ने आफ्नो दूरसञ्चार पूर्वाधारको विवरण यो नियमावली प्रारम्भ भएको तीन महिनाभित्र आफ्नो वेबसाइटमा राखी सार्वजनिक गर्नु पर्नेछ र सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।
१५. खरिद गर्न वा लिजमा लिन सक्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकको दूरसञ्चार पूर्वाधार आपसी सहमतिमा तय भएको मूल्यमा खरिद गर्न वा लिजमा लिन सक्नेछ। (२) उपनियम (१) बमोजिम ठूला पूर्वाधार खरिद गर्नु वा लिजमा लिनु अघि अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणको स्वीकृति लिनु पर्नेछ। (३) अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार खरिद गरेको वा लिजमा लिएको तीस दिनभित्र प्राधिकरणलाई जानकारी दिनु पर्नेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अनुमतिपत्र प्राप्त व्यक्तिले अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको दूरसञ्चार पूर्वाधार खरिद गर्न वा लिजमा लिन हुँदैन।
परिच्छेद-४ दूरसञ्चार पूर्वाधारको सहप्रयोग
१६. सहप्रयोग गर्न सक्ने: (१) सेवा प्रदायकले अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकसँग सम्झौता गरी दूरसञ्चार पूर्वाधारको सहप्रयोग गर्न सक्छ। (२) उपनियम (१) बमोजिम सम्झौता भएमा सम्झौता गर्ने पहिले तीस दिनभित्र प्राधिकरणलाई त्यसको जानकारी दिनु पर्छ। (३) अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकले पूर्वाधारको सहप्रयोग गर्दा दिँदा सेवा प्रदायकहरूबीच भेदभाव हुने र स्वच्छ प्रतिस्पर्धामा प्रतिकूल हुने गरी कुनै कार्य गर्न हुँदैन। (४) उपनियम (३) विपरीत अनुमतिपत्र प्राप्त व्यक्ति वा सेवा प्रदायकले कुनै सेवा प्रदायकलाई सहप्रयोग गर्न भेदभाव गरेमा त्यसरी भेदभाव गरिएको सेवा प्रदायकले प्राधिकरण समक्ष निवेदन दिन सक्छ। (५) उपनियम (४) बमोजिम निवेदन प्राप्त भएमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी पैँतीस दिनभित्र उपयुक्त आदेश दिनु पर्छ। (६) उपनियम (५) बमोजिम दिइएको आदेशको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा सेवा प्रदायकको कर्तव्य हुन्छ।
१७. सक्रिय पूर्वाधारको सहप्रयोग हुन नसक्ने: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त व्यक्ति तथा सेवा प्रदायकले सक्रिय पूर्वाधारको सहप्रयोग गर्न वा गराउन सक्दैन।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “सक्रिय पूर्वाधार” भन्नाले बेस ट्रान्समिटर स्टेशन (बीटीएस), नोड बी, इनोड बी, रेडियो स्पेक्ट्रम, एन्टेना, फिडर केबल, रेडियो एक्सेस नेटवर्क (आरएएन), माइक्रोवेभ रेडियो उपकरण, बिलिङ्ग प्लेटफर्म, स्विचिङ्ग प्रणाली, राउटर, बेस स्टेशन कंट्रोलर (बीएससी) लाई सम्झनु पर्छ।
कन्ट्रोलर (बीएससी), रेडियो नेटवर्क कन्ट्रोलर (आरएनसी) जस्ता विद्युतीय (इलेक्ट्रोनिक्स) पूर्वाधार र तत्त्व सम्बन्धी सुविधा सम्झनु पर्छ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पूर्वाधारको लागत, नेपाल सरकारलाई प्राप्त हुने राजस्व तथा उपभोक्ताको हितका दृष्टिले उपयुक्त देखिएमा प्राधिकरणको सिफारिसमा आवश्यक सेवा, शर्त तथा कार्यविधि तोकी मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सक्रिय पूर्वाधारको समेत सहप्रयोग हुन सक्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।
१८. सहप्रयोगको मूल्य निर्धारणः (१) अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकबीच सहप्रयोग गरे बापत लाग्ने मूल्य पक्षहरुको आपसी सहमतिबाट निर्धारण हुनेछ। (२) उपनियम (१) बमोजिम पक्षहरुबाट सहप्रयोगको मूल्य निर्धारण हुन नसकेमा सोको कारण खुलाई कुनै सहप्रयोगकर्ताले प्रस्तावित मूल्य सहित प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ। (३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा प्राधिकरणले आवश्यक जाँचबुझ तथा सम्बन्धित पक्षसँग परामर्श गरी सहप्रयोग बापतको मनासब मूल्य निर्धारण गर्नेछ र यसरी प्राधिकरणले निर्धारण गरेको मूल्य अन्तिम हुनेछ। (४) प्राधिकरणले यस नियम बमोजिम मूल्य निर्धारण गर्ने सम्बन्धमा आवश्यक मापदण्ड जारी गर्नेछ र त्यस्तो मापदण्ड सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति तथा सेवा प्रदायकले पालना गर्नु पर्नेछ।
१९. सम्झौता बमोजिम सहप्रयोग गर्न दिनु पर्नेः कुनै अनुमतिपत्र प्राप्त व्यक्तिले अन्य अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद गरेमा वा नियम ३ को उपनियम (३) बमोजिमको सेवा प्रदायकबाट दूरसञ्चार पूर्वाधार खरिद गरेमा वा लिजमा लिएमा त्यसरी खरिद गर्नु वा लिजमा लिनुअघि सहप्रयोग गरिरहेका सेवा प्रदायकलाई पूर्व सम्झौता बमोजिम सहप्रयोग गर्न दिनु पर्नेछ।
२०. पुनः सहप्रयोग गर्न नपाइनेः कुनै सेवा प्रदायकले आफूले सहप्रयोगका लागि लिएको दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पुनः सहप्रयोग गर्न दिन पाउने छैन।
परिच्छेद-५ विविध
२१. प्रचलित कानून बमोजिमको शर्त पूरा गर्नु पर्ने: दूरसञ्चार पूर्वाधार निर्माण गर्नु अघि प्रचलित कानून बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने वा कुनै निकायको स्वीकृति लिनु पर्ने रहे छ भने सो बमोजिमका कार्य सम्पन्न भएपछि मात्र स्वीकृति प्रदान गरिनेछ।
२२. पूर्वाधार निर्माण गर्नु पर्ने: (१) कुनै ठाउँमा सेवा प्रदायकलाई दूरसञ्चार पूर्वाधार आवश्यक भएमा त्यस्तो सेवा प्रदायकले कुनै अनुमतिपत्र प्राप्त व्यक्तिलाई त्यस्तो दूरसञ्चार पूर्वाधार विकास गर्न सो सम्बन्धी विस्तृत विवरण सहित अनुरोध गर्न सक्नेछ। त्यसरी अनुरोध भएकोमा सम्बन्धित सेवा प्रदायक र अनुमतिपत्र प्राप्त व्यक्तिबीच दूरसञ्चार पूर्वाधार विकास गर्ने सम्बन्धमा आपसी सहमतिमा सम्झौता हुनेछ। (२) उपनियम (१) बमोजिमको अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार पूर्वाधार विकास गर्न इन्कार गरेमा सेवा प्रदायकले दूरसञ्चार पूर्वाधार विकासको लागि प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ। (३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त व्यक्तिलाई अवधि तोकी पूर्वाधार निर्माण गर्न निर्देशन दिनेछ र त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले सो स्थानमा सो दूरसञ्चार पूर्वाधार निर्माण गर्नु पर्नेछ।
२३. विपद्को अवस्थामा दूरसञ्चार पूर्वाधारको निरन्तरता: (१) अनुमतिपत्र प्राप्त व्यक्ति र नियम ३ को उपनियम (३) बमोजिमका सेवा प्रदायकले विपद्को अवस्थामा दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन निरन्तर हुन सक्ने गरी आवश्यक व्यवस्था गरी सोको जानकारी प्राधिकरणलाई पेश गर्नु पर्नेछ। (२) विपद्को अवस्थामा दूरसञ्चार पूर्वाधार सेवाको सञ्चालनको निरन्तरताको लागि प्राधिकरणले आवश्यक शर्त तोक्न वा निर्देशन दिन सक्नेछ र त्यस्तो शर्त वा निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा सेवा प्रदायकको कर्तव्य हुनेछ।
२४. पूर्वाधार सञ्चाल तयार गर्ने: प्राधिकरणले देशभर र वा कुनै भागमा उपलब्ध दूरसञ्चार पूर्वाधारको सञ्चाल (नेटवर्क) को विवरण सङ्कलन गरी एउटै सञ्चालमा आबद्ध गराउन आवश्यक व्यवस्था गर्नेछ।
२५. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने: अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमिका सेवा प्रदायकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफूले निर्माण वा सञ्चालन गरेको पूर्वाधार सेवाको विवरण र आफ्नो आय व्ययको विवरण मान्यता प्राप्त लेखापरीक्षकद्वारा लेखा परीक्षण गराई लगाई प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।
२६. विवरण अद्यावधिक राख्नु पर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम ३ को उपनियम (३) बमोजिमिका सेवा प्रदायकले दूरसञ्चार सेवा प्रदायकलाई उपलब्ध गराएको दूरसञ्चार पूर्वाधार सेवा सम्बन्धी विवरण अद्यावधिक रुपमा तयार गरी राख्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमको विवरण प्राधिकरणले माग गरेको बखत उपलब्ध गराउनु पर्नेछ।
२७. यसै नियमावली बमोजिम हुने: यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र अनुमतिपत्रको नवीकरण, संशोधन, बिक्री, हस्तान्तरण वा खारेजी, अनुमतिपत्र प्राप्त व्यक्तिले बुझाउनुपर्ने रोयल्टी, निरीक्षण, जाँचबुझ तथा विवाद समाधान लगायतका अन्य कुराको हकमा प्रचलित दूरसञ्चार नियमावली बमोजिम हुनेछ।
२८. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने: मन्त्रालयले प्राधिकरणको सिफारिसमा अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ।
२९. निर्देशिका वा कार्यविधि बनाउन सक्ने: प्राधिकरणले ऐन तथा यस नियमावलीको अधिनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।
३०. खारेजी र बचाउ: (१) दूरसञ्चार पूर्वाधार निर्माण तथा सहप्रयोग सम्बन्धी आदेश, २०६९ खारेज गरिएको छ। (२) उपनियम (१) बमोजिमको आदेश बमोजिमिए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिमिए गरेको मानिनेछ।
अनुसूची-१ (नियम ४ को उपनियम (३) सँग सम्बन्धित) अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा
श्री नेपाल दूरसञ्चार प्राधिकरण, ....................................................
दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्न अनुमतिपत्र पाउनको लागि निम्न विवरणहरु खुलाई यो निवेदन गरेको छु ।
१. अनुमतिपत्र लिन चाहिने व्यक्तिकोः- (क) नाम, थरः (ख) ठेगानाः स्थायीः अस्थायीः (ग) टेलिफोनः (घ) इमेलः (ङ) सम्पर्क गर्ने व्यक्तिको :- (१) नाम, थरः (२) ठेगानाः (३) टेलिफोनः (४) इमेलः
२. दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन सम्बन्धमाः- (क) अनुमानित पूँजीः (ख) प्रस्तावित लगानी रकमः
(ग) लगानीको स्रोत:
(घ) निर्माण सुरु गर्ने मिति:
(ङ) सेवाको माग र आपूर्तिको प्रक्षेपण:
३. पूर्वाधारको विवरण:-
(क) पूर्वाधारको किसिम:
(ख) पूर्वाधार निर्माण/खडा गर्ने स्थान र क्षेत्र: (प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा, ल्याटिट्युड, लङ्गिट्युड सहित)
(ग) पूर्वाधारको गुणस्तर:
(घ) रेडियो फ्रिक्वेन्सी प्रयोग हुने पूर्वाधार भए सोको विवरण:
(ङ) पूर्वाधारको मर्मत सञ्चालन सम्बन्धी कार्ययोजना: (विद्युत आपूर्तिको व्यवस्था (ब्याकअप) को व्यवस्था सहित)
(च) पूर्वाधार निर्माण गर्दा वातावरणमा सारभूत रुपमा प्रतिकूल असर पर्ने/नपर्ने:
(छ) अन्य आवश्यक प्राविधिक विवरण:
४. निवेदनसाथ संलग्न गनुपर्ने कागजातहरु:-
(क) अनुमतिपत्र लिन चाहने व्यक्ति सँग गठित संस्था भए सो संस्थाको नाम र सो संस्थाको कानूनी स्थिति देखिने कागजात,
(ख) प्राविधिक निपुणता तथा पेशा सम्बन्धी अनुभव सम्बन्धी कागजात,
(ग) रेडियो उपकरण सञ्चालन गर्ने हकमा जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी सम्बन्धित निकायले तोकेको मापदण्ड पूरा गर्ने प्रतिबद्धता,
(घ) आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजना,
(ङ) विपद्का समयमा पनि पूर्वाधार सेवाको निरन्तरता सम्बन्धी योजना,
(च) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिमका कुराहरु,
(छ) प्रचलित कानून बमोजिम कुनै स्वीकृति आवश्यक परे भए त्यस्तो स्वीकृति।
उपरोक्त बमोजिम पेश गरेका विवरण एवं कागजात सत्य साँचो हो। झुट्टा ठहरिएमा प्रचलित कानून बमोजिम सहुँला बुझाउँला। दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन तथा निर्माण गर्दा नेपाल सरकार, प्राधिकरण लगायत सरोकारवाला निकायबाट प्रचलित कानून बमोजिम तोकिएको शर्त बन्देजको पूर्ण अधीनमा रही कार्य गर्नेछु।
निवेदकको:- सङ्गठित संस्था भए सो संस्थाको छाप: हस्ताक्षर: नाम: ठेगाना: मिति:
अनुसूची-२ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) अनुमतिपत्र लिन आवश्यक पर्ने न्यूनतम पूँजी, प्राविधिक निपुणता र पेशा अनुभव
(क) न्यूनतम पूँजी (१) पछिल्लो तीन वर्ष नाफामा रहेको, (२) न्यूनतम पूँजी दश अर्ब रूपैयाँ बराबर भएको, (३) दूरसञ्चार नियामक निकाय वा अन्य अख्तियार प्राप्त सरकारी निकायबाट कालोसूचीमा नपरेको।
(ख) प्राविधिक निपुणता र पेशा अनुभवः (१) दूरसञ्चारसँग सम्बन्धित कम्तीमा पाँच हजार टावर निर्माण गरेको र दश हजार टावर सञ्चालन तथा व्यवस्थापन गरेको, (२) कम्तीमा पाँच हजार टावर दुई वा दुईभन्दा बढी सेवा प्रदायकबीच सहप्रयोग हुन सक्ने गरी व्यवस्थापन गरेको, (३) विदेशी व्यक्तिको हकमा कम्तीमा दुई मुलुकमा दूरसञ्चार पूर्वाधारको निर्माण वा सञ्चालन सम्बन्धी अनुभव भएको।
अनुसूची-३ (नियम ६ को उपनियम (३) सँग सम्बन्धित) दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्न दिइने अनुमतिपत्रको ढाँचा
श्री ......................... ...................................।
तपाईलाई दूरसञ्चार ऐन, २०५३ को दफा २३ को उपदफा (२) तथा दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम देहायको दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्न यो अनुमतिपत्र दिइएको छ।
१. अनुमतिपत्र पाउने व्यक्तिकोः- (क) नामः (ख) ठेगानाः स्थायीः अस्थायीः २. अनुमतिपत्र दिइएको दूरसञ्चार सेवाः ३. अनुमतिपत्र नम्बरः ४. अनुमतिपत्र जारी गरिएको मितिः ५. अनुमतिपत्र बहाल रहने अवधिः ६. दूरसञ्चार पूर्वाधार सेवा सम्बन्धमा (क) काम सञ्चालन गर्नु पर्ने मितिः (ख) दूरसञ्चार सेवा प्रदायकलाई दूरसञ्चार पूर्वाधार सेवा उपलब्ध गराउने सुरु मितिः ७. दूरसञ्चार पूर्वाधारको गुणस्तर सम्बन्धी मापदण्डः ८. दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्ने क्षेत्रः (क) प्रदेशः (ख) जिल्लाः (ग) गाउँपालिका/नगरपालिकाः (घ) वडा नं.: ९. दूरसञ्चार पूर्वाधार सेवा विकास, विस्तार र सञ्चालन गर्नु पर्ने ग्रामीण क्षेत्रः १०. अनुमतिपत्र नवीकरण गरे बापत बुझाउनु पर्ने दस्तुरः ११. नेपाल सरकारलाई बुझाउनु पर्ने वार्षिक रोयल्टी दस्तुरः १२. ग्रामीण क्षेत्रको दूरसञ्चार विकासको लागि वार्षिक रुपमा प्राधिकरणलाई बुझाउनु पर्ने दस्तुरः
१३. पूर्वाधार निर्माण, सञ्चालन र विस्तार गर्नुपर्ने क्षेत्र तथा समयावधि (Roll Out Obligation) १४. अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्तहरूः (क) अन्तरआबद्धताः (ख) विवाद समाधानः (ग) सेवाबाहिरसँगको सम्झौताः (घ) गुणस्तर तथा स्तर निर्धारणः (ङ) लेखाङ्कनः (च) सेवा शुल्कः (छ) विपद्का बखत पनि दूरसञ्चार पूर्वाधार सेवा सञ्चालनको निरन्तरताः (ज) विवरण अद्यावधिक राख्नुपर्नेः (झ) ऐन, नियममा उल्लिखित शर्तहरूः (ञ) प्राधिकरणले तोकेका अन्य शर्तहरूः
कार्यालयको छापः अनुमतिपत्र दिने अधिकारीको,- हस्ताक्षरः नामः पदः कार्यालयः मितिः
अनुसूची-४ (नियम ११ को उपनियम (१) सँग सम्बन्धित) दूरसञ्चारका ठूला पूर्वाधार निर्माणको लागि दिइने निवेदनको ढाँचा
श्री नेपाल दूरसञ्चार प्राधिकरण .....................................
दूरसञ्चारका देहायको ठूला पूर्वाधार निर्माणको लागि निम्न विवरणहरु खुलाई यो निवेदन गरेको छु ।
१. निवेदक सम्बन्धी विवरणः- (क) नाम, थरः (ख) ठेगानाः स्थायीः अस्थायीः (ग) टेलिफोनः (घ) इमेलः (ङ) सम्पर्क गर्ने व्यक्तिको ,- (१) नाम, थरः (२) ठेगानाः (३) टेलिफोनः (४) इमेलः
२. निवेदकले प्राप्त गरेको दूरसञ्चार सेवा सञ्चालन अनुमतिपत्र सम्बन्धी विवरणः- (क) अनुमतिपत्रको किसिमः (ख) अनुमतिपत्र नंः (ग) अनुमतिपत्र बहाल रहने अवधिः
३. पूर्वाधार सम्बन्धी विवरण:- (क) पूर्वाधारको किसिम: (ख) प्रस्तावित लगानी रकम: (ग) लगानीको स्रोत: (घ) निर्माण सुरु गर्ने मिति: (ङ) निर्माण सम्पन्न गरी सक्ने मिति: (च) पूर्वाधार निर्माण गर्दा वातावरणमा सारभूत रुपमा प्रतिकूल असर पर्ने/नपर्ने:
४. पूर्वाधारको प्राविधिक विवरण:- (क) पूर्वाधार निर्माण/खडा गर्ने स्थान: (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा, ल्याटिच्युड, लङ्गिच्युड सहित) (ख) पूर्वाधारका लागि प्रयोग हुने मुख्य सामग्रीहरु/उपकरणहरु: (ग) उपकरण आयात हुने देश: (घ) पूर्वाधारको गुणस्तर: (ङ) पूर्वाधारको मापदण्ड: (च) रेडियो फ्रिक्वेन्सी प्रयोग हुने पूर्वाधार भए सोको विवरण: (छ) पूर्वाधारको मर्मत सञ्चालन सम्बन्धी कार्ययोजना: (विद्युत आपूर्तिको व्यवस्था (ब्याकअपको व्यवस्था सहित) (ज) अन्य आवश्यक प्राविधिक विवरण:
५. निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु:- (क) पूर्वाधार खडा गर्ने स्थानमा जग्गा वा घरको सहमति वा स्वीकृति लिनु पर्ने भए त्यस्तो सहमति वा स्वीकृति सम्बन्धी विवरण, (ख) पूर्वाधारको निर्माण तथा सञ्चालन सम्बन्धी प्राविधिक अध्ययन प्रतिवेदन, (ग) रेडियो उपकरण सञ्चालन गर्ने हकमा जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी सम्बन्धित निकायले तोकेको मापदण्ड पूरा गर्ने प्रतिबद्धता, (घ) प्रचलित कानून बमोजिम कुनै स्वीकृति आवश्यक पर्ने भए त्यस्तो स्वीकृति सम्बन्धी विवरण,
(ङ) अन्य सम्बन्धित आवश्यक विवरण।
उपरोक्त बमोजिम पेश गरेका विवरण एवं कागजात सत्य साँचो हो। झुट्टा ठहरिएमा प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला। दूरसञ्चार पूर्वाधार सेवा सञ्चालन तथा निर्माण गर्दा नेपाल सरकार, प्राधिकरण लगायत सरोकारवाला निकायबाट प्रचलित कानुन बमोजिम तोकिएको शर्त बन्देजको पूर्ण अधीनमा रही कार्य गर्नेछु।
सङ्गठित संस्था भए सो संस्थाको छाप निवेदकको, हस्ताक्षर: नाम: मिति:
अनुसूची-५ (नियम ११ को उपनियम (२) सँग सम्बन्धित) दूरसञ्चारका ठूला पूर्वाधार निर्माण गर्न दिइने स्वीकृतिको ढाँचा
श्री .......................................... .........................................................
तपाईंलाई दूरसञ्चार पूर्वाधार निर्माण सम्बन्धी नियमवली, २०७४ को नियम ११ को उपनियम (२) बमोजिम दूरसञ्चारका देहायका ठूला पूर्वाधार निर्माण गर्न स्वीकृति दिइएको छ।
(क) पूर्वाधारको किसिम: (ख) पूर्वाधारको परिमाण: (ग) पूर्वाधारको प्रयोग: (घ) पूर्वाधार आयात हुने भए आयात हुने देश: (ङ) स्वदेशमै निर्माण हुने भए निर्माण गर्ने व्यक्ति: (च) निर्माण सुरु गर्ने मिति: (छ) निर्माण सम्पन्न गरी सक्ने मिति: (ज) पूर्वाधार निर्माण गर्दा वातावरणमा सारभूत रुपमा प्रतिकूल असर पर्ने/नपर्ने: (झ) अन्य आवश्यक प्राविधिक विवरण:
दूरसञ्चार पूर्वाधार निर्माण गर्दा नेपाल सरकार, प्राधिकरण लगायत सरोकारवाला निकायबाट प्रचलित कानून बमोजिम तोकिएको शर्त पालना गर्नुहोला।
स्वीकृति दिने अधिकारीको,- नाम: पद: हस्ताक्षर: मिति: