धनादेश नियमावली, २०३१ नेपाल राजपत्रमा प्रकाशित मिति २०३१।०६।२१
संशोधन १. धनादेश (पहिलो संशोधन) नियमावली, २०४५ २०४५।१०।१७ २. धनादेश (दोस्रो संशोधन) नियमावली, २०५३ २०५३।०३।२४
हुलाक ऐन, २०१९ को दफा ३७ ले दिएको अधिकार र यस सम्बन्धमा प्राप्त सबै अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “धनादेश नियमावली, २०३१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “प्रेषक” भन्नाले धनादेशबाट रकम पठाउने व्यक्ति सम्झनु पर्छ। (ख) “प्रापक” भन्नाले धनादेशको रकम भुक्तानी पाउने भनी धनादेशमा उल्लिखित व्यक्ति सम्झनु पर्छ। (ग) “महानिदेशक” भन्नाले हुलाक सेवा विभागको महानिदेशक सम्झनु पर्छ। *(घ) “कोष” भन्नाले धनादेश सञ्चालन कोष सम्झनु पर्छ।
*२क. धनादेश सञ्चालन कोष : (१) धनादेश भुक्तानी दिने प्रयोजनको लागि धनादेश सञ्चालन कोषको स्थापना गरिएको छ। (२) कोषमा देहायका रकमहरू रहनेछन्ः (क) नेपाल सरकारबाट प्राप्त रकम। (ख) आन्तरिक तथा वैदेशिक धनादेश कारोबारबाट प्राप्त रकम।
*२ख. कोषको सञ्चालन : (१) कोषको रकम धनादेश भुक्तानी दिने काममा प्रयोग हुनेछ । (२) कोषमा रहने रकमहरू नेपाल राष्ट्र बैङ्कमा केन्द्रीय खाता खोली जम्मा गरिनेछ।
(३) उपनियम (२) बमोजिमको कोषको केन्द्रीय खाताको सञ्चालन केन्द्रीय धनादेश कार्यालयको प्रमुख र सोही कार्यालयको वरिष्ठ अधिकृतको संयुक्त दस्तखतबाट हुनेछ। (४) उपनियम (२) बमोजिम केन्द्रीय खाता खोली सकेपछि धनादेश भुक्तानी गर्ने हुलाक कार्यालयको लागि सम्बन्धित जिल्लामा नेपाल राष्ट्र बैङ्कको स्थानीय शाखामा वा अन्य कुनै बैङ्कमा कोषको नाममा छुट्टाछुट्टै खाता खोलिनेछ। (५) उपनियम (४) बमोजिमको खाता सम्बन्धित हुलाक कार्यालयको प्रमुख र लेखामा काम गर्ने वरिष्ठ कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ। (६) गत आर्थिक वर्षको अन्तमा बाँकी रहेको मौज्दात रकम चालू आर्थिक वर्षको प्रारम्भमा कोषमा जिम्मेवारी सारिनेछ।
*२ग. कोषको रकम अन्य कार्यमा खर्च गर्न नहुने : कसैले कोषको कुनै रकम धनादेश भुक्तानी दिने कार्यमा बाहेक अन्य कार्यमा प्रयोग गर्न पाउने छैन।
*२घ. निरीक्षण : कोषको रकमको खर्च सम्बन्धी निरीक्षणको व्यवस्था हुलाक सेवा विभागले गर्नेछ।
३. धनादेशबाट आदान-प्रदान गर्न सकिने रकमको हद : धनादेशबाट आदान-प्रदान गर्न सकिने रकमको हद रु. १०००।- हुनेछ। तर नेपाल सरकारले आवश्यक देखेमा समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी धनादेशबाट आदान-प्रदान गर्न सकिने रकमको हदमा फेरफेर गर्न सक्नेछ ।
$\sigma$४. धनादेशवापत कमिसन : धनादेशवापत लाग्ने कमिसनको दर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ।
५. हुलाक कार्यालयहरूको नाम तोक्ने : धनादेश सेवाको कारोबार गर्ने हुलाक कार्यालयहरूको नाम हुलाक सेवा विभागले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्नेछ।
६. धनादेश फाराम भने : प्रेषकले धनादेश पठाउन हुलाक कार्यालयबाट धनादेश फाराम प्राप्तगरी प्रापकको नाम र ठेगाना प्रष्ट उल्लेख गरी आवश्यक विवरणहरू भर्नु पश्चात, प्रेषकको निमित्त अन्य कुनै व्यक्तिले पनि धनादेश फाराम भर्न सक्नेछ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित ।
७. धनादेश भुक्तानी दिने : (१) धनादेशको भुक्तानी दिँदा धनादेश फाराममा र हुलाक कार्यालयको धनादेश भुक्तानी (डेलिभरी) किताबमा प्रापक वा निजको अख्तियारवालालाई दस्तखत गराई वा रेखाङ्क छाप लगाई धनादेशको रकमको भुक्तानी दिइनेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रापक नचिनी शङ्का लागेमा एकजना चिनाउने व्यक्ति लिएर मात्र धनादेशको भुक्तानी दिइनेछ। तर अस्पतालमा भर्ना भएको वा छात्रावास वा होटलमा बस्ने व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी त्यस्तो अस्पताल, छात्रावास र होटलको सुपरिटेण्डेण्ट वा प्रबन्धकको सिफारिसमा दिन सकिनेछ।
८. नाबालक अपाङ्ग वा मानसिक अवस्था ठीक नभएको व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी: (१) नाबालकको नाममा आएको धनादेशको भुक्तानी दिँदा निजको आमा वा बाबुको दस्तखत गराई भुक्तानी दिइनेछ। आमा बाबु दुवै नभएको नाबालकको नाममा आएको धनादेशको भुक्तानी दिँदा एकजना साक्षी राखी नाबालक जुन व्यक्तिको साथमा बसेकोछ सोही व्यक्तिको दस्तखत गराई भुक्तानी दिइनेछ। (२) अपाङ्ग वा मानसिक अवस्था ठीक नभएको व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी निज आमा बाबुको साथमा बसेको रहे छ भने आमा वा बाबुको दस्तखत गराई भुक्तानी दिइनेछ । निज अन्य कुनै व्यक्तिको साथमा रहे बसेको भए एकजना साक्षी राखी त्यस्तो साथमा राख्ने व्यक्तिको दस्तखत गराई भुक्तानी दिइनेछ। तर धनादेशको भुक्तानी सम्बन्धी सबै प्रक्रियाको ज्ञान भएको अपाङ्ग व्यक्तिको नाममा आएको धनादेशको भुक्तानी निजलाई नै दिइनेछ।
९. रसीद दिइने : (१) प्रेषकले धनादेशको रकम हुलाक कार्यालयमा बुझाएपछि हुलाक कार्यालयबाट निजलाई यसको रसिद दिइनेछ। (२) प्रापक वा निजको अख्तियारवालाले दस्तखत गरेको धनादेशको फिटी रसीद प्रेषक कहाँ पठाइनेछ। चलानको अवस्थामा धनादेशको फिटी रसीद हराएमा हुलाक कार्यालयले प्रेषकलाई भुक्तानीको निस्सा दिनेछ।
१०. धनादेशको रकम फिर्ता माग्न वा अरुलाई भुक्तानी दिन सकिने : (१) प्रापकलाई धनादेशको भुक्तानी नहुँदै प्रेषकले धनादेशको रकम फिर्ता लिन चाहेमा सो रकम प्रेषकलाई फिर्ता भुक्तानी दिइनेछ। तर धनादेश बापत लागेको कमिसन फिर्ता हुने छैन।
(२) धनादेशको भुक्तानी नहुँदै प्रेषकले प्रापक फेर्न चाहेमा निजको नयाँ प्रापकको नाम, ठेगाना खोली धनादेशको रकम बुझ्ने हुलाक कार्यालयमा आवेदन गर्न सक्नेछ । त्यसरी प्रापक फेर्दा धनादेश बापत लाग्ने कमिसन पुनः बुझाउनु पर्नेछ। (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनी धनादेशको रकम फिर्ता लिन वा प्रापकको सट्टा अर्को व्यक्तिलाई धनादेशको भुक्तानी गराउन आवेदन गरेको ढिलो भई वा अन्य कुनै कारणबाट प्रापकलाई धनादेशको भुक्तानी रोक्का गर्न नसकेमा हुलाक कार्यालय जवाफदेही हुने छैन ।
११. धनादेशको पुन: निर्देशन (रिडाइरेक्सन) गर्न सक्ने : प्रापकले ठेगाना बदलि सकेको र निजले आफ्नो नाममा आउने हुलाक वस्तु निजको हालको ठेगानामा पठाउन हुलाक कार्यालयलाई लिखित सूचना गरेको रहेछ भने निजको سابق ठेगानामा आएको धनादेश निजको हालको ठेगानामा पुन: निर्देशन (रिडाइरेक्सन) गर्न सकिनेछ र यसको लागि कुनै दस्तुर वा कमिसन लाग्ने छैन ।
१२. प्रापक फेला नपरेमा वा प्रापकले भुक्तानी लिन नआएमा : फेला नपरेमा वा प्रापकले धनादेशको रकम भुक्तानी लिन इन्कार गरेमा वा भुक्तानी लिन तोकिएको अवधिभित्र भुक्तानी लिन नआएमा धनादेशको रकम प्रेषकलाई नै फिर्ता भुक्तानी दिइनेछ। तर धनादेश बापत नतिरेको कमिसन भने फिर्ता गरिने छैन ।
१३. धनादेशको भुक्तानी लिने अवधि : धनादेशको भुक्तानी लिन हुलाक कार्यालयबाट सूचना प्राप्त भएपछि प्रापकले सो सूचना पाएको मितिले सात दिनभित्र धनादेशको भुक्तानी लिनु पर्नेछ। तर प्रापकले उपरोक्त अवधिभित्र लिखित आवेदनद्वारा धनादेशको भुक्तानी पछि लिन माग गरेमा सो अवधि नाघेको मितिले अर्को सात दिनसम्म सो रकम लिन सक्नेछ।
१४. रद्द धनादेश्ः (१) प्रापक फेला नपरी भुक्तानी हुन नसकी फिर्ता आएको धनादेश प्रेषक पनि फेला नपरी फिर्ता भुक्तानी हुन नसकेमा त्यस्तो धनादेश रद्द धनादेश मानिनेछ। $\rho$........... (२) उपनियम (१) बमोजिम प्रापक र प्रेषक फेला नपरी रद्द मानिएको धनादेशको रकम धनादेश पठाइएको मितिले एक वर्षसम्ममा पनि प्रापक वा प्रेषकले भुक्तानीको दावी नगरेमा त्यस्तो धनादेशको रकम $\sigma$धनादेश कोषमा दाखिल गरिनेछ।
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित । $\rho$ पहिलो संशोधनद्वारा झिकिएको ।
१५. क्षतिपूर्ति दिनेः (१) धनादेश हुलाक कार्यालयमा दर्ता भइसकेपछि धनादेशको भुक्तानी हुन नपाउँदै धनादेश हराएमा प्रेषकले सो धनादेशको रकम र सो बापत तिरेको कमिशनको रकम समेत क्षतिपूर्तिको निमित्त दावी गर्न सक्नेछ। (२) उपनियम (१) बमोजिम क्षतिपूर्तिको निमित्त दावीपरेमा हुलाक कार्यालयले त्यस्तो दावीपरेको मितिले ६ महिनाभित्र प्रेषकलाई क्षतिपूर्ति दिनेछ।
*१५क. लेखा र लेखापरीक्षणः (१) कोषको आय-व्ययको लेखा महालेखा परीक्षकद्वारा निर्धारित ढाँचामा राख्नेछ । (२) कोषको यथार्थ हिसाब तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र केन्द्रीय धनादेश कार्यालयका प्रमुखले महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ। (३) कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ। (४) लेखा सम्बन्धी अन्य कार्यविधि प्रचलित कानून बमोजिम हुनेछ।
१६. फारामरूको ढाँचा तोक्नेः यस नियमावली बमोजिम धनादेश सम्बन्धमा प्रयोग गरिने फारामरू, त्यस्तो ढाँचा र सो फारामरू भर्ने तरीका महानिदेशकले समय समयमा तोके बमोजिम हुनेछ।