नगर विकास कोष नियमावली, २०५४
नेपाल राजपत्रमा प्रकाशित मिति २०५४।६।१३
संशोधन नगर विकास कोष (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
नगर विकास कोष ऐन, २०५३ को दफा ३६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नगर विकास कोष नियमावली, २०५४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले “नगर विकास कोष ऐन, २०५३” सम्झनु पर्छ । (ख) “लगानी” भन्नाले नगर विकाससँग सम्बन्धित निकायले संचालन गरेको आधारभूत सामाजिक सेवा तथा आयमूलक आयोजनामा र बैङ्क, वित्तीय संस्था वा अन्य संगठित संस्थाको शेयर, डिबेन्चर र अन्य धितोपत्रहरूमा कोषले गरेको लगानी सम्झनु पर्छ । (ग) “बैङ्क” भन्नाले वाणिज्य बैंक ऐन, २०३१ बमोजिम स्थापना भएको वाणिज्य बैंक सम्झनु पर्छ । (घ) “वित्तीय” संस्था भन्नाले शहरी तथा ग्रामीण विकास, सहकारी, उद्योग वा अन्य कुनै खास प्रयोजनको लागि ऋण दिने उद्देश्यले स्थापना भएको कुनै वित्तीय संस्था सम्झनु पर्छ ।
(ङ) “लगानी प्रवर्द्धन समिति” भन्नाले नियम ४ बमोजिम गठन भएको लगानी प्रवर्द्धन समिति सम्झनुपर्छ ।
३. कोषको लगानी नीति: कोषले लगानी गर्दा लगानीको सुरक्षा, तरलता तथा त्यसबाट प्राप्त हुने लाभांश वा प्रतिफल समेतलाई ध्यानमा राखी देहायका क्षेत्रहरूमा लगानी गर्न सक्नेछ–
(क) नगर विकाससँग सम्बन्धित निकाय आफैंले संचालन गरेको वा बैंक वा वित्तीय संस्थाहरूसँग मिली कन्सोसटीयम वा ब्रिज फाइनान्सिङमा संचालन गर्ने आधारभूत सामाजिक सेवा र आयमूलक आयोजनामा लगानी गर्न,
(ख) नेपाल सरकारले जारी गरेको ऋणपत्र वा धितोपत्र खरिद गर्न, र
(ग) बैंक, वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, डिबेन्चर तथा अन्य कुनै किसिमको ऋणपत्र खरिद गर्न ।
४. लगानी प्रवर्द्धन समिति: (१) कोषको लगानी नीति निर्धारण गर्न तथा कोषको रकम सुरक्षित क्षेत्रमा लगानी गर्ने सम्बन्धमा कोषलाई सुझाव पेश गर्ने काम समेतको लागि कोषले एक लगानी प्रवर्द्धन समिति गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको लगानी प्रवर्द्धन समितिमा देहायका सदस्यहरू रहनेछन् –
(क) कार्यकारी निर्देशक -अध्यक्ष
(ख) समितिका सदस्यहरू मध्येबाट समितिले मनोनीत गरेको एक जना -सदस्य
(ग) अर्थ तथा लगानी विज्ञहरू मध्येबाट समितिले मनोनीत गरेको एक जना -सदस्य
(३) उपनियम (२) को खण्ड (ख) र (ग) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) लगानी प्रवर्द्धन समितिले आवश्यकता अनुसार कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार, ऋण वा अनुदान दिने संस्थाको प्रतिनिधि वा नगर विकाससँग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई लगानी प्रवर्द्धन समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) लगानी प्रवर्द्धन समितिको बैठकसम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
५. कोषले परामर्श सेवा प्रदान गरे बापत लिन पाउने शुल्कः कोषले ऐनको दफा ७ बमोजिम नगर विकाससँग सम्बन्धित निकायहरूलाई नगर विकास सेवा सम्बन्धी परामर्श सेवा प्रदान गरे बापत लिन पाउने शुल्क समितिले तोकिदिए बमोजिम हुनेछ ।
६. शेयर, डिबेन्चर वा अन्य ऋणपत्रमा गरिने लगानीको हदः कुनै बैंक, वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, डिबेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र खरिद गर्दा उक्त बैंक, वित्तीय संस्था वा संगठित संस्थाको पूँजीको दश प्रतिशत वा कोषमा जम्मा रहेको पूँजीको दश प्रतिशतमा जुन घटी हुन्छ सो मा नबढ्ने गरी मात्र लगानी गर्न सक्नेछ ।
तर कुनै खास प्रयोजनको लागि खर्च गर्न कुनै संस्थाबाट कोषलाई प्राप्त भएको अनुदान रकम कुनै बैंक, वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, डिबेन्चर वा अन्य कुनै किसिमको ऋणपत्रमा लगानी गर्नु परेमा त्यस्तो संस्थाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृति लिइएकोमा दश प्रतिशतको बन्देज लागू हुने छैन ।
७. डिबेन्चर वा अन्य ऋणपत्र जारी गर्ने हदः (१) कोषले डिबेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र जारी गर्दा आफ्नो कूल चल तथा अचल सम्पत्तिको पच्चीस प्रतिशतमा नबढ्ने गरी जारी गर्न सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले कुनै बैंक वा संस्थाको जमानीमा सो जमानीमा उल्लेख भए बमोजिमको रकम बराबरको ऋणपत्र जारी गर्न सक्नेछ ।
८. कन्सोर्टीयम वा ब्रिज फाइनान्सिङमा गरिने लगानीको हद: कोषले कुनै बैंक वा वित्तीय संस्थासँग मिली नगर विकाससँग सम्बन्धित निकायले संचालन गर्ने आधारभूत सामाजिक सेवा वा आयमूलक आयोजनामा कन्सोर्टीयम वा ब्रिज फाइनान्सिङको आधारमा लगानी गर्दा कोषमा जम्मा रहेको पूँजीको १५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्नेछ ।
तर कुनै खास प्रयोजनको लागि खर्च गर्न कुनै संस्थाबाट कोषलाई प्राप्त भएको अनुदान रकम कुनै बैंक वा वित्तीय संस्थासँग मिली नगर विकाससँग सम्बन्धित निकायले संचालन गर्ने आधारभूत सामाजिक सेवा वा आयमूलक आयोजनामा लगानी गर्नु परेमा त्यस्तो संस्थाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृति लिएकोमा पन्ध्र प्रतिशतको बन्देज लागू हुनेछैन ।
९. डिबेन्चर वा अन्य ऋणपत्र जारी गर्दा अपनाउनु पर्ने प्रक्रिया: (१) कोषले डिबेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र जारी गर्दा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम डिबेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र जारी गर्दा कोषले ऋणको जम्मा मूल्य भुक्तानी अवधि, व्याजको दर, व्याज भुक्तानी समय र अन्य विवरण समेत खुलाई नेपाल राज्यको कम्तीमा कुनै दुई प्रमुख पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना प्रकाशित भएपछि त्यस्तो डिबेन्चर वा ऋणपत्र खरिद गर्न चाहने व्यक्तिले आफूलाई चाहिएको डिबेन्चर वा ऋणपत्रबारे सबै कुरा खुलाई आवश्यक रकम समेत संलग्न राखी कोष समक्ष निवेदन दिनु पर्नेछ ।
तर कुनै व्यक्ति वा संस्थाले कति रकमको डिबेन्चर वा ऋणपत्र लिन पाउने भन्ने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार कोषमा निहित रहनेछ ।
१०. ऋणपत्रसम्बन्धी कार्यविधि: कोषले जारी गरेको डिबेन्चर वा अन्य कुनै किसिमको ऋणपत्रको नामसारी, साँवा व्याजको भुक्तानी र तत्सम्बन्धी अन्य कार्यविधिहरु समितिले तोकिदिएबमोजिम हुनेछ । त्यसरी कार्यविधि तोक्दा समितिले नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।
११. ब्याजदरको निर्धारण: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले नगर विकाससँग सम्बन्धित निकायलाई दिने ऋणमा लिने व्याज दरको निर्धारण समितिले लगानी प्रवर्द्धन समितिको सिफारिसमा गर्नेछ ।
१२. ऋणको भुक्तानी: ऋणीले ऋण सम्झौतामा उल्लेख भएबमोजिम कुल ऋणको साँवा तथा व्याज रकमलाई एक वा एकभन्दा बढी किस्ताहरूमा विभाजन गरी कोषलाई नियमित रूपमा ऋणको साँवा तथा व्याज रकमको भुक्तानी गर्नु पर्नेछ ।
१३. ऋणीको सम्पत्तिको मूल्याङ्कन प्रक्रिया: (१) ऐनको दफा ११ को उपदफा (३) बमोजिम ऋणीको सम्पत्तिको मोल कायम गरी सो सम्पत्तिको स्वामित्व कोष आफैँले लिनु पर्ने देखेमा लगानी प्रवर्द्धन समितिको सिफारिसमा कोषले त्यस्तो सम्पत्तिको मोल कायम गरी सो सम्पत्तिको स्वामित्व आफैँ लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणीको सम्पत्तिको मोल कायम गर्ने सिफारिस गर्दा लगानी प्रवर्द्धन समितिले त्यस्तै प्रकारका अन्य सम्पत्तिको बजार मूल्य तथा प्रचलित ह्रास कट्टी सम्बन्धी व्यवस्था समेतको अध्ययन गरी त्यस्तो सम्पत्तिको मोल सिफारिस गर्नु पर्नेछ ।
१४. कार्यकारी निर्देशकको योग्यता: कार्यकारी निर्देशकको पदमा नियुक्त हुनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, चार्टर एकाउन्टेन्सी वा इन्जिनियरिङ्ग विषयहरूमध्ये कुनै एक विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष अनुभव प्राप्त गरेको वा उल्लेखित कुनै एक विषयमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्ष अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।
१५. कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा: कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था विनियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ र त्यसरी विनियमावली नबनेसम्म निजको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था समितिले तोकेबमोजिम हुनेछ ।
१६. कार्यकारी निर्देशकलाई पदबाट हटाउँदा अपनाउनु पर्ने प्रक्रिया: (१) कार्यकारी निर्देशकले कोषलाई हानि नोक्सानी हुने कुनै काम कारबाही गरेको वा समितिको नीति निर्देशन विपरीत काम गरेको व्यहोराको जानकारी पाएमा समितिले सो कुराको जाँचबुझ गर्न समितिका सदस्यहरूमध्येबाट तीनजना सदस्यहरू रहेको एउटा जाँचबुझ समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा कार्यकारी निर्देशक, कोषको कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूलाई आफूसमक्ष उपस्थित गराई आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(३) जाँचबुझ समितिले जाँचबुझको कार्य समाप्त भएपछि आफ्नो रायसहित जाँचबुझको प्रतिवेदन समितिलाई बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम जाँचबुझ समितिले पेश गरेको जाँचबुझको प्रतिवेदनबाट कार्यकारी निर्देशकले कोषलाई हानिनोक्सानी हुने कुनै काम कारबाही गरेको वा समितिको नीति निर्देशन विपरीत काम गरेको देखिएमा समितिले कार्यकारी निर्देशकलाई पदबाट हटाउनु अघि कारण र आधार खोली स्पष्टीकरण प्रस्तुत गर्न मनासिब समय दिई सूचना दिनु पर्नेछ सो म्याददिनभित्र कार्यकारी निर्देशकले कुनै स्पष्टीकरण पेश नगरेमा वा निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्नेछ ।
(५) यस नियमबमोजिम कार्यकारी निर्देशक उपर लागेको आरोपको जाँचबुझ गर्न जाँचबुझ समिति गठन भएपछि जाँचबुझको काम नसकिएसम्म कार्यकारी निर्देशकले पदीय कर्तव्य पालन गरेमा कोषको हित विपरीत हुने भन्ने कुरा समितिलाई लागेमा समितिले कार्यकारी निर्देशकलाई पदीय काम कारोबार गर्नबाट रोक लगाउनु पर्नेछ ।
(६) कार्यकारी निर्देशकले जानी जानी कोषलाई हानिनोक्सानी पुर्याएको कुरा प्रमाणित भएमा निजबाट त्यस्तो हानि नोक्सानी प्रचलित कानूनबमोजिम असुल उपर गरिनेछ ।
१७. कोषको लेखा: (१) कोषको आय-व्ययको लेखा समितिले तोके बमोजिमको ढाँचामा राख्नु पर्नेछ । समितिले यसरी लेखाको ढाँचा तोक्दा दोहोरो लेखा प्रणालीको आधारमा कोषको आय-व्ययको लेखा राख्नु पर्ने गरी तोक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राख्नु पर्ने कोषको आय-व्ययको लेखा अद्यावधिक गरी राख्नु कोषको कर्तव्य हुनेछ ।
१८. बैठक भत्ताः समिति, लगानी प्रवर्द्धन समिति तथा ऐनको दफा १७ बमोजिम गठित उप-समितिका सदस्यहरूले बैठकमा भाग लिएबापत अर्थ मन्त्रालयको सहमति लिई समितिले तोकिदिएबमोजिम बैठक भत्ता पाउने छन् ।
१९. शपथ ग्रहणः सदस्य, कार्यकारी निर्देशक तथा कोषको प्रत्येक कर्मचारीले आफ्नो पदीय दायित्व सम्हाल्नु अघि अनुसूचीमा उल्लेख भए बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ ।
२०. निर्देशिका बनाई लागू गर्न सक्नेः (१) ऐन, यस नियमावली र सो अन्तर्गत बनेका विनियमहरूका अधीनमा रही समितिले कोषको लगानी नीतिलाई व्यवस्थित गर्नको लागि आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले बनाएको निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरूः “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची (नियम १९ सँग सम्बन्धित) शपथ ग्रहण फारामको नमुना
म ................................................... ईश्वरको नाममा सत्य । निष्ठापूर्वक शपथ लिन्छु कि नगर विकास कोषको सदस्य / कार्यकारी निर्देशक / कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी कोषप्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ, लालच मोलाविजा नगरी अनुशासनमा रही नगर विकास कोष ऐन, २०५३, नगर विकास कोष नियमावली, २०५४ र सो अन्तर्गत बन्ने विनियमावलीहरुका अधीनमा रही आफ्नो कर्तव्यको पालन गर्नेछु । मलाई ज्ञान हुन आएको कुनै गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरू कसैलाई म आफ्नो पदमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपले भन्ने वा संकेत गर्ने छैन ।
शपथ ग्रहण गर्नेको शपथ ग्रहण गरेको प्रमाणित गर्ने अधिकारीको नामः नामः दस्तखतः दस्तखतः पदः पदः मितिः मितिः