नयाँ नेपाल निर्माण कोष (सञ्चालन) नियमावली, २०६८ नेपाल राजपत्रमा प्रकाशित मिति २०६९।१।१८
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
परिच्छेद – १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नयाँ नेपाल निर्माण कोष (सञ्चालन) नियमावली, २०६८” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेसम्म यस नियमावलीमा,– (क) “अध्यक्ष” भन्नाले कोषको अध्यक्ष सम्झनु पर्छ । (ख) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको नयाँ नेपाल निर्माण कोष सम्झनु पर्छ । (ग) “योजना” भन्नाले नियम ४ बमोजिम कोषको उद्देश्य हासिल गर्न व्यापक जनपरिचालनका आधारमा कोषले सञ्चालन गर्ने कार्यक्रम सम्झनु पर्छ । (घ) “सचिवालय” भन्नाले कोषको सचिवालय सम्झनु पर्छ । (ङ) “सदस्य” भन्नाले कोषको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य–सचिवलाई समेत जनाउँछ । (च) “सदस्य–सचिव” भन्नाले कोषको सदस्य सचिव सम्झनु पर्छ । (छ) “समिति” भन्नाले कोषको सञ्चालक समिति सम्झनु पर्छ । (ज) “सिफारिस समिति” भन्नाले नियम १० बमोजिमको योजना प्रस्ताव तथा मूल्याङ्कन सिफारिस समिति सम्झनु पर्छ ।
परिच्छेद-२ कोषको स्थापना, उद्देश्य तथा प्रयोग
३. कोषको स्थापनाः (१) नयाँ नेपाल निर्माणको लागि व्यापक जनपरिचालन सहित अभियानजनको रूपमा कार्यक्रम तथा योजना सञ्चालन गर्ने नयाँ नेपाल निर्माण कोष नामको एक कोष स्थापना गरिएको छ । (२) कोषमा देहाय बमोजिम रकम रहनेछन्:– (क) आम नेपाली जनताबाट प्राप्त रकम, (ख) गैर आवासीय नेपालीहरुबाट प्राप्त रकम, (ग) सार्वजनिक क्षेत्र एवं सङ्गठित क्षेत्रका कर्मचारीहरुबाट प्राप्त तलब / पारिश्रमिक अंश दान, (घ) विभिन्न सङ्घ, संस्था र व्यक्तिबाट प्राप्त रकम, (ङ) विदेशी राष्ट्रहरुबाट प्राप्त रकम, (च) अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त रकम (छ) नेपाल सरकारबाट प्राप्त रकम, (ज) अन्य स्रोतबाट प्राप्त रकम । (३) उपनियम (२) को खण्ड (ङ) वा (च) बमोजिमको रकम प्राप्त गर्नु अघि कोषले नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ । (४) कोषले प्रत्येक तीन / तीन महिनामा कोषमा रकम जम्मा गर्ने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गर्नेछ । (५) कोषमा जम्मा हुने रकम प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क” वर्गको बैंकमा खाता खोली जम्मा गर्नेछ । (६) कोषको खाताको सञ्चालन सदस्य–सचिव र कोषको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
४. कोषको उद्देश्यः नयाँ नेपाल निर्माणका लागि आम नेपाली जनताको व्यापक सहभागिताबाट मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास एवं जनतालाई राहत पुर्याउने कार्यक्रम तथा योजना अभियानको रूपमा सञ्चालन गर्नु कोषको उद्देश्य हुनेछ ।
५. कोषको प्रयोग: व्यापक जनपरिचालनका आधारमा सञ्चालन हुने गरी कोषको प्रयोग देहाय बमोजिमको कार्यमा हुनेछ:– (क) बृहत्तर सार्वजनिक हित र सामुदायिक उपयोगका योजना निर्माण गर्ने, (ख) युवाहरुलाई लक्षित गरी नवीनतम तथा उपयुक्त प्रविधिको विकास गर्ने, (ग) स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र स्थानीय वस्तुको उत्पादन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, (घ) शहरी सौन्दर्य प्रवर्द्धन, विकास तथा राष्ट्रिय महत्वका नदीनालाको सरसफाई तथा बचाउ अभियान सञ्चालन गर्ने, (ङ) उच्च मूल्ययुक्त निर्यातयोग्य वस्तुको उत्पादन र प्रवर्द्धनसँग सम्बन्धित अभियान सञ्चालन गर्ने, (च) आर्थिक तथा सामाजिक रुपले अति विपन्न र सीमान्तकृत समुदायको संरक्षण, सशक्तीकरण तथा विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, (छ) महिला तथा दलित विरुद्ध हुने हिंसा तथा सामाजिक, सांस्कृतिक विकृति विरुद्धको अभियान परिचालन गर्ने, (ज) नवीकरणीय ऊर्जा जस्तै बायोडिजेल, इथानोल, सौर्य, वायु ইত্যাदिको उत्पादन र प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने, (झ) विभिन्न क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने, (ञ) नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा कोषको उद्देश्यको अधिनमा रही नेपाल सरकारले तोकेको अन्य काम गर्ने, (ट) कोषको प्रशासनिक खर्च गर्ने, (ठ) कोषको उद्देश्य हासिल हुने अन्य आवश्यक कार्य गर्ने ।
परिच्छेद – ३ समितिको गठन र काम, कर्तव्य तथा अधिकार
६. समितिको गठन: (१) कोषको तर्फबाट गर्ने सम्पूर्ण काम कारबाहीको सञ्चालन, रेखदेख तथा नियन्त्रण गर्न एक सञ्चालक समिति रहनेछ । (२) समितिको गठन देहाय बमोजिम हुनेछ:–
(क) उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – अध्यक्ष (ख) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य (ग) सचिव, अर्थ मन्त्रालय – सदस्य (घ) सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय – सदस्य (ङ) सचिव, स्थानीय विकास मन्त्रालय – सदस्य (च) स्नातकोत्तर हासिल गरी आर्थिक वृद्धि, पूर्वाधार विकास वा सामुदायिक विकासको क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव भएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनयन गरेका तीनजना – सदस्य (छ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य-सचिव
(३) उपनिर्णय (२) को खण्ड (च) बमोजिम मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ । (४) कोषको उद्देश्य वा हित विपरीत काम गर्ने उपनिर्णय (२) को (च) बमोजिम मनोनित सदस्यलाई नेपाल सरकारको जुनसुकै बखत हटाउन सक्नेछ । तर त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाईको मौका अवसरबाट वञ्चित गरिने छैन ।
७. समितिको काम, कर्तव्य र अधिकारः यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) नयाँ नेपाल निर्माणको लागि व्यापक जनपरिचालन हुने नीति तथा योजना तयार गर्ने, (ख) कोषले लगानी गर्ने योजना सम्बन्धी नीति निर्धारण गर्ने, (ग) लगानीको लागि उपयुक्त योजनाको पहिचान गर्ने, (घ) कोषले लगानी गर्ने योजना सम्पन्न गर्नु पर्ने अवधि र आकार तोक्ने,
(ङ) योजना सञ्चालनका लागि प्राप्त भएका प्रस्तावहरु अध्ययन स्वीकृत गर्ने, (च) योजना सञ्चालन सम्बन्धी मापदण्ड तथा कार्यविधि बनाउने, (छ) योजना सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था गर्ने, (ज) कोषको कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, (झ) नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने वा गराउने, (ञ) कोषको उद्देश्य प्राप्तिका लागि अन्य आवश्यक काम गर्ने वा गराउने ।
८. समितिको बैठक र निर्णयः (१) समितिको बैठक आवश्यकताअनुसार बस्नेछ । (२) समितिको बैठक सदस्य–सचिवले बोलाउनेछ । (३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य–सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यहरुलाई पठाउनेछ । (४) समितिको कुल सदस्य सङ्ख्याको कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ । (५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा समितिका उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ । (६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णय मत समेत दिनेछ । (७) समितिले आवश्यकतानुसार नेपाल सरकारको कुनै पदाधिकारी, कर्मचारी वा अन्य सम्बद्ध व्यक्ति तथा विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ । (८) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ । (९) समितिको निर्णय सदस्य–सचिवले सार्वजनिक गर्नेछ । (१०) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
९. उपसमिति तथा कार्यदल गठन गर्न सक्नेः (१) समितिको काममा सघाउ पुर्याउन समितिले आवश्यकता अनुसार उपसमिति तथा कार्यदल गठन गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम गठन गरिएको उपसमिति तथा कार्यदलको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा अन्य व्यवस्था त्यस्तो उपसमिति तथा कार्यदल गठन गर्दाका बखत समितिले तोकिदिए बमोजिम हुनेछ ।
परिच्छेद–४ योजना छनौट, सिफारिस, सञ्चालन तथा अनुगमन र मूल्याङ्कन
१०. सिफारिस समितिः (१) कोषले लगानी गर्ने योजनाको प्रस्ताव मूल्याङ्कन तथा सिफारिस गर्न एक योजना प्रस्ताव मूल्याङ्कन तथा सिफारिस समिति रहनेछ । (२) सिफारिस समितिको गठन देहाय बमोजिम हुनेछः– (क) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – संयोजक (ख) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य (ग) सहसचिव, अर्थ मन्त्रालय – सदस्य (घ) स्नातकोत्तर हासिल गरी आर्थिक वृद्धि, पूर्वाधार विकास वा सामुदायिक विकासको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिहरूमध्येबाट समितिले मनोनयन गरेका तीनजना – सदस्य (ङ) सहसचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य–सचिव (३) उपनियम (२) को खण्ड (घ) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ । (४) कोषको उद्देश्य वा हित विपरीत काम गर्ने उपनियम (२) को खण्ड (घ) बमोजिम मनोनीत सदस्यलाई समितिले जुनसुकै बखत हटाउन सक्नेछ । तर त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाईको मौका दिने अवसरबाट वञ्चित गरिने छैन ।
(५) सिफारिस समितिले आफ्नो कार्यसम्पादन गर्न सम्बन्धित क्षेत्रका विज्ञ तथा सम्बद्ध पदाधिकारीलाई आमन्त्रण गर्न सक्नेछ ।
११. सिफारिस समितिको काम, कर्तव्य र अधिकार: सिफारिस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) लगानी गर्ने प्रयोजनको लागि योजना छनौट गर्न समितिलाई सिफारिस गर्ने, (ख) कोष आफैं, कोषले स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनसँगको सहकार्यमा तथा स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठन मार्फत सञ्चालन गर्नु पर्ने योजनाको वर्गीकरण गरी समिति समक्ष सिफारिस गर्ने, (ग) कुनै योजना सञ्चालन गर्न स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनले पेश गरेको आर्थिक तथा प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने, (घ) योजना सञ्चालन गर्न प्रस्ताव पेश गर्ने सबैभन्दा उपयुक्त स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनलाई योजना सञ्चालन गर्ने स्वीकृतिका लागि समिति समक्ष सिफारिस गर्ने, (ङ) समितिले समय समयमा तोकेका अन्य कार्य गर्ने ।
१२. योजना छनौट तथा सञ्चालन: (१) कोषले आफैं, स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनसँगको सहकार्यमा वा स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठन मार्फत कोषको उद्देश्य हासिल हुने गरी नयाँ नेपाल निर्माण गर्ने अभियानको रूपमा विभिन्न योजना सञ्चालन गर्नेछ । (२) कोषले उपनियम (१) बमोजिम योजना सञ्चालन गर्ने प्रयोजनको लागि त्यस्तो योजनाको आवश्यकता र औचित्य, प्राविधिक तथा आर्थिक पक्ष र हासिल हुने उपलब्धि समेतका विषयमा अध्ययन अनुसन्धान गरी सिफारिस समितिको सिफारिसका आधारमा उपयुक्त योजनाको छनौट गरी सार्वजनिक गर्नेछ । (३) उपनियम (२) बमोजिम छनौट भएका योजनाहरूमध्ये आफैं सञ्चालन गर्ने वा स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनको सहकार्यमा सञ्चालन गर्ने वा
नियम १३ बमोजिम प्रस्ताव पेश गर्ने स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठन मार्फत सञ्चालन गराउन सक्नेछ । (४) कोषले यस नियम बमोजिम योजना सञ्चालन गर्दा स्थानीय जनताको सहभागिता नहुने योजनामा लगानी गर्ने छैन । (५) कोषले आफैं कुनै योजना सञ्चालन गर्ने भएमा त्यस्तो योजना उपयुक्त सरकारी निकाय मार्फत सञ्चालन गर्नेछ ।
१३. प्रस्ताव आव्हान गर्नेः (१) कोषले आफ्नो उद्देश्य हासिल हुने प्रकृतिका योजना छनौट गरी कोषसँगको सहकार्यमा वा आफैं सञ्चालन गर्ने गरी प्रस्ताव पेश गर्न इच्छुक स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनलाई प्रस्ताव आव्हान गर्नेछ । (२) उपनियम (१) बमोजिम प्रस्ताव आव्हान भएकोमा त्यस्तो योजना सञ्चालन गर्न चाहने स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनले कोषले निर्धारण गरे बमोजिमको ढाँचामा सचिवालयमा प्रस्ताव पेश गर्न सक्नेछन् । (३) उपनियम (२) बमोजिमको निवेदनकासाथ आफूले सञ्चालन गर्न चाहेको योजनाको उद्देश्य, उक्त योजना सञ्चालनको लागि आवश्यक पर्ने बजेट, समयावधि, योजना सम्पन्न गर्दा हुने उपलब्धि सहितको विस्तृत आर्थिक तथा प्राविधिक प्रस्ताव तथा कोषले समय समयमा तोकिदिएका कुराहरु संलग्न गर्नु पर्नेछ । (४) उपनियम (२) बमोजिम प्राप्त प्रस्ताव जाँचबुझ गर्दा त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न उपयुक्त देखिएमा समिति सिफारिस समितिको सिफारिसमा त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्न सक्नेछ । (५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कोषको उद्देश्य हासिल हुने प्रकृतिको कुनै योजना आफैं वा कोषसँगको सहकार्यमा सञ्चालन गर्न कुनै स्थानीय निकाय, स्वयं सेवा संस्था वा सामुदायिक सङ्गठनले चाहेमा आफूले सञ्चालन गर्न चाहेको योजनाको उद्देश्य, उक्त योजना सञ्चालनको लागि आवश्यक पर्ने बजेट, समयावधि, योजना सम्पन्न गर्दा हुने उपलब्धि सहितको विस्तृत आर्थिक तथा प्राविधिक प्रस्ताव तथा कोषले समय समयमा तोकिदिएका कुराहरु संलग्न गरी सचिवालय समक्ष प्रस्ताव पेश गर्न सक्नेछ ।
(६) उपनियम (५) बमोजिमको प्रस्ताव प्राप्त भएमा सो सम्बन्धमा अध्ययन गरी सिफारिस समितिको सिफारिस समेतका आधारमा समितिले त्यस्तो योजना सञ्चालन गर्न सम्बन्धित प्रस्तावकलाई स्वीकृति प्रदान गर्न सक्नेछ । (७) यस नियम बमोजिम प्रस्ताव स्वीकृत भएपछि समितिले तोकेको ढाँचामा कोषले प्रस्तावक स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनसँग सम्झौता गर्नु पर्नेछ ।
१४. योजना सञ्चालन सम्बन्धी विशेष व्यवस्थाः (१) कुनै संस्थाले कुनै प्रकृति वा क्षेत्रको कुनै योजना कोष मार्फत सञ्चालन गर्न गरी सो योजना सञ्चालन गर्न आवश्यक पर्ने साधन स्रोत समेत उपलब्ध गराउने गरी सचिवालयमा निवेदन दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा र त्यस्तो योजना कोषको उद्देश्य हासिल हुने प्रकृतिको भएमा तथा त्यस्तो संस्थाले उपलब्ध गराउने भनेको साधन स्रोत उक्त योजना कार्यान्वयन गर्न पर्याप्त हुने देखिएमा समितिले त्यस्तो योजना यस नियमावली बमोजिम सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्नेछ ।
१५. योजनाको अनुगमन तथा मूल्याङ्कनः (१) कोषले नियमित रुपमा योजना कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्नेछ । (२) समितिले सदस्य, सदस्य–सचिव, नेपाल सरकार वा कोषको कुनै कर्मचारी मार्फत योजना कार्यान्वयनको सम्बन्धमा योजना स्थलको अवलोकन भ्रमण गर्न, आवश्यक विवरण सङ्कलन गर्न, सार्वजनिक सुनुवाई गर्न वा समितिले उपयुक्त ठानेको अन्य कुनै प्रक्रिया अपनाई वा परामर्शदाता नियुक्त गरी योजना कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्न वा गराउन सक्नेछ । (३) समितिले योजना कार्यान्वयनको सम्बन्धमा प्रत्येक चौमासिकमा समीक्षा गरी सम्बन्धित योजना सञ्चालन गर्ने सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनलाई उपयुक्त निर्देशन दिनेछ ।
परिच्छेद–५ खर्चको निकासा, लेखाङ्कन र प्रतिवेदन
१६. खर्चको निकासाः (१) कोषको योजना सञ्चालनको स्वीकृति प्रदान गरेका स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनलाई योजना सञ्चालनको लागि खर्चको निकासा दिँदा किस्ता किस्ता गरी दिनेछ । (२) उपनियम (१) बमोजिम खर्च निकासा दिँदा योजना कार्यान्वयन गर्नका लागि सम्पन्न भएको कार्य तथा उपलब्धिको अनुपातमा दिइनेछ ।
१७. कोषको रकम खर्च गर्ने कार्यविधिः कोषको रकम खर्च गर्ने कार्यविधि तथा योजनाको सम्बन्धमा राख्नु पर्ने लेखा प्रणाली समितिले तोके बमोजिम हुनेछ ।
१८. खर्चको लेखाङ्कनः (१) यस नियमावली बमोजिम भएको खर्चको लेखा सम्बन्धित स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनले प्रचलित कानून बमोजिम राख्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम लेखा सम्बन्धी कागजात योजना सम्पन्न भएको पैंतीस दिनभित्र स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनले कोषमा बुझाउनु पर्नेछ ।
१९. लेखापरीक्षणः (१) नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था आबद्ध लेखापरीक्षकबाट कोषबाट अनुदान प्राप्त गरी सञ्चालन भएका योजनाको लेखापरीक्षण हुनेछ । (२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अन्तिम लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ ।
२०. प्रतिवेदन पेश गर्नु पर्नेः (१) योजना सञ्चालन गर्ने स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनले प्रत्येक चौमासिक तथा वार्षिक रुपमा आफ्नो प्रगति प्रतिवेदन कोषले निर्धारण गरेको ढाँचामा कोषमा बुझाउनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, योजना कार्यान्वयन गर्न आइपरेका समस्या तथा कठिनाइ एवं कोषले तोकिदिएका विवरणहरु खुलाउनु पर्नेछ ।
२१. सार्वजनिक गर्नु पर्नेः योजना सञ्चालन गर्ने सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्घले हरेक चौमासिका योजना कार्यान्वयन गर्न कोषबाट प्राप्त भएको रकम, त्यस्तो रकम खर्चको हिसाब तथा कोषले ताकिदिए बमोजिमको विवरण सार्वजनिक गर्नु पर्नेछ ।
परिच्छेद–६ विविध
२२. कोषमा रकम प्रदान गर्न सक्नेः (१) कुनै पनि स्वदेशी वा विदेशी संस्था वा व्यक्तिले कोषमा आफूले चाहेको रकम प्रदान गर्न सक्नेछन् । (२) कोषले विभिन्न व्यक्ति तथा संस्थाबाट सहज रूपमा रकम सङ्कलन गर्न प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्नेछ ।
२३. सम्मान गर्नेः योजना सञ्चालनको लागि कोषमा रकम प्रदान गर्ने व्यक्ति तथा संस्थालाई कोषले देहाय बमोजिम गर सम्मान गर्नेछः– (क) दश लाख रुपैयाँ वा सोभन्दा बढीको रकम प्रदान गर्ने व्यक्ति तथा संस्थाको हकमा त्यस्तो संस्थाको प्रमुखलाई प्रधानमन्त्रीको हस्ताक्षर सहितको कदरपत्र प्रदान गर्ने, (ख) एक लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म रकम प्रदान गर्ने व्यक्ति तथा संस्थालाई अध्यक्षको हस्ताक्षर सहितको कदरपत्र प्रदान गर्ने, र (ग) कोषमा रकम प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाको नाम कोषको वेबसाइटमा प्रकाशन गर्ने ।
२४. स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति र परिचालनः (१) योजनाको प्रवर्द्धन गर्न तथा योजना सञ्चालनको क्रममा कोषलाई आवश्यक सहयोग उपलब्ध गराउन कोषले आवश्यकता अनुसार स्वयंसेवक वा सहयोगी संस्था नियुक्ति गर्नेछ । (२) स्वयंसेवक वा सहयोगी संस्थाको छनौट गर्दा योजना विकास गर्न सक्ने, स्थानीयस्तरमा परिचालन हुन सक्ने जस्ता विशेषतालाई आधार मानी स्थानीय व्यक्ति वा संस्थामध्यै छनौट गरिनेछ ।
(३) स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति करारमा तोकिएको सुविधा दिने गरी आवधिक समयको लागि गरिनेछ । (४) स्वयंसेवक वा सहयोगी संस्थाहरु कोष प्रति जवाफदेही हुनेछन् । (५) स्वयंसेवक वा सहयोगी संस्थाले कोषले दिएको निर्देशनको आधारमा आफ्नो कार्यसम्पादन गर्नु पर्नेछ । (६) स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति तथा परिचालन समितिले जारी गरेको कार्यविधि बमोजिम खुल्ला प्रतिस्पर्धाको आधारमा हुनेछ ।
२५. अधिकार प्रत्यायोजन गर्न सक्नेः समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार सदस्य, सिफारिस समिति तथा नियम ९ बमोजिम गठन गरिएको उपसमिति वा कार्यदललाई प्रत्यायोजन गर्न सक्नेछ ।
२६. बैठक भत्ता पाउनेः समितिक सदस्य, सिफारिस समितिका संयोजक तथा सदस्य, नियम ९ बमोजिम गठन भएको उपसमिति वा कार्यदलको संयोजक तथा पदाधिकारी तथा समिति वा सिफारिस समितिको बैठकमा आमन्त्रण गरिएका पदाधिकारी तथा विज्ञले बैठकमा भाग लिए बापत नेपाल सरकारले तोके बमोजिमको बैठक भत्ता पाउनेछन् ।
२७. कोषको सचिवालयः कोषको सचिवालय राष्ट्रिय योजना आयोगको सचिवालयमा रहनेछ ।
२८. निर्देशन दिन सक्नेः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले यस नियमावली बमोजिम योजना सञ्चालन गर्ने वा गराउने सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ । (२) कोषले योजना सञ्चालन गर्ने सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु सम्बन्धित सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनको कर्तव्य हुनेछ ।
२९. प्रतिवेदन पेश गर्नेः (१) कोषले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले वर्षभरिमा गरेका काम कारबाहीको प्रतिवेदन तयार गरी नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ । (२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा छनौट गरिएका योजनाहरु आफैं, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनसँगको सहकार्यमा तथा स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनले सञ्चालन गरिरहेका योजनाहरु, लगानी भएको रकम र प्राप्त उपलब्धि सम्बन्धी विवरण तथा अन्य उपयुक्त विषयहरु संलग्न गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदन कोषले सार्वजनिक गर्नेछ ।
३०. सञ्चित कोषमा दाखिला गर्नु पर्नेः कोष विघटन हुँदा कोषमा कुनै रकम बाँकी भएमा त्यस्तो रकम सञ्चित कोषमा दाखिला गरिनेछ ।
३१. कार्यविधि तथा निर्देशिका बनाई जारी गर्न सक्नेः समितिले यस नियमावलीको कार्यान्वयनको लागि आवश्यक पर्ने कार्यविधि तथा निर्देशिका बनाई जारी गर्न सक्नेछ ।