नाट्यशाला (बहाल नियन्त्रण) नियमहरू, २०१७
नेपाल राजपत्रमा प्रकाशित मिति २०१८।२।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नाट्यशाला (बहाल नियन्त्रण) नियमहरू, २०१७” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यी नियमहरूमा,– (क) “नाट्यशाला” भन्नाले सिंहदरबार नाचघर र त्यहाँ रहेका मालसामान समेत जनाउँछ। (ख) “तोकेको अधिकारी” भन्नाले नेपाल सरकारबाट यस कामको निमित्त तोकिएको अधिकारी सम्झनुपर्छ।
३. इजाजतपत्र लिनुपर्नेः नाट्यशालामा नाटकको प्रदर्शन गर्न गराउन चाहने व्यक्तिले देहायको कुरा समेत स्पष्ट खुलाई तोकेको अधिकारीको समक्ष नाटकको प्रदर्शन गर्नुभन्दा सात दिन अगावै रीतपूर्वकको दरखास्त दिनुपर्छः- (क) सांस्कृतिक उत्थानको निमित्त टिकट लगाई वा नलगाई देखाइने, वा (ख) सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोष जम्मा गर्नलाई देखाइने वा, (ग) व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाएर देखाइने, र (घ) नाटक प्रदर्शन गर्ने अवधि र समय।
४. इजाजतपत्र दिइनेः नियम ३ बमोजिम दरखास्त पर्न आएमा तोकिएको अधिकारीले नियम ५ को अधीनमा रही तोकिएको समयको निमित्त इजाजतपत्र दिन सक्नेछ।
५. बहाल लिइनेः (१) नियम ४ बमोजिम इजाजतपत्र लिने व्यक्तिले तोकिएको अधिकारीलाई दैनिक रु. ५०।- का दरले बहाल बुझाउनुपर्छ। तर-
(क) सांस्कृतिक उत्थानको निमित्त टिकट नलगाई वा सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा जम्मा गर्नलाई देखाइने नाटकको निमित्त बहाल लाग्ने छैन । (ख) सांस्कृतिक उत्थानको निमित्त टिकट लगाई देखाइने नाटकको निमित्त दैनिक ने.रु. २५।- का दरले मात्र बहाल लाग्नेछ । (ग) उपनियम (१) बमोजिम बुझाउनु पर्ने बहाल वापतको रुपैयाँको ५० प्रतिशत इजाजतपत्र प्राप्त गर्नु अगावै र बाँकी रहेको रुपैयाँ नाटक प्रदर्शनको अवधि समाप्त भएको सात दिन भित्र बुझाउनु पर्छ ।
६. इजाजतपत्रको समाप्तिः (१) यी नियमहरूमा जे सुकै लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक सम्झेमा कुनै इजाजतपत्रको अवधि र समय हेरफेर गर्न वा कुनै इजाजतपत्रलाई स्थगित गर्न वा रद्द गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम रद्द गरिएको इजाजतपत्रको अवधिको निमित्त कुनै किसिमको बहाल लाग्ने छैन ।
७. नाट्यशालाको सुरक्षाः नाट्यशालाको वा त्यसको कुनै माल हिनमिना वा नोक्सान भए गरेमा वा गराएमा सो कुराहरूको जवाफदेही नाटक प्रदर्शन गर्ने गराउने व्यक्तिको हुनेछ ।
८. यी नियमहरू बमोजिम हुनेः यी नियमहरूमा लेखिएको कुरामा यी नियमहरू बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।
९. तोकेका अधिकारीलाई विश्वास हुनुपर्नेः सांस्कृतिक उत्थानको निमित्त गरिने भनेको नाटक प्रदर्शन वास्तवमा सांस्कृतिक उत्थानको निमित्त हो भन्ने विश्वास तोकेको अधिकारीलाई नभई यी नियमहरू बमोजिम बहालमा छुट पाउन सक्नेछैन ।
द्रष्टव्यः– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर भएका शब्दहरुः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।