निक्षेप सुरक्षण नियमावली, २०७५
नेपाल राजपत्रमा प्रकाशित मिति २०७५।०३।३१
निक्षेप तथा कर्जा सुरक्षण ऐन, २०७३ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “निक्षेप सुरक्षण नियमावली, २०७५” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ सम्झनु पर्छ। (ख) “प्रमुख कार्यकारी अधिकृत” भन्नाले ऐनको दफा ४९ बमोजिम नियुक्त कोषको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले ऐनको दफा ४९ को उपदफा (५) बमोजिम तोकिएको वा खटाइएको अधिकृतलाई समेत जनाउँछ।
३. निवेदन दिनु पर्नेः (१) बैंक वा वित्तीय संस्थाले सुरक्षित सदस्य संस्थाको सदस्यता लिन अनुसूची-१ बमोजिमको ढाँचामा कोष समक्ष निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम निवेदन परेमा प्रमुख कार्यकारी अधिकृतले आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा त्यस्तो बैंक वा वित्तीय संस्थालाई नियम ४ बमोजिमको सदस्यता शुल्क लिई तीस दिनभित्र अनुसूची-२ बमोजिमको ढाँचामा सुरक्षित सदस्य संस्थाको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ।
४. सदस्यता शुल्कः सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि बैंक तथा वित्तीय संस्थाले कोष समक्ष निवेदन दिँदा त्यस्तो संस्थाको कुल चुक्ता पूँजीको शून्य दशमलव शून्य पाँच प्रतिशतले हुन आउने रकम सदस्यता शुल्क बापत बुझाउनु पर्नेछ।
५. निक्षेप सुरक्षणमा रहेको मानिनेः नियम ३ बमोजिम कोषबाट सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गरेका बखत त्यस्तो बैंक तथा वित्तीय संस्थामा कायम रहेका निक्षेपकर्ताको सुरक्षण योग्य निक्षेप सोही मितिदेखि स्वतः सुरक्षण भएको मानिनेछ।
६. वार्षिक सुरक्षण शुल्कः (१) सुरक्षित सदस्य संस्थाले ऐनको दफा २१ को उपदफा (१) बमोजिम कोषले तोकेको वार्षिक सुरक्षण शुल्क बुझाउँदा सोही दफाको उपदफा (२) मा उल्लेख गरिए बमोजिम प्रत्येक तीन महिनाको लागि वार्षिक सुरक्षण शुल्कको एक चौथाईका दरले हुन आउने रकम कोषले तोकेको बैंक खातामा नगद, चेक, ड्राफ्ट, टी.टी, फ्याक्सट्रान्सफर, स्विफ्ट वा कोषले तोकेको अन्य कुनै तरिकाबाट जम्मा गरी सोको भौचर र उपनियम (५) बमोजिमको विवरण समेत कोषमा दाखिल गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बुझाउनु पर्ने सुरक्षण शुल्क गणना गर्दा मुद्दती निक्षेपको हकमा प्रत्येक तीन महिनाको अन्त्यमा निक्षेपकर्ताको खातामा कायम रहेको निक्षेप र अन्य निक्षेपको हकमा निक्षेपकर्ताको खातामा रहेको तीन महिनाको औषत निक्षेपको आधारमा शुल्क गणना गर्नु पर्नेछ।
तर ऐनको दफा १९ को उपदफा (१) मा उल्लिखित सीमा भन्दा बढी हुने गरी सुरक्षण शुल्क गणना गर्न पाइने छैन।
(३) सुरक्षित सदस्य संस्थाले उपनियम (२) बमोजिम सुरक्षण शुल्क गणना गर्ने प्रयोजनको लागि प्रत्येक निक्षेप खाताको अनुसूची–३ बमोजिमको ढाँचामा छुट्टाछुट्टै त्रैमासिक विवरण तयार गर्नु पर्नेछ।
(४) सुरक्षित सदस्य संस्थाले उपनियम (३) बमोजिमको विवरण तयार गर्दा सो अवधिभित्र निक्षेपकर्ताको त्यस्तो खातामा रहेको अन्तिम दिनसम्मको निक्षेपलाई सोही दिनसम्मको औषत हिसाबले सुरक्षण शुल्क गणना गरी सोको विवरण समेत कोषमा पठाउनु पर्नेछ।
(५) सुरक्षित सदस्य संस्थाले कोषलाई उपलब्ध गराएको उपनियम (३) वा (४) बमोजिमको विवरणमा कुनै निक्षेपको विवरण समावेश गर्न छुटेमा त्यसरी छुटेको निक्षेपमा लाग्ने सुरक्षण शुल्क ऐनको दफा २१ को उपदफा (२) बमोजिमको अवधि समाप्त भएको पैंतीस दिनभित्र त्यस्तो छुटेको विवरण सहित कोषमा दाखिला गर्नु पर्नेछ।
(६) उपनियम (१) वा (५) बमोजिम सुरक्षित सदस्य संस्थाबाट सुरक्षण शुल्क प्राप्त भएपछि कोषले सोको भपाई वा विद्युतीय प्रणाली मार्फत सोको जानकारी सम्बन्धित सुरक्षित सदस्य संस्थालाई दिनु पर्नेछ।
(७) यस नियम बमोजिम सुरक्षित सदस्य संस्थाले कोषमा बुझाएको सुरक्षण शुल्क फिर्ता हुने छैन।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षण हुनु नपर्ने निक्षेप वा सुरक्षण हुनुपर्ने भन्दा बढी रकमको निक्षेपमा सुरक्षण शुल्क गणना हुन गई आवश्यक भन्दा बढी सुरक्षण शुल्क कोषमा दाखिला भएको देखिएमा त्यसरी बढी भएको सुरक्षण
शुल्क सुरक्षित सदस्य संस्थाले कोषसँग फिर्ता माग गर्न वा आगामी त्रैमासिक सुरक्षण शुल्कको हिसाबमा मिलान गरिदिन कोषलाई अनुरोध गर्न सक्नेछ।
(९) उपनियम (८) बमोजिम अनुरोध प्राप्त भएमा कोषले जाँचबुझ गरी फिर्ता गर्न वा हिसाबमा मिलान गरिदिन सक्नेछ।
७. गाभिएका वा एकीकरण भएका सुरक्षित सदस्य संस्थाको सुरक्षण शुल्कः कुनै सुरक्षित सदस्य संस्था अर्को सुरक्षित सदस्य संस्थामा गाभिएमा वा एकीकरण भएमा त्यसरी गाभिएपछि वा एकीकरण भएपछि कायम भएको नयाँ संस्थामा थप भएको सुरक्षण योग्य निक्षेपको विवरण र त्यसरी थप भएको निक्षेपको सुरक्षण शुल्क ऐनको दफा २१ को उपदफा (२) बमोजिमको अवधिभित्र कोषमा बुझाउनु पर्नेछ।
८. विशेष योगदान सम्बन्धी व्यवस्थाः ऐनको दफा २३ बमोजिम सुरक्षित सदस्य संस्थाले विशेष योगदानको रकम बुझाउने प्रक्रिया सम्बन्धी व्यवस्था कोषले त्यस्तो योगदान रकम तोकेका बखत निर्धारण गरे बमोजिम हुनेछ।
९. सूचना तथा तथ्याङ्क बुझाउनु पर्नेः (१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम सुरक्षित सदस्य संस्थाले कोषलाई सूचना तथा तथ्याङ्क बुझाउँदा अनुसूची-४ बमोजिमको ढाँचामा बुझाउनु पर्नेछ।
(२) कोषले आवश्यक ठानेमा सुरक्षित सदस्य संस्थासँग सुरक्षण भएको निक्षेप सम्बन्धी अन्य कुनै सूचना तथा तथ्याङ्क माग गर्न सक्नेछ।
(३) कोषले मागेको सूचना तथा तथ्याङ्क कोषलाई उपलब्ध गराउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ।
१०. लिक्वीडेटरसँग विवरण माग गर्नेः (१) ऐनको दफा ३१ को उपदफा (१) बमोजिम नेपाल राष्ट्र बैंकबाट कुनै सुरक्षित सदस्य संस्थाको वित्तीय लिक्वीडेशन, लिक्वीडेशन वा खारेज गर्न प्रचलित कानून बमोजिम प्रक्रिया सुरु भएको लिखित सूचना कोषलाई प्राप्त भएमा कोषले त्यस्तो सुरक्षित सदस्य संस्थामा रहेको निक्षेपकर्ताको निक्षेप सम्बन्धी विवरण पठाउन सम्बन्धित लिक्वीडेटरलाई लेखी पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा लिक्वीडेटरले दस दिनभित्र त्यस्तो सुरक्षित सदस्य संस्थामा रहेको निक्षेपकर्ताको निक्षेप सम्बन्धी विवरण अनुसूची-५ बमोजिमको ढाँचामा कोषलाई उपलब्ध गराउनु पर्नेछ।
११. एजेण्टको छनौट गर्नेः कोषले ऐनको दफा ३१ को उपदफा (३) को प्रयोजनको लागि समितिले निर्धारण गरेको शर्त तथा आधारमा नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त सुरक्षित सदस्य संस्थालाई एजेण्टको काम गर्न छनौट गर्नेछ।
१२. भुक्तानी दाबीको लागि सूचना प्रकाशन गर्नेः (१) कोषले कुनै सुरक्षित सदस्य संस्थाको लिक्वीडेशन वा खारेजी प्रक्रिया सुरु भएको कारणबाट त्यस्तो सुरक्षित सदस्य संस्थाका निक्षेपकर्तालाई एजेण्ट मार्फत निक्षेप फिर्ता दिनु पर्ने भएमा सम्बन्धित लिक्वीडेटर मार्फत एजेण्ट समक्ष निवेदन दिन ऐनको दफा ३१ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि निक्षेपकर्ताले देहायका प्रमाण कागज सहित अनुसूची–६ बमोजिमको ढाँचामा सम्बन्धित लिक्वीडेटर मार्फत एजेण्टसमक्ष निवेदन दिनु पर्नेछः-
(क) निक्षेपकर्ताको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रमाणित प्रतिलिपि,
(ख) निक्षेपकताको नाममा सम्बन्धित सुरक्षित सदस्य संस्थामा रहेको कुनिक्षेप खाता र सो खातामा सुरक्षण रकम भएको पुष्ट हुने बैंक स्टेटमेण्ट वा भौचर यस्तै कुनै प्रमाण कागज ।
१३. लाभग्राहीको निर्धारणः दुई वा दुईभन्दा बढी लाभग्राही भएको निक्षेपकताको सुरक्षित रकमको निर्धारण देहायको आधारमा गर्नु पर्नेछः-
(क) सम्बन्धित लाभग्राहीले आ-आफ्नो भागमा पर्न भनी रकम खुलाई संयुक्त निवेदन दिएमा सोही आधारमा,
(ख) खण्ड (क) बमोजिम निवेदन नदिएमा वा सुरक्षित रकम निर्धारण हुन नसकेमा दामासाहीको आधारमा।
१४. दाबी भुक्तानी नहुनेः कोषले देहायको निक्षेपको दाबी भुक्तानी गर्ने छैनः-
(क) ऐनको दफा १९ को उपदफा (१) मा उल्लिखित सीमा भन्दा बढी निक्षेपको दाबी लिएमा त्यसरी बढी दाबी गरिएको निक्षेप,
(ख) ऐन वा यस नियमावली बमोजिम सुरक्षण नभएको निक्षेप,
(ग) सुरक्षित सदस्य संस्था लिक्विडेसनमा गएको घोषणा भएपछिको सो संस्थामा जम्मा हुन आएको निक्षेप,
(घ) सुरक्षित सदस्य संस्थाले ऐन वा यस नियमावली बमोजिम कोषलाई बुझाउनु पर्ने सुरक्षण शुल्क नबुझाएको निक्षेप,
(ङ) लिक्विडेटरले प्रमाणित नगरेको निक्षेप,
(च) लाभग्राहीको विवरण नखुलेको निक्षेप।
१५. छानबिन गर्न सक्नेः ऐन वा यस नियमावली बमोजिम सुरक्षित सदस्य संस्थाले निक्षेपकर्तालाई दाबी भुक्तानी गर्नु अघि त्यस्तो दाबीका सम्बन्धमा कोषले आवश्यकता अनुसार निक्षेपकर्तासँग व्यक्तिगत रुपमा सोधपुछ गर्न वा निजले दाबी भुक्तानीको लागि पेश गरेको प्रमाण कागजको बारेमा छानबिन गर्न सक्नेछ।
१६. फेला नपरेका निक्षेपकर्ताको दाबी भुक्तानीः (१) ऐनको दफा ३१ बमोजिम तोकिएको समय सीमाभित्र दाबी भुक्तानी लिन नआउने निक्षेपकर्ताको निक्षेप सोही ऐनको दफा ३२ को उपनियम (१) बमोजिम कोषले आफ्नो नाममा नेपाल राष्ट्र बैंकमा छुट्टै खाता खोली जम्मा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जम्मा गरेको रकम बुझिलिन कोषले सम्बन्धित निक्षेपकर्तालाई दफा ३१ को उपदफा (६) बमोजिम दाबी भुक्तानीको लागि तोकिएको समय सीमा समाप्त भएको छ महिनाभित्र सार्वजनिक सूचनाद्वारा जानकारी गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको सूचनाको आधारमा कसैले भुक्तानी दाबी गर्न आएमा कोषले आवश्यक जाँचबुझ गरी रकम भुक्तानी गर्न सक्नेछ।
१७. कोषले अनुगमन गर्न सक्नेः (१) सुरक्षित सदस्य संस्थाले पेश गरेका निक्षेप सुरक्षण सम्बन्धी मासिक वा त्रैमासिक विवरणको सम्बन्धमा कोषले ऐनको दफा ५३ को अधिनमा रही आवश्यकता अनुसार अनुगमन गर्न सक्नेछ।
(२) उपनियम (१) को प्रयोजनका लागि कोषले त्यस्तो सुरक्षित सदस्य संस्थाको वित्तीय विवरण, वार्षिक सुरक्षण शुल्क गणनाको आधार, निक्षेप र निक्षेपकर्ताको विवरणका साथै निक्षेप सुरक्षण योजनाको सम्बन्धमा सार्वजनिक रुपमा सूचना प्रवाह गरे, नगरेको सम्बन्धमा स्थलगत अनुगमन गर्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम स्थलगत अनुगमन गर्दा कोषले सुरक्षित सदस्य संस्थासँग आवश्यक अन्य विवरण कागजात वा जानकारी माग गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम कोषले माग गरेको विवरण कागजात वा जानकारी उपलब्ध गराउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ।
१८. विद्युतीय रजिष्टर राख्नु पर्नेः (१) सुरक्षित सदस्य संस्थाले सुरक्षित निक्षेपकर्ताको विवरण कोषले चाहेको बखत हेर्न सक्ने गरी विद्युतीय प्रणालीमा रजिष्टर खडा गरी सुरक्षित रुपमा राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको विद्युतीय रजिष्टर सुरक्षित सदस्य संस्थाले आफ्नो र कोषको सम्बन्धित विभागीय प्रमुखबाट प्रमाणित गराई आफ्नो र कोषको प्रत्यक्ष संयुक्त नियन्त्रण र रेखदेखमा सुरक्षित रुपमा राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको विद्युतीय रजिष्टरमा विवरण राख्दा कसैले हेरफेर गर्न नमिल्ने गरी सुरक्षित रहने व्यवस्था मिलाउनु पर्नेछ।
१९. व्यक्तिगत विवरण उपलब्ध गराउन नहुनेः सुरक्षित सदस्य संस्थाले ऐन वा यस नियमावली बमोजिम कोषमा प्राप्त हुन आएका निक्षेपकर्ताको व्यक्तिगत विवरण प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने निकाय वा अदालतले मागेका बखतमा बाहेक अरु कसैलाई उपलब्ध गराउन हुँदैन।
२०. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ।
अनुसूची–१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि दिने निवेदनको ढाँचा
पत्र सङ्ख्या:- मिति:
श्री प्रमुख कार्यकारी अधिकृतज्यू निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौं।
विषय: सुरक्षित सदस्य संस्थाको सदस्यता पाउँ ।
यस संस्थाले ऐन बमोजिम कोषको सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि देहायका विवरण कागजातसहित यो निवेदन पेश गरेको छु । ऐन, नियमावली तथा कोषबाट समय समयमा जारी हुने निर्देशन तथा आदेशको पालना गर्न यो संस्था प्रतिबद्ध छ।
संलग्न कागजातः निवेदक संस्थाको तर्फबाट (क) संचालक समितिको अख्तियारी, अधिकारप्राप्त अधिकारीको, (ख) नेपाल राष्ट्र बैंकबाट प्राप्त इजाजतपत्रको प्रमाणित प्रतिलिपि, सहीः (ग) कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नाम, थरः (घ) आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, पदः (ङ) कोषले तोकेको अन्य कागजात।
निवेदक संस्थाको नामः ठेगानाः
संस्थाको छाप
अनुसूची–२ (नियम ३ को उपनियम (४) सँग सम्बन्धित) सुरक्षित सदस्य संस्थाको सदस्यता प्रमाणपत्रको ढाँचा
सदस्यता नंः .................
निक्षेप तथा कर्जा सुरक्षण कोष केन्द्रीय कार्यालय काठमाडौं। सुरक्षित सदस्य संस्थाको सदस्यता प्रमाणपत्र
कोषको मिति .............. निर्णय अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा १५ बमोजिम कोषको सुरक्षित सदस्य संस्थाको रुपमा यो सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ।
मिति: .............. (.............................) प्रमुख कार्यकारी अधिकृत
अनुसूची–३ (नियम ६ को उपनियम (३) सँग सम्बन्धित) निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं। सुरक्षित निक्षेपको त्रैमासिक विवरण
सदस्य संस्थाको नामः संस्था सदस्यता नं ः २०......साल आषाढ/आश्विन/पौष/चैत्र मसान्तको अन्त्यमा निक्षेपकर्ताको निक्षेप खातामा कायम रहेको निक्षेपको विवरण यस प्रकार रहेको छ। निक्षेपको किसिमः चल्ती/बचत/मुद्दती/अन्य (रकम रु मा)
नोट: (१) औषत निक्षेप हिसाब गर्दा सदस्य संस्थाले निक्षेपकर्तालाई बचत खातामा ब्याज दिँदा प्रयोग गर्ने गणना विधीलाई आधार लिनु पर्नेछ।
(२) त्रैमासिक विवरण पठाउनु अघि कुनै निक्षेप खाता बन्द गरेको भएकोमा सोको सुरक्षण शुल्क माथि उल्लिखित विधि अनुसार गणना गर्नु पर्नेछ।
(३) सुरक्षण शुल्क गणना गर्दा सुरक्षण योग्य निक्षेप खाताहरुमा रहेको निक्षेपलाई एकमुष्ठ गरी सुरक्षण शुल्क गणना गर्नु पर्नेछ।
(४) विदेशी मुद्राको सुरक्षण शुल्क निर्धारण गर्दा सुरक्षण शुल्क बुझाउने महिनाको अन्तिम दिनको विनिमय दरलाई आधार मानी गणना गर्नु पर्नेछ।
अनुसूची–४ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
प.सं....च.नं....... मिति:........... निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं। विषयः निक्षेपको मासिक विवरण पेश गरेको।
............ महिनाको अन्त्यसम्ममा यस ..................................मा रहेको निक्षेपकर्ता निक्षेपको विवरण देहाय बमोजिम रहेको व्यहोरा जानकारी गराउँदछु ।
द्रष्टव्य: (१) विवरणमा ब्याज गणनाको अवधि र ब्याज दर उल्लेख गर्नु पर्नेछ। (२) कुल निक्षेप रकम लिक्विडेसनमा गएको घोषणा भएको दिनसम्मको खुलाउनु पर्नेछ। (३) समष्टिगत दाबी योग्य रकम ऐनको दफा १९ को उपदफा (१) को सीमासम्म रहनेछ।
अनुसूची–५ (नियम १० को उपनियम (२) सँग सम्बन्धित) लिक्वीडेटरले कोषमा निक्षेपकर्ताको विवरण पठाउने ढाँचा
रकम रु.मा
लिक्वीडेटरको, दस्तखत: ................... नाम: ......................... मिति: ........................
अनुसूची-६ (नियम १२ को उपनियम (२) सँग सम्बन्धित)
पत्रसङ्ख्या:- मिति:-
श्री ................................।
संलग्न कागजात
(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, (ख) सुरक्षित सदस्य संस्थाको ..........निक्षेप खातामा रकम जम्मा गरेको भौचर/खातामा रकम रहेको बैंक स्टेटमेण्ट।
निक्षेपकर्ताको निक्षेपको विवरण आधिकारिक व्यक्ति को, दस्तखत:......................... नाम:......................... पद:...................... विषय:- सुरक्षण निक्षेपको भुक्तानी दाबी बारे । .......................................संस्था लिक्विडेसनमा गएको/खारेजीमा परेकोले सो संस्थामा रहेको सुरक्षित निक्षेपको भुक्तानी दाबी गर्ने मिति ............सूचना प्रकाशन भएकोमा सो संस्थामा रहेको मुद्दती/चल्ती/बचत निक्षेपमा खातामा मेरो/हाम्रो नाममा रहेको रकम रु ............................सुरक्षित रहेकोले उक्त निक्षेपको भुक्तानी पाउन देहायका प्रमाण कागज संलग्न गरी यो भुक्तानी दाबी पेश गरेको छु/गरेको छौं। यसमा लेखिएको व्यहोरा ठीक साँचो हो, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला। निवेदक निक्षेपकर्ताको,- दस्तखत: नाम: ठेगाना: सम्पर्क नं: संस्थाको छाप: