निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५
नेपाल राजपत्रमा प्रकाशन मिति २०६५।११।१९
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २३ को उपदफा (२) को खण्ड (ग) बमोजिम नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) “निजामती सेवाका कर्मचारी” भन्नाले निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती सेवामा कार्यरत कर्मचारी सम्झनु पर्छ र सो शब्दले स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिमको स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई समेत जनाउँछ । (ख) “परिवार” भन्नाले निजामती कर्मचारीसँग बस्ने वा निज आफैले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहित महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिला कर्मचारीको हकमा निजको सासु, ससुरालाई समेत जनाउँछ । (ग) “कार्यालय” भन्नाले निजामती कर्मचारी कार्यरत नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय सम्झनु पर्छ ।
परिच्छेद–२
पदीय आचरण सम्बन्धी व्यवस्था
३. पदीय मर्यादा कायम राख्नु पर्नेः (१) निजामती कर्मचारीले आफ्नो पदीय जिम्मेवारीको पालना गर्दा सधैं राष्ट्र र जनताको बृहत्तर हितलाई ध्यानमा राखी प्रचलित कानूनको अधिनमा रही गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले नेपाल राष्ट्र तथा सरकार प्रति वफादार रही आफ्नो सेवाको मर्यादा र गरिमामा आँच पुग्ने गरी कुनै पनि काम नगर्न र हुन नदिन सदा सचेष्ट रहनु पर्नेछ ।
(३) निजामती कर्मचारीले आफ्नो पद तथा सेवालाई मर्यादित बनाउन सधैं सकारात्मक रहनुपर्ने तथा अरुको लागि अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नु पर्नेछ ।
(४) निजामती कर्मचारीले आफ्नो पद अनुरूपको जिम्मेवारी तदारुकताका साथ पालना गर्नु पर्नेछ ।
(५) कुनै पदमा बहाल रहेको निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी वेग्लै व्यवस्था भएकोमा त्यस्ता आचरणको समेत पालना गर्नु पर्नेछ ।
४. उचित र समान व्यवहार गर्नेः निजामती कर्मचारीले जात, जाति, धर्म, भाषा, लिङ्ग, उमेर, राजनीतिक वा सामाजिक हैसियत, भौगोलिकता, राजनीतिक दृष्टिकोण, पहुँच वा सम्बन्ध, शारीरिक अवस्था, वैवाहिक स्थिति वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सम्मानका साथ उचित र समान व्यवहार गर्नु पर्नेछ ।
५. कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्नु पर्नेः निजामती कर्मचारीले कार्यालय समयमा कार्यालयको कामको लागि निर्धारित स्थानमा रहेर कार्यालयको काम मात्र गर्नु पर्नेछ र कार्यालय समयमा कार्यालयको कामसँग असम्बन्धित व्यक्तिगत वा अन्य कुनै क्रियाकलापमा संलग्न हुनु हुँदैन ।
तर कार्यालयको काममा बाधा नपुग्ने गरी सार्वजनिक क्षेत्रमा सञ्चालित विश्वविद्यालय वा सार्वजनिक क्षेत्रमा तालीम, प्रशिक्षण सञ्चालन गर्ने प्राज्ञिक वा शैक्षिक संस्थामा आफ्नो पेशा वा कार्यसंग सम्बन्धित विषयमा प्रशिक्षण दिन बाधा पर्ने छैन ।
६. कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुनेः (१) निजामती कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेसिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरुको व्यक्तिगत प्रयोजन वा फाइदाको लागि प्रयोग गर्नु हुँदैन ।
(२) निजामती कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेसिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरु अधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना कार्यालयबाट अन्यत्र लैजान तथा अन्य व्यक्तिलाई प्रयोग गर्न दिन हुँदैन ।
(३) निजामती कर्मचारीले पदीय हैसियतमा प्राप्त गरेको हक, अधिकार, सुविधा वा सहुलीयतको दुरुपयोग गर्नु हुँदैन ।
७. सूचना दिन वा सूचनाको दुरुपयोग गर्न नहुनेः (१) निजामती कर्मचारीले प्रचलित कानुन बमोजिम गोप्य मानिने सूचनाको जानकारी कसैलाई पनि दिनु हुँदैन ।
(२) निजामती कर्मचारीले आफ्नो पदीय हैसियत वा कार्यालयको कार्य सम्पादनको क्रममा वा अन्य कुनै प्रकारबाट जानकारीमा आएको कार्यालयमा उपलब्ध भएको वा नभएको कुनै सूचना वा जानकारी कसैलाई दिन वा आफ्नो वा आफ्नो परिवार वा अन्य कुनै व्यक्तिको फाइदाको लागि प्रयोग गर्नु हुँदैन ।
(३) कार्यालय प्रमुख, सूचना अधिकारी वा प्रवक्ता बाहेक अरु निजामती कर्मचारीले आफु बहाल रहेको कार्यालयबाट प्रकाशन नगरीएको सूचना सार्वजनिक गर्न हुँदैन ।
तर कार्यालयबाट सार्वजनिक गरिएको सूचना दिन कुनै बाधा पर्ने छैन ।
(४) कार्यालयबाट सार्वजनिक रुपमा वा कार्यालयको कामको सिलसिलामा कुनै व्यक्ति वा निजामती कर्मचारीलाई सूचना वा जानकारी दिनु पर्दा पूर्ण र यथार्थ सूचना वा जानकारी दिनु पर्नेछ ।
(५) निजामती कर्मचारीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारी हुन आएको कुनै सूचनाको प्रयोग त्यस्तो सूचना जुन प्रयोजनको लागि सृजना वा प्राप्त भएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्नु हुँदैन ।
(६) कार्यालय प्रमुख, सूचना अधिकारी वा प्रवक्ता बाहेक अन्य निजामती कर्मचारीले अधिकार प्राप्त नगरी कार्यालयको काम कारबाही वा सोसँग सम्बन्धित विषयमा कुनै पनि सञ्चारका साधन मार्फत वक्तव्य दिन, अन्तर्वार्ता दिन वा नाम गोप्य राखेर वा नराखेर कुनै सूचना दिन हुँदैन । अधिकार प्राप्त गरी त्यस्तो सूचना वा वक्तव्य वा अन्तर्वार्ता दिँदा त्यमा सीमित रहेर दिनु पर्नेछ र त्यसमा आफ्नो व्यक्तिगत दृष्टिकोण वा विचार व्यक्त गर्न पाइने छैन ।
८. काम कारबाहीमा निष्पक्षता कायम गर्नेः (१) निजामती कर्मचारीले आफ्नो पदीय जिम्मेवारी कसै को अनुचित प्रभाव, प्रलोभन, दबाब, रिसुत वा कुनै आग्रहबाट प्रभावित नभई कसैप्रति कुनै पनि किसिमको पूर्वाग्रह वा द्वेष नराखी स्वतन्त्र र निष्पक्षताका साथ पालना गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले कार्यालयको कामकारबाहीसँग सम्बन्धित व्यक्ति वा संस्थासँग कुनै लेनदेन व्यवहार गर्न वा आफ्नो पदीय कर्तव्यमा असर परी गरी कुनै व्यक्ति वा संस्थाबाट कुनै किसिमको उपहार, दान वा चन्दा स्वीकार गर्न, लिन तथा कुनै किसिमबाट जुनसुकै प्रयोजनको लागि चन्दा, दान वा सहयोग उठाउने काममा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुन हुँदैन ।
९. व्यापार व्यवसाय गर्न नहुनेः प्रचलित कानूनले अनुमति दिएकोमा बाहेक निजामती कर्मचारीले आफू एक्लै ले वा कुनै व्यक्ति वा समूहसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि व्यापार व्यवसाय गर्न हुँदैन ।
१०. स्वार्थ रहेको विषयमा जानकारी गराउनेः कुनै निजामती कर्मचारीको आफ्नो कार्यालयसँग सम्बन्धित कुनै कामका सम्बन्धमा कुनै व्यक्तिगत स्वार्थ रहेको भएमा त्यस्तो कर्मचारीले सो कुराको जानकारी आफुनिन्दा माथिल्लो श्रेणीको अधिकृतलाई गराउनु पर्नेछ ।
११. परिचयपत्र, पोशाक लगाउनु पर्नेः (१) निजामती कर्मचारीले कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनु पर्नेछ ।
(२) निजामती कर्मचारीले मर्यादित किसिमको पोशाक लगाउनु पर्नेछ ।
(३) कुनै कार्यालयका निजामती कर्मचारीको लागि पोशाक निर्धारण गरिएकोमा त्यस्तो कार्यालयमा कार्यरत निजामती कर्मचारीले कार्यालयमा रहँदा तथा कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दा त्यस्तो पोशाक लगाउनु पर्नेछ ।
१२. राजनीतिक तटस्थता कायम गर्नेः (१) निजामती कर्मचारी कुनै राजनीतिक पदाधिकारीको व्यक्तिगत, व्यावसायिक वा राजनीतिक इच्छालाई प्रवर्द्धन गर्ने क्रियाकलापमा संलग्न हुनु हुँदैन ।
(२) निजामती कर्मचारीले कुनै पनि राजनीतिक दल, नेताहरुका मातृ सङ्गठन वा कुनै दलको नेताको समर्थन वा विरोधमा कुनै विचार व्यक्त गर्ने वा त्यसमा कसैलाई समर्थन वा विरोध गर्नेको लागि प्रभावमा पर्नु हुँदैन । ट्रेड युनियनको हकमा सोही ऐनमा उल्लेख भए बमोजिम हुनेछ।
(३) निजामती कर्मचारीले आफ्नो पदीय जिम्मेवारी पूरा गर्दा पूर्णरूपमा राजनीतिक तटस्थता कायम गर्नु पर्नेछ ।
१३. पारदर्शीता कायम गर्नेः निजामती कर्मचारीले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवा सुविधा, आपूर्ति गर्ने वा उपलब्ध गराउने सामग्री वा निर्माण कार्य सञ्चालन गर्ने भए सो सम्बन्धी तौरतरिका र त्यसको निर्णय प्रक्रियालाई पारदर्शी बनाउनु पर्नेछ ।
१४. सेवा प्रवाहः (१) निजामती कर्मचारीले आफुलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रुपमा निर्वाह गर्न सदा प्रयत्नशील रहनु पर्नेछ ।
(२) निजामती कर्मचारीले सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपाङ्ग, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनु पर्नेछ ।
(३) निजामती कर्मचारीले सेवाग्राहीको काम समयमै सम्पन्न गरिदिनु पर्नेछ । कुनै कारणबाट समयमै काम सम्पन्न हुन नसक्ने भएमा वा सेवाग्राहीले चाहेको कार्य
सम्पादन गर्न नसकिने वा नमिल्ने भएमा त्यसको आधार र कारणको जानकारी यथाशीघ्र सम्बन्धित सेवाग्राहीलाई दिनु पर्नेछ ।
(४) निजामती कर्मचारीले सरकारी वा सार्वजनिक सेवामा सर्वसाधारणको सहज र प्रत्यक्ष पहुँच पुग्ने गरी सकेसम्म सरल र सहज भाषामा जानकारी तथा सल्लाह दिनु पर्नेछ ।
(५) कुनै सेवाग्राहीको कार्य सम्पादनको क्रममा नेपाल सरकारको कुनै निकायमा रहेको कुनै जानकारी वा विवरण आवश्यक परे भएमा त्यस्तो जानकारी वा विवरण त्यस्तो कार्य सम्पन्न गर्ने कर्मचारीले आफ्नो कार्यालय मार्फत नै मगाउने व्यवस्था गर्नु पर्नेछ ।
१५. गुनासो व्यवस्थापनः (१) निजामती कर्मचारीले आफ्नो कार्यालयबाट गरिने सेवा प्रवाहको सम्बन्धमा नागरिकहरुको गुनासो प्रति सधैं संवेदनशील रहनु पर्नेछ र त्यस्ता गुनासाहरु सकेसम्म कम आउने गरी आफ्नो कार्यशैलीमा सुधार गर्दै जानु पर्नेछ ।
(२) निजामती कर्मचारीले आफु कार्यरत कार्यालयको काम कारबाहीको सम्बन्धमा कुनै व्यक्तिले नलि चाहेको जानकारी वा गरेको गुनासो वा दिएको कुनै निवेदको सम्बन्धमा उपयुक्त र प्रभावकारी जवाफ शिष्टताका साथ समयमै दिनु पर्नेछ र सम्बन्धित कार्यालयको प्रमुख भई काम गर्ने निजामती कर्मचारीले त्यस्ता गुनासो तथा निवेदिका सम्बन्धमा समयमै उपयुक्त तथा प्रभावकारी व्यवस्थापन हुने व्यवस्था मिलाउनु पर्नेछ ।
परिच्छेद–३ पेशागत आचरण सम्बन्धी व्यवस्था
१६. कानूनको जानकारी र पालनाः (१) निजामती कर्मचारीले कम्तीमा पनि आफ्नो कामसँग सम्बन्धित सबै कानूनको जानकारी राख्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले प्रचलित कानून, अदालतको निर्णय वा आदेश, संवैधानिक निकाय र नेपाल सरकारको निर्णयको सदैव सम्मान र पालना गर्नु पर्नेछ ।
१७. पेशाको सम्मान गर्नु पर्नेः (१) निजामती कर्मचारीले आफ्नो पेशाको सम्मान गर्दै पेशालाई प्रतिष्ठापूर्ण र मर्यादित बनाउनको लागि सदैव प्रयत्नशील रहनु पर्नेछ ।
(२) सेवाग्राही वा सर्वसाधारण जनतामा निजामती सेवाप्रति नकारात्मक भावना विकास हुने गरी कुनै कुरा व्यक्त गर्न वा कुनै सूचना प्रवाह गर्नु हुँदैन ।
१८. आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्नेः निजामती कर्मचारीले आफ्नो काम कारबाहीको साथसाथ आफ्नो पेशागत क्षमता विकासको लागि सदैव प्रयत्नशील रहनु पर्नेछ ।
१९. पेशागत अनुमतिपत्रका शर्तहरु पालना गर्नु पर्नेः कुनै निजामती कर्मचारीले आफ्नो पदीय कर्तव्य निर्वाह गर्दा कुनै अनुमतिपत्र लिनु पर्ने रहे छ भने त्यस्तो निजामती कर्मचारीले त्यस्तो अनुमतिपत्रका शर्तहरु पालना गर्नु पर्नेछ ।
२०. गुणस्तरीय रुपमा कार्य सम्पादन गर्नेः (१) निजामती कर्मचारीले आफुलाई सुम्पिएको जिम्मेवारी इमान्दारिताका साथ आफ्नो क्षमताले भ्याएसम्म गुणस्तरीय रुपमा सम्पन्न गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले आफुले सम्पादन गरेको कामको जिम्मेवारी लिनु पर्नेछ ।
तर कानूनी बमोजिम गरिएको कामको बारे मा निजलाई कुनै कारबाही गरिनेछैन ।
(३) निजामती कर्मचारीले नेपाल सरकार वा अन्य कुनै निकायलाई राय सल्लाह दिँदा निष्पक्षता एवं इमान्दारिताको साथ सोधिएका सबै विषयमा कानून सम्मत हुने गरी दिनु पर्नेछ ।
२१. व्यावसायिक मापदण्डको पालनाः कुनै पेशा वा कार्यका सम्बन्धमा कायम रहेका नैतिक मापदण्ड समेत त्यस्ता पेशा वा क्षेत्रमा कार्यरत निजामती कर्मचारीले पालना गर्नु पर्नेछ ।
२२. निर्देशनको पालना गर्नु पर्नेः निजामती कर्मचारीले सरकारी वा कार्यालयको कामको सम्बन्धमा आफुभन्दा माथिको कर्मचारीले दिएको निर्देशनलाई शीघ्रताका साथ पालना गर्नु पर्नेछ ।
२३. आर्थिक अनुशासन र सदाचारिताः (१) निजामती कर्मचारीले आफ्नो कामकारबाही आर्थिक रुपमा मितव्ययी तथा किफायतपूर्वक गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले आफू वा आफ्नो परिवारका सदस्यबाट समेत सरकारी कोष वा सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना, बेवास्ता र दुरुपयोग गर्न गराउन हुँदैन ।
(३) निजामती कर्मचारीले सरकारी वा सार्वजनिक सम्पत्ति अनधिकृत रुपमा कुनै पनि राजनीतिक दल वा राजनीतिक दलका भातृ सङ्गठन वा त्यस्ता दल वा भातृ सङ्गठिका कार्यक्रमका लागि प्रयोग गर्न दिन हुँदैन ।
परिच्छेद–४ आचरण विपरीत नहुने
२४. आचरण विपरीतको कार्य गरेको मानिनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका कार्यलाई यस नियमावलीको आचरण विपरीतका कार्य मानिने छैनः
(क) कार्यालय समय बाहेक कार्यालयको काम कारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफूले विशेषज्ञता हासिल गरेको विषयमा लिखित वा मौखिक प्रवचन दिने तथा पूर्व स्वीकृति लिई अध्ययन तथा अध्यापन गर्ने,
(ख) साहित्य, कला, संस्कृति, खेलकुद, ज्ञान, विज्ञान, प्रविधि, मनोरञ्जन सम्बन्धी र पेशागत एवं सामाजिक संस्थाहरुमा सदस्य हुन् र त्यस्ता मञ्चहरुमा सहभागी हुने,
(ग) राजनीतिक दल र तिनिहरुको भातृ सङ्गठिले आयोजना गरेको बाहेक पेशागत सङ्घ संस्थाहरुले आयोजना गरेको सभा, गोष्ठी आदिमा कार्यालय समय बाहेकको समयमा सहभागी हुने,
(घ) सरकारको नीति, उद्देश्य, कार्यक्रम, काम कारबाही एवं गोपनीयतामा प्रतिकूल असर पर्ने खालका लेख, रचना प्रकाशन गर्ने,
(ङ) सबैको लागि खुला गरिएको प्रतिस्पर्धामा सहभागी भई पुरस्कार, पदक, प्रमाणपत्र एवं सम्मान ग्रहण गर्ने,
(च) आफूलाई अन्याय परेको विषयमा त्यस्तो काम कारबाहीको विरुद्धमा कानून बमोजिम अड्डा अदालतमा उपचार प्राप्त गर्नको लागि आवश्यक कारबाही चलाउन ।
परिच्छेद–५ विविध
२५. व्यक्तिगत आचरणः (१) निजामती कर्मचारीहरूले आफूभन्दा माथिका कर्मचारी प्रति उचित आदरभाव देखाउनु पर्दछ र आफू भन्दा मुनिका कर्मचारीप्रति उचित व्यवहार गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीहरूले जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रुपमा जाँड रक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य गर्न वा त्यस्तो व्यवहार प्रदर्शन गर्न हुँदैन ।
(३) निजामती कर्मचारीहरूले नेपाल सरकार र निजामती सेवा प्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनु पर्नेछ ।
२६. जानकारी गराउनु पर्नेः (१) कुनै निजामती कर्मचारीले कसैले सरकारी वा सार्वजनिक सम्पत्तिमा कुनै किसिमको नोक्सान वा क्षति पुऱ्याउने कुनै काम गर्न लागेको वा गरेको जानकारी वा सूचना पाएमा सो सम्बन्धमा आफैले कारबाही गर्नु पर्नेमा त्यस्तो सम्पत्तिमा संरक्षणको लागि आफैले उपयुक्त व्यवस्था गर्नु पर्नेछ र सो विषय अन्य निकाय वा कार्यालयको कार्यक्षेत्रमा परेमा त्यस्तो निकाय वा कार्यालयको प्रमुख भई काम गर्ने व्यक्तिलाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।
(२) कुनै निजामती कर्मचारीले कसैले कुनै गैरकानुनी कार्य वा आपराधिक कार्य गर्न लागेको, गरिरहेको वा गरेको जानकारी प्राप्त गरेमा सो विषयमा तुरुन्त सम्बन्धित निकायमा वा आफ्नो कार्यालय प्रमुखलाई जानकारी गराउनु पर्नेछ ।
२७. कार्य प्रकृति अनुसार थप आचार संहिता बनाउन सकिनेः पृथक कार्य प्रकृति भएका मन्त्रालय वा सचिवालय र अन्तर्गत निकायले आ–आफ्नो कार्य प्रकृति अनुसार कर्मचारीको थप पदीय आचार संहिता तयार गरी लागू गर्न सक्नेछन् ।
२८. अवकाश प्राप्त कर्मचारीले पालन गर्नु पर्नेः (१) यस नियमावलीको नियम ३, ७, १७, र २६ को व्यवस्था सेवाबाट अवकाश प्राप्त निजामती कर्मचारीले समेत पालना गर्नु पर्नेछ ।
(२) निजामती सेवामा बहाल रहँदाका बखत कर्तव्य पालनाको सिलसिलामा जानकारी हुन आएको सार्वजनिक रुपमा प्रकाशन नभएको कुनै कुरा त्यस्तो सेवाबाट अवकाश प्राप्त गरेपछि कुनै पनि तरिकाले प्रकट गर्न वा गराउन हुँदैन ।
२९. अनुगमन सम्बन्धी व्यवस्थाः प्रत्येक मन्त्रालय, सचिवालय, आयोग वा अन्य केन्द्रीय स्तरका निकायले आफ्नो र आफ्नो मातहतका कर्मचारीहरुले यस नियमावली बमोजिमको व्यवस्था पालन गरे वा नगरेको विषयमा नियमित अनुगमन गरी पालन नगर्ने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
३०. नियमावलीको जानकारी गराउनेः यस नियमावली प्रारम्भ भएपछि कार्यालयले आफ्ना कर्मचारीलाई यस नियमावलीमा भएको व्यवस्थाको बारेमा जानकारी गराउनु पर्नेछ ।