निर्वाचन आयोग नियमावली, २०७३
नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।१४
संशोधन निर्वाचन आयोग (पहिलो संशोधन) नियमावली, २०७४ २०७४।०६।२८
निर्वाचन आयोग ऐन, २०७३ को दफा ४८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “निर्वाचन आयोग नियमावली, २०७३” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेसम्म यस नियमावलीमा,– (क) “ऐन” भन्नाले निर्वाचन आयोग ऐन, २०७३ सम्झनु पर्छ । (ख) “निर्वाचन अधिकारी” भन्नाले कार्यालयको प्रमुखको रूपमा कार्यरत व्यक्ति सम्झनु पर्छ । (ग) “कार्यालय” भन्नाले आयोगको क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय सम्झनु पर्छ ।
३. कार्यालयको स्थापना: (१) ऐनको दफा १६ बमोजिम आयोगले आफैले सम्पादन गर्नु पर्ने कामको लागि आवश्यकता अनुसार क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय स्थापना गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम कार्यालय स्थापना गर्दा जिल्लाको सदरमुकाम रहेको स्थानमा गरिनेछ ।
(३) क्षेत्रीय निर्वाचन कार्यालय रहेको जिल्लामा जिल्ला निर्वाचन कार्यालय स्थापना गरिने छैन ।
४. कार्यालयको काम, कर्तव्य र अधिकार: (१) क्षेत्रीय निर्वाचन कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आफ्नो क्षेत्रभित्रका जिल्ला निर्वाचन कार्यालयहरू बीच समन्वय कायम गर्ने वा गराउने,
(ख) क्षेत्रीय निर्वाचन कार्यालय रहेको जिल्लाको हकमा जिल्ला निर्वाचन कार्यालयको काम, कर्तव्य र अधिकारको समेत प्रयोग गर्ने ।
(२) जिल्ला निर्वाचन कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने वा गराउने,
(ख) मतदाता नामावलीको अभिलेख सुरक्षित र सुव्यवस्थित तरिकाले राख्ने,
(ग) मतदाता परिचयपत्र तयार गर्ने सन्दर्भमा आयोगले तोकेका कार्य गर्ने वा गराउने,
(घ) निर्वाचन सामग्रीको अद्यावधिक अभिलेख तयार गर्ने र त्यस्ता सामग्रीको भण्डारण तथा मर्मत सम्भारको उचित व्यवस्था गरी सुरक्षित रूपमा राख्ने,
(ङ) आयोग र क्षेत्रीय निर्वाचन कार्यालयले तोके बमोजिम निर्वाचन तथा मतदाता शिक्षा, निर्वाचन सम्बन्धी गोष्ठी, प्रशिक्षण, सूचना तथा सन्देश प्रचार–प्रसारको व्यवस्था मिलाउने,
(च) आयोगबाट जारी भएका निर्वाचन आचार संहिता कार्यान्वयनको उचित व्यवस्था मिलाउने,
(छ) निर्वाचन प्रयोजनको लागि जिल्लाभित्र रहेका नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कर्मचारी, नेपाल सरकार र प्रदेश
सरकारको स्वामित्वमा वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी तथा विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीहरूको लगत अद्यावधिक गर्ने,
(ज) निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र तथा उपकेन्द्र कायम गर्ने सम्बन्धमा अध्ययन गरी आयोग समक्ष सिफारिस गर्ने,
(झ) जिल्लास्थित मतदान स्थल, मतदान केन्द्र तथा उपकेन्द्रको विवरण भू–सूचना प्रणालीमा राख्नका लागि विवरण सङ्कलन तथा अद्यावधिक गर्ने,
(ञ) आयोगबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(ट) निर्वाचन सम्बन्धी कार्यक्रमहरूको अनुगमन एवं मूल्याङ्कन गरी सोको प्रतिवेदन आयोगमा पठाउने,
(ठ) निर्वाचन अधिकृतलाई आवश्यक सहयोग गर्ने,
(ड) मतदान केन्द्रको लागि आवश्यक पर्ने सामग्री मतदान अधिकृतलाई बुझाउने र कार्य समाप्त भएपछि फिर्ता लिने व्यवस्था मिलाउने,
(ढ) आयोग र क्षेत्रीय निर्वाचन कार्यालयबाट समय–समयमा निर्देशन भए बमोजिमका कार्यहरू गर्ने ।
५. अनुगमन गर्ने व गराउनेः (१) आयोगले निर्वाचन सम्बन्धी कामको अनुगमनको लागि ऐनको दफा ५ बमोजिम अनुगमन टोली खटाउन सक्छ ।
(२) उपनियम (१) बमोजिम खटिएको अनुगमन टोलीले अनुगमनको क्रममा प्रचलित कानून बमोजिमको दायित्व निर्वाहका लागि सम्बन्धित राजनीतिक दल, उम्मेदवार, कर्मचारी तथा अन्य व्यक्तिलाई आवश्यक निर्देशन दिन सक्छ ।
(३) उपनियम (१) बमोजिम खटिएको अनुगमन टोलीले आयोगले छुट्टै आदेश दिएको अवस्थामा बाहेक अनुगमनको काम सम्पन्न भएको पन्ध्र दिनभित्र त्यसको प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्छ ।
६. पर्यवेक्षणको लागि अनुमति दिनेः (१) निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न चाहने स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थाले अनुमतिको लागि आयोगले तोकेको अवधिभित्र आयोग समक्ष अनुसूची–१ बमोजिम निवेदन दिनु पर्दछ ।
(२) उपनियम (१) बमोजिम परेको निवेदन मनासिब देखिएमा आयोगले पर्यवेक्षणको लागि अनुसूची–२ बमोजिमको अनुमतिपत्र दिनेछ ।
(३) उपनियम (२) बमोजिम अनुमति पाएको व्यक्ति वा संस्थाका पर्यवेक्षकलाई आयोगले पर्यवेक्षक परिचयपत्र दिनेछ ।
(४) उपनियम (२) बमोजिम अनुमति पाएको व्यक्ति वा संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीस दिनभित्र पर्यवेक्षण गरिएको स्थान, पर्यवेक्षणको विधि, पर्यवेक्षणमा संलग्न जनशक्ति को नाम, पर्यवेक्षणको क्रममा देखिएका कुरा तथा सुधारको लागि सिफारिस सहितको प्रतिवेदन आयोगसमक्ष पेश गर्नु पर्दछ ।
(५) आयोगले कुनै निर्वाचनको सम्बन्धमा पर्यवेक्षण गर्न राष्ट्रिय पर्यवेक्षण संघ, संस्थालाई मात्र अनुमति दिने गरी तोक्न सक्नेछ ।
(६) निर्वाचन पर्यवेक्षण सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।
७. भौतिक साधन प्रयोग गर्नेः (१) आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि कुनै जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्नुपरेमा त्यस्तो जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्दा ऐनको दफा ८ को उपदफा (१) वा (२) बमोजिम सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिलाई त्यसको विवरण र प्रयोग अवधि समेत खुलाई पूर्व सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिले आयोगलाई आवश्यक परे जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्न दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम जग्गा, भवन वा भौतिक साधन प्रयोग गर्नु अघि सम्बन्धित अधिकारीले त्यस्तो जग्गा, भवन वा भौतिक साधनको परीक्षण गरी कुनै कैफियत देखिएमा सो समेत खुलाई विवरण तयार गरी सोको एकप्रति सम्बन्धित संस्था, तह, निकाय वा व्यक्तिलाई दिई अर्कोप्रति आफूले राख्नु पर्नेछ ।
(४) यस नियम बमोजिम निर्वाचनको कामको लागि कुनै व्यक्ति वा गैरसरकारी संस्था वा निकायको जग्गा, भवन, परिवहनको साधन, फर्निचर व अन्य भौतिक साधन प्रयोग गरे बापत जिल्ला दररेट समितिले निर्धारण गरेको दर अनुसारको रकम आयोगले सम्बन्धित व्यक्ति वा गैरसरकारी संस्था वा निकायलाई उपलब्ध गराउनेछ ।
(५) यस नियम बमोजिम निर्वाचनको कामको लागि प्रयोग गरेको जग्गा, भवन, परिवहनको साधन, फर्निचर व अन्य भौतिक साधन टुटफुट, नोक्सानी व क्षति भई मर्मत गर्नु परेमा व सो बापत क्षतिपूर्ति दिनुपर्ने भएमा त्यस्तो मर्मत गर्न लाग्ने व लागेको रकम व क्षतिपूर्ति बापतको रकम मूल्याङ्कन गरी सिफारिस गर्दा देहाय बमोजिमको समिति गठन गरी उक्त समितिको सिफारिसमा आयोगले सम्बन्धित संस्था, तह, निकाय व व्यक्तिलाई त्यस्तो रकम उपलब्ध गराउनेछः–
(क) प्रमुख जिल्ला अधिकारी –संयोजक (ख) जिल्ला प्राविधिक कार्यालयको प्रमुख –सदस्य (ग) निर्वाचन अधिकारी –सदस्य
(६) उपदफा (५) बमोजिमको समितिले त्यस्तो रकम मूल्याङ्कन गर्दा त्यसरी टुटफुट, नोक्सानी व क्षति भएको भौतिक साधनको स्वामित्व प्राप्त संस्था, तह, निकाय व व्यक्तिको प्रतिनिधिलाई आमन्त्रण गर्नु पर्नेछ ।
(७) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचनको काममा आयोगले प्रयोग गर्नु अघि नै टुटफुट, नोक्सानी व क्षति भएको भौतिक साधनको मर्मत व क्षतिपूर्ति बापत आयोगले कुनै रकम उपलब्ध गराउने छैन ।
८. उम्मेदवारको अयोग्यता सम्बन्धमा उजुरी दिनेः (१) कसैले निर्वाचनमा मनोनयनपत्र दिएवा भएको कुनै व्यक्ति त्यस्तो निर्वाचनमा उम्मेदवार हुन अयोग्य छ र हुन गएको छ भनी ऐकको दफा ९ बमोजिम उजुरी दिन चाहेमा निर्वाचन परिणाम घोषणा हुनु अगावै अनुसूची–३ बमोजिम आयोगमा उजुरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको उजुरी सम्बन्धमा आयोगले निर्वाचनको परिणाम घोषणा हुनु अगावै निर्णय गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निर्णय गर्दा त्यस्तो उम्मेदवार अयोग्य रहेको ठहरेमा निजको उम्मेदवारी स्वतः रद्द हुनेछ ।
९. निर्वाचनमा अनुचित प्रभाव परेको सम्बन्धमा उजुरी दिनेः (१) कसैले धक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा असर पुऱ्याउने काम गरेमा सम्बन्धित उम्मेदवारले त्यस्तो निर्वाचनको मतगणना कार्य प्रारम्भ हुनु अगावै सम्बन्धित निर्वाचन अधिकृतमार्फत वा आयोगमा सिधै उजुरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्वाचन अधिकृत समक्ष कुनै उजुरी प्राप्त भएमा त्यस्तो उजुरी आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।
१०. जाँचबुझ गराउनेः (१) कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा असर पुऱ्याउने काम भएको सम्बन्धमा नियम ९ बमोजिम उजुरी प्राप्त भएमा र त्यस्तो कुराको जानकारी आयोगलाई प्राप्त भएमा सो सम्बन्धमा आयोगले ऐनको दफा ९ को उपदफा (१) बमोजिम जाँचबुझको लागि समयवधि तोकी कुनै आयुक्त, सचिव र अन्य कुनै अधिकारीलाई खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझको लागि खटिएको कुनै आयुक्त, सचिव र अधिकारीले त्यस्तो विषयमा जाँचबुझ गर्दा देहायबमोजिमका कार्य गर्न सक्नेछः–
(क) घटनास्थलको निरीक्षण तथा विषयवस्तुसँग सम्बन्धित भौतिक प्रमाण सङ्कलन गर्ने,
(ख) घटनाको विषयमा प्रत्यक्ष रूपमा जानकारी पाउने व्यक्तिसँग सोधपुछ गर्ने,
(ग) घटनासँग सम्बद्ध राजनीतिक दल, उम्मेदवार र व्यक्तिसँग सोधपुछ गर्ने,
(घ) निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, मतदान अधिकृत तथा सम्बन्धित अन्य कर्मचारीसँग घटनाको विषयमा जानकारी लिने,
(ङ) घटना वा विषयको सत्यतथ्य पत्ता लगाउन आवश्यक परे अन्य कार्य गर्ने ।
(३) उपनियम (१) बमोजिम जाँचबुझको लागि खटिएको कुनै आयुक्त, सचिव वा अधिकारीले उपनियम (२) बमोजिम प्राप्त गरेको जानकारी एवं प्रमाण समेतको विश्लेषण गरी आयोगले तोकेको समयभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको प्रतिवेदनबाट कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचन वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुऱ्याउने काम भएको कुरामा आयोग विश्वस्त भएमा आयोगले सो कुरा खुलाई त्यस्तो निर्वाचन वा मतदानको काम रद्द गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम कुनै निर्वाचन वा मतदान रद्द भएमा त्यस्तो स्थानमा प्रचलित कानून बमोजिम निर्वाचन अधिकृतले पुनः मतदान हुने व्यवस्था मिलाउनु पर्नेछ ।
११. निर्वाचन सम्बन्धी विशेषज्ञ सेवा दिन सक्नेः (१) संविधान र प्रचलित संघीय कानूनले आयोगले निर्वाचन गराउनु पर्ने भनी तोकेको निर्वाचन बाहेकका अन्य कुनै निकाय वा संगठित संस्थामा हुने निर्वाचन प्रयोजनको लागि कुनै प्रकारको विशेषज्ञ सेवा आवश्यक परेमा सम्बन्धित निकाय वा संगठित संस्थाले त्यस्तो सेवा उपलब्ध गराइदिन आयोगलाई अनुरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निकाय वा संगठित संस्थाबाट निर्वाचन सम्बन्धी कुनै प्रकारको विशेषज्ञ सेवाको लागि अनुरोध भई आएमा आयोगले त्यस्तो निकाय वा संस्थाको सञ्जाल तथा ख्याति र निर्वाचनको प्रकृति समेतलाई विचार गरी आवश्यक विशेषज्ञ सेवा दिन वा अन्य सहयोग गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै निकाय वा संस्थाको निर्वाचन गराउन आयोगले सहयोग गरेको अवस्थामा निर्वाचनमा प्रयोग हुने सामग्रीको व्यवस्थापन सम्बन्धित निकाय वा संस्थाले नै गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम कुनै निकाय वा संस्थाको निर्वाचन गराउन आयोगले सहयोग गरेको अवस्थामा सो कार्यमा संलग्न हुने आयोगका कर्मचारीलाई दिइने पारिश्रमिक तथा भत्ताको आवश्यक व्यवस्था सम्बन्धित निकाय वा संस्थाले नै गर्नु पर्नेछ ।
१२. सरुवा गर्नु वा काजमा खटाउनु अघि स्वीकृति लिनु पर्नेः (१) निर्वाचनको काममा खटिएको वा लगाइएको कर्मचारीलाई अन्यत्र सरुवा गर्न वा काज खटाउनु परेमा ध्वनि र निर्वाचन अवधिमा कुनै कर्मचारीलाई सरुवा गर्न वा काज खटाउनु परेमा त्यसरी सरुवा गर्ने वा काज खटाउने अधिकारप्राप्त अधिकारीको निर्णय सहित सम्बन्धित मन्त्रालय वा निकायको सचिव वा विशिष्ट श्रेणीको अधिकारी मार्फत सहमतिको लागि आयोग समक्ष लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमति माग गर्दा त्यसरी सरुवा गर्न वा काज खटाउन पर्ने आधार र कारण समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सहमति माग गरिएको कर्मचारीलाई सरुवा गर्न वा काज खटाउनु पर्ने आधार र कारण मनासिब भएमा र त्यस्तो कर्मचारीलाई सरुवा गर्दा वा काज खटाउँदा निर्वाचन सम्बन्धी काम कारबाहीमा प्रतिकूल असर पर्न unlikely देखिएमा आयोगले सरुवा गर्न वा काज खटाउन स्वीकृति दिन सक्नेछ ।
(४) यस नियम बमोजिम कर्मचारीलाई सरुवा गर्न वा काज खटाउन स्वीकृति दिने सम्बन्धमा आयोगले आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ ।
१३. निर्वाचन आचार संहिताः (१) निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भ्रामक विवरण नियन्त्रण कायम राख्न आयोगले सञ्चालन गर्ने सबै निर्वाचनको लागि लागू हुने गरी र कुनै निर्वाचनको सन्दर्भमा मात्र लागू हुने गरी ऐनको दफा २२ बमोजिम आयोगले निर्वाचन आचार संहिता बनाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निर्वाचन आचार संहिताको पालन भए नभएको सम्बन्धमा आयोगले अनुगमन तथा जाँचबुझ गर्न वा गराउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुगमन तथा जाँचबुझको लागि आयोगले अनुगमनकर्ता तथा अनुगमन टोली खटाउन सक्नेछ ।
(४) कसैले उपनियम (१) बमोजिमको निर्वाचन आचार संहिता उल्लंघन गरेमा कुनै पनि व्यक्तिले अनुसूची–४ बमोजिम आयोग, निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोली समक्ष उजुरी दिन सक्नेछ ।
(४क) उपनियम (४) बमोजिमको उजुरी प्राप्त भएमा आयोग, निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोलीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएमा त्यस्तो कार्य रोक्न सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनु पर्नेछ ।
(४ख) उपनियम (४क) बमोजिम दिएको आदेश अनुसार कुनै राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायले आचार संहिता उल्लंघन सम्बन्धी काम कारबाही नरोकेमा निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोलीले आवश्यक कारबाहीको लागि सोको विवरण आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(४ग) उपनियम (४क) बमोजिम दिएको आदेश उल्लंघन गरी आचार संहिता विपरीतको कारबाही नरोक्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले ऐनको दफा २३ बमोजिम कारबाही गर्नेछ ।
(४घ) ऐन तथा यस नियमावली बमोजिम निर्वाचन आचार संहिता पालना गराउन आयोग, निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोलीले स्थानीय प्रशासन वा सुरक्षा निकायको सहयोग माग गर्न सक्नेछ ।
(४ङ) उपनियम (४घ) बमोजिम निर्वाचन आचार संहिता पालना गराउने सम्बन्धमा आयोग, निर्वाचन अधिकृत, अनुगमनकर्ता वा अनुगमन टोलीलाई आवश्यक सहयोग गर्नु स्थानीय प्रशासन तथा सुरक्षा निकायको कर्तव्य हुनेछ ।
(५) उपनियम (३) बमोजिम अनुगमन गरी पेश भएको प्रतिवेदन, उपनियम (४) बमोजिम परेका उजुरी वा अन्य कुनै माध्यमबाट कसैले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएमा आयोगले ऐनको दफा २३ बमोजिम जरिवाना गर्नेछ ।
१३क. कागजात वा विवरण गोप्य राख्न सक्नेः (१) निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोझिम सार्वजनिक गर्नु पर्ने कागजात वा विवरण बाहेक निर्वाचन सम्बन्धी कुनै कागजात, विवरण वा निर्वाचनका सन्दर्भमा राजनीतिक दल वा उम्मेदवारले पेश गरेको कुनै कागजात वा विवरण गोप्य रहने गरी आयोगले निर्णय गर्न सक्नेछ ।
(२) कुनै अदालतमा मुद्दा परी सो अदालतले माग गरेको अवस्थामा बाहेक उपनियम (१) बमोझिम गोप्य राखिएका कागजात वा विवरण कसैलाई उपलब्ध गराइने छैन ।
१४. निर्वाचन खर्चको विवरणः ऐनको दफा २५ को उपदफा (१) बमोझिम निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र अनुसूची–५ को ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेछ ।
१५. वार्षिक प्रतिवेदनः आयोगले ऐनको दफा ४५ बमोझिम पेश गर्ने वार्षिक प्रतिवेदनमा देहायका कुराहरू समावेश गर्नु पर्नेछः–
(क) आयोगको जनशक्ति व्यवस्थापन तथा सामग्री व्यवस्थापन, (ख) आयोगको वार्षिक योजना तथा त्यसको कार्य प्रगति, (ग) सङ्कलित तथा अद्यवधिक गरिएका मतदाताहरूको संख्या, (घ) निर्वाचन सञ्चालन तथा व्यवस्थापन, (ङ) सूचना प्रविधिको व्यवस्थापन र प्रयोग, (च) राजनीतिक दल व्यवस्थापन, (छ) स्रोत परिचालन, (ज) निर्वाचन सम्बन्धी विद्यमान नीति र प्रचलित कानूनमा सुधार गर्नु पर्ने विषयमा सम्बन्धित निकायलाई दिएको सुझाव,
(झ) अन्य आवश्यक कुराहरू ।
१६. खारेजी तथा बचाउ: (१) राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ खारेज गरिएको छ ।
(२) राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची–१ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित) पर्यवेक्षण अनुमतिको लागि दिइने निवेदन
श्री निर्वाचन आयोग कान्तिपथ, काठमाण्डौ ।
विषय: पर्यवेक्षणको लागि अनुमति पाऊँ ।
मिति....................... मा हुने ......................निर्वाचनको पर्यवेक्षण गर्न अनुमति को लागि आयोगले प्रकाशित गरेको सूचनामा उल्लिखित आवश्यक कागजातहरू यसै निवेदन साथ संलग्न गरी पेश गरेको छु ।
१. अनुमति माग्न गर्ने व्यक्ति वा संस्थाको नाम:–
२. पर्यवेक्षण गर्न चाहेको स्थान:–
३. पर्यवेक्षण गर्ने अवधि: मिति............देखि.............सम्म
४. पर्यवेक्षण सम्बन्धी अनुभव,– १. .................................. २. ...................................... ३. .....................................
५. पर्यवेक्षणमा खटिइने व्यक्तिको अनुमानित संख्या:–
६. यसअघि पर्यवेक्षण गरेको भए सो को विवरण:–
७. यस अघि पर्यवेक्षण गरेको भए सोको प्रतिवेदन आयोगमा बुझाएको मिति:–
८. अनुमति माग्न गर्ने व्यक्ति वा संस्थाको विवरण:– (क) व्यक्तिको हकमा,–
(१) स्थायी ठेगाना:–
(२)Nationality:–
(३) हालको ठेगाना:–
(४) टेलिफोन/मोबाइल् नं:– फ्याक्स:–
(५) इमेल:–
(ख) संस्थाको हकमा,–
(१) कार्य क्षेत्र:–
(२) संस्था दर्ता नं.– (३) दर्ता गरिएको निकाय र स्थान:– (४) दर्ता मिति:– (५) नवीकरण भएको मिति र ठेगाना:– (६) टेलिफोन नं:– फ्याक्स:– (७) इमेल:– वेबसाइट: (८) कार्यसमिति गठन भएको मिति:–
(९) संस्थाको प्रमुखको,–
(क) नाम:–
(ख) टेलिफोन/मोबाइल् नं:–
(ग) फ्याक्स:–
(घ) इमेल:–
निवेदकको,–
नाम:–
टेलिफोन/मोबाइल् नं.–
इमेल:–
मिति:–
अनुसूची–२ (नियम ६ को उपनियम (२) सँग सम्बन्धित) पर्यवेक्षणको लागि दिइने अनुमतिपत्र श्री निर्वाचन आयोग कान्तिपथ, काठमाडौं पर्यवेक्षण अनुमतिपत्र
मिति....................... मा हुने...................... निर्वाचन सन्दर्भमा........................... (व्यक्ति/संस्थाको नाम) लाई देहाय बमोजिम पर्यवेक्षण गर्न अनुमति दिइएको छः–
१. पर्यवेक्षण गर्न अनुमति पाएको व्यक्ति/संस्थाको,– (क) नामः– (ख) ठेगानाः– २. राष्ट्रियताः– ३. पर्यवेक्षण गर्न अनुमति दिइएको स्थानः– ४. पर्यवेक्षण गर्न अनुमति दिइएको अवधिः– ...........देखि........ सम्म ५. पर्यवेक्षण कार्यमा संलग्न हुने व्यक्तिको संख्याः– ६. पर्यवेक्षण गर्दा पालना गर्नुपर्ने शर्तहरूः– (१) (२) (३) (४)
प्रमाणित गर्ने अधिकारीको,– दस्तखतः– नामः– पदः– मितिः–
अनुसूची–३ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) उम्मेदवारको अयोग्यता सम्बन्धमा दिइने उजुरी
श्री निर्वाचन आयोग कान्तिपथ, काठमाडौं । मार्फत, निर्वाचन अधिकृत, ..................................... ।
विषय: उम्मेदवारको अयोग्यता सम्बन्धमा ।
मिति ...................मा हुने ................. निर्वाचनमा ........................................ पदका उम्मेदवार श्री............................ सो निर्वाचनमा देहायको कारणले अयोग्य भएको/हुन गएकोले निजको उम्मेदवारी रद्द गरी पाउन यो उजुरी दिएको छु ।
अयोग्य भएको कारणः १. २.
संलग्न प्रमाण १. २. ३.
निवेदकको,– दस्तखतः– नामः– ठेगानाः– मतदाता क्रमसंख्याः– सम्पर्क नम्बरः– मितिः–
अनुसूची–४ (नियम १३ को उपनियम (४) सँग सम्बन्धित) निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धी उजुरी
श्री निर्वाचन आयोग कान्तिपथ, काठमाण्डौ मार्फत....................... .................................।
विषय: निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धमा ।
मिति ...................... मा हुने.................. निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट मिति...... देखि लागू भएको निर्वाचन आचार संहिता उल्लंघन भएकोले त्यस्तो कार्य रोकी उल्लंघनकर्तालाई कानून बमोजिम कारबाही हुनुको लागि यो उजुरी दिएको छु ।
१. निर्वाचन आचार संहिता उल्लंघनकर्ताको नाम:– २. ठेगाना/संलग्न संस्था/निकय:– ३. निर्वाचन आचार संहिता उल्लंघन गरेको विषय:– (क) ............................................ (ख) .......................................... (ग) ............................................ ४. संलग्न प्रमाण:– (क).................................... (ख).................................... (ग) ....................................
निवेदकको,– सहीछाप:– नाम:– ठेगाना:– मतदाता क्रमसंख्या:– सम्पर्क नं:– मिति:–
अनुसूची–५ (नियम १४ सँग सम्बन्धित) निर्वाचन खर्चको विवरण
श्री ............................, ..................................।
विषय: निर्वाचन खर्चको विवरण पेश गरेको ।
...................... निर्वाचनमा .............................पदको लागि .............................. (उम्मेदवारको नाम, थर) उम्मेदवार भएको/समानुपातिक निर्वाचन प्रणाली तर्फ ....................... (राजनीतिक दलको नाम) ले भाग लिएकोले मैले/निज उम्मेदवारले/दलले गरेको सम्पूर्ण खर्चको विवरण निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ तर्फ आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छः–
उम्मेदवार/निर्वाचन प्रतिनिधि/राजनीतिक दलको प्रतिनिधिको,– सहिछापः– नाम, थरः– मितिः– सम्पर्क नंः–