नेपाल गुणस्तर (प्रमाण-चिन्ह) नियमावली, २०४०
नेपाल राजपत्रमा प्रकाशित मिति २०४०।०६।०३
संशोधन १. नेपाल गुणस्तर (प्रमाण-चिन्ह) (पहिलो संशोधन) नियमावली, २०४६ २०४६।११।१८ २. नेपाल गुणस्तर (प्रमाण-चिन्ह) (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३० ३. नेपाल गुणस्तर (प्रमाण-चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ २०८२।०३।०९
नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन, २०३७ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “नेपाल गुणस्तर (प्रमाण-चिन्ह)” नियमावली, २०४० रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,– (क) “ऐन” भन्नाले नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन, २०३७ सम्झनु पर्छ। (ख) “परिषद्” भन्नाले नेपाल गुणस्तर परिषद् सम्झनु पर्छ। (ग) “कार्यालय” भन्नाले नेपाल गुणस्तर कार्यालय सम्झनु पर्छ। (घ) “दरखास्तवाला” भन्नाले नियम ७ बमोजिम इजाजतपत्र वा प्रमाणपत्रको लागि कार्यालयमा दरखास्त दिने व्यक्ति सम्झनुपर्छ। (ङ) “इजाजतपत्रवाला” भन्नाले नियम ९ बमोजिम इजाजतपत्र वा प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ।
+(च) “प्रमाणपत्र” भन्नाले नियम ९ बमोजिमको गुणस्तरको प्रमाणपत्र सम्झनु पर्छ ।
३. परिषद्को बैठक र कार्यविधि : (१) परिषद्को बैठक अध्यक्षले तोकेको स्थान र समयमा आवश्यकता अनुसार बस्नेछ।
(२) परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ।
(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले छानेको व्यक्तिले गर्नेछ।
(४) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ।
(५) परिषद्को निर्णय परिषद्को सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ।
(६) परिषद्को बैठक बस्ने कम्तीमा तीन दिन अगाडि सदस्य–सचिवले छलफलको विषय सहितको सूचना सम्बन्धित सदस्यहरूलाई दिनु पर्नेछ।
(७) परिषद्ले आवश्यक देखेमा विशेषज्ञ वा अन्य कुनै व्यक्तिलाई परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(८) परिषद्का सदस्यहरू, गुणस्तर सम्बन्धी समिति वा उप समितिका सदस्यहरू र आमन्त्रित व्यक्तिहरूले बैठकमा भाग लिए बापत पाउने बैठक भत्ता परिषद्ले समय समयमा तोकिदिए बमोजिम हुनेछ।
(९) परिषद्को बैठकमा अपनाइने अन्य कार्यविधि परिषद्ले निर्धारण गर्नेछ।
४. गुणस्तर निर्धारण : (१) परिषद्ले दिएको नीति र तोकेको कार्यविधिभित्र रही कार्यालयले विभिन्न पदार्थ, प्रक्रिया वा सेवाको गुणस्तर तयार गर्नेछ।
(२) उपनियम (१) बमोजिम कार्यालयले तयार गरेको गुणस्तर परिषद्द्वारा अनुमोदन भएपछि परिषद्ले निर्धारण गरेको मानिनेछ।
+ पहिलो संशोधनद्वारा थप। $\bullet$ पहिलो संशोधनद्वारा संशोधित।
५. नेपाल गुणस्तरको रूपमा मान्यता प्रदान गर्ने : परिषद्ले कुनै "पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा कुनै स्वदेशी वा विदेशी संस्थाद्वारा तोकिएको गुणस्तरलाई केही परिवर्तन गरी वा नगरी नेपाल गुणस्तरको रूपमा मान्यता प्रदान गर्न सक्नेछ।
६. गुणस्तरको प्रकाशन बिक्री वितरण : (१) कुनै "पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा परिषद्द्वारा निर्धारण गरेको वा मान्यता प्राप्त गुणस्तर र तत्सम्बन्धी आवश्यक विवरण कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरी बिक्री वितरण समेत गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्रकाशित गुणस्तरलाई परिषद्ले संशोधन वा रद्द गरेमा त्यसको सूचना पनि कार्यालयले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नेछ।
७. इजाजतपत्र वा प्रमाणपत्र लिनु पर्ने : (१) कुनै पदार्थ वा प्रक्रियाको सम्बन्धमा गुणस्तर प्रमाण-चिन्ह प्रयोग गर्न चाहने "उत्पादक वा निर्माताले अनुसूची-१ बमोजिमको ढाँचामा इजाजतपत्रको लागि कार्यालयमा दरखास्त दिनु पर्नेछ।
(२) प्रमाण-चिन्ह प्रयोग गर्न व्यवहारिक नहुने कुनै पदार्थ वा प्रक्रिया वा सेवाको सम्बन्धमा प्रमाणपत्र लिन चाहने उत्पादक, निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्तिले अनुसूची-२ बमोजिमको ढाँचामा कार्यालयमा दरखास्त दिनु पर्नेछ।
८. ...... जाँचबुझ : (१) इजाजतपत्र वा प्रमाणपत्रको लागि दरखास्त परेपश्चात् कार्यालयले देहायका कुराहरूको ............ जाँचबुझ गर्न लगाउन सक्नेछ:-
(क) दरखास्तवालाले दरखास्तमा उल्लेख गरेको "पदार्थ, प्रक्रिया वा सेवा नेपाल गुणस्तर अनुरूप छ, छैन,
(ख) गुणस्तर प्रमाण–चिन्ह अंकित गरिने पदार्थको गुणस्तर नेपाल गुणस्तर अनुरूप कायम राख्न नियमित गुण–नियन्त्रण एवम् गुण–परीक्षणको प्रबन्ध दरखास्तवालाले गरेको छ, छैन र
(ग) खण्ड (क) र (ख) मा लेखिएको कुराहरूको जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उत्पादन गरिने ठाउँ, कार्यशाला, परीक्षणशाला वा गोदाम इत्यादिको निरीक्षण गर्न सुलभ हुने किसिमको सुविधा वा साधनको व्यवस्था दरखास्तवालाले गरेको छ, छैन ।
(२) जाँचबुझको लागि आवश्यकता अनुसार दरखास्तवालाले सम्बन्धित पदार्थको नमूना तथा विवरण उपलब्ध गराउनु पर्नेछ र सो नमूनाहरूको परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च समेत व्यहोर्नु पर्नेछ ।
(३) जाँचबुझको आधारमा कार्यालयले सम्बन्धित पदार्थको सम्बन्धमा दरखास्तवालाले प्रबन्ध गरेको गुण-नियन्त्रण एवम् गुण-परीक्षणको व्यवस्थामा वा उत्पादन प्रक्रियामा आवश्यक संशोधन गर्न लगाउन सक्नेछ ।
९. इजाजतपत्र वा प्रमाणपत्र दिने : नियम ८ बमोजिम जाँचबुझ गरिसकेपछि कार्यालयले परिषद्ले तोकिदिए बमोजिमको दस्तूर लिई दरखास्तवालालाई सम्बन्धित पदार्थ वा प्रक्रियामा गुणस्तर प्रमाण-चिन्ह प्रयोग गर्न पाउने गरी अनुसूची-३ बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ र गुणस्तर प्रमाण-चिन्ह प्रयोग गर्न व्यवहारिक नहुने पदार्थ वा प्रक्रिया वा सेवाको हकमा परिषद्ले तोकिदिएको ढाँचामा गुणस्तरको प्रमाणपत्र दिन सक्नेछ ।
१०. कबुलियत वा मञ्जुरनामा गराउन सकिने : कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र दिँदा दरखास्तवालालाई निजले सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण-चिन्ह वा प्रमाणपत्र प्रयोग गर्दा पालन गर्नु पर्ने ततथहरू तोकी कबुलियत वा मञ्जुरनामा गराउन सक्नेछ ।
११. कार्यालयले आदेश दिन सकिने : परिषद्ले कुनै गुणस्तरलाई संशोधन वा रद्द गरेमा कार्यालयले इजाजतपत्रवालालाई देहाय बमोजिम आदेश दिन सक्नेछ :-
(क) संशोधित गुणस्तर अनुरूप सम्बन्धित पदार्थको गुण-नियन्त्रण र परीक्षणको व्यवस्थामा वा उत्पादन प्रक्रियामा आवश्यक संशोधन गर्ने, वा
(ख) सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा आदेशमा तोकिएको अवधिपछि गुणस्तर प्रमाण-चिन्ह वा प्रमाणपत्र प्रयोग नगर्ने ।
१२. इजाजतपत्रको अवधि र नवीकरणः (१) इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ र तत्पश्चात त्यस्तो इजाजतपत्र नवीकरण गराउनु पर्नेछ।
(२) इजाजतपत्रवालाले इजाजतपत्रको अवधि समाप्त हुनु अगावै उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरणको लागि परिषद्ले निर्धारण गरे बमोजिमको दस्तुर सहित कार्यालयमा दरखास्त दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र दरखास्त दिन नसक्ने इजाजतपत्रवालाले सोको कारण खुलाई देहाय बमोजिमको अवधिसम्मको लागि देहाय बमोजिमको थप दस्तुर बुझाई इजाजतपत्र नवीकरणको लागि कार्यालयमा दरखास्त दिन सक्नेछः-
(क) इजाजतपत्रको अवधि समाप्त भएको मितिले तिस दिनसम्मको लागि नवीकरण दस्तुरको पच्चिस प्रतिशत,
(ख) इजाजतपत्रको अवधि समाप्त भएको मितिले एकतसौँ दिनदेखि नब्बे दिनसम्मको लागि नवीकरण दस्तुरको पचास प्रतिशत।
(४) उपनियम (२) वा (३) बमोजिम दरखास्त प्राप्त भएमा कार्यालयले त्यस्तो इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन वर्षको अवधिको लागि इजाजतपत्र नवीकरण गरी दिन सक्नेछ।
(५) यस नियम बमोजिम नवीकरण नगरेको इजाजतपत्र त्यस्तो इजाजतपत्रको अवधि समाप्त भएपछि स्वतः रद्द हुनेछ।
१२क. प्रमाणपत्रको अवधि र पुनः प्रमाणीकरणः (१) प्रमाणपत्रको अवधि तीन वर्षको हुनेछ र तत्पश्चात त्यस्तो प्रमाणपत्र नवीकरण हुने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १० को प्रयोजनको लागि लिएको प्रमाणपत्रको हकमा इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको अवधि समाप्त हुनु अगावै त्यस्तो प्रमाणपत्र पुनः प्रमाणीकरण गराउनु पर्नेछ।
(३) ऐनको दफा १० को प्रयोजनको लागि लिएको प्रमाणपत्र बाहेक अन्य प्रमाणपत्रको हकमा इजाजतपत्रवालाले आवश्यकता अनुसार पुनः प्रमाणीकरण गराउन सक्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम प्रमाणपत्रको पुनः प्रमाणीकरणको अवधि तीन वर्षको हुनेछ।
१३. निरीक्षकको परिचयपत्र : (१) ऐनको दफा १२ बमोजिम नियुक्त गरिएको वा तोकिएको निरीक्षकलाई कार्यालयले अनुसूची-४ बमोजिमको ढाँचामा निरीक्षकको परिचयपत्र दिनु पर्नेछ।
(२) निरीक्षकले आफ्नो परिचयपत्र सधैँ साथमा राख्नु पर्नेछ र आफ्नो कर्तव्य पालनको सिलसिलामा जाँचबुझ वा निरीक्षण गर्न गएको बखत दरखास्तवाला वा इजाजतपत्रवालाले हेर्न मागेमा देखाउनु पर्नेछ।
१४. जाँचबुझ वा निरीक्षण गर्दा अपनाउनु पर्ने विधि : (१) कुनै पदार्थ वा प्रकियाको गुणस्तर सम्बन्धी जाँचबुझ वा निरीक्षण गर्न जाँदा सम्बन्धित पदार्थ उत्पादन गरिने ठाउँ $\text{+}$ प्रकिया चालू रहेको ठाउँ, सेवा प्रदान गरिने ठाउँ, कार्यशाला वा गुण नियन्त्रण एवम् परीक्षण गरिने ठाउँ वा त्यस्तो पदार्थ वा त्यस्तो पदार्थ सम्बन्धी कोरा वा तयारी माल राख्ने गोदाम आदिमा प्रवेश गर्न सक्नेछ। त्यसरी प्रवेश गर्नु भन्दा अगावै निरीक्षकले दरखास्तवाला वा इजाजतपत्रवालालाई आफूले जाँचबुझ वा निरीक्षण गर्न चाहेको कुराको जानकारी दिनु पर्नेछ।
(२) निरीक्षकले जाँचबुझ वा निरीक्षणको सिलसिलामा गुणस्तर प्रमाण-चिन्ह वा प्रमाणपत्र प्रयोग गरिएको कुनै पदार्थ वा त्यस पदार्थ सम्बन्धी कोरा वा तयारी माल इत्यादि को नमूना लिँदा दरखास्तवाला वा इजाजतपत्रवालाको उपस्थितिमा लिनु पर्नेछ।
(३) निरीक्षकले दरखास्तवाला वा इजाजतपत्रवालालाई उपनियम (२) बमोजिम नमूना लिएको पदार्थको नाम, परिमाण र अवस्था समेत खुलाई त्यसको रसीद दिनु पर्नेछ।
$\text{+}$ पहिलो संशोधनद्वारा थप।
(४) निरीक्षकले परिषद्द्वारा मान्यता प्राप्त सरकारी वा गैर सरकारी प्रयोगशालाबाट उपनियम (२) बमोजिम नमूना लिएको पदार्थको गुणस्तर परीक्षण गराउन सक्नेछ।
(५) निरीक्षकले आफूले गरेको जाँचबुझ वा निरीक्षणको नतीजा र कुनै सुझाव भए सो समेत प्रष्ट खुलाई कार्यालयमा प्रतिवेदन दिनु पर्नेछ।
१५. प्रयोगशालाको अभिलेख : कुनै पदार्थ र त्यसको उत्पादन प्रकियाको आवश्यक जाँचबुझ वा परीक्षणको लागि परिषद्बाट मान्यता प्राप्त सरकारी वा गैर सरकारी प्रयोगशालाहरूको नामावली सहितको अभिलेख कार्यालयले राख्नु पर्नेछ।
१६. इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्ने : (१) यो नियमावली बमोजिम दिइएको इजाजतपत्र वा प्रमाणपत्र देहायका अवस्थामा कार्यालयले स्थगित वा रद्द गर्न सक्नेछ-
(क) इजाजतपत्रवालाले उत्पादित, निर्मित त वा अधिकृत प्रक्रिया वा प्रदत्त सेवा नेपाल गुणस्तर अनुरूप नभएमा,
(ख) इजाजतपत्रवालाले नेपाल गुणस्तरमा निर्दिष्ट विधिहरू नअपनाई कुनै पदार्थ, प्रकिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण-चिन्ह वा प्रमाणपत्र प्रयोग गरेमा,
(ग) इजाजतपत्रवालाले ऐन वा यो नियमावलीको प्रतिकूल काम कारवाही गरेमा वा कार्यालयले दिएको आदेश नमानेमा, वा
(घ) इजाजतपत्रवालाले इजाजतपत्र, प्रमाणपत्र वा कबुलियत वा मन्जूरनामामा तोकिएको शर्तहरू पालना नगरेमा।
(२) इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्नु भन्दा अगावै इजाजतपत्रवालालाई आफ्नो स्पष्टीकरण पेश गर्नु पर्ने दिनको म्याद दिनु पर्नेछ। इजाजतपत्रवालाले म्यादभित्र स्पष्टीकरण पेश गरेमा त्यस्तो स्पष्टीकरणमा समेत विचार गरी कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्ने नगर्ने कुराको अन्तिम निर्णय गर्नेछ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र वा प्रमाणपत्र स्थगित भएको अवस्थामा सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा इजाजतपत्रवालाले गुणस्तर प्रमाण-चिन्ह वा प्रमाणपत्र प्रयोग गर्न पाउने छैन ।
१७. अनुसूचीमा हेरफेर गर्ने अधिकार : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।
० पहिलो संशोधनद्वारा संशोधित । द्रष्टव्यः– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरुः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची-१ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) नेपाल गुणस्तर प्रमाण-चिन्ह प्रयोग गर्ने इजाजतपत्रको निमित्त दरखास्त
नेपाल गुणस्तर कार्यालय, ........................... काठमाडौँ, नेपाल।
महाशय, ................ (ठाउँ) मा ................. को नामले उद्योग व्यवसाय गर्ने म/हामी नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन, २०३७ अन्तर्गत गुणस्तर प्रमाण-चिन्ह प्रयोग गर्न इजाजतपत्रको लागि निवेदन गर्दछु/छौँ।
१. मैले/हामीले तयार गर्ने पदार्थ/प्रक्रिया (प्रोसेस) को विवरण तथा सम्बन्धित गुणस्तरहरू निम्न लेखिए बमोजिमका छन् :
(क) विवरणहरू : पदार्थ/प्रक्रिया : पदार्थको नाम : पदार्थको किसिम : पदार्थको नाप परिमाण : पदार्थको ग्रेड :
(ख) प्रक्रियाको विवरण :- .................................................................. ..................................................................
२. सम्बन्धित गुणस्तरहरू : (क) नेगुण ................. शीर्षक .................
(ख) नेगुण .................... शीर्षक ....................
३. उपरोक्त पदार्थको/प्रक्रियाको उत्पादन सम्बन्धी आँकडाहरु निम्न लिखित प्रकारका छन् :-
गत वर्ष ....... २०....... देखि २० .......... सम्मको
पदार्थ/प्रक्रियाको उत्पादन .................... (इकाईमा)
पदार्थ प्रक्रियाको उत्पादन ...................... (मूल्य रु. मा)
४. उक्त पदार्थ/प्रक्रिया सम्बन्धित गुणस्तर बमोजिमको छ भनी निश्चित गर्न,
हाल मेरो/हाम्रो निरीक्षण वा परीक्षण आयोजना (स्कीम) केही छन् तर आवश्यक परेमा कार्यालयले सिफारिस गरे अनुसार निरीक्षण वा परीक्षणको आयोजना कार्यान्वयन गर्न तयार छु । छौं।
कार्यालय रहेको ठाउँ :- ........................
कारखाना रहेको ठाउँ :- ..........................
दरखास्त दिनेको सही :- .................... मिति.......................
नाम :- ....................
दर्जा :- ..................
निजले प्रतिनिधित्व गरेको उद्योग वा संस्थाको नाउँ :-
अनुसूची-२ (नियम ७ को उपनियम (२) सँग सम्बन्धित) नेपाल गुणस्तर प्रमाणपत्रको निमित्त दरखास्त
नेपाल गुणस्तर कार्यालय, ........................ काठमाडौँ नेपाल।
महाशय,
..................... (ठाउँ) मा ............... को नामले उद्योग व्यवसाय गर्ने म। हामी निम्न विवरणको पदार्थ, प्रक्रिया, सेवाको सम्बन्धमा गुणस्तर प्रमाणपत्र लिनको लागि निवेदन गर्दछु। गर्दछौं।
(१) पदार्थको विवरण :- नाम :- किसिम :- नाप, परिमाण :- ग्रेड :- तौल :-
(२) प्रक्रियाको विवरण :- किसिम :- ग्रेड :- अन्य :-
(३) सेवाको विवरण :- किसिम :- ग्रेड :-
अन्य :-
(४) सम्बन्धित गुणस्तरहरू सम्बन्धी विवरण :- ......................................................................................................................................................
(५) उपरोक्त पदार्थ। प्रक्रिया। सेवा सम्बन्धी आँकडाहरू निम्न बमोजिम छन् :- गत वर्ष २०. . . . . . . . . . . . देखि २०. . . . . . . . . . . . . . सम्म उत्पादित पदार्थ परिमाण . . . . . . . . . . . . . . . . . . . . . . उत्पादित पदार्थबाट आर्जन गरेको रकम . . . . . . . . . . . . . . . . . . . . . रुपैयाँ। प्रक्रियाबाट आर्जन गरेको रकम :-. . . . . . . . . . . . . . . . . रुपैयाँ। प्रक्रिया प्रचलनको स्थिति :-. . . . . . . . . . . . . . . . . . . . . . सेवाबाट आर्जन गरेको रकम :-. . . . . . . . . . . . . . . . . . . रुपैयाँ।
(६) उक्त पदार्थ/प्रक्रिया/सेवा सम्बन्धित गुणस्तर बमोजिमको छ भनी निश्चित गर्न :- मेरो। हाम्रो निरीक्षण तथा परीक्षण आयोजना (स्कीम) केही छ। छैन आवश्यक परेमा कार्यालयले सिफारिस गरे अनुसारको निरीक्षण तथा परीक्षणको आयोजना (स्कीम) कार्यान्वयन गर्न तयार छु। छौं।
उद्योग वा संस्थाको नाम :-.............. कार्यालय रहेको ठेगाना :-.............. कारखाना रहेको ठेगाना :-.............. दरखास्त दिनेको सही :-.............. नाम :-............. दर्जा :-............. मिति :-..............
अनुसूची-३ (नियम ९ सँग सम्बन्धित) नेपाल सरकार उद्योग मन्त्रालय गुणस्तर तथा नापतौल विभाग नेपाल गुणस्तर कार्यालय इजाजतपत्र
इजाजतपत्र संख्या :-
नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन, २०३७ को दफा ५ को उपदफा (२) को खण्ड (क) बमोजिम ............बस्ने श्री................................ लाई मिति ..................... देखि लागू गरी देहायका नेपाल गुणस्तर संख्या, शीर्षक र ब्राण्डको पदार्थ, प्रक्रियामा गुणस्तर प्रमाण-चिन्ह प्रयोग गर्न पाउने गरी यो इजाजत पत्र दिइएको छ ।
(क) नेपाल गुणस्तर संख्या :-
(ख) शीर्षक :-
(ग) ब्राण्डहरू :- १. .................... २. .................... ३. .................... ४. ....................
सही :- नाम :- दर्जा :-
मिति :-
द्रष्टव्य :- १. यो इजाजतपत्रको म्याद जारी भएको मितिले तीन वर्षसम्म कायम रहनेछ ।
२. यो इजाजतपत्रको म्याद समाप्त हुनुभन्दा $\times$ ............ अगावै आवश्यक दस्तूर सहित नवीकरणको लागि कार्यालयमा दरखास्त पेश गर्नु पर्नेछ।
३. यो इजाजतपत्रको म्याद समाप्त भएपछि नवीकरण नगराई गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्नु हुँदैन।
४. यो इजाजतपत्र नवीकरण गरेको व्यहोरा नवीकरण फाराममा उल्लेख गरिनेछ।
५. इजाजतपत्र प्राप्त व्यक्तिले कार्यालयले समय समयमा निर्दिष्ट गरेको निरीक्षण वा परीक्षण प्रणाली अपनाउनु पर्नेछ।
नवीकरण फारम
$\times$ तेस्रो संशोधनद्वारा झिकिएको।
अनुसूची-४ (नियम १३ (१) सँग सम्बन्धित)
निरीक्षकको परिचयपत्र नं. :- मिति :-
नाम थर :- फोटो पद :-
ठेगाना :- स्थाई :- (गाउँपालिका वा नगरपालिका वडा समेत)
दस्तखत नमूना :-
$\square$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{१}$ तेस्रो संशोधनद्वारा संशोधित ।
निम्न विवरणवालालाई नेपाल गुणस्तर (प्रमाण—चिन्ह) ऐन, २०३७ बमोजिम निरीक्षक भई कामकाज गर्नेको निमित्त यो परिचयपत्र प्रदान गरिएको छ । अस्थाई :-